संयुक्त राज्य अमेरिका धेरैको सपनाको देश भन्दा फरक नपर्ला । अमेरिका जाने र जान चाहने मानिसको ओइरोले गर्दा पनि यो कुरो सार्वजनिक बहस र चिन्ताको विषय बनिसक्यो । विश्वकै बलिया राष्ट्रहरू मध्येको एक मानिने अमेरिका धेरै मानिसका लागि भौतिक विकासको श्रेष्ठ नमुना, नवप्रवर्तनका लागि उर्वर भूमि, खोज र अनुसन्धानलाई प्रबद्र्धन गर्ने, राम्रो कमाइ हुने र तनावमुक्त जीवन बिताउन पाइने ठाउँ हो । तर यी कुराको गाँठी अवस्था के छ, त्यहाँ पुगेका, बसेका र भोगेकालाई नै ज्ञात होला । रुकुम पश्चिम जिल्लाको बाफिकोट गाउँपालिकाको केही गाउँका मान्छे रोजगारी र राम्रो कमाइका आशामा अमेरिका जाने क्रमले गाउँ नै खाली हुन लागेको भन्ने समाचार अनलाइन खबरमा कभर स्टोरीका रूपमा पनि आयो । त्यहाँका प्रायः घरका मान्छे, विशेष गरी युवावर्ग, अवैध बाटोबाट अमेरिका छिर्ने गरेको, २०६३ को शान्ति–सम्झौताअघिको वातावरण देखाई त्यहीं शरण लिई ग्रीनकार्ड (स्थायी बसोबास अनुमतिपत्र) पाउने गरेको कुरा उक्त सामग्री पढेपछि थाहा हुन आयो । साथै घरको एक जना अमेरिका गएपछि घरका अन्य सदस्य र आफन्तलाई पनि लैजान मेसो मिलाउने र पैसा जुटाउने गर्दा यो अवैध बाटाबाट अमेरिका पुग्ने क्रम ह्वात्तै बढेको पनि बुझियो । आश्चर्यको कुरा चाहिँ सामान्य खेतीपाती गरेर जीविका चलाउने परिवारले पनि छिमेकीसँग, आफन्तसँग र कतिपय अमेरिका पुगेकासँग पनि सापटी लिएर अमेरिका जाने गरेको देखियो– १० लाख, २० लाख होइन ७५ लाखदेखि १ करोडसम्म ऋण खोजेर । जसरी भए पनि अमेरिका हानिने कुरा समाचारमा आउँदा यस्तो घटनाक्रमबारे अनविज्ञ रहेको मलाई अनौठो लाग्यो । चर्को ब्याजदरमा ऋण लिएका, परिवारको सदस्य अमेरिका पुग्न नसकी बाटैमा मृत्युवरण गरेका, अमेरिका पुगेर पनि थुनामा रही स्वदेश फर्काइएकाहरूको जीवन ऋणको दुष्चक्रमा फँसेको र घरको न घाटको भएको अवस्थाबारे चर्चा भइरहँदा केही राष्ट्रवादीहरूले त्यतिका पैसा जुटाउन सक्नेले किन देशमै केही नगरेको भनेर प्रश्न पनि गरे ।
उत्पादनका क्षेत्रमा लाग्नेले राज्यबाट सहयोग नपाउने, उचित प्रतिफल पनि नपाउने, आधुनिकीकरणका अभावका निर्वाहमुखी कृषिमा निर्भर रहनुपर्ने, सेवा क्षेत्रमा रोजगारीको अवसर नमिल्ने, शिक्षा र स्वास्थ्यजस्ता जीवनका आधारभूत आवश्यकताको परिपूर्ति गर्नै हम्मेहम्मे पर्ने, राज्यले सामाजिक सुरक्षाका सबालमा औपचारिक क्षेत्रलाई समेट्ने तर अनौपचारिक क्षेत्रमा रहेका नागरिकलाई कनिका छरेजस्तो गरेर दिने सुविधाले एकातर्फ जनतामा निराशा बढाएको छ भने अर्कातर्फ असमानताको खाडल अझ गहिरो हुँदै छ । यस्तो परिस्थितिमा नागरिकका लागि राज्यले सेवासुविधा दिन नसक्ने, सरकारी काममा पाइलैपिच्छे कर असुली गर्ने तर करन्याय नगर्ने हुँदा जनताले आफ्नो भविष्य सहज रूपमा अघि बढ्छ भनेर विश्वास गर्न सकेका छैनन् । यसकारणले पनि पलायनवादी सोचमा वृद्धि भएको मेरो ठम्याइ छ । राजनीतिक पार्टी र नेताले जनतामा आशाको सञ्चार गर्न नसकेका र महत्त्वपूर्ण भनिएका राजनीतिक परिवर्तनले पनि जनताका समस्यालाई चुँ सम्बोधन नगरेका कारण परास्त भएका शक्ति र वर्गले टाउको उठाउने मात्र होइन व्यवस्था परिवर्तनकै आवाज उठाउन थालिसकेका छन् ।
व्यक्तिगत रूपमा भन्नुपर्दा विद्यार्थी छँदा अमेरिकाबारे मलाई धेरै जानकारी थिएन । विश्व व्यवस्थाबारे थोरै जानकारी राख्ने भएपछि र विश्व इतिहासको आधारभूत अध्ययन गरेपछि म अमेरिका जान त्यति लालायित भइन । तथापि अमेरिकी नागरिकले नै अमेरिकाका गलत नीतिविरुद्ध स्वतन्त्र रूपमा बोलेका कुरा सुन्दा त्यहाँका जनता र भूगोलबारे जिज्ञासा जाग्ने क्रम भने बढेर गएको थियो । यसरी अमेरिकालाई बुझेको शुरुवाती बेलामा कसैले “ल अमेरिका हिँड्” भनेर सित्तैमा लैजाने भए पनि म अमेरिका जान्न भनेर त्यतातर्फ वास्ता नगरी बस्ने गरेको थिएँ । पछि पछि मान्छेले सत्ताका प्रवृत्ति र नियतसँग चित्त नबुझाउन सक्छ, सरकारका कामकारबाहीको आलोचना गर्न सक्छ; तर सम्बन्धित देशका जनता र त्यहाँको भूगोललाई बुझ्दा राम्रै हुन्छ भन्ने पनि मलाई लाग्न थाल्यो । त्यसो भए एकपटक अमेरिका गएर कस्तो छ हेर्ने कि भन्ने लाग्दै थियो । तथापि अमेरिका सजिलै जान सकिने अवस्था पनि थिएन । मानिस ज्यान फालेर, लाखौंदेखि करोडसम्म खर्चिएर अमेरिका छिर्न खोज्ने भएपछि औपचारिक मार्गबाट प्रवेशाज्ञा पाउन पनि कठिन नै होला भन्ने लाग्यो ।
परराष्ट मन्त्रालयकी कर्मचारी भएका कारण मेरी दिदी २०८० सालको जेठ महिनामा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा काम गर्न खटिएर जानुभयो । नेपाल अति कम विकसित राष्ट्र समूहको अध्यक्ष रहेको कारण त्यही फाँट हेर्ने गरी उहाँ त्यता जानुभएको थियो । अमेरिकामा बसाइ र खानपानमा पैसा धेरै नै खर्च हुने भएकाले व्यक्तिगत रूपमा यात्रा तय गर्न सक्ने कुरा सम्भव भएन । सन् २०२३ को जुलाई महिनामा संयुक्त राष्ट्र संघको मुख्यालयमा हरेक वर्ष हुने दीगो विकास लक्ष्यको उच्चस्तरीय राजनीतिक भेलामा नागरिक समाजको प्रतिनिधि भई भाग लिन जाने मेरो योजना थियो । खर्चको प्रबन्ध मिल्ला नमिल्ला प्रवेशाज्ञा (भिसा) चाहिँ लिने प्रक्रिया शुरु गर्नुप¥यो भनेर भिसा आवेदनबारे बुझ्न थालें । अमेरिका पुगेपछि दिदी भिनाजुसँग बस्न पाइने र खाने खर्च पनि खासै नचाहिने हुँदा आर्थिक हिसाबले सम्भव हुने छाँटकाँट देखियो । अमेरिकाको भिसाका लागि आवेदन दिएर अन्तर्वार्ता वा कागजपत्र हेर्ने पालो आउन एकदेखि डेढ वर्षसम्म लाग्ने कुरा थाहा पाएपछि म निरास भएँ । तर बुझ्दै जाँदा न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको मुख्यालय रहेकाले त्यहाँ सभा, समारोहमा भाग लिन जानेका लागि सिधै अन्तर्वार्ता दिएर भिसा आवेदनका कागजपत्र बुझाउन पाइने थाहा भयो । ट्रान्जिट भिसाकै स्वरूपको मानिने सी २ भिसा भन्ने समूहको भिसा आवेदन दिन म काठमाडौंस्थित अमेरिकी दूतावास गएँ । दूतावासभित्रका कुरा सुरक्षाका हिसाबले संवेदनशील हुने भएकाले यहाँ राख्न उचित नहोला । तर समग्रमा भन्नुपर्दा त्यहाँ मलाई सम्मानजनक व्यवहार भएन । लघुताभाष गराउने र दुःख दिने प्रयास भयो । मलाई अमेरिका गएर बस्नु छैन । बसे पनि बकाइदा कानुनी हिसाबले योग्य भएर बस्ने हो । अमेरिका भन्ने देश देखिन्छ, कार्यक्रममा सहभागी भइन्छ, संयुक्त राष्टसंघको मुख्यालय कस्तो रहेछ देख्न पाइन्छ भन्ने नै मेरो मनसाय थियो । त्यसैले उनीहरूले जति नै खसालेर कुरा गरे पनि, लुक्नकै लागि जान लागेको हो जसरी झपारे पनि म नबिराउनु नडराउनुको मान्यता लिएर प्रस्तुत भएँ । सोधेका कुरा जे हो त्यही भनिदिएँ कुनै दकस र सकसबिना । अन्ततः पाँचौँपटक दूतावासमा बोलाएर मलाई भिसा दिए । उक्त भिसा समूहको मान्य अवधि तीनदेखि चार महिनासम्मको हुँदो रहेछ ।
कार्यालयबाट मेरो टिकट खर्चको व्यवस्था हुने भएपछि यात्रा तय भयो । २०८० असार २३ गतेका दिन संयुक्त राज्य अमेरिकाका लागि नेपालका पूर्व राजदूत डा. अर्जुन कार्की र सहकर्मी साथी कुसुम ढुङ्गेलका साथ म पनि अमेरिका प्रस्थान गर्ने भएँ । टर्किस एअरलाइन्सको विमानबाट तुर्किए (टर्की)को शहर इस्तानबुलमा ट्रान्जिट हुँदै त्यहाँबाट अमेरिकाको जोन एफ क्यानेडी अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंदेखि करीब १९ घण्टाको यात्रापछि पुगियो । भिसा लिने बेला मलाई नेपालमा झाँको झार्न खोजेबाट सशंकित भएकाले होला मलाई अमेरिकाको अध्यागमनले के के सोध्ने हो वा फर्काइदिने हो भन्ने कुरा मनमा खेलेको थियो जुन स्वाभाविक पनि थियो । अध्यागमनका कर्मचारीलाई पासपोर्ट दिएपछि मेरो अनुहारमा पनि नहेरी अनि एक शब्द पनि नबोली छाप लगाएर दिएपछि अब अमेरिका देखिने भयो भन्ने लाग्यो । सँगै गएका साथीहरूलाई उहाँहरू बस्ने होटलमा छोडेर मलाई गाडीले दिदी भिनाजुको बासस्थानसम्म ल्याइदियो । नेपालमा साँझ पर्दा अमेरिकामा बिहान हुने हुँदा एक दुई दिन दिउँसै निन्द्राले झप्प पार्ने र शरीर आलस्य रहने भयो । न्यूयोर्क पुगेको भोलिपल्टदेखि सं.रा. संघको मुख्यालय प्रवेशका लागि अनुमति लिन यु.एन. ग्राउण्ड पास बनाउने र भेलाका विभिन्न कार्यक्रममा सहभागी हुन संसारभरिबाट आएका विभिन्न समूहका तयारी बैठकमा सामेल भइयो । अमेरिकाको मेरो बसाइ इष्ट रिभर र हड्सन रिभरका बीचमा पर्ने म्यान्ह्याटनकै सेरोफेरोमा सीमित रह्यो । मेरो भिसाको सर्त न्यूयोर्कबाट बाहिर जान नपाउने थियो । त्यसैले पनि कानुनको पालना गर्नका लागि अमेरिकाका अरु राज्यमा जान योजना बनाइएन । नेपालबाट आएका सहभागीहरू कोही नायगारा फल्स गए । कोही वासिङ्गटन डि.सि. त कोही उनीहरूका आफन्त, परिवारजन रहेका अन्य राज्यमा पनि गए र सामाजिक सञ्जालमा पोखिए ।
मेरी दिदीको डेरा म्यान्ह्याटनमा रहेको एक अपार्टमेण्टमा रहेछ जुन संयुक्त राष्ट्र संघको मुख्यालयबाट १०–१५ मिनेटको दूरीमा छ । इष्ट रिभरको छेवैमा रहेकाले डेराका झ्यालबाट नदी, त्यहाँ नियमित चलिरहने फेरी (यात्रुबाहक डुङ्गा), नदीमै अवतरण हुने साना विमान र नदी आडैको राजमार्गमा घुइँकिंरहने रङ्गीचङ्गी गाडीका लस्करले समय बितेको पत्तै नहुने रहेछ । शनिबार र आइतबार बाहेकका दिन त बिहानको खाजा खाएर संयुक्त राष्ट्र संघको मुख्यालय जाने, त्यहाँ आयोजना हुने छलफल, सम्मेलन, सभामा भाग लिने काम नै नियमित भइरहे । असार २८ गतेका दिन म कार्यरत संस्थाले नेपाल, बोत्सवाना र सामोआका स्थायी नियोग र संयुक्त राष्ट्र संघकै अति कम विकसित, भूपरिवेष्ठित र साना टापु राष्ट्र हेर्ने निकायसँग मिलेर एउटा कार्यक्रम ग¥यो । कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । माथि उल्लेखित विभिन्न किसिमका भौगोलिक अवस्थिति र सामाजिक, आर्थिक तथा पर्यावरणीय पृष्ठभूमि भएका राष्ट्रका दीगो विकासको सन्दर्भबारे छलफल भयो । श्रावण ४ गते नेपालबाट सँगै आएका साथी नेपाल नै फर्किएपछि न्यूयोर्क शहर घुम्ने हिसाबले दुईतीन दिन म बढी बस्ने भएँ ।
अमेरिका भन्नेबित्तिकै गगनचुम्बी भवन, सरसफाइले सिनित्त परेका सडक, सडकपेटी, गाडी भन्ने दृश्य हामी धेरैका दिमागमा आउँछ । अमेरिकाका ३५ औं राष्टपति जोन एफ केनेडीका नाममा रहेको जे.एफ.के. विमानस्थलमा पुग्दा दोहा र दुबईका विमानस्थलका टर्मिनल देखेको र पुगेको कारणले होला मलाई उक्त विमानस्थल साँघुरो लाग्यो । सडकपेटीमा ओत लाग्ने ठाउँ भएका भागतिर घरबारविहीहन व्यक्तिहरू असरल्ल बसिरहेका देखिँदा रहेछन् । पिसाबको गन्ध ह्वास्स आउने रहेछ । सन् १९३१ को मे महिनामा उद्घाटन भएको उसबेलाको संसारकै अग्लो १०२ तले भवन एम्पायर स्टेट विल्डिङ हेर्न उक्त भवनका फेदनिर पुगियो । भवन यति अग्लो कि टोपी लगाएको बेला भए टोपी भुइँमा खस्ने खालको । त्यतिका वर्षअगाडि पनि यस्तो भीमकाय भवन बनाएको भन्ने सोच्दै गम खाएर मोबाइलमा भिडियो खिच्दै हिँड्ने क्रम जारी थियो । हिँड्ने क्रममा भुइँतिर घरिघरि हेर्दै हिँड्दा पानीजस्तो केही बग्दै सडकपेटीमा आयो । यति चर्चित भवन, व्यस्त सडक र सडकपेटीमा कसैले खुला रूपमा लघुशङ्का गर्छ होला भन्ने मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो । त्यो पनि सभ्यताको चरम अवस्थामा पुगेको भनिएको अमेरिकामा । एक जना व्यक्ति त्यही नसोचेको काम गर्दै थिए व्यस्त सडकपेटीमा र हामी बाध्य भयौं उनको मुत्ररेखा फड्किएर हिँड्न । नेपालमा भएको भए नागरिकको कर्तव्य सम्झाउन केही भन्न पनि सकिन्थ्यो होला तर अमेरिकामा कसैलाई केही भन्नै नहुने, देखेको नदेखेझैँ गरेर हिँड्न पर्ने, निहुँ खोज्न आएर हातपात हुन सक्ने वा कसै कसैले गोली ठोकिदिने भन्ने डरले तैँ चुप मै चुप हुनुपर्ने अवस्था रहेछ । यस्तै अनुभव सँगाल्दै अर्को पुग्नैपर्ने ठाउँ भनिएको टाइम्स स्क्वायर गयौं । यो स्थानीय भ्रमणमा म मेरा दिदी, भिनाजु र भाञ्जीसँग थिएँ ।
न्यूयोर्क शहर यसै त झिलिमिली त्यसमाथि टाइम्स स्क्वायर झन् झिलिमिली रहेछ । बाटामा आप्रवासीहरू विविध पेशामा व्यस्त, कोही केही सामान बेच्दै, कोही रिक्साजस्तो साधनमा चर्को आवाजमा गीत घन्काउँदै पर्यटकलाई घुमाउँदै देखिन्थे । जताततै ठूलाठूला विद्युतीय पर्दाले कुनै बत्तीको नै आवश्यकता नपर्ने गरी उज्यालो हुँदो रहेछ यो ठाउँमा । अर्को निर्माणको नमूना भनेको ग्य्राण्ड सेन्टल टर्मिनल रहेछ । सन् १९१३ देखि सञ्चालनमा आएको यस संरचनाको निर्माण पक्ष र वास्तुकला निकै भव्य लाग्यो जुन त्यहाँको यातायातको केन्द्र पनि रहेछ । सफासुग्घर ठाउँका हिसाबले संसारको वित्तीय केन्द्र भनेर भनिने वाल स्ट्रिट रहेछ । पारिपट्टि न्यूजर्सी राज्य रहेको यो ठाउँलाई हड्सन रिभरले छुट्याउने रहेछ । शेयर किनबेचका लागि संसारकै ठूलो केन्द्र न्यूयोर्क स्टक एक्स्चेञ्ज पनि यहीं रहेछ । विभिन्न बैंक, बीमा कम्पनीका मुख्यालयहरू पनि यहीं रहेछन् जसका कारण यस ठाउँलाई संसारको आर्थिक तथा वित्तीय केन्द्र भनिँदो रहेछ । जता हे¥यो अग्ला भवन मात्र देखेर एक किसिमको अत्यास पनि लाग्दो रहेछ न्यूयोर्क शहरमा । झट्ट आकाश हेर्न पनि नपाइने अनि असनका गल्लीमा जस्तो हिँड्दा कुनै आपत् आइलागे कता भाग्ने भन्ने कुरा पनि मनमा कताकता आउँदो रहेछ । अमेरिका पुगेका केही नेपालीले त्यहाँ पुगेको प्रमाण पेश गर्न आफ्ना सामाजिक सञ्जालमा प्रोफाइल फोटो नै फेर्ने गरेको र विभिन्न ठाउँहरूलाई पृष्ठभूमिमा राख्ने गरेको हामीलाई सर्वविदितै छ । तिनै ठाउँमध्येको एक ब्रुकलिन ब्रिज पनि हो । निर्माणका हिसाबले १९ औं शताब्दीमा अत्यन्तै निपूर्ण इञ्जिनियरिङको सीप प्रयोग भएको यो पुल इष्ट रिभर माथि बनाइएको छ र यसले म्यान्ह्याटन र ब्रुकलिनलाई जोड्छ । पहिलोपटक स्टीलका लट्ठा प्रयोग गरेर बनाइएको यो सस्पेन्सन पुल १.८ किलोमिटर लामो छ । त्यसैगरी सन् २००१ को सेप्टेम्बर ११ मा न्यूयोर्क स्थित जुम्ल्याहा गगनचुम्बी भवन (ट्वीन टावर) मा भएको आक्रमण त्यसको भग्नावशेष भएका ठाउँमा बनाइएको स्मृतिका अभिलेखहरू पनि दर्शनीय रहेछन् । सो आक्रमणमा मृत्यु भएकाहरूको नाम दुई ठूला भवनका आकार बराबरका चारपाटे घेरोमा लेखिएको रहेछ र उक्त चारपाटे खाडलमा पानी निरन्तर बगाइँदोरहेछ ।
न्यूयोर्कमा चौबिसै घण्टा सातै दिन एउटा फेरी (डुङ्गा) चल्दो रहेछ । यो निरन्तर तल्लो म्यानह्याटनदेखि स्ट्याटन आइल्याण्ड (टापु) सम्म पुग्ने र पुनः फर्किने रहेछ । स्वतन्त्रताको मूर्ति (स्ट्याच्यू अफ लिबर्टी) हेर्न जाने भनेर बुझ्न जाँदा एकजनाको झण्डै दुई सय डलर जतिको खर्च लाग्ने भएपछि हामी अघि माथि भनेको स्ट्याटन आइल्याण्ड जाने भयौं । उक्त टापु जान करीब आधा घण्टा लाग्दो रहेछ । कुनै शुल्क नलिने यो जलयात्रा सेवा दिने फेरीले एकपटकमा पाँच हजार जनासम्म मान्छे बोक्ने रहेछ । अर्को महत्त्वपूर्ण कुरा यो फेरी स्वतन्त्रताको मूर्ति भएको टापुको छेउबाटै जाँदो रहेछ । यसले गर्दा हामीलाई उक्त मूर्ति पनि राम्रैसँग देख्ने अवसर मिल्यो ।
अमेरिकामा हाम्रो नेपालमा जस्तो एकदुई घर बिराएर किराना पसल नभेटिने रहेछ । आवासीय क्षेत्र नजिक केही किराना पसल हुने तर सीमित सामान मात्र पाइने र केही महङ्गा पनि पर्ने रहेछन् । त्यसैले ठूला होलसेल सामानका व्यापारिक भवनमा गएर हप्ता दश दिनका लागि पुग्ने सामान एकैपटक किनेर ल्याउने र उचित भण्डारण गरेर राख्ने चलन रहेछ । खाद्यान्न, विद्युतीय सामग्री, कपडा आदिका लागि ‘कस्को’ नामको एउटा चर्चित स्टोर पनि रहेछ । तरकारी, आलु, प्याजजस्ता सामान लिनका लागि ज्याक्सन हाइट भन्ने ठाउँ चर्चित रहेछ । मेरो बुझाई अपूर्ण हुन पनि सक्छ तर मेरो बुझाइमा न्यूयोर्क शहरमा काम गर्ने व्यक्तिहरू पनि त्यहाँको उच्च भाडादर र खर्चका कारण त्यहाँ नबसेर ज्याक्सन हाइट लगायत न्यूजर्सीतिर बस्दा रहेछन् । ज्याक्सन हाइटमा नेपाली, इण्डियन, बङ्गलादेशीहरू धेरै हुँदा रहेछन् । दक्षिण एशियालीहरूका खानाका लागि आवश्यक सामग्री पाइने, बाटामा हिन्दी, नेपाली बोल्दै हिँडेको सुनिने, बाटा वरपरको गन्ध दक्षिण एशियाली र मुख्य रूपमा बाटामै कपडा र अन्य दैनिक जीवनमा आवश्यक पर्ने सामग्री बेच्न राखिने हुँदा म काठमाडौं या अन्य कुनै दक्षिण एशियाली सहरमा छु भन्ने आभाष मिल्दो रहेछ । कपडा किन्न पसलहरूमा छिरे पनि बहुराष्ट्रिय कम्पनीका सामानहरू हाम्रै वरपरका छिमेकी देशमा बनेका हुने तर किन्न चाहिँ अमेरिकामा परेकाले मेरो मन भने त्यति खुशी भएन । बङ्गलादेश र श्रीलङ्कामा बनेका राम्रा कपडा त्यति टाढा पुगेर किन्न पर्दा त्यति रमाइलो लाग्ने रहेनछ । आफ्नै देशका उत्पादनमा गर्व गरौं भने पनि केही उत्पादन नभएकाले छिमेकीकै उत्पादन हेरेर भए पनि दक्षिण एशियाली भएकामा गर्व गर्नपर्ने नियति छ हामी नेपालीको ।
न्यूयोर्क शहरको व्यस्त जीवनमा एकछिन सुस्ताउन ठाउँठाउँमा रहेका पार्क व्यवस्थित रहेको पाएँ । नेपालका शहरहरूमा सार्वजनिक प्रयोगका लागि उद्यान कमै छन् । बालबच्चालाई एकछिन खेल्न कतै लैजाऊँ भने ठाउँ छैन । योजना बनाएर नै उक्त ठाउँ जानुपर्छ । थोरै ठाउँ भएपछि धेरै मान्छे हुनु स्वाभाविक पनि हो । न्यूयोर्कमा मान्छे धेरै छन् अनि उद्यानहरु पनि नजिक नजिक भेटिन्छन् । सेन्टल पार्क चाहिँ यी पार्कहरूमध्ये पुग्नैपर्ने ठाउँ रहेछ । ८४३ एकर क्षेत्रफलमा फैलिएको यो पार्क न्यूयोर्कका पार्कहरूमध्ये छैठौं ठूलो रहेछ । शहरको मध्यभागतिर पर्ने भएकाले पनि हुनुपर्छ यस उद्यानको भ्रमण पर्यटक र स्थानीयले गरी वर्षमा करीब चार करोड जति पटक हुँदो रहेछ । साना–ठूला पोखरीहरू, वन, हरिया चउर र शान्त वातावरणले गर्दा यहाँ आउने हर कोहीले कोलाहल र व्यस्तताको जीवनबाट एकछिन भए पनि छुटकारा पाउने महसुस गर्छ जस्तो लाग्यो । प्रवेश शुल्क नलाग्ने र गैर नाफामूलक संस्थाले रेखदेख गरेको यस उद्यानमा व्यवस्थापनका पक्ष पनि राम्रा नै देखिन्थे । शौचालय, बच्चाहरू खेल्ने ठाउँहरू र सामान, गोरेटो र बाटा व्यवस्थित नै लागे । हाम्रा सापेक्षतामा उद्यानजस्तै न्यूयोर्क शहरका सडक पनि व्यवस्थित नै रहेछन् । पैदलयात्रीका लागि पनि हिँड्न प्रशस्त ठाउँ हुँदो रहेछ । सडकबत्तीको उचित प्रयोग र व्यवस्थापनले टाइम्स स्क्वायर र सुरुङ मार्गका मुखजस्ता ठाउँमा बाहेक अन्त फाट्टफुट्ट मात्र ट्राफिक प्रहरीको उपस्थिति देखिन्थ्यो । पैदल यात्रीका लागि पनि बाटो काट्ने संकेत चिह्न र पर्खनुपर्ने सेकेण्डबारे पनि जानकारी दिने व्यवस्था रहेछ । एउटा चाखलाग्दो कुरा चाहिँ सडकको वर्गीकरण र ठेगाना रहेछ । तेर्सो ठूलो सडकलाई एभेन्यू भनिँदो रहेछ र प्रत्येकको नाम वा नम्बर हुँदो रहेछ । सोही सडकलाई ठाडो रूपमा चिर्ने केही साना सडकलाई स्ट्रिट भनिँदो रहेछ र ती सडकको पनि नम्बर हुँदो रहेछ । यदि कसैलाई भेट्नु छ भने यो एभेन्यूको यति नम्बर स्ट्रिट भनेपछि चोक पत्ता लगाउन सजिलै सकिने रहेछ । हामी जस्ता पहिलोपटक पुगेकालाई ठाउँ पत्ता लगाउन सजिलो र अलमलिने सम्भावना पनि कम हुँदो रहेछ । नेपालको काठमाडौंमा फुटपाथ व्यवसायको व्यवस्थापनको विषयलाई लिएर विभिन्न विचार आइरहेका छन् र सो व्यवस्थापनका सन्दर्भमा स्थानीय सरकारको कामकारबाहीलाई लिएर पक्षविपक्षमा बहस पनि चलिरहेका छन् । व्यवस्थित ढङ्गले चलाउन सक्ने हो भने यो व्यवसाय व्यापारी र सर्वसाधारण दुवैका लागि फाइदाको विषय बन्ने देखिन्छ ।
न्यूयोर्क शहरमा पनि व्यापारीहरूले गाडीमा टेन्ट र सामान ल्याएर निश्चित समय व्यवसाय चलाउँदा रहेछन् । आफ्नो समय सकिएपछि सरसफाइ पनि गर्दा रहेछन् । फुटपाथ फराकिला भएकाले पनि होला रेष्टुरेन्टको ढोका बाहिर पनि टेबल, कुर्सी र छाता राखेर ग्राहकले खानेकुरा खाएको देखिन्छ, कफि र बियरको चुस्की लिँदै गफिएको पनि देखिन्छ । सबै पक्ष जिम्मेवार हुने हो भने नेपालका शहरहरूमा पनि फुटपाथ व्यवसाय व्यवस्थित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने लाग्छ । यसका लागि अर्को महत्त्वपूर्ण कुरा स्वच्छ वातावरण पनि हो । वायु प्रदूषणको अवस्थामा व्यापक सुधार ल्याउनुपर्ने खाँचो हाम्रा शहरहरूमा टड्कारो देखिन्छ । नेपालमा वर्षेनी ५०,००० मान्छे वायु प्रदूषणका कारण विभिन्न रोगले मृत्युवरण गर्न बाध्य भएको कुराले हाम्रो सरकारलाई गम्भीर बनाउन पर्ने हो ।
भौतिक विकासको चरम अवस्थामा पुगेको न्यूयोर्कमा थप विकास निर्माणका काम भन्दा पनि भएका संरचनाको व्यवस्थापन नै महत्त्वपूर्ण रहेछ । त्यहाँ सरकारले चलाएका स्कूलमा बच्चा पढाउन निःशुल्क र स्वास्थ्य बीमाका कारण जँचाउन सुविधा रहेछ । एकले अर्काको चासो र चियोचर्चो गर्नेभन्दा पनि सबै आफ्नै काम र सुरमा व्यस्त देखिँदा रहेछन् । बिहान, दिउँसो, साँझ जतिखेर भएपनि मानिस व्यायाम, कसरतका लागि दौडिरहेका भेटिन्छन्, वस्त्रधारणमा पनि कुनै नियम देखिँदैन । कसले के लगायो कसैको महत्त्वको विषय रहँदैन । आफूलाई पाल्न सक्ने भएपछि मध्यम वर्ग भएका वा सम्भ्रान्त देखिन खोजेकाले कुकुर, बिराला पनि लिएर हिँड्दा रहेछन् । त्यहाँ त जनावरलाई परिवारका सदस्यकै रूपमा व्यवहार गरिने कुरा हामीले पढेका पनि छौं । कुकुर र बिराला डुलाउन लिएर हिँड्दा सबैका गोजीमा प्लास्टिक पनि हुँदो रहेछ । तिनीहरूले बाहिर, सडकपेटीमा दिसा गरेका खण्डमा तिनै प्लास्टिकका झोलामा पोको पारेर लिने अनि फोहर फाल्ने ठाउँमा फाल्ने गर्दा रहेछन् जुन कुरा हाम्रा शहरका बासिन्दाले सिक्न सकिने रहेछ । यिनै विविध अवलोकन, सिकाइ र मिश्रित अनुभूतिलाई सँगाल्दै श्रावण १० गते मेरो न्यूयोर्क बसाइलाई बिट मार्दै नेपालतर्फको यात्रा सुरु गरेँ ।
रामघाट, पोखरा