कम शब्दमा नै धेरै भाव, अनुभूती, अनुभव र सन्देश प्रकट गर्ने प्रमुख विशेषता बोकेको हाइकु जापानी शैलीको छोटो कविता हो । हाइकु पूर्ण रूपमा आफ्नै मौलिक एवम् विशिष्ट शास्त्रीय संरचनामा बाँधिएको हुन्छ । कुल तीन हरफ मध्ये पहिलो हरफमा पाँच अक्षर, दोस्रो हरफमा सात अक्षर र तेस्रो हरफमा पाँच अक्षर गरी जम्मा सत्र अक्षरको हुन्छ हाइकु संरचना । यसो भन्दैमा हाइकु सिर्जना सोचेजस्तो सहज विषय भने हुँदै होइन । किनकि ५–७–५ को संरचना भित्र शब्दजाल बुन्दैमा त्यसलाई हाइकुको कोटिमा राख्न सकिंदैन । शब्दहरुको बोझिलो थुप्रोले मात्र हाइकुलाई वास्तविक अर्थमा प्रतिबिम्वित गर्दैैन । एउटा भावगम्भीर हाइकुले यसमा प्रयुक्त शब्दसँगै गहन भाव र सन्देश सम्प्रेषण गर्ने सामथ्र्य बोकेको हुनुपर्छ । धेरै मध्ये असल हाइकुको प्रमुख विशेषता भनेको प्राकृतिक बिम्बभित्र लुकेको रहस्यमय भाव, चेत र आशयको तिख्खर अभिव्यक्ति पनि एक हो ।
सार्थक, सवल, सकारात्मक, सन्तुलित, सभ्य तथा समय चेतले ओतप्रोत लेखन सहज यत्न होइन र हुन सक्दैन पनि । अझ थोरै शब्दले धेरै भन्नु आफैमा चुनौतीपूर्ण कुरा हो । त्यसमा पनि ओझपूर्ण साहित्यिक रस, स्वाद र आकर्षण मिसाएर छोटा शब्दले आत्मिक भावनाहरु अभिव्यक्त गर्नु चानचुने तरिका हुँदै होइन । यसका लागि लामो समयसम्मको साधना, समर्पण, निष्ठा र अविश्रान्त पहलकदमी अपेक्षित हुन्छ । त्यसो त, सबैखाले सिर्जना कर्म स्वभावैले दुरुह कार्य पनि हुँदै हो ।
सर्जक÷स्रष्टाभित्रको लेखकीय उच्छवासलाई संक्षेपिकृत काव्यिक अभिव्यक्तिमा ढाल्न र बोधग्म्य बनाएर गाल्न विशिष्टिकृत सिपको खाँचो स्वाभाविक पूर्वशर्त बन्न पुग्दछ । पृथक ढंगको आत्मजागरण, चेत, समझ, कला, शब्दज्ञान, विषयको गहिराई, प्रस्तुती सौंन्दर्य तथा प्रेषण विधिले मात्र अणु शैलीमा धेरै कुरा व्यक्त गर्न सकिने हुन्छ । कनीकुथी शब्दको थुप्रो लगाउँदैमा भन्न खोजेको कुरा लालित्यपूर्ण र सम्प्रेषणीय हुन्छ नै भन्न पनि सकिँदैन । भाव गाम्भिर्यता, प्रस्ुततीमा छरितोपन र सामयिक सवाल उद्वोधनको समिश्रणले मात्र छरितो प्रस्तुती पाठकको तर्फबाट रुचाइन्छ र प्रशंसित हुन्छ । हाइकु लेखनका सन्दर्भमा पनि यिनै तथ्यहरु आकर्षित हुन्छन् नै । हाइकुमा कविले कमभन्दा कम शब्द खर्चिन्छ तर उसले प्रयोग गरेका हरेक शब्दको भाव, संकेत र मर्म ज्यादै धेरै, गहन, सघन र फराकिलो हुने गर्दछ ।
पछिल्लो समय नेपाली वाङ्मय फाँटमा छोटा, छरिता वा टुक्रे सिर्जनाका पाठकको संख्यामा ह्वात्तै बृद्धि भएको देखिन्छ । गीत, गजल, मुक्तक, चोका, ताङ्का, कृमुक, बाछिटा, साइनो, छेस्का, टुक्काजस्ता तुलनात्मकरुपमा छोटा रचनाहरुले धेरैथोरै आफ्नो स्थान बनाएको देख्न पाइन्छ । यही उपक्रममा जापानी शैलीका हाइकु सिर्जनाहरुले पनि पाठकको ध्यानाकर्षण गरिरहेको अवस्था छ । जापानी शैलीका छोटा कविता ‘हाइकु’ ले आफ्नो संक्षिप्त स्वरुपमा विहङ्गम दृष्टिकोण प्रस्तुत गर्दछन् । ५–७–५ को संरचना अन्तरगत जम्मा १७ अक्षरमा लेखिने हाइकु कविताले कविका भावना, चेतना, विचार, दृष्टिकोण र चिन्तनलाई अत्यन्त छोटो रुपमा शक्तिशाली ढंगले प्रस्तुत गर्दछन् भन्ने विश्वास गरिन्छ ।
यसै सन्दर्भमा आफ्नो ३५ बर्षे लेखकीय यात्राको पछिल्लो चरणमा पर्वतका अग्रणी साहित्यकार इन्द्रकुमार विकल्पले ‘निर्निमेष हेराइ’ (२०८०) हाइकुसङ्ग्रह प्रकाशनमा ल्याएका छन् । यो सङ्ग्रह उनको दोस्रो हाइकु कृति हो । यसअघि यिनका जिगीषा (२०७०) हाइकुसङ्ग्रह प्रकाशन भैसकेको छ । हाइकुजस्तो संवेदनशील विधामा दोस्रो पटक पुस्तकाकारमा झुल्किने आँट गर्नु विकल्पको प्रशंसनीय पाटो हो ।
हाइकु लेखनमा कलम चलाउनु सजिलो विषय किमार्थ होइन, तरपनि स्रष्टा विकल्पले असहज लाग्ने कामलाई सहज बनाउन रोज्नुभएको बाटो स्तुत्य छ । हाइकुको शास्त्रीय मान्यता, यसको विद्यागत संरचना र पाठकलाई लोभ्याउने, अड्याउने तथा रत्याउने पाराले विषयको प्रस्तुती गर्नुपर्ने चुनौतीले गर्दा यसको लेखनलाई साधारण नमानिएको हुनुपर्दछ । हाइकु लेखनका केही संवेदनशीलताहरु अवश्य छन् । जम्मा तीन हरफमा लेखिने हाइकुले एउटा सिङ्गो विषयलाई तेस्रो हरफसम्म पुग्दा टुङ्ग्याइसक्नु पर्दछ । पहिलो हरफमा ५ अक्षर, दोस्रोमा ७ अक्षर र अन्तिम हरफमा पुनः ५ अक्षरमा आफ्ना भनाइलाई सक्नुपर्ने भएकाले हाइकु कविमा विषयका प्रतिको मिहीन, छिन्द्रान्वेशी तथा रौंचिरा सुझबुझको खाँचो पर्दछ । कमिलाले चिलेजस्तो वा माहुरीले सुँड गाडेजस्तो हाइकुको अध्ययनपछि पाठकले ‘चसक्क’ कोपेको र तन्द्राबाट ब्यूँझेजस्तो ‘झसङ्ग’ अनुभव गर्न सक्यो भने हाइकु सफल भएको मानिन्छ । विकल्पको पछिल्लो हाइकु कृति ‘निर्निमेष हेराइ’ ले पाठकलाई त्यो खालको झन्झनाहट दिन सक्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।
जून उदायो
तिम्रो आगमन
मन रमायो । (१९४)
वास्तवमा हाइकु देख्दा जति सरल र तुरुन्तै लेखिन्छ भन्ने आभाष नेपाली साहित्य फाँटमा पर्न गएको छ एउटा सबल र सफल हाइकु लेख्न त्यति सजिलो भने पक्कै छैन । एउटा सटिक हाइकुले मानवीय मष्तिस्कलाई ज्ञानको मैदानमा विस्फोटित गराउने हिम्मत राख्दछ । त्यसैले हाइकु साहित्यलाई विश्व साहित्य माझ ‘अणु साहित्य’ को उपमा दिने गरिएको छ । हाइकु मट्याङ्ग्राको गोलीजस्तै हो, जसको प्रहारले निशानालाई भेदन गरिछाड्छ । प्रभावकारी हाइकुले समाजको अन्तरकुन्तरलाई अन्वेषण गरेर उद्घाटित् गर्न सक्दछ । मौजुदा समाजको सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिकलगायतका बग्रेल्ती विषयलाई साहित्यिक कलेवरमा मार्मिक ढंगले उठान गर्न हाइकु लेखन सहयोगी हुन सक्ने मान्यता राखिन्छ । विकल्पले पनि हाइकु लेखनको यो महत्तालाई आत्मसाथ गरेर आफ्ना हाइकुहरुलाई सोही लयमा व्यवस्थित गर्न खोजेको देखिन्छ ।
खोलाको तिर
जीवन धान्ने पेशा
अथाह पीर । (३)
हरेक प्रहर
मर्दैमर्दै जिउँछ
निस्वार्थी मान्छे । (१६९)
त्रोध समाप्ती
मनुष्यको जीवन
सुन्दर प्राप्ती । (१९२)
वस्तुतः साहित्यले मानव जीवन र जगतको साक्षात्कार गर्न सक्दछ भन्ने मान्यतालाई स्थापित गर्नका लागि पनि सर्जकहरु सचेत हुनै पर्ने छ । मनुश्य चोलाका उहापोह, हण्डर–ठक्कर, सङ्गत–विसङ्गत, सजिलो–असजिलो, प्राप्ती–अप्राप्ती, मिलन–बिछोड, सुख–दुःख, सफलता–असफलता, राम्रो–नराम्रोजस्ता अवस्थाहरुलाई जस्ताको तस्तै उदिन्न र अब के हुनुपर्ने हो भनी मार्गदर्शन दिन पनि विहङ्गम साहित्यिक फाँटको उपविधा मानिएको हाइकु सिर्जनाले योगदान गर्नै पर्दछ ।
सर्जक विकल्पकृत ‘निर्निमेष हेराइ’ भित्रका कैयन हाइकुहरुले समकालीन नेपाली समाजको निर्मम शल्यक्रिया गर्ने प्रयत्न गरेको बुझ्न कठिन पर्दैन । यस सङ्ग्रहभित्र रहेका अधिकांश हाइकुले समाजमा व्याप्त राजनैतिक बेइमानी, धुत्र्याइँ, छली, कपटी प्रबृत्ति, बदमासी, कुरुप यौनिकता आदिको उछितो काढ्ने प्रयास गर्दै सभ्य र भब्य समाजका लागि सामुहिकतामा आधारित भएर अघि बढ्नुपर्ने संकेत गरेकाछन् । प्रस्तुत कृतिभित्रका हाइकुहरुले प्रशासनिक संयन्त्रमा हुने ढिलासुस्तीका कारणले नागरिकले पाउन परिरहेको सास्ती, हैरानीसहित साधनस्रोतको चरम दुरुपयोग हुने गरेको तथ्यलाई पनि उठान गरेकाछन् ।
नेताको जीत
झर्ला र खाउँला नि
आशाको खेती । (६)
कामुक मन
सौन्दर्य प्रदर्शन
बुढौली तन । (५२)
आँखाको नानी
भलो कुभलो हेर्छ
जानी नजानी । (८१)
साहित्य सिर्जनाको एउटा आधारभूत महत्ता के हो भने यसले समाजको यथार्थलाई सपाट ढंगले उधिन्ने या उत्खनन् गर्ने काम गर्दछ । सर्जकले कोही रिसाउला वा खुसाउला भनेर सिर्जना गर्दैन । ऊ केवल यथार्थतालाई निर्भय ओकल्छ र सच्चाइका आधारहरु प्रस्तुत गर्दछ । यसर्थ पनि साहित्यलाई समाजको दर्पण भनिएको हो । साहित्यले कसैको स्तुतीगान र लोलोपोतो गर्न जरुरी छैन पनि । सिर्जनाले त समाजलाई यथोचित लल्कार्ने तथा सुन्दर आगतको फेहरिस्त पस्कने काम गर्नै पर्दछ । ‘निर्निमेष हेराइ’ मा समाविष्ट हाइकुहरुले पनि पाठकको सकारात्मक अपेक्षालाई पूरा गर्ने सामथ्र्य राख्ने नै छन् भन्ने अपेक्षालाई अन्यथा मान्न मिल्दैन ।
भोका नेता
भाषणमा विकास
छैन निकाश । (१०६)
भाग्यको खेल
दुखैदुःखको ताल
अनिँदो रात । (१५२)
माला गाँसेर
दुइदिने जिन्दगी
बाँचौ हाँसेर । (१९३)
स्रष्टा विकल्पले आफ्नो कृति ‘निर्निमेष हेराइ’ लाई बहुआयामिक बनाउने प्रयन्त गरेको प्रष्ट बुझ्न सकिन्छ । यिनका हाइकुहरु समावेशी प्रकृतिका छन् । यिनले समाजको सामयिकतालाई गज्जबले उदिन्ने र छिमल्ने प्रयास गरेकाछन् । यिनका हाइकुमा प्रयुक्त भएको भाषाशैली सरल छ, त्यसैले हाइकुहरु बोधगम्य बन्न सकेकाछन् । विषय सामयिक छ, त्यसैले पढुँपढुँ लाग्ने खालका छन् । हाइकुको विषय क्षेत्र गज्याङगुजुङ छ, त्यसैले पाठकलाई क्षण क्षणमा विषयान्तर गराइरहन्छ । घरी गुलियो, घरी अमिलो र घरी तितो विषय सन्दर्भले पाठकलाई अचारको काम गरिरहेको अनुभूति हुने सम्भावना प्रवल देखिन्छ । कतिपय हाइकुले माया प्रेमका कुरा गरेकाछन् भने कतिपय हाइकुले समकालीन राजनीतिको विद्रुप तस्वीरलाई उतार्ने जमर्को गरेकाछन् । वास्तवमा पलकभरमा नै परिवर्तन भैरहने समाजको चरित्रलाई पटाक्षेप गर्न विकल्पका हाइकुहरु आतुरतापूर्वक घन्चमन्च अघि बढेकाछन् ।
बाढी पहिरो
जनधनको क्षति
मनको खती । (२४६)
प्रेम पलायो
प्रदुषित खेलले
मुटु जलायो । (१६४)
बाँच्नु छ धेरै
खोटैखोट जिन्दगी
चोट बिर्सेर । (१२८)
इन्द्रकुमार विकल्प आख्यान विधामा बेसी जमेका स्रष्टा हुन् । यिनका उपन्यास र कथा कृतिहरु नेपाली साहित्याकाशमा निकै चर्चित पनि भैसकेकाछन् । कवितामा पनि यिनले विभिन्न उपविधामा कलम चलाएकाछन् र पुस्तकाकार कृतिहरु प्रकाशन गरेकाछन् । पछिल्लो समय कृमुक कवितासङ्ग्रह सार्वजनिक गरेका यिनले हाइकुका माध्यमबाट संक्षेपिकृत शैलीमा आफू रहेबसेको समाजलाई छिमल्न चाहेकाछन् । यिनले हाइकु लेखनको जुन शैली र प्रवन्ध अगाडि सारेकाछन् यसका बारेमा अनेकौं बहश छलफल हुन सक्दछ । यिनका हाइकुमा हाइकुको सैद्धान्तिक ढाँचा, परम्परा र मान्यतालाई अनुशरण गरिएको या नगरिएको भनी पाठकहरुका बीचमा मैतक्यता नहुन पनि सक्दछ । अपितु, हाइकुका माध्यमबाट समाजका अभ्यासहरु प्रतिको समर्थन या नाराजगी अभिब्यक्त गर्ने यिनको सत्कर्म प्रशंसनीय छ । समयको आवाज बुलन्द गर्ने चेष्टास्वरुप यसै सङ्ग्रहभित्र यिनले कोभिड १९ ले जनजीवनमा पारेको भयग्रस्त प्रभावका बारेमा दजनौं हाइकुहरु सिर्जना गरेकाछन् ।
कोरोना डर
कोठा चिडिया घर
बाँच्ने रहर । (२१०)
हाँसो हरायो
गरीबको घरमा
भाँडो करायो । (२२१)
नेपाली जाग्यो
सफल लकडाउन
कोरोना भाग्यो । (२३७)
लेख्य सिद्धान्तको कसी लगाउनेहरु भन्छन्, हाइकुमा बौद्धिकता र तार्कीकता होइन अन्तर्वोध अपेक्षित हुन्छ । उनीहरुका भनाइमा हाइकू लेख्नु अघि धेरै पढ्नु र बुझ्नुपर्ने हुन्छ, बुझेर लेखेको हाइकु विशिष्ट बन्न सक्छ । धेरै भन्न सकिने एकै क्षणमा पढेर लामो समय सम्म सोच्न बाध्य बनाउने एउटा छुट्टै उज्यालो र सुखको अनुभूति दिने हाइकु सिर्जना सफल हुने उनीहरुको मत छ । सिद्धान्त, वाद र मतका आधारमा भिन्दाभिन्दै दृष्टिकोणहरु निर्माण हुन सक्दछन्, स्रष्टाको सिर्जनामाथि सिद्धान्तको लेप लगाएर दृष्टिगोचर गर्दा सम्मती र विमती हुन सक्दछन्, तथापि, स्रष्टाको सिर्जनालाई स्वीकार्य, सम्मानीत र सर्वग्राह्य बन्ने वातावरण बनाउने कुरा पनि महत्वकै विषय हो भन्ने लाग्दछ ।
यस अर्थमा स्रष्टा इन्द्रकुमार विकल्पको यो सत्प्रयासलाई साधुवाद भन्नै पर्दछ । ‘निर्निमेष हेराइ’ का सन्देशहरु समाजोपयोगी बन्न सकुन् । विकल्पको सिर्जनयात्राले निरन्तरता पाउँदै जाओस् । यस कृतिभित्र समाविष्ट हाइकुलाई अन्तरदृष्टि लगाई प्रगेल्ने, खोतल्ने, विश्लेषण गर्ने र संश्लेषण गर्ने जिम्मेवारी बुज्रुक पाठकको पोल्टामा राख्नु समीचीन हुन्छ ।
(निवर्तमान अध्यक्ष, पर्वत साहित्य सङ्गम)
कुश्मा, पर्वत