(समालोचक कृष्ण गौतम यतिबेलाका अधिकांश नेपाली गुरुहरूका पनि गुरु हुन् । पूर्वीय तथा पाश्चात्य दर्शनका व्याख्याता रहेका उनका समालोचना पढेर धेरै नेपालीले दर्शनका बारेमा जानकारी हासिल गरेका छन् । तिनै दर्शनका ज्ञाता कृष्ण गौतम यतिबेला उपन्यासकारका रूपमा उदाएका छन् । उनको पछिल्लो उपन्यास ‘अद्वैत’ले २०८० सालमा एकैचोटि दुईवटा पुरस्कारहरू पद्यश्री पुरस्कार र कविडाँडा आख्यान पुरस्कार पायो । यो उपन्यास पढेपछि एउटा पाठकका मनमा कस्तो प्रभाव पर्छ ? भन्ने बारेमा यो निसमालोचना केन्द्रित छ ।)
उपन्यासतिर म किन तानिएँ ?
म एउटा मनमौजी खालको पाठक हुँ । मलाई उपन्यास निकै मन पर्छ, किनकि उपन्यासमा जीवनका यावत् पक्षको चित्रण हुन्छ । अझ भनौँ हाम्रो जीवन जस्तो हुन्छ, उपन्यास त्यस्तै हुन्छ । उपन्यास पढ्दा जीवन पढेको आनन्द पाउँछु म । यसले विगत, वर्तमान र भविष्यत्को समेत बताउँछ । यसमा विभिन्न ठाउँको भूगोल, संस्कृति र परम्पराको समेत जानकारी दिन्छ । त्यही भएर म उपन्यासतिर तानिएको हुँ ।
कवितालगायत गैर आख्यान पनि पढ्छु म, तर नेपाली उपन्यासचाहिँ मेरो पहिलो रोजाइ हो । मैलै पहिलोचोटि पढ्न सुरु गरेको उपन्यास पारिजातको ‘शिरीषको फूल’ हो, तर यो उपन्यास पाँच सातचोटि त भूमिका मात्र पढेर छोडेको थिएँ । त्यसपछि भने धेरै पटक पढेको उपन्यास हो । यसलाई कम्तीमा पनि एक दर्जन पटक त पढेँ हुँला । त्यस्तै दोहो¥याएर पढेको अर्को उपन्यास ध्रुवचन्द्र गौतमको ‘अलिखित’ हो । मैले उपन्यासपठनका सुरुआती चरणमा युधिर थापा र प्रकाश कोविदका उपन्यासहरू पढेको हुँ भन्दा लज्जाबोध हुँदैन मलाई ।
मलाई भित्रैदेखि हल्लाएको पहिलो उपन्यास म्याक्सिम गोर्कीको ‘आमा’ हो भने त्यस्तै कम्पन दिएका उपन्यासहरू हर्मन हेस्सेको ‘सिद्धार्थ’, पर्ल एस बकको ‘द गुड अर्थ’को नेपाली रूपान्तर ‘कल्याणी धरती’ हुन् । मलाई हिन्दीका उपन्यासहरूमध्ये फणिश्वरनाथ रेणुको ‘मैला आँचल’, प्रेमचन्दको ‘गोदान’ले पनि राम्रै झट्का दिएका थिए । त्यस्तै नेपालीमा सरुभक्तको ‘पागल बस्ती’ र ‘चुली’, विश्वेश्वरप्रसाद कोइरालाको ‘मोदिआइन’, कृष्ण धराबासीको ‘राधा’, अमर न्यौपानेको ‘सेतो धरती’ले पनि निकै प्रभावित गरेका थिए । मैले हालसालै पढेको राम्रो लागेको उपन्यास भने सरस्वती प्रतीक्षाको ‘स्व’ हो । यी मेरा निजी विचार हुन्, सबैलाई चित्त बुझ्नुपर्छ भन्ने केही छैन ।
केही कठिन खालका नेपाली उपन्यासको चर्चा गरौँ है !
पाठकवृन्द, तपाई अङ्ग्रेजी कत्तिको बुझ्नुहुन्छ ? मचाहिँ अङ्ग्रेजी त्यति बुझ्दिनँ । एक पटक उदय अधिकारी दाजुले मलाई जेम्स जोयसको ७३२ पृष्ठ लामो ‘युलिसिस’ उपन्यास पढ्न भनेर दिनुभयो । जे त होस् भनेर पढ्न थालेको पाँच पृष्ठ पनि पढ्न सकिनँ । दाजुलाई त्यो किताब नपढी त्यत्तिकै फिर्ता गरेँ । त्यस्तै पूरा नपढी रोकेको उपन्यास मार्खेजको चर्चित उपन्यास ‘हन्ड्रेड इयर्स अफ सोलिच्युड’ पनि हो । पढ्न नसकेपछि के गर्नु, हैन त पाठकवृन्द ? त्यसो त मैले आजसम्म एक हातका औँलाभन्दा बढी अङ्ग्रेजीमै लेखिएका उपन्यास पढेको छु होला । त्योभन्दा बढी पढेको छैन भन्दा कत्ति हीनताबोध हुँदैन मलाई ।
नेपाली भाषामै लेखिएको भएर पनि मलाई मदनमणि दीक्षितका ‘माधवी’ र ‘भूमिसूक्त’ निकै कठिन लागेका उपन्यास हुन् । त्यस्तै दौलतविक्रम विष्टका ‘ज्योति ज्योति महाज्योति’ र ‘चपाइएका अनुहार’ पनि त्यतिकै सकसका साथ पढेको हुँ मैले । हुन त ध्रुवचन्द्र गौतमका ‘डापी’ र ‘बालुवामाथि’लाई निकै कठिन उपन्यास भन्ने गरिन्छ, तर मैले ती उपन्यास पढेको छैन । अरु पनि होलान् कठिन लाग्ने खालका उपन्यासहरू, मलाई यतिभन्दा बढीको नाम आएन ।
यतिबेला मैले बहुत सकसका साथ कृष्ण गौतमको ‘अद्वैत’ उपन्यास पढेँ । जति चपाए पनि रस पटक्कै आएन । कृति पढेर सकियो, आख्यान कतै भेटिएन । एकोहोरो दर्शनको रट लगाउनु बाहेक केही भेटिनँ मैले त्यसमा । कठिनै लेखे पनि मदनमणि दीक्षित र ध्रुवचन्द्र गौतम आख्यानकार हुन् भने कृष्ण गौतमचाहिँ आख्यान लेख्दा पनि अन्वेषक नै रहेका छन् भन्ने निष्कर्षमा पुगेको छु म । नत्र उपन्यास पढ्दा किन सकस हुन्छ त पाठकलाई ?
‘अद्वैत’ उपन्यास हो कि अद्वैत दर्शनको व्याख्या ?
खासमा अद्वैत उपन्यास कम दार्शनशास्त्रको व्याख्या धेरै हो । यसमा लेखकले जीवनभर बटुलेका वेद, उपनिषद्, पुराणको व्याख्या, साङ्ख्य, योगलगायत दर्शनको चर्चा, वर्णाश्रमको व्याख्या, पूर्वमा परापूर्व कालदेखि चल्दै आएको श्रमण परम्पराको चर्चा गर्नमै समय खर्चेका छन् । त्यसका साथै द्वैतवाद, अद्वैतवाद, बहुलवाद, चार्वाक् दर्शन लगायत पूर्वका विविध धार्मिक परम्पराको ज्ञान बाँड्ने काम पनि उत्तिकै गरेका छन् । यस उपन्यासमा उभ्याइएका सुरथ, मनोरथ, मनोरमा, सुवासिनी, सञ्चितालगायतका सबै पात्र दार्शनिकताले भरिएका छन् । ती सबैलाई हेर्दा तिनमा लेखक कृष्ण गौतमकै विविध रूपको दर्शन पाइन्छ । सामान्यतया आख्यानमा कुनै एउटा पात्रलाई आख्यानकारले आफ्नो मुखपात्र बनाएको हुन्छ, यो उपन्यासमा त्यस्तो मुखपात्र एउटा मात्र होइन, सबै छन् । त्यसैले यो आख्यान कम दर्शन बेसी भएको छ ।
यस उपन्यासमा ठाउँ ठाउँमा पूर्वका बुद्ध, महावीर, कन्फ्युसियसजस्ता दार्शनिकको चर्चा भएको छ । त्यस्तै पश्चिमका कान्ट, हिगेल, नित्से, ह्युम, फ्रायड, युङ, माक्र्सलगायतका विभिन्न विद्वानहरूको पनि मनग्गे चर्चा भएको छ । त्यति मात्र नभएर अन्य थुप्रै दार्शनिक र अनुसन्धाताको पनि चर्चा भएको छ । त्यस्तै चिनियाँ ताओवादलगायत विभिन्न दर्शनको व्याख्या पनि चाहिनेभन्दा बढी नै भएको छ । यसर्थ यो उपन्यासमा घटना कम विभिन्न दर्शनको व्याख्या ज्यादा छ । त्यस्तै विविध सन्दर्भमा कला, नृत्य, दर्शन र साहित्यको चर्चा पनि गरिएको छ । त्यसो त उपन्यासको अन्त्य नै गीत र नृत्यमा पु¥याएर टुङ्ग्याइएको छ ।
कृष्ण गौतमले जीवनभरि उत्तरआधुनिकता र बहुलताका पक्षमा लामै खोज र अनुसन्धान गरे । त्यसकै व्याख्या र पुनव्र्याख्यामा समय खर्च गरे । उनले पूर्वलाई बिर्सेर गरेको उक्त व्याख्याको कतै प्रायश्चित त होइन यो उपन्यास भन्ने प्रशस्त ठाउँ छ । यसर्थ उनको ‘अद्वैत’ उपन्यासले अद्वैत दर्शनको व्याख्या गर्न खोजेको छ । यसलाई उपन्यासबाट साभार गरिएको यो वाक्यले पुष्टि गर्छ ः
‘अद्वैत अनुपम व्यक्ति व्यक्तिगत तहमा आफ्नै चेतनासित सुसम्बद्ध भएर, दार्शनिक तहमा ब्रह्मसित, विश्वात्मासित, सार्वभौम चेतनासित गाँसिएर परिवेशगत तहमा सम्पूर्ण भौतिक जगत् चेतनाकै मात्रागत स्फुरण हो अथवा उसै चेतनामा छाएको, सतही, रङ्गीचङ्गी जलप हो भन्ने बोध गरी सामञ्जस्य बनाएर, सामाजिक तहमा सबै उसै चेतनाका अङ्ग हुन् भन्ने उदार भाव विकसित गरेर एक्लाइँलाई तोड्दछ, टुटफुटलाई जोड्दछ ।’ (पृष्ठ ः २८९)
यति मात्र होइन, उनी यो उपन्यासमा दर्शनको व्याख्यामा लामो समय खर्च गर्छन् भन्ने कुराको पुष्टि यो अंशले गरेको छ कि छैन । एक पटक हेर्नुहोस् त ः
स्यात्ले निर्णय सापेक्ष, परिस्थितिपरक हुन्छ भन्ने जनाउँछ । हाम्रा निर्णय सात प्रकारका हुन्छन् । अङ्ग्रेजीबाट पनि हामी बुझ्न् प्रयास गरौँ –
१. पह्र्याप्स प् = इज
२. पह्र्याप्स प् = इज नट
३. पह्र्याप्स प् = इज, इज नट
४. पह्र्याप्स प् = इज इन्डेस्क्राबेबल
५. पह्र्याप्स प् = इज एन्ड इन्डेस्क्राबेबल
६. पह्र्याप्स प् = इज एन्ड नट इन्डेस्क्राबेबल
७. पह्र्याप्स प् = इज, इज नट एन्ड इन्डेस्क्राबेबल
(द्रष्टव्य, अध्याय सात)
(पृष्ठ ः १५९)
माथि साभार गरिएको सामग्रीमा पूर्वीय दर्शनमा प्रचलित सप्तभङ्गी नयका तार्किक वाक्यको पुष्टि गर्नका लागि उपन्यासकारले अन्तबाट साभार गरेका हुन् । यी वाक्यहरूलाई हेर्दा ‘अद्वैत’लाई उपन्यास भनिए पनि दर्शनको कठिन मार्ग हो भन्ने पुष्टि हुन्छ । यस्ता सन्दर्भहरू उपन्यासभरि जताततै देख्न पाइन्छ । त्यसैले सामान्य पाठकले यो कृति छिचोल्न गाह्रो छ ।
के त्यसो भए ‘अद्वैत’ फलामको चिउरा हो ?
पाठकगण, हिजोआजका नेपाली पाठकहरू दर्शनशास्त्रका कृतिहरू पनि पढ्छन्, तर दर्शनकै रूपमा हैन त ? आख्यान भन्ने हो भने कि त सरुभक्तको ‘पागल बस्ती’ वा राजेश्वर देवकोटाका उपन्यासहरू जसरी आउनुप¥यो, ता कि पढ्दा पाठकले दर्शन पढेको पत्तै नपाऊन् । यता ‘अद्वैत’मा भने पूर्वीय दर्शनलाई पुष्टि गर्न पाश्चात्य दर्शनको पनि सहारा लिइएको छ त्यो पनि निबन्धात्मक ढाँचामा । यसमा आख्यानात्मकताभन्दा पनि विचारको ओइरो लगाएर पाठकलाई दिग्भ्रमित पार्न खोजिएको छ । हेरौँ एउटा साक्ष्य ः
‘हामी पूर्वीयहरू मुक्त, मुक्तात्मा, जीवनमुक्त, स्थितप्रज्ञ, योगी, अर्हत, बोधिसत्व, तीर्थाङ्करजस्ता पदहरूसित अभिज्ञ छौँ । ‘गीता’ ज्ञान, भक्ति र कर्मको त्रिरत्न हामीलाई उपलब्ध गराउँछ । बुद्धवादमा बुद्ध, धर्म र सङ्घका त्रिरत्न छन् । जैनहरू श्रद्धा, ज्ञान र चरित्रका त्रिरत्नको उपदेश दिन्छन् जसलाई भक्ति, ज्ञान र कर्म पनि भन्न सकिन्छ ।’ (पृष्ठ ः २२७)
माथिको अनुच्छेदमा पूर्वीय दर्शनको व्याख्या पाइन्छ भने अर्को एउटा पूर्वीय र पाश्चात्य दर्शनको व्याख्याको नमुना हेरौँ ः
‘साङ्ख्य भने बुद्धिलाई अचेतन प्रकृतिबाटै आविर्भूत तत्त्व मान्छ र त्यसबाट आत्मालाई अलग राख्छ । साङ्ख्यलाई अपनाएर म बेकेटको मर्फी हुन चाहन्न जो समाजका आर्थिक, राजनीतिक आदि सबै पाटालाई पन्छाएर आत्मकेन्द्रित भई अस्तित्वगत व्यर्थतामा पीडित हुन्छ । साङ्ख्ययोग अथवा पूर्व हामीलाई त्यस अवस्थाबाट माथि उठाउन चाहन्छ । द्वैतको झन्झटबाट मुक्ति लिन प्रयत्न गर्ने सत्रौँ शतकीय विख्यात दार्शनिक स्पिनोजा हुन् । तिनले के तर्क दिए भने द्रव्य र मन एउटै पदार्थका दुई गुण हुन् । त्यो एउटै पदार्थलाई हामी सार भनौँ, प्रकृति भनौँ वा ईश्वर भनौँ जसका दुई गुण वा लक्षणसित हामी अवगत छौँ – विस्तार र विचार । लाइबनित्जले उसै गरी मोनेडको, चिद्बिन्दुको वा पुद्गलको अवधारणा ल्याएर द्वैतलाई उडाउने प्रयत्न गरे । द्वैतलाई उडाइदिने महान् दार्शनिक त हिगेल नै हुन् जसले थेसिस र एन्टिथेसिसको द्वैतलाई सिन्थेसिसमा घुलमिल पारिदिए ।’ (पृष्ठ ः २३१)
माथिको एउटा सानो अनुच्छेदमा चर्चित लेखक बेकेट, उनको पात्र मर्फीको चर्चाका साथै दार्शनिक स्पिनोजा, पुद्गल, हिगेलजस्ता दार्शनिकको चर्चा पाइन्छ । यो अनुच्छेद पढ्दा उपन्यास होइन, निबन्ध पढेको आभास मिल्छ । यसर्थ यो उपन्यास नभएर फलामको चिउरा बनेको छ ।
‘अद्वैत’ कस्तो खालको उपन्यास हो ?
‘अद्वैत’ उपन्यासको सुरुदेखि अन्त्यसम्म नै संवादजस्तो गरी एकोहोरो भनाइ अझ भनौँ भाषण राखिएको छ । उद्धरण चिन्हभित्र हरेक अनुच्छेदलाई राखिएको भए पनि दुई पात्रको संलग्नता देखाइएको छैन । केवल लेखकले पात्रका नाममा ज्ञान थुपार्ने काम मात्र गरेका छन् । अझ कतिपय अवस्थामा चार पाँचवटा परिच्छेदसम्म पनि उही परिवेशमा एउटै पात्रले एकोहोरो बकबक मात्र गरेको देखिन्छ । यसरी बकबक गरेर त कहाँ उपन्यास बन्छ र ? हैन त पाठकवृन्द ?
पाठकवृन्द, तपाईलाई विश्वास नलागेको भए उदाहरणका लागि तपाई खण्ड ४६ मा जानुस् । त्यसमा पात्र सुवासिनीका एकोहोरो संलाप देख्न पाइन्छ । दश पृष्ठको आयाममा फैलिएको यो परिच्छेदको सुरुदेखि अन्त्यसम्म उद्धरण चिन्ह दिएर संवादको ढाँचामा यस्ता अनुच्छेदजस्ता वाक्य र तीभन्दा केही लामा खालका थुप्रै अनुच्छेदहरू राखिएका छन् ः
‘ज्ञान भनेको जनतालाई बुझ्नु हो ।’
‘कन्फ्युसियस चाहन्थे नाममा सच्चाइ होस् ।’
‘म बाबुलाई बाबु भन्छु भने बाबुको मप्रतिको व्यवहार बाबुकै जस्तो हुनुपर्दछ ।’
‘मन्त्री मन्त्रीजस्तै होस्, राजा राजाजस्तै, कर्मचारी कर्मचारीजस्तै ।’
‘पहिला मान्छे आफैँमा सच्चा हुनुपर्छ, बाहिर र भित्र एकनास ।’
‘कन्फ्युसियस सामञ्जस्यका – हार्मोनीका प्रबल प्रवक्ता थिए जसलाई अर्थात् सामञ्जस्यलाई ‘गोल्डेन मिन’ पनि भन्ने गरिन्छ । सामञ्जस्य त्यो हो जसमा मात्रा ठीकसित मिल्दछ ।’ (पृष्ठ ः २६५)
कुनै एउटा पात्रले यसरी एकोहोरो बोलेका कुरालाई उद्धरण चिन्हमा राख्नुको के अर्थ हुन्छ ? हैन त पाठकवृन्द ? तिनलाई कि त सुवासिनीको मनोवादको ढाँचामा तयार गर्नुपथ्र्यो कि त अप्रत्यक्ष कथनमा राख्ने वा व्याख्या मात्र बनाएको भए हुन्थ्यो । यसले के गर्न खोजेको हो ? पाठकलाई अलमल्याउन खोजेको हो कि के हो ? मसँग त्यसको सही जवाफ छैन ।
सामान्य त उपन्यासमा अनुसन्धानको ढाँचामा उद्धरण राखिँदैन । कुनै लेखकको भनाइ राख्नु परेमा त्यसलाई सिधै लेखकले यसो भनेका छन् भनेर साभार गरिन्छ । तर कृष्ण गौतम लामो समयसम्म अनुसन्धानमा लागेको हुँदा उनी उपन्यासमा पनि त्यही अनुसन्धानको ढाँचा प्रयोग गर्छन् । उनले ३६८ पृष्ठको उपन्यासमा ५६ वटा पादटिप्पणी दिएका छन् । हेरौँ एउटा नमुना ः
‘रबर्ट सी. सोलोमन तथा क्याथलिन एम. हिगिन्सको भनाइ छ कि उपनिषद्हरूले वैदिक विषयलाई स्पष्टताका साथ विकसित गरेका हुन् ।३४’ (पृष्ठ ः ३३२)
यसरी माथि सुपरस्क्रिप्टमा ३४ भनिएको सामग्रीलाई पादटिप्पणीमा यसरी देखाइएको छ ः
३४ अ सर्ट हिस्ट्री अफ फिलोसफी, सन् १९९६, पृ. २३, दी उपनिषद्स्, डिभ्लप्ड द थिम्ज अफ द वेदज इन अ क्लियर्ली फिलोसफिकल डिरेक्सन ।
यस्तो पादटिप्पणी अर्थात् फुटनोट त अनुसन्धानात्मक लेखमा राखिन्छ । उपन्यासमा यसरी सामग्री लिनै परे पनि फुटनोटमा नराखी फलानाले यसो भनेका छन् भनेर लेखिन्छ । त्यसैले पनि ‘अद्वैत’ उपन्यास बन्न सकेको छैन । सारमा भन्नुपर्दा यो बमनवेदान्त हो, यसमा लेखकले जिन्दगीभर पढेर हासिल गरेका ज्ञानका झुसिला डकार बटुल्ने काम गरेका छन् । ती ज्ञानका लागि त तत् तत् खालका सामग्री पढे भइहाल्छ । यो उपन्यास नामधारी विशालकाय कृति पढेर समय किन नष्ट गर्ने ? ५८ वटा परिच्छेद पढ्न मलाई डेढ महिनाभन्दा बढी लाग्यो । मुस्किलले कुनै कुनै दिनमा दुई वटा परिच्छेद पढियो, बाँकी त दिनमा एउटा परिच्छेद छिचोल्न पनि हम्मे हम्मे प¥यो । आम पाठकले कसरी पढ्लान् कुन्नि ?
‘अद्वैत’लाई उपन्यास नबनाएर नाटक बनाएको भए के हुन्थ्यो ?
‘अद्वैत’ उपन्यासमा कतै लामो त कतै छोटो खालका संवादको बहुलता छ । यस उपन्यासका सबै परिच्छेदका प्रायः सबैजसो अनुच्छेदलाई संवाद भनेर चिनाउन उद्धरण चिन्हभित्र राखिएको छ, यस मानेमा यसलाई उपन्यास नबनाएर नाटक बनाएको भए अलिक राम्रो हुन्थ्यो कि कृष्ण सर ? पाठकवृन्द, एउटा संवादांश हेरौँ है त ः
‘हुन्न, हुन्न, दिदीसित बिहे गर्न हुन्न ।’ दिदीका साथीहरूले उसलाई हप्काए ।
ऊ भन्दथ्यो ‘हुन्छ, हुन्छ, हुन्छ ।’
‘सुरथ, तिमी केमा जागिर खान्छौ ?’
‘सेनामा ।’ ‘किन ?’
‘बन्दुक लिएर हिँड्न ।’
‘बन्दुक लिएर के गर्छौ ?’
‘सबलाई मार्छु ।’
‘हामीलाई पनि मार्छौ ?’ ‘अँ मार्छु ।’ (पृष्ठ ः ९९)
माथिको संवादांशमा सुरथको बाल्यकालको स्मरण गरिएको छ । त्यतिबेला उसको बालहठ कस्तो थियो ? ऊ आफ्नी दिदीका बारेमा कस्तो धारणा राख्थ्यो ? ऊ जागिरका बारेमा कस्तो विचार राख्थ्यो ? भन्ने बारेमा उक्त अंशमा प्रस्ट पारिएको छ । यसर्थ यो आख्यानभन्दा पनि नाटकमैत्री देखिन्छ । त्यस्तै खालको अर्को संवादांश हेरौँ ः
सोफामा पल्टेर उसले पेट सुम्सुम्याउँदै भनी ‘ओहो, मेरो जलडमरुमध्यमा ज्वारभाटा पो उठिरहेको छ त ! यत्रो सुनामीको अनुभव त मलाई कहिल्यै भएको थिएन । शौचालय कता हो ?’
‘अघि गएर आएकी होइनौ ? त्यही त हो नि !’
ऊ भित्ताको सहारा लिँदै त्यता लागी ।
शौचालयको चुकुलै खुलेन । भनी ‘कत्रो गल्ती ? चुकुल हाल्ने तरिका यही हो ?’
भनी ‘अहह, नैयागराको फोहोरा त के हो र !’ (पृष्ठ ः ३०५)
एउटा पार्टी सकिएपछि महिलाहरूले गरेको माथिको संवादांशमा पनि नाटकको यथेष्ट छनक पाउन सकिन्छ । यसमा पनि आख्यानमा जस्तो पात्रको परिचय दिने काम गरिएको छैन । यसमा सिधै पात्रका भनाइहरू राखिएका छन् त्यसैले यो उपन्यासलाई उपन्यासका रूपमा नभएर नाटक बनाएर प्रस्तुत गर्न योग्य देखिन्छ । कृष्ण सर, बरु यसका बारेमा पो सोच्ने हो कि ?
अध्यक्ष, अक्षर समूह चितवन ।