संस्कृत साहित्यमा साहित्य अकादेमीको युवा साहित्य पुरस्कार प्रापक युवराज भट्टराई नया दिल्ली का वासिन्दा हुन्। उनि संस्कृत व्याकरणका स्नातकोत्तर अनि विद्यावारिधिको सम्मान पनि प्राप्त हुन्। उनको हिन्दी र नेपाली भाषामा पनि राम्रो दखल रहेको छ। नया दिल्लीमा आकाशवाणी र दूरदर्शनको संस्कृत अनुष्ठानमा अंशकालीन रूपमा कार्यरत छन्। आकाशवाणी र दूरदर्शनमा विभिन्न मूर्धन्य मनीषिहरू, कविहरू, आचार्यहरू, प्रसिद्ध बुद्धिजीवीहरूका साथ बहुचर्चित साक्षात्कार लिने र सम्पादन गर्ने कार्यहरूमा पनि संलग्न रहँदै आएका छन्। आकाशवाणीको संस्कृत साप्ताहिकी र डीडी न्यूजको वार्तावली कार्यक्रमको प्रवर्तनका प्रारम्भिक सदस्यका रूपमा पनि उनले महत्वपूर्ण योगदान पुऱ्याएका छन्। उनले नेपाली भाषामा अनुवाद गरेको पण्डितराज जगन्नाथ कृत गङ्गालहरीको पद्यानुवाद गुजरात सरकारका तर्फबाट प्रकाशनाधीन छ। उन्ले दिल्ली सहित देशका प्रतिष्ठित महाविद्यालय, विद्यालय, संस्कृत अकादेमी साहित अनेकन् संस्थाहरूमा संस्कृत, हिन्दी र नेपाली भाषामा काव्य पाठ पनि गरेका छन्। उन्ले साहित्य अकादेमीको युवा पुरस्कारका अतिरिक्त वाग्योग चेतना पुरस्कार, विद्वद्भूषण पुरस्कार र एनसीसी अचीवर अवार्ड पनि प्राप्त गरेका छन्। उनका प्रकाशित कृतिहरू हुन् क) वाग्विलासिनी, ख) मनोनुरञ्जिनी, ग) तनीयसी, घ) कुमुदिनी र नेपाली भाषामा ङ) अन्तर्नाद। उनीसंग गरिएको साहित्यिक कुराकानी-
वैद्यनाथ उपाध्यायः तपाईको लेख्नेक्रम कहिलेबाट र कसरी सुरू गर्नुभयो?
युवराज भट्टराईः मेरो लेखनप्रक्रिया एक काल्पनिक दृष्टिकोणले हैन अपितु वास्तविक यथार्थ परक संस्कृत कविता लेखनबाट प्रारम्भ भयो। म जब दिल्लीमा शारदा देवी संस्कृत विद्यापीठ गुरूकुलमा नवम कक्षामा अध्ययनरत थिए तब मैले आफ्नो लेखन कविता क्षेत्रमा थालनी गरेको थिएँ, र त्यतिबेला म विद्यालयीय गतिविधि र मित्रता इत्यादि विषयहरूलाई लिएर लघु कविता लेख्ने गर्थें। यिनै कॉपी या पेजमा लेखिएका कविताहरूको आयु गुरुकुलकै मञ्च सम्म यात्रा गरेर संगी साथीहरूको ताली र गुरूजनहरूको प्रोत्साहन वचन बटुलेर समाप्त हुन्थ्यो। त्यतिखेर मलाई आफूले लेखेका कविताहरूको संकलन गरेर राख्नु पर्छ भन्ने हेक्का पनि थिएन त्यही भएर आज मलाई तिनी लुप्त भै सकेका बालापनमा लेखिएका कविता सम्झिदा आफ्नो लापरवाही प्रति अत्यन्त पश्चाताप अनुभव हुन्छ। त्यसपछि शनैः शनैः म दिल्ली संस्कृत अकादमी का नवोदित कविता लेखन स्पर्धाहरूमा प्रतिभागिता गर्न थालें र त्यहाँ संस्कृत क्षेत्रका काव्यपण्डितहरूसंग प्रशंसा पाऊन थाले पछि मैले आफ्नो काव्य लेखनको महत्व बुझेर संस्कृत भाषामा निरन्तर रुचिमत्ता पूर्ण कविता गर्न थालेँ। फलस्वरूप म दिल्लीमा आयोजित हुने प्रायः सबै जसो संस्कृत कवि सम्मेलनहरूको अभिन्न अङ्ग हुन थालेँ। अघाडि गएर सन् 2014 मा मेरो प्रथम संस्कृत भक्तिरचना “वाग्विलासिनी” को प्रकाशन भयो। त्यसपछि सन् 2014 मा नै मेरो अर्को शृङ्गार आधारित कृति “मनोनुरंजिनी” पनि प्रकाशित भयो। साथै “वाग्विलासिनी” रचनालाई सन् 2019 मा साहित्य अकादेमी युवा पुरस्कार पनि प्राप्त भयो। मैले साहित्य अकादेमी द्वारा दिल्ली, कोलकाता, डिब्रुगढ़ जस्ता अनेक स्थानहरूमा आयोजित कवि गोष्ठीहरूमा सहभागिता निभाउनुका साथै अध्यक्षको दायित्व पनि निर्वहन गरेँ।
वैद्यनाथ उपाध्यायः लेख्नका निम्ति कुनै अनुप्रेरणा थियो कि?
युवराज भट्टराईः मलाई लेखनका लागि सर्वप्रथम अनुप्रेरणा मेरो अध्ययन, अनुराग र संस्कृत भाषाप्रति रुचिबाट प्राप्त भयो। मैले संस्कृत साहित्यको महत्ता र यसको प्राचीनता नवीनता तथा व्यापकताको महत्व बुझेर नै लेखन कार्य शुरू गरें। जब लेखन प्रारम्भ भयो र मञ्चहरूमा मेरा कविता गुञ्जित हुन थाले तब मलाई झन बढी अभिप्रेरणा मिल्यो। मलाई अनुभूति भयो कि काव्य लेखनको सुमधुर माध्यमले नै म आफ्ना विचारहरू अरूसम्म सरलता र रोचकतापूर्ण रीतिले पुऱ्याउन सक्छु। आजका दिनमा दिल्लीमा मैले लेखेका छन्दोबद्ध कविताहरू गाएर कलेज र स्कूलका धेरै छात्रहरूले कविता पाठ स्पर्धाहरूमा प्रथम द्वितीय तृतीय स्थान पनि हासिल गरि रहेका छन्। यो मेरा लागि हर्षको कुरा हो। र छात्रहरूको यो काव्यगान तथा कविता पाठ पनि मेरो लागि ठूलो प्रेरणा बनेको छ। साथै म हजुरलाई अझ एक कुरा बताउन चाहन्छु जो मेरो अनुप्रेरणाको स्रोत बनेको छ। किनकि म आफूले रचेका कविताहरू सामाजिक सञ्जालमा प्रेषित गर्ने गर्छु। र यस्तै वृक्षमाथि लेखेको प्रेरक कविता पढ़ेर एक प्रशासनेतर निजी पुस्तक प्रकाशक की लेखिकाको मलाई फोन आयो कि यो हजुरद्वारा रचित कविता हामीहरू आफ्नो पाठ्य पुस्तकमा समावेश गर्न चाहन्छौं। त्यसपछि सानो अनुबन्धात्मक प्रक्रिया पूरा गरेर मैले त्यो कविता प्रकाशनको अनुमति प्रदान गरें। मलाई यहाँ एउटा प्रेरणाको कुरो अझ थप्न मन लागेको छ। एकपल्ट दिल्ली विश्वविद्यालयकी एक शोधार्थिको फोन आयो कि सर म आधुनिक संस्कृत कविताहरू माथि पीएचडी गर्दै छू जसमा हजुरको काव्यलेखनमाथि पनि एक अध्याय समावेश गरिएको छ। त्यस पछि मैले उनलाई समग्र अध्ययन सामग्री उपलब्ध गराएर शोधपरक दिशा निर्देश पनि दिएँ।
वैद्यनाथ उपाध्यायः तँपाई किन लेख्नुहुन्छ?
युवराज भट्टराईः म कविता लेख्छु किनकि काव्य लेखन मलाई आफ्ना विचार र भावनाहरूलाई अभिव्यक्त गर्ने सुन्दर माध्यम लाग्दछ। कवितामा प्रयुक्त शाब्दिक सुन्दरता र अर्थको भाव गाम्भीर्य मलाई नितान्त रुचिपूर्ण लाग्ने गर्छ। म कविताका माध्यमले जीवनका विभिन्न पहलुहरूलाई अभिव्यक्त गर्ने प्रयत्न गर्छु।
वैद्यनाथ उपाध्यायः संस्कृत भाषाको प्रसार कसरी संभव होला भन्ने लाग्छ? संस्कृत भाषाप्रति तँपाईँको झुकाव कसरी आयो?
युवराज भट्टराईः आजको यो भूमण्डलीकरणको उत्तर आधुनिक युगमा जब सबै कुराको प्रसार प्रचार आजीविका उत्पादनको कसौटीमा कसिएका हुन्छन्। संस्कृत पनि त्यसै निकषमा कसिनु पर्दछ। यद्यपि संस्कृतमा निहित ज्ञानलाई अन्य भाषामा अनुदित गरेर पस्किने र उसको संस्कृतमूलता प्रतिपादित नगरी त्यस्को लाभ आफैँ लिने प्रचलन आजकल बढ़ेकाले पनि संस्कृतको प्रचार प्रसारमा हानी भै रहेको म अनुभव गरिरहेको छु। अर्को पक्ष हेरौं भने आजको यो वैश्विकरणको युगमा कोरोना महामारी पछि समग्र विश्वको भारत प्रति जुन ध्यानाकर्षण बढ़ेको छ त्यस्को कारण पनि योग आयुर्वेद जस्ता संस्कृतमा निहित शास्त्रहरू नै हुन्। अझै भन्नुपर्दा विश्व योग दिवसको व्यापक आयोजन हुनु पनि संस्कृतभाषामा निहित ज्ञानको प्रसार नै हो भन्न सकिन्छ। यसरी संस्कृतका ज्ञान गुनका कुराहरू त विश्वले स्वीकार गरिरहेको छ, तर संस्कृत भाषाको भाष्यमाण स्वरूप भने अत्यन्त अल्प रूपमा मात्र प्रयोग भएको छ।
संस्कृत भाषाको भाष्यमाण स्वरूप स्थापित गर्न र लोकप्रियता वर्धनका निम्ति व्यापक प्रसारको आवश्यकता छ यस्का लागि महत्वपूर्ण पदक्षेप उठाउनु आवश्यक छ। यथाः क) शिक्षा प्रणालीमा संस्कृतलाई अनिवार्य विषय बनाउनु पर्दछ। ख) संस्कृत भाषामा आधुनिक विषयका पुस्तकहरूको रचना हुनुपर्दछ। ग) संस्कृतमा ऑनलाइन कोर्स र ट्युटोरियल बनाएर प्रसार गर्नु पर्छ। घ) संस्कृत भाषाको संवर्धन हेतु कार्यक्रमहरूको आयोजन र समर्थन हुनु पर्छ। ङ) संस्कृतमा निहित साहित्य, संगीत र कलालाई नवीन रूपमा उपस्थापित गरेर प्रोत्साहित गर्नु पर्छ।
संस्कृत भाषाप्रति मेरो झुकाव प्रथमतः पारिवारिक पृष्ठभूमि र द्वितीय उसको आफ्नै अध्ययन प्रति अभिरुचि। किनकि म एउटा शुक्ल यजुर्वेदीय माध्यन्दिन शाखीय ब्राह्मण परिवारमा जन्में हुर्कें। घरमा दैनिक नै पूजा पाठ स्नान ध्यानका मन्त्रहरू पिताजीका मुखबाट सुन्ने मौका पाएँ। पिताजीले त तुलसाजीको मठमा जल चढ़ाउँदा र तुलसीको पात टिप्दा पनि मन्त्र उच्चारण गर्नु हुन्थ्यो। शैशव देखि नै यस्तो परिवेश पाएर होला मलाई संस्कृत प्रति रूचि वर्धन भयो। यही मेरो संस्कृत प्रतिको झुकाव देखेर नै पिताजीले मलाई दिल्लीमा संस्कृत गुरूकुलमा प्रवेश गराई दिनु भयो।
वैद्यनाथ उपाध्यायः तँपाईँको दिनचर्या अर्थात् दैनिकीको विषयमा केही जानकारी दिनुहोस।
युवराज भट्टराईः मेरो दिन विहान पाँच बजे देखि शुरू हुन्छ, जब म स्नान र पूजा पश्चात योग र ध्यान गरेर आफ्नो दिनको शुरुवात गर्ने गर्छु। त्यसपछि म अल्पाहार गरेर मेट्रोमा बसेर विद्यालय पढ़ाउन जान्छु। विहान आठ बजे म विद्यालयमा पढ़ाउन प्रारम्भ गर्छु। त्यहाँ विद्यार्थीहरूलाई संस्कृत व्याकरण, साहित्य उच्चारण र अन्य निर्धारित विषयहरू सिखाउने गर्दछु। दिउँसो दुई बजे छुट्टी हुन्छ। विद्यालय पछि म धेरै जसो साँझको संस्कृत समाचार भन्ने दायित्व वहन गर्न आकाशवाणी जान्छु। साँझ साढ़े छ बजे वापस घर आए पछि केही बेर विश्राम गरेर संस्कृत साहित्यको अनुवाद र काव्य लेखन आदि कार्य गर्ने गर्छु।
वैद्यनाथ उपाध्यायः लेखकहरूको दिनचर्या र चरित्रको विषयमा कस्तो विचार राख्नु हुन्छ?
युवराज भट्टराईः लेखकहरूको दिनचर्या उनिहरूको रचनात्मकता र लेखन कौशललाई दर्शाउने खालको हुनु पर्दछ। एक लेखकको दिनचर्यामा अध्ययन, लेखन र सम्पादनका साथ साथ विचार विमर्शलाई विकसित गर्ने समय पनि समाविष्ट हुनु पर्दछ।
एक लेखकको चरित्रमा संवेदनशीलता, रचनात्मकता, धैर्य, आत्म-विश्वास, निरन्तर प्रयास तथा विचार सरणीको गम्भीरता हुनु पर्छ भन्ने मलाई लाग्ने गर्छ। किनकि लेखकले समाजमा एक आदर्श उदाहरण प्रस्तुत गर्नु पर्छ अतः एक लेखकको दिनचर्यामा पढ़ाई र अध्ययन, लेखन र सम्पादन, विचारहरूको मुक्तता, प्रेरणाको खोज, आत्म-मूल्यांकन र सुधार अवश्य समावेश हुनु पर्दछ। एक लेखकको चरित्र उसको रचनाहरूमा झल्किने गर्दछ।
वैद्यनाथ उपाध्यायः सामग्रिक रुपमा तपाईँको लेखनको मुलभूत सन्देश के हो?
युवराज भट्टराईः मेरो प्रथम भक्ति कविता संग्रह वाग्विलासिनी र द्वितीय शृङ्गार कविता संग्रह मनोनुरंजिनी ले कविताका विभिन्न रूपलाई प्रस्तुत गर्ने गर्छन। वाग्विलासिनी भक्तिमा आधारित छ, भक्ति वस्तुतः वैदिक समय देखि लिएर आजसम्म यथावत नै चली रहेको छ। यसमा मैले भक्तिका विभिन्न पहलुहरूलाई व्यक्त गर्ने प्रयास गरेको छु। जस्ले मानवीय संवेदनालाई गहराई पूर्वक स्पर्श गरेका छन्। अर्को तर्फ मनोनुरंजिनी शृङ्गार रसमाथी लेखिएको काव्यग्रन्थ हो, विदित नै छ शृङ्गार पनि सृष्टिको आदिकाल देखि अबसम्म यथावत नै चल्दै आएको छ। यसमा मैले प्रेम, सौन्दर्य र जीवनका विभिन्न प्रेमिल तथा स्नेहिल पहलुहरूलाई व्यक्त गर्ने प्रयास गरेको छु।
यसका अतिरिक्त, तनीयसी र कुमुदिनी नामक दुई काव्य सङ्ग्रह पुस्तक बाल साहित्यलाई आश्रित गरेर लेखिएको छ। नेपालीमा “अंतर्नाद” शिर्षकले कविता संग्रह प्रकाशित छ।
वैद्यनाथ उपाध्यायः तपाईँले आदर्श मानेका लेखकहरू को को हुन?
युवराज भट्टराईः संस्कृत साहित्य संसारमा अनेकन् महान् लेखक कवि छन् र म त भन्छु संस्कृत वाङ्मयका सबै लेखक नै आदर्श छन्। यिनी मध्ये वाल्मीकि, व्यास, कालिदास, भारवि, भवभूति आदि हुन्।
वैद्यनाथ उपाध्यायः लेखकहरूमा अध्ययन, चिन्तन, मननको कस्तो स्थान हुनुपर्छ?
युवराज भट्टराईः मलाई लाग्दछ कि लेखकहरूमा अध्ययन, चिन्तन, मनन इत्यादि सद्गुण हुनु अत्यन्त आवश्यक छ। यी गुणहरूले लेखकलाई राम्रो रचना गर्नुमा मदद गर्दछन् र उनका रचनालाई गंभीर अर्थ प्रदान गर्दछन्। लेखकलाई संवेदनशील, रचनात्मक र आत्म-विश्वासी हुनु जरूरी छ, जस्ले गर्दा उनीहरू आफ्ना रचनाहरूलाई पनि उत्कृष्टता प्रदान गर्न सक्छन्। लेखकमा यदि निरन्तर अध्ययनको गुण छ भने अत्यन्त राम्रो हो। यदि छैन भने लेखकले विभिन्न विषयहरूको अध्ययन गर्नु पर्छ, जसले कि ऊ आफ्ना रचनाहरूमा अध्ययनका विभिन्न पहलुहरूलाई समाविष्ट गर्न सकोस। लेखकमा चिन्तनको गुण हुन पनि नितान्त आवश्यक छ। लेखकले आफ्ना विचार र अनुभवहरूमाथि अनवरत चिन्तन गर्नु र अपडेट रहनु पर्छ ताकि उसका रचनाहरू युगानुकूल र अद्यतनीकृत बनून्।
वैद्यनाथ उपाध्यायः अहिले के लेख्दै हुनुहुन्छ?
युवराज भट्टराईः म वर्तमान संस्कृत पत्रकारिता पुस्तक लेखनमा र संस्कृत संवर्धन परक कार्यक्रमहरूको विकासमा केन्द्रित छू। मेरो उद्देश्य संस्कृत भाषा र साहित्यलाई बढ़ावा दिन नया पीढ़ीलाई यस प्रति जागरूक गर्नु हो। म आशा गर्दछु कि मेरो रचनाहरू समाजमा सकारात्मक परिवर्तन ल्याउनमा मदद गर्ने छन्। संस्कृत भाषालाई शिखरमा पुऱ्याउने छन्।