बत्ती गएको रातको चकमन्नता शहरमा भयग्रस्त हुन्छ । अझ शहरकै अलि कुनाकानीका चकमन्नतामा त कुकुर कराएको बाहेक खासै आवाज पनि सुनिन्न । गाडीका बत्तीको उज्यालोमा गाडीकै आवाज पनि अनौठो नै लाग्छ । परिचित जस्तै लाग्ने आफ्नै शहर र बस्ती बत्ती गएको चकमन्नतामा कताकता विरानोझैँ लाग्छ ।
’अँधेरो किन यति डरलाग्दो हुन्छ होला है !’
के यो अँधेरोले बाँड्ने डर हाम्रो मनोभाव मात्र हो ?
कि, साँच्चै अँधेरोमा कोही रमाएर हामीलाई हैरान बनाउने गर्छ ?
बुढानीलकण्ठको मुल सडकबाट करिब १ किलोमिटरजति पैदल हिँडेपछि महादेव खोलामा बगेको पानीको सुसाइले छुन्छ । रातको चकमन्नतामा यस खोलाको वर्षे सुसाई निकै गर्हुङ्गो झैँ लाग्छ । अँधेरोमा महादेवको खोलाको पूरानो भैसकेको पुलले अझै डर उत्पन्न गर्छ । दिउँसै पनि गाडी हिँड्दा पनि कतै केही भैहाल्छ कि भन्ने डर पैदा गर्ने महादेव खोलाको पुल रातमा वारपार गर्दा साँच्चै डर लाग्छ ।
रातको चकमन्तामा महादेवखोलाको बाटो हुँदै हिँड्दा यही बाटो र परिवेशसँग जोडिएका भूतप्रेतका कतिपय प्रशङ्गहरू मनमा तरङ्ग बनेर उठ्न सक्छन् । यस्तै चकमन्नतामा यहाँ भूत नै भेटेका कथाहरू जनजिब्रोमा झुण्डिएको छ । के यी तथाकथित भूत-प्रेत चकमन्न रातमा पारेर आउँछन् होला ? वा अँधेरोलाई नै किन मन पराउँछन् होला हाम्रा भूतप्रेतले ! किन भूतका कथाहरू अँधेरो केन्द्रित नै हुन्छ होलान् ?
अलि सानै छँदा मलाई “भुत” भन्दा मान्छेले बिताएको भुतकाल होला जस्तो लाग्थ्यो । टिनएजबाट उँभो लागेर ट्वान्टीजका बेला देवीदेवता तथा भुतप्रेतका अस्तित्व धेरैले स्वीकार्दैनन् । हो, त्यहिताका मलाई पनि मान्छेका आफ्ना भूतकालका बिभिन्न पक्षले डराउने होला जस्तो लाग्थ्यो । एउटा ग्रिक भनाई पनि सर्वव्यापी छ, “भूतकालका गल्तिहरू जानीजानी दोहार्याउने मान्छे बाँच्नयोग्य हुँदैन ।“।
समयको उकाली ओरालीसँगै समाजका हरेक पक्षले मेरा दिमागमा पनि कहिँकतै यी भुतप्रेत भन्ने विषयको अस्तित्व यो संसारमा छ कि भन्ने पारेको छ । हजार जनाले झुटलाई साँचो मानेपछि त्यो झुट ’सत्य’ हुन्छ“ भन्ने चाइनिज उखानझैं म पनि बिस्तारै भुतप्रेतबाट प्रभावित हुन थालेंको हुँ ।
त्यो रात, घरबाट नजिकैको दुरीमा पर्ने महादेव खोलाको पुल तर्ने बेला ’छिस्रिक्क’ आवाज आयो । वर्षा नसकिएको ती दिनहरुमा महादेव खोलामा ४ घट्टजति चल्ने पानी बगिरहेको छ । ’के आवाज होला यो ?’ पानीमा आवाज आउने केही बग्यो होला कि यो आवाज कुनै भूतप्रेतको नै होला ? मन ’झसङ्ग’ भयो । आफ्नै मन भित्रको सुषुप्त डर ’भूत’ बनेर आवाज पो आएको हो कि !
आवाज आए पनि आवाज आएतिर निर्क्योल गरेर हेर्ने आँट भने भएन । खोला तरिसकेपछि वर्षाले बिगारेको उबडखाबड बाटो छ । निलकाँडाका झाडीहरू दुवैतिर झ्याम्मिएका छन् । कतै यही निलकाँडाको झाडीबाट पो केही कोही निस्की पो हाल्छ कि भन्ने भान हुन्छ । रातिको समय यो बाटो हिँड्नेहरूले धेरैपटक के के देखेको के के भएको भन्ने कुरा गरेको चियापसलमा सुन्न पाइन्छ ।
भन्नेहरू भन्छन्, कुनै ताका यहि महादेव खोलाको पानीमा मानिसले सुन, हिरा, चाँदी इत्यादि पनि भेट्थे रे । महादेव खोलाको यो पुलदेखि रूद्रमतीसम्म अनकन्टार ठाउँ छ । पारी बाँडेपाखा जानेहरू रातिको समयमा बिरलै हिँड्छन् । वारी बतासे डाँडाको बस्तीमा पुग्न पर्नेहरु साँझ नपर्दै पुगिसक्थे ।
समयको गतिसँगै महादेवखोला तथा रूद्रमतीखोला किनारका खोँच तथा साँघुरा खेतहरूमा बस्ती बनिससकेका छन् । तर पनि भुतसँग सम्बन्धित पुराना कथाहरूका प्रभाव भने अझै छ । मानिस राति अझै हिँड्दा भुत आउँछ कि भन्ने सोचले ग्रस्त हुन्छन् । महादेव खोलामा सुनचाँदी पाइन्छ कि भनेर भाग्य अजमाउनेहरू पनि यदाकदा खोलातिर सावेल व्यस्त भैरहेको भेटिन्छन् । सुनचाँदीका बारेमा कहिले कसले के देख्यो ? वा कहिले कसले के पायो ? थाहा भएन तर महादेव खोलासँग जोडिएको यो प्रशङ्गले कङ्क्रिटको बस्ती बनिसकेको यो खोँचलाई अझै जीवन्त बनाइरहेको जस्तो लाग्छ ।
चकमन्न रातिमा महादेवखोला आसपासबाट गुज्रिँदा भुतप्रेत वा यो खाले अस्तित्व नमान्नेहरू जो कोहीलाई एकखाले भय भने उत्पन्न गर्छ नै । एकातिर १० बजे हाम्रो राजधानी लगभग सुतिसक्छ । यतिछिटै सुतिसक्ने राजधानी विश्वमै हाम्रै मात्रै होलाउँ । हैन हैन, जर्मनहरू ८ बजे नै सुत्छन् । विश्वमै छिटो सुत्नेहरूमा जर्मनहरूलाई कसैले जित्न सकेको छैन । सुतिसकेपछि हाम्रा सहरका घरहरूमा कतै बत्ति बल्दैनन्, मानौ त्यो घरमा वर्षौँदेखि कोहि छैन जस्ता बनाएर सुत्छन् यहाँका मानिसहरू । आकलझुक्कल राति हिँड्न पर्नेहरुलाई यस्ता सन्नाटासँगैको अँधेरोले डर पैदा गराउँछ ।
तर यहाँ माथिका कुनै पनि प्रशङ्ग वा यो महादेव खोलासँग केही सम्बन्ध राख्दैन । न यो खोलाको भुत वा सुनचाँदीसँग नै सम्बन्ध राख्छ । यो प्रशङ्गसँग महादेव खोलाको बाटो परेकोले माथिका कुरा उल्लेख भएका हुन् ।
त्यो दिन महादेवखोलाबाट भर्खरै बस्दै गरेको बस्तीहुँदै रूद्रमती खोला अनि बतासेडाँडातिर जाँदै थिउँ । म यो दिशातिर किन जाँदैछु भन्ने मसँग खासै मूर्त वा अमूर्त योजना थिएन । मनमा एकखाले उद्वेलन थियो, छटपटाहट थियो । उकुसमुकुसकै तुफानमा म पाइला चाल्दै थिएँ ।
यसरी पाइला चाल्दै जाँदा अनायासै यतातिर आइपुगेका थिए मेरा पाइलाहरु । तथापि तनावग्रस्त भएर आत्महत्या वा कुनै अपहत्ते गर्नका लागि भनेरचाहिँ म यतातिर हिँडेकोचाहिँ थिइन । त्यसो त हामी पूर्वीय दर्शन तथा धर्ममा विश्वास गर्नेहरू हरेक कदम, पाइला पहिले नै तय हुने कुरामा विश्वास राख्छौं । सायद उपरवालेको तय नै थियो कि त्यो दिन महादेवखोलाहुँदै रुद्रमतीखोला भएर डाँडातिर जाने ।
मनमा छटपटी थियो । जीवनका विविध आयामले प्रदान गरेको बाछिटाहरुको आयातन बढेर उकुसमुकुसपश्चात निस्किएको थिएँ म । रातको सन्नाटामा हिँडिरहँदा कुनबेला महादेवखोलातिर आइपुगे थाहा भएन । हुनत महादेव खोला तथा यसका किंबदन्तिबारे मलाई थाहा नभएकोचाहिँ हैन । तर मेरो पाइला यतातिर मोडिनु एउटा निश्चित संयोगबाहेक केही थिएन ।
२० प्रतिशतको हाराहारीमा झरिसकेको मोबाइलको चार्जले प्रदान गर्ने उज्यालो कतिखेर सकिने हो थाहा थिएन तैपनि कतै नपुग्ने गरी हिँड्दा उज्यालो छ छैन वा भुत आउँछ वा आउँदैन भन्ने विषयले छुँदो रहेनछ । त्यसो त, शहरकै एक कुना हो यो ठाउँ । कुनै दुर्गम ठाउँ पनि त थिएन डराइहाल्न पर्ने ।
महादेवखोलाबाट रूद्रमतिखोलासम्म पुग्न करिब ५०० मिटर जति हिँड्न पर्छ । केही घर-बस्ती, केही खेतका टु्क्रा, घुम्ती नै घुम्ती भएको उबडखाबड बाटो भएर धोविखोला पुग्दा नजिकै डाँडो र जङ्गलले स्वागत गर्छ । रातिको चकमन्नतामा यो जङ्गलको कालोपनले कतै पनि सुन्दरतामा पोख्दैन, डर बाँडिरहेझैं लाग्छ । पुल नजिकै एउटा विद्यालय छ त्यसको अपोजिटमा खाली चौर जस्तो छ । नजिकै सिमेन्टको पोखरीजस्तो देखिन्छ ।
पोखरीको छेवैमा केही मानिस र आगो बलिरहेको देखिन्छ । सायद मरनपाटी होला जस्तो लाग्यो । म त्यतातिर नलागि बाटै-बाटो उकालिएँ । सय मिटर उकालिएपछि दाहिनेतिर एउटा मध्यम कदको वृक्षसहितको खुल्ला डाँडो छ । मध्यरात यो वृक्षमा कोही पिङ खेल्दै थियो । मन झसङ्ग भयो !
’के हो यो ?’
’भुत !!!?’
यो लगभग मध्यरात ! त्यो पनि दशैँ आउन अझै एकमहिना जस्तो बाँकी छ । कसरी पिङ ? को खेल्दै छ ? मेरो खुट्टाहरू रोकिए, हलचल नै भएनन् । खुट्टा न अगाडि बढ्न सके न पछाडि हट्न । ऐठन भएझैँ भयो । यही अबस्थामा त्यो पिङ खेलिरहेको पात्रलाई नियाल्न खोजेँ । चम्किलो अनुहारको पिङ खेलिरहेको पात्र देदिप्यमान लाग्यो । भुत भनेर सोचेको पात्र देवताझैँ लाग्यो । देवराज इन्द्र वा साक्षत् भगवान कृष्णझैँ उज्ज्वल र सौन्दर्यमय देखिने त्यो पात्र जुनसुकै हिसाबले हामीले पढ्ने ग्रन्थका काल्पनिक देवताभन्दा एकरत्ति कम थिएन ।
अझ नियाल्न खोजेँ । पाइला अगाडि बढेझैँ भए । त्यो पिङ पनि पहेँलो, सुवणर्मय थियो । कपुरको वृक्षमा सुवणर्मय पिङमा यो राति को होला ?
’भुत त हुनै सक्दैन !’ मैले मनमनै भने ।
’यो को होला ? के होला ?’ एकैपटक प्रश्नै प्रश्नैका पहाडहरु उठे । जडबत् अबस्था थिएँ तर अगाडि बढेझैँ लागेको थियो । त्यो दृष्य चाहिँ नजिकिएँझैँ भैरहेका थिए । त्यो पात्र जो साक्षात् देवताभन्दा कम लाग्दैन थियो उसको अनुहारको आकृतिचाहिँ चिनेचिनेझैँ लाग्यो ।
त्यो दृष्यको वरीपरी आँखा विछ्याएँ । नजिकै एउटा बाँसको झाडी छ, केही पर एउटा हाउजिङ बन्दैछ । केही घरहरू उस्तै आकारमा बनिरहेको देखिन्छ । राति पनि त्यो हाउजिङमा काम भैरहेझैँ थियो केही आवाजहरू आइरहेका थिए । तर कोही मानव आकृति भने देखिदैनथ्यो ।
म बिलखबन्दमा परेँ । न अगाडि बढ्न सकेँ न पछाडि हट्न । त्यो दृष्य लगातार चम्किलो अबस्थामा हँसिलो अनुहारका साथ पिङमा मच्चिरहेको थियो । तर यो चिनेझैँ लाग्ने आकृति मेरा लागि प्रश्न बनिरहेको थियो । म आफूले चिनेका सबैको अनुहारसँग मेल गर्न थालेँ ।
’ओहो !!!’
’यो त त्यो मानिसको आकृतिको पो हो त !’ त्यो आकृतिसँग मैले नजिकबाट चिनेका एक पात्रको हुबहु अनुहार मिल्यो । अब झन् डर एवम् कौतुहल भयो मलाई ।
’यो भुत हो वा देवता ?’ मलाई भाग्न मन लाग्यो । भाग्न कोशिस गरेँ । तर खुट्टा नै चलेनन् । पुरै ऐठन भएझैँ भयो । चिच्याउन चाहेँ । आवाज नै निस्किएन । ठूलो प्रयास गरिसकेँ तर न खुट्टा चल्छ न आवाज । केही बेरपछि एउटा स्याल हो कि कुकुरको आवाज आए झैँ लाग्यो । कुकुर रोएको झैँ आवाज । त्यसपछि म अझै जोडले भाग्न र चिच्याउन खोजेँ । लामो प्रयासपछि झल्याँस्स भएँ ।
’अहो !!! यो त सपना पो थियो ।’ । सपनामा रहेछु म । आफ्नै घरको कुकुर लगातार कराइरहेको रहेको रहेछ । बिहान ५ बजिसकेको थियो ।
’कस्तो अचम्मको सपना यो ?’
’किन त्यो पात्रलाई मैले त्यसरी देवताको रूपमा पिङ खेलिरहेको देखेको हुँला !?’
यस्तो सपना जसमा मैले चिनेकै पात्रलाई देवराज इन्द्र वा भागवान कृष्णझैँ स्वरुपमा सुवणर्मय पिङमा आनन्दले मच्चिरहेको देखेको थिएँ ।
“के होला यो सपना ?“
“कस्तो लाग्छ तपाइँहरूलाई ?“
“यस्ता सपनाका पनि केही फल हुन्छ कि ?“ भनिदिनुस् है ।