महावीर पुनसँग जोडिएको एउटा घटना मेरो जीवनको अविष्मरणीय सम्झना बनेर रहेको छ । नागी गाउँ, त्यो गाउँको विद्यालय र आसपासका गाउँबाट महावीर पुनले थालनी गरेको ग्रामीण विकास र सुधारको निकै चर्चा हुने गर्दथ्यो त्यतिबेला । मैले अध्यापन गर्ने बनबढे गाउँका गाउँले, शिक्षक र विद्यार्थीहरू बीच पनि यस्तै विषयमा चर्चा परिचर्चा भइरहन्थ्यो− महावीर पुनले नागी गाउँको निम्न माध्यमिक विद्यालयलाई माध्यमिक विद्यालय बनाउनुभयो । विद्यालयको खेल्नेचौर बढाउनुभयो । विद्यालयमा कम्प्युटर पढाइको थालनी गर्नुभयो । एसएलसीमा विद्यालयको राम्रो नतिजा आयो । गाउँका युवाहरूलाई उच्च शिक्षा पढ्न पठाएर गाउँकै विद्यालयमा शिक्षक बनाई रोजगारी दिलाउनुभयो । जडिबुटी खेती, अल्लो उत्पादन र प्रशोधन, चौरीगाईपालन, चिज उत्पादन आदि कामको थालनी भयो । गाउँमा बिजुली उत्पादन भयो । गाउँमा इन्टरनेट जोडियो । गाउँमा म्युजियम बन्यो । गाउँका पुराना रीतिथिती सुधारका विषयमा कुरा उठे । विद्यालय र गाउँको विकास र सुधारका लागि विदेशीहरूबाट सहयोग र अनुदान जुट्यो । आदि, आदि ।
एकदिन महावीर पुनलाई भेट्न शिक्षक साथी डमबहादुर पुनसँग उहाँकै गाउँतर्फ लागेँ म ।
हिमाञ्चल माविमा पाइला टेकेपछि देखिए नयाँ बनेको ठूलोचौर, आवासीय स्याउले छात्राबास, नयाँ विद्यालय भवन र कम्पाउण्ड । ती नयाँ संरचना हेर्दै र डम बहादुर सरसँग गफगाफ गर्दै उहाँको घरसम्म पुगेँ म ।
“खोइ त महावीर पुन सर ?” डम बहादुर सरसँग सोधेँ मैले ।
“मैले चिनजान गराउनै बिर्सेको । विद्यालय कम्पाउण्डनेर जम्काभेट भएको थियो नि । उहाँ नै त हो नि मेरो दाई महावीर पुन । भरे घर आएपछि भेटौँला ।” डमबहादुर सर हाँस्न थाल्नुभयो ।
हाप पाइन्ट लगाएको, भाङ्ग्रा भिरेको, नबोली नबोली खाली खुट्टा हिँड्दै कागज, प्लास्टिक बटुल्दै गरेको कालो कालो मान्छे त मैले पनि देखेकै थिएँ । विद्यालयको सहयोगी होला भनेर वास्तै नगरी हिँडियो । आखिर प्रगतिशील सोचाइ राख्न नसक्ने सामन्ती संस्कारमा हुर्केको मान्छे न ठहरेँ म पनि ।
भरे महावीर सरसँग भेट भयो । अभिभावन साटासाट र सङ्क्षिप्त कुराकानी मात्र भयो उहाँसँग । खानपिनपछि आफ्नै काममा लागिहाल्नुभयो उहाँ । दिउँसो उहाँको काम र व्यक्तित्वले प्रभावित म झन् प्रभावित भएँ उहाँलाई भेटेर । गफले आकास पाताल जोड्दै यसो गरेँ उसो गरेँ भन्नेहरू भन्दा बेग्लै लाग्यो महावीर पुन मलाई । त्यस क्षेत्रमा उहाँले गरेको ग्रामीण विकासले फड्को मार्न लाग्दा म भने अर्कै दुर्गम गाउँको जागिरे भएर हिँडेँ । तथापि, उहाँको कामको प्रगति र उहाँले पाएको रामोन म्यागासेसे लगायतका पुरस्कारले भने असाध्यै खुसी लागेको छ मलाई ।
(मेरा पाइलाहरू, नियात्रा सङ्ग्रह, २०६८)
म्याग्दी जिल्लाको साविक राम्चे गाविस हाल अन्नपूर्ण गाउँपालिकामा पर्ने नागी गाउँसँग जोडिएको छ पर्वत जिल्लाको साविक लेखफाँट गाविस हाल जलजला गाउँपालिकामा पर्ने बनबढे गाउँ । बनबढे गाउँको विद्यालयमा करिब ६ वर्ष अध्यापन गरेँ मैले । धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रेको फेदीका ती हिमाली गाउँका हरेक घरआँगनमा पुगेको छु म । हिमाली सभ्यताका रक्षक गाउँलेहरूका सुख्ख दुख्खको साक्षी बनेको छु । ती हिमाली प्रकृतिका कलाहरूमा मनका चित्र र पाइलाका आकृति पनि मिसाएथेँ र संसारकै खुसी मान्छे भएर बाँचेथेँ एकयुग । मनमा बसेका ती दिनहरू २०६८ सालमा प्रकाशित मेरो नियात्रा कृति “मेरा पाइलाहरू” मा उतार्ने कोशिस गरेको छु । माथिका हरफहरू सोही नियात्रा कृतिको “आँसुले भिजेका पाइलाहरू” नामक संस्मरणत्मक नियात्राबाट उद्यृत गरिएको हो ।
लेकाली पहाडका पत्रपत्रमा फैलिएको मगर सभ्यता र संस्कृतिसँग नजिएका क्षणहरू सम्झिँदै २०७५ सालमा फेरि पुगेँ म ती गाउँहरूमा । २०७७ सालमा प्रकाशित मेरो नियात्रा कृति “बिसौनी वल्तिर” का दुईवटा नियात्रा– “लेकाली धरोहर फलामेडाँडा” र “बिसौनी वल्तिर” मा समेटिएका छन् फलामेडाँडा, बनबढे, नागी गाउँ र सेरोफेरो एवम् महावीर पुनका प्रसङ्गहरू पनि । ती लेकाली गाउँबस्तीमा महावीर पुनले थालनी गरेका नवीनतम् कामहरू र ती गाउँसँग जोडिएका मेरा सम्झनाहरूले तानेर नै त्यहाँ गएको थिएँ म फर्कीफर्की । युवाहरूका प्रेरणाका स्रोत, शिक्षक, समाजसेवी, आविष्कारक एवम् नेपाली वैज्ञानिक महावीर पुनको आत्मकथा “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” हात पर्दा औधि खुसी लाग्यो ।
महावीर पुनलाई देखेको, भेटेको छु भन्न यति लामो भूमिका बाँधेकोमा क्षमा चाहन्छु, अब सिधै भन्छु– महावीर पुनद्वारा लिखित त्यही आत्मकथाका बारेमा केही कोर्ने जमर्को गर्दैछु अहिले ।
हाल बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई ब्युँताउन स्रोत जुटाउने पवित्र ध्येयले प्रस्तुत कृति प्रकाशन गरिएको बेहोरा आत्मकथाका विभिन्न प्रसङ्गमा उल्लेख छ । अठार शीर्षक र ३०६+६ पृष्ठमा समेटिएको प्रस्तुत आत्मकथा राष्ट्रिय आविष्कार केन्द्र, कीर्तिपुरले प्रकाशन गरेको हो । वि.सं. २०८० साल असोजमा प्रथम संस्करण प्रकाशित भए यता विभिन्न संस्करणमा लाखौँ प्रति प्रकाशित भइसकेको छ । यस कृतिको मूल्य रु.७५०।– रहेको छ ।
वि.सं. २०११ साल माघ महिनामा म्याग्दी जिल्लाको नागी गाउँमा बाबु कृष्ण पुन र आमा पुर्वी पुनको कोखबाट महावीर पुनको जन्म भएको हो । दोस्रो विश्वयुद्धपछि बाबु ब्रिटिश सेनामा भर्ती भएर मलेसियामा कार्यरत रहँदा दुई वर्षको आफूलाई मलेसिया लगेको कुरा बाबुबाट पछि थाहा पाए पनि आफू जान्ने हुँदा भने बाजेसँग गोठमा बसेको धमिलो याद छ महावीर पुनसँग । पल्टनमा भर्ती हुन पाँच कक्षा पढ्नु पर्ने मान्यताले खोलिएको गाउँको प्राथमिक स्कुल पछि सात कक्षासम्म पढाइ हुने मिडिल स्कुलमा रुपान्तरण भएछ । हिमालय पुरी सरले अङ्ग्रेजी, अङ्कगणित, संस्कृत पढ्न र घोक्न लगाएको पनि प्रष्टै याद छ उहाँलाई । सात कक्षा उत्तिर्ण भएपछि पोखरामा हुने एकवर्षे शिक्षक तालिमको अवसर पाए पनि शिक्षा कार्यालयले बाह्रवर्षे कलिलो महावीरलाई शिक्षक सिफारिस गरेनछ । अनि त गाउँदेखि पाँच घण्टा टाढा पर्ने पर्वत जिल्लाको मल्लाजको विद्यालयमा कक्षा ८ मा भर्ना भएर पढाइलाई निरन्तरता दिने अवसर मिलेछ उहाँलाई । कक्षा ८ उत्तिर्ण भएपछि छोरालाई पोखरा पढाउने इच्छा भए पनि पोखरामा आफन्त कोही नहुँदा चितवनको वीरेन्द्रनगर स्थित थ्रि गु्रप भन्ने ठाउँमा पुर्याउनुभएछ बाबुले । त्यहाँ महावीर पुनका मामाको जग्गाजमिन र छाप्रो हुनाले दुई घण्टा पैदल दूरीको खैरहनी हाइस्कुलमा पढी एसएलसी पास गर्नुहुन्छ । त्यसपछि वीरेन्द्रनगरका तत्कालीन प्रधानपञ्च प्रेम बहादुर रानाको सल्लाह र सहयोग मुताबिक अमृत साइन्स कलेज, काठमाडौँमा भर्ना भई आइएस्सी पढ्नुहुन्छ । दोस्रो श्रेणीमा उत्तिर्ण हुनाले इञ्जिनियर बन्ने सपना अधुरै रहन्छ र पढाइ खर्च अभावले बिएस्सी नपढी चितवनै फर्कनुहुन्छ । चितवनका विभिन्न स्कुलमा तेह्र वर्षसम्म पढाउँदै जाँदा जीवनमा अचानक यस्तो दिन आउँछ, त्यतिबेला अनेक पीडा र तनाव भोग्नु परे पनि महावीर पुनलाई जीवनको सबैभन्दा ठूलो मोडमा उभ्याइदिन्छ त्यो दिनले । २०४३ सालको एसएलसी परीक्षा चलिरहँदा सो परीक्षामा संलग्न शिक्षकहरूले अनाहकमा खप्की खानुपर्दा प्रमुख जिल्ला अधिकारीसँग भनाभन भएको र त्यसैको कारणले केही दिन प्रहरी हिरासतमा बस्नुपरेकोले शिक्षक जागिर छोडेर काठमाडौँ हिँड्नुहुन्छ महावीर पुन । अमेरिकामा पढ्ने चाहनाले अमेरिकी लाइब्रेरीमा गएर पढ्ने, अङ्ग्रेजी भाषा सिक्ने र विभिन्न विदेशी विश्वविद्यालयमा छात्रवृत्तिका लागि अनुरोध गर्दै पत्राचार गर्न थाल्नुहुन्छ । त्यतिबेलै २०४५ सालतिर बुबालाई क्यान्सर लागेर अन्तिम अवस्था भएको रहेछ । लगत्तै बुवाको मृत्यु हुन्छ ।
त्यतिबेलै अमेरिकाको नेब्रास्का युनिभर्सिटीबाट छात्रवृत्ति प्राप्त हुन्छ । हवाइ टिकट र पकेट खर्च जुटाउन निकै सकस पर्दछ । भिनाजु ओम बहादुर पुनले दिनुभएको डेक न्युरोडमा लगेर बेच्दा हात परेको बीस हजार र वीरेन्द्रनगर, चितवनका तत्कालीन जेटिए साथी गणेश पन्तले दिनुभएको बाह्र हजारले अमेरिका प्रस्थानको खर्च त पुग्छ । तथापि डलर सटही गर्नका लागि विद्यालयबाट राजिनामा स्वीकृत भई शिक्षा कार्यालयको सिफारिस सहित शिक्षा मन्त्रालयमा आइपुग्नु पर्ने रहेछ । धन्न अमेरिका उडानको केही क्षण अघि ती प्रक्रिया पूरा भई राष्ट्र बैँकबाट डलर सटही हुन्छ र ट्याक्सी चढेर सिधै एअरपोर्ट पुग्नुहुन्छ महावीर पुन । यी आत्मकथा पढ्दा शरीरका हरेक तन्तुजाल सियोले घोचे झैँ जिरिङ्ग हुन्छ र जीवनका हरेक क्षणमा सङ्घर्ष गरिरहनुपर्छ भन्ने प्रेरणा मिल्दछ । अनि केही गर्ने उत्साह र उर्जा थपिन्छ पाठकमा ।
अमेरिका जाने क्रममा बैँककमा सत्र घण्टे ट्रान्जिटमा रात बिताउन होटल खोज्दा १२५ डलर तिर्नुपरेको, सियाटलबाट डेनभर जाने टर्मिनल पत्ता लगाउन नसकेर आधा घण्टा पहिल्यै जहाज उडिसकेको, अन्तिम गन्तब्यमा लगेज लिन पाइन्छ भन्ने जानकारी नभई सियाटलमा सुटकेश पर्खँदा फेरि जहाज छुटेको आदि विदेशी भूमिमा घटेका अनुभूतिहरू पनि जस्ताको तस्तै राखिएको छ आत्मकथामा । नेब्रास्का युनिभर्सिटी अमेरिकाका डा. लियोनार्ड स्कोभले भूगोलका प्रोफेसरसँग परामर्श गरी चीन र भारतबीचको भौगोलिक र साँस्कृतिक विविधता भएको सगरमाथाको देशका मान्छे कस्ता हुन्छन् हेर्ने रहरले महावीर पुनलाई छात्रवृत्ति दिएको भन्ने प्रसङ्गले पनि हरेक नेपालीमा नेपाली हुनुको स्वाभिमान र गर्व बोध गराएको छ ।
महावीर पुनप्रति नेब्रास्का युनिभर्सिटीका प्राध्यापक, सहपाठीहरू, होस्ट फेमिली रोजर र पेग निफ्लरको माया र शिक्षाविद् ह्यु बि उडको अमेरिकन नेपाल एजुकेशन फाउण्डेसन संस्थाले दिएको मासिक छात्रवृत्तिको समेत चर्चा छ यस आत्मकथामा । अमेरिकामा चार वर्ष पढेर व्याचलर डिग्री पास गरी नेपाल फर्केर आएपछि आफ्नै जन्मोथलोमा समाज सेवा गर्ने चाह पलाउँछ महावीर पुनको मनमा । जन्मगाउँ नागीको कचहरीले विद्यालयलाई माध्यमिक विद्यालय बनाउने निर्णय गर्दा महावीर पुनले निशुल्क पढाइदिने बचन दिनुहुन्छ । अनि सन् १९९२ देखि २०१२ सम्मका बीस वर्ष म्याग्दीका नागी लगायतका गाउँहरूमा मात्र होइन नेपालका विभिन्न जिल्लामा सामुदायिक विकासको काम गर्नुहुन्छ उहाँले । हिमाञ्चल माविमा अर्थोपार्जनका लागि अनेक प्रयास गर्नुभएको छ । हिउँदमा हिउँ पर्ने नागीमा प्लास्टिक टनेलमा गोलभेँडा खेती, मेलामा मम बिक्री, आरुबखडाको जाम, पर्यटक बस्ने क्याम्पिङ स्थल निर्माण, खरायोपालन, नेपाली हाते कागज, माहुरीपालन, माछापालन, चिज उत्पादन आदि कार्यहरूमध्ये केही सफल र केही असफल भएका अनुभव समेत बग्रेल्ती छन् यस आत्मकथामा ।
गाउँमा स्वास्थ्य क्लिनिक चलाउन सात आठ कक्षा पास गरेका चार जना महिलालाई तालिम दिलाउन विभिन्न निकायमा हारगुहार गरेका प्रसङ्गले पनि दुर्गममा विकास गर्ने चाहना सफल बनाउन कत्तिको सकस खेप्नुपर्छ भन्ने छर्लङ्ग हुन्छ । आधुनिक सूचना प्रविधिमा जोडिएर गर्ने उपचार र औषधि ओसारपसार गर्न दूर्गम गाउँमा ड्रोन सञ्चालन गरी स्वास्थ्य सेवाका लागि गरिएका प्रयासहरू पनि सह्राहनीय लाग्छन् ।
विद्यालय कम्पाउण्डमा बनाइएका २० वटा छाप्रे छात्राबासमा राती पनि दुई घण्टा पढाइ सञ्चालन गरिन्छ । ती छात्राबासमा विद्यार्थीहरूले मट्टितेलको टुकी बालेर पढेको देखेपछि नेब्रास्काबाट आएका महावीर पुनका दुई जना साथीहरूले करिब तीन हजार डलर खर्च गरेर हाइड्रो जेनेरेटर सेट र अरू सामान खरिद गरिदिन्छन् । जेनेरेटर लगायतका ती सामानहरू ठाडो खोलामा जडान गरी बिजुली बत्ती बालिन्छ । यसरी दुर्गम हिमाली गाउँमा अन्धकार हटेर आशाको उज्यालो जग्मगाउँछ । स्नातकोत्तर डिग्री हासिल गर्न वा सामुदायिक विकास सम्बन्धी अनेक सपना पूरा गर्न पटक पटक अमेरिका जानुहुन्छ महावीर पुन । त्यस क्रममा पुराना फालिएका कम्प्युटरका पार्टपुर्जा जोडेर बनाइएका सिपियु नेपाल ल्याई काठका बाकसमा हाली कम्प्युटर बनाएको परिघटना पनि मन छुने खालको छ । प्रस्तुत आत्मकथामा वर्णित फलामेडाँडा, मोहरेडाँडा, खोप्राको लेक आदिमा पर्यटन प्रवर्धनका लागि गरिएका सत्प्रयास पनि मननीय छन् ।
पोखराबाट ३४ किमी दूरीमा पर्ने तेत्तीस सय मिटर अग्लो मोहरे लेक र त्यसको अर्कोपट्टि ६ किमी दूरीमा अवस्थित हिमाली गाउँ नागीमा इन्टरनेट पु¥याउँदाको कथा पनि उत्तिकै लोभलाग्दो छ । पोखराको दीपको एउटा घरको छतमा र मोहरे डाँडाका रुखमा टिभी हेर्ने ठूला डिस एकअर्काको सम्मुख फर्काएर राखिन्छ । ती डिसको एन्टेनाको बीचमा पसलले तेल बेच्न प्रयोग गर्ने एक लिटरको भाँडो घोप्ट्याएर राखी सिग्नल केन्द्रित गरिन्छ । त्यो भाँडाको बीचमा तामाको डण्डी तेर्सो पारेर राखिएको हुन्छ । अनि वायरलेस डिभाइसलाई ल्यापटपमा जोडेर पोखरासँग लिङ्क गर्दा झ्याप्पै इन्टरनेट टिप्छ । शक्तिशाली राउटरले पनि तीस चालिस मिटर मात्र टिप्नेमा यो अनौठो प्रयोगले नागी गाउँ इन्टरनेट सञ्जालमा जोडिन्छ । यसलाई पछि अरू गाउँहरूमा पनि बिस्तार गरिन्छ । त्यसपछि महावीर पुनलाई रामोन म्यागसेसे लगायत थुप्रै पदक, पुरस्कार र सम्मान प्राप्त हुन्छन् । उहाँको ग्रामीण विकासको चर्चा संसारभर चुलिन्छ ।
पछिल्लो समय राष्ट्रिय आविष्कार केन्द्रको स्थापना र सञ्चालनमा केन्द्रित हुनुहुन्छ महावीर पुन । राष्ट्रिय आविष्कार केन्द्र सन् २०१२ मा दर्ता भए पनि करिब पाँच वर्ष जति राजनेता र सरकारी पदाधिकारीहरूसँग सहयोगको याचना गर्दै मन्त्रालय धाउँदैमा बित्छ । पछि जनताको स्वेच्छिक दानबाट सञ्चालनमा आएको छ राष्ट्रिय आविष्कार केन्द्र । कृषि, शिक्षा, स्वास्थ्य, इञ्जिनियरिङ लगायतका विषयमा निशुल्क अनुसन्धान गर्न युवाहरूका लागि ढोका खुलै राखेको छ आविष्कार केन्द्रले । सानोतिनो समाजसेवाले राष्ट्रिय समृद्धि हासिल हुँदैन भन्ने कुरा बुझेर नै राष्ट्रिय आविष्कार केन्द्रको अवधारणा ल्याउनुभएको हो महावीर पुनले । आफूले पाएका अन्तर्राष्ट्रिय पदक र आफ्नो नामको पोखरा ठूलाकोटको जग्गा बेचेर प्राप्त रकम सामाजिक काम र आविष्कार केन्द्रलाई आत्मनिर्भर बनाउन प्रयोग गर्ने चाहना छ उहाँको ।
प्रस्तुत आत्मकथाका हरेक विषयवस्तुले मन छुन्छन्, घत लाग्छन् र मन मथिङ्गल हल्लाउँछन्, जसमध्ये केही तल उल्लेख गरिन्छ–
पोखराबाट गाउँसम्मै मैले नुनको भारी बोकेँ । जीवनमा पहिलोचोटी ठूलो शहर र हवाइजहाज लगायतका नयाँ कुरा देख्न पाएको हुनाले भारी जतिसुकै गह्रौँ भए पनि मेरो मन फुरुङ्ग थियो । (पृष्ठ १८)
१४ वर्षको उमेरसम्म पनि मैले जुत्ता चप्पल नलगाएको हुनाले कुन चप्पल दाहिने खुट्टामा र कुन चाहिँ देब्रे खुट्टामा लगाउने छुट्याउनै गाह्रो भयो । ... केही सिप नलागेर दाहिने खुट्टाको चप्पलको फितामा धागो बाँधेँ । (पृष्ठ २५)
आइएस्सीमा द्वितीय श्रेणीमा उत्तिर्ण भएँ । छात्रवृत्ति पाउन सकिनँ र इञ्जिनियर बन्ने सपना पूरा भएन । आजभोलि सम्झिँदा छात्रवृत्ति नपाएको पनि राम्रै भए जस्तो लाग्छ । छात्रवृत्ति नपाएकैले जिन्दगीमा धेरै ठक्कर खानुप¥यो । त्यही ठक्कर खाँदाखाँदै अहिलेको अवस्थामा आउन सफल भइयो । (पृष्ठ ३२)
त्यो बेला डेस्कटप कम्प्युटर किन्न धेरै महङ्गो पथ्र्यो । पुरानो भएर फालिएका कम्प्युटरका पार्टपुर्जा जोडजाम गरेर सस्तोमा कम्प्युटर बन्छ कि भन्ने सोच आयो । पुराना पार्टपुर्जा जोडेर बनाइएका कम्प्युटर राम्रैसँग काम गर्ने रहेछन् भन्ने थाहा पाएपछि १२ वटा जति कम्प्युटर बनाउन सकिने पार्टपुर्जा सुटकेशमा हालेर नेपाल फर्केँ । (पृष्ठ १२५ र १२६)
अझै पनि कोही कोहीले सोधिरहन्छन् । नेपालमा पाइने सरकारी पुरस्कार र पदकहरू पाउनका लागि जस्तै भनसुन गरेर अथवा नातावाद, कृपावाद प्रयोग गरेर रामोन म्यागसेसे पुरस्कार पाइने हो कि भनेर सोधेका होलान् । तर रामोन म्यागसेसे जस्ता कुनै पनि पुरस्कार पाउन कसैलाई भनसुन गर्नु नै पर्दैन । बिना कुनै स्वार्थ मानव समुदायलाई सहयोग हुने र फाइदा पुग्ने सामाजिक र सामुदायिक काम गरिरह्यो भने राष्ट्रिय र अन्तर्राष्टिय पुरस्कार, सम्मान र पदकहरू आफै पछ्याउँदै आउँछन् । (पृष्ठ १५२)
अन्तर्राष्ट्रिय पदकहरू बेच्न पाइने हुनाले ती पदकहरू बेचेर आएको रकम राष्ट्रिय आविष्कार केन्द्रका लागि प्रयोग गरिने छ । (पृष्ठ १५६)
नेपालले पनि जसरी हुन्छ पर्यटकलाई आकर्षित गर्ने किसिमको भौतिक पूर्वाधारको निर्माण गर्नुपर्छ, प्रचारप्रसार गर्नुपर्छ । (पृष्ठ १७६)
नेपालको अर्थतन्त्र नबन्नुको एउटा कारण नेपाली समाजमा जरो गाडेको कुरा काट्ने रोग हो । (पृष्ठ २०२)
मानव समुदायलाई कुनै पनि बाटोमा डोर्याउने संस्कारले नै हो । संस्कार भएन भने कसैले केही गर्दैनँ । (पृष्ठ २०९)
जिन्दगीमा जे जति काम गरियो, एकसुरे भएर नै गरियो । (पृष्ठ २०९)
राष्ट्रिय आविष्कार केन्द्रको तत्कालको प्रमुख उद्देश्य नै नेपालमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारको संस्कार बसाल्नु हो । (पृष्ठ २२९)
जिन्दगीमा अन्तिम घडीसम्म हरेश खान हुन्न भन्ने कुरामा नै दृढ विश्वास गर्ने व्यक्ति हुँ र युवाहरूलाई पनि त्यही भनेर प्रोत्साहन दिने गर्छु । (पृष्ठ २३०)
कुनै देशभक्त नेपालीले गर्न सक्ने महादानमध्येको पहिलो र सबैभन्दा महत्वपूर्ण दान भनेको बुद्धि र सिपको दान हो । (पृष्ठ २३४)
नेपालका हरेक युनिभर्सिटी र इञ्जिनियरिङ कलेजले अनुसन्धान तथा नवप्रवर्तनका काम गरेर हरेक वर्ष कुनै दश वटा व्यावसायिक वस्तु विकास गर्ने काम गरेका भए अहिलेसम्म नेपालमा धेरै कुराको उत्पादन भइसक्ने थियो । (पृष्ठ २४४)
आइसिटी क्षेत्रमा लाग्नु भनेको ज्ञान उद्योग अर्थात् नलेज इन्डस्ट्रीजमा लगानी गर्ने भनेको हो । ज्ञान उद्योग शुरु गर्नमा धेरै ठूलो लगानी चाहिँदैन तर परिकल्पना र रणनीति ठीक भएमा लगानी अनुसार नाफा भने निकै धेरै हुन सक्छ । (पृष्ठ २७८)
मेरो उत्तराधिकारी यस्तो होस्– आफ्नो व्यक्तिगत स्वार्थ त्यागेको होस् । ... सबैको सोचलाई सम्मान गर्न सक्ने होस् । आवश्यक परेका बेला म भन्दा पनि एकोहोरो र मूर्ख हुन सक्ने होस् । ज्यान गए पनि आफ्नो भनाइ नछोड्ने होस् । (पृष्ठ २८२)
राम्रो कपडा र टल्किने जुत्ता लगाउँदैमा नयाँ नयाँ सोच आउने भए त म पनि त्यसै गर्ने थिएँ होला । (पृष्ठ २९३)
आवश्यक परे राम्रो कामका लागि जहाँ हामफाल्न पनि तयार छु । (पृष्ठ ३०४)
महावीर पुन र उहाँको टीमले कोभिड महामारीसँग जुध्न निर्माण गरेका सामग्रीहरू देखि हाल कृषि औजार कारखानालाई मर्मत र आधुनिकीकरण गरी सञ्चालन गर्न लागि परेका विषयले हरेक नेपालीलाई आशा जगाएको छ । अर्थतन्त्र सुधार गर्न र रोजगारी सिर्जना गरी मुलुकले विकास र समृद्धिको बाटो समात्न अनुसन्धान र नवप्रवर्तनका कामलाई प्राथमिकता दिनुपर्ने अभिमत छ महावीर पुनको । देशको प्रतिभालाई उच्च स्थानमा राखी प्रविधि विकास गर्न, पुँजी निर्माण गर्न, उत्पादन तथा सेवा निर्माण गर्न र त्यसको बजारीकरण, व्यापारीकरण गर्न अनुसन्धान गर्नै पर्ने विश्वका विकसित मुलुकको अनुभव समेत उल्लेख गर्नुहुन्छ उहाँ । टाढाका कुरा किन, एसियाकै दक्षिण कोरियाका पार्क चुङ ही, सिङ्गापुरका ली क्वान यियु, मलेसियाका महाथिर महम्मद, चीनका देङ स्याओ पिङ आदि राजनेताले गरेका कामले ती मुलुक समृद्ध बनेका उदाहरण समेत प्रस्तुत गरिएको छ आत्मकथामा । इजरायल, अमेरिका, बेलायत, जापान आदि देशमा अर्थतन्त्र सुधार गर्न अनुसन्धान, नवप्रवर्धन र आविष्कारलाई उच्च प्राथमिकता दिइएको कुरा तथ्य तथ्याङ्क सहित राखिएको छ । आइडियाको खोजीमा विभिन्न मुलुकका विश्वविद्यालय र अनुसन्धान केन्द्र चहार्दै विश्व भ्रमण गरेको अनुभव समेत समेटिएको छ । मुलुकमा भ्रष्टाचार नियन्त्रण भई सुशासन कायम हुनुपर्ने र युवाशक्तिको विदेश पलायन रोकिनुपर्ने विषय पनि उत्तिकै जोड दिइएको छ ।
समग्रमा भन्दा, यस कृतिमा महावीर पुनले कक्षा ८ देखि एसएलसी र आइएस्सीसम्म पढ्दा विद्यालय पहुँचका लागि पाएका सकसहरू उतारिएका छन् । बाबुले छोरालाई पढाउन गरेका अनेक प्रयत्न र महावीरले गरेका सङ्घर्षहरू पनि छन् यसमा । अनि छन् मुलुक समृद्ध बनाउन महावीरले सोचेका अनेक सपनाहरू पनि । “धेरैले मलाई सादा जीवन उच्च विचार भएको मान्छे भन्दछन्, मेरो विचार पनि उच्च हैन, एकदम साधारण छ !” भन्ने महावीर पुनको यो आत्मकथाले नेपालको आर्थिक, सामाजिक, वैज्ञानिक, राजनीतिक आदि समस्त पक्षको सुधारमा एउटा गतिलो दिशानिर्देश गर्दछ ।
“जीवनकथाको आगामी संस्करणमा अरू धेरै कथाहरू थपिने छन् र ती कथाहरू अझै जानकारीमूलक हुनेछन् !” आत्मकथामा महावीर पुनका यी भनाइको मनोकामना पूरा हुन सकोस् ! मेरो पनि अनगिन्ति शुभकामना !
मेरो भित्री मनले दोह¥याइरहेछ– यो धरालाई समृद्धिको शिखरमा पुर्याउने असङ्ख्य महावीरहरू जन्मिरहुन् ! महावीरहरूका हरेक सपना साकार हुन सकुन् ! महावीरहरूका यात्रा कुनै घुम्तीमा नरोकिई अविरल अनवरत चलिरहुन्, चलिरहुन् !