18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘युङफ्राउ’ नियात्रासङ्ग्रहभित्र पस्दा

कृति/समीक्षा डा. शैलजा पोखरेल November 15, 2024, 12:12 am
डा. शैलजा पोखरेल
डा. शैलजा पोखरेल

विषयप्रवेश:
‘युङफ्राउ’ साहित्यकार कृष्ण बजगाईँद्वारा लिखित पाँचौँ नियात्रासङ्ग्रह हो । यस नियात्रासङ्ग्रहमा सेप्टेम्बर २०२१ देखि अगस्ट २०२३ सम्मको अवधिमा भएका भ्रमणहरूको वृत्तान्त समेटिएको छ । २७ ओटा शीर्षकमा संरचित यी नियात्राहरू सुरुका केही एकआपसमा भ्रमणको प्रयोजनका दृष्टिले आवद्ध भएका छन् भने पछिका केही नियात्राहरू अलि फरक प्रयोजनले गरिएका भ्रमणमा आधारित छन् । नेपाली साहित्यमा १८ ओटा पुस्तक प्रकाशित गरेर चिरपरिचित भइसकेका बजगाईँको ‘युङ्फ्राउ’ नियात्रासङ्ग्रह २०८० सालमा प्रकाशित भएको हो ।

परिचय:
‘युङफ्राउ’ नियात्रासङ्ग्रहका लागि नियात्राकार कृष्ण बजगाईँ बेग्ला बेग्लै साथीसँग बेग्लाबेग्लै समयमा गएका छन् । ग्रिसको यात्रामा बजगाईँ एक्लै पुगेका छन्; स्विजरल्यान्डको यात्रामा सञ्जु, कृतिस र सुयशका साथमा पुगेका छन्; पोर्चुगलमा सञ्जुसँग गएर भतिज रञ्जक र भतिजी रूजा थपिएपछि यात्रालाई पूर्ण बनाइएको छ भने बेलायतको यात्राका क्रममा कतै एक्लै र कतै सञ्जुसँग अरू पात्रहरू भेट्न हिँडेका छन् । तिनै यात्राका सम्झना साथै पुगेका स्थानका दृश्यको वर्णन र त्यहाँ देखिएका दृश्यलाई पहिलेका कुरासँग दाँजेर गरिएका वर्णन र विश्लेषण चाखलाग्दा छन् ।

मानवजीवनसँगै यात्रा मानवजीवनको अभिन्न पाटो हो भन्ने कुरा हाम्रा जातिको इतिहास पढेर पनि जान्न सकिन्छ । यात्राको परम्पराकै कारण आज यहाँ भएका हामी हाम्रा पुरखाका इतिहास खोज्न कर्णाली क्षेत्र अनि भाषाको सानो अंशको बाटो पहिल्याउँदै काश्मीर, खसगर, हिन्दकुश, क्यास्पियन सागरसम्म पुगेका छौँ । अनि त्यही यात्राको परिणाम हाम्रा दाजुभाइ नेपालको पूर्वतिर जाँदै गर्दा नेपाल बाहिर भारत, भुटान, बर्मा र थाइल्यान्ड सम्म पुगेको थाह पाएका छौँ । यो क्रम बढ्दै जाँदा अहिले नेपाली जाति व्यापार, सुखको खोज, राम्रो आयश्रोतको खोज, ज्ञानको खोज, सन्तानको भविष्य आदि जस्ता अनेक कारणले विभिन्न महादेशका विकसित मुलुक हुँदै संसारभरि नै छरिएर रहेका छन् ।

पहिले पहिले हाम्रा पिता पुर्खा कुनै ठाउँमा घुमेर फर्किने उद्देश्यले तीर्थ यात्रा गए भन्ने कुरा उनीहरूका केही कवितामा आएका जानकारीमा पाउछौँ । पछिल्ला दिनमा नेपालीहरूको घुम्ने प्रयोजनमा मनोरञ्जन र ज्ञान बटुल्ने कारण समावेश हुन थाले र एसिया, युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशहरू घुम्न थाले । त्यसरी हिँड्ने क्रममा आफूले गरेका यात्रामा देखेका र भोगेका रमाइला वा नरमाइला कुराहरू, मन छुने दृश्यहरू, भेटेका मान्छेसँगका अनुभवहरू, खाएका खाना, हिँड्ने क्रममा प्रयोग गरेका सामग्री आदिको जानकारी दिँदै निबन्धका रूपमा लेख्ने परम्परा बस्यो, जसलाई नेपालीसाहित्यमा यात्रासाहित्य, नियात्रा आदि नाम पनि दिइएको छ । घुम्ने र नियात्रा लेख्ने क्रम झागिँदै जाँदा नियात्राहरू पनि सम्पन्न हुन थाले । नियात्रा लेखनमा विषयवस्तु, शैली, गन्तव्यहरूमा नवीनता थपिँदै जाँदा नेपाली नियात्रा पनि आधुनिक कालका अनेक चरण पार गरेर आजको स्वरूपमा आई पुगेको छ र अनेक नियात्राकारहरूले नेपाली नियात्रालाई आ-आफ्ना किसिमले नवीनता दिई रहेका छन् । तिनै नियात्राकारहरूमा कृष्ण बजगाईँ पनि एक हुन् । उनको ‘युङफ्राउ’ युरोपका भ्रमणको यात्रा वृत्तान्त समेटेर नेपाली साहित्यमा अगिल्लै वर्ष प्रवेश गरिसकेको छ । बेलायतलाई आफ्नो कर्मभूमि बनाएर बसेका बजगाईँको दुईवर्षे यात्रा र त्यहाँको विवरण समेट्ने क्रममा केही प्राप्ति र केही कम्जोरी पनि भेटिन्छन् ।

शीर्षक:
आकर्षक शीर्षकले पाठकको ध्यान पहिला तान्छ । त्यसैले शीर्षकका लागि नियात्राकारले घुमेका स्थानको भाषाको झलक आउने र पाठकलाई अनौठो लाग्ने शब्द निकाल्ने गरेका छन् । कृष्ण बजगाईँले पनि अन्य नियात्रासङ्ग्रह र यही सङ्ग्रहको शीर्षक छनौटमा त्यही पद्धति अपनाएका देखिन्छ । नेपाली परम्परामा बेहुली भित्र्याएपछि सासुबुहारी जुवा खेल्ने परम्परा हुन्छ । नयाँ बेहुलीको काम गर्ने शैली हेर्न हो वा किन हो बुहारीलाई पहिले देखाएर धानको थुप्रोभित्र सुन हालेर सासुले चलाउँछिन् अनि सासु र बुहारी भएर धानको थुप्रोभित्र हात छिराएर सुन खोज्छन् । त्यो सुन खोजेर भेट्नेले जित्ने चलन हुन्छ । बुहारीले जितोस् भन्ने चाहाना सासु र दर्शकको रहेको हुन्छ भने बुहारी आफ्नो जितले त्यसै दङ्ग पर्छे । नियात्रामा पनि शीर्षकलाई नियात्राकारले पहिला बाहिरै देखाउँछन् र नियात्राभित्र लुकाएर राख्छन् । पाठकले शीर्षक भेट्दा रमाउने अनि लेखक त्यसको प्रतिकृयाले रमाउने गर्दा रहेछन् । बजगाईँको यो नियात्रासङ्ग्रहको ‘युङफ्राउ’ शीर्षक पनि त्यस्तै किसिमको छ । ‘युङफ्राउ’ स्विजरल्यान्डमा अवस्थित हिमालको नाम हो । युरोपका अग्ला डाँडामा पर्ने ४१५८ मिटरको डाँडालाई अङ्ग्रेजी स्पेलिङमा ‘Jungfrau’ लेखिएको छ । नेपाली वा अरुले यसलाई उच्चारण गर्दा ‘जुङफ्राउ’ भन्थे होला तर स्थानीय/जर्मन भाषामा यसको उच्चारण ‘युङफ्राउ’ (Yungfrau) हुन्छ । त्यही उच्चारणबाट निर्माण भएको शीर्षकसँग पाठकको भेट भने १३३ औँ पेजमा मात्र हुन्छ । स्विजरल्यान्डकी कुमारी अर्थात् त्यहाँको सुन्दर हिमाल हेर्न अनेक किसिमका सवारी साधन बेलैमा समाउँदै लिफ्टबाट शीर्षक भेट्न अर्थात् ‘युङफ्राउ’ हिमाल हेर्न पुगेका छन् बजगाईँ । फेदीको महलदेखि अनेक किसिमका खानाको वासनामा नेपाली खानाको अवस्थाको पनि वर्णन गर्दै युङफ्राउको दर्शन पाएका बजगाईँले यसको सुन्दरताको वर्णन यसरी गरेका छन्: “घाममा मुस्कुराइरहेका छन् सेता हिमालहरू । मेरो सामुन्ने देखिरहेको छु युङफ्राउ हिमाल । युङफ्राउ जर्मन शब्द हो । यसको अर्थ हुन्छ कुमारी । अर्थात् कुमारी मेरो सामुन्ने थिई । सुन्दर बैसालु युवती जस्ती कुमारी हिमालको सौन्दर्यमा लट्ठ पर्छु (पृ. १३४)” । संसारका सबैभन्दा अग्ला दशमध्ये आठ वटा अग्ला हिमालहरूले सम्पन्न नेपालमा जन्मेका बजगाईँ यस नियात्रामा दोस्रो भागमा गरेको यात्रामा आएर सुन्दर युङफ्राउ (कुमारी) हिमालको सुन्दरताबाट नतमस्तक भएर नियात्राको शीर्षक नै ‘युङफ्राउ’ राख्न पुगेका छन् । यस सङ्ग्रको शीर्षकका रूपमा ‘युङफ्राउ’ शब्द रोज्नुको कारण विशेष पनि देखिन्छ । यस यात्रासङ्ग्रहमा बजगाईँले नेपालीहरूले कमै जानेका ज्ञानवर्द्धक कुराको खोजी गरेका छन् । उनका विचारमा ती ज्ञानहरू उच्चकोटिका छन् । त्यसैले स्विजरल्यान्ड पुगेर हिमाल चढेर यो यात्राको उच्चतम विन्दुको उपजका रूपमा यो नियात्रासङ्ग्रहलाई लिएको हुनुपर्छ ।

नवीनता:
पछिल्ला दिनमा नेपालीहरू नेपालभित्र वा बाहिर घुमेर नियात्रा लेख्ने स्थान युरोप, अमेरिका बढी नै प्रचलित भएका छन् । यो नियात्रासङ्ग्रह पनि युरोपकै भ्रमणमा आधारित छ तर, पनि बजगाईँको यस सङ्ग्रहका सामग्री अन्तत्र बिरलै भेटिन्छन् । बजगाईँले “कुनै पनि ठाउँका बारेमा जिन्दगीभर सुन्नुभन्दा एक पटक आफैँ गएर हेर्नू (पृ.७)” भन्ने भनाइबाट प्रेरित भएर युरोप महादेशका ग्रिस, स्विजरल्यान्ड, पोर्चुगलजस्ता देशबाट पर्यटकहरूले धेरै रुचाएका स्थानहरूमा पुगी त्यहाँको भौगोलिक अवस्थासहितको पुरातत्त्विक महत्त्वका सामग्री बटुलेर तयार गरेको ‘युङफ्राउ’ नियात्रा सङ्ग्रह लेखेका छन् । त्यसैले यस नियात्रासङ्ग्रहमा जति ज्ञान वा जानकारी भेटिन्छ त्यति अन्यत्र एउटै सङ्ग्रहमा भेट्न सकिँदैन । इतिहाससम्बन्धी सामान्य ज्ञान राख्न रुचाउने पाठकले लागि यो एउटै नियात्रासङ्ग्रहबाट ग्रिस, स्विजरल्यान्ड, पोर्चुगल र बेलायतका त्यस्ता ज्ञानवर्द्धक र महत्त्वपूर्ण जानकारी पाउन सक्छन् । त्यसैले ज्ञानवर्द्धक सामग्रीको हिसाबले ‘युङफ्राउ’ नियात्रासङ्ग्रह नवीन र विशेष छ ।

जानकारी:
कृष्ण बजगाईँको प्रस्तुत ‘युङफ्राउ’ नियात्रासङ्ग्रह दुई वर्षलगाएर लामो समयसम्म गरेको यात्राको फल हो । त्यसैले यसमा आएका प्रत्येक नियात्राहरू एक्ला एक्लै पूर्ण र स्वतन्त्र छन् । इतिहासमा महत्त्व राख्ने युरोपका केही देशसहित बजगाईँको कर्मभूमि बेलायतबाट केही स्थानको भ्रमण गर्दै यो नियात्रासङ्ग्रह बनाउन उनी विशेष विशेष स्थानमा पुगी आफूलाई मनपर्दो धार्मिक, ऐतिहासिक, पुरातात्त्विक जानकारी समेटेर पाठकलाई तिनको जानकारी मसिनोसँग दिएका छन् । त्यसैले ‘युङफ्राउ’ नियात्रासङ्ग्रहमा पाइने जानकारीलाई धर्म, सँस्कृति, दर्शन, राजनीति, खेलकुद जस्ता अध्ययनका अनेक पाटाहरूमा बेग्ला बेग्लै विश्लेषण गरेर हेर्न सकिन्छ ।

धर्म:- ‘युङफ्राउ’ नियात्रासङ्ग्रहमा बजगाईँ आफै भन्छन्, ‘पहिलेदेखि नै सुनिरहेको पढिरहेको र थाह पाएको तर हेर्न नपाएको एथेन्सका देवी देवताहरू खोज्न बेलायतबाट ग्रिस पुगेको छु (पृ. ७)’ । अर्थात् बजगाईँ तीर्थयात्राका लागि ग्रिस पुगेका छन् । तीर्थयात्राबाट फर्किए पछिको प्रसाद भएकाले प्रस्तुत नियात्रासङ्ग्रहमा पाठकलाई धार्मिक आस्था जगाउने जानकारीहरू प्रशस्तै छन् । ग्रिसमा भएका प्राचीन देवीदेवताका वासस्थान खोजेर बजगाईँ पुगे, अनि त्यहाँको वस्तुस्थितिको जानकारी सहित त्यहाँको मिथकीय इतिहास अनि त्यहाँ भेटिने सामग्रीहरूको महत्त्व के कस्तो हो र अहिले त्यसको अवस्था कस्तो छ भन्ने जानकारी ‘युङफ्राउ’ का माध्यमबाट पाठकलाई दिए । ग्रिसमा पनि नेपालीका जस्ता देवता कुनै समयमा बस्ता रहेछन् भन्ने जानकारी ‘युङफ्राउ’ को केन्द्रमा छ । कुनै समय ग्रिकहरू देवी देवताका नाममा पुजाआजा गर्नुका साथै अनेक साँस्कृतिक कार्यक्रम गर्दा रहेछन् भन्ने कुरा नेपाली पाठकको मनलाई छुने किसिमको छ।

यहाँ बजगाईँले गरेको एथेना देवी “पुरै कवच लगाएको अवस्थामा जन्मेकी थिइन् । उनको शिरमा हेल्मेट लगाएको, हातमा भाला र सर्प भएका मूर्तिहरू ग्रिसमा देख्न पाइन्छ । एथेनालाई ज्ञान, सिप, सभ्यता, न्याय र युद्धका देवीका रूपमा मानिन्छ । ..उल्लु एथेना देवीको प्रिय पक्षी र जैतुनको वृक्ष उनको प्रिय वनस्पति हो, (पृ. १२-३)” को वर्णनले पाठक हिन्दु धर्मशास्त्रमा पाइने कर्णको वर्णनसँग ती देवीको तुलना गर्न थाल्छन् । डायोनाइसस “प्राचीन ग्रिक धर्मका एक प्रमुख …..देवताको (पृ. २०-१)” को वर्णनले पनि नेपाली पाठकको ध्यान तान्छ । बजगाईँको ‘युङफ्राउ’ का नियात्राभन्दा अगाडिका नेपाली नियात्राहरूमा ग्रिकका धार्मिक कृयाकलापहरू आएको पाइँदैन । बजगाईँले दिएको जानकारीसँग हाम्रा धर्म सँस्कारमा पाइने देवता र उनीहरूको नाम लिएर मनाइने रीतिरिवाजहरूको तुलना हुने किसिमका जानकारी ‘युङफ्राउ’ मा प्रशस्तै । पाठक त्यस्ता सामग्री भेट्ता आफ्ना कुन देवता त्यस्ता छन् भन्ने खोजी र तुलना गर्न थाल्छ ।

ग्रिसमा धर्मका नाममा खेलकुद पनि हुने गर्थ्यो भन्ने जानकारी त पाठकलाई सामान्य लाग्न सक्छ तर, “ग्रिक पौराणिक कथाअनुसार ‘नाइकी’ विजय र जितकी देवी हुन्……..एथेन्सले जितेको लडाइँमा विजय उत्सव मनाउन जितकी देवी एथेना नाइकीका लागि त्यो बनाइएको मन्दिर रहेछ, (पृ. १३)” बजगाईँको अगाडिको भनाइ र “विजयकी देवी नाइकीका नाममा खेलकुद सामग्रीहरू लगायत घडी, ब्याग, लत्ताकपडा, जुत्ता, चप्पल आदि ………नाइकी ब्रान्डले गर्ने अर्बौँ डलरको व्यापार कतै नाइकी देवीको कृपा त होइन (पृ. १३)” पछाडिको भनाइबाट नेपाली युवाहरूलाई खेलकुदको सामग्री बनाउने ‘नाइकी’ देवी थिइन् भन्ने कुरा विश्वास गर्न कति समय लाग्छ कोनि! खेलकुद सामग्री देवीका नाममा बनाउनु देवीप्रति आस्था छ भन्ने कुराको उदाहरण हो । अझै ओलम्पिक खेल नै ग्रिकहरूको धार्मिक उद्देश्यले खेलिने परम्पराबाट सुरु भएको थियो भन्ने कुरो धेरै नेपालीको चासो बढाउँने जानकारी हो,“धार्मिक उद्देश्यले अभिप्रेरित ओलम्पिक खेल सर्वप्रथम करिब अठ्ठाइस सय वर्षअगि एथेन्सभन्दा तीनसय किलोमिटर टाढा ओलम्पिया भन्ने ठाउँमा सुरू भएको थियो । त्यहाँ ग्रिसका सबैभन्दा पुराना देवता जिउसको सम्मानमा धार्मिक अनुष्ठानसहित खेलकुद कार्यक्रमको आयोजना गरिन्थ्यो । ओलम्पियामा पाँच दिनसम्म सञ्चालन हुने खेलकुद कार्यक्रममा त्यहीँका नागरिकले मात्र भाग लिन पाउँदथे । खेलमा विजेता खेलाडीहरूले पुरस्कारका रूपमा जैतिनको पुष्पमाला र रिबन पाउँथे (८९)” ।

दर्शन तथा इतिहासका व्यक्तिहरू: महान दार्शनिकहरू सोक्रेटस (सुकरात), प्लेटो र एरिस्टोटल (अरस्तु) बसेको स्थान ग्रिस हो र ‘युङफ्राउ’ ले उनीहरूको भूमिमा पुगेर उनीहरूलाई ग्रिसवासीहरूले के कसरी सम्झिरहेका रहेछन् त भन्ने कुराको जानकारी दिएको छ । यो जानकारी पनि नेपाली विद्यार्थीका लागि उपयोगी छ । बजगाईँले आफ्नो भ्रमणमा दिएको सूचनामध्ये महान व्यक्तिहरूको जानकारी दोस्रो महत्त्वपूर्ण हो । उनी आफू पुगेको भूमि एथेन्स महत्त्वपूर्ण ठानेर त्यहाँ पुगेका छन् “एथेन्स सहरमा आजभन्दा चौबिस सय वर्षअगि विचारमाथि तर्क, वितर्क र बहस सुरू गरियो । बहस गर्ने प्रमुख व्यक्ति थिए सोक्रटिज अर्थात् सुकरात । त्यही बहसलाई पश्चिमी दर्शनशास्त्रको सुरुवात भनिन्छ । पश्चिमी सभ्यताका उनै दार्शनिक सोक्रटिजका पाइला पछ्याउँदै छु । निस्केको छु उनलाई थुनेको जेल खोज्न (पृ. ३७)”। सोक्रटसको जन्मभूमिमा पाइला टेकेर उनी अन्तिम अवस्थामा रहेको जेल हेर्न पुगेका बजगाईँले हामीले पाठ्यपुस्तकमा पढेका व्यक्तिको थप जानकारी बटुलेर हामीलाई ‘युङफ्राउ’ दिएका छन् ।

‘युङफ्राउ’ मा उपस्थित अर्का महान विचारक एरिस्टोटलको हुन् । उनी पनि ग्रिसको कुनै सहरमा जन्मेका थिए र एथेन्समा उनले ज्ञान लिने दिने कार्यमा सक्रिय भए । यही सहरको लाइसियम हेर्न पुग्दा एरिस्टोटलका विचार र उनको जीवनी अनि उनले गरेका कार्यहरूको लेखाजोखा“इसापूर्व ३३५ मा एरिस्टोटलले सञ्चालनमा ल्याएका थिए लाइसियम । ल्याटिन भाषाको लाइसियम शब्दको अर्थ हुन्छ उपदेश स्थल, प्रवचन स्थाल वा स्कुल (पृ. ४७)” ‘युङफ्राउ’ को अर्को महत्त्वपूर्ण जानकारी हो ।

महान विचारक रूसोसम्बन्धी जानकारी लिन नियात्राकार स्विजरल्यान्ड बनेको जेनेभा तालमा रहेको रुसो टापु पुगेका छन् । त्यहाँबाट रूसोका नाममा बनेको म्युजियमको यात्रा विवरणका साथै रुसोको दुखपूर्ण जीवन कथा अनि रूसोका महान विचारहरू “सुन पनि आगोमा धेरै पटक खारिएपछि मात्र गुणस्तरीय र शुद्ध बन्छ (१२५)”, बटुलेर ‘युङफ्राउ’ मा अर्को एउटा जानकारी थपेका छन् । त्यहाँको क्याफे र क्याफेका भित्तामा राखिएका रुसोले लेखेका, रुसोका बारेमा लेखिएका पुस्तकको सूचना यात्रीका लागि वा म्युजियमको जानकारी राख्ने पाठकका लागि अनौठो उदाहरण छ ।

‘युङफ्राउ’ का लिस्टमा अर्का महान व्यक्ति वैज्ञानिक आइन्सटाइन छन् । आणविक शक्तिका आविष्कारक आइन्सटाइन सन १९०३ देखि १९०५ सम्म ‘स्विस पेटेन्ट’ अफिसमा काम गरेका बेला बसेको स्विजरल्यान्डको बर्न सहरको अपार्टमेन्टमा उनका सम्झनामा बनाइएको म्युजियम पुगेर नियात्राकारले आइन्सटाइनसम्बन्धी जानकारी पनि दिन भ्याएका छन् ।

कोलम्बसको नाम र उनी इन्डिया खोज्न हिँड्दा अमेरिका पुगे अरे भनेर धेरै नेपालीले सुनेका छन् । उनले आफू इन्डिया पुगेको ठानी त्यहाँ भेटेका जातिलाई ‘रेड इन्डियन’ भनेर नाम दिएका कारण अमेरिकाका आदिवासीलाई अहिलेसम्म त्यही नामले विश्वले चिन्ने गरेको छ भन्ने जानकारी पनि नेपालीलाई थाह छ । तर, दोस्रा व्यक्ति को थियो जसले भारत टेकेर त्यहाँसम्मको बाटो युरोपेलीलाई देखायो भन्ने कुरो कमै नेपालीलाई थाह छ । ‘युङफ्राउ’ ले ती व्यक्तिको अर्थात् पोर्चुगाली ‘भास्को दा गामा’ का बारेमा पोर्चुगलको लिस्बोनमा भएको उनको समाधीको कथा अनौठो जानकारी ल्याएका छन् । भास्को दा गामाको मृत्यु भारतमा भएको र समाधी पनि भारतमै बनाइएको तर, पछि पोर्चुगिजहरूले त्यहाँबाट खोतलेर शरीरका अवशेष लगेर लिस्बोनमा फेरि समाधी बनाइएका थिए र त्यो हेर्न पर्यटक पुग्ने कथा नेपाली पाठकका लागि रमाइलो प्रसङ्ग छ ।

राजनीति: नियात्रामा लेखिएको “साँच्चैको प्रजातन्त्रको मर्म बुझ्ने हो भने एथेन्सको इतिहास बुझ्नुपर्दो रहेछ” वाक्यबाट एथेन्स राजनीतिको पनि जननी रहेछ भन्ने सुइँको नियात्राकारले एथेन्स पुगेर मात्र थाह पाएको प्रतीत हुन्छ । संविधानको सुरुआत भएको ग्रिसको सिन्टाग्मा चोकको जानकारी पनि राजनीति शास्त्रका विद्यार्थीका लागि उपयोगी हुन सक्छ । “सन १८४३ मा ग्रिसका राजा ओटोले जनतालाई नयाँ संविधान र अधिकार प्रदान गर्न बाध्य भए (८३)” ।

जानकारीका क्रममा आएका ग्रिसका तीनओटा टापु, स्विजरल्यान्डका ताल र हिमाल अनि त्यहाँ पुग्दाको बजगाईँको अनुभव, टागस सँस्कृतिको कथा अनि पोर्चुगलमा भेटिएको पृथ्वीको अन्तिम छेउ सम्बन्धी जानकारी र त्यहीँ पुग्दाको अनुभवले ‘युङफ्राउ’ नियात्रामा सम्पूर्णता थप्ने काम गरेको छ । बेलायतको यात्रामा थपिएको गरिब र किसानहरूका हितकारी नायक ‘रबिन हुड’ र उनका सम्झनामा बनेको जेल भएको भवन पुग्दाको अनुभव पाठकले बोनसका रूपमा पाउँछन् । त्यो पात्र साँचो हो कि कथाको पात्र मात्र हो भन्ने कुरामा लेखकले सङ्का गर्दा पाठक एकछिन आफूले हेरेको सिनेमाको नायकलाई सम्झिन थाल्छन् । बेलायतको जङ्गल ‘क्याम्पिङ’ को स्वास्थसम्बन्धी जानकारी अरु जानकारीभन्दा फरक किसिमको भएकाले तिनलाई छोडेर नियात्रासङ्ग्रहमा समेटिएका सामग्रीहरू हेर्ने कोसिस यहाँ गरेकी छु । प्रस्तुत नियात्रासङ्ग्रहमा समावेश भएका महान व्यक्तिहरू अनि धेरै देवी देवताहरूको जानकारी एउटै नियात्रामा समेटिँदा पाठकलाई कस कसका बारेमा पढेको थिएँ भनेर सम्झिँदा एउटाको जानकारी अर्कामा पर्न सक्ने सम्भावना देखिन्छ ।

प्रस्तुतिकरण:
‘युङफ्राउ’ नियात्रासङ्ग्रहको काव्यात्मक शैली काव्यात्मक शैली (समयको सूर्य मेरा पाइलाभन्दा पनि छिट्छिटो दौडिरहेको थियो, पृ. १७ आदि) द्वारा गरिएको प्रस्तुतिले पाठकलाई बाँध्ने र पुस्तकमा रोक्ने काम गर्छ । सरल भाषामा शब्दको निर्माण प्रक्रियासहित दिइएको तिनको अर्थ (अगोरा शब्द प्रचीन ग्रिसको एगेरिन शब्दबाट आएको हो । यसले बजार, सभा, मिटिङ हुने स्थान आदि बुझाउँछ, पृ. ६३ आदि) दिँदै गरिएको स्थानको वर्णनले नियात्राकारको भाषिक खुवीको परिचय दिन्छ । अनेक भाषाका लोकोक्तिहरू (वाइन र बच्चाले सत्य बोल्छन्, ग्रिक, पृ.२१, ठुलो कुर्सीले राजा बनाउँदैन, सुडानी, पृ. १०८ आदि) उनको कुशल प्रस्तुतीकरको उदाहरण बनेको छ ।

नियात्रामा आफ्नो पक्ष बलियो पार्ने क्रममा उठाइएका महान विचारहरू (व्यस्त जिन्दगीको दरिद्रताबाट सावधान रहनु, सोक्रटिज, पृ. ३९ आदि) वा महान व्यक्तिका महान भनाइहरू समावेश गर्दै आफ्ना विचार राख्ने शैली पाठकलाई मन पर्छ । अलङ्कार युक्त अभिव्यक्ति (सामुन्ने विशाल ताल आफ्नो सुन्दरता र जवानीले पर्यटकलाई बोलाइरहेको छ, पृ. १२३ आदि) ले ‘युङफ्राउ’ लाई आलङ्कारिक बनाएको छ । अनि पात्रसँगको रमाइलो कुराकानी (बाटामा भेटेको एउटा जर्मन पात्रसँगको गफ, “गुगललाई मेरो लक्षण बताएर सोधेको थिएँ । होलिडे जानु ठिक हुन्छ भनेर उत्तर दियो । त्यसपछि यहाँ घुम्न आएको हुँ” पृ. ८४ आदि) ले पाठकको मन तान्छ ।

समग्रमा भन्दा ‘युङफ्राउ’ नियात्रासङ्ग्रहका नियात्राहरूलाई यात्राको प्रयोजन र नियात्रामा आएका विषयहरूका आधारमा ग्रिस खण्ड र अन्य भनेर दुई भागमा विभाजन गरेर पढ्दा पाठकलाई बुझ्न सजिलो हुन्छ । इतिहासबाट आएका सामग्रीमा यात्राका लागि आवश्यक गतिशीलताको कमी भए पनि विद्यार्थीको ज्ञान बढाउनका लागि उपयोगी विषयवस्तु सम्बन्धी जानकारी धेरै छन् । ग्रिसपछिका नियात्राहरूमा यात्रासम्बन्धी आवश्यक सम्पूर्ण जानकारीहरू पनि थपिएका छन् ।

काठमाडैाँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।