"I am proud of you, my darling." भन्दै नुमाकी ममीले नुमालाई अँगालोमा बेरिन् । अनि निधारमा चुम्मा गरिन् । "हामीलाई तिमीप्रति गर्व छ, छोरी । गौरव गर्ने मौका दिलाएकोमा धन्यवाद ।" उनले छोरीको गाला मुसार्दै भनिन् । "थ्यान्क यु, ममी । आइ लव यु भेरि मच । मेरो सफलताको श्रेय हजुरलाई नै जान्छ ।" नुमाले कृतज्ञ हुँदै जवाफ दिइन् । धरानको तुम्याङ आर्ट ग्यालेरीले आयोजना गरेको 'अन्तर-विद्यालय स्तरीय चित्रकला प्रतियोगिता’ मा स्वर्णपदक जित्न सफल भएकी थिइन् उनले । नुमासँगै आएकी छिमेकी साथी तायाले नुमालाई चुपचाप हेरिरहेकी थिइन् । नुमाले गोल्ड मेडल हासिल गरेको खुसियालीमा उनी पनि हर्षित थिइन् तर कताकता भने ईर्ष्या लुकाएको हो कि जस्तो लाग्थ्यो । नुमाको मुहारमा भने थोरैथोरै अभिमान झल्किँदै थियो ।
"कसको छोरी हौ, नुमा कस्की ? धनशेरकी छोरी हौ नुमा ! I am really proud of you, my daughter! यस्तै प्रगति गर्दै जानू है नानी ।" आफैँ प्रश्न र उत्तर गर्दै धनशेर हाँसे ।
"थ्यान्क यु, आपा । You are my pride, aapa." नुमाले हर्षित हुँदै भनिन् । मानौ उनी युद्धमा जित्नेय बहादुर सिपाही हुन् । "स्याबास, छोरी । मलाई तिमीमाथि पूर्ण विश्वास छ छोरी ।" धनशेरले छोरीको केहीबेर प्रशंसा गरे । उनले छोरीले हासिल गरेको ट्रफीलाई ओल्टाइपल्टाइ आँखा गाडेर हेरे । त्यस्को सुनौलो रङ र चमकदार भाग छोएर मुस्कुराए । नुमाकी साथी तायाले सुरुदेखि नै उनीहरूलाई हेर्दै मूकदर्शकको भूमिका निभाइरहेकी थिइन् । तर नुमा र उनका बाआमाले उनलाई वास्तै गरेका थिएनन् । तायाले नुमातर्फ हात हल्लाउँदै त्यहाँबाट बिदा लिने सङ्केत गरिन् । नुमाले भने देखेर पनि नदेखेझैँ गरिन् । त्यसैले ताया त्यहाँबाट सरक्क निस्किइन् ।
पृथ्वीका सारा प्राणीहरूको निन्द्रा भगाउँदै मौनको गुञ्जनले आव्हान गर्दै तिनीहरूलाई ब्युझाउँदै आदित्यको आगमन भयो । नुमा सुतिरहेकी थिइन् । उनको शरीरले काफी निद्राआराम पाइसकेको थियो भने दिमाग चाहिँ 'प्रसिद्धि'को सपनामा खेलिरहेको थियो । तन्द्राको कल्पनामा झुम्दै नुमाले शानदार ख्यातिको दुनियामा सयर गर्दै थिइन् । स्वप्निल उडानमा बरबराउन थालिन् "म टिकटक, फेसबुक र इन्स्टाग्रामको एकाउन्ट खोल्छु । त्यसपछि तिनीहरूमा मेरा भिडियोहरू अपलोड गर्ने छु; मेरो चित्रकला, मोडेलिङ र भिजुअल आर्टस्का भिडियोहरू । आशा छ मेरा लाखौँ भ्युहरू र लाइकहरू हुने छन्, हजारौँ कमेन्ट र कम्लिमेन्ट प्राप्त गर्ने छु । यसमा कुनै शङ्का छैन । मलाई अन्तर्वार्ता र भिडियो सुटिङको अफरहरू आउने छन् । धेरै युट्युबरहरू, टिभी एन्करहरू, भ्लगिस्टहरू, र मिडियाकर्मीहरूले मेरो इन्टर्भ्यु लिने छन् । वाऊ ! मेरो वरिपरि माइक्रोफोन, क्यामेरा, सुटिङ...... मैले ख्याति कमाउने छु....; मेरा कयौँ फ्यानहरू हुने छन् । म प्रसिद्ध हुने छु । सबैले मलाई चिन्ने छन् । तिनीहरूले म को हुँ, मेरो कला र मेरो प्रतिभा थाहा पाउने छन् । म नेपाल, भारत, त्यसपछि एसिया, युरोप, अमेरिका र विश्वभर प्रख्यात हुनेछु, प्रसिद्ध व्यक्तित्त्वमा दर्ज हुने छु । हुर्रे ! म छोटो समयमा नै प्रसिद्ध हुने छु । लोकप्रियताको शिखरमा पुग्ने छु । हो, नुमा, यो तिम्रै जमाना हो ।" नुमा आफ्नो प्रसिद्ध हुने योजनाको बारेमा सोचेर आफ्नो त्यो हैसियत पाउन नर्भस भइन् । आँखा चिम्लेर मुस्कुराइन् । उनले ओछ्यानमा सुतिरहेको कुरा बिर्सिन् । यो उनको दिवास्वप्न हो कि वास्तविकता हो थाहा थिएन । उनले ओढ्ने ओछ्यानमा फालेर उठिन् र फेरि सोचिन् कि उनी कसरी आफ्नो सपनालाई वास्तविकतामा ल्याउन सक्छिन् ।
नुमाले आफ्नो कोठाको कुनामा रहेको स्ट्यान्डमा आफ्नो क्यामेरा तयार राखिन् । उनले ड्रेस अप गर्न करिब एक घण्टा बिताइन् । उनले भिडियो सुटिङका लागि सबैभन्दा राम्रो ड्रेस रोजिन् । ताया उनलाई सहयोग गर्न आइपुगिन् । उनले आफ्नो आँखीभौँ थ्रेडिङ गरिन् । उनले हाइलाइटरको साथ आफ्नो कपाल सिधा तानिन् । उनको अनुहारमा क्रिम, आँखाहरूमा गाजल, लिपिस्टिक र अन्य सौन्दर्य वृद्धि गर्ने उपकरणहरू लगाइन् । प्राकृतिक सौन्दर्यलाई कृत्रिम मेकअपले छपक्क् ढाकिन् । अन्ततः, नुमा कला कार्यको लागि तयार भइन् । क्यानभासमा आफ्नै अनुहार कोर्ने उनको योजना थियो । तायालाई नुमा र उनको लाइभ पेन्टिङ सो कार्यक्रमको भिडियो खिच्न भनिन् । नुमाले पेन्ट ब्रस, रङ र रेखाचित्र बोर्ड उठाइन् । उनी पहिलोपटक भिडियो सुटिङका लागि तयार भइन् । तायाले भनिन्, "ओके नुमा रेडि, ...स्टार्ट ।" नुमाले काठको इजलमा अड्याइएको क्यानभासमा चित्र बनाउन थालिन् । नुमाले लुकिङग्लासमा आफ्नो अनुहार हेरिन् र आफ्नो अनुहारको स्केच कोरिन् । बायाँ आँखाको आकार कोर्दै गर्दा, उनको पेन्टब्रस कालो रङले ओभरफ्लो भयो । आँखा धमिलो र कालो भयो । तायाले भिडियो खिच्न रोकिन् । नुमाले त्यो बिग्रेको पेन्टिङ निकालिन् र बेरेर डस्टबिनमा फालिन् । ताया अर्को भिडियो सुटिङको लागि तयार भइन् । क्यामेराको लेन्समा चियाउँदै उनले भनिन्, "नुमा, होसियार । यसपटक गल्ती नगर ल । Numa, are you ready ? Ok, start now." नुमाले क्यानभासमा आफ्नो चित्र कोर्न थालिन् । आफ्नो कलालाई परिष्कृत गर्न उनी सचेत थिइन् । उनी पेन्टिङ पुरा गर्न लागेकी थिइन् । एक्कारसि उनको हातबाट ब्रस खस्यो र उनको मुखको सेतो दाँतमा रातो रङ लाग्यो । पेन्टिङमा उनको मुख रगताम्मे देखियो । नुमा र ताया जोड जोडले हाँसे । नुमा आफ्नो पहिलो भिडियो जारी गर्न गइरहेकी थिइन् । तायाले उनलाई एक दिनको लागि सुटिङ स्थगित गर्न आग्रह गरिन् तर नुमाले जसरी पनि भिडियो बनाइछाड्ने कुरा गरिन् । उनीहरूले त्यस मिसनको लागि तीन घण्टा बर्बाद गरिसकेका थिए । नुमा जसरी पनि मिसन पूरा गर्न चाहन्थिन् । ताया तेस्रोपटक तयार भइन् । नुमा यस पटक कुनै गल्ती नगर्न कटिबद्ध देखिन्थिन् । उनी फेरि असफल भइन् किनभने उनले पेन्टिङमा आफ्नो आँखीभौँलाई उज्यालो रूपमा रूपरेखा बनाउन बिर्सिन् । यो प्रक्रिया सातपटक भन्दा बढी चल्यो । अन्तमा, नुमाले जे जस्तो होस् भिडियो सुटिङको लागि चित्रकारिता सकिन् त्यसदिनका लागि । तायाले लामो सास फेरिन् । आरामको लागि ओछ्यानमा भक्लक्क ढलिन् । फोटोग्राफरका रूपमा घण्टौँको सुटिङका कारण उनी निकै थकित थिइन् । नुमाले चाहेअनुसारको भिडियो बनेपछि निकै उत्साहित भइन् । उनले टिकटकमा अपलोड गर्नको लागि भिडियो सम्पादन गर्न र स्क्रिप्ट लेख्न थालिन् ।
नुमाको आफ्नै टिकटक खाता थियोःnuma@123 । त्यसमा उनले बनाएका सुन्दर पेन्टिङहरू अपलोड गरेकी थिइन् । उनले म्युजिकसँगै भिडियोलाई मिलाइदिइन् । अपलोड गर्दा उनको शरीरमा काँडाहरू उम्रेका थिए । उनले आफैँले भनिन्, "मलाई लाखौँ लाइक् र भ्युज आए हुन्थ्यो । म धेरै प्रसिद्ध हुन पाऊँ भन्ने कामना गर्छु ।" जब उनले निमेष भरमै लोकप्रिय बन्ने कुरा सोच्थिन् तब उनलाई कस्तोकस्तो अनुभूति हुन्थ्यो । संसारलाई देखाउनको लागि पेन्टिङ गर्ने उनको प्रतिभा नै काफी छ भनेर उनलाई लाग्थ्यो । उनी आफैँमा गर्व गरिरहेकी थिइन् । उनले वाइफाइ डिसकनेक्ट गरिन् र सेल फोनलाई आराम गर्न दिइन् । दश मिनेट बित्यो । उनले वाइफाइ नेटवर्कमा थिचिन् । उनले लाइक र हेराइहरू जाँच्न टिकटक खोलिन् । उनले सम्म त्यसबेलासम्म तीन लाइक र पाँच भ्युजमात्र पाएकी थिइन् । उनले चित्त बुझाउन मनमनै भनिन्, "म धेरै अधीर भएँ । पक्कै पनि भोलिसम्म धेरै लाइक र भ्युज पाउने छु । म किन हतार गर्ने र समय भन्दा पहिले चिन्ता गर्ने ?" नुमा एक्लै आफैँसँग गनगन गरिन् । नुमाले अर्को दिनको सूर्योदय अघि उनको टिकटक भिडियो २० भन्दा बढी पटक जाँच गरिन् । उनले ८५ लाइक र ११४ भ्युज पाएकी थिइन् । यो उनको अपेक्षा थिएन । उनले २०० के भ्युज र लाखौँ लाइक पाएको कामना गरिन् । "कस्तो फ्लप ! मेरा फलोअरहरू कम छन् ।" उसले आफ्नो सेल फोन ओछ्यानको कुसनमा फ्याँकिन् । कोठाको कुनामा राखिएको डस्टबिनमा लात हानिन् । उनले कडा मुट्ठीले ढोकामा ठोकिन् । उनी आफैँसँग रिसाएकी थिइन् । केही समयको लागि आफूलाई बिर्सिइन् । "म प्रसिद्ध छैन, किन ? किन ? किन ? ममा के कमी छ ? मेरो पेन्टिङमा के समस्या छ ? न लाइक, न कमेन्ट, न कम्प्लिमेन्ट ! अरूको धेरै भ्युज, धेरै लाइक र अभिराम प्रसिद्धि छ, तर मेरो लागि केही छैन ! के हो ? के यो ? म भाइरल हुन सकिँन, सक्दिँन, हत्तेरीका ।" नुमाले आफैँसँग रिसाएर घरको चेनगेटको भित्तामा हानिन् । उनी आफ्नो टिकटक पोस्ट र उनलाई फलो नगर्ने अज्ञात प्रशंसकहरूबाट आक्रोशित थिइन् । उनको चर्चित बन्ने सपना चकनाचुर भयो । ताया हतारहतार घरभित्र पसिन् र मुस्कुराउँदै सोधिन् । "नुमा, तिमीले २०० भ्युहरू पायौ ।" नुमाले ढोकामा राखेको डोरम्याटलाई एक लात ठोकिन् । साथीलाई रिसाएको देखेपछि तायाले बाटोमा रोकिन् । "के भयो, नुमा ?"
"नबोल ताया । मेरो मुड खराब छ ।" नुमाले क्रुद्ध भएर भनिन् ।
"तिमी उदास देखिन्छौ । के भो र, नुमा ?"
नुमाले जवाफ दिन अस्वीकार गर्दै अर्कोतर्फ फर्किन् । ताया नुमाको नगिचै गएर टाउकोमा दाहिने हात राखिन् । उनले आफ्नो कपाल, टाउको र हातलाई सम्हालिन् । नुमा तायातिर फर्किन्, छातीमा टाउको राखेर रुन थालिन् । "म प्रसिद्ध बन्न सकिनँ, ताया । मलाई रातभर निद्रा लागेन प्रतिष्ठाको लालसामा । मेरा पोस्टहरूमा धेरै भ्यु, लाइक, फलोअरहरू कि क्या हो हुहु हुहु ।"
तायाले आफ्नो साथीलाई सान्त्वना दिन गर्ल्याम्म अँगालो हालिन् । उनले भनिन्, "नुमा, तिमी अति नै महत्त्वाकाङ्क्षी हुनु हुँदैन । तिमी आठ कक्षामा पढ्दै छौ । तिमी चौध वर्षकी मात्रै छौ । तिमी यति छिट्टै कसरी प्रख्यात हुन सक्छौ ? तिमीले समय पर्खनुपर्छ । हतार नगर न ।" ताया आफ्नो साथीको जुनुनलाई कायम राख्न चाहन्थिन् । त्यसपछि उनी रोमान्चित स्वरमा बोलिन्, "नुमा, जन्मदिनको अग्रीम शुभकामना छ तिमलाई ?" आधा बन्द ओठले सेता दाँत उछिट्याउँदै नुमाले रुन्चे हाँसो देखाइन् । "हो, भोलि मेरो बर्थडे हो ।"
"ए नुमा यो पटक कसरी मनाउने हो तिम्रो बर्थडे ?"
"आ ! सामान्य किसिमले मनाउने हो यसपालि । केही साथीहरू र आफन्तहरूलाई बोलाउनु पर्ला अनि सानो पार्टी दिने हो; यति मात्रै ।"
"केक अर्डर दिइ सक्यौ त ?" तायाले सम्झाउने हेतुले सोधिन् ।
नुमाले मन्द स्वरमा भनिन्, "अहँ, ला ! मैले त झन्डै बिर्सेको । आज अर्डर नगरे ढिलो हुन्छ यार ।"
"ममीड्याडीले भनि सक्नुभयो कि ?" तायाले सम्झाउँदै भनिन् । "होइन ताया यो पटक म आफैँ केक अर्डर गर्छु । मसँग विशेष प्रकारको केक अर्डर गर्ने योजना छ । धरान बेकरी जाऔँ । त्यहाँ जस्तो भन्यो त्यस्तै डिजाइनको केक पाइन्छ ।" नुमा र ताया स्कुटरमा चढेर बजारतिर हुइकिए ।
सबैभन्दा प्रतीक्षित दिन थियो, मङ्सिरको छ गते । नुमा बिहान सबेरै उठिन् । उनको आनुहारमा आकर्षक चमक थियो र मनमा जोस थियो । उनको आमा र बुबाले उनलाई "ह्याप्पी बर्थडे" को शुभकामना दिँदा उनी सधैँभन्दा धेरै खुसी भइन् । वासरूममा पस्नुअघि, उनले आफ्नो सेल फोनको स्क्रिन स्क्रोल डाउन गरिन् । उनको मेसेज बक्स शुभकामनाले भरिएको थियो । उनी फुरङ्ङैो भइन् । भनौं उनको खुसीले सिमा नाँघेको थियो । बेलुकी उनको जन्मोत्सवको पार्टी सबैले धुमधामले मनाए ।
"स्कुल जाने बेला भैसक्यो नानी । उठ न भनेको ?" नुमाले ओढिरहेको ब्लाङ्केट तान्दै उनकी ममीले भन्नुभयो । केहीबेर नुमा र उनको ममिको ब्लाङ्केट तान्ने खेल चल्यो । नुमा भने ओछ्यानको कुनातिर सर्दै कुङ्लिङ पर्दै सुति नै रहिन् ।
"ममी आज म स्कुल नजाने ल । हिजोको पार्टीले टाउको दुख्दैछ ।"
"ए नुमा यता हेर न । यो भिडियो कलमा को बोल्दैछ ?" ममीले मोबाइलको स्क्रिन निदाइरहेकी छोरीको आँखामाथि देखाउँदै भन्नुभयो ।
"डिस्टर्ब नगर्नुस् न ममी मलाई थकान पनि लागेको छ ।"
"एकपल्ट भिडियोमा हेर क्या । लासिमा मेडमले के भन्नुहुदै छ ?"
लासिमा म्यामको नाम सुन्ने बित्तिकै नुमाले ब्लाङ्केट पलङमुनि हुर्याउँदै जुरुक्क उठिन् । लासिमा म्याम उनको स्कुलकी आर्टस् टिचर थिइन् । नुमालाई पेन्टिङ, ड्रविङ र आर्टस् सिक्ने प्रेरणा दिने उनै म्याम थिइन् । उनकै कारणले नुमा नेपालका महान कलाकार लैनसिंह बाङ्देल जसरी लोकप्रिय कलाकार हुन चाहन्थिइन् । अध्ययनका लागि लासिमा मेडम फ्रान्स गएपछि नुमाले वहाँसँग कुरा गर्न पाएकी थिइनन् । म्यामको भिडियो कल आएको देखेर उनका नयनहरू रसाए । लासिमा मेडमले सम्झाउँदै भन्नुभयो "नुमा म तिम्लाई धेरै नै सम्झने गर्छु नानी । मैले पढाएका सयौं विद्यार्थीहरूमध्ये तिमी एक नक्षत्र हौ । मेरो चित्रकलाकी उत्कृष्ट नमुना हौ । जन्मजातले नै कलाकार हुने क्षमता छ तिमीमा । तिमी बाङ्देलको प्रक्रमणका रुपमा जन्मिएकी प्रतिभा हौ । तिमीले आफूलाई उजागर गरी जगेर्ना गर्नुपर्छ नुमा ।"
नुमाले भावुक हुँदै सुस्तरी भनिन् "हुन्छ म्याम । म हरदम प्रयास गर्ने छु ।"
लासिमा मेडमले भन्नुभयो "मलाई थाहा छ नुमा तिमी अहिले यो गरू कि त्यो गरू भन्ने दोधारमा छौ । यसलाई डाइलेमा कम्लेक्स भनिन्छ । द्विविधाको समस्याले तिमीलाई पिरोलिरहेछ । हो कि होइन नुमा ?" नुमाले थोरै ओठ खोलेर स्वासको उच्छवासले बोल्दै सहमति जनाइन ।
नुमाको मनोविज्ञानलाई सताइरहने डाइलेमा कम्लेक्सहरू थिए; प्रसिद्ध हुने कि प्रतिष्ठित (Faminess/foaminess or Prestige) ? जन्मदिनमा मात्र शुभकामना लिनेदिने कि हरेक दिनलाई शुभ दिन बनाउने (Happy Birthday or Happy Day) ? र भाग्यशाली बन्ने कि गौरवशाली (Pride or Glory) ? नुमा मात्र किन र ! उनी जस्ता धेरै टिनएजरहरू हिँडेको वा नहिँडेको बाटो कुन रोज्ने हो ? भनेर द्विविधामा हुन्छन् । युवा मनोविज्ञान आलोकाँचो हुनाले दोधारे मनोवृतिले ग्रस्त हुन्छन् । यो द्विध्रुवियताको (bi-polar) मनोदशा हो । नुमा त्यही मनोदशाबाट गुज्रिरहेकी थिइन् । "Happy Birthday to you my dear Numa as a belated wish. जन्मदिनको बारेमा एउटा कुरा बुझ्नु नानी । ह्याप्पी बर्थडे भनेर जन्मदिनमा मात्र खुसी हुने होइन । हरदिन शुभदिन हुनुपर्छ र खुसी हुनुपर्दछ । हिजो तिम्रो जन्मदिनमा तिमीले खुसी पैचो लिएर बेस्मारी खुसी हुने प्रयास गर्यौ तर अरु दिन खासै खुसीको वास्ता गरेनौ । खुसीका लागि खुसीले नै तिमलाई तनाव दियो । हो कि होइन नानी ?"
यो बाइपोलरको चापले नुमालाई पिरोलेको कुरा लासिमा मेडमले कसैबाट सुने जसरी भन्नुभयो । दिगो र शास्वत खुसीको लालसा हुनुपर्ने, कुनै विशेष दिन या समयमा मात्र होइन हरपल हर दिन अकारण खुसी भैरहने जस्ता सुझावहरू दिनुभयो मेडमले ।
"मैले सुझाएका यि कुराहरू बुझ्न सुरुसुरुमा गाह्रो होला । बिस्तारै अभ्यास आदतमा परिणत हुँदा खुसीले सधैँ साथ दिने छ । मेरो कुरा बुझ्दैछौ नुमा ?"
नुमाले मुसुक्क मुस्कुराउँदै समझदार शिष्यको भूमिका निभाउँदै थिइन् ।
"ल भन नुमा जीवनमा तिमी भाग्यशाली वा गौरवशाली व्यक्तित्वमा एउटा रोज्नुपर्दा कुन रोज्छौ ?"
नुमाले तुरुन्तै भनिन् "भाग्यशाली ।"
"तिमी भाग्यले एक कुशल कलाकार बन्ने प्रतिभा लिएर जन्मेकी मानवमूर्ति हौ नुमा । अब तिमीले गौरवशाली योगदान दिएर सबैको गौरव बन्नु छ । त्यसैले तिमीले सङ्घर्ष र मिहिनेत गर्न लागिपर्नु पर्ने छ । तिमी अरुले अनुसरण गर्न लायक एक गौरवशाली बिरासत हुनुपर्छ है नानी ?"
नुमाले अव्यक्त सहमति जनाइन् । लासिमा मेडमले कुरालाई छोट्याउँदै भनिन् "अन्त्यमा, तिम्रो सोसल मिडियाप्रतिको अवधारणाको बारेमा सम्झाउन चाहन्छु । तिमीलाई झर्को त लागेको छैन नि नुमा ?"
नुमाले मुख आः पारेर हाँस्दै लासिमा मेडमसँग कुराकानी गर्न पाउँदा खुसी लागेको सङ्केतत गरिन् ।
"तिमीमा अहिले रातारात टिकटक स्टार, फेसबुक सेलिब्रेटि, प्रसिद्ध युट्युबर बन्ने अभिलाषाको भूत सवार भको छ । पानीमाथि फुलेको ग्याँसको फुकुन्डो जस्तो अनित्य नामको पछाडि दौडिनु हुँदैन नुमा । प्रसिद्धिको सट्टा प्रतिष्ठाको लागि कर्म गरे दुवै नै पाइन्छ । बालुवाको तरेलीमा बनेको प्रसिद्धिलाई हावापानीको एक लहरले बगाइदिन्छ । प्रतिष्ठा भने अजर अमर रहन्छ । यसका लागि निस्वार्थ सेवाभावले कर्म गर्नुपर्छ है नुमा ।"
आफ्ना सारा मनोभावनाहरू लासिमा म्यामलाई कसरी थाहा भयो ? भनेर नुमा छक्कै परिन् ।
"नुमा, तिमी चित्रकलाकी बालप्रतिभा हौ । यसैलाई जीवनको सपना विपना कल्पना सबै सम्झेर लागि पर है । एकदिन तिमीले तिम्रो बाजे लैनसिंह बाङ्देलझैँ गौरवशाली, प्रतिष्ठित र आनन्दित भएर सार्थक जीवन बिताउने छौ ।"
"बाङ्देलकी नातिनी हुँ म ?" नुमाले सोच्दै थिइन् । उनको मोबाइलमा कल आयो । सिरानीनेर मोबाइल थियो । सुतेरै कल रिसिभ गरिन् ।
"हेलो म तिम्रो गुरुआमा लासिमा बोल्दैछु ।"
नुमा झस्किँदै जुरुक्क उठिन् । उनले अघिसम्म सपना देख्दै थिइन् । अहिले आएको फोनले उनलाई बिउँझ्याएको थियो । नुमाले निन्द्रामै शुष्क स्वरमा बोलिन् "नमस्ते म्याम ।"
"नुमा अहिले म पेरिसको इकोल बोजा आर्टस् स्कुल (Ecole des Beaux Arts School) मा छु । यो स्कुलमा लैनसिंह बाङ्देलले सन् १९५२ देखि १९६४ सम्म आधुनिक कलाकारिताको अध्ययन र अनुसन्धान गर्नुभको रैछ । यो संग्रहालयको भित्रबाट तिमलाई सम्झेकी हुँ मैले । वहाँका कला र सृजनाहरू हेर्दै छु म । बाङ्देलको पदचाप पछ्याउँदै यहाँ आइपुग्दा मलाई खुसी, सम्मान र गौरवको अनुभूति भैरहेकोछ नुमा ।"
लासिमा मेडम बोलि नै रहनु भएको थियो । फोन कट्यो । भर्खरै देखेको सपना र सखारै आएको प्रिय टिचरको फोन कलले नुमालाई अन्योलमा पार्योख । यसमा पनि उनी डाइलेमा कम्प्लेक्समा परिन् । सपना हो कि विपना हो उनलाई लाग्दै थियो । ममीले ढोका घच्घच्याउँदै नुमालाई बोलाउनुभयो, "ए नुमा बाहिर आऊ न । दुईजना मान्छे आउनुभको छ ।"
"को किन होला र ममी ?" नुमाले भित्रैबाट बुझ्नलाई सोधिन् ।
"पेन्टिङ लाने रेन्त ।"
"ए हो ममी ल म निस्किँदै छु, एकछिन है ।"
नुमालाई तबमात्र याद आयो उनका दुईवटा पेन्टिङहरू बिक्री भएका थिए । जुन पेन्टिङहरू उनले सेलका लागि फेसबुकको मार्केटप्लेसमा र टिकटकमा पोस्ट गरेकी थिइन् । तेति चाँडै बेचिएलान् भन्ने उनलाई लागेको थिएन तर अनलाइनमार्फत बेचेर आज उनको कला र सृजनाको पहिलो कमाई हुँदै थियो । त्यसैबेला उनले लासिमा मेडमका शब्दहरू दोहोर्याउँदै प्रण गरिन् "मेरो कलाकारिता नै मेरो खुसी, प्रतिष्ठा र गौरव हो । सृजना र पसिनाले आर्जित पैसा र त्यस्को क्षणभङ्गुर सुख र खोक्रो आडम्बरमा म अल्झिरहने छैन । मेरा कला र सृजनालाई सर्वोत्तमस्तरमा लैजान मैले भरमग्दुर प्रयत्न गर्नुपर्ने छ । अब मसँग कुनै द्विविधा छैन ।"