लालित्यपूर्ण प्रस्तुतिमा मनोरम भाव पस्किएका छन्, प्राकृतिक वस्तुलाई मानवीकरण गरी चित्रणको रम्यता प्रस्तुत गरेका छन् । रारालाई मुक्तकण्ठले प्रशंसा गर्दै नियात्राकार भन्छन् - ‘हाम्रो सम्पत्ति भनेकै प्रकृति हो । रारा कुनै अप्सरा वा युवती होइन । यो त प्रकृतिको अनुपम उपहार हो । हाम्रो साझा सम्पत्ति हो । रारा हाम्रो गौरव हो, रारा हाम्रो सान हो, रारा सौन्दर्यको खानी हो । रारा हाम्रो खुसी हो । (पृः१९) राराको छाल नै मनमुग्धकारी सौन्दर्य रहेछ भन्ने नियात्राकार बताउँछन् ।
यहाँ नियात्राकार सूचना चुनेर दिन्छन् । कुरा छानेर बोल्छन् । हेर्न र बुझ्न चाहेको मुख्य कुरा देखाएरै छोड्छन् । विवरणमा अधिक शब्दहरू खर्चेर कथ्यलाई निरसिलो पार्ने उनको ध्येय छैन । चाहिने र आनन्द दिने कुरा मात्र चट्टचट्ट राखेर प्रस्तुतिलाई रसिलो र चोपिलो बनाएर प्रस्तुत गर्छन् । वास्तवमा नियात्रा भनेको मनलाई मनोरम आकाशमा उत्साह र उमङ्गको कावा खेलाउने यात्रा हो भन्ने महसुस गराएका छन् । राराको डिलमा बसेर उनले अभिव्यक्त गरेका अनुभूतिहरू रुचिकर र मनोरम लाग्दछन् । १९ वटा नियात्रामध्ये विषयानुक्रममा दोस्रो रहेको “राराको डिलमा” नियात्रा कृतिका निम्ति बिम्बात्मक शीर्षकका रूपमा चयन गरी कृतिको गुरुत्व र गरिमा बढाएका छन् ।
यसमा भूमिका र उपभूमिका गरी जम्मा ४२ वटा भूमिकाहरू रहेका छन् । १९ वटा नियात्रामा ४२ वटा भूमिका आश्चर्यलाग्दो संयोजन हो । प्रत्येक नियात्रालाई बेग्लाबेग्लै समीक्षकहरूबाट समीक्षण गराएर त्यही समीक्षा नियात्राका सामु राख्दा तिनका विशेषता बुझ्न पाठकलाई त सघाउँछ नै । नियात्रा रच्नेहरूलाई पनि सृजन प्रक्रियाका स्वरूपको बोध गराउँछ । यसमा प्रस्तुत गरिएका १९ भूमिकाले सृजना र सिर्जनाको सैद्धान्तिक पक्ष दुवैलाई स्पष्टाएको छ । नियात्रा के हो, त्यो कसरी लेखिन्छ र त्यो कस्तो हुनुपर्छ यसबाट तीनै प्रश्नको उत्तर पाउन सकिन्छ । त्यसो त नियात्राको प्राणको रूपमा कसरी ?, कहाँ ?, कहिले ?, किन ? क पाँचै प्रश्नको सारतत्त्व भएको हुनुपर्छ भन्ने मान्यता नै छ । यो नियात्रा सिर्जनामा लागेका सिकारु सर्जकहरूलाई मात्र होइन, नियात्रामा स्थापित भैसकेका सर्जकहरू पनि यसले मार्गदर्शन गराउँछ । यो नेपाली यात्रासाहित्यको सृजनात्मक र प्रशिक्षणात्मक दुवै गुणले सम्पन्न नवीनतम सुन्दर कृति हो ।
नियात्राकार बालसाहित्यकार लघुकथाकार पनि हुन्, लोकसाहित्यका विज्ञ एवं विश्लेषक हुनुका साथै प्रखर समालोचक पनि हुन् । सिर्जनाका सबै क्षेत्रमा आफ्नो उच्च पहिचान बनाइसके पछि नियात्रातिर लागेर पहिलो कृतिबाटै आफ्नै एक उचाइ हासिल गरेको देखिन्छ । जिन्दगीलाई नै एक यात्रा सम्झेर जीवन जम्ने पानी नभई बग्ने पानी हो भन्ने सम्झेर विभिन्न प्रयोजनले गरिएको यात्रालाई यात्रामय बनाएर आफू शिशु कक्षामा छु भन्दाभन्दै एकै कृतिको प्रकाशनबाट नियात्राको उच्च कक्षाको सुन्दर पाठ पढाएझैँ लाग्दछ । कुनै तहको पाठ्यक्रममा नियात्राको विशेष अध्ययन गरिएछ भने नियात्राको सृजनात्मकता र सैद्धान्तिकता दुवै ज्ञानका निम्ति यो कृतिको अवश्य पनि माग बढ्ने छ ।
“सिन्धुलीगढी घुमेर हेर्दा’ यो यस कृतिको निकै महत्त्वपूर्ण नमुना योग्य बनेको उत्कृष्ट निबन्ध हो । सिन्धुली गढी ऐतिहासिक महत्त्वको ठाउँ हो । नेपाल अंग्रेज युद्ध हुँदा नेपालीले अंग्रेजहरूलाई लखेट्न सफल भएको यो ठाउँ जान्ने बुझ्ने यसको भौगोलिक प्राकृतिक परिवेशको अध्ययन अवलोकन गर्ने उत्सुकता र जिज्ञासा हर कुनै यात्रीमा रहन्छ । नियात्राकारले यसको इतिहासलाई निकै रोचक र मनोरम ढङ्गले प्रस्तुत गरेका छन् । ऐतिहासिक तथ्यपरक घटनालाई आख्यानमय शैलीमा उनेर नियात्राकारले यसमा प्राण फुक्ने काम गरेका छन् । यासले ऐतिहासिक ज्ञान प्रदान गर्नुका साथै प्राकृतिक परिवेशको सटीक वर्णनले आनन्द प्रदान गर्दछ ।
नियात्रामा विवरणका सपाट वर्णन गरेर कार्यक्रममा भएका हरित प्रस्तुत गरेर नियात्राका आस्वादन पाइँदैन । कथ्यलाई तथ्यपरक तुल्याउन सूचनाको पनि आवश्यकता पर्छ । त्यही अधिक मात्रामा प्रस्तुत भयो गतिमयताको चित्रणबाट जागृत संवेदनाको मिठो आस्वादन पाठक वञ्चित हुन पुग्छ । तसर्थ यहाँ नियात्राका सैद्धान्तिक उपकरणमा खेल्न सिपालु नियात्राकारले सन्दर्भ र प्रसङ्गअनुसार कतै चुट्किलो कतै गाउँखाने कथा, कतै कथन वैचित्र्य प्रस्तुत गरेर चित्रणमा रम्यता प्रस्तुत गरेका छन् । जस्तै - दमकडामा रहेका मानिसको सहृदयता, सद्भाव, आतिथ्य सत्कार, सरल र मधुर व्यवहारबाट प्रभावित हुँदै नियात्राकार भन्छन्ः यस्तो ठाउँलाई कसले नाम दियो दमकडा ? यहाँ दमकडा भनेको ढुङ्गोमुढो होला मानिस होइन । (पृ.४९)
“माडी उपत्यकामा ढिकीको कुकुल्ढ्याङ हराएछ । जाँताको घ्वाइँघ्वाइँ हराएछ । दही मथेको घ्यार्रघुर्र भने चल्दै रहेछ, अझै । गीत घन्किदै रहेछन् लोककथा भनिँदै रहेछन् । (पृ.५०) त्यस्तै पहाडकी रानी मानिने दार्जिलिङ भन्दा कम नरहेको तानसेनको विशेषतालाई पनि यसरी बखान गर्छन् - “प्राचीन इतिहास र संस्कृतिलाई साँचेर राखेको रहेछ, तानसेनले । यसले इतिहास बनाएको रहेछ र इतिहासकार पनि जन्माएको रहेछ । साहित्य रचेको रहेछ र साहित्यकार पनि जन्माएको रहेछ । (पृ.५०)
यसरी नियात्रा भनेको यात्राको तोरण जस्तो रहेछ । ठाउँठाउँमा विविध जातका फूलहरू, जड्दै लट्ठियो भने यसले सौन्दर्य र सुवास दुवै दिन्छ । कोरा घटनाका डोरी मात्रै काट्दै लगियो भने त्यो बुङ्गो डोरीजस्तो हुन्छ तर त्यसलाई शृङ्गारिक फूलहरूले राम्ररी सजाउँदै लागियों भने त्यो आकर्षक सुन्दर तोरण वन्दछ । नियात्राकर यहाँ घटनाहरूलाई बाँध्दै लगेर त्यसलाई तोरणको रूप दिन सफल देखिन्छन् ।
नियात्रामा समीक्षाचेत पनि सक्रिय रहन्छ । त्यसैको केन्द्रीय सक्रियता भने रहनु भएन । नियात्रा भनेकै विविध तत्त्वहरूको तालमेलबाट बनेको सम्भावित रचना रूप हो । समीक्षा र विश्लेषणमा विशेष दक्षता हासिल गरेका नियात्राकार लामिछानेले आफ्नो प्रतिभा र सिपलाई यथोचित रूपले प्रस्तुत गरेका छन् । जस्तै– गाडीमै धनेश्वर नेपाल नारायण बेलवासे आदि एकातिर तथा गायत्री पराजुली, रामप्रिया र श्रीमाया अर्कातिर भएर दोहोरी खुब चल्यो । (पृ.५५)
नियात्राकार लामिछाने लोकसालाहित्यका गम्भीर अध्येता र शोधकर्ता दुबै हुन् । जब यस्तो परिवेशको चाल पाउँछन् उनी एक पन्थ दुई काजको नीति अँगाल्छन् । उनले अभिव्यक्त गरेका तपसिलका पङ्क्तिबाट यस तथ्यको पुष्टि हुन्छ, जस्तै - हामी लोक खोज्दै लोकमा पुगेका हौँ । लोक खोज्दै जाँदा लेक गढीलेखमा आइपुगेका छौँ । हामीलाई लोकका विधिव्यवहार, लवाइखवाइ, चालचलन तथा लोकसंस्कृतिलाई नजिकबाट वुझ्नु र खोज्नु थियो । (पृ.५८)
धेरै नियात्राकारका मुस्ताङ विषयक नियात्रा पढ्ने अवसर मिलेको छ, तर यो लामिछानेको सरल सम्प्रेष्य र लालित्यमय शैलीको नियात्रा पढ्न बिरलै पाइएला । नियात्राकार समुत्सुक हुँदै जहाँ जता पुगेका छन् त्यतै पाठकको मन पनि रमाउँदै पछ्याउँछ । यो उनको धार्मिक यात्रा, सांस्कृतिक यात्रा र साहित्यिक यात्रा तीनै बनेको छ । त्यसै त लामिछाने एक काम लिएर मात्रै हिँड्दैनन् उनको यात्रा बहुकाम बहुप्रयोजनको हुन्छ भन्नेहरूको कथनलाई यसले प्रमाणित गरिदिएको छ । एक विद्वान् विशेषज्ञले गरेको यात्रा ज्ञानमय र सन्देशमय हुन्छ । मुस्ताङ मन्थाङबाट बनेको शब्द रहेछ भन्ने जनविश्वासले पनि सही व्युत्पत्तिको बोध हुन्छ ।
सरल सम्प्रेष्य र मृदु मनोरम लालित्यमय शैलीको पनि नमुना हेरौँ – भैरहवाबाट हिँड्दा हप्प गर्मी थियो, तप्प पसिना चुहुन्थे पाल्पा पुग्दा सिरसिरे बतासले पसिना ओबायो । (पृ.६४)
– सल्लो त यहाँ अहपुग्दा भुइँसल्लो हुँदोरहेछ । धूपीको खुपी हराएछ । भूपिले खुपी देखाएको ठाउँ रहेछ यो । (पृ.६६)
मनोवैज्ञानिक यथार्थवादी ख्यातिप्राप्त आख्यानकार भिक्षुका पाइला पछ्याउने सन्दर्भ चल्दा उनको देहावसनमा दुईचार जना मलामी पनि नभएको घटना सुन्दा उदेक लागेर आउँछ । भिक्षु विशेषाङ्कमा यो तथ्य उद्घाटित रहेको छ । उनै भवानी भिक्षुलाई सम्झेर नियात्राकार मण्डलीका साथ भिक्षु जन्मेका ठाउँको गन्तव्य साधेर यात्रा गर्छन् । नियत समयमा मिक्षुकै घर पुग्छन् मिक्षुका शाखा सन्तान र बन्धु वान्धवसँगको परिचय प्राप्त गर्छन् भिक्षुप्रति भिक्षुको परिवार भने उदासीन रहेको रहस्य पनि थाहा पाउँछन् । यसरी ज्ञानको क्षुधा शमन गर्ने यो निबन्ध भिक्षुको विशेष अध्ययनका निम्ति महत्त्वपूर्ण रहन गएको देखिन्छ ।
नियात्राकार लामिछाने बहुप्रतिभाशाली स्रष्टा हुन् । उनी अनुभूति र ज्ञानको सम्प्रेषण मात्र गर्दैनन् कथ्यको पुष्टि गर्न सूचना समेत प्रवाह गर्छन् । नियात्रालाई कसरी सरस र सुरुचिकर तुल्याउन सकिन्छ भनेर शैली र सङ्कथनमा आफ्नो स्वभाव समेत उतार्छन् । उनको स्वरूप र प्रवृत्ति भनेको तुक ज्ञानगुनका कुरा राखेर शिष्ट र मर्यादित रूपमा हँसाउँदै मनोरज्जन गराउने हो । यसका उदाहरण वा दृष्टान्त कृतिभरि छरिएर रहेका छन् ।
मानिस बौद्धिक र अनुभवी हुँदै गएपछि सुननात्मक लेखनमा पनि मस्तिष्कीय विचारका कुराहरू बढी आउन सक्छन्, आफ्नै सिर्जनात्मक शैलीमा आफ्नै मातिष्क तगारो बन्न सक्छ, तर नियात्राकार लामिछानेमा ती सबै कुराको हेक्का छ । उनी आफ्ना नियात्रामा प्रेरक वस्तुहरूबाट प्रस्फुरित स्वकीय अनुभूतिहरूलाई नै प्राथमिकताका साथ प्रकटीकरण गर्दै लैजान्छन् । मस्तिष्कभन्दा मनलाई नै अधिक क्रियाशील तुल्याएर आफैँलाई तरङ्गित तुल्याउँछन् । यो उनका नियात्राको सर्वप्रिय गुणात्मक पक्ष हो ।
नियात्राकार निष्काम र आकस्मिक यात्रा रुचाउँछन् । आकस्मिक यात्राको अनुभूति विशिष्ट हुन्छ भन्ने उनको धारणा छ । यात्राको महत्त्व दर्शाउँदै उनी भन्छन् – “यात्रा मान्छेको प्रकृति हो । प्रवृत्ति पनि हो । आदिमकालदेखि अहिलेसम्म जन्मदेखि मृत्युसम्म हिँडिहेको हुन्छ । जो हिँड्छ उसैले देश दुनिया देख्छ, उही ज्ञानगुनले समृद्ध हुन्छ । जीवनको शुद्धता घुमाइमा छ । जमेको पानी फोहोर हुन्छ र बगिरह्यो भने फोहोर पानी पनि थिग्रिदै गएर कहीँ न कहीँ स्वच्छ र पवित्र हुन पुग्छ । त्यसैले म भन्छु घुमिरहनु हिँडिरहनु जीवन हो । कवितामा सम्झन्छु - म पोखरी झैं उही ठाउँ जम्दिन ।’ (पृ.८९) नियात्राकारको यात्रासम्बन्धी यो विचारले महत्त्वपूर्ण अर्थ राख्दछ ।
भैरहवादेखि आबुरोडसम्म ज्ञानात्मक नियात्रा हो । यसमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका भौतिक परिवेश, नारी नेतृत्वद्वारा सञ्चालित सुन्दर व्यवस्थापन, संयम अनुशासन र राजयोग विषयको विशिष्ट बोध गराउँछ ।
सर्वप्राचीन ग्रन्थ ऋृग्वेदमा भनिएको यात्राको महत्त्वलाई फेरि दर्शाउँदै नियात्राकार भन्छन् – “आद्यग्रन्थ ऋग्वेदमा अविश्रान्त भावले यात्रा गरिरहनेलाई श्रीसम्पति प्राप्त हुने भन्दै हिँडिरहन भनिएको छ, चरैवेति, चरैवेति । (पृ.११०)
अलिकति गफगाफ, अतिकति घोचपेच, अलिकति छेडछाड, अलिकति टीकाटिप्पणी, अतिकति रसरङ्ग, अतिकति ज्ञानुगुन, अलिकति ठट्टा–मजाक जस्ता तत्त्वहरू मूल विषयसँग मिसमास गर्दै जाने सिप हासिल भएपछि नियात्रा सिर्जनको कला विकसित हुँदो रहेछ कि भन्ने लामिछानेका नियात्रा पढेपछि बोध हुन आउँछ ।
नियात्राकरको त्यसै त रोचक र मनोरम शैली छ त्यसबाहेक हास्यव्यङ्ग्य शैलीमै पूरै नियात्रा रचना गर्ने खुबी पनि उनीभित्र निहित छ भन्ने तथ्यको प्रमाण हो – जुहीको जात्रा । हास्यव्यङ्ग्यकारको रूपमा आपूmसमेत सम्मानित हुने अवसरमा हास्यव्यङ्ग्यकै नियात्रा रचना गरेर आपूm सम्मानित हुनुको सार्थकता पनि सिद्ध गरेका छन् ।
अन्तमा गतिशीलता, स्थानीयता, तथ्यात्मकता निजात्मकता आत्मीयता, भावप्रवणता, कल्पनाशीलता वस्तुगत यथार्थता, चित्रात्मकता अदि नियात्राका आवश्यक तत्त्व मानिन्छन् । लामिछानेले आफ्ना नियत्राहरूमा यी तत्त्वहरूको सूक्ष्म र कलात्मक प्रयोग गरेका छन् त उनका नियात्रा विद्वत्ता वा पाण्डित्यले बोझिल नभई र रसरङ्गले भरिपूर्ण रमाइला र स्वादिला लाग्दछन् । ती तार्किकता र वस्तुगत यथार्थताले सजिएका छन् । नियात्राकार जुन स्थानको यात्रा गर्छन् त्यसको प्राकृतिक, सांस्कृतिक, र ऐतिहासिक महत्त्वलाई कलात्मकताका साथ उजागर गर्दछन् । उनको प्रस्तुति वा चित्रणकला आकर्षक र मनोरम छ । शब्द शब्द र पङ्क्तिपङ्क्तिले तान्दै केवलकारझैँ विविध दृश्य र परिवेशको अवलोकन गराउँदै आनन्दपूर्वक गन्तव्यमा पु¥याउँछन् । उनीसँग आफूले पक्रेको विषयलाई स्पष्टसँग स्पष्ट्याउने कला पनि उच्च स्तरको छ र विषयलाई उत्सुकतामय तुल्याएर छर्लङ्गसँग बुझाइएको छ । यात्रालाई ज्ञानवर्धक र मनमोहक दुवै तुल्याउने नियात्राकार लामिछानेको लेखनीलाई सलाम गर्दै समीक्षालाई यहीँ अन्त गर्दछु ।
कीर्तिपुर –२ मैत्रीनगर, कंलकी काठमाडौँ