18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दिपेन तामाङकृत “दृष्टिभेद”-भित्र

कृति/समीक्षा राजु “हिमांशु” October 5, 2024, 11:54 pm
राजु “हिमांशु”
राजु “हिमांशु”

प्रारम्भ
१७ अक्टोबर १९८२ मा सिङ्गताम चियाबारी,दार्जीलिङमा जन्मिएका सर्जक हुन् दिपेन तामाङ। विक्रम तामाङ उनको पिताको नाम ;माताको नाम साङमाला तामाङ । उनले प्राथमिकपछि माध्यमिक स्तरको शिक्षार्जन सिङताम जूनियर हाइ स्कूलबाट सन् १९९९मा पूरा गरे।सन् 2001 मा रामकृष्ण शिक्षा परिषद् उच्च माध्यमिक विद्यालय,दार्जीलिङबाट उच्च माध्यमिक शिक्षा अर्जन गरेपछि सन् २००४मा उनले स्नातक (नेपालीमा सम्मानसहित)
दार्जीलिङ सरकारी महाविद्यालयबाट पूरा गरे। सन् २००६ मा दार्जीलिङ सरकारी महाविद्यालयबाटै
स्नातकोत्तर परीक्षामा उनी उत्तीर्ण भए। उनले एम.फिलचाहिँ उत्तर बङ्ग विश्वविद्यालयबाट सन् २००९मा पूरा गरे। त्यसपछि उनले सिक्किम विश्वविद्यालयबाट सन् २०२०मा पीएचडी गरे। उनको विद्यावारिधिको विषय थियो-“देवकुमारी थापाका कथामा बालजीवनको सन्दर्भ”। डा.दिपेन तामाङ केही काल दार्जीलिङ सरकारी महाविद्यालयमा कार्यरत थिए। हालमा उनी अध्यापन कार्यार्थ कालीपद घोष तराई महाविद्यालय,बागडोग्रामा पदस्थ भएका छन्।
उनका प्रकाशित कृतिहरू हुन्-
१. इच्छावृत्ति - कवितासङ्ग्रह-२०१४
२. बालसाहित्यको सैद्धान्तिक पक्ष-२०२१
३. दृष्टिभेद - निबन्धसङ्ग्रह-२०२१
४. देवकुमारी थापाका कथामा बाल जीवन -२०२२
‘इच्छावृत्ति’ उम्दा कविताहरूको सङ्ग्रह हो। यस सङ्ग्रहले दिपेन तामाङभित्रको प्रखर कविलाई उज्जर पारेको हो। कविताहरू मीठा र हृदयस्पर्शी भए तापनि दिपेन तामाङकृत ‘इच्छावृत्ति’-बारे चर्चा, परिचर्चा, प्रतिक्रिया, समीक्षा त्यति भएनन्,लेखिएनन्। तर यस कविताकृतिले कवि दिपेन तामाङलाई एकजना असल कविका रूपमा चिनाएको छ। पहिलो कवितासङ्ग्रहमा नै कवि दिपेन तामाङका कविताहरूको तड्कारो रूप प्रस्तुत भएको छ।
सम्भवत: अध्ययन-अध्यापनमा नै अधिक समय खर्चेर आफ्ना रुचीगत विषयमा शोधार्थ कर्मरत रहनुपर्ने हुनाले होला उनी अलिक टाढ़िए कविता लेखनदेखि र उनीबाट दोस्रो कृतिका रूपमा कवितासङ्ग्रह नै प्राप्त हुन सकेन । अपितु गैर-आख्यानतर्फ उनको लेखनी उन्मुख रह्यो। फलत: भारतीय नेपाली साहित्यजगतमा उनको निबन्धसङ्ग्रह “दृष्टिभेद” देखा पर्यो। सन् २०२१ मा प्रकाशित “दृष्टिभेद”-बाट दिपेन तामाङभित्र सिपालु निबन्धकार विद्यमान रहेको पुष्टि भयो। त्यसपछि उनको रुचि बालसाहित्यप्रति रहेको देखियो।उनीबाट सन् २०२१मा ‘बालसाहित्यको सैद्धान्तिक पक्ष’ छापियो। कथाकार देवकुमारी थापाका कथामा बालजीवन खोज्दै उनले शोध गरेर विद्यावारिधि पनि प्राप्त गरे ।उक्त शोधलेखनलाई पुस्तकाकारमा उनले सन् २०२२मा छपाए। यसरी कवि दिपेन तामाङभित्रको कवि झ्याम्मै छोपियो। मीठा र राम्रा कविता सर्जक कविता विधादेखि केही टाढ़िएका देखेर मलाई केही खल्लो त लागेकै हो। उनको ‘इच्छावृत्ति’ पढ़ेपछि तत्कालीन कवितालेखनमा उनलाई मैले एकजना दह्रो कवि पाएको हुँ । ‘इच्छावृत्ति’-लाई कतिपय पुरस्कार हेतु एकजना निर्णायकको हैसियतले मबाट सिफारिस भएकै हो। तर पुरस्कारको श्रीपेज प्राप्त भएन त्यस कृतिलाई। उक्त कृति भने पुरस्कृत हुन पर्ने कृतिका रूपमा जन्माएका हुन् कवि दिपेनले। उनले पुरस्कारका निम्ति नलेखे पनि मलाई भने ‘डेब्यू वर्क’ मै भए पनि ‘इच्छावृत्ति’ पुरस्कारयोग्य कृति लागेकै हो।‘इच्छावृत्ति’-बारे केही त लेखिनु नै पर्ने हो। तर मबाट पनि त्यो काम कुन्नि कसरी हो उत्निखेर हुन सकेन। समयमा उचित प्रतिक्रिया,समीक्षा हुन नसक्दा कति सर्जक निराशित पनि हुन्छन् कि?सम्भवत: कवि दिपेनको मनको कुनै कुनामा निराशा र विस्मात् त लुकेकै होलान्। जे होस्, ‘इच्छावृत्ति’ उनको पहिलो प्रकाशित कविताकृति भए पनि पठनीय छ। अब यति लेखिसकेपछि उदाहरणार्थ उनका कविताहरू प्रस्तुत नगरी भएन जस्तो लाग्यो । यद्यपि यस लेखको विषय ‘इच्छावृत्ति’ होइन। तर ‘इच्छावृत्ति’ कै सर्जक र उनको अन्य कृतिबारे लेख्नु बसेपछि सर्जकको पहिलो प्रकाशित कृतिबारे केही प्रकाश पार्नु अनुचित नहोला। यसैले यहाँ ‘इच्छावृत्ति’-का केही कवितांश पस्किदिएको छु। कविहरूले गाउँबारे धेरै कविता लेखेका छन्,गाउँका चित्रहरू आफ्ना कवितामा उतारेका छन्। यस सङ्ग्रहमा सङ्कलित कविताहरूमा पनि कविले गाउँका कुरा निकै गरेका छन्,गाउँका चित्रहरू कवितामा उतारेका छन्। ‘गाउँ र देश’ कवितांश यस्तो छ-
“हाटबजारमा
सपनाको एउटा सानो पसल थापेर बसेका
रामबहादुर,बलबहादुर र बुद्धिमानका स्वास्नीहरू
आशाको बारीमा हलो-खेत जोत्दा-जोत्दै
त्यहीँ रगतका फाल्सा रोपेर हिँडेका कैयौँ भयो।
तर,परेलीका खोप्चाबाट तरल-तरल उम्रेर
छातीमा गाँठो हुँदै
बलबहादुरहरूको कुसुमे रूमालमा अल्झिएका दु:खहरू
प्यूरिफाइड,
देशको कुनै पानीले पुछ्न सकेको छैन।
साइनोको नाममा बाऊले छाडिदिएका खिया परेको बाक्साभित्र
गाउँको भूगोल सधैँ आत्महत्या गरिरहेको छ।”

आफूलाई मन नपरेका लेखक-कविका अभिव्यक्तिहरूले चस्स घोचेर “पाठक हुँ” कवितामा कवि दिपेनले यस्तो लेखेका छन्-
“चेतनामा विचारहरू डल्लो पारेर
मेरो कलिलो छातीमाथि थेचारिदिने तिमी मेरो अप्रिय कवि।
अप्रिय लेखक
....तिम्रा अक्षरहरूले कोरेका पीडाको नक्साभित्र
मेरो घरको चूल्हा भेटिँदैन
तिम्रो शब्दहरूले जोतेका खेतबारीमा
अहँ! मेरो अनुहारको रङ्ग उम्रँदैन।
ओ! कविज्यू। लेखकज्यू
म पाठक हुँ। सोझो जनताजस्तै
तिमी भावको राजनीति गर्ने कट्टर नेता। ”
“झण्डा” कवितामा कवि दिपेन यस्तो अभिव्यक्ति दिन्छन्-
“खुनको रङ्ग छुट्याउन नसक्ने मान्छेहरू
झण्डाको रङ्ग बद्लेर
खुनको साइनोको विनिर्माण गर्दैछन्
हकको जुलूस निकाल्दै गाउँमा धनेले अर्को झण्डा गाड्छ ।
अभिमान र सत्ताको सम्भोगपछि त्यही झण्डाबाट मनेको सत्ता
हाइब्रिड भएर पलाउँछ।”
यस्ता धेरै उम्दा कविताहरूको सङ्ग्रह बनेको छ “इच्छावृत्ति”। उम्दा कविता रच्ने कविबाट एउटा अर्को अर्थात् दोस्रो कविताकृति पाठकले पर्खेर बसेको दस वर्ष भइसक्यो।

विषय प्रवेश
डा. दिपेन तामाङकृत पुस्तकहरू चारवटा छन्। यद्यपि यस लेखको विषय उनको निबन्धसङ्ग्रह “दृष्टिभेद” हो।
“दृष्टिभेद”ज्ञानकुञ्ज बुक्सको पक्षमा देविका छेत्री,दार्जीलिङले सन् २०२१ मा प्रकाशित गरिदिएकी छन्। कालचिनीका सञ्जोक लामाद्वारा आवरण चित्र तयार पारिएको यस निबन्ध सङ्ग्रहको मूल्य भारु २००/- छ। यस निबन्ध कृतिको भूमिका प्रा. घनश्याम नेपालले लेखिदिएका छन्। उनले ‘दृष्टिभेद’ हुँदै निबन्धको चर ढुङ्गासम्म शीर्षक युक्त भूमिकामा एक ठाउँ यस्तो लेखेका छन्-“२०१५ (२०१४?)मा ‘इच्छावृत्ति’ लिएर देखा परेका दिपेन तामाङ आधा दशकपछि ‘दृष्टिभेद’ सँग प्रस्तुत छन्। कविताबाट ललित गद्यतर्फको यो फड्को समयमात्रको नभई माध्यम छनोट अर्थात् विधा चयनको पनि छ। यसले उनी लेखनलाई विचारको सम्प्रेषणभन्दा पर एउटा आत्मान्वेषण यात्राझैँ हेर्ने लेखक रहेछन् भन्ने कुरातर्फ सान गरिरहेको प्रतीत हुन्छ।”
प्रज्ञा नेपाली बृहत शब्दकोशअनुसार दृष्टिभेदको अर्थ हुन्छ- कसैप्रतिको सोचाइ र व्यवहारका बीच हुने भिन्नता;हेराइको अन्तर;दृष्टिकोणको फरक;फरक दृष्टि;भेदभाव,पक्षपात। निबन्धकार दिपेन तामाङकृत निबन्ध सङ्ग्रह ‘दृष्टिभेद’-ले विषयवस्तुलाई पृथक दृष्टिकोणबाट पर्गेल्ने कोशिश गरेको छ। चिन्तन निजात्मक छ ।दृष्टि आत्मपरक छ । “दृष्टिभेद” सङ्ग्रहमा सङ्कलित कुनै निबन्धको शिरनामा नभएर सिङ्गो सङ्ग्रहको शीर्षक हो।यस निबन्ध सङ्ग्रहमा सङ्कलित निबन्धहरूमा निबन्धकार दिपेनको फरक दृष्टि पाइन्छ। विषयप्रतिको सोचाइ र व्यवहारबीच भिन्नता स्पष्ट देखिन्छ। यसैले पनि सङ्ग्रहको शीर्षक “दृष्टिभेद” सुहाउँदिलो भएको छ ।
‘दृष्टिभेद’-भित्र चौधवटा निबन्धहरू सङ्कलित भएका छन्। चौधवटामध्ये सातवटा निबन्धको शीर्षक र विषयवस्तु मानव अङ्गहरू विषयक राखिएका छन्। जस्तै-निधार,आँखा,नाक,मुख,दाँत,हात,खुट्टा। एउटा निबन्ध आँखालाई आवश्यक वस्तु ‘चस्मा’-बारे छ भने अन्य निबन्धका शीर्षकहरू छन्-कविताको थिम,दाइको पारदर्शी मुख,,लोग्ने मान्छे यस्तै हुन्छ,बन्धन,सम्बन्ध साहित्य र म । निबन्धकार दिपेनले अङ्गहरूबारे अधिकतर निबन्ध किन लेखे (?),त्यसबारे उनी भन्छन्-“अङ्ग विषयक गद्य लेख्ने ऊर्जामा ‘सिर्जना र समय’ मासिक कार्यक्रमको अहम भूमिका छ। यो कार्यक्रम नेपाली विभाग,सिक्किम विश्वविद्यालयका हामी केही शोधार्थीका पहलबाट सुरू भएको थियो। यसै कार्यक्रममा एक दुई वटा गद्य रचनाहरू सुनाउने अवसर पाएको थिएँ । सुनाएपछि अङ्ग विषयको ‘गद्य शृङ्खला’ नै लेख्ने नेपाली विभाग,सिक्किम विश्वविद्यालयका गुरुजन एवम् हितैषीहरूबाट सल्लाह तथा सुझाउ पाएको थिएँ । पोहोर सालको लकडाउनमा एक-दुई वटा शीर्षक अङ्गको बनाएर लेखियो। त्यस पछि,त्यसपछि यतिका दिनसम्म अन्य अङ्गका विषयमा लेख्ने ध्याउन्न भने मनमा रहन सकेन। र लेखिसकेका केहीमा थप अरू मिसाएर यहाँ खिचडीका रूपमा प्रस्तुत गरेको छु। खिचडी नै सही जिन्दगीमा एकपल्ट त चाख्नु मिल्ला कि! भन्ने ठानेको छु।”
‘दृष्टिभेद’ निबन्धसङ्ग्रहमा सङ्कलित पहिलो निबन्ध छ ‘निधार’। चार पृष्ठ जति ओगटेको यस निबन्धले मानिसको निधारको महत्त्वलाई प्रभावकारी भाषा-शैलीमा उज्जर पारिदिएको छ। छोटो र मीठो निबन्धले भन्छ-“कर्म र भाग्यको यो डाइस खेलाइमा मान्छेको विश्वास अडिएको छ गएर निधारमा । ......विश्वास कस्तो कोमल हुन्छ सिमलका सेता सेता भुवाजस्तो। त्यसभन्दा बढता निलो आकाशमा छातीभरि चुमिरहने सेता सेता बादलका टुक्रा जस्ता। ....पहिचानको निर्धारण भाग्यले गर्दछ। भाग्य,निधारले प्राप्त गर्दछ । त्यसैले निधार व्यक्ति हो।समाज हो।र हो राष्ट्र पनि। ....टीकाले निधारमा ठाउँ पाउनु भनेको प्रेमीले प्रेमिकाको हृदयमा ठाउँ पाउनु जतिकै सत्य हो । ....भनाइमा ठुला निधार हुनेहरू भाग्यमानी हुन्छन् भन्छन् । मलाई तर थाहा छैन भाग्यमानी भनिएकाहरू कस्ता हुन्छन्?साँच्चै उनीहरूले चिताएका जम्मै अभिलाषाका झोलाहरू भरिएका हुन्छन्?अभाव,असन्तुष्टि र व्यग्रताले उनीहरूको मनमा ढ्याङ्ग्रो कहिले ठटाएको हुँदैन?कुनै दिन जिन्दगीलाई थुक्क ! नथुकेको पल उनीहरूले बाँचेका हुन्छन् के त ?....तर लाग्छ निधारमा केही छ। केही छ होइन सम्पूर्णता छ। सुखको चुचुरा छ,दु:खको गहिराइ,जीवनको लम्बाइ छ र मरणको चौडाइ छ। ”
यसरी निधारको महिमा उज्जर पारिदिएका छन् भाग्यवादको समर्थक निबन्धकरले।
दोस्रो निबन्धको शीर्षक छ-‘कविताको थिम’ । यस निबन्धमा कविताप्रतिको मोह र चिन्तनलाई निबन्धात्मक अभिव्यक्ति दिने क्रममा चियाबारीका कथा-व्यथा,नेता–धुपौरेका घृणित अनुहार,मायामा गरिने अभौतिक र असम्भाव्य सम्बोधन र तुलना आदि आंशिक रूपमा केलाउँदै अनि वक्र नजरले पनि हेर्दै कविताको थिमलाई चेतनामा ओल्टाई–पल्टाई रङ्ग भर्ने प्रयास गरिएको पाइन्छ। निबन्धकारको मनमा कविताको थिम शहरभन्दा गाउँमा अधिक पलाएको प्रसङ्ग छ निबन्धमा । गाउँघर,चियाबारीका दृश्यहरूले निबन्धकारलाई धेरै आकर्षित पारेका देखिन्छ,व्यथित पनि बनाएका बुझिन्छ । निबन्धले भन्छ –‘बालकहरू उही चियाबारीका स-साना चोरबाटाहरूमा पाइपको इस्करपियो कुदाई रहेका छन्। उसिनेका फिक्का चियाबाट ब्युँझेका गाउँका शरीरहरू रातमा लखतरान भएर आइपुग्दा छाम्छु। कति दुख्छ त्यतिबेला कविताको मन । हातमा उठेका गाउँका ठेलाहरू कविताको शरीरभरि थिलथिल भएको पाउँछु। लाग्छ कविताको सौन्दर्य बिग्रन्छ यसले। कविताको सौन्दर्यलाई कमानबाट बोकेको धुलोले किन धमिल्याइ दिनु। व्यर्थ हुन्छ चेतनामा पौडिएका विचारहरू। बुझ्छु फेरि ‘कविता आफैमा अनुपम छ’।
यसरी द्रुत गतिमा कविताको थिम कुदेको छ निबन्धकारको चेतनामा। तर ‘कविताको थिम अहिले उडेर गएको चराजस्तै छ’ भन्दै हालमा कविता लेख्न नसकिरहेको अवस्थालाई अदेख रूपमा निबन्धकारले प्रस्तुत गरिदिएका पाउँछौँ। तर कविता लेख्न नसकिरहेको
अवस्थामा पनि निबन्ध लेखिदिएका छन् कवितात्मक भाषाशैलीमा कविताकै थिमबारे निबन्धकार दिपेनले ।
‘आँखा’ सङ्ग्रहको तेस्रो निबन्धको शीर्षक हो। कसैले ‘तपाईँ त पक्कै राई होला ! तपाईँका चिम्से आँखाले यस्तै जनाउँदछ’ भनिदिएपछि निबन्धकारलाई आफ्नो अवस्था ‘राई हुँ वा तामाङ हुँ’-को घमासान भइरहेको युद्धमा होमिएका सिपाहीहरूका झैँ लाग्छ। निबन्धमा आँखाका परिभाषा,महिमा,महत्त्व,आकार-प्रकार,लीला,विशेषता प्रभृति निबन्धकारको चिन्तनमा तलमाथि हुँदै आफ्नै श्रीमतीले धरि चिम्से भनिदिएकी प्रसङ्ग पनि उल्लिखित पाइन्छ। आँखाबारे निबन्धकार लेख्छन्-“संसारका कुनै पनि सजीव तथा निर्जीव वस्तुलाई प्रेम गर्नु ,घृणा गर्नु आँखाले नै सिकाउँछ। आह्रिसको घोडा चड्नु ,डाहको राँको बाल्नु पनि आँखाले नै सिकाउँछ। ...मनले कसैलाई खानु भनेको आँखाले खाएर पचाइसकेको स्थिति हो। अत: मनमा पुग्नालाई आँखाको साँघु तर्नै पर्छ। आँखाका मञ्चमा रमाएर उफ्रनै पर्छ।’
निबन्धकारले आँखालाई भावुकताको प्रतीक मानेका छन् अनि ऐनामा ‘आफ्नो आँखाले आफैलाई हेर्ने सौभाग्य दिएनछन् ईश्वरले’ र ‘ईश्वर यदि छन् भने’ भन्दै दुईवटा प्रश्न गरेका छन्-
क. आँखालाई आँखाबाटै लुकाउने राजनीति कसले सिकायो हँ?
ख. आँखाले आँखासँग आँखा लगाउने दुर्नीति कसले फैलायो हँ ?
तर निबन्धकारको उपर्युक्त ईश्वर सापेक्ष कथनमा ईश्वरप्रति विश्वास र अविश्वास दुवै समन्वित भएकोले उक्त कथनमा विरोधाभास पनि देखिएको छ।
निबन्धकार आफू तामाङ भए तापनि उनका चिम्से आँखा देखेर ‘तपाईँ राई हुनु हुन्छ?’ भनेर सोधिएको प्रश्नबाट श्रीगणेश भएर ‘तपाईँ त ठ्याक्कै! राईजस्तो हुनु हुन्छ।’ भन्ने भनाइबाट इतिश्री भएको पाइन्छ ‘आँखा’ निबन्ध ।
सङ्ग्रहको चौथो निबन्ध हो ‘चस्मा’। यस निबन्धमा आँखामा लगाउने चस्माको माध्यमबाट केही दर्शन र चिन्तन अभिव्यक्त भएको पाइन्छ। आँखामा लगाउने साधारण चस्माबारे लेखिएको निबन्धले आँखाले देखेका जति मात्र राजनीति हुँदैन तर बोक्राभित्र नदेखिएका कैयौँ केस्राहरूमा राजनीति लुकेको हुन्छ भन्छ। निबन्धकार लेख्छन् –‘तपाईँ आकाशकै राजनीति हेर्नुहोस् न कति ठाउँबाट कतिवटा आँखाले हेर्छन् तर देखिसकिएको छ डल्लै आकाश? अहँ!यही हो राजनीतिको मुखुन्डो।’
चस्माको चर्चामा धेरै प्रसङ्गहरू जोड़िदै जोड़िदै गएर राजनीतिदेखि लैङ्गिक विभेद,रङ्गभेद,केन्द्र र किनारा,भाषाको राजनीतिको प्रसङ्ग आदिलाई सुमसुम्याउँदै तथा चस्माबाट हेरेर देखिएका समाजको मनोविज्ञान,जीवनका पहाड़ र खोल्सा,बचाइँको लङ्गड़ो दिन र रात,विचारको तरङ्गित मानचित्र उल्लेख गर्दै एउटा साधारण चस्मालाई गहन थोकहरू देख्ने सोच र विचारको प्रतीकका रूपमा पनि उभ्याइएको प्रतीत हुन्छ।
पाचौँ निबन्धको शीर्षक छ – नाक। नाकको अर्थ घ्राण अङ्ग अथवा घ्राणेन्द्रियमात्र लाग्दैन तर इज्जत,मान-प्रतिष्ठा पनि नाकले राख्ने हुनाले नाकले थाम्नुपर्ने मर्यादाको भारी धेरै गह्रौँ हुन्छ। त्यसैले नाक काट्नु,नाकमा ठेस लाग्नु,नाकमा गुहु लाउनु भन्नाले इज्जत फाल्नु,बेइज्जती हुनु र इज्जतमा धक्का पुग्नु बुझिन्छ तर नाक ठाड़ो पार्नुले गौरव गर्नु सिकाउँछ । चिरिच्याँट्ट परेको नाकले अनुहारको सुन्दरता बढ़ाएको हुन्छ। त्यही अनुहारमा ढ्याब्रो नाक छ भने ऐना पनि नहेरूँ नहेरूँ जस्तो लाग्छ । यसै घ्राणेन्द्रियको विशेषतालाई आत्मपरक ढाँचामा राखेर सङ्क्षेपमा केलाइएको छ ‘नाक’ निबन्धमा ।
घ्राणेन्द्रिय अर्थात् सुँघ्ने वा सुँघेर वस्तुको गुण थाहा पाउने इन्द्रिय नाकबारे लेखिएको यस निबन्धमा नाकको अनुसन्धान गर्दै निबन्धकार नाकका प्रकार र महत्त्व दर्शाउने र बुझाउने चिन्तनमा लागिपरेका देखिन्छन् । निबन्धकार लेख्छन् –“....जात र थरको आधारमा फेरि नाकको आख्यान रोप्नु त फजुल हुने हो कि!... नाकले नै मान्छेको इज्जत राख्दोरहेछ। नाकले नै वंश परम्परा तथा मर्यादाको लाज ढाक्दोरहेछ तर स्वास्नीले देखेको मेरो ठूलो नाकले भने आजसम्म केको इज्जत ढाक्यो पत्तो छैन।”
नाकको महिमा दर्शाए तापनि निबन्धकारले नाकलाई घृणाको प्रतीक पनि मानेका छन्।उनी ‘मान्छेको नाक उसको घृणा गर्ने प्रवृत्तिसँग सम्बन्धित रहेको हुन्छ’ पनि भन्छन्।
छैटौँ निबन्धको शीर्षक छ-‘दाइको पारदर्शी मुख’। सङ्ग्रहमा समाविष्ट अन्य निबन्धको तुलनामा केही भावनात्मक देखिने यस निबन्धमा निबन्धकार दिपेन तामाङले ‘दाइ’ सम्बोधन कसलाई गरेर लेखेका हुन्(?) भन्ने प्रश्न स्वत: जाग्छ । मभित्र पनि जिज्ञासा जाग्यो र निबन्धकारलाई सोधिपठाउँदा उनले आफूभन्दा उमेरमा जेठो सहपाठी/सहकर्मी दाजुसित समय समयमा आफ्ना पुर्खा र वर्तमान पुस्ताबारे गरिएका भलाकुसारीबाट यस निबन्धको बीज प्रस्फुटित भएको कुरो ज्ञात भयो । सहकर्मीसित गरिएका कुराबाट तीन पृष्ठको मीठो निबन्ध जन्मिएको छ । निबन्धले भन्छ-“भ्रष्टाचार र इमान्दारी आडम्बर र व्यावहारिकताका दुईवटा गोजीमा पोको परेको छ। व्यावहारिक जीवन चाहनेले इमान्दारीको ठुट्टे झन्डा बोकेर हिँडिरहेको छ। भ्रष्टाचारको गोजीमा पालिएको आडम्बरलाई अन्त गर्नु पुर्खाको दोकान थापिरहेछ, पुर्खाको रगतले जोतेको खेतबारी र आफूहरूले जोतेको जिन्दगीको खेतबारीमाझ ठूलो हवाङ परिसकेको छ । बाजे र बाजेको पनि बाजेको इतिहासको खोस्टा केलाएर हामी बाजेजस्तै वीर हौँ भन्नु बाजेहरूको आङमा बन्दुक राखेर समयलाई मार्नु खोजिएको जस्तो मात्र हो। तर समय मर्ने चिज होइन।’
यस निबन्धमा व्यक्त व्यक्तिनिष्ठ चिन्तनमा गहनता छ । निबन्ध विधा सर्जक दिपेन तामाङलाई खुबै मनपर्ने विधा रहेछ। उनलाई शङ्कर लामिछानेका निबन्धहरूले अति नै प्रभावित पारेका छन् । निबन्धकार शङ्कर लामिछाने र उनको निबन्धात्मक शैलीले धेरै आकृष्ट गरेकाले गर्दा निबन्धकार दिपेन तामाङका निबन्धहरूमा त्यो छाप प्रस्ट देखिन्छ। लघु रूप र आकर्षक लेखनशैलीले गर्दा एक बसाइमा पढ़िसिद्ध्याउने निबन्धसङ्ग्रह बनेको छ ‘दृष्टिभेद’।
सङ्ग्रहको सातौँ निबन्धको शीर्षक छ-‘मुख’। मुखको चरित्र नै विचित्रको लागेको ठान्ने निबन्धकारलाई मुखको पहिलो काम खानु र दोस्रो काम बोल्नु लाग्छ। उनको मुख सम्बन्धी धारणा मनभित्र आन्दोलित हुँदै निबन्धमा अभिव्यक्त हुन पुगेको छ। मुखको मुख्य काम बोल्नु हो तर मान्छेको मुखले कसरी बोलिपठाउँछ(?) सो मुख विषयक निबन्धले भन्छ –“कोही बलेँसीबाट तप्केको पानीजस्तो तपतप गर्दै बोल्ने हुन्छ। कोही पाइखानामा कन्ट्रोल हुन नसकेको पखालाजस्तो
फ...ट...ट...ट... बोल्ने हुन्छ।कोही कन्जुस गर्दै आउने नगरपालिकाको पानीजस्तो हुन्छ। कोही चटचट काट्ने धारिलो छुराजस्तो धारिलो हुन्छ। कोही ठ्याक्क भाँचिएको भकिमिको(भकिम्लो/भकी अमिलो?)काठ भाँचिएको जस्तो बोल्ने हुन्छ। कोही घाउमा नून छर्केजस्तो पोल्ने हुन्छ। कोही भने त्यही घाउलाई शीतल दिने मलमजस्तो हुन्छ।.....यो विचित्रको मुख हेर्दा कहिले आदिम ओढारजस्तो देखिन्छ भने कहिले दैलोजस्तो । दैलोजस्तो घरि खोलिने घरि बन्द हुने यो मु खले एक पावा अरूको जाती कुरा गरेर तीन पावा खिसिट्युरी गर्छ। एक इन्च फुर्क्याएर एघार इन्च सुर्काउँछ। कोही बेला आरा काटेको जस्तो अरूका कुरा घ्यार घ्यार काटिबस्छ। कहिलेकाहीँ स्याप्टो सुकुन्जेल स्यालजस्तो हयाऊ हयाऊ कराई रहन्छ । ”
मान्छेको मुखको आकार-प्रकार,महत्त्व-महिमा र चर्तिकला आदि केलाउँदै लेखिएको लगभग तीन पृष्ठको यस निबन्धमा वक्रोक्तिपूर्ण भाषाको प्रयोग पाइन्छ।
आठौँ निबन्धको शीर्षक छ ‘लोग्ने मान्छे यस्तै हुन्छ’। लोग्ने मान्छे हुनुको कठोरता र निर्भीकता अनि स्वास्नी मान्छे हुनुको कोमलता र हार्दिकता विषयक परिभाषाहरूमा लोग्ने र स्वास्नी मान्छेमाझको पार्थक्य दर्शाउने सोच हत्तपत्त नमर्दो रहेछ। त्यसैले नारी सशक्तीकरणको धारणा जन्मिन्छ कि?तर नर र नारी अर्थात् लोग्ने र स्वास्नी मान्छेका समानान्तर हिँड़ाइ,बुझाइ र हातेमालोमा नै पारिवारिक सम्बन्ध गाढ़ा हुन्छ तर घरप्रतिको माया र मोह टाढा हुँदैन। स्वास्नी मान्छेलाई रोएको बेला कमजोर देखिन्छ। तर लोग्ने मान्छेलाई त्यसरी स्वास्नी मान्छेजस्तो रोएको देखिँदैन। उ भित्रभित्रै रोएको,कसैले नदेख्ने ठाउँमा गएर भक्कु आँसु झारेको उसलाई मात्र थाहा हुन्छ । खुलस्त अभिव्यक्ति दिन सक्दैन उ । लोग्ने मान्छे त्यस्तै हुन्छ भन्ने चिन्तन र चिन्तालाई यस छोटो निबन्धमा प्रस्ट पारिदिएका छन् निबन्धकारले । लोग्ने मान्छे ’जिन्दगीको अग्लो भिरबाट झरेर कोही बेला बाटामा ठोक्किएको अभिनय गर्दै घरभित्र पसेको हुनुपर्छ। रोएर,पोलेर आत्मा नै भष्म हुँदासमेत आँखाका डिलबाट खुसीका धर्साहरू कोर्दै राम बन्न बाध्य बनेको हुनुपर्छ। नत्र भए रक्सीसंग दु:ख पीर गीत गाउने नारायण गोपाल भएको हुनुपर्छ। त्यसरी तर चुपचाप चुपचाप जिन्दगीको कपमा दु:खहरू, भोगाइहरू आफैमात्र पिउँदै बसिदिनाले स्वास्नीहरू ठान्दारहेछन्-‘यी लोग्ने मान्छेहरूलाई कुनै सुर्ताको आगोले पोल्दैन। परिस्थितिको कुनै सिस्नुले चिल्दैन। पत्थरजस्तो यिनीहरूको मन कुनै बज्रपातले टुट्दैन । पृथ्वी हल्लाउने भुइँचालोले नहल्लिने यिनीहरूको मन’।
यसरी निबन्धमा निबन्धकारभित्रको लोग्ने मान्छे छटपटिएको छ र अझै छटपटिँदै
जान्छ-‘लोग्ने मान्छे हुनुको घमण्डले हो मैले यी आँखाका परेलीलाई कहिले मनका पानी हालेर भिजाउन सकेको छैनँ। मेरा मनका शब्दहरू कहिल्यै ओठको बाटो भएर उक्लँदैनन्। शब्दहरू मनका मनमै ढलक-पलक गरिरहन्छन्। रिस,आह्रिस र इखमा जति नै मनमा शब्दहरूले महायुद्ध छेडे पनि ती घाँटीको नली भएर तिम्रोअघि फुट्दै फुट्दैनन् । .....स्वास्नी! जतिखेर तिमीलाई एउटी आमा बन्ने चाहले मकै भुट्छ नि त्यतिखेर तिमी ठान्दी हौ- ‘यही वेदना हो जिन्दगी बाँच्नेहरूले झेल्नु परेको सबैभन्दा गतिलो वेदना।’ तिमी मकैझैँ भुटिँदा तर म तिम्रो त्यो भुटिने भाँडा भइरहेको हुन्छु... र जिन्दगीको अगेनामा पीडाको रापले म जति सल्किरहेको हुन्छु त्यो तिम्रो छोरो जन्माएपछि सकिएको वेदनाभन्दा कैयौँ गुणा रापिलो हुन्छ। तर तिमीलाई भने त्यसको कुनै रापले पोल्दैन किनभने त्यतिबेला तिमी अलौटा हुनमा मस्त हुन्छौ। तिम्रै छेउमा म भने ठेटनासरी अनुहारमा कालो रङ्ग धसेर बसिरहेको हुन्छु।’
लोग्ने मान्छेको मनभित्र आन्दोलित अव्यक्त पीड़ा र चिन्ता सल्किएको निजात्मक अनुभूति निबन्धमा अभिव्यक्त भएर निबन्धकारको संवेदनशीलता र अन्तर्द्वन्द्व झल्किएका प्रतीत हुन्छ । लोग्ने मान्छेको साझा अनुभूति यस्तै यस्तै त नहोलान् तर कही कतै केही न केही चाहिँमा सादृश्य पाइएला भन्ने सोचलाई भने नकार्न सकिन्न। निचोड़मा लोग्ने र स्वास्नी मान्छे तर एक अर्काका सम्पूरक नै हुन् सोचाइमा पृथकता देखिए तापनि । यस निबन्धमा भावुकता धेरै बहेको महसुस हुन्छ। हुन ता संवेदनशील र भावुक बनिएन भने सिर्जना सहजै प्रवाहित हुँदैन पनि। लोग्ने र स्वास्नी मान्छे विषयक यस निबन्धमा निबन्धकारले मनभित्र गाड़िएका दुखाइ र भोगाइबाट प्रादुर्भूत संवेदनशीलतालाई आंशिक रूपमा भए पनि दर्शाइदिएका छन् ।
‘दृष्टिभेद’-मा सङ्कलित नवौँ निबन्धको शीर्षक छ ‘दाँत’। मानव शरीरका अवयवहरूमा एउटा मुख्य अवयव दाँतबारे लिखित यस लघु निबन्धले ‘टोक्ने,चबाउने,पक्रिने,र च्यात्ने उत्तरदायित्व पालन गर्नु दाँतको धर्म र कर्म दुवै हुन्, दाँतले मान्छेको सौन्दर्य बढ़ाउँछ,दाँत मान्छेको बचाइसँग पनि जोड़िएर आएको छ भन्ने कुरा पनि गर्छ। निबन्धले भन्छ-“पिजा,बर्गर आदि चबाउने दाँत हेर्नोस् अनि हेर्नोस् रोटी र ढुङ्गासरिको भात चबाउने दाँत। तिनीहरूका पाटाहरू तिनै मिरिरि मिलेका मोतीदानाजस्ता र भत्किएका ढुङ्गाका बाङ्गो टिङ्गो देवलजस्तै देख्नु हुन्छ। ....दाँतले हाकिम र नोकरजस्तो भूमिका निभाई रहन्छ। एक किसिमले यसले पद,मान,प्रतिष्ठाको वकालत गरिबस्छ । .... मान्छेको बलियोपन भनेको बैँसको बेला नै हो। त्यतिका बल अरू कुन बेला देखिएला त ? त्यसैले यो दाँत र बैँस एउटा एउटै हो। दाँत हुँदा चबाउनु र बैँस हुँदा बलियो हुनु उस्तै उस्तै हो।”
यसरी ‘दाँत’ लघु निबन्ध दाँतको महिमा गाउँदै सरल भाषामा लेखिएको पाइन्छ।
दसौँ निबन्धको शीर्षक छ ‘बन्धन’। झ्यालखान,बन्दिगृह,प्रतिबन्ध,रोकावटजस्ता शब्दहरू बन्धनका पर्यायका रूपमा अवतरित छन् शब्दकोशीय अर्थहरूमा ।तर ‘कुनै पनि समय कसैलाई केही गर्न देखि वञ्चित राख्नु नै बन्धनको मूल कार्यार्थ हुँदो रहेछ। यस्ता बन्धन विषयक कुरालाई उल्लेख गर्दै निबन्धकारले परिबन्द र बन्धनको भिन्नता पनि छुट्याउँछन् । निबन्धकार लेख्छन्- “परिबन्दले न त मान्छेलाई पालेको कुकुरले जस्तो सधैं पछ्याई रहन्छ; न बाँसको मुनालाई काउसोसरि खोस्टाले जस्तै घेरी नै रहन्छ। यसको विपरीत बन्धनले भने मान्छेको जन्मपूर्वदेखि मृत्युपर्यन्त नछुट्टिने गरी गौशालामा गोरुलाई बाँधेको जस्तो बाँधेर राखेको हुँदोरहेछ।” ‘बन्धन’ शब्दको निहुँमा निबन्धकारले आफूभित्र विस्तारित वैचारिक फाँटलाई अँगालुदै आमाको पेटमा रहेको बेलादेखि तीस काटिसकेको उमेरमा दृष्टिगत रहेका तल-माथिहरू,दाम्पत्य जीवनका बन्धनहरू प्रभृतिलाई केलाउँदै निजात्मक रूप दिने कोशिशमा विषयदेखि केही टाढ़ा पुगेको भान हुँदछ ‘बन्धन’-मा निबन्धकार । यद्यपि निबन्धमा कवितात्मकता पनि भेटिन्छ। निबन्धकारले लेखेका छन् –‘ ज्ञात चैन,मेरी आमाको त्यो लात्ते भकुन्डे पेटमा म जब आइपुगेको थिएँ त्यतिखेर स्वयम् पृथ्वीजस्तो गोलो पेट बोकेर हिँडेकी लाग्ने मेरी आमा ले मलाई कुन लिङ्गको रुप माँ ढुङ्गाको ईश्वर लाई दुई हात जोडिन् । ज्ञात छैन,आपपा ले मागमग सुक्पा धूप को दंदन धुवाँ घरको चार कुना फैलाएर आफ्नो कुल देवता अघि कुन लिङ्गको कामना गर्न शिर झुकाए।”
छोरी-छोरी जन्माएपछि छोरो जन्मियोस् भन्ने वाञ्छा पालेका मातापिताका मनभित्र लुकेका कामनाहरूलाई निबन्धकारले राम्ररी पर्गेल्दै आत्मपरक रूपमा दर्शाएका छन् लाग्छ
‘बन्धन’-मा ।
‘दृष्टिभेद’-मा सङ्गृहीत एघारौँ निबन्ध फेरि अङ्ग विषयक रहेको छ,जुन निबन्धको शीर्षक राखिएको छ ‘हात’ । सुन्दर शैलीमा हातको महिमा गाइदिएको प्रस्ट हुन्छ निबन्धमा । हातको महत्त्व र महिमा दर्शाउँदै निबन्धकारले आफ्ना हातले छोएर पाएका हातहररूको कम्पन सम्झन्छन्;जसमा विशेष(१)प्रेमिकाको हात(२)श्रीमतीको हात(३)छोरीको हात पर्छन् । निबन्धकार लेख्छन् –“यी हातहरूको स्पर्श नथेग्नेहरूले जिन्दगीबाट ‘ग’(गहिराइ) नै हराइपठाएको छ भन्छु । लाग्छ –यसभन्दा उताका हातहरूका स्पर्शबाट शान्तिको चूचुरामा पुग्ने ठाउँ छैन।”
हात विषयक यस निबन्धमा निबन्धकारभित्रको दार्शनिकता झल्किन्छ। अङ्ग विषयक निबन्धहरूमध्ये टड़्कारो निबन्धात्मक शैली पाइन्छ ‘हात’-मा। मीठो आरम्भबाट विस्तारिएर मीठो अन्त्य भएको पाइन्छ ‘हात’–मा। सरल भाषाशैलीयुक्त निबन्ध पढ़्नेलाई प्रभावकारी लाग्छ । मान्छेको मनोभावको मञ्चमा नाच्ने नर्तकी र मनोदशाअनुकूल अभिनय गर्ने अभिनयकर्ताका रूपमा हातलाई परिभाषित गर्दै निबन्धकारले हातलाई ‘मागी खाने भाँडो,खटी खाने मार्तोल र जिन्दगीको भाग्य चम्काउने ब्रासो’ पनि ठानेका छन्।
हातका दुई प्रकारलाई निबन्धकारले यसरी प्रस्ट पारिदिएका छन्-
१. ‘शरीरसँग टाँसिएको हात’ र
२. ‘भाग्यको खोलसँग गाँसिएको हात।’
‘यी दुईवटै हात हुने र नहुनेहरूले बनिएको छ यो संसारको हात’।
यसरी अङ्ग विषयक निबन्ध लेखनमा पोख्त देखिन्छन् निबन्धकार दिपेन तामाङ । निबन्धको रूप लघु भए तापनि निबन्धात्मक छाप छोड्नमा उनी सफल र सक्षम भएका छन्।
सङ्ग्रहको बाह्रौँ निबन्धको शीर्षक छ ‘सन्बन्ध’। यस निबन्धमा सम्बन्धको प्रभेद र प्रकरण प्रभावोत्पादक शैलीमा मुखरित भएको लाग्छ। मान्छेमात्र यस्तो विवेकशील प्राणी होला जसले सन्बन्धको भुइँदेखि आकाशसम्मकै यात्रा गर्दछ र अर्थ लगाउँछ भन्दै सम्बन्धका त्यान्द्रा र लहरा, रसका परिकार र बेस्वादका खोराकलाई पनि इङ्गित गर्दै सम्बन्धबारे आफ्ना वैचारिकता खुबै राम्ररी दर्शाइदिएका छन् यस निबन्धमा। सम्बन्ध मान्छेको चेतनाकै उपज हो भन्ने कथनलाई अग्रसारित पारेर लिखित यस निबन्धमा निबन्धकारको भावनात्मकता प्रबल भेटिन्छ। सम्बन्ध शब्दको अर्थलाई उज्जर पार्ने क्रममा सम्बन्धलाई चुइगमसित तुलना गरिदिएका छन् । निबन्धकार लेख्छन्- “...यो सम्बन्ध चुइगमभन्दा कम छैन। स्वाद हराएर वेस्वाद(बेस्वाद?) भइन्जेल मुखभित्रै राखेर खेलाई रहेको जस्तो गरी सम्हाल्दै राख्न पनि सकिने,जिभ्रो र दाँत सहायताले ठुला-साना फकुन्डा बनाउँदै प्याट्ट फुटाएको जस्तो फेरि बनाउँदै-भत्काउँदै गर्न पनि सकिने। हातका औँलीले त...न...न तन्काएर लामो पुलजस्तै बनाउन पनि सकिने,चुँडिएपछि धागोजस्तो जोड्न पनि सकिने। र वाक्क लागेपछि डल्लो पारेर नालीमा फ्यात्त फ्याँक्न पनि सकिने। ‘यूज एन्ड थ्रो’ वस्तुजस्तो।’
सम्बन्धबारे गरिएको निबन्धकारको उक्त तुलना कतिलाई अतिशयोक्ति लाग्न सक्छ।तर निबन्धकारको यस जोखाइमा सत्यता छँदै छैन भनिहाल्न पनि सकिन्न। सम्बन्धको विविध पाटाहरूलाई लगभग चार पन्ने निबन्धमा निबन्धकारले राम्ररी मुर्त्याएका छन् भन्नुपर्छ।
तेह्रौँ निबन्धको शीर्षक छ ‘साहित्य र म’। यस छैटौँ निबन्धमा निबन्धकार दिपेनलाई धेरै निराशित पाएँ। हीनताबोधले ग्रसित पनि पाएँ । शुरु शुरुमा लेखेर पठन गर्दा र छपाउँदा कस्तो भयो र के लेख्न सकेँ,कतिलाई मन प-यो परेन, थपड़ी बजे तापनि मन पराएर कि त्यसै हौसला दिनलाई बजाएको सर्जकलाई लाग्नु स्वाभाविक हो। केही हीनताबोध हुनु पनि स्वाभाविक नै मान्नु पर्छ। यस्तै स्थितिले व्यग्रता सृजित भएको देखिन्छ निबन्धमा । साहित्य पढ़ने र गर्ने मान्छेले जस्तोसुकै भडकिलो लुगा लगाउनु हुँदैन भन्ने कसैको सोचले निबन्धकारलाई घोचेको प्रतीत हुन्छ। निबन्धकार लेख्छन्-“अहिले सम्झना भइरहेछ शङ्कर लामिछानेको जसलाई म एब्स्ट्र्याक्टको अर्थमा दिमागमा पाल्छु। मलाई उनीजस्तै एब्स्ट्र्याक्ट हुन मन लाग्छ, तर त्यसभन्दा पूर्व नै भनिदिन मन लाग्छ प्याच्च!’पहिरनले साहित्य पाक्दैन। साहित्य त ज्ञान-गुणका कुराहरूको अगुल्ठो झोसाइले पाक्छ।जीवनलाई रङ्गीन पार्नाले पाक्छ। पहिरन त इच्छा र रहरको प्रतिच्छाया मात्र नै हो । रहन-सहनको प्रतिविम्बमात्र न हो”।
निबन्धकार दिपेन तामाङलाई साहित्य मनोरञ्जनको साधानमात्र लाग्छ। यथार्थ ठानेर पनि यथार्थ नभएको जस्तो,जसले एक क्षण भावुकताको आकाशमा पुर्याउँछ अनि तत्कालै थेचार्छ वास्तविकताको धरातलमा । तर साहित्यजस्तो महाशान्तिमय फाँट अरू कुन होला र ? मलाई सोध्न मन लाग्छ।साहित्यले मनोरञ्जन दिन्छ तर साहित्य जतिको सम्मानीय तीर्थ-स्थलझैँ अरू केही पनि छैन भन्नु पर्छ। ‘साहित्य र म’-मा दिपेन तामाङभित्र विराजित निबन्धकारले केही तिक्तता अनुभव गरेको विचार निबन्धका रूपमा व्यक्त गरेझैँ लाग्छ।
चौधौँ अर्थात् सङ्ग्रहको अन्तिम निबन्ध फेरि अङ्ग विषयक नै रहेको छ,जसको शीर्षक छ ‘खुट्टा’। अढ़ाइ पन्ने यस निबन्धमा ‘खुट्टा’-बारे निबन्धकारको दार्शनिक पक्ष पनि दर्शिएको छ। उनी निबन्धको शुरुआतमा नै लेख्छन् –“सभ्यताको इतिहासले बताउँछ खुट्टाको दर्शन। संसारको पत्तो मान्छेको चेतले लगाएको भ्रान्तिमा हामी बाँचिरहेका छौँ। वास्तवमा संसारको आन्द्रा-भुँडी केलाएर अर्थ लगाउनमा टाउकोले जति स्थान ओगट्छ त्योभन्दा धेरै खुट्टाले ओगेटेको हुन्छ भन्ने धारणा मसँग छ।”
अझै लेख्दै जान्छन् निबन्धकार –
“खुट्टा जिन्दगी हो।जिन्दगी खुट्टा हो।”
“खुट्टै खुट्टाले बनिएको यो संसार। खुट्टाले जति डोर्याउँछ,त्यतै जाने मात्र हामी।”
“टाउकोले जिन्दगीको अटेसमटेस भारी बोकेको अभिनय गर्छ मात्र। खुट्टाले तर त्यसको र शरीरसँगै दोब्बर भारी बोकेर हिँड्छ । अमेरिकको पत्तो त्यसैले कोलम्बसको टाउकोले होइन,उनको खुट्टाले लगाएको हो।”
“एउटा मान्छे मर्छ ऊसँगै एकजोडी खुट्टा मर्छ। एउटा पशु,एउटा उद्भित(उद्भिद्?) मर्छ,त्योसितै त्यसका खुट्टा पनि मर्छन्। त्यसैले खुट्टा जिन्दगी हो। श्वासहीन जिन्दगी।”
“भुइँको अस्तित्व बाँचेको नै खुट्टाको भरले। खुट्टा नहुँदो त भुइँ मरेको भइसक्नेथ्यो।”
“घरको खुट्टा छ,त्यसै र त्यो घर,घरको अर्थ बोकेर उभिरहेको छ । रुखको खुट्टा छ र नै त्यो रुख भएर बाँचिरहेको छ। त्यस्तै खुट्टाकै अस्तित्वले बाँचेको सम्पूर्ण प्राणी-जगत् हाम्रा आँखामा नाचिरहेछ अप्रत्याशित उहिलेदेखि। अनन्त। ”
यसरी खुट्टाको महिमा र महत्त्व,प्रकार र प्रयोजन दर्शाउँदै अढ़ाइ पृष्ठमा लिखित ‘खुट्टा’ शीर्षकयुक्त निबन्ध पठनीय लाग्छ। अङ्ग विषयक ‘खुट्टा’-मा निबन्धकारका खुट्टाबारे विचार र दर्शन जान्न सकिन्छ।

उपसंहार
मुख्यत: सातवटा शारीरिक अङ्गहरू विषयक रहेका निबन्धहरूसित अन्य विषयक सातवटा निबन्धहरू थपिएर मोठ चौधवटा निबन्धहरूको रमाइलो समागम बनेको ‘दृष्टिभेद’ एउटा पठनीय निबन्धसङ्ग्रह हो । ४७ वटा मीठा कविताहरूको सङ्ग्रह ‘इच्छावृत्ति’ छपाएर कविका रूपमा दह्रो देखा परिसकेका दिपेन तामाङकृत ‘दृष्टिभेद’-ले ६२ पृष्ठ मात्र ओगटेको भए तापनि निबन्धलेखनमा पनि दिपेन तामाङले उज्यालो पक्ष धेरै देखाएका छन्। तर किन र कसरी हो उनका कवितासङ्ग्रह र निबन्धसङ्ग्रहबारे चर्चा र विश्लेषण भएका त्यति देखिएनन्। धेरै लामो अन्तरालपछि भए पनि आज उनका कृतिहरूबारे सङ्क्षेपमा भए तापनि यसरी चर्चा र विश्लेषण गर्ने धृष्टता नै गरियो।
‘दृष्टिभेद’-मा प्रयुक्त भाषा-शैलीमा मिठास छ। कवितात्मकता पनि छ। तर ‘दृष्टिभेद’-मा भाषाशैलीगत मिठास र कवितात्मकता हुँदा हुँदै आगन्तुक शब्दहरूको कोड मिश्रण पनि भएको पाइन्छ । निबन्धहरूमा एक्सक्युज,जुबान, फजुल ,वेवास्ता,माइलेज,डस्ट,ट्याक्स फ्री,
मल्टिक्यारक्टर,कन्ट्रोल,सर्टिफिकेट,टाइट भेस्ट,यूज एन्ड थ्रो,अफिस,पोलिसी आदि आदि शब्दहरू
प्रयोग भएका छन् ।लेखनमा अन्य भाषाका शब्दहरूको कोड मिश्रण हुनु अनुचित नसोचिएला विश्व एउटा गाउँ बनिसकेको समयमा ।यद्यपि नेपालीमा विकल्प भएका शब्दहरूको स्थानमा आगन्तुक शब्दहरूको प्रयोग उचित सोचिन्न। लेखनमा कोड मिश्रण अति कम भएकै राम्रो । भाषामा अधिक साक्खेपन बसेकै राम्रो ।
‘मुख’ निबन्धमा प्रयुक्त वाक्य “कोही पाइखानामा कन्ट्रोल हुन नसकेको पखालाजस्तो फ...ट...ट...ट... बोल्ने हुन्छ”-लाई हेरौं । यस वाक्यमा ‘पखाला’ प्रयुक्त भएपछि ‘पाइखानामा’ नलेखिएको भए राम्रो हुन्थ्यो अनि कन्ट्रोलको स्थानमा ‘नियन्त्रण गर्न नसकेको पखालाजस्तो’ अथवा ‘रोक्न नसकेको पखालाजस्तो’ लेखिएको भए झनै राम्रो हुन्थ्यो कि? ‘पाइखाना’ र ‘कन्ट्रोल’-जस्ता शब्दहरूको सहयोग यस वाक्यमा स्वागतयोग्य लाग्दैन ।
‘बन्धन’ निबन्धमा एक ठाउँ यस्तो लेखिएको पाइन्छ-“शब्दकोशीय अर्थअनुसार बन्धनको शाब्दिक अर्थ अनेकन् फेला पर्दछन्”। यस एउटा वाक्यमा दुईवटा ‘अर्थ’ शब्द प्रयोग भएका छन्। “शब्दकोशीय अर्थअनुसार”-को स्थानमा “शब्दकोशअनुसार”लेखिएको भए राम्रो हुन्थ्यो कि? यद्यपि निबन्धहरू चाखलाग्दा नै बनिएका छन्। निबन्धहरूमा कहीँ निबन्धकारमा अन्तर्निहित भावनात्मक मूल्य र मान्यताका सङ्केतहरू औँलिन्छन् । कहीँ वैचारिक तीव्रता र संवेद्यता प्रवाहित हुन्छन्। निबन्धकारले भावुकतालाई झोलङ्गे पुल मान्छन् र त्यसमा क्रमश: हल्लिरहनु उपद्रे बालकजस्तो मानिनु वा विशुद्ध पागल व्यक्तिको लेबल टाँसी माग्नु भए तापनि उनी जिन्दगीमा हल्लिनु जीवनको अर्को दर्शन पनि ठान्छन् ।
उम्दा कविताहरू लेखेर एउटा सङ्ग्रह छपाएर बसेका कवि दिपेन तामाङ एक्कासि
कवितालेखनलाई तिलाञ्जलि नै दिएजस्तो गरी गैर-आख्यानलेखनतर्फ अभिमुख भएर
लागिपर्छन्। उनीभित्रको कवि बाक्लो गैर-आख्यानलेखनभित्र निसासिए कि ? बालसाहित्यको सैद्धान्तिक पक्ष गहिरिएर केलाएपछि उनीभित्रको अध्येता-रूप फेरि एक्कासि रूखो विधा निबन्धतर्फ लागिपरेर निबन्धकारमा रूपान्तर हुन्छन्।
डा. दिपेन तामाङ कविदेखि शोधकर्ता ,अध्येता बनेपछि निबन्धकारका रूपमा देखा परेका छन्। ‘दृष्टिभेद’ लेखेर,छपाएर निबन्धलेखनमा पनि खप्पिस देखिएका डा. दिपेन तामाङले उनी भित्रको पोख्त कविलाई सन्यास नै दिएझैँ अब फेरि उनीभित्रको खप्पिस निबन्धकारले भने सन्यास नलिऊन् भन्छु म । उनका निबन्ध र निबन्धकारिताबारे सङ्क्षेपमा चर्चा गर्दै यति लेख्न सकेँ । अरूले अझ धेरै लेखेर उनलाई आफ्ना लेखनमा निरन्तरता दिन बाध्य गराउने छन् भनी म आश्वस्त छु।पुछारमा यति नै भन्छु-“अध्येताको सत्ताले सर्जकसत्तालाई नथिचोस्”।
डाउहिल, खरसाङ, भारत।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।