19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रेड लाइट

लघुकथा विश्वराज अधिकारी September 1, 2024, 11:15 pm
विश्वराज अधिकारी
विश्वराज अधिकारी

आज पनि सुटुक्क क्विन्सको रुजावेल्ट एभेन्यू पुगेको छ डेभिड।
डेबिडलाई देखेपछि मार्थाले भनी, “थाहा छैन तिमीलाई डेभिड, मैले ग्राहक सेवा एक हप्तादेखि बन्द गरेकी छु । निमोनिया भएको छ, मलाई । एक हप्ता पनि कुर्न सक्तैनौ? तिमी लोग्ने मान्छेहरूको मनमा केवल त्यही कुरा मात्र हुन्छ। माया, दया, प्रेम ममता पटक्कै हुँदैन, हो?”
ऊ उभिइरह्यो। केही बोलेन।
मार्था नै भन्दै गई, “पैसा पनि दिने होइन, जहिले पनि उधारोमा काम चलाउँछौ। लाज लाग्दैन?”
डेभिड ढुङ्गा जस्तो भएर उभिइरह्यो। उसको मुखमा शब्दको खडेरी परेको जस्तो देखियो।
मार्था नै बोली, “मेरो एक वर्षदेखिको रकम जोड्ने हो भने तिमीसँग लिनुपर्ने बाँकी दुई हजार डलर हुन्छ। लाज र सरम छैन? कहिले दिन्छौ डेभिड?”
डेभिडको शरीरमा अब अलिकता गति आएको छ। उसले बल्ल बाक्य फुटाएको छ, “मार्था मलाई थाहा छ, म सधैँ झैँ रेडलाइट एरियामा छु तर तिमी कहाँ आज त्यो कामले आएको होइन। आज तिम्रो स्वास्थ्य अवस्थाबारे सोध्न र तिम्रो स्वास्थ्य लाभको कामना गर्न आएको हुँ। कस्तो छ तिमीलाई?”
डेभिड गएको एक घण्टा भइसकेको छ। मार्थाको हातमा डेभिडले दिएको बुके छ। बुकेभित्र तीन हजार डलर छ। मार्था कहिले डलर त कहिले बुके हेरिरहेकी छे।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।