मानिसले आफ्नो साविकको बसोबास क्षेत्रभन्दा बाहिर जानुपर्ने कारणहरू विविध छन् । बसाइँसराइँ, विवाह, शिक्षा र रोजगारीका सन्दर्भ मानिसले अन्य ठाउँ पुग्नुपर्नेमध्येका प्रमुख कारणहरू रहेछन् । एउटा गाउँठाउँबाट अर्को गाउँ वा शहरमा विवाह भएपछि नेपाली समाजमा महिलाले नयाँ ठाउँ र परिवेशमा रहनुपर्ने अवस्था छ । शिक्षा हासिल गर्ने क्रममा मान्छेका आवश्यकताअनुसार घरभन्दा टाढा गएर बस्नुपर्ने हुन्छ । नयाँ साथी र नयाँ परिवेशमा घुलमिल हुनुपर्ने हुन्छ । साथसाथै पेशागत जिम्मेवारी र कार्यक्षेत्रका कारण अनि कामको उपलब्धता जता छ त्यतै बस्नुपर्ने कारणले पनि मानिस नयाँ ठाउँ र परिवेशमा अनुकूलित हुनुपर्ने देखिन्छ । माथि उल्लिखित कारणका अतिरिक्त कहिलेकाहीँ हाम्रा आफन्त, नातेदारको बसोबास देशभित्र कति छरिएको छ भन्ने कुराले पनि हाम्रो यात्रा र देश दर्शनको संयोग जुर्छ । नयाँ ठाउँ देख्ने, त्यहाँको सामाजिक परिवेश, मानिसको दिनचर्या, रहनसहन, सांस्कृतिक तथा आर्थिक गतिविधि र त्यस ठाउँको प्राकृतिक अवस्थिति हेर्न पाउनु पनि एक किसिमको समाज अध्ययन नै हो भन्ने मलाई लाग्छ । मेरा आफन्त, नातेदार नेपालको पश्चिममा कोहलपुर र पूर्वमा रौतहटसम्म छन् तर मेरो घर पोखरादेखि लहरै आउने ठाउँहरूमा बसेका भने छैनन् । कोहलपुरमा आमाकी ठूलीदिदीको परिवार छ भने रौतहटमा आमाका काकी, दाजु र परिवार । अहिले पैसा हुने हो भने पोखराबाट कोहलपुर र रौतहटको यात्रा पहिलेको तुलनामा सहज भएको छ । पोखराबाट नजिकैको विमानस्थलमा गएर उत्रन मिल्छ अनि गाडी भाडामा लिएर भनेका ठाउँमा जान सकिन्छ । म केटाकेटी भएका बेला यी ठाउँ पुग्न रहर लाग्थ्यो । तर सहज रूपमा त्यहाँ जान मेसो मिल्दैनथ्यो । ती ठाउँका दाजुभाइ, दिदीबहिनीका बिहे, व्रतबन्ध आदि कार्यक्रम हुँदा मात्र त्यता जान सान्दर्भिक हुन्थ्यो, निम्तो पनि आउँथ्यो । तर त्यहाँ पुगेर आउन धेरै दिन लाग्ने, पढाइ छुट्ने र खर्च पनि हुने हुँदा त्यसरी यात्रा गर्ने अवसर बाल्यकालमा खासै मिलेन । पछि पाकेटखर्च कमाउन थालेपछि दमौली ठूलीआमाका छोरासँग चितवनबाट वीरगञ्ज पुग्दै रौतहट अनि कोहलपुर ठूलीआमाका नातिसँग काठमाडौंदेखि कोहलपुरसम्मको यात्रा गर्ने अवसर मिल्यो । कोहलपुरसम्मको यात्रा त अझ दुईपाड्ग्रे सवारीमा गरियो जुन अत्यन्त कष्टकर र अविस्मरणीय रहन गयो । घण्टौंसम्म दुईपाङ्ग्रे सवारीमा बस्न नसकेर ठाउँठाउँमा एक किलोमिटर जति हिँड्दै फेरि सवारी चढ्दै यात्रालाई निरन्तरता दिएको अझै पनि सम्झना छ ।
पोखराको बासिन्दा भएका नाताले बाल्यकालमा धरान, इलाम र पशुपतिनगर शहरबजारका नामसँग म परिचित थिएँ । पोखरा बजारमा बेलायत र इण्डियाका सेनामा काम गर्ने र सेवा निवृत्त भई फर्केका मान्छेको बाहुल्य छ जसलाई चलनचल्तीको शब्दमा लाहुरे भनेर पुकार्ने पनि गरिन्छ । मेरो घर अघि, पछि र दायाँ लाहुरे काकाहरूकै घर छन् । सेवाका क्रममा नेपाल बाहिरका भवनका संरचनाबारे ज्ञान भएका लाहुरे काकाहरूले उतैको आकारप्रकारका घरका नक्सा ल्याएर पुराना घरलाई पुनर्संरचना पनि गर्थे जसले गर्दा उनीहरूका घर आकर्षक देखिन्थे र बिस्तारै अन्य बासिन्दाले पनि त्यसप्रकारका संरचनाको सिको गरि घर बनाउने गर्थे । पोखराका ब्रिटिस लाहुरेजस्तै नेपालको धरानमा पनि यस्तै लाहुरेहरूको बसोबास छ अरे, त्यहाँ पनि यहाँ जस्तै आफ्ना घरवरपर सफा राख्छन् रे, राम्रा राम्रा घर छन् रे भनेर मैले बाल्यकालमा धरानका बारे सुनेको थिएँ । त्यसैगरी विद्यालयबाट शैक्षिक भ्रमणका क्रममा पोखराबाट प्रायः इलाम हुँदै इण्डियाको दार्जलिड जाने चलन थियो । तथापि हाम्रा विद्यालयबाट २०५५ सालतिर दार्जलिडसम्मको यात्रा गर्दा मेरो जाने मेसो मिलेन । वास्तविक कुरा गर्नुपर्दा बाले पैसा नदिएर घुम्न जान पाइएन त्यतिबेला । गायक यम बरालको स्वरमा रहेको “बादलुको घुम्टोले इलाम बजार छोपिँदा” बोलको गीत सुन्दा र ‘सम्झना’ चलचित्रको “दुई पाते सुइरो” भन्ने गीत टेलिभिजनका पर्दामा हेर्दा देखिने चियाबारीका दृश्यले म इलामको नामसँग नजिक हुन पाएको थिएँ । पोखराको बसपार्क रहेको पृथ्वीचोक वरपर दिनको एकपटकजसो पुग्दा दैनिक लामा र राम्रा बसका पछाडि देखिने पोखरादेखि पशुपतिनगर लेखेका शब्दले पनि पशुपतिनगर भन्ने ठाउँ देख्न लालायित गथ्र्यो । पूर्व भनेको कता हो र पूर्व भन्नाले के बुझिन्छ भन्ने थाहा नपाए पनि बाल्यकालमा यी ठाउँ पुग्ने रहर चाहिँ मनमा पलाएको थियो ।
कीर्तिपुरको केन्द्रीय क्याम्पस पढ्दा पश्चिमसँगसँगै नेपालको पूर्वीभेगका धेरै जिल्लाका साथीहरूसँग सङ्गत गर्ने अवसर जु¥यो । अझ सङ्ख्याका हिसाबले भन्ने हो भने मेरा धेरै साथीहरू पूर्वतिरकै थिए । शिक्षण संस्थाको उपलब्धता र सहजताका हिसाबले पूर्वका तुलनामा पश्चिम भेगका युवालाई हुने गरेका कठिनाइका कारण पनि हुनसक्छ त्यतातिरका साथीहरूको सङ्ख्या पनि हामी पढ्ने विभागमा कम नै थियो । मेरा साथीहरू ताप्लेजुड, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, मोरङ, झापा, सुनसरी, खोटाङ आदिदेखि कीर्तिपुर पढ्न आएका थिए । संयोग नै मान्नुपर्छ विभागको विद्यार्थी संगठनको अध्यक्षको उमेदवार हुँदा पूर्वकै साथीहरूको व्यापक समर्थन र सहयोग रह्यो मैले जित हासिल गर्नुमा । तथापि विद्यार्थीकालमा पूर्वका साथीहरूसँग पूर्व घुम्न जाने अवसर मिलेन । पूर्व जाने कुरा भए अनि योजना बने तर त्यसलाई सार्थक बनाउन सकिएन ।
जीविकोपार्जनका क्रममा काठमाडौंमा रहँदा काम गर्ने अड्डाका सहकर्मी साथीमध्ये हालको लुम्बिनी प्रदेशको दाङका अनुप चौधरी र काठमाडौंकै बासिन्दा रेसमा शाक्य पनि नेपालको पूर्वी भेग हेर्न, समाज र परिवेश बुझ्न लालायित थिए । त्यसै मेसोमा हामी तीन जनाले पूर्व जाने योजना बनाउन कस्सियौं । दुई रात र तीन दिनको योजनामा पूर्वका धरानबजार, भेडेटार, हिले, बसन्तपुर, इलाम, कन्याम, फिक्कल, पशुपतिनगर, अन्तु डाँडा, चतरा आदि ठाउँ पुग्ने गरी खर्चको अनुमान पनि गरियो । मैले मोरङ, बाहुनीका मेरा साथी विमल मियाङ्वोलाई सम्पर्क गरी विराटनगरदेखि दुईतीन दिनका लागि गाडी भाडामा लिन सहयोग गरिदिन आग्रह गरें । उनले सबै कुरा बुझेर सम्पर्क विवरण पठाइदिए । २०७७ साल चैत २९ गतेका दिन हामी तीन जनाको टोली बुद्ध हवाई सेवाको काठमाडौंबाट विराटनगर जाने पहिलो उडानमार्फत् आइतबारका दिन विराटनगर विमानस्थल पुग्यो । पूर्वका ठाउँको बारेमा प्रत्यक्ष अनुभव नभएका हामीले सुनेका भरमा र गुगलले देखाउने नक्सा हेर्दै बनाएका घुम्ने योजना हामीले भाडामा लिएका गाडीका चालकलाई भेटेपछि अझ व्यवस्थित हुन पुग्यो । उनैको सल्लाहबमोजिम पहिलो दिन इलाम र पशुपतिनगर जाने भनेका हामी इटहरी, धरान, भेडेटार, हिले, बसन्तपुर हुँदै पुनः भेडेटारमा फर्की बास बस्ने योजनासहित अगाडि बढ्यौं । काठमाडौंका विस्तारित चक्रपथ र कोटेश्वर सूर्यविनायक सडक खण्डका फराकिला सडक बाहेक अरु फराकिला बाटा देख्न नपाएका हामीलाई विराटनगर र इटहरी जोड्ने चार लेनको बाटाले निकै आकर्षित गर्यो । तर बीच भागतिर पर्ने दुहबी बजारमा भने सडक बिस्तार नभएको र यातायात आवतजावतका लागि साँघुरो भएर कठिनाइ भएकाले किन यहाँ बाटो नबढाएका होलान् भन्ने जिज्ञासा चाहिं जाग्यो । नेपालका अन्यत्र ठाउँका जस्तै कारण होलान् भनेर हामीले धेरै बुझ्न खोजेनौं । गाडीका चालक विराटनगरकै भएकाले हाम्रो पथप्रदर्शक उनी नै भएको बताउँदै सोध्न मन लागेका कुरा सोध्दै अगाडि बढ्यौं । साथै यात्राका क्रममा बताउनुपर्ने र चिनाउनुपर्ने कुरा भन्नका लागि पनि उनलाई आग्रह ग¥यौं । इटहरीपछि धरान जाने बाटोको चारकोशे खण्ड चाहिँ बनाउन शुरु गर्ने क्रममा भएकाले बाटाको अवस्था खराब थियो । बिहान ११ बजे धरान बजार पुगेपछि भानुचोक, घण्टाघर हुँदै अगाडि बढियो । भानुचोकबाट थोरै अगाडि देब्रेपट्टि एउटा संरचना देखाउँदै कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्रीको बन्दै गरेको होटल भनेर चिनाइयो । त्यो कुरा कति सत्य हो थाहा भएन तर “राजनीतिकर्मी, नेता आदिले किन होटल, रेष्टुरेन्ट र कृषि फार्म नै खोल्ने होलान् है?” भनेर हामी एकअर्कामा प्रश्न गर्दै भेडेटारतिर लाग्यौं । भेडेटार बसेर भोलिपल्ट फर्कंदा धरान घुम्ने योजना रहेकाले धरानमा नझरी यात्रालाई निरन्तरता दियौं ।
भेडेटार पुग्ने बेला डाँडाको उकालामा गाडी रोकेर देब्रेपट्टि देखिने सुन्दर धरान बजारको दृश्य आँखा र फोनमा कैद गर्दै भेडेटार बजार पुग्यौं । बजारको चोकमा इमानसिंह चेमजोडको प्रतिमा देख्दा निकै खुशी लाग्यो । विद्यालय पढ्ने बेला इतिहासकार, भाषाशास्त्रीका रूपमा चिनेका उनले किराँतीहरूको महत्त्वपूर्ण ग्रन्थ ‘मुन्धुम’ प्रकाशित गरेका थिए । भेडेटार बजार निकै मनोरम रहेछ । हामी पुग्दा हावापानी चिसो नै थियो । भेडेटारमा भ्यूटावर पनि रहेछ । लट्ठामा सुरेली खेल्ने साहसिक पर्यटनका लागि संरचना पनि बनेको रहेछ । त्यहाँबाट नाम्जे, राजारानी जाने बाटो पनि रहेछ र त्यता घरबासको व्यवस्था पनि रहेछ । ठुलो शड्खको प्रतिमा रहेको शड्ख पार्क पनि बजार नजिकै देखियो । हामी भेडेटारमा बास बस्ने भएकाले बिहानै होटल खोजेर बासको निधो गरेर मात्र यात्रा जारी राख्ने तयारीमा थियौं । भेडेटारमा होटल भेटियो भने बिहानको खाना त्यहीं खाने योजना थियो । तर राम्रा होटल उपलब्ध नभएकाले खाना भेडेटारबाट ८ किलोमिटरको दूरीमा रहेको १५ मिनेटजतिको ओरालो बाटो यात्रा गरेपछि पुगिने नमस्ते झरना पुगेर खाने योजना बन्यो । गाडीका चालकलाई होटलबारे पनि थाहा भएकाले उनैको भर परेर बासको व्यवस्था गर्न पनि अनुरोध गरियो । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पर्ने यो नमस्ते झरना पूर्वको भ्रमणमा निस्कँदा पुग्नैपर्ने ठाउँ रहेछ । त्यहाँको सिम्सुवा खोलाले आफ्नो पथ तय गर्दा डाँडाबाट करिब ८५ मिटर तलसम्म झर्दा यो झरना बन्दो रहेछ । सेतो अनि फुर्फुर हुँदै यता र उता हावाको वेगसँगै बहने पानीका कणहरूले नजिक पुग्ने जोकोहीलाई शीतलता प्रदान गर्नेरहेछ । झरनाको निरन्तर छङ्छङ् आवाज र प्रकृतिको काखमा रहँदा त्यहाँ प्रमोदको अनुभूति हुँदोरहेछ । त्यो शितलता प्राप्तिका लागि त्यहाँका स्थानीय व्यक्तिहरू, हामीजस्ता आन्तरिक भ्रमणार्थी र छिमेकी देश इण्डियाबाट पनि मानिसहरू आउँदा रहेछन् । त्यहाँबाट करिब चालीस किलोमिटरको दूरीमा रहेको धनकुटा जिल्लाको हिले बजार जाने र केही बेर विश्राम लिने उद्देश्यका साथ हामी नमस्ते झरनाको मिठो याद मस्तिष्कमा राख्दै अगाडि बढ्यौं । नमस्ते झरना पुग्दा बाटामा खानका लागि किनेको धनकुटे बिस्कुटको गुणस्तर र स्वादले त्यसको प्रशंसक नै हुन पुगियो । यति राम्रो घरेलु उत्पादनलाई प्रबर्द्धन गरेर नेपालका अन्य ठाउँमा पनि पुर्याउन पाए कति राम्रो हुन्थ्यो होला भन्ने विचार हामी साथीभाइले आदानप्रदान गर्यौं । तर दुःखको कुरा इलाम र झापातिर धनकुटाको बिस्कुटजस्तै देखिने गरी अन्य बिस्कुट बनाइँदा रहेछन् र बजारमा छ्याप्छ्याप्ती पाइँदो पनि रहेछ तर स्वाद र गुणस्तर भने तुलना नै नहुने खालका हुँदा रहेछन् । तिनलाई नक्कली बिस्कुट भन्दा नै राम्रो होला ।
करिब नौ किलोमिटरको यात्रापछि हामी मूूलघाट पुग्यौं । त्यहाँ रहेको नदी तमोर रहेको जानकारी पाएपछि गाडीबाट ओर्लिएर नदी नहेरी मनले मानेन । कतै खोला, तालमा पुग्दा आफ्ना हातैले तिनका जल स्पर्श गरेर त्यहाँ पुगेको पक्का प्रमाण बटुलेको अनुभूति गर्ने इच्छा जागृत भएपनि खोला केही तल भएका कारण खोलाकिनारसम्म पुगिएन । “अरुण तरेर नाना तमोर तरेर आयौं हामी वीरताको गाथा कोरेर” भन्ने गीत बाल्यकालमा सुनेकाले तमोर नदी देख्ने तिर्सना मेटिएकामा निकै खुसी लाग्यो । तमोर नदी साँगुरीगढी गाउँपालिका र धनकुटा नगरपालिकाको सीमाना पनि रहेछ । नदीमाथिको २०० मिटर लामो पुल तरेपछि धनकुटा बजार पुग्न १७ किलोमिटर बाँकी हुँदो रहेछ । धनकुटा बजार पुग्नु अगाडि राजेश पायल राई र लीला राईद्वारा स्वरबद्ध गीत “भेटैमा भयो सोल्टिनीज्यू, के छ नि समाचार, धरान धनकुटा भेडेटार सोल्टिनीज्यू जोडौं न घरबार” बजाउँदै हिंड्दा धनकुटा पुग्दाको खुशी हामी सबैका मुहारमा प्रकट भइरहेको थियो ।
धनकुटा बजारको शुरुमा त्यहाँको बसपार्क रहेछ । त्यहाँबाट छिरेर बजारमा रहेका प्रशासनिक भवनहरू, अदालत, स्थानीय बजारको अवलोकन गर्दै हामीले पुनः हिलेतर्फको यात्रालाई निरन्तरता दियौं । हावामा चिसोपना बढ्दै गएको महसुस पनि हुँदै गयो उकालो लाग्दै गर्दा । दिउँसोको साढे तीन बजे हिले बजार पुगियो । हिले बजारको बिच्चमा तोङ्वाको ठूलो प्रतिमा रहेछ । त्यहाँबाट ताप्लेजुड, तेह्रथुम जिल्लातर्फको यात्रा गर्न सिधा जानुपर्ने र पाख्रीबास हुँदै संखुवासभाको यात्राका लागि देब्रेपट्टिको बाटो जानुपर्ने जानकारी भयो । त्यहाँको बजार एकछिन घुमघाम गरेर शाखा सडकहरूका गन्तव्य आदिबारे जानकारी लियौं । बसन्तपुर पुगेर पुनः भेडेटार बास बस्न फर्किन पर्ने भएकाले हामीले यात्रालाई निरन्तरता दियौं । हिलेबाट १२ किलोमिटरजति अगाडि सिंदुवा भन्ने ठाउँ रहेछ । त्यहाँ पनि बजार रहेछ । चोकमा काउलीको ठुलो प्रतिमा रहेछ । त्यहाँबाट धनकुटाकै मारेक कटहरे भन्ने ठाउँ जाने कुरा थाहा पाउँदा मलाई मेरा मित्र नगेन्द्र ताम्लीको याद आयो । उनका घर पुग्न नसके पनि यति टाढाबाट उच्च शिक्षा हासिल गर्न काठमाडौं पुगेका साथीलाई त्यहाँबाट फोन पनि गरियो । सिंदुवा बजारबाट बसन्तपुर करिब १० किलोमिटर मात्र टाढा रहेछ । मौसम चिसो हुँदै गइरहेको थियो र बाटा छेउछाउ लालीगुराँसका फूलहरू पनि देखिन थालेका थिए । तेह्रथुमको बसन्तपुर बजारमा पनि लालीगुराँसको ठूलो प्रतिमा रहेछ । बसन्तपुर पुगेपछि तिनजुरे, मिल्के, जलजले जस्ता संरक्षित क्षेत्र र गुराँसको वन हेर्न जानपर्छ भन्ने विचार पनि गरियो । तर बाटाको अवस्था त्यति राम्रो नभएका कारण अहिलेलाई थाँती राख्ने कुरा गर्दै बसन्तपुर बजार घुम्यौं, स्थानीय अर्थतन्त्रबारे जानकारी लियौं, स्थानीय व्यक्तिहरूसँग कुराकानी गर्यौं र एउटा बाटाछेउको चिया पसलमा चिया खायौं । खनिजयुक्त पानी (मिनरल वाटर) र चिसो पेयका बोतलहरूमा राताराता गुराँस रङ्गका पानी देखेर “यी के हुन् ?” भनेर सोध्दा गुराँसको वाइन भएको चियापसलेले बताइन् । बसन्तपुर आइसकेपछि यो त चाखेर जानपर्छ भनेपछि साथीहरूले नखाए पनि मैले चियासँगै एक गिलास गुराँसको वाइनको पनि स्वाद लिएँ । अलिअलि टर्रोजस्तो भए पनि यस उत्पादनलाई व्यावसायिक बनाउन सक्ने हो भने यसको बजार राम्रो नै हुने सम्भावना देखियो । त्यसपछि हाम्रो भेडेटार फर्कने क्रम शुरु भयो । हिले पुगेपछि तोङ्वाको सक्कली स्वाद थाहा पाउनकै लागि भए पनि उक्त पेय खानैपर्ने सुझाव बमोजिम तोङ्वा र सुकुटी खाजाका रूपमा ग्रहण गरेर भेडेटार पुगी बास बस्न हामी ओरालो लाग्यौं । पाँचथर जन्मेका पूर्वमन्त्री पद्मसुन्दर लावतीको नाम मैले सुनेको लावती थरको पहिलो नाम थियो । भेडेटारमा पनि लावती थरकै व्यक्तिको लावती कर्नर भन्ने होटल रहेछ । हाम्रो पहिलो दिनको बास सोही होटलमा हुने भयो । राती भएपछि भेडेटारबाट तलको धरान बजारको झिलिमिलीले मन अत्यन्तै लोभ्याउने रहेछ । मन्द चलेको चिसो हावा र शान्त वातावरणमा टाढा कतै चम्किला कतै धिपधिप बलेका धेरै बत्तीले लमतन्न परेको धरान बजारको सुताइ हेर्दा समय बितेको पत्तै नहुने रहेछ ।
धार्मिक व्यक्ति नभए पनि धरान पुगेपछि बुढासुब्बा मन्दिर त पुग्नैपर्यो । मलाई बच्चा बेलादेखि थाहा भएको भनेको धरानको बुढासुब्बा मन्दिर र त्यहाँ हुने टुप्पाबिनाका बाँसका घारी थिए । धरानमा कता कता जान सकिन्छ भनेर अड्डाका सहकर्मी धरानकै स्थानीय अभिषेक खड्कालाई सोध्दा धरानका चार मन्दिर, शक्तिपीठ नगए कुनै मन्दिर पनि गएको अर्थ रहँदैन, त्यसैले बुढासुब्बा गएपछि दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या पनि जानपर्ने सुझाव प्राप्त भएको थियो । उक्त कुरालाई पनि मध्यनजर गर्दै यी ठाउँहरूको अवलोकन गरेर धरान बजार घुमेर बाटाछेउका चिया पसलमा चना र चिया खाइयो । स्थानीय परिवेशको अवलोकन र स्थानीय व्यक्तिसँग भलाकुसारी गरेपछि भ्रमणको दोस्रो दिनको गन्तव्य इलामको अन्तु डाँडा बनाउने गरी यात्रालाई अगाडि बढायौं । मोरङ जिल्लाको कानेपोखरी नजिक पुगेपछि त्यहाँको विशिष्ट परिकार खीर चाख्नैपर्ने र पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुका माझमा यो परिकार खास रूपमा चिनिने हुँदा त्यसको स्वाद पनि लियौं । झापा जिल्लाको बिर्तामोडमा बिहानको खाना खाएर चारआलीबाट देब्रे लागेपछि हाम्रो इलाम तर्फको यात्रा शुरु भएको महसुस भयो । बिर्तामोडका बजार नजिकैको नेपालमा प्रचलित गिरीबन्धु चिया बगान पनि देख्ने अवसर मिल्यो । झापाबाट इलाम जिल्लाको सीमाना शुरु हुने मेची राजमार्गको बाटो जोरकलश भन्ने ठाउँले छुट्याउने रहेछ ।
झापाको चारआलीबाट इलाम जिल्लाको हर्कटे बजार ३४ किलोमिटर जति टाढा रहेछ । हर्कटे पुग्दा इटहरी र झापाको उष्ण हावापानीबाट मुक्ति मिलेको महसुस हुने रहेछ । हावा बेस्सरी चल्दो रहेछ यो बजारमा । हर्कटेबाट कन्याम साढे चार किलोमिटरमात्र टाढा भएको जानकारी पाएपछि चियाबारीले ढकमक्क ढाकेको सुन्दर दृश्य हेर्न अब धेरै समय छैन भन्ने लाग्यो । चियाबारीको यस सुन्दरताको पक्षसँगै त्यहाँका साना चिया किसान र चिया श्रमिकका जीवनका संघर्ष र पलायनका पाटा दुखद रहेको कुरा त्यसपछि एक अनुसन्धानका क्रममा पुनः इलाम जाँदा अध्ययन गरियो । कन्याम पुग्ने बित्तिकै त्यहाँ व्यवसाय गरिरहेका व्यक्तिहरूले घोडा चढ्न र विविध भेषभुषाका कपडा लगाएर चिया बगानमा तस्वीर लिन आग्रह गर्ने रहेछन् । हामीहरूले पहिले आफैं कन्यामको सेरोफेरो बुझौं भनेर चियाबगानको भ्रमण गर्ने र डाँडा चढेर त्यहाँको सेरोफेरो हेर्ने काम गर्यौं । त्यहाँबाट छ किलोमिटर जतिमात्र टाढा रहेको फिक्कल बजार पुगेपछि दायाँ मोडिएर हाम्रो यात्रा पशुपतिनगरतिर शुरु भयो । इलाम पुगेपछि साहित्यकार ताना शर्मालाई नसम्झने कुरै भएन । फिक्कलबाट केही टाढा पर्ने रहेछ उनको जन्मथलो बरबोटे गाउँ । त्यहाँको राजनीतिका हस्ति सुवासचन्द्र नेम्बाड र सर्प अनुसन्धान प्रतिष्ठानका कारण चर्चित तर केही हदसम्म आलोचित नेता झलनाथ खनालबारे पनि कुरा गर्दै हाम्रो यात्रा अगाडि बढ्यो । भारतको सिलिगुडी व्यापारका हिसाबले विकसित नहुँदाका अवस्थासम्म पशुपतिनगर निकै चहलपहल हुने ठाउँ रहेछ । इण्डियाको पश्चिम बड्गाल राज्यको दार्जलिड जिल्ला जाने नाकाका रूपमा रहेको यस नगरमा हामी पुग्दा चरो मुसो केही नदेखिने ठाउँजस्तो भएको रहेछ । पशुपतिनगरमा गाडीबाट उत्रेर इण्डिया देश प्रवेश गरियो र त्यतापट्टिको बजार पनि अवलोकन गरियो । खासै चहलपहल नदेखिएको र हेर्नका लागि उल्लेखनीय ठाउँ पनि केही नभेटिएकाले पुनः फिक्कल फर्कने उपक्रम शुरु भयो । इलामका फिक्कल, कन्याम, पशुपतिनगर आदि सूर्योदय नगरपालिकामा पर्दारहेछन् । यो नगरपालिका निकै ठुलो रहेछ (२२५.५२ वर्ग कि.मि.) । अर्थोडक्स चिया उत्पादनका हिसाबले नेपालको चिया बजारमा महत्त्वपूर्ण स्थान ओगटेको यस नगरपालिका क्षेत्रमा चिया किसानलाई प्रोत्साहन र राहत उपलब्ध गराउने साथै चियाको हरियो पत्तिको न्यूनतम मूल्य तोक्नेजस्ता उदाहरणीय काम यस नगरपालिकाले गरेको रहेछ ।
म हरियो चिया (ग्रीन टि) को पारखी भएका हिसाबले इलाम पुगिसकेपछि त्यहींको चिया उद्योगमा पुगेर रोजेर चिया लिने इच्छा जागृत हुनु स्वाभाविक पनि थियो । सोही योजनाअनुसार अन्तु डाँडा जाने बाटामा पर्ने कुनै उद्योगमा छिर्ने भइयो । फिक्कल बजार पुग्नभन्दा थोरै वरबाट अन्तु जाने बाटो लागेपछि रक्तकाली चिया उद्योग भेटियो । दुई वर्षपछि सोही ठाउँ जाँदा आगलागीका कारण उद्योग बन्द भएको खबर पनि थाहा हुन आयो । उक्त उद्योगमा पुगेपछि त्यहाँका कर्मचारीले नम्र व्यवहार गरेर बस्न आग्रह गर्दै त्यहाँ उपलब्ध सबै प्रकारका चिया चखाएर मात्र चिया छान्न आग्रह गरे र पानी उमाल्नतिर लागे । चिया किनेर निस्किहाल्ने भनेका हामी त्यहाँ केहीबेर रोकिन पर्ने भयो तर त्यो समय चियाका विषयमा थप जानकारी पाउने अवसर बन्न गयो । उक्त कर्मचारीले सेतो चिया (ह्वाइट टि), उलोन टि, ग्रीन टि, गोल्डन टि र अर्कोको (नाम बिर्सें, ब्ल्याक फरेस्ट भन्ने सुगन्धित चिया जस्तो लाग्छ ।) गरी पाँचवटा चियाका नमूना हाम्रा सामु राखेर साना कपमा तातो पानीसँग चाख्न दिए । ह्वाइट टि र गोल्डेन टिको बजार चाहिं जर्मनी देशतिर राम्रो रहेकाले त्यहाँको उत्पादन त्यतै धेरै जाने कुरा थाहा भयो । अर्थोडक्स चियाका प्रकार, बनाउने विधि र त्यसको बजारका बारे आधा घण्टा जतिको बसाइमा धेरै कुराको जानकारी हासिल भयो र उक्त भ्रमण उपलब्धिमूलक रहेको ठहर गर्दै दुई किलो जति ग्रीन टि तीन जनाका लागि किनेर त्यहाँबाट अन्तु डाँडातर्फको यात्रालाई निरन्तरता दियौं ।
फिक्कलबाट एकघण्टा जतिको यात्रापछि हामी अन्तु पुग्यौं । तेह्र किलोमिटर जतिको बाटो भएपनि सानो बाटो र उबडखाबड बाटाका कारण बिस्तारै गयौं । अन्तु पनि इलामको सूर्योदय नगरपालिकामा पर्दोरहेछ । हामी अन्तुको पोखरी नजिकै रहेको एक होटलमा बास बस्यौं । अन्तु पुग्ने भनेकै सूर्योदयको अवलोकन गर्न हो भन्दा हुन्छ अथवा भनौं त्यहाँ पुगेर सूर्योदय वा सूर्यास्त हेरिंदैन भने त्यहाँ पुग्नुको सार्थकता रहँदैन । हामी बसेको होटलकी साहुनी दिदीले विगत तीनचार दिनदेखि मौसम खराब रहेको र भोलि पनि सूर्योदय नदेखिने घोषणा नै गरिदिइन् । नयाँ ठाउँमा आएका हामी त्यही पनि राति पुगेका थियौं । पूर्व कता पश्चिम कता हामीलाई मेसो हुने कुरो भएन । बिहान पाँचैबजे उठेर बाहिर आकाशतिर हेर्दा घुर्मैलो नै देखेकाले आज घाम नलाग्ने नै भयो भन्ने लाग्न थाल्यो । तैपनि यहाँ आइसकियो देखेपनि नदेखे पनि अन्तु डाँडा पुगौं भन्ने हाम्रो टोलिको निर्णयबमोजिम डाँडोतिर उकालो लागियो । अघिल्ला दिन मौसम सफा नभएपनि र बिहान आकाश घुर्मैलो देखिए पनि त्यो बिहान सूर्योदय देखिने निश्चित जस्तै थियो किनकि जति उकालो लागिन्छ आकाश त्यति सफा हुँदै र खुल्दै आयो । सूर्योदय हेर्न हामी पन्ध्र बीस मिनेट जति ढिला भइसकेका थियौं । माथिबाट केही मान्छे सूर्योदय हेरेर फर्किन थालिसकेका थिए । उनीहरूले हामीलाई “अलि छिटो भएन र ?” “अब फर्के हुन्छ भोलि आउनूू” भनेर व्यड्ग्य गर्न पनि भ्याए । हामी रमाइलो मान्दै डाँडामा पुगियो । सूर्योदय हेर्ने अग्लो भवन पनि रहेछ त्यहाँ । त्यसमा चढेर हेर्दा सूर्य क्षितिजबाट थोरै माथि आइसकेको थियो तथापि उसको लालिमा फिका भइसकेको थिएन । समूहमा आएका भ्रमणार्थीहरू सूर्योदयको अवलोकन गरेर सामूहिक तस्वीर खिच्न व्यस्त थिए । धुपी र सल्लाका अग्ला रुखहरूले घेरिएको अन्तु डाँडोमा माथि झुप्पा भएका र तल काण्डमात्र भएका, सलक्क परेका अग्ला तर फरक खालका रुखको प्रकृति देखियो ।
यसरी अन्तुको प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै त्यस ठाउँको पर्यटकीय सम्भावनाबारे कुराकानी गर्दै हामी फिक्कल पुग्यौं । दुग्ध उत्पादनमा इलाम जिल्ला अग्रणी रहेछ । यहाँका बजारमा नौनी, घ्यू, छुर्पी, चिज, ललिपप र बम्बैसन जस्ता दुग्धजन्य उत्पादन प्रशस्त मात्रामा भेटिंदा रहेछन् र इलाम घुम्न आउने पर्यटकले त्यहाँबाट फर्कंदा लिएर जान पनि रुचाउँदा रहेछन् । फिक्कलमा छुर्पी र बालबच्चाका लागि बम्बैसन र ललिपप लिएर हामी पनि हर्कटेमा खाना खाएर पुनः तराइको समथरतिर ओर्लियौं । इटहरी फर्कने क्रममा मोरङ उर्लाबारी मड्गलबारे नजिकै धिमाल जातीय विकास केन्द्र रहेछ । त्यसकै नजिक थारु समुदायमा प्रचलित खानेकुरा पाउने पसलमा घोंगीको स्वाद पहिलो पटक लियौं । पोखरातिर घोंगी भनेर नपाइएपनि त्यसको आकारप्रकार र प्रकृति चिप्लेकिरा या जाँतेकिराको जस्तो हुँदो रहेछ । मेरा सहकर्मी अनुप चौधरी उक्त खानासँग अभ्यस्त भएकाले उनले हामीलाई घोंगी खाने तरिका सिकाए र हामी दुई नयाँ साथीहरूलाई त्यसको स्वाद लिने अवसर जुट्यो । त्यहाँबाट २० मिनेटजति अगाडि बेलबारी नगरपालिकामा पर्ने बेतना सिमसार क्षेत्र पनि भ्रमणका लागि महत्त्वपूर्ण क्षेत्र रहेछ । उक्त सिमसार क्षेत्रमा विविध प्रजातिका चराहरू, फूलहरू, वनस्पति साथै कछुवाहरू पाइदो रहेछ । बसाइसराइ गरी आउने चराहरूपनि त्यहाँ पुग्ने गरेको कुरा पनि जानकारीमा आयो ।
नेपालीले पनि सपना देख्नुपर्छ र हामी पानीजहाजको युगमा पनि प्रवेश गर्नुपर्छ भनेर देशका एक प्रधानमन्त्रीले भनेकाले सप्तकोशीमा पानीजहाज चल्ने गरेको कुरा हामीले समाचारमा पढेका थियौं । हामी पनि एकपटक पानी जहाज चढेर त्यसको अनुभव गर्ने र सोही दिन काठमाडौं फर्कने योजनाका साथ चतरातिर लाग्यौं । नेपालका ठूला नदी प्रणालीमा जलयात्रालाई व्यवस्थित गर्ने हो भने त्यसप्रकारका साधनबाट यातायात र ढुवानीका कामलाई सहज र सस्तो बनाउन सकिने महसुस गर्यौं । तथापि हाम्रा विद्यमान यातायात र ढुवानी क्षेत्रका समस्यालाई समाधान गरेर मात्र नयाँ क्षेत्रको पहिचान गर्दा उक्त योजना दीर्घकालसम्म चलिरहने निष्कर्ष पनि हामीहरूले निकाल्यौं ।
समग्रमा हामी पश्चिमतिरका र काठमाडौंकै रैथाने साथीहरूको पूर्व भ्रमणले पूर्वको संस्कृति, इतिहास र वर्तमान अवस्थाबारे जानकारीसँगसँगै भविष्यका दिनहरूमा पूर्वबारे चासो राख्ने वातावरण बनायो । पूर्वले नेपालका भाषा, संस्कृति, इतिहास र राज्यका संरचनामा ठुलै प्रभाव पारेको र अहम् भूमिका खेलेको भए पनि त्यहाँका सर्वसाधारण जनताको जीवन, जीविका, आर्थिक क्रियाकलाप, दैनन्दिनका समस्या, कृषिका चुनौति आदि भने अन्य भेगतिरका जनताको जस्तै एकै रहेको महसुस पनि गरायो । यिनै सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक र प्राकृतिक पाटाको अवलोकनलाई बिट मार्दै २०७७ चैत ३१ गतेका दिन पूर्वबाट बिदा भएर नियमित जीवनमा फर्किइयो ।
रामघाट, पोखरा ।