आचार्य रजनीशले भनेका छन्, ‘जन्म त पाइन्छ तर जीवनलाई भने खोज्नु पर्दछ । जीवनको खोजी गर्नु एउटा कला हो ।’ त्यसो त जन्म पनि इच्छाएर पाइने विषय होइन । हामी कसैले पनि जन्मिनका लागि बाबु–आमालाई निवेदन दिएका थिएनौं । अपितु यो भैछाड्यो । जन्म एउटा सबैभन्दा ठूलो संयोग हो । यसैका कारणले हामी धरामा अवतरित भएका छौं । जन्मिएपछि जीवनको सार्थकता के कसरी हासिल गर्ने भन्ने विषय चाहीँ महत्वपूर्ण सवाल हो ।
सरसर्ती अनुशीलन गर्दा जीवन भन्नु जन्मदेखि मृत्युपर्यन्तसम्मका कहानीको सँगालो हो । हरेक मानिसको जीवनमा आ–आफ्नै कहानी हुन्छ, भोगाइ, अनुभव र अनुभूति हुन्छ । त्यही भोगाइ र अनुभवको बृहत् सँगालो हो जीवन । जीवन भोगाइ र सिकाइको समिश्रण हो पनि भन्न सकिन्छ । वास्तवमा जीवन के हो भन्ने प्रश्न नै सबैभन्दा ठूलो दार्शनिक प्रश्न पनि हो । जीवन कसरी वा कस्तो भोग्ने यो हाम्रै रोजाइमा छ ।
सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन ।
तारादेवीको स्वर र नातिकाजीको संगीत तथा दिनेश अधिकारीको रचनामा रहेको कर्णप्रिय यो गीतको भावले जीवनको सघनता र जटिलतालाई गतिलो गरी उजागर गरेको छ । जहाँ इच्छा त्यहाँ उपाय भने झैं जीवनदृष्टि सकारात्मक बनाउने कि नकारात्मक बनाउने भन्ने प्रश्न प्रधान प्रश्न हो । जीवनलाई आफ्नो लयमा चलाउन सक्नु बुद्धिमत्ताको उपज हो, यसका लागि सम्यक प्रयत्न गर्न जरुरी हुन्छ नै । जीवनको लक्ष्यलाई गुल्जार, फलिभूत, सरस, झरल, सभ्य तथा लोकग्राही बनाउने हेतु राख्नेहरुले लक्ष्य प्राप्तीमा अजुर्नदृष्टि लगाउन खोज्नु समीचीन विषय नै हो । यसै सन्दर्भमा, जन्मपश्चातको जीवन र जगतलाई लोककल्याणकारी बनाउने या भोगवादमा सीमित गर्ने भन्ने महङ्गो जिज्ञासालाई यथोचित शमन गर्ने सन्दर्भमा आफ्नो जीवन यात्राको आधा शताब्दीका उतारचढावलाई अभिलिखित गरिएको पठनीय कृति हो अर्जुनकुमार श्रेष्ठको ‘अर्जुनदृष्टि’ (२०८०) ।
हरेक व्यक्तिको जीवनका मानवीय, पारिवारिक, व्यावसायिक र सामाजिक पाटाहरु छ्न् र हुन्छन् । मानिसको जीवनमा पृथक–पृथक कथा हुन्छ, व्यथा हुन्छ र बाँङ्गोटिङ्गो कहानी हुन्छ । फरक यति हो, जीवनको आरोह–अवरोह कसैको कोरिएको हुन्छ भने कसैको कोरिएको हुँदैन । अर्जुनकुमार श्रेष्ठको ‘अर्जुनदृष्टि’ कोरिएको जीवन कथ्यको रोमाञ्चक, सकारात्मक ऊर्जाले ओतप्रोत र कौतुहल जगाउने पुस्तक हो । यस कृतिमा स्रष्टा अर्जुनकुमार श्रेष्ठले आफूले बाँचेको पाँच दशक लामो जीवनसम्बद्ध उहापोहको मिहिन छिन्द्रान्वेषण गरेकाछन् । जीवनको लयलाई आफ्नै दाशर्निक, वैचारिक र व्यवहारिक कसीले निरुपित गरेकाछन् । यस पुस्तकभित्र सङ्ग्रहीत विविध विषयका ३१ वटा लेख÷आलेखमा सर्जक श्रेष्ठले आफू जन्मेको अवस्था चित्रणदेखि पछिल्लो समय व्यावसायिक जीवनमा प्राप्त गरेका सफलता र प्रेरणादायी प्रयासहरुका बारेमा जीवन्त एवम् विश्वसनीय ढंगले उत्खनन् गर्ने प्रयास गरेकाछन् ।
पर्वत जिल्लाको फलेवासमा पिता कुलप्रसाद प्रधान र माता पवित्रा प्रधानको कान्छो सन्तानको रुपमा विसं. २०२९ मङ्सिर २७ गते जन्मिएका अर्जुनकुमार श्रेष्ठले आफ्ना बाबु–आमा, अन्य अभिभावक, नातागोता, इष्टमित्र, समवयी, सहकर्मी तथा समस्त सुभेच्छुकहरुको उत्प्रेरणा, हौषला र माया–ममताका साथमा हुर्कदै बढ्दै आधारभूतदेखि माध्यमिक तहसम्मको शिक्षा जन्मथलो फलेवासमा नै पुरा गरे । त्यसपश्चात उच्च शिक्षाको लागि पाइला अघि सार्दै व्यावसायिक तथा सामाजिक जीवनमा प्रवेश गरेका उनले कहिलै पछि फर्केर हेर्नु परेर । मानव जीवनलाई उच्च मूल्य प्रदान गर्न सधैं सकारात्मक, आशावादी र अविश्रान्त गतिशील भैरहनुपर्दछ भन्ने जीवनदर्शनबाट ओतप्रोत अर्जुनले हात हालेका सबै क्षेत्रमा प्रशंसनीय एवम् अनुकरणीय सफलता प्राप्त गर्दै गए । ति सफलताहरुको जीवन्त दस्तावेज हो श्रेष्ठकृत ‘अर्जुनदृष्टि’ ।
भनिन्छ, जब हामी हाम्रो रोजाइको जीवन बाँच्छौं, हामीले हाम्रो शारीरिक, मानसिक, संवेगात्मक, बौद्धिक र आत्मिक क्षमतालाई असीमित बनाउँछौं । अर्जुनकुमार श्रेष्ठले पनि यही सच्चाइलाई आफ्नो जीवनयात्रामा आत्मासाथ गरे र नित्य निरन्तर उच्च शिक्षा हासिल गर्ने, सामाजिक÷राजनीतिक जीवनलाई व्यवस्थित गर्ने, व्यावसायिक सफलता प्राप्त गर्ने तथा संस्थागत र पारिवारीक जिम्मेवारीलाई सन्तुलनमा राखेर समानान्तर ढंगले अघि बढ्दै गए । उनले आफूले रोजेको जीवनलाई कुन लयमा हाँक्ने भन्ने आफ्नै मौलिक पद्धतिको अभिवर्धन गरे । न स्वदेशमा न विदेशमा उनलाई कारिन्दा भएर बस्न स्वीकार्य भएन, जसले गर्दा बेल्जियममा ‘ओसियन सुशी’को व्यावसायिक यात्रा सुरुवात गरे र मालिक बने । जहाँ आज पनि उनीसम्बद्ध २७ वटा व्यवसायहरु चलिरहेका छन् । बस्तुतः जीवनलाई बाध्यात्मक ठानेर बेअर्थी बनाउने कि रोजाइ अनुसारको बाँचेर अर्थपूर्ण बनाउने आफ्नै हातमा हुन्छ । आखिर सबैको जीवनको यात्रा असहजताबाट सहजतातर्फ, अफ्ठ्यारोबाट सफ्ट्यारोतर्फ, असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, असफलताबाट सफलता तर्फ, अंशबाट पूर्णतातर्फ र मृत्युबाट अमरतातर्फको नै हो र हुनुपर्छ । यो सत्यलाई हृदयतः आत्मसाथ गरेका अर्जुनले आफ्ना पाइलाहरुलाई आजपर्यन्त सोही दिशामा मुखरित गरिरहेकाछन् । जुन कुराको विस्तारित प्रमाणगत फेहरिस्त हो उनको ‘अर्जुनदृष्टि’ ।
बुज्रुकहरु भन्ने गर्दछन्, बाँचेको छु भन्नलाई पनि सपनाहरू देख्नुपर्छ । सकारात्मक गन्तव्यका सपना, ‘सर्वजन हिताय–सर्वजन सुखाय’मा आधारित लक्ष्यका सपना या आलोचनात्मक चेतसहितको जीवनदर्शनको सपना । त्यस्ता सपना जसले व्यक्तिलाई निदाउन दिंदैनन् । हो पनि, नयाँ सपनाहरू भनेका व्यक्तिका लागि कर्म हुन्, धर्म हुन्, सिर्जना हुन्, परिवर्तन हुन् र आनन्दानुभूतिका सर्वोत्तम औजारहरु हुन् । जीवन र समाज रुपान्तरणका खजनाहरु हुन् । सपना देखेर मात्र हुँदैन, परन्तु तिनलाई पूरा गर्न हरदम मेहेनत, लगनशीलता र धीरताको खाँचो हुन्छ नै । कर्मभिरु हुनु नै जीवनको महत्ता र सुन्दरता हो । हो, यस प्रवृतिका विपुल दृष्टान्त भेटिन्छन् ‘अर्जुनदृष्टि’ भित्र । पुस्तकको आत्मस्वीकृतिमा स्रष्टा अर्जुनले लेखेका छन्, ‘अर्जुनदृष्टि मभित्रका सृष्टि र दृष्टि दुबैको संयोजन हो । कर्म मेरो पुजा हो, म उसको भक्त हुँ ।’ उनको समझमा ‘जीवन सामुहिक यात्रा हो । एकल रुपमा गरिने यात्रा आत्मिक रुपमा सहज भए पनि समुदायका निम्ति फलदाय नहुन पनि सक्छ ।’ (पृष्ठ ६६)
पङ्तिकारले चिनेका अर्जुनकुमार श्रेष्ठ कर्म गर्नमा कहिल्यै पनि थकाइ नमान्ने निर्भिक, निडर, प्रशंसनीय दृष्टिकोणले अभिभूत र सहासी व्यक्तित्व हुन् । यिनी स्वअस्तित्वको सघनता र उच्चता बुझेका प्रखर युवा समाजसेवी एवम् सफल व्यवसायी हुन् । त्यसो त चाहना र रोजाइको काममा थकाइ भन्ने शब्दावली हुँदैन पनि । उनी लड्दै, उठ्दै र धुलो टक्टकाउँदै आफ्नो निर्दिष्ट लक्ष्य उद्देश्यमा अघि बढिरहने तागतवर मानिस हुन् । उनी समयसँग लहसिएर, समयले सिकाएको पाठ सिक्दै गन्तव्यमा शीखरित भैरहने असिम उत्साथ र धैर्य बोकेका कर्मजीवी हुन् । यि दृष्टान्तहरु कैयन संख्यामा समेटिएका छन् उनको ‘अर्जुनदृष्टि’ भित्र । यिनका बारेमा गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले लेखेका छन्, ‘अर्जुन अत्यन्त सरल, मिजासिला, मृदुभाषी एवम् लो–प्रोफायलमा बसेर काम गर्न चाहने अति नै मिहिनेती र इमान्दार व्यवसायी हुन् । म उनीभित्र आफ्नो लक्ष्यमा कटिबद्ध भइरहने अर्जुनदृष्टि देख्दछु ।’ (पृष्ठ १७०)
भन्ने गरिन्छ कि हरेक समय एउटा पाठ हो सिक्न खोज्नेको लागि । हरेक एक पाइला एउटा सिंगो यात्राको थालनी हो अघि बढ्न चाहनेहरूका लागि । अर्जुन यसै गुह्यलाई अङ्गिकार गरेर गन्तव्य तय गर्ने पथिक हुन् । यिनले आफ्नो आलेख ‘व्यवसाय कि अध्ययन ?’ भित्र निसंकोच अन्तरमनको आवाजलाई स्वीकार गरेर व्यावसायिक यात्रामा आफूलाई समाहित गरेका छन् । कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीले भनेजस्तै, ‘जीन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ’ । मानव चोलाको यो तितो यथार्थलाई अर्जुनकुमारले भलीभाँती बुझेका छन् । यस्ता तथ्य, घटना र जीवनसँगको घनचक्कर यिनको ‘अर्जुनदृष्टि’ छिमल्दै गर्दा बग्रेल्ती अनुभूत गर्न पाइन्छ । सुख, समृद्धि र सर्वोपरी वैभवको हुटहुटी उनका हरेक सामाजिक, व्यावासयिक तथा राजनैतिक सम्लग्नता र कर्ममा प्रकटिकृत भैछाड्छन् । उनको निश्कर्ष छ, ‘दिर्घकालीन सोच, खोज र लगानीका लागि उपयुक्त क्षेत्र चयन गर्ने हो भने समृद्धि सम्भव हुन्छ ।’ (पृष्ठ ५८) मुलुकको आर्थिक उन्नती, नागरिकको आधारभूत आवश्यकताको सहज आपूर्तिका पक्षमा एउटा सामान्य नागरिकका रुपमा यस्ता सोच आउनु आफैमा सकारात्मक र बन्दनीय कुरा हो । मुलुकको कर्मचारीतन्त्र, राजनीति र नागरिकको कार्यशैलीलाई सुशासनयुक्त बनाउँदै एक ढंगको विश्वासको वातावरण बन्ने कुरामा अर्जुनकुमार ढुक्क भएको पाइन्छ । उनी थप्छन्, ‘विश्वास तत्काल प्राप्त गर्ने वस्तु होइन रहेछ । सम्बन्ध बढ्दै जाँदा विश्वासका हाँगाहरु पनि फैलँदै जाँदो रहेछ । विश्वासका हाँगा पलाउने गरी सम्बन्धका विरुवाहरु रोप्नु पर्छ ।’ (पृष्ठ ८९)
‘अर्जुनदृष्टि’ मा स्रष्टा अर्जुनकुमार बढो सकारात्मक दृष्टिकोणका साथ पोखिएका देखिन्छन् । उनलाई राम्रो गरी बोध छ कि सकारात्मक सोचले मानिसलाई ऊर्जा, प्रेरणा र हौसला प्रदान गर्दछ । सबैभन्दा बढी त आफूलाई माया गर्ने, आफूमा जे छ, आफूजस्तो छ त्यस्तै स्वीकार्ने र आफ्नो कर्म र क्षमतामा विश्वास गर्नाले मानिसलाई सफलता हासिल गराउँछ । आफूलाई नबदलेसम्म अरुलाई वा समाजलाई बदल्न सकिन्न भन्ने अन्तर्य बुझेका अर्जुन जीवनका प्रारम्भिक दिनदेखि नै रुपान्तरण र बदलावको पक्षपातीका रुपमा प्रकट भएका कैयन प्रसङ्गहरु छन् यस पुस्तकभित्र । मानिसले आफूभित्र जस्तो ऊर्जा अर्थात् उद्देश्य वा विचार लिएर हिँड्छ, त्यहीअनुसारको परिणाम अर्थात् सफलता वा असफलता हात पार्दछ । महाकवि देवकोटाकाले त्यसै भनेका होइनन् नि ‘उद्देश्य के लिनु के, उडी छुनु चन्द्र एक ।’ अर्जुनले यो सत्यलाई गहिरो गरी मनन गरेकाले नै उनी पर्वत, म्याग्दी, पाल्पा, पोखरा, काठमाण्डौं हुँदै युरोपका विभिन्न देशमा पुग्दै गर्दा पनि आफ्नो अन्तरहृदयको आवाजलाई मलिन हुन दिएनन् । प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर अगाडिको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन् । तर अर्जुनले हिम्मत र आँटका साथ सबैखाले बन्धन, अवरोध र असजिलाहरुलाई कुशलतापूर्वक तोड्दै अघि बढेकाछन् र बढिरहेकाछन् । उनले आफ्नो अर्जुनदृष्टिमा अघि बढ्न जीवन सिद्धान्तमा कुनै सम्झौता गरेका छैनन्, बरु बाटो बदलेकाछन् । अर्जुनकुमार सामुहिकतामा अतुल विश्वास गर्दछन् । उनको ठम्याइ छ, ‘सामुहिकता (टिमवर्क) का लागि नैतिक, पारदर्शी र उत्तरदायी सबैभन्दा ठूला औजार हुन् । विश्वास र भगिनी सम्बन्ध ती औजारलाई जोगाइराख्ने आधारशीला हुन् ।’ (पृष्ठ ८५) यो सुन्दर सत्य नै उनको अन्तरहृदयको बाणी हो, प्राण हो र त्राण हो । तसर्थ उनी जहाँ हात हाल्छन्, त्यहाँ सफलता हात पारेका दृष्टान्तहरु निर्धक्क खिपेका छन् ‘अर्जुनदृष्टि’ भित्र ।
सबैलाई जानकारी छ कि, जीवनमा आशा रहिरहोस्, विश्वास भइरहोस् अनि पो जीवन चलिरहन्छ । एउटा डाँडा काटेपछि अर्कै डाँडा देखुँ देखुँ लागोस्, एउटा पहाड चढेपछि अर्कै पहाड चढुँ चढुँ लागोस् । एक पछि अर्को प्राप्ती । एउटा सफलताबाट अर्को सफलता । अनि पो जीवन प्रिय लाग्छ । दुई दिनको चोला गुल्जार देखिन्छ । जीवनको यही सार्थक चाहको खोजीमा अर्जुनकुमार श्रेष्ठ युगल फार्मेसीको आँगनबाट स्वात्तै हानिएर बेल्जियम पुगेका हुन् । बाल्यकालमा आमाले दिएको तीन सय रुपियाँ खल्तीमा हालेर फलेवासदेखि काठमाण्डौं छड्किएका यिनी पर्वत साहित्य सङ्गम, गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालय, पर्वत उद्योग वाणिज्य संघ, कुश्मा सहरी विकास समिति, पर्वत जेसिजलगायतका संघसंस्थामा काम गरेको अनुभव सङ्गाल्दै गैरआवासीय नेपाली सङ्घको राष्ट्रिय सदस्य, युरोप संयोजक र राष्ट्रिय संयोजकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सफल भए भने आफूसहित जन्मभूमीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन अतुलनीय योगदान गरे । एकपछि अर्को सफलता यिनको वैशिष्टयको रुपमा स्थापित भैसकेको छ ।
आफ्नो कृति ‘अर्जुनदृष्टि’ भित्र बहुपक्षीय विषयलाई अनबन्धित गरेकाछन् लेखक अर्जुनकुमारले । उनका रचनाहरुमा स्थानीयता, राष्ट्रियता, राष्ट्रप्रेम, राजनैतिक विसङ्गत अभ्यासहरुदेखि राष्ट्र निर्माणका आधारहरु के के हुन सक्दछन् भन्ने नवीनतम विचारहरु पनि उद्बोधन भएका छन् । उनले आफ्नो परिस्कृत कलमको माध्यमबाट सभ्य समाज निर्माणका लागि आवश्यक पर्ने मानवीय प्रेम, दया, करुणा, सहकार्य, समन्वय, सहअस्तित्व, समझदारी, इमान्दारी, हार्दिकतालगायतका तत्वको आव्हान गरेकाछन् । यसका साथै उनले आफ्नो बाल्यकाल, विद्यार्थी जीवन, सामाजिक सेवा क्षेत्रको सम्लग्नता, नागरिक संघसंस्थामा रहेर निर्वाह गरेको भूमिका, औषधि र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान, राजनैतिक जिम्मेवारीमा रहेर खेलेको भूमिका, गैरआवासीय नेपाली सङ्घका विभिन्न पदीय जिम्मेवारीमा रहेर सम्पादन गरेका जिम्मेवारीहरु लगायतका विषयहरुलाई साङ्गोपाङगो पटाक्षेप गरेका छन् । हार्डवेयर र औषधि विक्रेताको अनुभवदेखि आफ्नो नेतृत्वमा चितवनमा स्थापना भएको ओम मेगाश्री फर्मास्युटिकल्स औषधि कम्पनीले औषधि उत्पादन गरी देशमा मात्र होइन विदेशमा पनि निर्यात गर्ने लक्ष्य राखेको सन्दर्भसमेत ‘अर्जुनदृष्टि’ भित्र समेटिएको छ । मूलतः अर्जुनकुमारले समाज रुपान्तरण र देशको आर्थिक समृद्धिको विशिष्ट प्रस्तावना नै प्रस्तुत गरेका छन् आफ्नो लेखनीमार्फत । उनी भन्छन्, ‘राष्ट्रको अर्थतन्त्र चलायमान बनाउन, सबल तुल्याउन र देशभित्र रहेका मानिसलाई रोजगार प्रदान गर्न पनि सामुहिक लगानी महत्वपूर्ण पाटो हो ।’ (पृष्ठ ७१) वास्तवमा छरिएर रहेको स–सानो आकारको पूँजीलाई एकिकृत गरी सामुहिक लगानी र स्वामित्वको आधारमा औधोगिकीकरणतर्फ अघि बढ्नु हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको मुलुकका लागि हितकर हुने नै विषय हो । यस्ता कैयन विषयलाई नवीनतम ढंगले उठाएका छन् अर्जुनकुमारले यस कृतिभित्र ।
प्रारम्भमा उठान गरिएजस्तै जन्म, जीवन र कर्मलाई उपयुक्त शैली र ढाँचामा व्यवस्थापन गर्न अजुर्नकुमार सफल भएका छन् भन्न सकिन्छ । उनको पाँच दशकको जीवन अनुभव वास्तविकता र यथार्थको धरातलमा आधारित छ । यिनले भोगेको जीवनका उकाली–ओरालीलाई नजिकबाट नियाल्ने चश्मदिदहरु पर्वतको फलेवासदेखि नेपालका विभिन्न शहर, गाउँबस्तीहुँदै युरोप तथा विश्वव्यापीरुपमा यत्रतत्र सवत्र छन् । यस्ता अनुभव र अनुभूतिहरु आम मान्छेसँग छन् नै, अपितु अर्जुनकुमारको भोगाइको श्रृङ्खला निखुट, सपाट र जो कसैलाई उद्देलित बनाउने खालको छ । यिनले भोग गरेको जीवनसँगको पौंठेजोरीको बेलिविस्तार साँच्चिकै सारगर्भित, रोचक र विवेच्य छ । प्रस्तुत कृति ‘अर्जुनदृष्टि’ मा दृष्टिगोचर गर्दै जाँदा हरेक पाठकले आँफूमा लेखकको काया, भावना र संवेग प्रविष्ट भएको अनुभूति ग्रहण गर्न सक्दछ । बरिष्ठ साहित्यकार सरुभक्तले अर्जुनकुमार र यिनको कृति अर्जुनदृष्टिका बारेमा भनेका छन्, ‘उनले प्रस्तुत कृतिमा जीवनका बाङ्गाटिङ्गा धर्साहरु कोरेका छन् । समयको गोरेटोमा हिँड्दा भोगेका यात्रागत अनुभूतिलाई प्रस्ट्याएका छन् । कृतिभित्र प्रवेश गर्दा कसैलाई पनि यो लाग्दैन कि उनी केवल व्यवसायी हुन् । उनका अक्षरभित्र कलाको सुन्दर संयोजन पाइन्छ ।’ (पृष्ठ १६९)
यथार्थमा नै अर्जुनकुमार श्रेष्ठले आफ्नो कृति ‘अर्जुनदृष्टि’ मा आजपर्यन्तको जीवन यात्रालाई कुशलतापूर्वक उत्खनन गरेर सार्वजनिक गरेका छन् भन्ने कुरामा कुनै शंका छैन । यस कृतिभित्र उनले आफ्नो राय, टिप्पणी, सोच, दृष्टिकोण र अवधारणामात्र अभिव्यक्त गरेका छैनन्, बरु आफ्नो जीवनवृत्तिको निर्मम समीक्षा गर्दै आगामी गोरेटोको मार्गचित्र पनि तय गरेका छन् । यस कृतिभित्र समाहित उनको लेखन मूलतः निजी अनुभूतिहरुको सँगालो नै हो । तथापि, उनका कतिपय आलेखहरुले मानव जीवनका निर्मम पाटा–पक्षहरुको पटाक्षेप पनि गरेको छ । कहीँ उनी मायावी चेतका साथ प्रस्तुत हुन्छन् भने कहीँ भावनाको रुझानले निर्थुक्क हुन्छन् । कतिपय ठाउँ र सन्दर्भमा बडो शालिनताका साथ विद्रोहको आवाजलाई पनि मुखरित गरेको भेट्न सकिन्छ । आफ्नो जीवनको विगत र वर्तमानलाई यति कुशलतापूर्वक छिमल्ने उनको शिल्प र कला उदाहरणीय देखिन्छ । ‘तानसेन घमाइलो ः जता निरमाया उतै रमाइलो’ एउटा प्रेमिल विषय, अतीतप्रेम, स्वप्नमोह, आत्मियतासहितका प्रसङ्गले सिंगारिएको लेखोटको रुपमा देखिन्छ भने ‘मृत्युबोधका अक्षरहरु’, ‘मेरी आमा’, ‘अप्रेशनको आलो घाउ’लगायतका आलेखहरु मानवीय संवेदना, पीडाबोध, जीवन भोगाइको सङ्गतिहीनता र मानवमूल्यात्मक अनुभूतिसँग सम्बन्धित छन् । आफ्ना माता–पिताको जीवन भोगाइका चारचौरासलाई गम्भीरतापूर्वक उत्खनन् गरी सम्यक मार्ग तय गर्न यिनले गरेको यत्न स्तुत्य छ । यसका अलावा ‘भाषा र देश’, ‘शरीर दानको सङ्कल्प, ‘जि. देवीप्रसाद पाउन्डेसन’ जस्ता लेखले देशप्रेम, पितृभक्ती, समाजसेवा, लोकहित, विश्वबोधी चेतनालगायतका विषयमा आधारित भै सन्देश प्रवाहित गरेका छन् ।
‘सोच, खोज र भविष्य’, ‘महाविपत्तिमा एनआरएनए’, ‘सामुहिक लगानी–व्यावसायिक तपस्या’, ‘डोका र डोलाबाट पाएको आशीर्वाद’लगायतका लेखले परोपकारी कर्म, समाज र मुलुकको समग्र रुपान्तरण, आर्थिक समृद्धि तथा उन्नयनका पक्षमा सारभूत प्रस्ताव र नूतन दृष्टिकोण प्रस्तुत गरेका छन् । ‘मेरो अवैध सन्तान’ मा असाध्यै कौतुहलतापूर्ण तवरले व्यक्ति र मुलुकका लागि नियम–कानुन, प्रणाली र पद्दतिको कति अहम भूमिका हुन्छ भन्ने तथ्यलाई उजागर गरिएको छ । यिनका लेखनीमा मानिस भएर मानवीय सेवामा दत्तचित्त हुनुपर्ने सन्देश प्रवाहित गर्नेदेखि निरन्तरको समर्पणबाट मात्र सफलताको माथ चुम्न सकिने कुरामा समेत ध्यानाकर्षण गरिएको छ ।
आफ्नो लेखनमा स्रष्टा अर्जुनकुमार श्रेष्ठले प्रयोग गरेका शब्दावलीहरु मर्मश्पर्सी, सन्देशमूलक, हृदयग्राही र लालित्यपूर्ण छन् । मानसपटललाई एकै झट्कामा तन्मयका साथ झन्किृत गर्ने खालका छन् । मातृशक्तीका प्रतिको सम्मान, आशक्ति र समर्पणको एउटा दर्बिलो कथनी उनकै शब्दमा यसरी अभिव्यञ्जित भएको छ, ‘अध्यात्मवादको आँखाबाट मेरी आमा ईश्वर हुन् । भौतिकवादी आँखाबाट मेरी आमा मनुष्यत्व बोकेकी कर्मठ नारी हुन् । आमाभित्र टेकेको वास्तविकताको टेको हरेक सन्ततीका आँखामा जीवनको लय बनेर बग्न सकोस् ।’ (पृष्ठ १३२) यसरी ‘अर्जुनदृष्टि’ केवल स्रष्टा अर्जुनकुमार श्रेष्ठको मात्र ‘दृष्टि’ नभइकन सार्वजनिक सम्पत्तीका रुपमा स्थापित हुन गएको छ । यो नेपाल र नेपालीजनको खुल्ला आँखीझ्याल हो, जसबाट जो कसैले नेपाली समाजको अन्तरवस्तु, रुप, स्वरुप, ढाँचा र शक्ति सम्बन्धलाई नजिकबाट दृष्टिगोचर गर्न सक्दछ । विभिन्न विषय प्रसङ्गमा यस कृतिभित्र उठान गरिएका सवालहरु मुलुकको अन्यौलपूर्ण अवस्थाबाट सार्थक निकासका लागि मद्दतगार हुन सक्दछन् भन्ने अपेक्षा गर्न सकिन्छ । यस अर्थमा, ‘अर्जुनदृष्टि’ लाई नेपाली समाजको अन्तरकुन्तर पर्गेल्ने अर्थ–राजनीतिक समाजशास्त्रको उपमा दिंदा अन्यथा नहोला ।
‘म को हुँ, कहाँ छु, कहाँ के छ हाल ?
लिएको छु के काम, कस्तो छ चाल ?’
कविशिरोमणी लेखनाथ पौड्यालले माथिका पङ्तीमा भनेजस्तै आफूलाई आफैले पहिचान गरिसकेपछि जीन्दगीको गोरेटो तय गर्ने भनेको अर्जुनकुमार श्रेष्ठले जस्तै गरी हो भन्ने कुरामा शंका रहेन । खाँचो फगत आफूलाई चिन्नु, आफ्नो सामथ्र्य र हैषियतलाई सत्य र तथ्यको आधारमा पहिचान गर्नुमा छ । त्यसपछि जीन्दगीको गाडी कुन गन्तव्य र कति गतिमा कुदाउने हो, त्यो आफैमा निर्भर हुने कुरा भयो । सत्कर्म गर्न कुनै विशेष दिन पर्खिरहनु नपर्ने रहेछ । बस्, ठीक समयमा सही निर्णय गर्न सक्ने र सो निर्णयमा अडिग रही कार्यान्वयनमा जुट्न सक्ने सौर्य र आँट राख्नुपर्ने रहेछ । यि कुरा अर्जुनकुमारको ‘अर्जुनदृष्टि’ बाट थाहापाउन सकिन्छ ।
जीवन कालका दिव्य १८ वर्ष प्रवासमा बसेर पनि मातृभूमिको प्रेमबाट अतिशय सिञ्चित हुँदै विदेशमा आर्जन गरेको ज्ञान, सीप तथा स्रोतसाधनलाई स्वदेशमा नै लगानी गर्ने, व्यापक रोजगारी सिर्जना गर्ने र मुलुकले तय गरेको सुखी नेपाली–समृद्ध नेपालको सङ्कल्पमा आफ्नो तर्फबाट इमान्दारिपूर्वक योगदान गर्ने अभिष्ट बोकेर जन्मभूमि फर्केका अर्जुनकुमार पछिल्लो समयसम्म आइपुग्दा आफ्नो इरादाअनुरुप नै सफलता हासिल गर्दै अघि बढिरहेका छन् । अर्जुनकृत ‘अर्जुनदृष्टि’ मा आद्योपान्त विचरण गर्दा उनी एउटा सफल युवा उद्यमीमात्र लाग्दैनन्, बल्की एउटा सचेत, दूरदर्शी र पारङ्गत योजनाकारको रुपमा पनि भेटिन्छन् । उनको लेखन कौशल र विषयलाई प्रस्तुतीकरण गर्ने शैली तथा कलाले भन्छ– यिनी साहित्यिक चेतले ओतप्रोत एक तागतवर सर्जक पनि हुन् । ‘अर्जुनदृष्टि’ स्रष्टा तथा द्रष्टा विशेषताले युक्त अर्जुनकुमारको वैयत्तिक, सामाजिक, राजनैतिक तथा व्यावसायिक जीवनको आँखीझ्याल त हो नै, त्यसमाथि मुलुक विकासको सुविचारित मार्गचित्र पनि हो । जिजीविषालाई लोकानुकुल बनाउने आन्तरिक हुटहुटीले यिनलाई बहुआयामिक भूमिकामा उद्देलित बनाएको तथ्य पुस्तक पढ्दै जाँदा पाठकले सुइँको पाइहाल्छ ।
अन्ततः अर्जुनकुमार श्रेष्ठकै वाक्यांश सापट लिएर भन्नुपर्दा, ‘आफ्नोपन’ ‘आफ्नै भाषा’मा नै जीवन्त हुन्छ ।’ (पृष्ठ १३५) तसर्थ, नेपाली जनबोलीको पदचापमा र नेपाली माध्यममा यत्तिको उत्कृष्ट पुस्तक तयार गरी नेपाली भाषा, साहित्यलाई समृद्ध बनाउन बलियो इट्टा थपी योगदान गरेकोमा स्रष्टा अर्जुनकुमारलाई साधुवाद नदिइरहन सकिंदैन । उनकै भावमा, ‘समयले दिएको घाउ पुरिन समयकै मलम लगाउनुपर्दो हो ।’ (पृष्ठ १०९) यसर्थ, आम नेपालीले भोगको विगत, सङ्लिन नसकेको वर्तमान र अनिश्चित भावभङ्गिमासहित गुजुल्टिएको भविष्यलाई आशा, विश्वास र सत्सङ्कल्पमा रुपान्तरण गर्न ‘अर्जुनदृष्टि’ मा सबै सरोकारवालाको दृष्टि पुग्न सकोस् । ‘वर्गसङ्घर्षको वास्तविक मन्त्र तिनै वर्गले बुझ्न सकेका छैनन् जसका निम्ति वर्गसङ्घर्षको थालनी भयो ।’ (पृष्ठ १०१) बिडम्वनापूर्ण यस्तो बिब्ल्याँटो परिस्थितिको छिटोभन्दा छिटो अन्त्य होस् । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि राज्य संयन्त्र जिम्मेवार बनोस् । यति हुन सक्यो भने ‘अर्जुनदृष्टि’ भित्रका अर्जुनको मुहारमा सुखद आभा सञ्चार हुन सक्नेछ । यिनको जिगीषा नित्य निरन्तर शिखरित हुँदै अघि बढ्नेछ । आगतको अर्जुनदृष्टि थप सबल, सक्षम र हस्तक्षेपकारी हुनेनै छ भन्ने अपेक्षालाई अन्यता मान्नु उपयुक्त नहोला ।
कुश्मा, पर्वत
(शिक्षा अभियान र प्राध्यापन कार्यसम्बद्ध पहाडी पर्वत साहित्य सङ्गमका पूर्व अध्यक्ष हुन् ।)