18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भाषाको माया

निबन्ध प्रमाण अधिकारी October 29, 2024, 7:10 pm
प्रमाण अधिकारी
प्रमाण अधिकारी

नेपालका शहरहरूमा सडकपेटी साँघुरा छन् । हिँड्दा हिँड्दै बिलाउँछन् । मूल बाटामा झरेर अलि परसम्म हिँडेपछि मात्र सडकपेटीमा उक्लन पाइन्छ । राज्यले माया गर्छ भनौं भने पैदलयात्रीलाई विकास निर्माणका काम हुँदा प्राथमिकतामा नै राखिँदैन । कतै चौतारो, कतै मन्दिर, कतै विद्युत प्राधिकरणका सामान, कतै निर्माण सामग्रीको थुप्रो, कतै पेटीसम्मै आइपुगेका पसलका सामान त कतै बिजुलीको खम्बाले पैदलयात्रीलाई सुखसँग हिंड्न पनि दिंदैनन् । यिनै साँघुरा सडकपेटी भएको शहर काठमाडौंको अवस्था पनि अरु शहरको भन्दा फरक छैन । विकरालै छ भन्दा हुन्छ । एक त सडकपेटी साँघुरो छ त्यसमाथि नेपालीजनको विशेषता हिँड्दा हिँड्दै बाटामा ठिँङ्ग उभिएर फोनमा कुरा गरिदिने छ । हिंड्दाहिंड्दै साथीभाइ भेटे भने सडकपेटीनै ओगटेर गफ चुट्ने बानी छ । आफ्ना कारणले अरु यात्रीलाई मर्का परेको कुरालाई कसैले वास्ता गर्दैनन् ।
एकदिन म काठमाडौंकै एउटा साँघुरो पेटीमा हिँड्दै थिएँ । सिमसिम पानी पर्दै थियो । एकजना सभ्य महिला सडकपेटीमै हुर्कंदै गरेको रुखमुनि टुसुक्क बसेर फोनमा कुरा गर्दै हुनुहुन्थ्यो । छाता नओढी हिँड्दा त दुईजना आवतजावत गर्न असजिलो हुने पेटी सभ्य महिलाका कारण एकतर्फी त हुने नै भयो । पानी परेका बेला छाता पनि ओढेका पैदल यात्री हिंड्ने भएपछि सकस त प¥यो नै । तापनि ति सभ्य महिलालाई उनका कारणले अरु पैदलयात्रीलाई परेको असजिलाको ज्ञान थिएन अथवा यस विषयमा उनले पनि मतलब राखिनन् । सभ्य टोपलिएर मैले अगाडिबाट आउँदै गरेका तरुणवयका दुई महिला पुरुषलाई बाटो छोडिदिएँ । तरुण अघिअघि थिए अनि तरुणी पछिपछि आउँदै थिइन । “आइ थिङ्क वि सुड् गो द्याट वे” भनेर पारिपट्टीको बाटो देखाउँदै उनी टक्क अडिइन । सडक त जाम थियो नै । उनी रोकिएपछि सडकपेटी पनि जाम भयो । मैले तरुणीलाई पुलुक्क हेरें । यसरी कसैलाई हेर्नु यस्तो खालको परिस्थितिमा स्वाभाविक पनि हो । तरुण नेपाली रै’नछ क्यारे भनेर मैले उनको अंग्रेजीलाई स्वाभाविक रूपमै लिएँ । “तिमीलाई कुन बाटो छिटो हुन्छ र?” भनेर दोस्रो वाक्य ति तरुणीले नेपाली भाषामा उनका मुखारविन्दबाट निकालेपछि उनलाई अर्को पटक पुलुक्क नहेरिरहन सकिन । बाटोमा अवरोध खडा गरेकोमा भन्दा पनि अंग्रेजी भाषा बोलेकोमा गर्व गरेजस्तो उल्टै गमक्क परेको भावभंगिमा ति तरुणीमा देखियो । घरमा भात खाने भनेर भन्नेले बाहिरपुँडो भुजा ज्यूनार गर्ने भनेर भन्दा आफ्नो सामाजिक स्तर उँचो भएको देखाउन सकिन्छ भन्ने ठान्छन् । मलाई पनि यो दृश्यले उक्त कथन सम्झायो । साथै यो प्रसङ्गले हाम्रो समसामयिक नेपाली समाजको अवस्था पनि दर्शायो ।
अहिले कुनै शिशुले के सिक्यो, कति सिक्यो भन्दा पनि उसले कति अंग्रेजी जान्यो भन्ने कुरा प्रधान भएको छ । शिशुको बोली फुटेका बेलादेखि जबर्जस्ती अंग्रेजी भाषा बोल्न सिकाउने भगिरथ प्रयत्न हाम्रा घर, टोलछिमेकमा भएको देखिराखिएकै छ । शिशुले एउटा मात्र पनि अंग्रेजी शब्द बोलिदियो भने घरपरिवारका सदस्यमा खुशीको सीमा रहँदैन । अब शिशुले गरिखाने भयो भन्ने निश्चित नै भयो जसरी हर्ष मनाइन्छ । बाउआमा घरमा शिशुसँग अंग्रेजीमै बोल्ने, शिशु कक्षा भनेर पठाउने मन्टेश्वरी अनि बोर्डिङ्ग स्कूलले अंग्रेजीमै खुवाउने र पिलाउने गर्छन् । अंग्रेजी माध्यमबाट पढाइने विद्यालयमा यो पद्धति यति विकृत रूपमा लादिएको छ कि नेपाली विषय र नेपाली मै पढाइ हुने (कतै हाम्रो सेरोफेरो भन्ने विषय पनि हुँदो रहेछ) विषय कक्षामा बाहेक नेपाली भाषामा वा विद्यार्थीको मातृभाषामा बोलेमा शिक्षकले विद्यार्थीलाई सजाय दिने अथवा कतै आर्थिक जरिवाना गराउने गरेका तथ्य हाम्रासामु छन् ।
अंग्रेजी भाषामा शिशुहरू यति अभ्यस्त भएका छन् कि अब नेपाली भाषा मातृभाषा भएका घरमा पनि शिशुले कुनै नेपाली शब्द नबुझे अंग्रेजीको समानार्थी शब्द भनिदिएपछिमात्र बुझ्छन् । अझ नेपाली भाषामा अङ्कको ज्ञान यति कमजोर छ कि ९९ भनेपनि अंग्रेजीमा कति? ४० भने पनि अंग्रेजीमा कति भनेर सोध्छन् । यो क्रम यतिमै रोकिएको पनि छैन । क्रमशः केटाकेटी, वयस्क अवस्थामा पनि निरन्तरता पाइराखेकै छ । अंग्रेजी फरर बोल्नसक्ने मान्छे गुदीबिनाको भएपनि विद्वान्, जानेबुझेको र ज्ञानको खानीनै भएको मनुवा जसरी व्याख्याविश्लेषण र ग्रहण गर्ने चलन हाम्रो समाजमा छँदैछ । बोल्न सिपालु भएपनि अध्ययन छैन भने अंग्रेजीमा धाराप्रवाह बोल्न सक्ने कुनै पनि व्यक्ति खोक्रो नै हुन्छ ।
मेरा छोराछोरीको नेपाली देखेर म चिन्तित रहन्छु । दुवै अंग्रेजी माध्यमको विद्यालयमा पढ्छन् । म हल्काफुल्का अंग्रेजी बोल्नसक्ने भएकाले घरमा रहँदाबस्दा छोराछोरीसँग अंग्रजीमै कुरा गर्न मलाई दबाब आउँछ । तर म चाहन्छु मैले मेरा छोराछोरीलाई मैले जानेजति नेपाली भाषाको ज्ञान दिन सकूँ । उनीहरू नेपाली शुद्ध बोल्न सकून् । शुद्ध लेख्न सकुन् । अंग्रेजी भाषा त अहिलेका बच्चाले ९/१० वर्षको उमेरसम्ममा जानिसकेका हुन्छन् । मैले कतिपय अंग्रेजीका नयाँ शब्द मेरी छोरीबाट बेलाबेला सिकिरहेको हुन्छु । उनीहरू सामान्य वार्तालाप पनि अंग्रेजीमै गर्न सक्छन् । मोबाइल, टि.भी., युट्युबलगायतका विद्युतीय उपकरण र सामाजिक सञ्जालको पहुँचले यसमा धेरै प्रभाव पारेको छ । तर घरमा पनि हामी अंग्रेजीमै बोल्ने हो भने हाम्रा शिशुहरूलाई नेपाली सिकाउने कसले?
छोराछोरीसँग अंग्रेजी नबोलेर समयअनुसारको हुन नजानेको भन्दै खप्की खाए पनि म सहन्छु तर म मेरा सन्तानलाई नेपाली चाहिँ सिकाएरै छाड्छु भन्ने अठोट मैले लिएको छु । हामीलाई हाम्रा बाले जिब्रो पातलो हुन्छ भनेर नियमित रूपमा चण्डीपाठ, दुर्गाकवच पाठ गराउने गर्नुहुन्थ्यो । सरकारी विद्यालय पढेका कारण पनि मलाई नेपाली भाषा सिक्न सहज नै भयो । हाम्रा समकालीन साथीहरू, जो अंग्रेजी माध्यमबाट पढाइ हुने विद्यालय जान्थे, तिनले टोलछिमेकमा अंग्रेजीमा बोल्दा सरकारी विद्यालय पढेकालाई उनीहरूका बाआमा हामीलाई लघुताभाष नै गराउन खोज्थे । अहिले त सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमबाट विभिन्न विषयको पढाइ पनि हुन्छ । तर हाम्रो भाषालाई पनि ज्ञानको भण्डार बनाउन सके र समृद्ध बनाउन पाए अरु भाषामा निर्भर रहनुपर्ने कुरा प्रधान रहने थिएन । ऐतिहासिक सन्दर्भबाट हेर्दा भाषाको व्यापकता उक्त भाषा प्रयोग गर्ने शासकहरूका स्वार्थका कारण पनि प्रभावित हुने नै भयो । अंग्रेजी र अन्य युरोपेली मुलुकका भाषा प्रयोगका सन्दर्भ यहाँ जोडिन आउँछ तर अहिले यो विषयमा प्रवेश गर्ने मेरो योजना छैन ।
समसामयिक परिस्थितिको कुरा गर्दा नेपालमा जति नै औपचारिक शिक्षा हासिल गरेपनि क्षमताअनुरुपको रोजगारी प्राप्ति र जीविकोपार्जन गर्ने आधार बन्ने अवस्था न्यून छ । रोजगारी सिर्जना आवश्यकता अनुसार हुन नसकेको सर्वविदितै छ । उत्पादनमूलक क्षेत्रको अवस्था नाजुक छ । उच्च माध्यमिक शिक्षा प्राप्त गर्ने बित्तिकै वैदेशिक अध्ययन तथा रोजगारीका लागि विदेश जानुपर्ने, र कतिपय पलायन हुनुपर्ने बाध्यता छ । वैदेशिक अध्ययनसँगसँगै आर्थिक उपार्जनको अवसर खोज्दै जीवनका कठिन अवस्थामा राज्यबाट सुरक्षा पाउने आशाले सक्रिय जनशक्ति बाहिरिने क्रम जारी छ । भविष्यको स्पष्ट चित्र र आशाको त्यान्द्रो आफ्नो देशमा नदेखेपछि माटोको मायाले मात्र रोक्दैन रहेछ शायद, युवा पुस्ताले देश छाड्ने क्रम तीव्र रूपमा बढिरहेको छ ।
आज नयाँ पुस्ताको विदेशतिरको पलायनले भाषाको संरक्षणको जिम्मेवारी र प्रयोगलाई निरन्तरता दिने सन्दर्भमा चुनौती देखिएका छन् । आफ्ना सन्ततिले नेपाली भाषा बिर्सने चिन्ताले प्रवासी नेपाली समुदाय भाषा संरक्षणका लागि नयाँ पुस्तालाई लक्षित गरी नेपाली भाषाका कक्षा सञ्चालन पनि गर्दै छन् तर दैनन्दिन जीवनमा मातृभाषाको कमै प्रयोग हुने त्यहाँको परिवेशले सिकाइको दीगोपनामा भने शंका उत्पन्न गर्छ नै । तर भाषाको संरक्षणमा गरिएको यो प्रयासलाई सह्राहनीय नै मान्नुपर्छ । एकातर्फ अंग्रेजी भाषामा पोख्त भइयो भने विदेश पढ्न जान र त्यहीं स्थापित हुन सहज हुने आशाका कारण अहिलेको समसामयिक परिवेशमा यो भाषाको महत्त्व झन्झन् बढ्दै गएको देखिन्छ भने अर्कातर्फ सूचना, रचना, इतिहास, खोज र अनुसन्धान सामग्रीका सन्दर्भमा पनि हामी त्यस भाषामा बढी निर्भर हुनुपरेको अवस्था छ ।
भाषा त एउटा अभिव्यक्तिको माध्यम हो । यो कसैको ज्ञान, सिकाइ र विद्वताको द्योतक होइन । नेपाली भाषा र साहित्यका सन्दर्भमा कुरा गर्दा विश्व साहित्यमा जति अरु भाषा समृद्ध छन् हाम्रो भाषा छैन भनिन्छ । दर्शन, साहित्य, सिद्धान्त, खोज, अनुसन्धान, इतिहास आदिका सन्दर्भमा पाश्चात्य जगत् समृद्धमध्येको एक मानिन्छ । पूर्वीय साहित्य यस सन्दर्भमा अझ उन्नत रहेको र विशेष गरी संस्कृत भाषामा यसको अथाह सामग्री रहेता पनि अनूदित सामग्री र त्यही संस्कृत साहित्य पढेका केहीले मात्र नेपाली भाषाको भण्डारमा योगदान गरेका कारण समृद्धिको तहमा हामी पछाडि नै रहेको प्रतीत हुन्छ । हामीले धेरै अध्ययन सामग्रीका सन्दर्भमा अनूदित सामग्रीको भर पर्नुपरेको यथार्थ हाम्रा सामु छ ।
धेरै नेपालीले अंग्रेजीलगायत अरु भाषा सिके । पढे । संस्कृत साहित्यको पनि अध्ययन गरे । आफ्नो ज्ञानको धरातल बिस्तार गरे । तर नेपाली भाषामा तिनका खोज, मूल सामग्री, अनुसन्धान, सिकाइ र ज्ञान अनि सूचनाको अभिलेखिकरण साथै भण्डारण कति गरे त भन्ने कुरा हाम्रो भाषालाई समृद्ध बनाउँदै लैजाने सन्दर्भमा महत्त्वपूर्ण हुन्छन् भन्ने मलाई लाग्छ । हामीले हाम्रो भाषालाई समृद्ध बनाउँदै लैजाने भनेको हाम्रा अध्ययन, अनुसन्धान अथवा समग्रमा ज्ञानको प्रस्तुति सरल शैलीमा आफ्नो भाषामा गर्दै जाने र त्यसलाई गतिशील बनाउँदै लैजाने हो । ज्ञानको सर्वमान्यता र व्यापकताले भाषालाई बिस्तारै समृद्ध बनाउँदै लैजान्छ । अन्य भाषामा उपलब्ध सामग्री पढ्ने हो, ज्ञान आर्जन गर्ने हो, पढाउने हो, लेख्ने हो तर साथसाथै आफ्नो भाषा र नेपाली भाषीलाई पनि त्यस समृद्धिको बाटोमा सामेल गराउँदै लैजाने हो । तब मात्र हाम्रो भाषा मिठोमात्र नभइ समृद्ध पनि हुन्छ भन्ने मलाई लाग्छ ।

रामघाट, पोखरा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।