१. पृष्ठभूमि
रविलाल अधिकारी (२००२–२०७९) बहुप्रतिभायुक्त स्रष्टा हुन् । उनमा स्रष्टा र द्रष्टा दुवै व्यक्तित्व रहेको छ । अधिकारीले नेपाली साहित्यका कविता–काव्य, निबन्ध, नियात्रा र समालोचना विधामा कलम चलाएका छन् । लेखनको सुरुवाती समयमा कविताबाट साधना गरेका अधिकारीले पछिल्लो चरणमा निबन्ध, समालोचना र नियात्रा विधामा हात हालेको पाइन्छ । उनका हालसम्म प्रकाशित कृतिहरूमा ‘दुःखको आवाज’ (संयुक्त कवितासङ्ग्रह, २०२०), ‘बुकिफुल’ (कवितासङ्ग्रह, २०३१), ‘एकलव्य’ लघुकाव्य, २०३५), ‘परदेशीलाई पत्र’ (कवितासङ्ग्रह, २०४१), ‘आँसुको अँजुली’ (शोककाव्य, २०४१), हर्के (काव्य, २०४६), ‘प्रगतिवादी नेपाली कविता’ (इतिहास र विश्लेषण, २०४४), ‘अनुभव र आँखाहरू’ (लेखसमालोचना सङ्ग्रह, २०४६), ‘प्रगतिवादी दृष्टिमा यौन सम्बन्ध र सांस्कृतिक चिन्तन’ (लेखसङ्ग्रह, २०४७), ‘नेपाली समालोचनाको रूपरेखा’ (इतिहास र विश्लेषण, २०५१), ‘छेलिएका छविहरू’ (पाँच प्रतिभाको परिचय, २०५२), प्रगतिवादी नेपाली समालोचना (इतिहास र विश्लेषण, २०५६), ‘बिर्सिदिने परम्परा’ (निबन्धसङ्ग्रह, २०५७), ‘साहित्यिक सन्दर्भः चर्चा र टिप्पणीहरू’ (लेखसमीक्षा सङ्ग्रह, २०५८), ‘साहित्य सारथि’ (पूर्वीय साहित्य सिद्धान्त, २०५९), ‘अलिमियाँ व्यक्ति र कृति’ (व्यक्तिपरक अध्ययन, २०६०), ‘मनोरमा’ (निबन्धसङ्ग्रह, २०६०), ‘कमल दीक्षितका नियात्राः एक अध्ययन’ (व्यक्तिपरक अध्ययन, २०६५), ‘नेपाली लोकसाहित्यको झलक’ (लोकसाहित्य, २०६५), ‘फेरि बनारस जाँदा र अन्य नियात्राहरू’ (नियात्रा, २०६६), ‘गद्यकारका रुपमा देवकोटा’ (समालोचना, २०६६), ‘कुरौटेको कुटुरो’ (निबन्धसङ्ग्रह, २०७०) ‘घुमन्तेको सेरोफेरो’ (नियात्रा, २०७१), ‘अस्ट्रेलियाः छोटो बसाइ, थोरै हेराइ’ (नियात्रा, २०७२), ‘भानु–उदयको नालीबेली’ (इतिहास–समालोचना, २०७७) लगायतका कृतिहरू प्रकाशित छन् । यिनका अतिरिक्त पारिवारिक स्रोतका अनुसार उनका केही अप्रकाशित कृतिसमेत छन् । पछिल्लो समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित रचनाहरू पनि सङ्कलित रुपमा आएका छैनन् । उनले विभिन्न पुस्तक एवम् पत्रपत्रिकाहरूको सम्पादन पनि गरेका छन् ।
रविलाल अधिकारीका ‘फेरि बनारस जाँदा र अन्य नियात्राहरू’ (२०६६), ‘घुमन्तेको सेरोफेरो’ (२०७१) र ‘अस्ट्रेलिया ः छोटो बसाइ, थोरै हेराइ’ (२०७२) गरी तीनवटा नियात्रा कृतिहरू प्रकाशित छन् । यी नियात्रा कृतिहरूका अतिरिक्त उनका पछिल्लो चरणमा लेखिएका र विभिन्न पत्रपत्रिकामा प्रकाशित नियात्राहरू सङ्कलित रुपमा आएका छैनन् । नेपालका विभिन्न भूभाग, भारतका केही सहरहरू र अस्ट्रेलिया भ्रमणका सन्दर्भमा यी नियात्रा लेखिएका छन् । प्रकाशित नियात्राहरूमा अधिकारीले आफूले देखेभोगेकाको परिवेश–ठाउँको चित्रण गरेका छन् । उनले आफ्नो यात्रा अनुभव तथा यात्राका सन्दर्भमा आफ्नो भोगाइको सूचना तथा जानकारी दिने काम यी नियात्राका माध्यमबाट गरेका छन् ।
२. नियात्राको परिचय, स्वरुप र नेपालमा नियात्रा लेखन
नियात्रालाई निबन्धकै एक उपविधा वा प्रकारका रुपमा लिन सकिन्छ । समीक्षक राजेन्द्र सुवेदीले नियात्रा, प्रबन्ध, जीवनी, संस्मरण, आत्मकथा, शब्दचित्र, सम्पादकीय, टिप्पणी, भूमिका, दैनिकी, पत्रसाहित्य, समीक्षा, प्रतिवेदन, अन्तर्वार्ता आदिलाई निबन्धभित्रै राख्न सकिन्छ भनेका छन् (सुवेदी, २०५८; ४) । नियात्रालाई निबन्धकै उपविधा मानिए पनि रूप र संरचनामा यो अन्य उपविधाभन्दा केही भिन्न छ । कुनै ठाउँ विशेषमा गरिएको यात्राबाट उत्पन्न हुने अनुभूतिहरूलाई गद्यात्मक भाषामा प्रस्तुत गरिएको सिर्जनात्मक अभिव्यक्ति नियात्रा हो । यो यथार्थपरक, अनुभवात्मक र निजात्मक हुन्छ ।
नियात्रा लेखन नेपाली साहित्यमा वि.सं. १५५० मा बीज रूपमा देखा परेर क्रमशः अङ्कुरित, पल्लवित र पुष्पित हुँदै क्रमिक र व्यतिक्रमिक रूपमा अघि बढ्दै गएर वर्तमानमा बहुआयामिक एवम् लोकप्रिय र समृद्ध भइसकेको छ, साथै स्वतन्त्र विधागत अस्तित्व स्थापनाका निम्ति प्रयासरत समेत छ (उपाध्याय, २०६६ः ७) । नियात्रा यात्रा साहित्यसँग सम्बन्धित छ । नेपाली बृहत् शब्दकोशमा नियात्रालाई यात्रावर्णनबारे कथात्मक वा आख्यानात्मक शैलीमा लेखिएको निबन्धको एक किसिम भनिएको छ (पोखरेल र अन्य (सम्पा.) २०४०ः ७३४) । यात्रासम्बन्धी विषयवस्तु भएको लघु आयामको गद्य रचनालाई नियात्रा मान्न सकिन्छ । समीक्षक तारानाथ शर्माका अनुसार नियात्रा भन्नाले यात्रावर्णनमा निजात्मक अनुभूतिको सफल समावेश भएको निबन्ध भन्ने बुझिन्छ (शर्मा, २०४६ः ३८) । निर्मोही व्यासले नियात्रालाई एक स्वच्छन्द प्रकृतिको अनुभूतिप्रधान सिर्जनात्मक गद्य लेखन मानेका छन् जसमा सृजनशील यात्रीद्वारा आफ्नो यात्रानुभवलाई निजात्मक रङ्गले रङ्गाएर उन्मुक्त, आकर्षक र आल्हादक शैलीमा आत्मपरक ढङ्गबाट निबन्धात्मक रूपमा जीवन्त पाराले प्रस्तुत गरिएको हुन्छ (व्यास, २०६१ः ५५–५९) । नियात्रामा नियात्राकारको आत्माभिव्यक्ति हुन्छ । यसमा तरल अनुभूतिका साथ यात्राका क्रममा भोगिएका सुखदसुःखका क्षण, विभिन्न संस्मरण, सूचना आदि पनि सँगै मिसिएर आएको हुन्छ ।
एउटा नियात्रा बन्नका लागि यात्रा, पात्र, परिवेश, हलुका आख्यान, सृजनात्मकता, स्थानीयता, निजात्मकता, अनुभूतिमयता, चिन्तन, आत्मीयता, रोचकता, चित्रात्मकता, सूचना, कौतूहल, भाषाशैलीजस्ता तत्वहरू आवश्यक पर्दछन् । समीक्षक ठाकुरप्रसाद पराजुलीले आत्मीयता, निजात्मकता, कल्पनाप्रवणता, चित्रात्मकता र रोचकतालाई यसका तत्वका रूपमा उल्लेख गरेका छन् (पराजुली, २०५८ः ३५) भने तारानाथ शर्माले यात्रा स्थलको तथ्यात्मकता, यात्रीको भावना, अनुभूति र कल्पनाप्रवणताजस्ता कुराहरूलाई यसका तत्व मानेका छन् । नियात्राका तत्वहरू निबन्धकै तत्वहरूका नजिक देखिन्छन् । नियात्राका निम्ति नभई नहुने तत्व यात्रा वा गतिशीलता हो, बिना यात्रा नियात्राको सिर्जना हुँदैन ।
मनिसमा चेतनाको विकास हुन थालेदेखि मनोरञ्जन, नयाँ संस्कृति–परिवेशको जानकारीका लागि, धार्मिक तथा शैक्षिक उद्देश्यले पनि आन्तरिक तथा बाह्य पर्यटनका रूपमा भ्रमणको क्रम सुरु भएको पाइन्छ । ‘रामायण’ र ‘महाभारत’मा पनि भारतीय भूमिका विभिन्न ठाउँको यात्राको सुन्दर वर्णन भेटिन्छ । हालसम्म नेपालीमा प्राप्त सर्वप्राचीन यात्रालेख ‘राजा गगनिराजको यात्रा’ (वि.सं. १५५० तिर) पाइएको छ । ‘जङ्गबहादुरको बेलायत यात्रा’ (वि.सं. १९१०) यात्रावर्णका क्षेत्रमा अर्को महत्वपूर्ण प्राप्ति हो । यी रचना साहित्यिक मूल्यका दृष्टिले कमजोर भए पनि ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेका छन् ।
नेपालीमा नियात्रा लेखनको इतिहास सर्सर्ती अध्ययन गर्दा शेरसिंह रानाको ‘मेरो लन्डन राजतिलक यात्रा’ (वि.सं. १९७०), हरिनाथ प्याकु¥यालको ‘तीर्थ जाँदाको वृत्तान्त’ (वि.सं. १९७४), काशीनाथ आचार्य दीक्षितको भएका कुरा (रचना वि.सं. १९८८, प्रकाशन वि.स. २०३१ ), रणशूर लिम्बूको ‘बर्माको सम्झना’ (रचना वि.सं. १९९६, प्रकाशन वि.सं., २०१८) आदि यात्रा वर्णनहरूपश्चात् क्रमशः भवानी भिक्षुको ‘सिमलासम्म’ (वि.सं. १९९९), रुद्रराज पाण्डेको ‘गँडखार यात्रा’ (वि.सं. १९९९), हरिप्रसाद गोर्खा राईको ‘मेरो डायरीको कैयौं पृष्ठ’ (वि.सं. २००२), धर्मराज थापाको ‘यात्रीको यात्रा’ (वि.सं. २००५), केदारमणि आ.दी. को ‘चारधामको यात्रा’ (वि.सं. २०२५), तारानाथ शर्माका ‘जमर्काहरू’ (वि.सं. २०२५), ‘बेलायततिर बरालिँदा’ (वि.सं. २०२६), पूर्णप्रकाश नेपाल ‘यात्रीका’को ‘मेरो मुक्तिनाथ यात्रा’ (वि.सं. २०२६), यादव खरेलको ‘समुद्र–पारि’ (वि.सं. २०३२), योगी नरहरिनाथको ‘हाम्रो दर्शन’ (वि.सं. २०३२), रमेश विकलको ‘सात सूर्य एक फन्को’ (वि.सं. २०३४), मदनमणि दीक्षितको ‘वर्लिन डायरीको पाना’ (वि.सं. २०४१), देवीप्रसाद वनवासीको ‘मुलुकभित्रै भौंतारिँदा’ (वि.सं. २०४२), श्रीकृष्ण गौतमको ‘अल्छीका पाइला’ (वि.सं. २०४२), मञ्जुलको ‘सम्झनाका पाइलाहरू’ (वि.सं. २०४४), धनुषचन्द्र गौतमको ‘सम्झनाका गल्छेडाहरूमा’ (२०५५), श्रीओम श्रेष्ठ, ‘रोदन’ को ‘समुद्रपारि समुद्रवारि’ (वि.सं. २०६०) प्रतीक ढकालको ‘हिमालपारि पुगेपछि, (वि.सं. २०६१), युवराज नयाँघरेको ‘अनाम पहाडमा फनफनी’ (वि.सं. २०६२), कृष्णराज अधिकारीको ‘स्मृतिका बिम्बहरू’ (२०६३), हेमराज पहारीको ‘उत्तरी गोलाद्र्धको एक फन्को’ (वि.सं. २०६३) आदि प्रकाशित पाइन्छन् र यही क्रममा रविलाल अधिकारीको ‘फेरि बनारस जाँदा र अन्य नियात्राहरू’ (२०६६) प्रकाशित छ ।
३. फेरि बनारस जाँदा र अन्य नियात्राहरूको विश्लेषण
३.१ नियात्रामा अन्तर्निहित विषयवस्तु
नियात्राकार रविलाल अधिकारीको ‘फेरि बनारस जाँदा र अन्य नियात्राहरू’ उनका प्रकाशित नियात्रा कृतिहरूमध्ये पहिलो हो । यसमा जम्मा ११ वटा नियात्रा छन् । यसमा सङ्कलित ११ वटा नियात्रामा ‘गोकुल जयन्ती मनाउन जाँदा’, ‘दाङका आङमा आश्रय लिँदा’, ‘ससुरालीदेखि स्मृति सभासम्म’, सातौं सम्मेलनदेखि गाउँले मिलनसम्म’, ‘फेरि बनारस जाँदा’, ‘मेरा निम्ति काशी ज्ञानभूमि हो’, ‘आफ्नै गाउँः आफै पाहुना’, ‘दिल्ली यात्राको सम्झना गर्दा’, ‘मेरो जाँगरः मेरो मुख्र्याइँ’, ‘पटनाः सपना कि विपना’ र ‘भैरहवाको साहित्यिक यात्रा’ रहेका छन् । यी नियात्राहरू वि.सं. २०४८ देखि २०६६ का बिचमा सिर्जना गरिएका हुन् । नियात्राकारले नेपालभित्र आयोजना गरिएका विभिन्न समयका साहित्यिक कार्यक्रम तथा सभासम्मेलनमा जाँदा एवम् नेपालबाहिर भारतका बनारस, दिल्ली र पटना सहरसम्मका यात्रा वर्णनलाई यस कृतिमा समावेश गरेका छन् । सङ्गृहीत नियात्राहरूको विषयवस्तुका सन्दर्भमा सङ्क्षिप्त चर्चा निम्नअनुसार गरिन्छः
३.१.२ गोकुल जयन्ती मनाउन जाँदा
‘गोकुल जयन्ती मनाउन जाँदा’ नियात्रा २०४८ सालमा जनकवि गोकुल जोशीको ६२ औं जन्मजयन्ती मनाउन तनहुँको राइपुर गाउँमा जाँदाको यात्रासँग सम्बन्धित छ । यस नियात्रामा नियात्राकार र पोखराका रहेका घनश्याम ढकाल, सुकुम शर्मालगायतका केही साहित्यकारहरू जनकवि गोकुल जोशीको जन्मजयन्ती मनाउन राइपुर जाँदाको र फर्केर आउँदाको यात्राको वर्णन छ । नियात्राकार बिहानै उठेर पोखराको पृथ्वीचोकमा पुगेका छन् । अन्य यात्रीहरूलाई त्यहीँ नै जम्मा हुन भनिएकाले अन्य यात्रीहरू पनि त्यहीँ आइपुगेका छन् । राइपुर जानेहरू सबै त्यहाँबाट बस चढी स्याङ्जाको नाउडाँडा, प्रगतिनगर, कोल्मा हुँदै राइपुर पुगेका छन् । सोही समयमा भारतमा काङ्ग्रेस आई.का नेता राजीव गान्धी मारिएको खबर रेडियोबाट यात्रीहरूले सुनेका छन् । उनीहरूले बिहानको खाना प्रगतिनगरमा पुगेर खाएका छन् । त्यसपछि अरौँदी खोलाको किनारैकिनार उनीहरूको पैदलयात्रा सुरु भएको छ । डाँडाकाँडा, खेतबारी र वनजङ्गलको बाटो हुँदै उनीहरू अगाडि बढेका छन् । बाटामा भेटिएको जङ्गली फल चुत्रो खाँदै हिँडेका छन् । कोल्माको काहुले भन्ज्याङमा पुगेपछि नियात्राकारले त्यहाँको हाइस्कुलको सामान्य रुपको ऐतिहासिक चर्चा गरेका छन् । राइपुरमा पुगेपछि गोकुल जोशीको एउटा पद्य गोकुल जोशीकै गुरु लक्ष्मीप्रसाद भट्टराईबाट सुनी आफ्नो कापीमा उतारेका छन् । राइपुरेहरूले न्यानो आतिथ्यका साथ दिएको दूध, दही, मोही खाएपिएको चर्चा गरेका छन् । स्याङ्जा र तनहुँको सिमानामा स्थित सिमाना प्रा.वि.मा जन्मजयन्ती मनाएको, गोकुल जोशीका साथी, दिदी र आफन्तहरूसँग भेटघाट गरेको चर्चा यस नियात्रामा छ । जनकविको घर स्याङ्जा र तनहुँ जिल्लाको सिमानामा पर्ने भएकाले आफ्नो कविताकृतिको शीर्षक ‘सिमानाको दीप’ राखेको हो भन्ने नियात्राकारको ठहर छ् । केही समय पानी परेर अप्ठ्यारो भए पनि पछि सुचारु गरी कार्यक्रम राम्रोसँग सम्पन्न भएको उल्लेख छ । पोखरा फर्कने क्रममा भने यात्रुहरू स्याङ्जातिरबाट नभई तनहुँकै साँखे, ढोरफिर्दी, दुलेगौंडा हुँदै फर्केका छन् ।
३.१.३ दाङका आङमा आश्रय लिँदा
‘दाङका आङमा आश्रय लिँदा’ २०५६ सालमा लेखिएको नियात्रा हो । यसमा दाङमा आयोजना हुने ‘रापती साहित्य परिषद्’का पुरस्कार वितरण एवम् कविता सम्मेलनमा आतिथ्यता ग्रहण गर्न जाँदाका क्रममा भएका घटना विवरण समावेश गरिएका छन् । पोखराबाट रात्री बस चढी दाङ जाने क्रममा बसमा एउटा खँजाहा भेट भएको, उसले आफू २०४६ सालको जनआन्दोलनमा लाग्दा खुट्टो भाँचिएको भनेर ढाँटेको, नियात्राकारले पछि उसको विगतका बारेमा यथार्थ जानकारी पाएको जानकारी यसमा छ । नियात्राकारले रातको १२ बजेतिर बुटवल पुग्दा बुँद रानालाई भेटेका छन् । दुवै जना गाडीमा सँगै कुरा गर्दै घोराही पुगेका छन् । रापती साहित्य परिषद्का अध्यक्ष तथा साहित्यकार अमर गिरीका आतिथ्यमा पुगेका नियात्राकारले दाङको साहित्यिक महोत्सवमा भाग लिएका छन् । त्यहाँ उपस्थित आफ्ना पूर्वपरिचितहरूसँग कुराकानी गरेका छन् । दाङ र त्यस असपासका कविहरूका संस्कृत छन्दका मिठामिठा कविता सुन्दा नियात्राकार प्रफुल्ल भएका छन् । दाङको साहित्यि इतिहास, त्यहाँको वर्तमान गतिविधिका बारेमा उनले निकै जानकारी हासिल गरेका छन् । कार्यक्रम छ घण्टासम्म लगातार चले पनि श्रोताहरू हलचल नगरी धैर्यका साथ बसेको देखेर उनी उनी श्रोताहरूको साहित्यप्रतिको लगाव सम्झँदै अचम्ममा परेका छन् । त्यहाँ वाचन गरिएका कवितामा समसामयिक देशको अवस्था, नेपालको अवस्था, द्वन्द्व, नेताका स्वार्थीपनप्रति व्यङ्ग्य आदि विषयको समावेश भएको कुरा यस नियात्रामा उल्लेख छ । २०५६ सालको माघ २७ र २८ गते भएका दाङका साहित्यिक कार्यक्रम, अन्तक्र्रिया– साहित्यिक चर्चा, दुईवटा पुस्तक विमोचनको कार्यक्रम आदिमा सहभागी भएर नियात्राकार पोखरा फर्केका छन् ।
३.१.४ ससुरालीदेखि स्मृति सभासम्म
‘ससुरालीदेखि स्मृति सभासम्म’ २०५९ सालमा रचना गरिएको नियात्रा हो । यस नियात्रामा नियात्राकार अधिकारी अर्का नियात्राकार निर्मोही व्यासका निमन्त्रणामा बारा जिल्लाको कलैयामा हुने देवकोटा स्मृति सभामा सहभागी हुन पुगेका छन् । उक्त सम्मान कार्यक्रम तथा सभामा देशको राजधानी काठमाडौँबाट समेत नेपाली साहित्यका अग्रज स्रष्टाहरू भेला भएका छन् । कार्यव्रmममा सहभागी हुन जाने क्रममा नियात्राकारले श्रीमतीलाई पनि साथमै लगेका छन् । श्रीमतीलाई ससुराली अर्थात् माइतमा छाडेर आफू कार्यक्रममा सहभागी हुन पुगेका छन् । कार्तिक १३ गतेको रात ससुरालीमा बसेका छन् । भोलिपल्ट बिहानै वीरगञ्जतिर लागेका छन् । वीरगञ्जको साझा पुस्तक भण्डार आसपासमा गजलकार घनश्याम न्यौपाने परिश्रमीसँग भेट भएको छ । दुवै जना होटलमा एकछिन थकाइ मारी काठमाडौँबाट आएका पाहुनासँग भेटघाट गर्छन् । भोलिपल्ट जम्मा भएका सबै साहित्यकारहरू दृश्यावलोकनका लागि सिम्रौनगढ जान्छन् । त्यहाँ गढीमाई मन्दिर, झरोखर पोखरी, कंकाली माई मन्दिर, १३५६ मा जलेको अन्नभण्डारमा तिलकको अवलोकन गर्छन् । रनिवास, हरिहरपुरको सन्दुस जस्ता दर्शनीय स्थल पनि हेर्छन् । बेलुका सम्मान तथा पुरस्कार वितरणको कार्यव्रmम हुन्छ । त्यसमा सहभागी बन्छन् । बुँद राना र नियात्राकार अधिकारी एउटै कोठामा सुतेकाले कार्यव्रmमका बारेमा बुँद रानासँग समीक्षा तथा छलफल गर्छन् । भोलिपल्ट आयोजित लक्ष्मीप्रसाद देवकोटाको जयन्ती कार्यक्रममा नेपाली साहित्यका विशिष्ट प्रतिभाहरू श्यामप्रसाद शर्मा, ताना शर्मा, प्रेमविनोद नन्दन र भीम विरागको रथारोहणमा सहभागी हुन्छन् । त्यस कार्यक्रममा विभिन्न साहित्यकारहरूद्वारा सम्मानित व्यक्तित्वहरूका बारेमा परिचय गराइएको हुन्छ । नियात्राकार अधिकारीले गोविन्द भट्टका बारेमा परिचय दिएका छन् । त्यसपछि उनले साँझपख भएको गजल गोष्ठीमा भाग लिएका छन् । भोलिपल्ट गाडी चढेर नियात्राकार आफ्नै घर पोखरा फर्केका छन् ।
३.१.५ सातौँ सम्मेलनदेखि गाउँले मिलनसम्म
‘सातौँ सम्मेलनदेखि गाउँले मिलनसम्म’ २०६३ सालमा रचना गरिएको नियात्रा हो । प्रगतिशील लेखक सङ्घ, नेपालको सातौं सम्मेलनको चर्चा यसमा छ । नियात्राकार अधिकारीले क्यान्सरपीडित साहित्यकार जनकप्रसाद हुमागाईँलाई भेट्न चाहेका छन् र भेटेका पनि छन् । प्रगतिशील लेखक सङ्घको सम्मेलनमा भाग लिन ललितपुरको पुल्चोक क्याम्पसमा पुगेका छन् । उद्घाटन समारोहमा भाग लिएका छन् । विभिन्न कम्युनिष्ट पार्टीका नेताहरूको चर्काे भाषणका साथ उद्घाटन सत्र सकिएपछि बन्द सत्र सुरु भएको छ । पोखराबाट प्रतिनिधिका रुपमा गएका कृष्णराज अधिकारी र नारायण मरासिनीसँग सल्लाह गरेर नियात्राकारले प्रलेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । तर नियात्राकारसम्बद्ध घटक वा पार्टीबाट पोखराकै अर्का उम्मेद्वार आधिकारिक रुपमा भएकाले उनी हार्न पुग्छन् । भोलिपल्ट श्रीमतीका साथ दक्षिणकाली माईको दर्शनका साथै आफ्ना गाउँका साथीहरूको घरमा पुगेर भेटघाट गर्छन् । प्रलेसको निर्वाचनमा पदाधिकारी, केन्द्रीय सदस्य तथा पार्षद्हरुमा पार्टीहरूले गरेका भागबण्डाबारे आफू अनविज्ञ रहेको उल्लेख गरेका छन् । आफूलाई हराइएको भन्दै चुनाव लड्ने क्रममा थोरै भोट ल्याएकामा गुनासो गरेका छन् । उनी पराजित भएको मानसिकता बोकेर पोखरा फर्केका छन् ।
३.१.६ फेरि बनारस जाँदा
‘फेरि बनारस जाँदा’ २०६४ सालमा सिर्जित नियात्रा हो । यसपूर्व पछिल्लोपटक २०३१ सालमा बनारस गएको र त्यसपछि आफू बनारस नगएको अहिले फेरि गएको हुनाले यस नियात्राको शीर्षक नै ‘फेरि बनारस जाँदा’ भन्ने राखिएको बुझिन्छ । यस पुस्तकभित्र सङ्कलित नियात्रामध्ये यो सबैभन्दा लामो नियात्रा लेख हो । यो लेख २२ पृष्ठको छ । नियात्राकारले विभिन्न ११ वटा उपशीर्षक राखेर बनारसको भौगोलिक, साहित्यिक, सांस्कृतिक तथा शैक्षिक चर्चा गरेका छन् । नियात्राकारले आफूले पढेको ठाउँ देखाउनका लागि आफ्नी श्रीमतीलाई पनि बनारस पु¥याएका छन् । २०६४ सालको कार्तिक ७ गते पोखराको आफ्नै घरबाट बनारसका लागि यात्रा थालिएको छ । पहिलो रात नियात्राकारका दम्पती सुनौली पार गरी पारिकै एउटा होटलमा बास बस्छन् । त्यहाँको होटलमा कमसल खाना खान बाध्य भएको चर्चासँगै भोलिपल्ट भारतीय सरकारी बस चढी बनारसका लागि हिँडेको उललेख गरेका छन् । बनारस पुगेको पहिलो रात उनी होटलमा बसेका छन् । पढ्ने क्रममा अर्थात् विद्यार्थी कालमा आफू बनारस बस्दाको समय र अहिलेको समयको तुलना गर्दै समयले ल्याएको परिवर्तनबारे लेखाजोखा गरेका छन् । आफू पहिले बनारस बस्दाका समयलाई पुनः स्मरण गरेका छन् ।
श्रीमतीलाई बनारसका साँघुरा गल्लीहरूमा हिँड्ने तरिका सिकाउँदै उनले आफू पहिले बस्दा हिँडेका चोक, तथा गल्लीहरूका बारेमा जानकारी गराएका छन् । विद्यार्थी भएर पहिलेको समयमा आफू बनारस बस्दा साहित्यिक कार्यक्रमहरूमा भाग लिएको, आफूलगायत साथीहरू मिलेर विभिन्न साहित्यिक कार्यक्रमहरू गरेको, नेपालबाट बेला बेलामा उपस्थित हुने साहित्यकारहरूका धारणा सुन्ने गरेका कुरा नियात्राकारले श्रीमतीलाई बताएका छन् । भोलिपल्ट उनले उक्त होटल छोडेर नेपाली तीर्थयात्रीहरूका लागि बनाइएको धर्मशालामा बासको व्यवस्था गरेका छन् । त्यसपछि संस्कृत महाविद्यालयको खोजी गर्दै दुर्गाप्रसादलाई भेट्न पुगेका छन् । बनारस सहर बनारसी साडीका लागि प्रसिद्ध भएकाले बाटा–बाटामा साडी विक्रेता अर्थात् दलालहरूले साडी किन्नका लागि करकाप गरेर दुःख दिएको चर्चा पनि नियात्राकारले यसमा गरेका छन् । माधवप्रसादका महलमा उनका छोरा सागरसँग चिनजान भएपछि नियात्राकार दम्पती मणिकर्णिका घाटको दर्शन गर्न जान्छन् । घाटबाट फर्कने क्रममा पोखरा ल्याउनका लागि केही सामग्रीहरू किन्छन् । श्रीमतीलाई आफू पहिले बसेका स्थान, ठाउँको जानकारी दिँदै उनले नेपाली संस्कृत महाविद्यालयका नेपाली समितिका मन्त्री कृष्णप्रसाद ढुङ्गानाका बारेमा चर्चा गरेका छन् । उक्त महाविद्यालयमा कृष्णप्रसाद ढुङ्गानाले ठगी तथा भ्रष्टाचार गरेको समेत नियात्राकारले उल्लेख गरेका छन् । अहिलेको बनारस पहिलाको जस्तो नरहेको र अहिलेको बनारसमा नेपाली विद्यार्थीको अभाव रहेको अर्थात् नेपालीहरूकै अभाव खट्केको उल्लेख गरेका छन् ।
३.१.७ मेरा निम्ति काशी ज्ञानभूमि हो
२०६४ सालमा रचना गरिएको नियात्रा ‘मेरा निम्ति काशी ज्ञानभूमि हो’ पनि काशी बनारससँग सम्बन्धित छ । नियात्राकार अधिकारीले बनारसमै बसेर शास्त्री पास गरेका हुन् । उनले काशी बनारसबाटै आफ्नो साहित्यिक र राजनीतिक बाटो पक्डेका हुन् । यसपटक बनारस पुग्दा पनि उनले भागिरथीमा स्नान गरेनन् । उनले यस लेखमा बनारसलाई राजनीतिक, धार्मिक र आध्यात्मिक कोणबाट चर्चा गरेका छन् । गाउँठाउँका नेपालीहरू कोही बनारसका विभिन्न तीर्थस्थलमा तीर्थ गर्न जाने र कोही पढ्नका लागि कोही पढ्नका लागि त्यहाँस्थित विभिन्न संस्कृत विश्वविद्यालयमा जाने गरेको कुरा नियात्राकारले गरेका छन् । राजनीतिक रूपले पनि बनारस पहिलेदेखि नै केन्द्र रहेको उनले उल्लेख गरेका छन् । नेपालका काङ्ग्रेस–कम्युनिष्टका नेताहरू विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई पुष्पलाल, बलराम उपाध्याय आदिले बनारसबाटै राजनीतिक जीवनको सुरुवात गरेका थिए भन्ने कुरा लेखकले यस लेखमा बताएका छन् । लेखक स्वम्ले पनि काशीमै बसी पढेर प्रशस्त लाभ लिएको कुरा उल्लेख गरेका छन् । बनारसमा रहँदाबस्दा हिन्दी भाषासहिात्यका विभिन्न विद्वान्हरुका कृति पढेको, तिनीहरूका प्रवचन सुनेको, तिनीहरूसँग सङ्गत गरेको जस्ता कुराहरू लेखकले यस लेखमा उल्लेख गरेका छन् । काशी अर्थात् बनारसमा गरिएको साहित्यकारका पुस्तकहरूको अध्ययनबाट नै आफू कर्मकाण्डी भक्तिमार्गमा नलागी ज्ञानमार्गको बाटामा हिँडेको उनले बताएका छन् । यो लेख ‘फेरि बनारस जाँदा’ शीर्षकको यात्रावर्णनको पूरकका रुपमा आएको छ । यो लेखलाई नियात्राको कोटिमा राख्नुभन्दा संस्मरणमा राख्नु सान्दर्भिक ठहर्छ ।
३.१.८ आफ्नै गाउँः आफै पाहुना
२०६४ सालमै रचना गरिएको ‘आफ्नै गाउँ आफैँ पाहुना’ नियात्रामा लेखकले आफू जन्मेहुर्केको गाउँको वर्णन गरेका छन् । कास्कीको गोर्जे भन्ने गाउँमा रहेका खेतबारी, पाखापखेरा, बाटाघाटा, वनजङ्गल, दाजुभाइ आदिको वर्णन यसमा छ । नियात्राकार पोखराका बासिन्दा भएपछि १५–१६ वर्षको अन्तरालमा त्यस ठाउँमा पुगेका छन् । आफैले प्रधानाध्यापक भई नि.मा.वि. बाट मा.वि. बनाएको हिमालय माध्यमिक विद्यालयको २५ औं वार्षिकोत्सवमा पाहुना हुन जाँदा उनले आफ्नो कान्छो छोरालाई पनि साथमै लिएर गएका छन् । पोखरामै जन्मेको र यसभन्दा पहिले त्यहाँ नपुगेको छोरालाई आफू जन्मेको स्थान, आफूले हिँडेका बाटाहरू, आफूले बेचेको खेतबारी देखाउँदै र नियात्राकार बेलुका आफ्नै घर किनेर बस्ने तुलसीप्रसाद अधिकारीकहाँ बसेका छन् । भोलिपल्ट बिहान आफ्नै नातेदारकहाँ भेटघाट तथा खानपिन पछि विद्यालयको वार्षिकोत्सवमा उपस्थित भएका छन् । आफू गाउँकै भुक्तभोगी भएको, गाउँमा रहँदाबस्दा निकै सङ्घर्ष गर्नुपरेको र केही वर्ष गाउँकै विद्यालयमा पढाएर गाउँको ऋण तिरेको जस्ता कुराहरू नियात्राकारले यसमा उल्लेख गरेका छन् । एकपटक नियात्राकारले कुनै प्रसङ्गमा आफू जन्मेको ठाउँलाई ‘त्यो मान्छे बस्ने ठाउँ नै होइन’ भनेका रहेछन् । यही कुरालाई आधार बनाएर त्यहाँका कतिपय मानिसले उनलाई नकारात्मक दृष्टिले पनि हेर्दारहेछन् । आफ्नो उक्त भनाइका बारेमा पनि स्पष्टीकरण दिएर नियात्राकारले आफूलाई जन्मभूमिको सेवकका रुपमा उल्लेख गरेका छन् ।
३.१.९ दिल्ली यात्राको सम्झना गर्दा
‘दिल्ली यात्राको सम्झना गर्दा’ २०६५ सालको दसैं र तिहारका बिचको दिल्ली यात्रासँग सम्बन्धित नियात्रा हो । यो लेख पाँचवटा उपशीर्षकमा छ । २०६४ सालमा बनारसमा पुग्दा पनि भनेजस्ता साहित्यिक पुस्तक नपाएपछि नियात्राकार पुस्तक किन्नका लागि दिल्ली जान चाहेका छन् । पोखराका साहित्यिक मित्र कृष्णराज अधिकारी, नारायण मरासिनी लगायतसँग दिल्ली जाने योजना सुनाउँदा उनीहरूले पनि सँगै जाने कुरा गर्छन् । दसैँका टीकाको पर्सिपल्ट पोखराबाट दिल्लीका लागि पोखरा–दिल्लीवाला बसमा तीनजना प्रस्थान गर्छन् । बस नारायणघाट, बुटवल, नेपालगन्ज हुँदै भारतको रुपैडिया छिर्छ र पश्चिमतिरको बाटो समात्छ । बाटामा गाडीले रोकेका स्थानमा खाना नमिठो भए पनि सास धान्नका लागि पेट भरेको प्रसङ्गसँगै नियात्राकार दिल्ली पुग्छन् । दिल्लीमा नारायणजीका बहिनी ज्वाइँका कोठामा पुगेर खाना खान्छन् । ज्वाइँका अफिसमा पुग्छन् । दिल्ली गेटको अगाडिपट्टि चौरमा बसेर फोटो खिच्छन् । भोलिपल्ट वाणी प्रकाशन, राजकमल प्रकाशन, ज्ञानपीठ प्रकाशनमा पुगी केही भारतीय इतिहास, संस्कृति तथा पूर्वीय दर्शनसँग सम्बन्धित किताबहरू किन्छन् । नारायणजीकी बहिनीलाई मासु खुवाउन मासु किनेर लगे पनि उनले नखाएकाले त्यो मासु आफैले खानु परेको नमज्जाको प्रसङ्ग पनि लेखमा उल्लेख गरेका छन् । आग्राको ताजमहल हेर्ने रहरले शुक्रबारका दिन नारायणजीकी बहिनीसमेत गरी चार जना गएकामा उनीहरू ताजमहलभित्र पस्न पाएका छैनन् । शुक्रबार भित्र बसेर मुसलमानहरूले नमाज पढ्ने हुँदा बाहिरी यात्रुहरूका लागि मूल गेट बन्द हुँदोरहेछ । लालकिल्लाको माथिबाट यमुनाको किनारस्थित ताजमहल अवलोकन गरेको प्रसङ्ग लेखकले उल्लेख गरेका छन् । फर्कने दिनको बिहानमा पिपुल्स पब्लिसिङ हाउसमा पुगी केही पुस्तक किनेर बसेको डेरामा आई खाना खाई रेल चढेर नियात्राकार आफ्ना दुई साथीहरूसँगै गोरखपुरसम्म रेलमा आएर नेपाल फर्केका छन् ।
३.१.१० मेरो जाँगरः मेरो मुर्ख्याइँ
२०६६ सालमा लेखिएको ‘मेरो जाँगरः मेरो मुख्याईँ’मा कास्कीको गोर्जे गाउँदेखि पोखरासम्मको एक दिने यात्रा र पोखरादेखि इलाहावाद हुँदै बनारससम्मको अर्को यात्रा गरी नियात्राकारका दुई यात्राका घटनाप्रसङ्गहरू जोडिएका छन् । नियात्राकार अधिकारीले यस लेखमा आफूले पहिले गरेका कामहरू पछि अर्थात् अहिले आएर हेर्दा मूर्खताजस्तो लागेको कुरा उल्लेख गरेका छन् । गोर्जे भाषा पाठशालामा आफ्ना अक्षर राम्रा बनाउनका लागि बिहानदेखि बेलुकासम्म सिङ्गै एक दिन खर्च गरेर एउटा कापी किन्नका लागि पोखरा आउनुलाई उनले मुख्र्याइँ ठानेका छन् । अहिले आएर उनलाई एउटा कापी पोखरा पुगेर आउने अरु कोहीसित मगाउन पनि सकिन्थ्यो भन्ने लागेको छ । यसै गरी अन्य कुनै काम नभई वा काम नपरी केवल पुस्तक किन्नकै लागि गर्मीको मौसममा एक्लै इलाहावाद र बनारस पुगेर फर्कनुलाई पनि नियात्राकारले आफ्नो मुख्र्याइँ ठानेका छन् । यस नियात्रामा नियात्राकारले आफूलाई मन परेका पुस्तक खरिद गर्न बनारस र इलाहावाद जाँदाका सन्दर्भलाई उल्लेख गरेका छन् । उनले आफूले किनेका पुस्तक एवम् ती पुस्तकका लेखकहरूको पनि उल्लेख गरेका छन् । ती पुस्तकहरू कुनकुन प्रकाशनका, कति मूल्यका र कुनकुन पसलमा किनिएका हुन् भन्ने कुराको जानकारी पनि लेखमा दिएका छन् । बनारसमा समालोचक चन्द्रबलिसिंहलाई भेटेर कुराकानी गर्न पाउनुलाई लेखकले महत्वपूर्ण उपलब्धि ठानेका छन् । मुख्र्याइँ गर्ने जाँगर चलाएमा नै जीवनमा केही प्राप्त गर्न सकिन्छ भन्ने विचारका साथ नियात्राकारले यस लेखको अन्त्य गरेका छन् ।
३.१.११ पटनाः सपना कि विपना
‘पटनाः सपना कि विपना’ २०६६ सालमा लेखिएको नियात्रा हो । पोखरामा रहेर समाजशास्त्रमा वेदका बारेमा विद्यावारिधि गर्दै गरेको एक जना क्याम्पस पढाउनेवालालाई नियात्राकारले पटना जाने र त्यहाँ पुगेर केही किताबहरू किन्ने कुरा गर्दा उसले पनि जान्छु भनेको तर पछि एउटा बहाना बनाएर नगएको, अर्को एउटा व्यापारी साहित्यकारलाई कुरो गर्दा ऊ पनि मुखले चाहिँ नियात्राकारसँगै पटना जान्छु भनेको तर मानसिक रुपमा जान तयार नभएको हुँदा नियात्राकार अधिकारी एक्लै पटना पुगेका छन् । यस लेखमा पनि पुस्तक किन्ने सन्दर्भ जोडिएको छ । उनले यसमा पटना र नेपाल बिचको ऐतिहासिक सम्बन्धबारे चर्चा गरेका छन् । नेपालको त्रिचन्द्र कलेजले पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको, देवकोटा र तारानाथ शर्माहरूले पटनामा अध्ययन गरेका, पटनाका विद्वान लेखकहरू, त्यहाँबाट प्रकाशित ऐतिहासिक कृतिहरू आदिको चर्चा यसमा छ । पटनामा गएर किनेका पुस्तक र तिनका लेखकहरूको विवरण छ । पटनाको साहित्यिक–सांस्कृतिक इतिहास मात्रै नभएर सामान्य रुपको भूगोलको जानकारी पनि लेखमा छ । उनले दिल्लीका विभिन्न प्रकाशनका शाखा तथा बिक्री कक्षहरू यहाँ रहेको र ती बिक्री कक्षबाट आफूलाई उपयोगी पुस्तकहरू किनेको चर्चा गरेका छन् । पटना पुगेर एक रातभन्दा बढी नबसेको र आफू लहडमा लहडमा नै पटना आएकाले सपनामा आएको हो कि विपनामा नै आएको हो भन्ने संशयका साथ लेखको समापन गरेका छन् ।
३.१.१२. भैरहवाको साहित्यिक यात्रा
२०६६ सालमा लेखिएको ‘भैरहवाको साहित्यिक यात्रा’ मा भैरहवामा भएको साहित्यिक कार्यक्रमको चर्चा छ । यो लेख साहित्यकार मोदनाथ प्रश्रितलाई सम्बोधन गरेर लेखिएको छ । लेख पत्रात्मक शैलीको छ । लेखमा मोदनाथ प्रश्रितको महिमान छ । भैरहवामा भएको साहित्यिक कार्यक्रमको विवरण छ । अलिमियाँ लोकवाङ्मय प्रतिष्ठानले देशका विभिन्न ठाउँमा पुगेर अर्थात् स्रष्टालाई उनीहरू बसेकै स्थानमा गएर सम्मान गर्ने गरेको जानकारी नियात्राकारले गराएका छन् । अलिमियाँका छोरा तथा प्रतिष्ठानका अध्यक्ष हनिफ मिया, लोकगायिका हरिदेवी कोइराला लगायतसँग आफू पनि यसै सन्दर्भमा लुम्बिनी अञ्चलका स्रष्टालाई सम्मान गर्ने उद्देश्यले त्यहाँ पुगेको उल्लेख गरेका छन् । त्यहाँको साहित्यिक गतिविधिको चर्चा गरिएको यस लेखमा कार्यक्रममा सहभागी भई आफू लाभान्वित भएको कुरा गरेका छन् । त्यस क्षेत्रबाट प्रकाशित साहित्यिक पुस्तक एवम् पत्रपत्रिकाहरू आफूले उपहारका रुपमा प्राप्त गरेकामा सम्बन्धित पक्षलाई आभार व्यक्त गरेका छन् । वनमाली निराकार, बालकृष्ण भट्टराई, कपिल लामिछाने, कृष्णादेवी शर्मा श्रेष्ठ लगायतलाई सम्मान गर्न पाउँदा खुसी भएका छन् । ‘पाणिनि’ र ‘किरण’ पत्रिकामा समावेश भएका मोदनाथ प्रश्रितका लेखहरूको विशद् चर्चा गरेका छन् ।
३.२ भूगोलका आधारमा
नियात्राकार रविलाल अधिकारीले नेपालभित्र पूर्वमा काठमाडौं, वीरगन्जदेखि पश्चिममा दाङ, नेपालगन्जसम्मको यात्राको चर्चा यस कृतिमा गरेका छन् । भैरहवा, चितवन र स्याङ्जातिरका साहित्यिक कार्यक्रम एवम् पारिवारिक भेटघाटका सन्दर्भमा यात्रा गर्दाका लेखहरू यसमा समावेश छन् । देशभित्र पनि कुनै यात्रा एकल रुपमा, कुनै यात्रा पारिवारिक रुपमा र कुनै चाहिँ साहित्यिक मित्रहरूका साथमा गरिएका छन् । ‘गोकुल जयन्ती मनाउन जाँदा’, ‘दाङका आङमा आश्रय लिँदा’, ‘ससुरालीदेखि स्मृति सभासम्म’, ‘सातौँ सम्मेलनदेख गाउँले मिलनसम्म’, ‘आफ्नो गाउँ ः आफैँ पाहुना’, ‘भैरहवाको साहित्यिक यात्रा’ नेपाली भूगोलभित्र गरिएका यात्रा हुन् । यी यात्रामा लेखकले तत्स्थानमा देखापरेको परिवर्तन र त्यहाँको प्रकृतिको पनि केही मात्रामा वर्णन गरेका छन् । यसै गरी उनले भारतीय भूमि अर्थात् विदेशी भूगोलमा गरिएका यात्रावर्णनलाई पनि यसमा समावेश गरेका छन् । नियात्राकारले विभिन्न समयमा विभिन्न उद्देश्यका साथ भारतका इलाहावाद, बनारस, दिल्ली, पटनालगायतका सहरहरूमा यात्रा गर्दा लेखिएका नियात्रा विदेशी भूगोलसँग सम्बन्धित नियात्रा हुन् । ‘फेरि बनारस जाँदा र अन्य नियात्राहरू’, ‘मेरा निम्ति काशी ज्ञानभूमि हो’, ‘दिल्ली यात्राको सम्झना गर्दा’, ‘मेरो जाँगर मेरो मूख्र्याइँ’ (आधा नेपाल र आधा भारतको प्रसङ्ग), ‘पटना ः सपना कि विपना’ भारतीय भूमिमा गरिएका नियात्रा हुन् । भारतीय भूमिका यी यात्रा लेखकले पुस्तकहरू किनेर ज्ञानको क्ष्तििजलाई फराकिलो पार्ने उद्देश्यले गरेका छन् । विदेशी भूगोलको यात्राका सन्दर्भमा त्यहाँस्थित विभिन्न दर्शनीय स्थलको दृश्यावलोकन र त्यहाँको ऐतिहासिक तथा साहित्यिक–सांस्कृतिक चर्चा पनि गरिएका छन् ।
३.३ उद्देश्यका आधारमा
नियात्राकार रविलाल अधिकारीले एउटा निश्चित उद्देश्यद्वारा प्रेरित भएर यी यात्रा गरेका छन् । साहित्यसम्बन्धी कार्यक्रम भनेपछि हुरुक्कै हुने अधिकारीले साहित्यिक उपलब्धी र ज्ञान आर्जन गर्ने उद्देश्यले नै यी यात्रा गरेको देखिन्छ । भैरहवाको साहित्यिक कार्यक्रममा उनी लोककवि अलिमियाँ वाङ्मय प्रतिष्ठानसँग सम्बद्ध रहेकाले त्यहाँका साहित्यकारहरूलाई सम्मान गर्ने उद्देश्यले पुगेका छन् । ‘गोकुल जयन्ती मनाउन जाँदा’, ‘दाङका आङमा आश्रय लिँदा’, ‘ससुरालीदेखि स्मृति सभासम्म’, ‘सातौँ सम्मेलनदेखि गाउँले मिलनसम्म’ शीर्षकमा गरिएका यात्राहरू पनि साहित्यिक उद्देश्यले गरिएका यात्रा हुन् । अध्ययनमा बढी नै लगाव तथा रुचि भएका अर्थात् अध्ययनशील प्राध्यापक भएकाले उनी भारतीय सहरहरूमा आफूलाई मन परेका पुस्तकहरू खरिद गर्न पुगेका हुन् । ‘दिल्ली यात्राको सम्झना गर्दा’, ‘मेरो जाँगरः मेरो मुख्र्याइँ’, ‘पटनाः सपना कि विपना’ आदि नियात्रा पुस्तक किन्ने उद्देश्यले गरिएका छन् ।
३.४ नियात्रा विधाका तत्वगत आधारमा
नियात्रा बन्नका लागि यात्रा वा गतिशीलता, पात्र, परिवेश, रमरम आख्यान, सृजनात्मकता, स्थानीयता, निजात्मकता तथा स्वच्छन्दता, अनुभूतिमयता, चिन्तन, आत्मीयता, रोचकता, सूचना, कौतूहल जस्ता तत्वहरू आवश्यक पर्दछन् । नियात्राकार अधिकारीका यात्रा वर्णनात्मक लेख सबैजसोमा गतिशीलता देखिन्छ । नियात्रामा केन्द्रीय पात्रका रुपमा उनी आफै उपस्थित छन् । उनी पोखराबाट गोकुलको गाउँ राइपुर गएका छन्, गोर्जे पुगेका छन् । साहित्यिक कार्यव्रmम तथा गोष्ठीका सन्दर्भमा काठमाडौं, दाङ, कलैया र भैरहवामा पनि पुगेका छन् । पुस्तक पढ्ने भोक मेट्न भारतका बनारस, इलाहावाद, दिल्ली, पटना आदि सहरहरूमा पुगेका छन् । गतिशीलताका आधारमा हेर्दा नियात्राहरू गतिशील नै छन् । स्थानीयताका आधारमा हेर्दा पनि अधिकारीका नियात्राहरू त्यति कमजोर छैनन् । दाङ, कलैया, राइपुर, गोर्जे आदि ठाउँको भ्रमणका क्रममा उनले त्यहाँको प्राकृतिक सुन्दरता, संस्कृति, खानपान आदिको चर्चा गरेकै छन् ।
नियात्राकारले विभिन्न ठाउँको भ्रमण गर्दा आफूले देखेभोगेका कुरालाई निजात्मक शैलीमा स्वच्छन्दपूर्वक ढङ्गले उल्लेख गरेका छन् । आफूले भ्रमण गर्दाका घटनाप्रसङ्गलाई जस्ताको त्यस्तै यथार्थ रुपमा प्रस्तुत गरेका छन् । भ्रमण गरिएको स्थानका बारेमा उनले आफ्नो विगतका स्मृतिहरूलाई पनि जोडेका छन् । बनारसको यात्रा गर्दा आफ्नी आमाले चिसो पानीले गङ्गामा स्नान गर्दा बिरामी परेको सन्दर्भ उनको स्मृतिमा आएको छ (ढकाल, २०७४ः १०८) । नियात्राकारले बनारसका गल्ली, चोक, विश्व विद्यालयका साथै आफ्नो गाउँ निकै वर्ष पछि जाँदा त्यहाँको वनजङ्गल, खेतबारी, धारो, कुवा आदि आत्मीय लागेको बताएका छन् । काठमाडौंमा बिरामी साहित्यकार जनकप्रसाद हुमागाइँलाई भेट्दा पनि नियात्राकारको अनुभूति तरल तथा रसात्मक बनेको छ । यस आधारमा हेर्दा नियात्रामा हुनुपर्ने एउटा तत्व आत्मीयता तथा तरलता पनि यसमा छ । नियात्राहरू पढ्दै जाँदा कौतुहल उत्पन्न हुन्छ ।
नियात्रामा नियात्राकार नै नियात्राको मुख्य पात्र हुन्छ । यस सङ्ग्रहका नियात्राहरूमा रविलाल अधिकारी नै केन्द्रीय पात्र हुन् । यात्राका क्रममा जोडिएका अन्य मानिसहरू सहायक रूपमा आएका छन् । गोकुल जयन्ती मनाउन जाँदा घनश्याम ढकाल, सुकुम शर्मा र अन्य साथीहरू अनि दिल्ली जाँदा जोडिएका कृष्णराज अधिकारी र नारायण मरासिनी तथा अन्य लेखमा आएका साहित्यकार तथा घरपरिवारका सदस्यहरूले केन्द्रीय चरित्र स्वयम् नियात्राकारलाई गतिशील बनाएका छन् । नियात्राकार अधिकारीको यात्राको अवधि कुनै सात–आठ दिनसम्मका लामा र कुनै एक–दुई दिनका छोटा पनि रहेका छन् । फेरि बनारस जाँदा सात–आठ दिनको र दिल्ली यात्रा पाँच–छ दिनको अवधिका रहेका छन् । उनका केही नियात्रामा झिनो आख्यानात्मक स्वरुप पनि पाइन्छ । नियात्राकार फेरि बनारस जाँदा र दिल्ली यात्रामा जाँदा तथा त्यहाँका स्थान, परिवेश आदिको चित्रण गर्दा झिनो आख्यानात्मकता भेटिन्छ । नियात्रामा हुनुपर्ने तत्वहरूका आधारमा हेर्दा उनका नियात्राहरू नियात्रा तत्वले पूर्ण मान्न सकिने अवस्था छ ।
३.५ नियात्राकारले किनेका पुस्तकहरू
नियात्राकार रविलाल अधिकारी भारतका कलकत्ता, पटना, दिल्ली, बनारस जस्ता सहरमा स्वाध्ययनका लागि पुस्तक खरिद गर्न पुगेका हुन् । उनी दिल्लीका वाणी प्रकाशन, राजकमल प्रकाशन, ज्ञानपीठ प्रकाशनमा पुस्तक खोज्दै ड्लेका छन् । दिल्लीकै पिपुल्स पब्लिसिङ हाउसमा पुगेर पनि केही पुस्तक खरिद गरेका छन् ्। डा. राजेन्द्रप्रसादको पुस्तक ‘संस्कृत र संस्कृति’, ‘दर्शनशास्त्रको रूपरेखा’ ‘सूर्यकान्त त्रिपाठी निरालाको ‘प्रबन्ध प्रतिमा’, ‘सङ्ग्रह र चयन’, हजारी प्रसाद द्विवेदीका निबन्ध सङ्ग्रह ‘कटुज’ र ‘अशोक के फूल’, जयशंकर प्रसादको ‘काव्य और कला तथा निबन्ध’, ‘जवाहरलाल नेहरूका ‘विश्वविद्यालयको झलक’ दुवै खण्ड, ‘मेरी कहानी’, कालिदासका ‘विक्रमोवशीयम्र कुमार सम्भव’, ए.बी. किथका ‘संस्कृत साहित्यका इतिहास’, डा. अजबसिंहको ‘नवस्वछन्दतावाद र यथार्थवादः पुनर्मुल्याङ्कन’, डा. रामचन्द्र तिवारीको ‘हिन्दी गद्यः प्रकृति और रचना’ हजारी प्रसाद द्विवेदीको ‘भाषा, साहित्य और देश’, शिवकुमार मिश्रको ‘भक्तिभाव और लोकजीवन’, मैनेजर पाण्डेको ‘साहित्य और इतिहास दृष्टि’, रामविलास शर्माको ‘भारतीय साहित्यकी भूमिका’, हरिमोहन झाको ‘खट्टर काका’, हजारीप्रसाद द्विवेदीको ‘वाणभट्टकी आत्मकथा’, हरिशंकर प्रसाइँको ‘निठल्लेकी डायरी’ र फणिश्वरनाथ रेणुको ‘नेपाली क्रान्ति कथा’ आदि उनले किनेका पुस्तकहरू हुन् ।
३.६ प्रगतिशीलता, यथार्थ र गन्थन
नियात्राकार रविलाल अधिकारी प्रगतिशील साहित्यकार भएकाले यस सङ्ग्रहका लेखहरूमा पाठकले प्रगतिशीलताको खोजी गर्नु स्वाभाविक ठहर्छ । नियात्राकारले प्रगतिशील लेखक सङ्घको सम्मेलनमा भाग लिएका छन् । प्रगतिशील कवि जनकप्रसाद हुमागाइँ बिरामी पर्दा पोखराबाट भेट्न भनी काठमाडौं गएका छन् । क्रान्तिकारी कवि गोकुल जोशीको जन्मस्थलमा पुगेर उनीप्रति श्रद्धाभाव व्यक्त गरेका छन् । एक जमानाका प्रगतिशील साहित्यकार मोदनाथ प्रश्रितको प्रशस्ति गाएका छन् । प्रगतिशील लेखक–कलाकारहरूसँग भेटघाट गरेका छन् । प्रगतिशील पुस्तकहरू सङ्कलन र अध्ययन गरेका छन् । कुनै कुनै लेखहरूमा प्रसङ्गबस पुँजीवादको विरोध पनि गरेका छन् । यद्यपि उनको प्रगतिशील चिन्तन लेखहरूमा समग्रतामा नभई झिल्काझिल्कीका रुपमा देखापरेको छ ।
नियात्राकार यथार्थबाट भागेका छैनन् । जहाँ जे देखेका छन्, भोगेका छन्, त्यसलाई जस्ताको त्यस्तै रुपमा उतारेका छन् । बढी यथार्थवादी बन्दा उनको लेखनीबाट कतिपय अन्य साहित्यकारमाथि प्रहार पनि भएको छ । पोखरामा व्यापार गरेर बसेका र केही कृति पनि प्रकाशित गरिसकेका छवि सुवेदीलाई पटना घुम्न जानका लागि अनुरोध गर्दा सुरुमा जान्छु भनेका र पछि नगएका हुँदा नियात्राकारले गफ गर्दा ठुलाठुला कुरा गरे पनि मान्छेलाई परी पु¥याउन कठिन हुन्छ, गफ हाँक्ने सन्दर्भमा उहाँले जाने कुरा गर्नुभयो, मैले दुई–तिन हजारजति त पुस्तकै किन्दा पनि खर्च हुन्छ भन्दा उहाँले पाँच हजारका किताब किन्छु भन्नुभएको थियो तर खास रुपमा जान पर्दा जानेआउने, घुम्ने समय र खर्च अनि पुस्तक किन्ने खर्च आदिको विचार गर्दा उहाँको व्यापारी मानसिकताले जान दिएन (पटना ः सपना कि विपना !, पृ. ९८) । यस किसिमको प्रहार पोखराका अन्य केही साहित्यकारमाथि पनि भएको पाइन्छ । कतिपय लेखहरूमा नियात्राकारले विषयवस्तुभन्दा बाहिर गएर बढी गन्थन गरेको पनि पाइन्छ । त्यस्तो गन्थन घरपरिवारका सदस्यहरूसँग बढी भएको छ । ‘फेरि बनारस जाँदा’ र ‘आफ्नै गाउँः आफै पाहुना’मा पारिवारिक गन्थन अलि बढी देखिन्छ ।
३.७ भाषाशैली
रविलाल अधिकारी कवि पनि हुन् । उनले यस सङ्ग्रहका लेखहरूमा आफूलाई मन परेका केही विशिष्ट तथा अग्रज कविहरूका कवितांशलाई पनि सन्दर्भ मिलाएर प्रस्तुत गरेका छन् । गोकुल जयन्ती मनाउनकै लागि पोखराबाट केही साहित्यिक साथीका साथमा तनहुँको राइपुर जाने क्रममा त्यहाँ भेटिएका जयप्रसाद भट्टराईले गोकुल जोशीका पद्य सुनाएकामा नियात्राकारले त्यो पद्यको टिपोट गरेका छन्ः ‘हरे राम संसार ज्यूनु छ गारो \ उसै भाविले जेल फन्दामा पार्यो \ सबैलाई चाहिन्छ लाभै पियारो \ समेलिन्छ लैनो निकालिन्छ थारो’ (पृ. ४–५, गोकुल जयन्ती मनाउन जाँदा) । यसै गरी जगन्नाथ गुरागाईँको गुणरत्न मालाको एउटा श्लोकः ‘ऐले जो घरबारि खेत धन छन् जो गाई वा भैँसी छन् \ सारा नश्वर छन् शरीरसहितै आखिरमा छुट्तछन् \ यस्ता यै धनबाट क्यै अलि अली काशीपुरीमा लगी \ छात्रावास बनाउँ धन पछि लाग्ने छ हाम्रा अघि’ (पृ. ५८, फेरि बनारस जाँदा) । कवि लेखनाथको श्लोकः ‘परत्र यस्तो छ यसो गर्यो भने \ यसो यसो हुन्छ भनेर देखने \ नआउने कोही पनि यहाँ किन \ तँलाई मालुम् छ कि यो कुरा मन !’ (मेरा निम्ति काशी ज्ञानभूमि हो, पृ. ६७) आदि । यसै गरी केही लेखहरूमा संस्कृतका सूक्तिहरूको पनि उपयोग गरिएको छ ।
लेखहरू सरल र बोधगम्य भाषामा छन् । तत्सम, तद्भव र केही अङ्ग्रेजी एवम् अन्य भाषाबाट आएका आगन्तुक शब्दहरू पनि सङ्ग्रहभित्रका लेखहरूमा छन् । ग्रामीण परिवेशमा बोलिने झर्रा शब्दहरूका साथमा लेखक अधिकारीले नेपाली जनजीवनमा प्रचलित उखान र टुक्काहरूको पनि प्रशस्त प्रयोग गरेका छन् । ‘बाह्र वर्षमा पोइ आएको, म राँडलाई ज्वरो आएको’ (पृ. ६), ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ (पृ. ४२), ‘बाख्राले बिराउँछ भेडाको कान काट्ने’ (पृ. ४२), ‘हेरेर मर्न भन्दा छेरेर मर्न बेस (पृ.५६), ‘जानेका सिलोक घोक्नु छ, मासुभात ठोक्नु छ’ (पृ. ७०), ‘म गर्छु आग्राका कुरा सम्धी गर्छन् गाग्राका कुरा’ (पृ. ८४) जस्ता विभिन्न उखानको उपयोग यस कृतिमा भएको पाइन्छ । नियात्राकारले कतिपय सन्दर्भमा उपयोग गरेको बिम्बात्मक एवम् प्रतीकात्मक भाषा पनि प्रभावकारी नै ठहर्दछ ।
४. निष्कर्ष
नियात्राकार रविलाल अधिकारीका यस सङ्ग्रहका नियात्राहरू वि.सं. २०४८ सालदेखि २०६६ सालसम्मको समयका हुनु । नियात्राकारले विभिन्न स्थानको भ्रमणमा टिपोट गरेका कुराहरूलाई नै यसमा सङ्ग्रह गरी २०६६ सालमा पुस्तकका रुपमा प्रकाशन गरेका हुन् । नियात्रात्मक लेखहरू साहित्य, कला, संस्कृति तथा पुस्तकचर्चासँग सम्बन्धित छन् । कुनै कुनै नियात्रा संरचनाका हिसाबले केही लामा पनि रहेका छन् । लेखहरू आत्मपरक शैलीमा विवरणात्मक, सूचनामूलक खालका छन् । कताकति बौद्धिकताका झलकहरू देखिए पनि ज्यादाजसो विवरणात्मक र वर्णनात्मक नै छन् । सरल र प्रवाहमय भाषाको प्रयोगले गर्दा कृति सरल र बोधगम्य बन्न गएको छ । तत्सम तथा आञ्चलिक र झर्रा शब्दको प्रयोगले गर्दा लेखहरू मिठासपूर्ण बनेका छन् । स्थानअनुसार संस्कृतका सुक्ति, उखान, टुक्काको प्रयोगले भाषिक मिठास बढाएको छ । विभिन्न कविताका पङ्क्ति एवम् संस्कृतका सूक्तिहरूको प्रयोगले गर्दा गद्यसँगै पद्यले पनि स्थान पाएको छ । आफूले भ्रमण गर्दा देखेकाभोगेका कुनै पनि तथ्यलाई नलुकाई नियात्राकारले इमान्दारिताका साथ यथार्थ रुपमा वर्णन गरेका छन् । आत्मपरक शैलीमा विवरणात्मक तथा सूचनामूलक साथै रमरम बौद्धिकताले रङ्गिएको उनको यस नियात्रा कृतिलाई नेपाली नियात्रा साहित्यको एउटा महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।
सन्दर्भ सूची
अधिकारी, रविलाल (२०६६), फेरि बनारस जाँदा र अन्य नियात्राहरू, पोखराः साहित्य शृङ्खला ।
उपाध्याय, वेदव्यास (२०६६), नेपाली यात्रा साहित्यको प्रवृत्तिगत विश्लेषण र मूल्याङ्कन, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग प्रस्तुत पी.एच्.डी. शोधपत्र, (वि.सं. १९९९–२०४६) ।
ढकाल, रोहिणी (२०७४), रविलाल अधिकारीको नियात्राकारिता, पृ.ना. क्याम्पस, नेपाली विभाग, एम्.ए. शोधपत्र ।
पराजुली, ठाकुरप्रसाद (२०५८), 'अन्य विधा वा आख्यानमुक्त गद्य विधा', काठमाडौंः शिविर प्रवेशाङ्क, उपत्यका साहित्य समाज ।
पोखरेल, बालकृष्ण र अन्य (सम्पा. २०६७), नेपाली बृहत् शब्दकोश, काठमाडौंः ने.प्र.प्र. ।
व्यास, निर्मोही (२०६१), ‘नियात्रा साहित्यको सिर्जनात्मक स्वरूप’, मधुपर्क, (वर्षः ३०, अङ्कः ४, पूर्णाङ्कः ४२३, भदौ), पृ. ५९ ।
शर्मा, तारानाथ (२०४६), मधुपर्क, (वर्षः २२, अङ्कः ८, पूर्णाङ्कः २४७, पुस), पृ. ३८ ।
सुवेदी, राजेन्द्र (२०५८), स्रष्टा सृष्टिः द्रष्टा दृष्टि, काठमाडौंः साझा प्रकाशन ।
पोखरा- १७, कास्की