आधा दर्जनभन्दा बढी कृतिका प्रस्तोता हुन्- चिरञ्जीवी दाहाल । गीत,गजल, संस्मरण, आख्यान र निबन्ध लेखेरै उनको वर्तमान बितिरहेको छ । बातको खात उतार्नमा भन्दा मनको चाल बुझेर अनुभूतिको छाल प्रवाह गर्न उनी रमाउँछन् । यतिबेला उनकै हातबाट मेरो हातमा परेको कृति छ - बाघेझापु (२०८१) । यो उनको व्यङ्यवाण पुञ्ज हो । शिर्षकले नै यो अनुभूतिमय शब्दका हातले विकृति विसङ्गतिका गालामा कडारुपमा हानेको झापु हो, चड्कन हो अर्थात यो फित्कौलीको चोटिलो प्रहार हो । यसमा उनले कतिपय कित्ताका व्यक्तिलाई भित्तैमा पुर्याउनेगरि हानेका छन्। हान्न पनि जान्न पर्छ । हान्न जान्ने भएकैले उनलाई मान्नपर्छ । मुमूर्षा र ग्रीष्मजाबाट पनि मैले उनको सृजन शक्तिलाई मानेको हुँ । यस्ता मान्नपर्नेलाई सम्मान पुरस्कारदाताहरूले किन तान्दैनन् त्यो भने ताज्जुब लाग्न थालेको छ । आफ्नै रोगव्याधको उपचारमा लगाउनुपर्ने सम्पत्ति मनको अहा ! मा रमाउँदै स्वाहा गर्ने बानीलाई उनका बाबुनानीहरूले पनि के भन्दा हुन् कुन्नि ! उनी यस्तैमा रमाइरहेको देखेर बिचराहरू चित्त बुझाइरहेका होलान् ।
मेरो हातमा पुस्तक पुर्याउनका निम्ति पूर्वि चितवनबाट लखरलखर झोला बोकेर मेरै घरमा उनी मलाई खोज्दै आए । उनी जब भेटिन्छन् माया र सहानुभूति एकसाथ जाग्छ । यस्ता कोरा भावनाले उनको गर्जो त टर्ने होइन तै पनि मनकै भावना विनिमय गर्न पाए उनले धाएकोमा केही सन्तोष लाग्थ्यो भनेर भावनाका प्रतिक्रिया बटुल्ने जमर्को गर्दैछु ।
फित्कौली अनलाईन मिडियासँग सम्बन्धित उनी फित्कौलीका प्रहार सामाग्री बटुलबाटुल गर्दागर्दै आज यो कृति कोशेलीको रुपमा हात पर्दा म अझ खुशी र छक्क पनि छु । खुशी यस मानेमा छु, हातमा रमाइलो कृति हात पर्यो । बसिबियालोको व्यञ्जन जुट्यो । छक्क यस मानेमा छु, सरल शान्त र सौम्य प्रकृतिका उनमा व्यङ्ग्य जस्तो कर्कश कला कसरी विकसित भए होला । जे होस् संस्मरणमा उनले एक उचाइ हासिल गरेका थिए । त्यस्तै आख्यानमा एक उडान भरेका थिए , गजलमा पनि एक पहिचान बनाएका थिए अहिले व्यङ्ग्य निबन्धमा तहल्का मच्चाउन लागिपरेका छन् भन्दा अतिशयोक्ति भएको भए नपत्याउनेले पहिले आफैँ पढेर तथ्यहरू बुझे हुन्छ ।
यसभित्र ४२ वटा व्यङ्ग्य प्रहार पुञ्ज छन् । पहिलो छ, “अड्कले काका" । यसमा उनले कल्पनालाई राम्ररी नचाएका छन् । अनुमानका हनुमान हरूले गन्यमान्य हुने सञ्जीवनी बुटी खोज्न कतिसम्म आकासपाताल एक गर्दा रहेछन् । बादल लागेपछि पानी नै पर्छ भन्ने अड्कलको भरमा कतिसम्म गाउँबस्तीमा कुरा काट्न सक्ने रहेछन् । यसबाट बिचित्र रहस्यमय तथ्यको बोध हुन आउँछ ।
“इच्छा" ले राम्रो शिक्षा दिन्छ । इच्छा नै शिष्टता र घनिष्टताको कारण हो । इच्छा पोषण गर्न खोज्दा कतिको शोषण भएको छ । इच्छाले नै कतिको धोती फुस्किएको र लोती चुँडिएको छ । इच्छा विषयक विश्लेषणको यो अनुपम दृष्टान्त बनेको छ । उनका विचारमा मान्छे भनेको अनन्त इच्छा आकांक्षा सपना चाहना र तीर्खाको नदी हो । ( पृ. १९)
रावण घमण्डको प्रतिक हो । “ ऊ रावण यी रावण "मा व्यङ्ग्यकारले अत्यन्त मिठासपूर्ण ढङ्गले विश्लेषण गरेका छन् । यसमा रावणको असली चरित्र र राजनीतिको विश्लेषण छ । रावणका विभिन्न चरित्रको उल्लेख गर्दैै व्यङ्ग्यकारले देवताका वरदान नै विकृतिका प्रमुख कारण हुन् भन्ने निश्कर्ष निकालेका छन् । यसमा उनका चिन्तन र धारणाको अद्भुत समन्वय पाउनुका साथै पौराणिक ज्ञानको पनि आभास पाइन्छ । उनका दृष्टिमा तुलसीदासकृत रावण भन्दा सामयिक शक्तिकृत रावणहरू अधिक दुष्ट र घातक छन् , तिनैलाई विजयमाला भिराएर जनमानसले नै भुल गरिरहेका छन् भन्ने पनि सङ्केत गरेका छन् ।
“कविको चन्द्रमा वर्णन" मा निबन्धकारले वास्तविक तथ्यको खुलासा गरेका छन् । महामनबाट उत्पन्न भएका चन्द्रमालाई शौन्दर्य र शितलताको प्रतिकका रुपमा हेर्ने गरिन्छ । तर भनेजस्तो र सोचेजस्तो चन्द्रमा नभएको कुरा विज्ञानले पर्दाफास गरिदियो । यथार्थमा चन्द्रमाको भौतिक स्वरुप त शुष्क र उवडखावड अवस्थाको रहेछ । टाढाका वस्तु देखेकै र सुनेकै भरमा सही नहुँदो रहेछ । लेखकको कल्पनामा पहिरो गएर विश्वासमा डढेलो लागेपछि रहस्यको उद्बोधन भएको छ ।
“क्लिप्टोमेनिया" मा हात्तीछाप चप्पल लगाई, पछि जो हात्ती बनेर निस्कने छन् तिन प्रति गरिएको यो घतलाग्दो व्यङ्ग्यात्मक निवन्ध हो । यसमा निबन्धकारले राजनीतिको खालमा रहेका भाले चरित्रका नेताहरूमा क्लिप्टोमेनिया नामको सरुवा रोग लागेको बताएका छन् । प्रायः मानसिक विकार भएका व्यक्तिमा यस्तो रोग लाग्छ भन्ने उनको निश्कर्ष छ । यसमा उनको समीक्षा चेतले राम्ररी भूमिका खेलेको देखिन्छ ।
“कोइली होइन कौवाको पूजा हुन्छ " मा बोलीका प्रभावको वयान छ । बोलीको गोलीले मान्छे कायल मात्र होइन घायल नै हुन्छ । बाहिरी चोट केही समयपछि निको होला तर वचनवाणको चोट सितिमिति निको हुँदैन भन्ने आहान छ । तुलसीदासले मिठो वचनले जग नै आफ्नो वशमा हुन्छ भनेका छन् तर यहाँ त्यसको ठिक उल्टो कथन छ । कटु बोलीको धाक रवाफले निकै फलिफाप भएको उल्लेख गरेका छन् । मधुरो मिठो स्वरकी कोइलीको पूजा नभएर कागको पूजा हुन्छ भन्ने दृष्टान्त अगाडि सार्दै रुखो र कटु बोलीको शैली पक्रेर बोल्नेगर्दा अन्तमा धोका खाइ झल्याँस्स हुँदै गाँठी रहस्य बुझ्न पुग्छन् । यसबाट सङ्गतको प्रभावले व्यवहार मात्र होइन बानी पनि बिग्रन सक्छ भन्ने सन्देश मुखरित भएको छ ।
“ खुशी" मा खुशी विषयको रोचक व्याख्या छ । खुशी भएको मान्छे झुसी हुँदैन । उ त फक्रेको फूल जस्तै सुवासिलो हुन्छ । खुशी भनेको आन्तरिक प्रसन्नता हो । जो एक कुराले खुशी हुन्छ त्यही कुराले अर्को बेखुशी हुनसक्छ । खुशी हुनका पनि आफ्नै कारण हुन्छन् । कवि आफ्ना राम्रा कविताबाट खुशी हुन्छन् भने किसान आफ्ना अन्नबाली लहलहाएको देखेपछि खुशी हुन्छन् । खुशीको कुनै आयतन र सिमा हुँदैन । केही कुकुर पालेर खुशी हुन्छन् कोही हात्ती पालेर पनि खुशी छैनन् । आनन्द र खुशीमा पनि अन्तर छ । आनन्द स्थायी हुन्छ, खुशी क्षणिक। खुशीले भुइँचालो आए झैँ एक्कासि आफ्नो प्रतिकृया दिन्छ । खुशी प्राप्तिका अनेक कारण हुन्छन् । खुशीलाई महत्व दिन जान्नुपर्छ भन्ने लेखकको मान्यता रहेको छ ।
“ खेतालो " ज्यालामा कामकाज गर्ने वा अर्मपर्म गर्ने व्यक्तिलाई खेताला भनिन्छ । उहिले गाउँघरका खेतालामा इमान्दारिता थियो तर अहिलेका खेताला ताला हीन छन् । तिनमा कर्तव्य र इमान्दारिताको कुनै लक्षण भेटिन्न । आफू पनि समाजको एक खेताला भएको र उत्पादन शून्य हुने फेसबुके खेतालो भएकोमा आफै प्रति व्यङ्ग्य गर्दै उपार्जनहीन अन्य सबै खेताला प्रति पनि व्यङ्ग्य प्रहार गरेका छन् ।
“खौरिएको कपाल र श्राद्धको फुरौला" संस्मरण शैलीमा रचिएको यो निबन्धले तत्कालिन समयको संस्कृतिको झलक दिन्छ । यसमा यस्ता घटना वर्णित छन् जसले पढ्दा पढ्दै हाँसोको खित्का छुटाउँछ । एक ठाउँमा मात्र होइन दुई दुई ठाउँमा । हास्यव्यङ्ग्यको उत्कृष्ट नमूनाको रुपमा यस निबन्धलाई लिन सकिन्छ । चितवनको हास्यव्यङ्ग्यको कृतिमा बाघेझापु अब्बल श्रैणीको कृति हो भन्ने यसकै वर्णित तथ्यले सावित गर्दछ ।
“गुरुलाई चिट्ठी " गुरुको अर्थ हो मार्ग दर्शक ।जीवनमा गुरु हुनभन्दा शिष्यको चरित्र वहन गर्न गाह्रो छ । नैतिकता र इमान्दारिताको पाठ सर्वप्रथम गुरुले नै सिकाउँछन् तर यसले वर्तमानमा विकसित संस्कार त्यसको विपरित भएको बुझाइ छ । धर्मले नै मानिसलाई संयमित र अनुशासित बनाउँछ । त्यही धर्म बागमतीमा सेलाएर आएपछि धर्मछाडाको परिणाम के हुन्छ ? त्यही अहिलेको भ्रष्टाचार हो भन्ने निबन्धकारको धारणा रहेको छ ।
“चटक जारी छ " मा राजनीतिक प्रवृत्ति प्रति प्रहार छ । चटके , चटके मात्र होइनन् पटके पनि हुन् जो पटक पटक चटक देखाएर हामीलाई झुलस्याइरहेछन् । चटकेलाई चटके भन्ने जानेर पनि पटक पटक उनैलाई छनौट गर्नुमा हाम्रो पनि भुल छ भन्दै यहाँ निबन्धकारले जनचेतना जगाउने काम गरेका छन् ।
“झुट बोल्न छुट" चित्त बुझ्दो र घतलाग्दो प्रस्तुतीमा छ । झुटको बीज महाभारतको आख्यान मै रहेको र त्यो वर्तमानसम्म फैलदै गएको हो भनि लेखकले निबन्ध लेखनमा पौराणिक मिथकको पनि उपयोग गरेका छन् । झूट र लूट त दम्पती जस्ता हुन् । यिनै दम्पतीले समाजमा खुबै सम्पत्ति कमाएका छन् । झूट र लूटको चाटचुट फाटफुट रुपमा मात्र होइन यिनको हाटहुट नै बढेको छ । राजनीति र व्यापार त झुटबाटै मौलाएका धन्दा हुन् भन्दै झूट महिमाबाट मानवीय प्रवृत्तिको मर्ममाथि नै प्रहार गरेका छन् ।
“ताली लगाउने पेशा" यो मजेदार व्यङ्ग्य भएको निबन्ध हो । आली लगाउन र बाली लगाउन छोडेर मानिसहरू ताली लगाउन रौसिएका छन् त्यस्तैमा हौसिरहेका पनि छन् । विना अर्थको ताली लगाउने आफ्नो पनि प्रवृत्ति रहेकोमा निबन्धकारले आफै प्रति पनि कटाक्ष गरेका छन् ।“तालुको रौँसँगै हराएको शुद्धी" मा मानवीय प्रवृतिमाथि व्यङ्ग्य छ । सुद्धि, बुद्धि सँगैको सम्बन्धित प्रक्रिया हो । तालु खुइलिनुको तात्पर्य उमेर पाको हुँदै जानु हो । पाको उमेरमा सुद्धि बुद्धि हराउनु स्वभाविक प्रवृति हो ।
“थाम्न नसक्ने बोझ" मा बोझ बारे चिन्तन र विश्लेषण छ । मानिसमा अनेक प्रकारका बोझ आइपर्छन् । ती शारीरिक पनि हुन सक्छन् मानसिक पनि हुन्छन् । यसर्थ धान्न सक्ने बोझ मात्र आँट्नुपर्छ भन्ने सन्देश मुखरित छ ।
“दरवारी कवि" मा दरवार कसरी चलेको छ भन्ने तथ्य उजागर गरिएको छ । सल्लाहकारको सल्लाह बाटै दरवार छलकपट र तिकडमले चलेको वताएका छन् । “नमस्कार प्रथा खारेज होस्" मा नमस्कार पाउन अयोग्यहरू प्रति प्रहाार गरिएको छ । नमस्कार सम्मान सत्कारको शिष्टाचार हो । त्यस्तो नमस्कार पाउन त चरित्र पनि स्वच्छ र सफा हुनु पर्ने निबन्धकारको धारणा छ ।
“नानीदेखिको बानी" मा कतिपय नराम्रा बानीले आफैंलाई हानि गर्छ भन्ने सन्देश छ ।
“निकम्मा हाकिम र दास प्रवृति "मा निकम्मालाई खुशी पार्न हाँस्ने गर्नु दासता हो भन्दै यस प्रवृत्तिको विरोध गरिएको छ । “परिवर्तन" प्रवृत्तिगत व्यङ्ग्य कै निबन्ध हो । अन्य सबै धन्दामा जोखिम छ तर राजनीति जोखिम रहित धन्दा हो भन्दै राजनैतिक व्यापारी प्रति व्यङ्ग्य गरिएको छ ।
“पाखण्डी लेखकको मखण्डी लेखाइ" मा लेखाइ वा रचना प्रक्रिया बारेको चिन्तन छ । मानिसमा जस्तो क्षमता र सीप छ उसले त्यस्तै लेख्छ भन्ने विचार व्यक्त गरिएको छ । “फेसबुके जात्रा "मा फेसबुकले ल्याएको प्रभावको चित्रण छ ।
“बाघेझापु" कृतिको २७ औँ निबन्ध हो । बाघको प्रहार जस्तै वचनको प्रहार पनि कडा हुन्छ भन्ने अर्थमा बाघेझापुको अर्थ रहेको छ । यसै शिर्षकलाई पूरा कृतिको नामाकरण गरिएको छ । यसमा सिर्जनाको शब्द शैली र अभिव्यक्तिको चर्चा गरिएको छ । संसारमा जतिपनि युद्ध भए ती सबै बाघेझापुकै परिणाम भएका हुन् । बाघेझापुबाट कसैको भलो हुँदैन भन्ने लेखकको धारणा छ ।
“भातमारा" मा भाते संस्कृतिको चर्चा गर्दा भातमारा हुनुहुन्न भन्ने विचार व्यक्त छ । “मर्द र नामर्दको परिभाषा फेरिए पछि" मा सामाजिक व्यक्तिका चरित्रमाथि व्यङ्ग्य प्रहार गरिएको छ । अचेल जसले लुट्न र कुट्न जान्दछ राज्य दोहन गर्छ वा अनेक किसिमका वितण्डा मच्चाउँछ उसैलाई मर्द मान्ने गरिन्छ भनी सांस्कृतिक पतनको नमूना प्रस्तुत गरिएको छ ।
“मान्छे जुधाउँदाको मजा" मा मानवमा विद्यमान दुष्प्रवृत्तिको चर्चा छ । पशु जुधाएर मजा लिने त मानिसको आदिम प्रवृत्ति हो । अब त पशुभन्दा पनि मानिसलाई आपसमा जुधाएर मजालिने प्रवृत्ति बढ्दो छ भन्दै त्यस्ताबाट बच्न लेखकले सचेत गराएका छन् ।
“मिथ्या पुराण" मा मिथ्या प्रवृत्तिको चर्चा छ । यसमा शास्त्र पुराणभन्दा अचेल अलिखित मिथ्या पुराणको प्रभाव बढेको प्रति लेखकले व्यङ्ग्य गरेका छन् । मिथ्या सिद्धान्तको शालिक ठड्याएर मान्छेहरूलाई भ्रमित पार्ने राजनैतिक प्रवृत्ति प्रति दह्रो व्यंग्य छ । "मुूर्ख" मा मूर्खताको चरित्र प्रति व्यङ्ग्य गरिएको छ । मूर्ख तिनलाई भनिन्छ,जो आफै पनि जान्दैनन् र अरुले भनेको पनि मान्दैनन् ।सामान्य मूर्खले आफ्नै क्षति हुने काम गर्छन् तर मूर्खाधिपतिले समाज र देशकै अहित हुने काम गर्छन् भन्दै निबन्धकारले मूर्ख प्रवृत्तिको परिणाम दर्शाएका छन् ।
“रङ नम्बर" मा कल्पनाको रमाइलो तानमा रोचक अनुभूतिले बुनेर मिठो प्रहार दन्काएका छन् । सम्वादले कथ्यमा रोचकता वर्षाएको छ ।
“वरिष्ठताको भूत" मा ढाँट्ने फुर्ती गर्ने बानीपनि मानिसको एक प्रकारको मानसिक रोग हो । यसलाई लेखकले वरिष्ठताको भूत भनेका छन् । यो चारित्रिक व्यङ्ग्यमा पर्दछ ।
“स्तुतिगान" भनेको कसै प्रति गरिएको एकोहोरो प्रशंसा हो । स्तुतिगानबाट खुशी नहुने को होला र ? देविदेवता देखि नै चल्दै आएको परम्परा । तर अनावश्यक र अनुपयुक्त स्तुतिगानले उल्टै हानि पुर्याउँछ । जे पनि सीमाभित्र रहेर गरेको काम राम्रो हुन्छ । अहङ्कारले मानिसलाई नष्ट गराउँछ भन्ने बुझेर यसबाट स्तुतिगानको सही उपयोग गर्ने सुझाव दिइएको छ ।
“साँढुदाइको ससुराली" मा निबन्धकारले ससुरालीको प्रसङ्ग ल्याएर रमाइलो प्रस्तुति दिएका छन् । हावादारी कुरा गर्ने र उत्तेजक कार्यमा सङ्लग्न हुने कुराको निषेध गरिएको छ । ससुरालीमा पनि त्यस्तै व्यवहार देखाउने प्रति कटाक्ष गरेका छन् ।
“सानोकद" मा आफ्नो कदसँग जोडिएका प्रसङ्ग ल्याएर आत्म व्यङ्ग्यको रमाइलो प्रस्तुति प्रस्तुत गरेका छन् । “सित्तैमा मनोरन्जन लिने हो" मा मानिसको पिठ्युँ पछि निन्दा र आलोचना गर्नेहरू प्रति व्यङ्ग्य गरिएको छ । यसमा अर्काको निन्दा आलोचना पुराण प्रवचन सुने भन्दा पनि रमाइलो लाग्ने बताएर मानवीय प्रवृत्तिको सुक्ष्म विश्लेषण गर्दै साहित्यमा नवरस भन्दा पनि अझ स्वादिलो हुने बताउँदै त्यस प्रति रोचक व्यङ्ग्य प्रहार गरेका छन् ।
“शहर" मा शहरको सटिक र यथार्थ विश्लेषण पाइन्छ । शहरका सुगन्ध र दुर्गन्ध दुवै पक्ष छन् तर यसमा नकारात्मक वा दुर्गन्धित पक्षकै अधिक विश्लेषण छ । गाउँ र शहर बीच तुलना गर्दै गाउँ इमान्दार हुन्छ शहर बेइमान । गाउँ सज्जन हुन्छ शहर हैवान भन्ने धारणा राखेका छन् । यसै बीच म पनि एक मुक्तक हानौँ
दिनसँग दिलका नाता हुन्छन् गाउँमा
परस्पर खुशी बाँड्ने दाता हुन्छन् गाउँमा
शहरमा झैँ धोकाधडी केही हुँदै हुन्न
सबैसँग माया प्रेमका खाता हुन्छन् गाउँमा
“हामी ढोलक हौं बजिरहन्छौँ " मा व्यङ्ग्यकारले जनतालाई ढोलकसँग दाँजेका छन् । तथाकथित पण्डा समान नेताहरूले जनतारुपी ढोलक बजाइरहन्छन् भन्ने धारणा राख्दै उनीहरूका स्वार्थका निम्ति हामी प्रयोग भएको बताएका छन् ।नेता गणेशमानले पनि जनतालाई भेडाबाख्रासँग तुलना गरेका थिए । यस सङ्ग्रहको अन्तिम निबन्ध “क्षमापाउँ प्रभु" मा निबन्धकारले आत्मालोचना गरेका छन् ।
यस प्रकार सशक्त व्यङ्ग्य प्रहारको कृति हो यो “बाघेझापु" । यसमा व्यङ्ग्यकार दाहालले अनेक भावना , कल्पना ,तर्क ,दृष्टान्त आदिको तारतम्य मिलाएर आफ्ना अनुभव विचार र चिन्तन मिसाएर व्यङ्ग्यको रोमाञ्चक छटा प्रस्तुत गरेका छन् । कतै पुराणका आख्यानको कुरा उठाएर , कतै उपयुक्त प्रसङ्गको फेरो समातेर कतै तुकको छुक मिलाउँदै व्यङ्ग्यको प्रभावोत्पादक प्रस्तुति निर्मित गरेका छन् । पढ्दै गर्दा चस्स चस्स मन छुने र घतलाग्दो स्थिति पैदा हुन्छ । कतै त पढ्दा पढ्दै हाँसो नै फुस्किन्छ । व्यङ्ग्यको धारिलो र तेजिलो रुप पढ्दा नेपाली हास्यव्यङ्ग्यका शिखर पुरुष भैरव अर्याल र केशवराज पिँडाललाई बारम्बार सम्झन पुगिन्छ । उनीहरूको जस्तो कतै हास्यको घतिलो र व्यङ्ग्यको खरोपन नदेखिए पनि हास्यव्यङ्ग्य यात्रामा यो पनि आफ्नै प्रकृति र प्रवृत्तिको महत्वपूर्ण उपलब्धी हो
भन्ने देखिन्छ । यो लेखकीय अनुभूति र चिन्तनको एक उत्कर्ष स्थिति त हुँदै हो त्यस्तै फित्कौली अनलाईन मिडियाको महत्तम प्राप्ति हुनुका साथै नेपाली साहित्यको समेत विशेष प्राप्ति हो ।
आफ्ना भावना कल्पना र अनुभूतिले निबन्धको सुन्दर आयाम निर्मित गर्न दाहाल सिद्धहस्त भइसकेका देखिन्छन् । व्यङ्ग्य प्रहारका प्रखर अभियन्ता नरनाथ लुइँटेलका दृष्टिमा विषय क्षेत्रका दृष्टिले निबन्धहरू राजनैतिक विसङ्गति, सामाजिक विसङ्गति, कर्मचारी संयन्त्रका भ्रष्ट मनोविकार देखि व्यक्तिका स्वार्थी , पदलोलुप अनाचार र दुराचार जस्ता विकृत प्रवृतिलाई मजासँग झापु हानेका छन् ।
व्यङ्ग्यलाई आँधी र विकृतिलाई वाढीको रुपमा लिने गरिन्छ भने उनका निबन्ध उर्लिएर आएका भेल जस्तै लाग्छन् । बाढी जस्तो शक्ति भेलमा नहुने भएपनि यी समाजका परिशोधक चाँहि अवश्य हुन् भनी बुझ्न सकिन्छ । एक व्यङ्ग्यमूलक फित्कौली पत्रिकामा निबन्ध ठेलेको ठेल्यै गर्न सामान्य प्रतिभाबाट सम्भव देखिँदैन । यसलाई हास्यव्यङ्ग्यका जानिफकार हरूले पनि जोखिमपूर्ण खेल मानेका छन् । यस कृतिले व्यङ्ग्यप्रेमी पाठक जगतमा नयाँ तरङ्ग ल्याउन सक्ने कुरामा विश्वस्त हुन सकिन्छ । यस जीवनपयोगी सिर्जनकर्म र यसकै निरन्तरताका निम्ति हार्दिक शुभेच्छा प्रकट गर्दछु र एक मुक्तक बाट यसको बिट मार्दछु ।
अनुभूति र चिन्तनको कला हो यो
दाहालको उत्कृष्ट कृति तला हो यो
पढेर त हेरौँ यसले कति उर्जा दिन्छ
यथार्थमा “बाघेझापु " व्यङ्ग्य मसला हो यो ।
भरतपुर चितवन ।