17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्याजको गुदी

निबन्ध डा. शैलजा पोखरेल September 12, 2024, 2:16 pm
डा. शैलजा पोखरेल
डा. शैलजा पोखरेल

प्याजको महिमा कमैलाई थाहा होला! ‘बाहुनले च्याउ खाओस् न च्याउको बात जानोस्’ भन्ने कथन नेपाली समाजमा पहिलेको जमानामा व्याप्त भएझैँ ‘बाहुनले प्याज खानु हुँदैन’ भन्ने भनाइ पनि व्याप्त भएकै हो । आफू परियो बाहुन नै कसरी भेट्नु प्याज! अझ प्याजको गुदी त कस कसले भेटेको छ, कोनि! मलाई चाहिँ प्याजको गुदी चिन्न गाह्रै छ । हुन त बन्दाकोबी पनि त्यस्तै होला गुदी मैले चाहिँ कहिल्यै भेटेकी छुइनँ तर, बन्दासँगै गन्दा पनि आउने हुनाले बन्दाको गुदी मैले कहिल्यै खोजी गरिनँ । प्याज भने चट्पटे, पानीपुरी, घुघुनी, समोसा, म:म: सबैलाई मिठो बनाउने तत्त्व थियो तर, हामी हुर्केका समाजको वा हाम्रा घरको खबर भने अनौँठो थियो ।

कहिले काहीँ आमा (हजुरआमा) ले तरकारी ल्याउँदा पसल्नी दिदीले हतारमा हो कि झुक्केर हो वा यहाँ एउटा दुइटा प्याज हालिदिए कस्तो होला भनेर जाँच गर्ने रहरले हो, आमाको तरकारीमा प्याज हालिदिने गर्दी रहिछन् । आमालाई त्यसको भनक थियो कि थिएन कोनि! हामी केटाकेटी भने आमाको पोको खोलेर हेर्न तानातान गर्थ्यौँ। केटाकेटीको जङ्गली व्यवहारले कहिले काहीँ गाली खाएर एउटा छेउमा गएर आमाको झोलामा आँखा ताकेर बसिराख्थ्यौँ। प्याज घरमा भित्रियो भने धराने चट्पटेमा पल्केका हाम्रा आँखामा संसरकै सबैभन्दा लोभलाग्दो फल भेटेजस्तो हुन्थ्यो । त्यस्तो त लोभ त आँप पाकेका बेला पनि लाग्दैन थियो । सबै आप किरा पर्ने बेलामा एउटा सग्लो आप भेट्ता हामी जति खुसी हुन्थ्यौँ, त्योभन्दा धेरै खुसी हामी त्यो एक दानो प्याज भेट्ता हुन्थ्यौँ । हाम्रा घरमा त प्याज खानेका कथा पनि अनौँठा बनेका छन् ।

एउटा भनौँ है! काठमाडौँमा हामीहरूको जस्तो अनुशासनभन्दा अलि पर हुर्केकी हाम्री एउटी बहिनी (चेतना) धरान गएकी थिई । हामीले प्याजको दानामा हारालुछ गरेको उसलाई पनि सारै रमाइलो लागेछ र त्यो गर्नु पर्छ नै भन्ने ठहर उसको पनि भएछ । एकदिन आमाले ल्याउनु भएको आलुको पोकामा एउटा प्याज परेको रैछ, उसैले भेटिछे । हामीले पनि त्यो थाह पायौँ र उसको पछि लाग्यौँ । चेतना हातमा प्याज लिएर अघि लागी । पैँतालिस सालको भुईँचालोअघिको पुरानो माटाको गारो भएको हाम्रो धरानको घर, झ्यालका डिलमा मान्छे पलेँटी मारेर बस्न सकिन्थ्यो । त्यहीँ गएर चेतना मज्जाले राजा बसे जस्तै गरी पलेटी मारेर बसी । उसको बोली अलि बुढी आमाको जस्तो थियो, “तिमरु खान्छौ? आओ” भनी । हामी “हुन्छ” भन्दै उभन्दा ठिक तल गएर एक टकले प्याजको दानो हेरेरै बस्यौँ । उसलाई हामीहरूले गरेको प्याजको हारालुछ थाह थियो तर, प्याजको महत्व थाह थिएन । त्यसैले होला एकछिन प्याको डल्लोलाई वरिपरि घुमाएर हेरी । के सोची कोनि अनि भनी, “तिमीहरूलाई म बोक्रा दिन्छु, म चाहिँ गुदी खान्छु है” । हामीले सहर्ष स्वीकार्‍यौँ उसको प्रस्ताव । उ तास्तै गई, “यो बोक्रा यस्लाई, यो बोक्रा उसलाई” भन्दै हामीलाई भाग लगाउँदै बाँड्दै गई । हामी पनि रमाई रमाई पालै पालो प्याजको बोक्रा खाँदै गयौँ । धेरै बेरसम्म बोक्रा मात्र आएर गुदी नआउँदा उसलाई चिन्ता लागेछ क्यारे, “यति चैँ म खान्छु है” भनेर बिचको सानो सेतो भाग देखाई । हामीले पनि खुसी साथ ‘हुन्छ’ भन्यौँ र चेतनाको प्याजको गुदी सबैलाई सुनायौँ । बिचारी चेतना सानो गुदी खाएर दङ्ग परी ।

चेतनाले एउटा गुदी भेटी वा भेटिनँ हाम्रो भने उसले भेटेको प्याज खाने ईच्छा पुरा भयो । आज सोच्छु त्यो प्याजको गुदी एउटै रहेछ र त्यसैलाई घेरा हालेर अनेकौँ बोक्रा एकीकृत भएर बसेका रहेछन् । नत्र एउटै घेरामा दुईवटा समानान्तर घेरा भेटिने रैछन् । जति जाति प्याजलाई नजिकैबाट चिन्दै गयो उति उति त्यसको बनौटको विचार गर्न थालिँदो रैछ । प्याजको बनोट त हरेक घर परिवार, हरेक व्यावसायिक संस्थाहरू, हरेक राजनीतिक दलभित्र देखिँदो रैछ । प्याजका गुदी एउटै दानाभित्र दुई तिन ओटा हुँदा त्यसलाई हाल्ने घेरा फरक फरक हुँदो रैछ । पत्रै पिच्छे त्यो बोक्रामा गुदीको भन्दा फरक रङ्ग हुँदो रैछ र जति जति बाहिरको बोक्रातिर गयो उति उति प्याजमा प्याजी रङ्ग र स्वादमा तिखोपन पनि बढ्दै जाँदो रैछ र सबैभन्दा बाहिरी घेरामा एउटा तिखो पत्र हुन्छ र त्यसले एउटा प्याजलाई सिङ्गो बनाउने काम गर्दो रैछ । त्यो पत्र भने भित्र गुदी र तिनका घेरा जति भए पनि एउटै हुँदो रहेछ र त्यही घेराले भित्रका अनेक गुदी र घेरालाई सिङ्गो बनाउने काम गर्दो रहेछ ।

बाहिरी घेराभन्दा बाहिर कतिपयमा सुख्खा बोक्रा हुँदा रहेछन्, कतिपयमा त त्यो पाटो नै हुँदैन रैछ । यदि सुख्खा बोक्रा छन् भने ती सबैलाई आफ्नै ठान्ने बाहिरी बोक्रो सुरक्षित रहँदो रैछ हैन भने सबैले पहिले त्यसलाई निकालेर फाल्दा रैछन् अनि प्याज काट्ने हो कि यसै खाने हो, सुरु गर्दा रहेछन् । त्यस्तै रैछ कुनै ठुलो परिवारमा पनि बाहिरी बोक्रा झरेपछि भित्रका अनेक गुदी र गुदीका बोक्राहरूका तह बेग्ला बेग्लै रूपले देखिन्छन् र अचम्म चाहिँ के रैछ भने ती गुदी र बोक्राको युनिटीको आकार प्याजको जस्तो सग्लो हुँदैन रैछ । यदि एउटा गुदीमा बिगार पर्यो भने विस्तारै ठिक्क त्यसको बाहिरी बोक्रामा बिगार सल्किँदो रैछ अनि अर्को गर्दै जाँदा अर्को गुदीसम्म भित्रभित्रै बिग्रेर बाहिरको दानो सग्लो देखिँदो रैछ । कसैले त्यो दानो समाउन खोज्यो भने मात्र त्यो प्याज भित्रभित्रै बिग्री सकेको थाह पाउँदो रैछ ।

ठ्याक्कै प्याजकै दानाको जस्तो व्यवस्था हरेक सङ्गठनको हुँदो रैँ । राजनीतिक पार्टीहरूलाई एकपटक हेरौँ न त! नहेरौँ भने पनि तिनै छन् अहिलेका जल्दाबल्दा, तिनै छन् राजा, राजाको गुनगान नगाई कसरी प्रजाको मात्र गाएर सक्नु हैन त! फेरि अपुग पो ठहर्ला कि! ती राजाको पत्र पनि प्याजकै जस्तो हुँदो रैछ । एउटा दानो प्याज, एउटा पार्टी, त्यो दानो अवस्यै सग्लो छैन; अगि भने झैँ अनेकौ गुदी र गुदीका बोक्राहरूको संरचनामा त्यो पनि अनुहार बिग्रेका बसेका होलान्! कुनै बाहिरी झल्ले बोक्राहरूले बाँधेर एउटै भए झैँ । कुनै त गुदीदेखि बिग्रिने क्रममा आएका होलान्! कतिमा त गुदीजति सबै काम नलाग्ने भएर बोक्राले मात्र प्याजको गुण बोकेका पनि होलान् । बोक्राले धानेको सत कतिञ्जेल टिक्ला र! गुदी बिग्रेर बाहिर सर्दै जाँदा सबैभन्दा पछाडिसम्म जस्ताको तस्तै देखिएर बोक्रा बसेको हुँदो रैछ । बिचरा प्याजको रस वा स्वाद र फाइदाबाट पर बसेको बोक्रो सग्लो देखेर बाहिरबाट कसैले टिप्न खोजे भने पच्याक्क भएर सिङ्गै प्याज थेप्चिन्छ । बोक्रा भने अझै प्याज सग्लै हुने आशमा आफ्नो सत्य धानेर बसिराखेको हुन्छ । सबैसँग बचाएर दानोलाई सुरक्षित राख्छु र प्याजको गुण सिङ्गै जीवितै राख्छु भन्ने त्यसको धेय भित्रको बिगारले नै नासिदिँदो रैछ । त्यसैले होला त्यो कलेजको विद्यार्थी वा बाटामा झण्डा बोकेर हिँड्नेले मैले नै यो पार्टी सुरक्षित राखेको छु भने झैँ जिन्दावाद र मुर्दावाद अनि ढुङ्गा र गाली बर्साई राखेको हुन्छ । अलि भित्रका बोक्रा परे भने ती एकछिन अगाडि लाग्दा रहेछन् र अशुरक्षा देख्नासाथ बोक्राको भित्रपट्टि लुकेर बस्ता रहेछन् । अझ भित्रका बोक्रा भए ती मञ्चमा र त्यसको वरपर बसेका हुँदा रहेछन् । केही हानि देखिहाल्यो भने गुदी बचाउने निउँले भाग्ने लुक्ने के गर्ने हो त्यही गर्न थाल्दा रहेछन् । अब गुदीको पालो भेला भएका ठाउँमा एउटा तोकिएको समयमा जाने सबै तहका बोक्राहरूको सुरक्षामा बस्ने; आफ्ना तहगत बोक्राको भाउ जाँच्ने र एउटा बाहाना बनाएर छिट्टै त्यहाँबाट भाग्दा रहेछन् । भनौँ नभनौँ यी गुदी अत्यन्तै स्वार्थी हुँदा रहेछन् । अब भन्नुहोस् कुनै पनि प्याजमा गुदी भनेको कम स्वादको हुन्छ, त्यही गुण राजनीतिक पार्टीका नेताको पनि हुन्छ । तिनको गुदी स्वादिलो भएको भए आफ्नो पन कसरी छोड्थे होला र! अनि कसरी सजिलै हिजोसम्म बोक्रासम्म सत्रु पार्टी भनेर चिनिएको अर्को गुदीको घेरामा समान रूपमा मिल्न सक्थे होला र! हैट के के हो के के! त्यसै भएर पो होला शंकर लामिछानेको चिन्तन पनि प्याजमै थियो ।

अब हेर्नुस् त्यो प्याजको दानो आमाले ल्याउने आलुको पोकामा घरमा आयो भने के होला ? प्याजको गुदी मात्र मन पराउने चेतनाले भेटेको गुदीमा को आउला! कुनै स्वार्थी नेता? प्याजको गुदी भनेको त अरू फलफुलको गुदीजस्तो सबैभन्दा मिठो भाग नभएर सबैभन्दा नमिठो भाग पो हुँदो रैछ । धन्न चेतनाले ‘गुदी चाहिँ म खान्छु ल’ भन्दा सहर्ष स्वीकारेछौँ । नत्र कुन स्वार्थी नेता हाम्रो पेटमा, घाटीमा वा आत्मामा पुग्ने थियो होला! हामीले खाने प्याजको बोक्रामा कस्तो स्वाद आउला त! अब त्यसलाई मसिनो काटेर भुटिभात, समोसा, चटपटे, म:म: मा हाल्दा के होला! ती पनि स्वार्थी नै पर्ने त भए नि । उर्लेर जिन्दावाद, मुर्दावाद भन्ने र अस्तित्त्व धान्ने पाटो त बाहिरी बोक्रा रैछ; त्यसैले त्यो नफाली त प्याज खाने कुरै भएन । अब हामीले खाएका बोक्रामा बचेका ती अगुवा, भिँडलाई आफू केन्द्री बनाउने र बाहिरी खतरा आइपरे त्यही बोक्राको भित्र सुटुक्क लुकेर बस्ने परे कि! कि अर्को बोक्रा परे? झन गुदी बचाउने नाममा खतराबाट पर गुदीकै गाडी चढेर भाग्ने परे । हैट यति विचार गरेपछि प्याज त खान्न होला अब ! त्यो प्याज कसरी खान लायक होला! यसरी प्याजको बोक्रा निकाल्दा पो थाह भयो हाम्रा घरमा किन प्याज आउँदैन थियो? त्यसैले पनि बाहुनले प्याज खान हुँदैन भन्थे भन्ने होला !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।