कोही नहुनेलाई बचाउने
कोही पनि हुँदैनन् ।
ईश्वर हुन्छन् भन्ने कुरा त आस्थामा मात्र रहेछन्
आस्थामा मात्र घुमिरहने ईश्वर त अदृश्य रहेछन्
फुत्त निस्केर आउँदैनन् बचाउन तिमीलाई
आउने भए त यहाँ दीन-दु:खी कोही हुन्थेनन्
ईश्वरलाई नै सम्झी जप गर्नेहरू
कोही भोका र रोगी हुन्थेनन्
कोही नहुनेलाई बचाउने त
उसकै हातहरू रहेछन् कमाउने
उसकै खुट्टाहरू रहेछन् हिँड़ाउने
कोही नहुनेलाई सघाउने त
उसकै आँट रहेछ
उसकै परिश्रम रहेछ
उसलाई कसैले बचाउँछ भने
उसको रगतमा उम्लिरहेको आँटले बचाउँछ
उसलाई कसैले सघाउँछ भने
उसको शरीरमा उम्लिरहेको पसिनाले सघाउँछ
र
तिमीलाई सघाउने हातलाई
र
तिमीलाई हिँड़ाउने खुट्टालाई
र
तिमीभित्र उम्लिरहेको रगतलाई
र
तिमीभित्र उम्लिरहेको पसिनालाई
सलाम ठोक ।
नबोल्ने ढुङ्गोले बचाउँदैन तिमीलाई।
डाउहिल, खरसाङ, भारत।