19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यथार्थभित्रको एउटा कथा

कविता रमेश पल्लव November 23, 2008, 6:51 am

निच्च दाँत देखाउँदै

अचानक ऊ मेरो ढोकामा आयो

म तीन छक्क पर्दै

उसलाई स्वागत गर्न बाध्य भएँ

मलाई लाग्यो

ऊ निरीह छ

ऊ विचरा छ

उसले हात फैलायो भिखारीले जस्तै

मैले मागेजति दिएँ

मैलै उसलाई यति दिएँ कि

त्यति त मैले

म आफैलाई पनि दिएको थिएन

हेर्दाहेर्दै ऊ झन् धेरै माग्न थाल्यो

यति माग्न थाल्यो कि

नमाग्ने चिज पनि माग्न थाल्यो

मैले रोक्न खोजें

उसले टेरेन

मलाई नै खान खोज्यो

मैले मलाई बचाउन कोशिश गरें

झण्डै उसले मलाई निल्यो

मैले खबरदारी गरें

तरपनि उसले मानेन

उल्टै मलाई खान कोशिश गरिरँयो

मैले ज्यान बचाउन भाग्नु पर्‍यो

ङिच्च दाँत देखाउँदै

मुसो भएर मेरो सामु आएको ऊ

अहिले त

ङर ङर गरेर बाघजस्तै

झम्टन पो थाल्यो

मेरै भाग खोसेर खान थाल्यो

मेरै सामु ऊ मलाई

ढाँट्न थाल्यो

छल्न थाल्यो

उसलाई त मैले

देवतारुपी सहारा दिएको थिएँ

तर उसले त मलाई

राक्षसरुपी पीडा पो दियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।