बुक हिल पब्लिकेसन प्रा.लि.ले वि.सं.२०८० असारमा उपन्यासकार काशीनाथ न्यौपानेद्वारा लिखित दार्शनिक उपन्यास “अशून्यम्” लाई प्रकाशनमा ल्याएको छ । यसभन्दा अगाडि लेखकका दुई ओटा उपन्यास प्रकाशित देखिन्छन् । उपन्यास लेखनका दृष्टिले “अशून्यम्” लेखकको तेस्रो कृति हो । लेखकले “विसङ्गति” (२०४६) नामक काव्य प्रकाशन गरी साहित्य लेखनको यात्रा गरेका हुन् । तत्पश्चात् “आयास” (२०५२) चिन्तपरक निबन्ध, “पहिलो कृति चौथो प्रकाशन” ( २०५५) भन्ने कविता सङ्ग्रह, “विरजा महाकाव्य” (२०५२), “मदनिका” (२०६६) उपन्यास र “आत्मघात क्रान्ति” (२०७१) उपन्यास जस्ता कृतिहरू प्रकाशित भएका छन् । यसरी चिन्तनपरक कविता र निबन्धबाट साहित्यिक पदयात्रा प्रारम्भ गरेका साहित्यकार काशीनाथ न्यौपानेमा साहित्यको पुरानो र बुढो विधा ठानिने महाकाव्य लेखनको रहर आएको देखिन्छ । वि.सं. २०५२ मा “विरजा महाकाव्य” प्रकाशनबाट यो रहरको पूरा गरेपछि लेखकमा उपन्यासका माध्यमबाट पूर्वीय आध्यात्मिक दर्शन र वैयक्तिक अनुभूति मुत्र्याउने हुटहुटी आएको आएको छ । यस हुटहुटीबाट लेखकले तीन ओटा औपन्यासिक कृति जन्माएका छन् । त्यस कारण साहित्य लेखन यात्रामा “अशून्यम्” (२०८०) उपन्यास लेखकको हालसम्मकै आध्यात्मिक रूचिको हुटहुटी र साहित्यिक साधनाको अन्तिम कृति हो ।
यस उपन्यासमा झिनो कथानक तन्तु समातेर औपन्यासिक कलेवर खडा गरिएकोे छ । जुन आरम्भ, कल्पना शक्ति सिद्धान्त र जीवन प्रकटीकरण गरी तीन शीर्षकमा विभाजित छ । तर लेखकले अन्तिम दुई शीर्षकलाई पहिलो र दोस्रो भाग भन्ने नाम दिएका छन् । पहिलो भाग अन्तर्गत कल्पनाको संरचना, कल्पनाको आकार, समय र शून्य—एक (०—१) जस्ता चार ओटा उपशीर्षक छन् भने दोस्रो भागमा कल्पना र जीवनको क्रम विकास एवं कल्पना, जीवन र ब्रह्मयात्रा, जीवन र जगत् जस्ता तीन ओटा उपशीर्षक भित्र उपन्यासको संप्रेष्य विषय आबद्ध गरिएको छ । उल्लिखित शीर्षक र उपशीर्षकभित्र पस्दा उपन्यासलाई औपन्यासिक तत्त्वको प्रयोगमा भन्दा लेखकले वैयक्तिक अनुभूति मिश्रित आध्यात्मिक विचार व्यक्त गर्न यस उपन्यास विधालाई छनोट गरेको देखिन्छ ।
आरम्भबाट उपन्यास प्रारम्भ भएको छ । प्रारम्भमा लेखकले बेलुकी पख बाबु र छोरी दुई पात्रलाई रातो बर्सादी ओडाएर मिथकीय रूपमा नेपालको तनहुँ जिल्लाको मादीबेँसीको चार दशकसम्म आफ्नो परित्यक्त र पुरानो घरमा पु¥याएका छन् । छोरी मार्फत् घरको ढोका र पुरानो मदुस खोलाएर धुलो लागेको र बाबुका पिताजीले लेखेको पुरानो डायरी झिकाएका छन् । घर बाहिर जाँतो राख्ने अग्लो ठाउँमा दुबै जनालाई बसाएका छन् र छोरीलाई डायरी वाचिका र बाबुलाई श्रोता बनाएर घटना अगाडि बढाएका छन् । त्यस कारण उपन्यासको दृष्टिविन्दु तृतीय पुरुष बन्न पुगेको छ । वाचिका र श्रोताका कथनलाई ठाउँ ठाउँमा तृतीय पुरुषले टिप्पणी समेत गरेको छ । वाचिकाले वाचन गर्दागर्दै उपन्यास अन्त्य भएको छ ।
आपूmसँग विगत सत्र वर्षदेखि सँगै बसेका अघोर, सद्योजात, वामदेव, तत्पुरुष र ईशान नामका साधकहरूलाई गुरु गोरखनाथले वनारसको अस्सीघाटबाट शिवरात्रीका दिन मात्र बोल्ने सन्तु नारायण योगीकहाँ उपदेश लिन पाशुपत क्षेत्र वा हिमालतिर पठाए । योगी नेपालको तनहुँको मादी बेँसीको माथिपट्टि माथिबारीको थुम्कामा बस्थे । वनारसबाट १८ दिन हिँडेर साधकहरू नेपाल आइपुगे । योगीसँग शिवरात्रीको रातभर साधकहरूले जीवन जगत्का बारेमा १६ ओटा जिञासा राखे । योगीले जिज्ञासाको उत्तरमा उपदेश दिँदा दिँदै रातको चौथौ प्रहरमा अरुणोदय हुन लाग्यो । योगी ध्यानमग्न भए । उपदेशबाट कृतज्ञ र कृतार्थ तत्पुरुष सहित पाँच जना साधकहरू योगीलाई प्रणाम गरेर हिमालयतर्फको यात्रा सुरु गरे, साधकहरूलेसन्तु नारायण र गोरखनाथबाट उपदिष्ट हिजोको अवस्था परिवर्तन भई वर्तमान अवस्था वा स्थिरताको अवस्था प्राप्त गरेको मात्र अनुभूत गरे । यसरी उपन्यासको कथानक तन्तुको अन्त्य भयो ।
कथानकमा आएका भौगोलिक र सांस्कृतिक प्रयोग हेर्दा यो आञ्चलिक उपन्यास हो । आञ्चलिक उपन्यासमा अञ्चल वा स्थान विशेषको भौगोलिक, सामाजिक, सांस्कृतिक तथा बासिन्दाको जनजीवन, रीतिस्थिति, भाषाशैली आदि समुचित प्रयोग गरिएको हुन्छ । यस दृष्टिले आरम्भमा वनारसको अस्सीघाट, मणिकार्णिका घाटका अवस्थाको वर्णन छ तापनि विशेषतः भौगोलिक रूपमा तनहुँको मादी नदी, पाथर घाट, मादी बेँसी,माथिबारीको थुम्को, सुन्खोल्सी, त्यहाँको रनबन, थुम्काबाट देखिने उत्तरी हिमालहरूको उल्लेख छ । सांस्कृतिक पक्षमा करपु टारमा शिवरात्रीको रात शिव मन्दिरमा मानिसहरू जागा रहने, बत्ती बाल्ने, उखु पड्काउने र आगो बालेर शिवधुनि ताप्ने जस्ता जनजीवनका स्थानीय चालचलनलाई उपन्यासले उल्लेख गरेको छ । आञ्चलिकतालाई भाषा, भेषभूषाले पनि हेरिन्छ । उपन्यासकारले उपन्यासमा स्थानीय भाषाको प्रयोग गरेका छैनन् तर मादी नदीतिर देखिने एक जना माझीलाई अकस्मात् उपस्थित गराएर उक्त डायरीको श्रोता बनाई स्थानीय माझी भेषभूषाको उल्लेख गरेका छन् । यस बाहेक आञ्चलिककताका अन्य पक्ष भेटिँदैनन् ।
उपन्यासमा तीन किसिमका पात्र देखिन्छन् । पहिलो साधारण पात्र, जसमा एक डायरी वाचिका (छोरी) र दुई श्रोता (बाबु र माझी) पर्दछन्, दोस्रो साधक पात्र, जसमा अघोर, सद्योजात, वामदेव, तत्पुरुष र ईशान गरी पाँच जना पर्दछन् र तेस्रो सिद्ध पात्र, जसमा गुरु गोरख नाथ र सन्तु नारायण पर्दछन् । यसभित्र समग्रतामा १० जना पात्रको प्रयोग भएको देखिन्छ । प्रयोग औचित्यका दृष्टिले लेखकले माझी पात्रले पहिलो साधारण माझी पात्रमा लाटिन ल्याएर डायरी पढ्न सहयोग पु¥याउनु र श्रोता हुनु बाहेक अन्य औपन्यासिक भूमिका निभाएको देखिन्न । दोस्रो किसिमका साधक पात्रहरूको जीवन अभीष्ट अतिमानवीयतातर्फको साधना हो । त्यसका निम्ति सन्तु नारायणसँग पाँच जना साधकले जम्माजम्मी सोह्र ओटा जिज्ञासात्मक प्रश्न सोधेका छन् । ती प्रश्न एक ओटा वा दुई ओटा पात्र राखेर पनि सोध्न सकिन्थ्यो । त्यस कारण उपन्यासले बहुसाधक प्रयोग औचित्य पुष्टि गर्न सकेको छैन । तेस्रो किसिमका सिद्ध पात्रहरू अतिमानव हुन् । त्यसमध्ये उपन्यासकारले वनारस निवासी गुरु गोरखनाथमा भन्दा तनहुँ मादी बेँसीको माथिबारीको थुम्कामा बस्ने सन्तु नारायणसँग जीवन जगत्को बोध गराउने वा अशून्यम्को आध्यात्मिक दर्शनको व्याख्या गर्ने क्षमता देखाएका छन् । त्यसैले उपन्यासमा सन्तु नारयाण लेखकको मुखपात्र बन्न पुगेको देखिन्छ । पात्रहरू हेर्दा उपन्यासमा पहिलो किसिमका पात्रहरू मानवीय हुन् । उनीहरूमा थोरबहुत गतिशीलता छ । दोस्रा अतिमानव हुने साधनामा लागेका र तेस्रा अतिमानव बनेका सात जना पात्र स्थिर छन्, गतिशील देखिन्नन् ।
भाषाशैली दृष्टिले पूर्ववर्ती छ ओटा कृतिहरूमा उपन्यासकारले भाषिक शैली परिमार्जनको प्रशस्त अभ्यास गरेको देखिन्छ । त्यो परिमार्जन अभ्यासको सफलता र शिखरता अशून्यम् उपन्यासमा भेटिन्छ । कृतिको प्रतिपाद्य विषय आध्यामिक दर्शन हो । दार्शनिक विषयलाई सहज र सरल भाषामा प्रस्तुत गर्ने भाषिक कला उपन्यासकारले आर्जन गरेका छन् । भाषामा दार्शनिक विषयलाई दुरुह बनाई लिखित अभिव्यक्ति दिने धेरै लेखक छन् । स्वभावैले दर्शन दुरुह हुन्छ,, यस्तो विषयलाई सरल र सुबोध भाषामा अभिव्यक्ति दिनु उपन्यासकार काशीनाथ न्यौपानेको विशेषता हो । तर उपन्यासले आफ्नो प्रतिपाद्य विषयको भाषिक कलेवरको वर्ण विन्यास र पदक्रमका कसरमसरबाट उपन्यासकार मुक्त बाँकी नै छ भनीे देखाएको छ ।
उपन्यासमा घटना, संवाद र लेखकीय टिप्पणीका माध्यमबाट उपन्यासको उद्देश्य वा विचार पक्ष उद्धाटित हुने ठानिन्छ । उपन्यासमा घटना, संवाद र टिप्पणीलाई भन्दा औपदेशिक प्रवचनलाई विचार उद्घाटनको साधन बनाइएको छ । उपन्यासमा जिज्ञासात्मक प्रश्नको उत्तर स्वरूप सन्तु नारायणको विस्तृत प्रवचन छ । लेखकले कृतिको विषय प्रवेश र पश्चावरण पृष्ठ अन्तर्गत यसको सार खिचेका छन् । आरम्भ शीर्षकको अन्त्यमा मेरो अनुभूतिको सारांश भनी एउटा चित्र कोरिएको छ । भाषाले व्यक्त गर्न नसकेको अव्यक्त अनुभूति, जसलाई शब्द, अङ्क र चिह्नमा समाहित गर्ने कोसिस भनिएको छ ।
उपन्यासकारले तनहुँको डमौलीमा बसेर आजीवन उपनिषद् र वेदान्त शास्त्रको अध्ययन चिन्तन, मनन र निदिध्यासनको साधनाबाट प्राप्त अनुभूति मुखपात्रबाट व्यक्त गराएका छन् । एकोऽहं बहुस्यामः भन्ने छान्दोयोग्योपनिषद्को वाक्यलाई लिएर लेखकले यहाँ कल्पना सिद्धान्तको पुनव्र्याख्या गरेका छन् । कल्पना उठ्दा शून्य नै एक बन्यो, एक नै अरू कल्पना उठ्दा अनेक बन्यो । ब्रह्माण्ड कल्पना रूप शून्यको अधीनमा रहेको देखिन्छ, चेतन र मन एकाकार अवस्थामा पुगेपछि कल्पना वस्तु रूप पदार्थ हुन जाने रहेछ । यहाँ पदार्थको आधार कल्पना कल्पनाको आधार चेतना, चेतनाको आधार शून्यता, शून्य रूपको आधार स्थिरता वा अशून्य हुन जाँदा सर्वत्र अभेद सिद्ध हुन जान्छ । ईश्वरातीत अवस्था नै मोक्ष वा निर्वाण हो र जीवन स्रोतको अवस्था हो भन्ने विचार प्रकट भएको छ । यसमा चेतन प्रकृतिको रहस्य पूर्णतः बुझेर साक्षी भावमा नबसेसम्म निर्वाण हुन सक्ने रहेनछ उद्घोष गरिएको छ । पूर्ण मौन अचल स्थिति वा स्थिरता निर्वाण हो, स्थिरता नै अशून्यम् हो भन्ने निष्कर्ष दिइएको छ । यो पृथ्वीका हरेक साधकको यात्रा अशून्यतातर्पm हो । समस्त ब्रह्माण्डका पदार्थ अशून्यमा निहित छन्, मृत्यु अचेतन पदार्थ वा ईश्वरीय अवस्थामा परिणत भई हराउनु हो भने जीवन पदार्थकै जमघटमा चेतनायुक्त भई देखिनु हो भन्ने दृष्टिकोण उपन्यासभित्र प्रवचनका क्रममा आएको छ । पूर्वीय आध्यात्मिक चिन्तनबाट जीवन र जगत् बुझ्न दर्शनको फलामे चिउरा चपाउँदा स्वभावतः पट्यार लाग्छ नै । तर पनि सरल दार्शनिक विश्लेषण, भाषाशैली र प्रस्तुतिका विशेषताका कारण पाठकलाई खास पट्यार लाग्दैन । त्यसैले उपन्यासकारले पूर्वीय दर्शन बुभ्mनका निम्ति पाठकलाई “अशून्यम्” उपन्यास खोजेर पढ्न र सङ्ग्रह गर्न पर्ने बनाउन प्रशस्त कोसिस गरेको पाइन्छ ।
लेखक : काशीनाथ न्यौपाने
कृति : अशून्यम् (उपन्यास)
पृष्ठ : ९१
प्रकाशक : बुक हिल पब्लिकेसन प्रा.लि. कालिका स्थान, काठमाडौँ ।
मूल्य : रु.३०० ।