17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'आधुनिक मुगलान' : अधिकारीका स्वादिला लघुकथाहरू

कृति/समीक्षा डा. हरिप्रसाद भण्डारी August 25, 2024, 3:18 pm
डा. हरिप्रसाद भण्डारी
डा. हरिप्रसाद भण्डारी

वि.सं. २०१५ साल चैत ०४ गते छतौना, सर्लाहीमा जन्मिएका आधिकारीले बजारशास्त्रमा एम.बी.ए. गर्नुभएको छ र उहाँको हालको मुख्य पेसा प्राध्यापन रहेको छ । अध्ययनको विषय र पेशा फरक भए पनि उहाँमा सानैदेखि साहित्य पढ्ने, सुन्ने र लेख्ने रुचि रहेको पाइन्छ । उन्नाइस वर्षकै उमेर (२०३४ साल) मा मोर्चा शीर्षकको पत्रिकामा उहाँको लेख प्रकाशित भएको र यसै लेखमार्फत उहाँले औपचारिक लेखनयात्रा सुरु गर्नु भएको देखिन्छ । त्यसपछि उहाँले लघुकथा, कथा र बजारशास्त्रका गरी विभिन्न विधा र विषयका पुस्तक प्रकाशित गर्नुभएको छ । हालसम्म उहाँका ४० थान पुस्तक प्रकाशित भइसकेका छन्, यीमध्ये सूर्य (२०५४), अभिनय (२०६०) र अन्तिम निर्णय (२०७३) गरी तीनओटा लघुकथासङ्ग्रह हुन् । प्रकाशित लघुकथाङ्ग्रहहरूमध्ये सूर्यमा ११, अभिनयमा ४९ र अन्तिम निर्णयमा ६९ गरी जम्मा १२९ ओटा लघुकथाहरू सङ्गृहीत छन् । विद्यावारिधि अनुसन्धानका क्रममा मैले यी पुस्तक पढ्ने र आवश्यक विमर्श गर्ने काम गरेको छु । सूर्यमा रहेका ‘महापागल’, ‘देवदूत’; अभिनयमा रहेका ‘बा, आमा र ऊ’ लगायत र अन्तिम निर्णयमा रहेका ‘दुःखदायी सफलता’, ‘नेताको आत्मा’ लगायतका लघुकथामा व्यङ्ग्य प्रयोग गरिएको छ । यी लघुकथाहरूमा व्यक्ति, राजनीति, समाज आदि क्षेत्रमा देखिएका विकृतिहरूलाई व्यङ्ग्यको आलम्बन बनाइएको छ ।

प्रस्तुत आधुनिक मुगलान उहाँको चौथो लघुकथासङ्ग्रह हो । यसमा ५१ ओटा लघुकथाहरू सङ्गृहीत छन् । यी लघुकथाहरूमा प्रवासी नेपालीहरू र उनीहरूको सम्पर्कमा रहेका अन्य व्यक्तिहरूको जीवनशैली, संस्कार, संस्कृति, पीडा, वेदना, प्रेम, सद्भाव, स्वदेशप्रतिको सम्झना र माया आदि विषयहरूलाई कथानकको स्रोत बनाइएको छ । विविध विषय समेटिएका यी लघुकथाहरूमा फरक फरक विशेषताहरू रहेका छन् । यसबारे तलका अनुच्छेदहरूमा सङ्क्षेपमा विमर्श गरिएको छ ।

प्रस्तुत लघुकथासङ्ग्रहको नाम आधुनिक मुगलान रहेको छ । यसमा प्रयोग भएको मुगलान शब्द प्रतीकात्मक छ । त्यो किनभने प्रज्ञा नेपाली बृहत् शब्दकोशले मुगलान शब्दको शाब्दिक अर्थ ‘मुगलकालीन भारत’ बताएको छ । इतिहासको कुनै कालखण्डमा नेपाली दाजुभाइहरू कामको सिलसिलामा मुगलकालीन भारत तथा पाकिस्थानको लाहोरसम्म जाने गरेका र त्यसरी भारत जानेहरूलाई मुगलानीया र लाहोर जानेहरूलाई लाहुरे भनिने गरेको परम्परा नेपाली समाजमा अद्यापि जारी छ । लघुकथाकार विश्वराज अधिकारीले यसै ‘मुगलान’ शब्दलाई आधार बनाएर अमेरिका लगायत सात समुद्रपारिको गन्तव्यलाई आधुनिक मुगलान भनी नामाकरण गर्नुभएको छ र यसै शीर्षकको सेरोफेरोभित्र रहेर लघुकथाहरू सिर्जना भएका छन् ।

साहित्य किन र कसका लागि लेख्ने भन्ने कुराको चर्चा यस पुस्तकको महत्त्वपूर्ण विशेषता हो । धेरै लेखकहरू आफूले लेख्ने साहित्यको उद्देश्य र त्यसले दिने सन्देश के हो भन्नेबारे अलमलिएको र लेखनको वैचारिक धरातल कमजोर रहेको देखिन्छ तर विश्वराज अधिकारी यस कुरामा स्पष्ट देखिनुहुन्छ । उहाँ आफ्नो भूमिकामा लेख्नुहुन्छ— म समाजको लागि लेख्छु र मेरो लेखनले समाजलाई सुमार्गमा हिँड्न अभिप्रेरित गर्ने छ । सङ्ग्रहमा रहेका लघुकथाहरू यसै वैचारिक गोरेटोलाई पछ्याउँदै अगाडि बढिरहेका छन् ।

प्रवासी नेपालीहरूको जीवनका अनेक पाटाहरूमा प्रकाश पार्नु यस पुस्तकको अर्को महत्त्वपूर्ण विशेषता हो जुन कुरा लेखकले आफ्नो भूमिकामा पनि उल्लेख गर्नुभएको छ । यस पुस्तकको नामले नै यस कुरालाई सङ्केत गरेको छ र यस सङ्ग्रहभित्र रहेका अधिकांश लघुकथाहरूले यस भावनालाई आत्मसात् गरेका छन् ।

सङ्ग्रहमा रहेका लघुकथाहरूमा दुनियाले सोचे जस्तो विदेशको बसाई सुखमय हुँदैन । विदेशमा पैसा कमाउन सजिलो छैन । पैसा कमाउन निकै मेहनत गर्नुपर्छ । पैसा भए पनि मनमा शान्ति हुँदैन । पैसाले मान्छेलाई एक्लो बनाउँछ भन्ने कुरा देखाइएको छ । अर्कोतिर नेपालमा सुविधासम्पन्न जीवन बिताइरहेका व्यक्तिहरू पनि डिभीका कारण अमेरिका छिरेको; अमेरिका पुगेपछि कडा परिश्रम गर्नुपरेको; दुख गरेर सम्पत्ति कमाए पनि घरपरिवार, आफन्त, समाज, संस्कृति, रहनसहन सबैबाट टाढा हुनुपरेको; कतिपय अवस्थामा एक्लो जीवन बिताउन बाध्य हुनुपरेको जस्ता घटना तथा विषयहरूलाई पनि लघुकथामा कथानकको स्रोत बनाइएको छ ।

कपितपय लघुकथामा करौडौँ खर्च गरेर अमेरिका आएको, अमेरिका पुगेपछि भने जस्तो काम नपाएर साथीकोमा भतुवा बस्नुपरेको तथा आत्महत्या गर्नेसम्मको अवस्था सिर्जना हुने गरेको अवस्था पनि उजागर गरिएको छ । विदेशमा बसेर सुखमय जीवन बिताउने लालसा बोकेका कैयौँ व्यक्तिहरूको पारिवारिक सम्बन्ध टुटेको र कुकुरलाई साथी तथा परिवारको सदस्य बनाई बाँकी जीवन बिताउनु परेको कुरा पनि लघुकथामार्फत व्यक्त गरिएको छ ।

विदेशमा सम्पर्कको मुख्य भाषा अङ्ग्रेजी रहेको हुँदा अङ्ग्रेजी भाषा बोल्नु वाध्यकारी अवस्था रहेको र अङ्ग्रेजी भाषाको दवावले गर्दा आफ्नो मातृभाषा सङ्कटमा पर्दै गएको अवस्थालाई पनि लघुकथामा महत्त्वका साथ प्रस्तुत गरिएको छ ।

विदेशमा वर्षौँ एउटै कोठामा बस्ने र मन मिलेमा मात्र विवाह गर्ने; प्रेम खासै टिकाउ नहुने र डिभोर्स भइरहने; अर्काको जीवनशैली, रहनसहन तथा लवाई खवाईप्रति कुनै चासो वा टिकाटिप्पणि नगर्ने; आफू अशक्त भए पनि आफू आफ्नै खुट्टामा उभिन खोज्ने, अर्काको सहयोग आवश्यक नठान्ने; वृद्धवृद्धाहरूले एक्लो जीवन बिताउनुपर्ने; छिमेकीहरूका बिच पनि बोलचाल, परिचय आदानप्रदान, भावनात्मक सम्बन्ध नहुनेलगायतका संस्कृति वा संस्कार रहेको कुरा पनि विभिन्न लघुकथामार्फत व्यक्त गरिएको छ ।

एकातिर अमेरिका पाताल हो । पाताल (अमेरिका) मा खसेपछि निस्किन असम्भव छ भन्ने कुरा उल्लेख गरिएको छ भने अर्कोतिर विदेशमा लामो समय बसेका नेपालीहरू पनि विदेशी जीवनशैलीप्रति सन्तुष्ट नभएको तथा जीवनको उत्तरार्धमा स्वदेश फर्किने र शान्तिपूर्ण जीवन बिताउने विचार राख्ने गरेका विषयलाई पनि महत्त्वका साथ प्रस्तुत गरिएको छ ।

समग्रमा भन्नुपर्दा यस लघुकथासङ्ग्रहमा रहेका सबैजसो लघुकथाहरू विदेशी परिवेशमा लेखिएका छन् । प्रवासी नेपालीहरूले भोग्नुपरेका पीडा; प्रवासी जीवनशैली; स्वदेशप्रतिको प्रेम; विदेशी संस्कृति तथा सामाजिक पक्ष; नयाँ नयाँ प्रविधिको प्रयोग आदि कुरालाई विषय बनाइएको छ । लघुकथा लेख्दा लघुकथाको सैद्धान्तिक पक्षलाई पनि ध्यान दिइएको छ । बहुसङ्ख्यक लघुकथाको परिवेश विदेशी भूमि रहेको छ । प्रवासी नेपालीहरूको जीवनशैली र भोग्नुपरेका समस्या तथा पीडालाई कथानकको स्रोत बनाइएको छ । विदेशी परिवेश भएको हुँदा यसमा कतिपय पात्रहरू विदेशी रहेका छन् । उनीहरूले बोल्ने भाषालाई कतिपय ठाउँमा जस्ताको तस्तै राखिएको हुँदा लघुकथामा स्थानीयताको झझल्को आएको छ । प्रवासी नेपालीहरूको जीवन शैलीलाई मुख्य आधार बनाएर उनीहरूको अवस्थालाई चित्रात्मक शैलीमा प्रस्तुत गरिएको छ । लघुकथाको सुरुवात, विस्तार र अन्त्यको मामिलामा पनि लघुकथाकार सचेत रहेको देखिन्छ । धेरैजसो लघुकथाहरू पढिसकेपछि पाठकलाई गम्भीर भएर सोच्न बाध्य पारेको अवस्था पनि छ । यी विविधखाले विशेषताहरूप्रति विशेष ध्यान दिइएको हुँदा यसमा रहेका लघुकथाहरू स्तरीय बनेका छन्, पठनीय छन्, सन्देशमुलक छन् र नेपालीहरू कामविशेषले विदेश बस्नुपरे पनि जन्मभूमिको माया सधैँ उनीहरूको मन र मस्तिष्कमा गडेर बसेको हुन्छ भन्ने कुरा लघुकथामाफत् व्यक्त गरिएको मैले महसुस गरेको छु ।

हाल: म्यानक्याटो, मिनेसोटा, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।