सुब्बा चुनाव नजिकिएपछि फेरि जनताको समस्या बुझ्न गाउँतिर लागे। उनी ठूला गाडी र दर्जनौं सुरक्षाकर्मीसहित गाउँको एक ठाउँमा पुगेका थिए । गाउँलेहरू जम्मा भए । सबैले हात जोड्दै आशा र अपेक्षासहित सुब्बालाई हेरे ।
सुब्बाले भव्य भाषण सुरु गरे, "म तपाईँहरूको दुःख हेर्नै सक्दिनँ ! अब यो ठाउँलाई स्वर्ग बनाइदिन्छु !"
त्यही बेला एउटा वृद्ध सुब्बाको अगाडि आएर भने, "हजुर, अबको कुरा छाडेर पहिला यो बाटो बनाइदिनुस् न । दुई वर्षदेखि खाल्डाखुल्डीमै डुबेर हिँड्नुपर्छ हामीले ।"
सुब्बाले हाँस्दै जवाफ दिए, "ओहो ! तपाईँहरू पनि कति हतार गर्नुहुन्छ ! विकासमा केही समय त लाग्छ । यो खाल्डा देखेर म पनि दु:खी छु । के थाहा तपाईँलाई, यो खाल्डो म आफैंले निरीक्षण गर्न बनाएको हुँ कि ?"
गाउँलेहरूले हाँस्दै भन्न थाले, "साहब, यो खाल्डा हामीले भोट दिएपछि बनेको हो । तपाईं निरीक्षण त ठ्याक्कै चुनावको समयमा मात्रै गर्नुहुन्छ !"
हाल: एनेलकुटी, सिरहा