आमा, म स्कुल जान्न अब,
म धेरै कुरा जान्ने भैसकेँ,
मैले धेरै कुरा चाल पाइसकेँ,
अखबार पढ्न जान्ने भैसकेँ,
औंठाछाप हैन अब,
कलमले नाम लेख्न जान्ने भैसकेँ।
आमा, किर्ते कागज गर्नेलाई नबोलाउनु अब,
म आफैं तमसुक लेख्न जान्ने भैसकेँ,
आमा, म स्कुल जान्न अब,
म धेरै कुरा जान्ने भैसकेँ।।
आमा, म स्कुल जान्न अब,
व्यवहारिक, सरल जीवन बाच्ने उपाय पढाइदैन जहाँ,
गरिखाने र जीवन धान्ने सिपका कुरा सिकाइदैन त्यहाँ।
हामीलाई काम नलाग्ने थोत्रा, पुराना,
बिदेशी सुत्र र सिद्धान्त रटाइन्छ त्यहाँ।
आईन्ष्टाइन,आर्किमिडिस र निउटनका सुत्र जानेर के गर्नु आमा !
हामीले कहाँ लगाउनु यी अद्भुत सुत्र ?
खेतमा कि गोठमा या भोकमा कि निद्रामा ?
म अब जोत्न,खन्न र मजदुरी गर्न जान्ने भइसकेँ,
जोड घटाउ, गुणा र भाग जान्ने भइहालेँ।
गणितका बेकामे अलजेब्रा,पाइथागोरस, त्रिकोणमिति,
न जीवन भित्रका, न जान्नु न बुझ्नु बिचित्रका,
खोपडीमा पस्दै नपस्ने जटिल चरित्रका,
आमा, हामीलाई अर्थ न व्यर्थका सुत्रहरू रट्नु छैन जब,
त्यसैले म स्कुल जान्न अब।
आमा, म स्कुल जान्न अब,
किनकि, मलाई ठुल्ठुला डिग्री हासिल गर्नु छैन जब,
मलाई धेरै पढ्नु छैन अब।
मान्छेले भन्छन् ,
पखेटा लागेको चरी गुँडमा बस्दैन,
धेरै पढेको छोरो घरमा बस्दैन।
बेलायत वा अमेरिका जता भएनि जानैपर्यो,
पढाइ अनुसारको सान र दाम कमाउनै पर्यो।
ज्यानै जाला नछाड्ने भो विदेश जाने रहर,
आमा छोड्यो, बाबू छोड्यो, छोड्यो गाउँ सहर।
छोरा जब विदेश पस्यो, बुझ्नु ऊ उतै रमायो,
आमाले सहारा गुमाइन, छोराले ममता गुमायो।
बुझ्नुभो आमा, किन म स्कुल जान्न अब,
मलाई ठुल्ठुला डिग्री हासिल गर्नु छैन,
तिमीलाई बेसहारा पारि धन कमाउनु छैन,
म तिमीबाट पटक्कै छुट्टिन चाहन्न,
तिमीलाई एक्लैपारि कदापि टाढिन चाहन्न।
आमा, म स्कुल जान्न अब,
किनकि, मलाई मन छैन ठुला डिग्री हासिल गर्न,
धेरै पढेर लाग्नुछैन कदापि देश बिगार्न।
सुन्नु भाछ! नपढेकाले बिगारेको कुनै देश ?
हेर्नुस् त, धेरै पढेकाले नै बिगारिसके देश।
मन्त्री पढेका, योजनाकार पनि पढेका,
हाकिम पढेका, तर्जुमाकार पनि पढेका,
शासक पनि भ्रष्टाचारी पनि यिनै पढेका,
विकासका मोडल बनाउने पनि धेरै पढेका।
यिनले खै त जनताको हालत सुधारेका ??
यिनले खै त देशको विकास गरेका ?
आमा ! त्यसैले म स्कुल जान्न अब,
म धेरै कुरा जान्ने भैसकेँ,
मलाई ठुल्ठुला डिग्री हासिल गर्नु छैन,
मलाई विदेश पनि जानू छैन जब,
मलाई धेरै पढ्नु छैन अब।
आमा, त्यसैले म स्कुल जान्न अब।।
भोलाझार, आसाम, भारत।