19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पुरस्कार खेती

लघुकथा राजेन्द्र पहाडी September 1, 2024, 11:17 pm
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

मोफसलबाट अमुक नामको साहित्यिक पुरस्कारको घोषणा भयो । स्वदेश तथा विदेशमा समेत नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका एक गिनेचुनेकै साहित्यकारले पुरस्कार पाउने भए । पुरस्कार संस्थापक संस्थाको तर्फबाट त्यसको हर्ताकर्ता भैटोपलेका व्यक्तिले पुरस्कृत गर्न छनोट गरिएका काठमाण्डौंबासी स्रष्टालाई फोन सम्पर्क गरेर समारोहको तिथिमिति स्मरण गराउँदै पुरस्कार ग्रहण गर्न आइदिनका लागि अनुरोध गरे ।
काठमाण्डौंबासी स्रष्टा पनि पुरस्कार प्राप्तीका लागि चयन भएकोमा हर्षित नहुने कुरै थिएन । उनले आफ्नो खुशी परिवारका सदस्यसहित साहित्यिक सर्कलका साथीभाइहरुलाई सुनाए । आजभन्दा उन्नाइस बीस बर्षअघि १० हजार राशीको पुरस्कार भनेको ठूलै इज्जतको पुरस्कार ठहरिन्थ्यो । त्यसमा पनि काठमाण्डौंदेखि २७२ किलोमिटर पश्चिममा पर्ने जिल्लाबाट आएको खबरबाट उत्साहित भएका पुरस्कृत स्रष्टाले बढो उमङ्गका साथ आफ्नी छोरी पनि साथ लिएर हवाइजहाजबाट पोखरा र त्यहाँदेखि पुरस्कार प्रदान गरिने स्थानसम्म ट्याक्सी रिजर्भ गरेर यात्रा तय गरे ।
पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । पुरस्कृत स्रष्टालाई आयोजकको तर्फबाट गलामा खादा र हातमा सम्मानपत्रसहित पुरस्कार राशीको खाम थमाइयो । पुरस्कृत स्रष्टा अरुभन्दा बढि नै पुलकित देखिन्थे । आयोजकले उनलाई विदाईका हात हल्लाए । समारोहस्थलबाट बाहिरिएसँगै स्थानीय बजारको कुनै एक खाजाघरमा चियाखाजा खाएर पोखरातर्फ प्रस्थान गर्ने योजना बन्यो पुरस्कृत स्रष्टाका बाबुछोरीको ।
पुरस्कार प्रदानका लागि आयोजना गरिएको समारोहमा सामान्य बिस्कुट र चियाको मात्र प्रबन्ध गरिएकाले उनीहरुको भोक मरेको थिएन र लगभग ७२ किलोमिटरको यात्रा तय गरेर पोखरा पुग्नुपर्ने भएकाले पनि खाजा खाएरै हिँड्नु उपयुक्त ठाने उनीहरुले । खाजा खाइवरी पैसा तिर्ने बेलामा स्रष्टाले आफूले प्राप्त गरेको १० हजार राशी पुरस्कार भएको खामबाट केही रकम झिकेर बील तिर्ने मनशायले रकम राखिएको खाम खोलेर हेरे । उनी झसङ्ग भए किनभने खाममा त जम्मा एक हजारको नोट राखिएको थियो । उनी अन्यौलमा परे । कतै खाम राखेको झोलामा पो खस्यो कि भनेर यताउता हेरे । कतै खसेको वा हराएको होइन रहेछ । खाममा त जम्मा एक हजारको नोट भएको तथ्य नै सत्य थियो ।
आयोजकले झुक्किएर एक हजारको नोट राखिएको खाम थमाएका होलान्, १० हजार राशी भएको खाम भुलबश उनीहरुसँगै रहे होला भन्ने सोचेर आयोजकलाई फोन गरेर सोध्ने निधो गरे र निम्ता गर्ने व्यक्तिलाई अवस्थाका बारेमा जानकारी गराए र आफू भएको स्थानसम्म १० हजार रुपयाँ पुरस्कार भएको खाम ल्याइदिन वा कसैलाई पठाइदिन आग्रह बिसाए ।
परन्तु, आयोजक पक्षबाट भनिएको कुराले स्रष्टा नराम्रो गरी झस्किए । आयोजक जो आफूलाई पनि ठूलो साहित्यकार भन्थे, ले भनेछन्– ‘खाम फरक परेको अरेको केही पनि होइन, पुरस्कार नै त्यही एक हजार रुपयाँ हो ।’ पुरस्कृत स्रष्टाले आफूलाई त १० हजार राशीको पुरस्कार भनिएकाले मात्र पुरस्कार स्वीकार गरेको र काठमाण्डौंदेखि प्लेन चढेर तथा ट्याक्सी रिजर्भ गरेर पुरस्कार ग्रहण गर्न आएको व्यहोरा सम्झाए । तर आयोजकको स्वर थप कडा भयो– ‘पुरस्कार राशी त १० हजार नै हो नी, सबै पैसा तपाईंलाई दिएर पुरस्कार वितरण समारोहको खर्चपर्च कसले व्यहोर्छ ? समारोहका लागि बनाएको ब्यानर, सहभागीलाई बाँडेको निम्ताकार्ड, हलभाडा, चिया बिस्कुट, तपाईंलाई दिएको सम्मानपत्र, लगाइदिएको खादा–मालाको खर्च पनि त्यसैबाट गरेको त हो नी, सबै खर्च कटाएर बाँकी रहेको एक हजार खाममा राखेर दिएकै छ त ।’ यति भनेर आयोजकले ढ्याक्क फोन राखे । १० हजार राशीको पुरस्कार थाप्न काठमाण्डौंदेखि आएका स्रष्टा जिल्लाराम परे ।

कुश्मा नगरपालिका ६, कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।