(साहित्यकार भीष्म उप्रेती कविता, निबन्ध र नियात्राका क्षेत्रमा उम्दा लेखक हुन् । त्यसो त उनको उपन्यास पनि प्रकाशित छ । उनी पेसाले बैँकर भए पनि उनको नेपाली भाषामा पकड राम्रो छ । उनका कृतिहरु नेपाली लेखिएको भए पनि विश्वका एक दर्जनभन्दा बढी भाषामा अनूदित भइसकेका छन् । तिनै लेखकको सगरमाथा आधार शिविरसम्मको यात्राको विवरणलाई डायरीको ढाँचामा उतारिएको ‘हिमाल, शेर्पा र यती’ एउटा उत्कृष्ट नियात्रा हो । यसले निबन्धको मज्जा मात्र होइन, सगरमाथा आधारशिविरमा जान चाहने साहसीहरुलाई सूचना पनि दिएको छ ।)
नेपालमा पर्वतीय साहित्यको लहर किन बढ्दै छ ?
सगरमाथा, माछापुच्छ«े, धौलागिरि वा पुमोरी हिमाल मात्र होइन, तीबाहेक पनि नेपालमा थुप्रै सुन्दर हिमालहरु छन्, मनोरम पहाडहरु छन् । ती हिमाल र पहाडमा पदयात्रा गर्ने प्रशस्तै मार्गहरु पनि छन् । तिनमा पदयात्रा गर्ने विदेशी मात्र होइन, स्वदेशीले समेत पदयात्रा गर्ने क्रम बढ्दो छ । ती पदयात्रीमध्ये कतिपय लेखकहरु पनि छन् । जब कुनै लेखक नयाँ ठाउँमा पुग्छ, उसलाई त्यो ठाउँका बारेमा लेखूँ लेखूँ लाग्नु स्वाभाविक पनि हो । यही भएर नेपाली साहित्यमा यतिबेला पर्वतीय साहित्य मौलाउँदो छ ।
हो, यतिबेला नेपालमा पर्वतीय साहित्यको सिर्जना बढ्दो छ । चाहे कवितामा होस्, चाहे उपन्यासमा होस् वा नियात्रामा नै किन नहोस् । त्यो क्रम बढ्नु पाठकका निम्ति खुसीको कुरा हो । लामो समयदेखि पर्वतीय साहित्यमा निरन्तर लागिरहने नाम प्रतीक ढकाल हो भने यदाकदा अरु पनि लागिरहेकै छन् । नियात्रामा क्रियाशील स्रष्टा भीष्म उप्रेतीको ‘हिमाल, शेर्पा र यती’ यस्तै पर्वतीय साहित्यको नमुना हो, जसमा सगरमाथा आधारशिविरसम्मको मनोरम वर्णन छ ।
कस्तो छ ‘हिमाल, शेर्पा र यती’ ?
निबन्धकार भीष्म उप्रेतीको उन्नाइसौँ साहित्यिक सन्तान बनेर आएको ‘हिमाल, शेर्पा र यती’ वि.सं. २०७७ मा प्रकाशित नियात्रा कृति हो । शिखा बुक्स, काठमाडौँले प्रकाशित गरेको यो कृतिले जम्मा २४२ पृष्ठको आयाम र पकेट साइज लिएर आएको छ । पछिल्ला आठ पृष्ठमा राखिएका सोह्रवटा रङ्गीन तस्बिरहरुले कृतिको भ्रमणशीलतालाई पुष्टि समेत गरेको छ ।
वि.सं. २०७४ कार्तिक ५ गतेदेखि कार्तिक १५ गतेसम्म जम्मा एघार दिनको यात्रा विवरण टिपोट गरिएको यो कृति डायरी लेखेजस्तो गरी लेखिएको छ । यसमा डायरी मात्र छैन, संवाद पनि छ र छ संस्मरण पनि । जे जसरी लेखिएको भए पनि यो नियात्रा हो । यसले काठमाडौँदेखि सगरमाथाको आधारशिविरसम्मको हवाइयात्रा, पदयात्रा, जिपयात्रा र बसयात्रालाई मार्मिक तरिकाले चित्रण गरेको छ । यसमा निबन्धकारले आफ्नो यात्रा मात्र नभएर यसअघिका यात्रामा सामेल भएका यात्रीका अनुभव पनि समेटेका छन्, त्यसले यो कृति अझ सुन्दर बनेका भान दिन्छ ।
‘हिमाल, शेर्पा र यती’ मा पर्वतीय चित्रण कसरी गरिएको छ ?
दुई विदेशी महिलाहरु, एक जना पर्ततीय पदयात्राका व्यवसायीसँग मिलेर लेखक भीष्म उप्रेती वि.सं. २०७४ कार्तिक ६ गते सगरमाथा आधारशिविरतर्फ लाग्छन् । पहिलो दिनमा हवाइयात्रा रोकिएका कारण उनीहरु दोस्रो दिनमा मात्र गन्तव्यतिर लाग्छन् । यसरी गन्तव्यमा पुग्न उनीहरु पैदलयात्रामा सामेल हुन्छन् । यात्राको आठौँ दिन र समग्र यात्राको नवौँ दिनमा लेखकको हिमालसँग नजिकैबाट जम्काभेट हुन्छ । उनी आँखै अगाडि हिमाल देखेपछि त्यसको दृश्यलाई यसरी चित्रण गर्छन् ः
वाह ! शिखरहरु जति सुनौलो, त्यसमुनिको भाग हिउँले सेतो र त्यसभन्दा पनि निकै मुनि भने कालो र खैरो । रङहरुको यो अद्वितीय संयोजनले जन्माएको अलौकिक सौन्दर्यको दर्शन हिमाल हेर्ने सबैको भाग्यमा कहाँ हुन्छ ? (पृष्ठ : १८७)
माथिको उद्धरणमा हिमालले सामान्य पदयात्रीलाई कसरी मोहनी लगाउँछ भन्ने छकन पाइन्छ । हिमालले पदयात्रीलाई मात्र होइन, त्यही क्षेत्रमा युगौँदेखि बसोबास गर्दै आएका शेर्पाहरुलाई समेत मोहनी लगाउने कुरालाई नियात्राकार यसरी शब्दमा उतार्छन् :
हिमालमा हेरिरह्यो भने त जाऊँ जाऊँ लाग्न थालिहाल्छ त । कुन्नि कुन शक्तिको रहस्य छ त्यहाँ । त्यसले तानिहाल्छ त , अनि ज्यान खतरामा छ भन्ने पनि लाग्दैन, मरिएला भन्ने पनि लाग्दैन, चिप्लिएर हिउँलाई सिरानी हालेर युगौँयुग सुत्नुपर्ला भन्ने पनि लाग्दैन । (पृष्ठ : १४०)
हिमाल बाहिरबाट हेर्दा जति सुन्दर छ, नजिक पुगेपछि त्योभन्दा सयौँ गुणा खतरनाक पनि छ । सानोभन्दा सानो गल्तीले ज्यानसमेत जान सक्छ । यति कुरा बुझेका भए पनि शेर्पाहरु हिमालको नजिक पुगेपछि कसरी सम्मोहित हुन्छन् भन्ने कुरा माथि सुन्दर तरिकाले चित्रण गरिएको छ । सगरमाथा क्षेत्रमा हिउँ मात्र होइन, काला पत्थरले ढाकिएको पहाड पनि भएको कुरा लेखकले यसरी देखाएका छन् ः
रुखविरुवा केही नभएको नाङ्गा र काला चट्टानले बनेको एउटा उचाइ मात्र थियो कालापत्थर यतिबेला । ५५०० मिटरभन्दा अग्लो उचा टम्म हिउँले ढाकिएको हुनुपर्ने वास्तवमा । एकदम नाङ्गो – एक किसिमले कुरुप पनि । (पृष्ठ : १९८)
माथिको निबन्धांशमा सगरमाथा नजिकैको कालापत्थरको चित्रण मात्र गरिएको छैन । वातावरणीय दुस्प्रभावका बारेमा चिन्ता पनि गरिएको छ । यस्तै गरी सगरमाथा क्षेत्रको वातावरणीय पक्षको अर्को चित्रण हेरौँ :
यो सम्पूर्ण खुम्बु क्षेत्र सगरमाथाा राष्ट्रिय निकुञ्ज भएको क्षेत्र हो । निकुञ्ज क्षेत्रभित्र जनावरलाई मार्न र रुख काट्न निषेध हुन्छ । यस क्षेत्रभित्र रुखविरुवा प्रशस्तै भएका ठाउँका होटेलहरुमा समेत ग्याँस चुल्हो र ग्याँस गिजरको प्रयोग गरेको देख्यौँ । डाइनिङ कोठा तताउने कार्यमा भने नेपालकै तराइका क्षेत्रहरुमा जस्तो गोबरका गुइँठाहरु बालेका देख्यौँ होटलहरुले । (पृष्ठ : १०२)
हो, नेपालका हरेक राष्ट्रिय निकुञ्ज क्षेत्रबाट केही पनि बाहिर ल्याउन पाइँदैन । त्यो नियम सगरमाथा राष्ट्रिय निकुञ्जमा पनि लागू भएको कुरा माथिको निबन्धांशमा राम्ररी चित्रण गरिएको छ । यसरी यो कृति भ्रमण, परिवेश चित्रण, पर्वतीय अनुभूतिको वर्णनमा आधारित कृति बनेको छ ।
‘हिमाल, शेर्पा र यती’ को प्राप्ति के हो ?
निबन्धकार भीष्म उप्रेतीले यात्रा विवरण लेखिसकेपछि ‘र, अन्त्यमा ...’ शीर्षक राखेर आफ्नो लेखनलाई यसरी चिनाएका छन् ः
यो यात्रा झट्ट हेर्दा वा सबैले देख्दा शारीरिक यात्रा थियो । शरीरका सम्पूर्ण अङ्गहरु पूरा चलायमान भएको यस यात्रामा शारीरिक रुपले लागेको थकाइलाई अनुभव गर्दा सत्य पनि त्यही नै हो । तर वास्तवमा यो यात्रा शारीरिक मात्र थिएन । भावना र अनुभूतिको तहमा उक्लेर विचार गर्दा यो शारीरिक यात्राभन्दा पनि एउटा गहिरो भावनात्मक (इमोसनल), अध्यात्मले भरिएको (स्पिरिचुअल) र मानसिक यात्रा पनि थियो । (पृष्ठ : २३१)
साँच्चै यो कृतिले सामान्य यात्रा विवरण मात्र नदिएर सगरमाथा क्षेत्रका विविध पक्षको चित्रण गरेको छ । यसमा त्यहाँको प्रकृति, भूगोल, धर्म, संस्कृति, रीतिरिवाज, चालचलन, व्यवसाय आदिका बारेमा पनि चित्रण गरेको छ । यो नै यसको मूल प्राप्ति हो ।
‘हिमाल, शेर्पा र यती’ को सीमा के हो ?
निबन्धकार भीष्म उप्रेतीको ‘हिमाल, शेर्पा र यती’ मूलतः नियात्रा कृति हो । यसमा यात्रा विवरणलाई नैबन्धिक पाराले उतारिएको छ । तर यसमा संवाद यति धेरै आएको छ कि त्यसले यो निबन्ध हो कि आख्यान भनेर पाठक दोधारमा पर्छ । त्यसो त निबन्धमा संवाद आउनै हुँदैन भन्ने छैन, तैपनि ‘चाहिनेभन्दा बढी भएपछि चिनी पनि तितो हुन्छ’ भन्ने नेपाली उखान यहाँ पनि लागू हुन्छ । हेरौँ एउटा सन्दर्भ :
“यहाँभन्दा अगाडि नजाने तपाईहरु ?” मैले सोधेँ ।
“अहँ, नजाने । यहीँ नै यत्ति धेरै रमाइलो छ ।” इराले भनिन् ।
हामी पनि उभियौँ त्यहाँ एकछिन ।
“तपाईहरु के पेशा गर्नुहुन्छ ?” रविजीले सोध्नुभयो ।
“हामी शिक्षक हौँ पेशाले ।” तिनै इराले भनिन् ।
“यस्तो विकट खुम्बु क्षेत्रमा आउन किन मन लाग्यो तपाईहरुलाई ?” रविजीले सोध्नुभयो ।
(पृष्ठ : ९९)
यस्ता संवादले निबन्धलाई निबन्धभन्दा पनि आख्यान वा नाटकको नजिक लैजान्छ भन्ने धारणा हो मेरो । निबन्ध लेख्दा आवश्यक ठाउँमा संवाद राख्दा राम्रै हुन्छ, तर बढी संवाद राख्दा निबन्धको स्वाद हराउन पुग्छ । यस्ता कुरामा लेखक सचेत भएकै जाती हुन्छ भन्ने विचार छ मेरो । यो कृतिमा बाँकी कुरा त ठिकै छन् ।
त्यसो भए हामीले पर्वतीय साहित्य किन पढ्ने ?
नेपालीमा पर्वतीय साहित्य कहिलेबाट लेखिन थाल्यो ? यो छुट्टै अनुसन्धानको विषय हो । पर्वतीय साहित्यको कुरा गर्दा देवीचन्द्र श्रेष्ठको नियात्रा ‘हुम्ला बोल्छ मानसरोवरमा’लाई सम्झन पुग्छु म । यो नै पहिलो रचना हो होइन ठोकुवा गर्दिनँ म । आख्यान र त्यसमा पनि उपन्यास भन्ने हो भने सरुभक्तको ‘चुली’ पहिलो कृति हो भनेर निर्धक्क भन्छु म । ‘चुली’ उपन्यासको लेखकीयमा सरुभक्तले लेखेका छन् : “हामीसँग हिमालहरु छन् भने हामीले त्यसका बारेमा किन नलेख्ने ?” हो, आफूसँग भएको कुराका बारेमा लेख्दा बढी विश्वसनीय हुन्छ हैन र ?
हामीले पढ्दा पनि त विश्वनीय कृति नै हो छान्ने । कोरा कल्पनामा रचिएका कृतिले हामीलाई रमाइलो गराए पनि ज्ञानको तहमा पु¥याउँदैन । त्यही भएर पढ्दा कस्तो कृति छान्ने भन्ने बारेमा पनि सचेत हुनु जरुरी छ । निबन्धकार भीष्म उप्रेतीको ‘हिमाल, शेर्पा र यती’ हिमालका बारेमा गरिएको मौलिक अनुभूति हो । त्यति मात्र नभएर त्यहाँका बासिन्दासँग सोधेर, खोजेर तयार पारिएको हिमालसम्बन्धी दस्ताबेज हो । यसले हामीलाई हिमालका बारेमा प्रशस्त ज्ञान दिन्छ । त्यसैले यो कृति पठनीय छ ।