नन्दलाल बराल (वि.सं. २०१०) कास्की जिल्लाको पोखरा महानगरपालिका अन्तर्गत वडा नं.– २२ पुम्दीभुम्दीका कवि हुन् । शिक्षण पेशाबाट अवकाशप्राप्त बरालका यसपूर्व ‘मनको तरङ्ग’ (कविता तथा लेख–निबन्धहरुको सङ्ग्रह– २०७२) र ‘मनको तरङ्ग’ भाग– २ (गजल, मुुक्तक र कविताहरुको सङ्ग्रह– २०७५) प्रकाशित छन् । पूर्व प्रकाशित यी कृतिमा सङ्गृहीत कविताहरु गद्य शैलीमा संरचित-सिर्जित छन् भने यसपटक कवि शास्त्रीय छन्द र लोक लयका कविताका साथमा केही गजलहरुसमेत समेटी ‘मनको तरङ्ग’ भाग– ३ (२०८१) लिएर पाठकका सामु उपस्थित भएका छन् । यस सङ्ग्रहमा ८७ वटा कविता र ६२ वटा गजल गरी जम्मा १४९ वटा रचना सङ्कलित छन् ।
जीवनलाई समृद्ध र जगत्लाई सभ्य तुल्याउनका लागि कलासाहित्यको भूमिका सर्वोपरि हुन्छ । हाम्रो लेखनको अभीष्ट मान्छेलाई सुन्दर तथा विशिष्ट बनाएर स्वच्छ समाजको निर्माणमा लक्षित हुनु आवश्यक छ । समाजमा व्याप्त अन्धता, रुढि, दुरावस्था तथा भ्रष्टताका विरुद्ध सचेत रुपमा गरिएका सिर्जनाहरु नै शक्तिशाली हुन्छन् । निरन्तरको साधनाले नै कविताहरु परिष्कृत, परिमार्जित तथा सुन्दर बन्न पुग्छन् । जो कवि हो त्यो व्यक्ति स्वार्थमा लिप्त हुँदैन, उसले त सामूहिक तथा समाजको भलाइलाई नै आफ्नो जीवनको एक मात्र अभीष्ट बनाएर साधना गर्दछ । यसै परिवेशमा कवि नन्दलाल बरालले संस्कृत छन्दका कवितामा साधनाको आरम्भ गरेका छन् । यो हामी साहित्यिक–शुभेच्छुकहरु सबैका लागि खुसीको कुरा हो ।
शार्दूलविक्रीडित, शिखरिणी, मन्दाक्रान्ता, अनुष्टुप्, शालिनी, भुजङ्गप्रयात, वसन्ततिलका, मालिनी, स्रग्विणी, पञ्चचामर, इन्द्रबज्रा, उपेन्द्रबज्रा, उपजाति, दिक्पाल, तोटक, स्रग्धरा लगायतका शास्त्रीय छन्दका साथै लोकलयमा आधारित कविताहरु पनि यस सङ्ग्रहमा सङ्कलित छन् । यसरी धेरै किसिमका छन्दमा सिद्धि प्राप्त गर्ने महत्वाकाङ्क्षा राखेर कलम चलाउनुको सट्टा पाँच–सातवटा छन्दमा मात्रै साधानारत भएका भए कविताहरु अझ सुन्दर बन्न सक्थे भन्ने मलाई लाग्दछ । शास्त्रीय छन्दका कविता सिर्जनाका क्रममा कविहरुले आफ्नो मानसपटमा जतिसक्दो बढी शब्दहरुको भण्डारण गर्नुपर्ने हुन्छ; जुन भावका लागि जस्तो किसिमको शब्द आवश्यक पर्छ त्यस्तो शब्द तत्कालै मानसपटबाट उत्पन्न हुन सकोस् ।
यस सङ्ग्रहका कविता पढ्दा कवि नन्दलाल बराल आजको सामाजिक अवस्थाप्रति सन्तुष्ट छैनन् भन्ने बुझिन्छ । आजका मान्छेहरु स्वार्थी बन्दै गएकामा कवि चिन्तित छन् । रातदिन पसिना बगाउने श्रमिकहरुको श्रमको शोषण भएकामा पनि कविले आफ्ना कवितामार्फत चिन्ता व्यक्त गरेका छन्–
खटिया, डसना उसबाट बने
पर जा, पर जा छुन हुन्न भने
श्रमले त भयो धनको मुखिया
श्रम हो जसको उ भयो दुखिया । (श्रमको शोषण)
दलाली प्रवृत्ति र भ्रष्टाचारको पनि कविले आफ्नो लेखनीमार्फत दोहोलो काढेका छन् । जनताले दिएको भोट देश लुट्ने लाइसेन्स बनेकाप्रति कविले आक्रोश व्यक्त गरेका छन् । उत्तरदायित्व बहन गर्न नसक्ने तथा जिम्मेवारी पूरा नगर्ने मान्छेहरु नेता बनेको देख्दा कविलाई आश्चर्य लागेको छ । कुर्सीमोह र राजनैतिक भागबन्डाका कारण समाज बिखण्डित छ र यस्तो अवस्थाले हाम्रो जातीय अस्मिता तथा राष्ट्रिय अस्तित्वलाई नै खतरामा पारेको सङ्केत कविले यसरी गरेका छन्–
सुम्पेर देश हाम्रो अस्तित्व मेटिँदै छ
गल्ती हजार छन् लौ दुर्गन्ध भेटिँदै छ
नौलो जवान ल्याऊ सोचेर भोट देऊ
ब्वाँसाहरु छटाए निर्घात चोट देऊ । (लुट्दै छ देश ऐले)
हामीले आफ्नो मौलिक संस्कृतिलाई भुल्न नहुनेतर्फ कवि सचेत छन् । हाम्रा चाडपर्वलाई विषयवस्तु बनाइएका यस सङ्ग्रहका कवितामा उनले घाँटी हेरेर हाड निल्नुपर्ने अर्थात् आफ्नो आर्थिक अवस्था हेरेर चाडवाड मनाउनुपर्ने सन्देश दिएका छन् । सङ्ग्रहमा दसैं र तिहारसँग सम्बन्धित केही कविता छन् र ती कवितामा यस किसिमको सन्देश पाइन्छ ।
सङ्गृहीत केही कवितामा नेपाली प्रकृतिको मनोरम चित्र उतारिएको छ । नेपाली भूगोलका नदीनाला, वनजङ्गल, हिमाल, पहाड आदिको चित्र विम्बित कवितामा कविले प्राकृतिक सौन्दर्यको गीत गाएका छन् । उनी प्रकृतिमा लहसिनुभन्दा बढी देशभक्तिको भावनामा मुखरित हुन चाहेका छन् । जन्मभूमि तथा आमाको महिमागान उनलाई मन परेको विषय बनेको छ । हाम्रा युवाहरु विदेश पलायन भएको उनलाई पटक्कै मन परेको छैन । कविका विचारमा स्वदेशको हितमा नै हामी समर्पित हुनु आवश्यक छ । कवि हाम्रो सिमाना मिचिएकामा चिन्तित छन् । कालापानी लुटिएकामा व्यथित बन्दै कविले आफ्ना केही कवितामार्फत विस्तारवादी नीतिको विरोध गरेका छन्–
कर्तव्य हो सानालाई सहयोग गर्ने
सानो हुन्छ ठुलामाथि सधैं भर पर्ने
नेपालीले कहिल्यै पनि नबिर्सने गरी
धेरै दुख दिने गर्छ किन घरिघरि ? (छिमेकी राष्ट्र भारत)
विस्तारवादी नीतिका विरुद्धमा मात्रै नभएर साम्राज्यवादी नीतिका विरुद्धमा पनि यस सङ्ग्रहका केही कविता लक्षित छन् । वृद्धावस्थाको पीडा, भूकम्पले निम्त्याएको दुःख, जहाज दुर्घटना, नेपालका प्रमुख भनिएका दल–दलहरुका बिचको मतमतान्तर जस्ता तात्कालिक घटना–परिघटनाहरुले पनि कवि हृदयलाई संवेदनशील बनाएको छ र तत् तत् घटना–परिघटनासँग सम्बन्धित कविताहरु पनि यस सङ्ग्रहमा सङ्गृहीत छन् ।
नन्दलाल बराल कवि मात्र नभएर गजलकारका रुपमा पनि यस सङ्ग्रहमा प्रस्तुत भएका छन् । उनका गजलहरु पनि राष्ट्रप्रेममै आधारित छन् । उनले गजलहरुमार्फत ‘नेपालको माटो गुम्दा हेरिराख्ने नेता÷ मलाई भने बारुदले भुटूँभुटूँ लाग्ने’ भन्दै हाम्रा नेताहरुको निरीहपनको उजागर गरेका छन् भने कतै ‘जनताका घरदैलामा बेलामौका डुली÷ मानिसका दिलभित्र नि बस्न सक्नुपर्छ’ भन्दै तिनलाई जनमुखी बन्नुपर्ने सल्लाह दिएका छन् । हुकुमवासीहरु नै सुकुम्वासी बनेर वास्तविक सुकुम्वासीहरुलाई अन्यायमा पारिएकाप्रति उनी आक्रोशित छन् । उनका यी गजल एवम् शास्त्रीय छन्द र झ्याउरे शैलीका कविताहरुमा सामाजिक बेथितिको अन्त्य होस् भन्ने चाहना व्यक्त भएको छ ।
अन्त्यमा, यस सङ्ग्रहका कविताहरु लक्षणामूलक र व्यञ्जनामूलकभन्दा पनि अभिधामूलक बढी छन् । वक्रोक्तिमा प्रौढपन नझल्किए पनि कविले आफ्नो राष्ट्रप्रतिको सद्भावलाई उच्च प्राथमिकतामा राखेका छन् । देशप्रेमलाई नै उनले आफ्नो कविता लेखनको अभीष्ट बनाएका छन् । साधनामा तल्लीन हुन सकेमा कवि नन्दलाल बरालबाट यीभन्दा पनि बढी सुन्दर कविताहरु सिर्जना हुन्छन् भन्नेमा म विश्वस्त छु ।
हालः पोखरा– १७, कास्की