17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पागल लाटोकोसेरो

निबन्ध चिरञ्जीवी दाहाल September 28, 2024, 11:09 am
चिरञ्जीवी दाहाल
चिरञ्जीवी दाहाल

कहिलेकाहीँ लाग्छ, जीवन सहनाईको तालमा बजिरहने पञ्चैबाजाको साङ्गितिक धुन जस्तै रहेछ । बिहेको लगन आउनासाथ एकाएक घन्किन थाल्ने । सुन्न चाहेको समयमा धुन सुन्न नपाइने र नचाहेको समयमा भने सुनिदिनु पर्ने ! यस्तै जीवनका अनगिन्ती धुन सुन्न नचाहेर पनि सुनिदिनु पर्छ भने कहिले धुन सुन्ने इच्छा गर्दागर्दै वर्षौं बितिसकेको हुन्छ ।

पुनः अर्को मनले भन्छ, अहँ जीवन बाजाको धुन जस्तो होइन रहेछ ! जीवन त विविध रङका धागो मिलाएर कुरुसको सहयोगले बुनेको रङ्गिन स्वेटर जस्तै पो रहेछ ! किनभने यी दुबै संजोगले उध्रनु मात्र पर्छ, एकैछिनमा सबै फुस्किन्छ । जीवन र स्वेटरमा कुनै तात्विक भिन्नता देखिँदैन । छेउ फुस्किए स्वेटर र भेउ फुस्किए जीवनको अस्तित्व समाप्त हुन्छ । त्यसैले त स्वेटरको मसिनो धागो र मान्छेको सासको धागोमा केही समानता पाइन्छ । जब सास फुस्कन्छ बोल्दाबोल्दैको मान्छे लाश हुन्छ । उता स्वेटरको धागो फुस्कन्छ, स्वेटरको अस्तित्व खलास हुन्छ । यसरी जुनसुकै होस् धागो फुस्किएपछि न मान्छे रहन्छ न स्वेटर !

कहिले मान्छेको सास अनि स्वेटरको धागो सम्हाल्न नसक्नेगरि अनियन्त्रित भइदिन्छ । अनि मान्छेहरूमा कानेखुसी सुरु हुन्छ । एउटा मान्छेले अर्कोको कानमा खुसुक्क भन्छ, “ फलानोको त खुस्किएछ ।" जब यही कुरा “एक कान दुई कान मैदान" हुन्छ, मान्छे भए साच्चै दिमागको तार खुस्किन्छ, स्वेटर भए त्यसको आकार खुस्किन्छ ।

मैले कयौंपटक एउटा उखान सुनेको छु । “एउटा माघले जाडो जाँदैन । " यो उखान बैगुनी मान्छेलाई लक्ष्य गरेर भनिएको हो भने पनि हुन्छ, होइन स्वेटरलाई भनिएको हो भने पनि मिल्छ । आखिर यी दुई बीच किन धेरै कुराहरू मिल्न जान्छन् ? किनकी स्वेटर र मान्छेको एक अर्का बीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । जाडो मौसममा स्वेटर नभए मान्छे कठ्याङ्ग्रिएर मर्न पनि सक्छ । यता मान्छे नभइदिने हो भने स्वेटर मुर्तिमा लगाइदिने वस्तु पनि त होइन ! आखिर स्वेटरलाई चाहिने भनेको मान्छेको शरीर हो ! जब कुनै समय संसारमा मान्छेको अस्तित्व रहँदैन, त्यतिबेला स्वेटरको पनि अस्तित्व रहँदैन। स्वेटरलाई मान्छे र मान्छेलाई स्वेटर नभै हुन्न ।

मलाई लाग्छ कुनैदिन मेरो पनि सासको धागो फुस्किन्छ । त्यसपछि मेरो मात्र होइन मैलै लगाउने स्वेटरको समेत अस्तित्व रहँदैन। म त्यसबारे निकै गम्भीर भएर सोचिरहेको हुन्छु । दुर्भाग्यको कुरा,जति सोचे पनि यस्तो सोचाइले सार्थक निष्कर्ष निस्कँदैन ।

खै किन हो ? केही समय यता मेरो मष्तिस्कमा यस्तै असान्दर्भिक र बेतुकका कुराहरू मात्र आइरहन्छन् । यस्तो अवस्थाको सुरुवात अचानक एकैपटक भएको भने होइन । बिस्तारै सुरु भएको हो । मलाई लाग्छ, मेरो दिमागको ऐनामा मसिनो कपालको रौं जति भाग चर्किएको हुनुपर्छ । नचर्किएको भए , केबल यस प्रकारका सोचाइहरू मात्र नआउनु पर्ने थियो । चर्किएको माटोको गाग्रोबाट पानी रसाएर गाग्रो रित्तिए जस्तै मेरो चर्किएको दिमागको ऐेनाबाट विचारका थोपाहरू रसाउँदै गएको हुनसक्छ । होइन भने मैले तिथि मिति र केही समय सीमा समेत नभुल्नु पर्ने थियो । आज कति गते हो , के बार हो , के गर्न हुन्छ, के गर्नु हुँदैन आजभोलि मलाई यी झिनामसिना तर महत्वपूर्ण कुरा समेत याद हुँदैनन् । कहिले त आफ्नो को हो ? पराइ को हो ? मैले त्यो पनि छुट्याउन सकिरहेको हुन्न ।

जब मान्छेहरूसँग भेटघाट हुन्छ,सबै मान्छेहरू नजिकका आफन्त हुन जस्तो लाग्छ । मेरो कुभलो चाहने कोही पनि छैनन् , सबैजना मेरा शुभचिन्तक हुन् । किन पो हो आजभोलि म भित्र यस्तै सोच विकसित भएको छ । मलाई वक्रदृष्टि लगाएर हेर्नेहरू समेत मेरा अनन्य मित्रहरू हुन् जस्तै लाग्छ । जब म तिनीहरूबाट धोका पाउँछु , म झसङ्ग हुन्छु । यसको अर्थ, मभित्र कुनैपनि वस्तु पहिचान गर्नसक्ने क्षमता छैन । केही समय अघिसम्म यस्तो विषयमा छानबिन गर्नसक्ने प्रचुर क्षमता मसँग थियो । तर त्यो दिनप्रतिदिन ह्रास हुँदै गएको छ ।

सायद दिमागको ऐेना नचर्किएको भए यस्तो नहुनुपर्ने थियो । मेरो विचारमा समय एकनासको हुँदैन । फेरि, सानो भन्दा सानो असुविधा हुँदा पनि अचानक मभित्र क्रोध उत्पन्न हुन्छ । केही गहकिला खुशीहरू प्राप्त हुँदा म चाहेर पनि खुशी हुन सक्दिन । मैले यस्तो घटनालाई तनावका कारण भएको हुनुपर्छ भनेर मानिहाल्ने पक्षमा पनि छैन । किनकि वर्तमान समयमा म तनावग्रस्त हुनुपर्ने अवस्थाबाट गुज्रिएको छैन र तनाव लिनुपर्ने कारण पनि देख्दिन ।

लागेको छ, त्यो कपालको मसिनो रौं जत्रै धाँजो बिस्तारै बढ्दै गएको हुनुपर्छ । कुनैदिन तिनै धाँजाहरू बढेर माकुराको जालो जस्तै आकार लिने सम्भावना देखिरहेको छु । यदि साँच्चिकै त्यही अवस्था सिर्जना भयो भने मैले आफैंलाई पनि चिन्न सक्दिन । कहिलेकाहीँ मलाई यस प्रकारका दीर्घकालीन सोचहरू पनि नआउने होइनन् आइरहन्छन् । यसरी सकारात्मक र नकारात्मक सोचहरू पालैपालो आउने गरेको छ ।

जब मान्छेहरूले मेरो विषयमा कानेखुसी तीव्र पार्दै जान्छन्, म भित्र क्रोधको ज्वालामुखी विष्फोट हुन्छ । तिनका कानेखुसीले मेरो मन भित्रको शङ्का, डर, चिन्ता र क्रोध एकैपटक जुर्मुराउन थाल्छन् । लाग्छ, कतिखेर जुरुक्क उठेर तिनीहरूसँग प्रतिवादमा उत्रौं कि के हो ! तर म विवस छु, यसरी कसैलाई भौतिक आक्रमण गर्न उत्रने हो भने म सामान्य मान्छे होइन विशुद्ध अपराधी प्रमाणित हुनसक्छु । तिनका नजरमा म पागल प्रमाणित हुन सक्छु । म अपराधी बनेर, पागलको पहिचान बोकेर बाँच्न पनि चाहन्न ।‌ हुन त मेरा आन्तरिक र वाह्य लक्षणहरूलाई दृष्टिगत गर्ने हो भने मलाई पागल भनेपनि फरक पर्दैन । तर अधिकांश पागलहरूले जस्तै म पनि पागल भएको कुरा सहजै स्वीकार गर्न सक्दिन । तर पनि मनको भुलभुलैयामा हराउनुको मजा बेग्लै हुन्छ, म सँधै यसरी नै हराउन चाहान्छु र हराउने गरेको छु ।

तर एकदिन बिहान, एउटा लाटोकोसेरो सँगको साक्षात्कारबाट भने मेरो मन अलिकति परिवर्तन भएको छ । म केही उत्साहित बनेको छु । म पागल होइन कि के हो ! पागल त लाटोकोसेरोहरू रहेछन् ।

सधैँ जस्तै त्यसदिन पनि बिहानको झिसमिसे उज्यालो भइसकेको थियो । अन्य दिशाको तुलनामा पूर्वतिर केही हल्का उज्यालो देखिन्थ्यो । त्यसदिन म सबेरै उठेर बार्दलीमा बसी चियाको चुस्कीसँगै चराहरूको सुमधुर आवाज सुनिरहेको थिएँ । मेरो यस प्रकारको दैनिकी बनेको एक महिना पुरा भएको छ । सायद अबको तीन महिनासम्म यो मेरो नियमित दैनन्दिनी हुनेछ ।

केही महिनाअघि जब म मानसिक डाक्टरलाई भेट्न गएको थिएँ , त्यसै दिनबाट मैले यसरी पुरा बिहानी बार्दलीमा बिताउने निर्णय गरेको हुँ । हुन त यो मेरो रहर थिएन, वाध्यता थियो । किनकि यसरी विहानभर यहाँ बस्ने सल्लाह मलाई तिनै डाक्टरले दिएका हुन् । “ दिमागको चर्किएको ऐेना टाल्ने यो भन्दा अचुक उपाय अन्य केही पनि हुन सक्दैन । " एकदिन मसँग डाक्टरले भन्दै थिए ।

म चराहरूको सुमधुर सङ्गीतमा हराइरहेको थिएँ । जब मेरो घरको आडमा रहेको बकैनाको रूखबाट अनौठो आवाज आयो म झसङ्ग भएँ । त्यो आवाज मान्छेको थिएन तर मान्छे रिसाएर च्याँट्ठिएको जस्तै थियो । मेरो शान्त मनमा एक्कासि हलचल पैदा भयो । बिहानपखको त्यो शान्त वातावरण अचानक खलबलिन पुग्यो ।शरीरभरी काँडा उम्रिए । मेरो सातोपुत्लो उँड्यो ।
मैले निकै होसियारीपूर्वक बकैनाको रुख र हाँगाहरूमा नजर डुलाएँ । एउटा हाँगामा बलियोसँग खुट्टाका नङ्ग्राले चपक्क च्यापेर बसेको, एउटा मझौला आकारको लाटोकोसेरो देखियो । जुन हाँगो मेरो बार्दलीमा जोडिएको थियो । जब मैले लाटोकोसेरोलाई देखेँ मेरो मन ढुक्क भयो । मैले सोचे जस्तो, त्यहाँ कुनै हिंस्रक जनावर थिएन । न कानेखुसी गर्ने मान्छेहरू नै थिए !

म किन ढुक्क थिएँ भने मैले यस्ता लाटोकोसेरो हरूको सङ्गत पटकपटक गरिसकेको छु । सङ्गत मात्र होइन, मलाई लाटोकोसेरोको केही आन्तरिक र गोप्य कुराहरू पनि थाहा छ । जुन उनीहरूले प्रकटीकरण गर्न सक्दैनन् । तर त्यस कुराको जानकारी हुँदाहुँदै पनि मैले तिनीहरूको खुलेर प्रशंसा र चाकडी गर्ने गरेको छु । कसैले त्यसलाई मेरो कमजोरी भनिदिन्छ भनेपनि म स्वीकार गर्न तयार छु । किनभने म यस्तै परिवेशमा घेरिएको छु । मलाई तिनको चाकडी गर्नैपर्ने वाध्यता छ । अन्यथा दिमागमा परेको धाँजो अप्रत्यासित रुपमा ह्वात्तै बढ्न सक्छ । कथंकदाचित धाँजो ह्वात्तै बढ्यो भने यो चिरबिर थेरापी अर्थहिन हुन्छ ।

म अभ्यस्त भइसकेको छु । मलाई लाटोकोसेरोको आँखा र उनीहरूले हेर्ने तरिका अनौठो लाग्छ । तिनले एकापट्टी हेरे जस्तो गर्छन् र ध्यान भने अर्काेतिर लगाउँछन् । मलाई उनीहरूको जीवनशैली देखेर आश्चर्य लाग्छ । लाटोकोसेरोको खैरो प्वाँखको त म प्रसंसक नै हुँ । त्यसदिन पनि मैले त्यो लाटोकोसेरोसँग नजिकिने प्रयास गरेको थिएँ ।

ऊ मलाई एकोहोरो हेरिरहेको थियो । सायद उसले आफ्नो असली रूप मजाले हेर्न सकोस् भन्ने चाहन्थ्यो । मैले ऊसँग नजिकिने उद्येश्यले आफूले चियासँग खाइरहेको एक चक्की बिस्कुट उसलाई पनि खान आग्रह गरें ।
त्यसले मलाई बिस्तारै टाउको घुमाएर हेर्न लाग्यो । सायद शङ्काको नजरले हेरेको हुनुपर्छ । यसपछि त्यसले बिस्तारै आफ्नो पँखेटा फिँजाएर जिउ तनक्क तन्कायो अनि पूर्ववत् अवस्थामा फर्कियो । त्यो लाटोकोसेरोले निकै सावधानीपूर्वक हेर्न थाल्यो । मैले बिरालोको चालमा हात अघि बढाएँ र एक चक्की‌ बिस्कुट उसको ठुँडो नजिकै राखिदिएँ । उसले निकै ध्यानपूर्वक बिस्कुटलाई हेर्यो र आफ्नो चुच्चोले एकपटक बिस्कुटको चक्कीलाई ट्वाक्क ठुँग्यो अनि छोड्यो । त्यसले मलाई फेरि हेर्यो र त्यस पटक भने त्यो लाटोकोसेरो मजासँग मुस्कुरायो । मलाई विश्वास लागेन , किनभने यसरी लाटोकोसेरोहरू मुस्कुराएको यसअघि चाल पाएको थिइन । मैले आफ्नो नजर पुनः लाटोकोसेरो तिरै लगाएँ । अब भने म पूर्णरूपमा विश्वस्त थिएँ , लाटोकोसेरो साँच्चै मुस्कुराएकै हो। फेरि पनि एउटा जङ्गली चरोसँग मित्रता गाँस्न सकेकोमा मैले निकै गर्व महशुस गरिरहेको थिएँ ।

आश्चर्य भयो, भर्खर अघिसम्म मुस्कुराइरहेको लाटोकोसेरो अचानक पुनः च्याँट्ठिएर चिच्याउन थाल्यो । उसले मलाई राताराता आँखाले हेरिरहेको थियो । म जिल्ल परेँ । त्यति विघ्न खुशी देखिएको लाटोकोसेरो एकाएक किन रुष्ट भयो ? मलाई लाग्छ लाटोकोसेरो पागल हुनुपर्छ ।

त्यसपछि मैले परिस्थितिलाई पूर्ण रूपमा गलत व्याख्या गरिरहेको महसुस गरें । हुनसक्छ, लाटोकोसेरोले मसँग मित्रवत व्यवहार गरिरहेको थिएन । त्यो मेरो भ्रम मात्र रहेछ । मैले,आफ्नो गाँस काटेर एउटा जङ्गली चरोलाई बिस्कुटको प्रस्ताव गरेको थिएँ । उसले अब आफ्नो असन्तुष्टि व्यक्त गर्न आफ्नो प्रभावशाली र डरलाग्दो आवाजले मलाई तर्साउने प्रयास गरिरहेको थियो । मैले निर्क्यौल गरेँ ,गल्ती मेरै थियो । यी लाटोकोसेरोहरू दिनमा होइन रातमा सक्रिय हुन्छन् । राती सक्रिय हुनेहरू प्रायः खतरनाक हुन्छन् । यिनले अँध्यारोमा शिकार गर्छन् । फेला पारेको कुनैपनि बस्तु छोड्दैनन् । लाटोकोसेरोहरू अन्धकारलाई परम सत्य मान्ने गर्छन् । यी उज्यालोका दुस्मन हुन् । त्यो यथार्थ मैले बुझ्न सक्नु पर्थ्यो । लाटोकोसेरोहरू आफ्नो अधिकांश कारोबार रात्रीको समयमा गर्ने गर्छन् । होइन यिनमा मानवता हुँदै हुँदैन भनौँ भने म सरासर गलत ठहरिन्छु किनकि यिनीहरूलाई मान्छेको रूपमा गणना गर्न सकिँदैन ।

यिनीहरू मानव अन्तरक्रियामा रुचि राख्दैनन् । त्यो पनि मैले समयमै जान्नु पर्थ्यो । त्यस तथ्यलाई बुझ्दै नबुझी मैले लाटोकोसेरोसँग नजिक हुने प्रयास गरेँ । त्यो पनि रातमा होइन बिहानको झिसमिसे उज्यालोमा । ऊ क्रोधित भएको अवस्थालाई मैले खुशी भएको ठानेँ । यति पनि परख गर्न नसक्नु मेरो अज्ञानता थियो। सायद पागल म थिइन, म त नादान मात्र थिएँ । पागल लाटोकोसेरो थियो, म होइन ।

चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।