19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शान्तिका लागि निशस्त्रीकरण

कविता मान्सी पोखरेल August 31, 2024, 6:08 am
मान्सी पोखरेल
मान्सी पोखरेल

आउ, एउटा कविता कोरौ
शान्तिको मधुर ध्वनि छरौ ।

तिमीलाई थाहा छ,
तिमी युद्धमा जाँदा
एक्लो तिमी मात्र जाँदैनौ ।
साथमा जान्छ परिवारको शान्ति
प्राणप्रिया भार्याको मुहारको कान्ति
जान्छ बृद्ध बाआमाको सहारा
छोराछोरीको काखसँगै आहारा
भोक, प्यास अनि रातको निन्द्रा
दाजुबहिनीको मुस्कान र तन्द्रा
घरखेत अनि बस्तुभाउको माया
आँगनमा झुलेको पिपलको छाया ।

त्यसैले,
आउ, एउटा कविता कोरौ
शान्तिको मधुर ध्वनि छरौ ।

तिमीलाई थाहा छ,
युद्धमा तिमी मात्र हार्दैनौ
एक्लो तिमी मात्र मर्दैनौ
साथमा उनीहरु पनि हार्छन्
सजाइएका सारा सपनाहरु मर्छन् ।
युद्धले त युद्ध नै निम्त्याउँछ
आक्रमणले प्रत्याक्रमण मात्र गराउँछ
शान्ति त प्रेम हो, मुस्कान हो
सम्पूर्ण सत्य हो, जहाँ मानवता रमाउँछ
हतियार रहेसम्म शान्ति हराउँछ
शान्तिले मात्र सद्भाव ल्याउँछ ।
त्यसैले,
आउ एउटा कविता कोरौ
शान्तिको मधुर ध्वनि छरौ ।

ड्रोन र मिसाइल, बम र बारुदले
अकल्पनीय युद्ध भड्काउँछ
धेरैलाई टुहुरो र बेसहारा बनाउँछ
कतिपयलाई शरणार्थी त
कतिपयलाई घरबारविहीन गराउँछ
रासायनिक र जैविक क्षेप्यास्त्रले
लाखौँ, करोडौँको एउटै चिहान खनाउँछ ।
शान्तिले मात्र मिठो सुगन्ध फैलाउँछ

त्यसैले,
आउ एउटा कविता कोरौ
शान्तिको मधुर ध्वनि छरौ ।

लडने नै हो भने,
नयाँ लडाई लडौं ।
सुन्दर विचार, उत्कृष्ट दर्शन
विज्ञानका नूतन सिद्धान्तहरू खोजौ ।
युद्धको उन्माद छोडौ,
ज्ञानी बुद्धको सत्मार्ग रोजौ
विशिष्ट चिन्तन–मनन गरौ
विचारको युद्ध लडौ
शस्त्र त्यागेर शास्त्रार्थ गरौ ।

आउ एउटा कविता कोरौ
शान्तिको मधुर ध्वनि छरौ ।

आउ एउटा कविता कोरौ
शान्तिको मधुर ध्वनि छरौ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।