18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दमक भ्यू टावर चढ्नु छ

कविता विमल लामिछाने August 25, 2024, 2:52 pm
विमल लामिछाने
विमल लामिछाने

पर्यटक बनेर पूर्व घुम्दैगर्दा
घर घरबाट उदाए घाम ।
अन्योलतामा घोरिएँ म,
अनि प्रश्नै प्रश्नले बेरिएँ म ।

सडक पेटीबाट कति पो देखिन्छ र पूर्व ?
सुनिएलान् रतुवा, मावा, कनकाई र मेचीको गीत ?
कचनकवलदेखि सगरमाथासम्म एकैपटक
सिंगो पूर्व देख्ने मेरो इरादा पूरा गर्न
सामुन्ने भएर ठिङ्ग उभिएको छ, दमक भ्यू टावर ।

अस्थिरता भरिएको संघीयताको शीरमा टेकेर
गणतन्त्रको नाभी हेर्नुछ मलाई !
रोजगारीमा भौतारिएर युवा विदेशिन छाडेको
समृद्ध नेपाल खुल्ने चावी भेट्नु छ मलाई ।
समृद्ध नेपालको एउटा सुखी नेपाली हुनुको नाताले
१८ तलासम्म गनि गनि भ्यू टावर चढ्नु छ मलाई ।

पूर्वको पहिचान लिम्बू र किराती सभ्यताको
ओझिलो भाव बोकेका थुम र सुम्निमाहरु,
चारखोला र समथर तराई, अनि हिमाल एकैपटक हेर्नुछ ।
महागुरु फाल्गुनन्दका सतकर्म प्रेरित बाँणी संगाल्नु छ,
अनि, स्मारक स्थलहरु घुमिघुमि हेर्नु छ मलाई ।

यो भन्दा पनि अझै एकतला माथि चढेर
सन्त ज्ञानदिल दासको जन्मभूमि, साहित्य र तप स्थल
जोरधारा फाकफोकथुम हेर्नुछ मलाई ।

त्यसैले महोदय, एकपटक दमक भ्यू टावर चढ्नु छ ।।

सूर्योदयको जिल्ला इलामका चुली र थुम्कीहरु चहार्दै
नियाल्नु छ पिठ्यूमा रक्तिम इतिहास बोकेर बगेकी
देउमाई, माई र माईपोखारीहरु ।
ताप्लेजुङको पाथीभरादेखि खोटाङको हलेसीसम्म
तेह्रथुमको तीनजुरे, गुराँसेभिर, अलि माथिका कुम्भकर्ण र मकालु
नियाल्नु छ, पाँचथरको तिम्बुङ पोखरी, पदमचाल,
इलामको चिया बगान र अकबरे सबै सबै ।

धनकुटाको भेडेटार, धराने बुढासुब्बा, बराह र कोशी ब्यारेज हुँदै
मोरङको विराट राजाको गाउँसम्म एकैपटक आँखा डुलाउनु छ ।
त्यसैले महोदय, एकपटक दमक भ्यू टावर चढ्नु छ ।।

हेर्नुछ, इतिहासका कोच र सन्थालका भित्री बस्तीसम्म
त्यहाँभित्र उन्मुलन भएको गरीवी, सुलभ शिक्षा र स्वास्थ्यमा पहुँच,
गर्नुछ अवलोकन, गाइने, चेपाङ, डोम, र धिमालहरुको
लोप हुँदै गएको संस्कृति र कलाको केन्द्र,
अनि हेर्नुछ खेत जोत्ने हलो नपाउँदा
किसानले सामन्तको छात्तीमा टेकेर घाँटी रेटेको कथा ।

हुन त परिवर्तनको नदीमा धेरै पानी बगिसक्यो,
तार्छु भन्नेहरु आफै तरिसके, फेरिसक्यो समयले पाउलो
तै पनि हेर्नुछ अझै एक पटक झापा विद्रोहको पूरा एपिसियोट ।

हेर्नुछ, निमुखा र भूइँमान्छेहरुको झुप्रोभित्र बलेको टुकी,
गुइँठाको धुवाँ र भान्साबाट निस्किएको बाफ,
अनि हेर्नुछ, बेरोजगारमुक्त समाज निर्माणमा
सतिसाल बनेर ठिङ्गीएको ‘आधुनिक दमक भ्यू टावर’बाटै
फहराउँनु छ ‘मेरो नेपाल, ग्रेट नेपाल’ को झण्डा,
अनि हेर्नु छ राजनीतिका चतुर ‘बा’ हरु जन्माउने
जननी जन्मभूमिको सिंगो झापा ।
त्यसैले महोदय, मलाइ एकपटक दमक भ्यू टावर चढ्नु छ ।।

दमक, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।