१. आमुख :
जीवन भावनाहरूको सँगालो हो , जसरी जीवनका उकाली-ओराली , प्राप्ति-अप्राप्ति , संयोग-वियोग , सुख-दु:ख , ज्ञान-वैराग्य एवम् प्रीति-प्रणयजनित अनुभूतिमय प्रवाहहरू निर्बाध प्रवाहित भइरहन्छन् । त्यसरी नै अनुभूतिमय संवेगहरूलाई लयबद्ध गर्नु नै कविता-सिर्जना हो । कवि-प्रतिभा जन्मजात नभई अर्जित गुण हो ।कवित्व-गुण आर्जनका लागि प्रतिभा , व्युत्पत्ति र अभ्यासको खाँचो पर्दछ । प्रतिभाको विकास अविश्रान्त अभ्यासबाट व्युत्पत्तिको विकास शब्दार्थज्ञानद्वारा हुनाले प्रतिभा , व्युत्पत्ति र अभ्यासका रथमा चढेर भावना , विचार आवेग र संवेगहरूसँग एकाकार भई यात्रारत हुनुपर्दछ । म यिनै कुरा सोच्दै थिएँ कविताको मुठोसहित हाजिर हुन्छन्- दुर्गाप्रसाद पौडेल ।
२. कवि दुर्गाप्रसाद पौडेलको परिचय :
वि. सं. २०१५ चैत्र ७ गते माता रत्नमाया पौडेल र पिता जीवनाथ पौडेलका पुत्ररत्नका रूपमा तनहुँको शुक्लागण्डकी न पा-१ अन्तर्गत प्रकृतिरम्य आरुसोमरामा दुर्गाप्रसाद पौडेलको जन्म भएको हो । अर्थशास्त्र र शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका मिलनसार , विनयी , व्यवकारकुशल एवम् कर्तव्यनिष्ठ दुर्गा पौडेलजीले हाल रत्ननगर नगरपालिका-२ मा स्थायी बसोबास बनाएका छन् । अध्ययन र अध्यापनसँगै आत्मानुष्ठानका साधनामा तल्लीन रहँदारहँदै गर्दा कविता-साधनामा पनि सक्रियता बढाउन थालेका छन् ।
नेपाल मा वि मा माध्यमिक तहको शिक्षा आर्जन गर्दैगर्दा शुक्रवासरीय कार्यक्रममा कविता वाचन गर्ने नाटकहरूमा सहभागी हुँदै गर्दाको क्षणहरूलाई मैले पनि नजिकबाट अनुभूत गरेको छु । शहीद स्मृति क्याम्पस रत्ननगरमा सह-प्राध्यापक र सहायक क्याम्पस प्रमुखको जिम्मेबारी समाल्दै सेवा निवृत्त भएका पौडेलका आधा दर्जन जति कृतिहरू प्रकाशन भइसकेका र एकदर्जन भन्दै बढी सङ्घ/संस्थामा आबद्ध भई केही शैक्षिक/ साहित्यिक संस्थाहरूबाट सम्मानित-पुरस्कृत भएका देखिन्छन् ।
३. बतासे डाँडाको स्मृतिमा समाहित वस्तुविन्यास :
कवि दुर्गाप्रसाद पौडेलले सुन्दर कृति बतासे डाँडाका स्मृतिहरू ( कवितासङ्ग्रह-२०८१ )प्रकाशनमा ल्याएका छन् र म त्यही कृतिका बारेमा एक-दुईवटा कुरा राख्दै छु ।सर्सर्ती हेर्दा यस कृतिमा विविध उपमा , प्रतीक , बिम्बका विविध विषय र रसले आप्लावित ६७ वटा शीर्षकका कविताहरू रहेका छन् ।बतासे डाँडाको स्मृतिमा डुब्दै कतै बाल्यकालका अविस्मरणीय र मनोरम क्षणहरूलाई पक्रदै , कतै बा'का स्नेह र सङ्घर्षका सन्दर्भलाई उजागर गर्दै अनि कतै आमाको मायालु छाहारीमा गौरव गर्दै , कतै जीवनका उर्बर समयका तिता-मिठा अनुभूतिहरूलाई पच्छ्याउँदै , कतै विगतका देशमा भएका राजनीतिक आनदोलनमा अर्थहीन दौडाइमा लागेर कोक्किनु पर्दाका मर्मस्पर्शी यथार्थताका पाप्राहरू उक्काउँदै , कतै वैदेशिक यात्रामा पाएका कौतूहलतापूर्ण नवीन ज्ञान र सुखानुभवहरूलाई टिपनटापन गर्दै र कतै देशभित्रकै राजनीतिक उथलपुथल , सामाजिक विभेद , सांस्कृतिक अपचलन धार्मिक आडम्बर , अन्धविश्वास , छुवाछुत , सङ्कीर्णता , सीमान्तकृत जातीय विभेदसँगै दिनोत्तर बढ्दो विकृति , विसङ्गति , राजनीतिक भ्रष्टाचरण , दुर्घटना , महङ्गी , तस्करी , लुटका धमिला बाढीहरू र चेतनाको खस्किंदो पहिरोबाट आक्रान्त हुँदाका पलहरूलाई समेट्दै बतासे डाँडोलाई केन्द्रमा राखेर आफ्नै गाउँघरका रीतिरिवाज र मौलिक परम्परालाई कवितामा सजाउने प्रशंसनीय प्रयास गरिएको छ ।
कवितामा बतासे डाँडा , लाँकुरी डाँडा , रानीवन र सेराबेसीको प्रसङ्गसँगै काफल कटुस ऐसेलु हर्रो बर्रो अमारो अनि द्यौसी भैलो डन्डीबियो , बाघचाल ,खोपी , ठेकीको घिउ , बालुन , खैजडी , लिङ्गे पिङ आदिको सन्दर्भ आउँदा कविसँगै बतासे डाँडाको सौन्दर्यमा हरेक भावक-पाठकको मन त्यहीं तन्मय हुन पुग्दछ ।
४. कविताको परिवेश, औचित्य र बान्की :
बतासे डाँडामा बाल्यकालमा बिताएका प्रेमिल संसारको पनि सरल सरस शैली-शिल्पमा सुन्दर मनोभावका भुल्काभुल्कीबरु पनि सिर्जनामा मनग्गे आएका छन् , नमुनाक निम्ति सानो कवितांश-
सम्झना छ अझै पनि
बतासेको चौतारोमा
बाघचाल खेलेर जितेको
तिहारको रमझममा
दौंतरीहरूसँग रमाइलो गरेर
भाका मिलाई देउसी खेलेको
दशैंको मुखमा
फाँडेर तितेपाती बाटामा
चढेर लिङ्गेपिङमा
तिमी र म मिलेर
दोहोरि खेलेको
अनि
बिर्सन्न म कहिल्यै
पराइको डोली चढ्ने बित्तिकै
मौलाई सम्झिएर चरीले रोएको ।
-बतासे डाँडाका स्मृतिहरू , पृ , १६० ।
कविता वा काव्य लेख्नुका प्रयोजन बारे कविले राम्ररी बुझेका छन् । आफु र आफ्नो धरातललाई आत्मसात् गरेका छन् । परिस्थिति र परिवेशसँग हातेमालो गर्न जानेका छन् । कवितात्मक चेतनालाई अनुभूत गरेका छन् । समाजवाद र अर्थवादको गहिराइलाई मापन गर्ने क्षमता राख्दछन् । यसै सन्दर्भको राजनीतिक आन्दोलनको मार्मिक शब्दचित्र-
सडक किनारमा
चटपटे र पानीपुरी बेच्नेहरू
अनि
जुत्ता पालिस गर्नेहरू
सयौं राउन्डको फायरसँगै
अनायासै भुइँमा ढले
यत्रतत्र छरिएकाहरूलाई
अन्धाधुन्द लाठीचार्ज भयो
धरपकड जारी रह्यो
नेताहरूमात्र होइन
मै हुँ भन्ने कार्यकर्ताहरू पनि
दुलोभित्र पसे ।
-ऐ , सभा विसर्जन भयो , पेज नं. ७ ।
छुवाछुत सम्बन्धी अन्धविश्वासप्रति व्यङ्ग्यका घुँयेत्रा ठोकिएका कविका अभिव्यक्तिहरू यसरी मुखरित हुन्छन्-
सूर्यलाई अर्घ लिने अर्घौतो
कुलदेवताको पूजामा
ध्वजा बाँध्ने त्रिशुल
उसैले त बनाएको हो
तिमीले शिर निहुर्याएर दण्डवत् गर्ने
मूर्ति पनि त उसैले कुँदेको हो ।
ऐ. , ऊ कसरी अछुत भयो ? पृ. १३ ।
अन्ध परम्परामा जकडिएको संस्कारमाथि अर्को जोडदार झापड-
ढिकीजाँतो नगरी
भर्न हुन्न पानी पँधेरोमा
बढार्न हुन्न अँधेरोमा
लच्छिन जान्छ घरको
पतिदेव हुन् तिम्रो
नखाई जल उनका गोडाको
पिउनु हुन्न पानी ।
ऐ. , कान्छी बुहारी , पृ.३५ ।
लोकतन्त्र आएपछि राष्ट्रले काँचुली फेर्छ , शहीदका सपनाहरू साकार हुन्छन् र जनताले भरपर्दो न्यायिक सरकार पाउँछन् , गाउँका सिधासाधा जनताको श्रमशोषण गर्न पल्केका साँढेहरू हराउँछन् भन्ने विश्वासमा तुसारापात भएपछि कविहृदय यसरी द्रवीभूत हुँदै कोक्किन्छ-
बाली चोर्न पल्केका साँढेहरू
अझ उग्र र विध्वंसकारी बनेर
गाउँबाट सहरतिर पसेपछि
उपद्रो मच्चाइरहेछन् सहरमा
अनि
तोडफोड गर्दै अराजक शैलीमा
धम्क्याइरहेछन् मानिसहरूलाई ।
ऐ. , रूपान्तरित हुँदै हर्के साइँलो , पृ. ३९ ।
युवाहरूलाई वैदेशिक आकर्षणले खिचिरहेको छ । गाउँघरको पहिलेपहिलेको सांस्कृतिक रौनक हराएर गएको छ । गाउँ अब गाउँ जस्तो रहेन र मानवमा मानवता नै रहेन भन्ने आशयको मर्मस्पर्शी अभिव्यक्ति-
बटुल्न खोज्दा रहर सहरको
चेलीहरूको माइतीघर हरायो
परदेशी भए छोरा र छोरीहरु
आमा र बुवाको भरेसा हरायो ।
ऐ. , गाउँको रहर हरायो , पृ. १०९ ।
आजभोलिका नेताहरूमा देशभक्ति लेस पनि पाइदैन । उनीहरूले माटोको सौन्दर्य सुगन्ध र गरिमालाई बिर्सिसकेका छन् । यही भावाभिव्यक्तिको कटु- व्यङ्ग्यमा आधारित सुन्दर कवितांश-
विडम्बना !
छोएर माटो कसम खानेहरूले
लगाएर टीका चोखो माटोको
बेचेर माटो गद्दारी गर्नेहरूल्
ठड्याए महल यही माटोमा ।
ऐ. , माटोको सुगन्ध , पृ. १२० ।
वर्गीय-राजनीति गर्नेहरू सधैं जनतालाई दुई वर्गमा बाँडेर पक्षपाती राजनीति गरिरहन्छन् भन्ने कटूक्तिलाई कति मर्मस्पर्शी पाराले कविले प्रस्तुत गरेका छन् ? एउटा नमुना हेरौं-
गुडेर ज्यान गुमाउनेहरूको
वास्तै गरेन मेरो सरकारले
बरु
उडेर मर्नेहरूका नाममा
कमसेकम मेरो सरकारले
आधा भए पनि झण्डा त झुकायो ।
ऐ. , अफसोस , पृ १५६ ।
५. उपसंहार :
गाउँदेखि बेसीसम्म , पहाडदेखि तराईसम्म , अविकसित ठाँउदेखि भौतिक सुविधासम्पन्न सहरसम्म , गाउँ-घरका चाड-पर्व , दसैं-तिहारका रमझमसदेखि बतासे डाँडाका स्मृतिहरूका सतहहरूसम्म फैलिदै गएका छन् । उद्धरणमा राख्दा सबै ओइरिएर आउछन् , त्यो सम्भव हुँदेन । सङ्कलित कविताहरूमा विशेषत: 'आमाको मन , बा'को खिइएको चप्पल , मुस्कुराइरहेछन् बा , लोग्ने मान्छे हुनुका पीडाहरू , बा'को आशीर्वाद , झोले भएको छु म , कामुक पुरुषहरू , माटोको सुहन्ध , कमजोर छैनन् नारीहरू र बतासे डाँडाका स्मृतिहरू' जस्ता कविताहरू तारिफ गर्न योग्य छन् ।
सेवानिवृत्त भएपश्चात् कृति प्रकाशन गर्दा 'छ दशकपछिको रहर' भन्ने कसैलाई लाग्न गएता पनि कविता पढ्दै जाँदा उनी किशोरावस्थादेखि नै कविताका साधना-आराधना गर्दै नआएका भए यति सुन्दर , मनोभिराम , श्रुतिमधुर एवम् हृदयसंवेद्य सरस शैली-शिल्रपमा खिपिएका र व्यङ्ग्यले ओतप्रोत चेतनायुक्त लाक्षणिक कविताहरू एक हप्तामै कसरी जनसमक्ष ल्याउन सक्दा हुन् र ? मुद्रणगत वा प्राविधिक अशुद्धि र कमी-कमजोरी रहेता पनि आगामी दिनमा हतार नगरी कृति प्रकाशन गर्ने सुझाव दिंदै अझै माझिएका सुन्दर समसामयिक कविता लेख्ने कवि दुर्गाप्रसाद पौडेलको लेखनी द्रुत-गतिमा चलिरहोस् , हामी उनका रसिला , मलिला र चखिला कविताहरूको आश्वादन गर्न पाइरहौं । शुभं भवतु कल्याणम् ।
चितवन ।