18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लन्ठुराम !

कथा नारायण मरासिनी October 24, 2024, 8:42 am
नारायण मरासिनी
नारायण मरासिनी

मेरा हजुरबाका तिन भाइ छोरामध्ये म माइला भाइको छोरो । जेठा बाका सन्तान गाउँबाट बसाइँ सरी मधेसतिर झरेपछि मेरा बा र कान्छा बाले आफ्नै जन्मथलो अर्थात् पहाडस्थित आफ्नै बाउबाजेको थलामा बनिबुतो गरी जहान पालेका थिए । मेरा बाका तर्फबाट म, दाइ र दुई बहिनी गरी चार सन्तान थियौँ भने कान्छा बाका तर्फबाट तिन छोरा र एक छोरी थिए ।
मेरा बाको जागिरसागिर केही थिएन । उनले खेतीकिसानी गरेर नै हामीलाई पालनपोषण गरी हुर्काए । कुनै समय बाख्रापाठा बेचेर र कुनै समय भैँसी बेचेर पनि लेखपढ गराए । स्कुलमा त खासै फिस तिर्नु पर्दैनथ्यो तर स्कुले पढाइ सकेपछि क्याम्पस पढ्नका लागि भने घर छोडेरै बस्नु पथ्र्यो, खर्चिलो थियो । त्यो समयमा दाइको बिहेका लागि बाले एक ठाउँको आठ–नौ मुरी धान उब्जने खेतै बेचेको विगतलाई पनि मैले सम्झिरहेको छु ।
मेरा बाका तुलनामा कान्छा बाको जीवनयापन केही सहज थियो । उनी गाउँमै प्राथमिक तहसम्म पढाइ हुने स्कुलका शिक्षक थिए । पछि बहुदल आएपछिको दोस्रो स्थानीय चुनाव आउँदै गर्दा उनले शिक्षण पेसाबाट अवकास लिए । स्थायी भएको ठिक बिस वर्ष पूरा भएको थियो । राजिनामा दिएपछि गाविस अध्यक्षमा चुनाव लडे । हामी सबैले लागेपुगेसम्मको बल प्रयोग गरेर चुनाव जितायौं पनि ।
कान्छा बा सहयोगी नै थिए । पहिल्यै पनि उनले कहीँ कसैको अर्घेल्याइँ गरेका थिएनन् । चुनाव जितेपछि पनि उनले इमान्दारीपूर्वक नै काम गरे । आफ्नो कार्यकालमा उनले केही विकासनिर्माणका कामहरु गरे । खोलामा झोलुङ्गे पुलहरु बनाए । राजमार्गदेखि गाउँसम्म जीप गुड्ने कच्ची बाटो खने । यही बाटाका कारण उनी गाउँलेहरु प्रायः सबैका प्रिय बन्न पुगे ।
हामीहरुको घर, बारी र खेत मिलेका थिएनन् । एउटा छेउमा घर, गाउँभन्दा केही परतिर बारी र गाउँभन्दा तल बेसीमा खेत । न बारी पायकमा थियो न खेत । यही अप्ठ्यारालाई सहज तुल्याउन कान्छा बा गाउँबाट तल झरे । उनी बेसीको खेतमा घर बनाई स्थायी रुपमा बसोबास गरेका थिए । छोराछोरीलाई पनि राम्रो शिक्षादीक्षा दिएका थिए ।
मेरा बाका सन्तानमा हामी दुई दाजुभाइमध्ये दाइ गाउँमै मास्टर भएर बस्नुभयो । दाइ पनि गाउँको पाइपात असहज भएकाले पछिल्लो समय बेसीमै झरेर कान्छा बाको नजिकै घर बनाई बस्न थाल्नुभयो । म चाहिँ क्याम्पसको पढाइ सकेर सानोतिनो नोकरी गरी बुटवलतिरै बस्न थालेँ । जिन्दगीमा कुनै ठुलो सपना देखिन । ठुलो महत्वाकाङ्क्षा पनि राखिन । जेनतेन गुजारा गरिरहेँ ।
कान्छा बाका तिन भाइ छोराहरुमध्ये जेठो छोरो आईएको पढाइ सकेर विदेशियो । ऊ अमेरिका पुग्यो । केही वर्षपछि घर फक्र्यो र बिहे गरेर श्रीमती पनि उतै लग्यो । छोरी जन्मेपछि थाङ्ने भिसामा बाबुआमालाई पनि अमेरिका बोलायो र अमेरिकाका केही ठाउँहरु घुमाइदियो ।
कान्छा बा र कान्छीआमा अमेरिका जान पाउँदा मख्ख परे । छ महिनासम्म छोराको पौरख खाए र फर्के । अमेरिकाबाट कोसेलीपातका रुपमा आएको मिठाइँ खान पाएर केही समय गाउँ पनि खुसी भयो । कान्छा बा र कान्छी आमैले अमेरिकाको गफ लडाउन थाले, गाउँलेहरु तिनीहरुका गफमा मक्खिए । कान्छा बाका छोराबुहारीको पनि दिल खोलेरै प्रशंसा गरे । आफ्ना सन्तान त्यस्तो अलौकिक भूमि अमेरिका नगएकामा केही चिन्तित पनि भए ।
कान्छा बाको माहिलो छोरो पनि ब्याचलरको अन्तिम वर्षमा पढ्दापढ्दै अष्ट्रेलिया पुग्यो । उहीँ रहँदा बस्दा नेपालकै पूर्वी पहाडकी एउटी केटीलाई मन पराएको रहेछ । आफू उपाध्याय बाहुनको छोरो र केटी बस्नेत थरकी क्षेत्रिनी भए पनि पारिवारिक सल्लाहमै उनीहरु नेपाल आएर विवाह गरे । धुमधामसँगै गरे ।
माहिलाले पनि छोरो जन्मँदा कान्छा बा र कान्छी आमालाई अष्ट्रेलियामा निम्ता ग¥यो । दुवै अष्ट्रेलिया पुगे । कान्छीआमा बुहारी र नातिको स्याहारसुसारमा लुटपुटिइन् । त्यहाँ पनि अमेरिकामा जस्तै कान्छीआमाको तुलनामा कान्छा बाले धेरै ठाउँहरु घुम्ने अवसर पाए ।
अष्ट्रेलियाबाट ल्याएको मिठाइँमा गाउँलेहरु फेरि पनि मख्ख परे । गफ गर्न सिपालु कान्छा बा, यसपटक चाहिँ उनले अस्ट्रेलिया बस्दा त्यहाँ घुमेका ठाउँहरु, त्यहाँको खानपान र जीवनशैलीका गफ लडाउन थाले । उनले आफूहरु स्वर्ग पुगेर इन्द्रकै बगैँचामा घुमेको जस्तो कुरा गरे । कङ्गारुको गफ, बथानका बथान भेडाको गफ, होटल–रेष्ट्रेन्टहरुको गफ । छरछिमेकी गाउँलेहरुले मिठाइँको रस लिँदै गफ सुने र अष्ट्रेलिया जस्तो सुन्दर भूमिमा आफ्ना सन्तान नगएकामा छोराछोरीहरुलाई मनमनै सरापे पनि ।
कान्छा बाको कान्छो छोरो काठमाडौँमा बसेर पढ्दै गर्दा निजामती सेवामा प्रवेश गरेको थियो । उसकी श्रीमतीले एउटा एनजिओमा काम गर्न थालेकी थिई । कान्छो सानो घर बनाएर काठमाडौंमै स्थायी रुपमा बसेको थियो । गाउँमा बसेका बाबुआमा वृद्धावस्थामा पुगेकाले र शारीरिक रुपमा पनि अशक्त हुँदै गएकाले बाबुआमालाई उसले काठमाडौं लगी साथमै राखेर हेरविचार गर्न थालेको थियो ।
जेठा बा र मेरा बा पनि बितेपछि मेरा लागि बा भन्नु तिनै कान्छा बा मात्र थिए । कान्छा बाको छोरो कान्छो र म बेलाबेलामा फोनमार्फत कुराकानी गथ्र्यौं । अरु विदेशमा रहेका दुई भाइसँग त्यत्ति बढी कुराकानी हुँदैनथ्यो । कान्छो र म चाहिँ नियमित सम्पर्कमा थियौं । कान्छा बा शारीरिक रुपमा अस्वस्थ हुँदै गएपछि उनको स्वास्थ्य अवस्थाबारे बेला बेलामा फोनमार्फत् जानकारी लिने गरेको थिएँ । बुढेसकालले गाँजेको हुँदा कान्छा बा घरिघरि बिरामी परिरहन्थे । नियमित औषधी सेवनमा थिए उनी ।
बुढा बिरामी पर्न थालेदेखि म उनको कान्छो छोरासँग मोबाइल फोनमार्फत अझ बढी नजिकिएको थिएँ । उसलाई मैले भाइ भन्थेँ । ऊ मलाई दाइ भन्थ्यो । हामी दाजुभाइले बेलाबेलामा घरायसी तथा व्यावहारिक कुरा पनि गथ्र्यौं ।
‘तैंले बुढेसकालमा बुबाआमालाई साथमै राखेर हेरविचार गरेको छस् । पालनपोषण गरेको छस् । राम्रो गरेको छस् भाइ !’ मेरो यस सवालमा उसले जबाफ फर्काएको थियो– ‘यो त छोराको कर्तव्य नै हो नि दाइ !’
‘अरु दाइहरु विदेश भासिए पनि तैँले चाहिँ यही देशमा बसेर काम गरेको छस् । जान चाहेको भए त तँ पनि विदेश जान सक्थिस् होला तर तैँले आफ्नै देशलाई कर्मथलो बनाएकामा म खुसी छु भाइ !’ म उसलाई आडभरोसा दिन्थेँ ।
‘लोभको भाँडो कहिल्यै भरिन्न भन्छन् । आफूलाई जिनतिन गुजारा चलेकै छ, विदेश गएर सम्पत्ति कमाई थुप्र्याउने रहर लागेन दाइ मलाई !’ ऊ यसरी आफ्नो मनको कुरा सुनाउँथ्यो ।
कुराकानीको सिलसिलामा मैले एकपटक भनेको थिएँ– ‘शाखासन्तान विदेशमै रमाउन थालेपछि गाउँठाउँका वृद्धवृद्धाहरुको हालत असाध्यै नाजुक बन्न थाल्यो भाइ ! पारिवारिक सद्भाव, स्नेह सबै खतम हुन थाल्यो ! छोराछोरी विदेशमा छन् भनेर किन नाक फुलाउने र धाक लगाउने गर्छन् हँ मान्छेहरु ?’
मेरो आश्चर्यमिश्रित गुनासामा उसले जबाफ दिएको थियो– ‘राज्यको नालायकीपनका कारण यस्तो भइरहेको छ दाइ ! शासकहरुले जनतालाई रैती ठानेपछि हुने यही त हो । यद्यपि हाम्रो पनि कमजोरी चाहिँ छ है । हामी बसिबसी खान खोज्ने अल्छी हुनाले पनि यस्तो भएको हो ।’
म बुटवल, भाइ काठमाडौं । भौगोलिक हिसाबमा नेपालभित्रै रहे पनि हामीहरुको प्रत्यक्ष भेटघाट निकै पातलो थियो । कान्छा बालाई भौतिक रुपमा नभेटेको केही वर्ष भइसकेको थियो ।
एकपटक बुढा नराम्ररी बिरामी परेछन् । भाइ कान्छाले एक सातासम्म अस्पतालमा राख्यो । मैले खबर पनि पाएको थिएँ तर म अस्पतालमै रहँदा बुढालाई भेट्न जान पाइन । घरमा लगेपछि उनलाई भेट्न भनी काठमाडौं जाने तर्खरमा लागेँ ।
बिहानै उठेर बुटवलबाट गाडी चढेको मान्छे दिउँसोमा पुगेँ । घरमा बुढाबुढीबाहेक कोही रहेनछन् । बुढा निकै गलेछन् । हाडमा छाला बेरिएको, शरीरमा मासु नै नभएजस्ता ।
मलाई देखेपछि बुढा खुसी भए । ‘रामु ! सञ्चै आइस् ?’ भन्दै मुहारमा केही हँसिलो भाव ल्याए । शरीर जति नै कमजोर भए पनि बोली चाहिँ टाठै रहेछ । सञ्चो बिसञ्चोको औपचारिकतापछि बुढाले आफ्नै गथासो सुरु गरे– ‘आँखा कमजोर भए रामु ! राम्ररी ठम्याउन सक्दिन । कान पनि पहिलेको जस्तै सुन्न सक्दिन । साह्रै कमजोर पो भएको छु त रामु !’
‘यी सबै बुढेसकालका लक्षण त होलान् नि कान्छा बा ! बुढाबुढी भएपछि सबैको हालत यही हो । चिन्ता लिँदैमा पहिलाको शरीर फर्कने होइन । बेकारमा किन चिन्ता लिनु !’ मैले सान्त्वनाका शब्दहरु निकालेँ ।
रोगका बारेमा कुराकानी गरेपछि उनले सकीनसकी जेठा र माइला छोराले विदेशमा बसेर गरेका उन्नतिप्रगतिका कुरा गर्न थाले । केही समय कान्छा बा र म उनकै दुई छोराबुहारीको विदेशी परिवेशका सन्दर्भमा गफ्फियौं ।
कान्छो साढे पाँच बजेतिर अफिसबाट आयो । मसँग कुरा गर्दै भान्छातिरको काममा लाग्यो ऊ । बुहारी आउँदा त साढे छ नै भएको थियो । बुहारी आएपछि भान्छातिर बुहारी लागिन् । कान्छो, म र कान्छा बा दुःखसुखका कुरातिर लाग्यौँ । कुराकानीमा कान्छी आमाले पनि साथ दिइन् ।
बुहारीले खाना तयार पारेर बोलाएपछि हामी सबैले सँगै खाना खायौं । साँझको खाना । खाएर बैठक कोठामा पुनः बस्यौं । पुरानै गफको सिलसिलामा जोडियौं । यसै बिचमा भाइले कान्छा बालाई बेलुका खानुपर्ने औषधिहरु खुवाउन थाल्यो ।
औषधिमा विभिन्न खालका ट्याब्लेटका पत्ताहरु धेरै नै देखेर सोधेँ मैले– ‘पत्ताहरु त धेरै नै रहेछन् ! डाक्टरले कति समयका लागि दिएका छन् त भाइ औषधि ?’
‘अहिले एक महिनाका लागि दिएको छ । एक महिनापछि बोलाएको छ । त्यति बेला फेरि थप्न पनि सक्छ ।’ उसले एक थरी औषधी बुढालाई खान दिएपछि भन्यो ।
बुढाले फेरि अर्को औषधि खानका लागि गिलासमा पानी मागे । भाइले अर्को खालको औषधिको पत्तो खोज्न थाल्यो । यही समयमा बुढाले मसित गुनासो गरे, ‘हेर् रामु ! जेठाले अमेरिकामै घर बनायो । उसका जहानपरिवार उतै सेटल भएका छन् । माहिलो पनि अष्ट्रेलियामा बन्दोबस्तीका साथ बसेको छ । जेठो र माइलाको त मलाई कुनै चिन्ता छैन तर यो कान्छो न विदेश जान्छ, न त यहीँ बसेरै केही उपति गर्न सकेको छ ! यो त लन्ठुराम पो भयो रामु ! मलाई यही लन्ठुरामको मात्रै एउटा चिन्ता रह्यो ।’
कान्छा बाको यो गुनासो भाइ कान्छाले पनि राम्रैसँग सुन्यो । केही बेर भाइका र मेरा आँखा जुधे । हामी केही बोलेनौं । केही समयको सन्नाटापछि कान्छा बालाई सम्झाउने उद्देश्यले मैले मुख खोल्नै लागेको बेला भाइले हातमा औषधि र अनुहारमा मुस्कान लिएर भन्यो– ‘बा ! लिनुस् यो अर्को औषधि ।’

ज्याग्दीखोला, स्याङ्जा, हालः पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।