18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

छताछुल्ल

कविता होम सुवेदी December 19, 2024, 12:10 am
होम सुवेदी
होम सुवेदी

छताछुल्ल

लघुकाव्य

(कविता/लघुकाव्य)

यहाँ लेख्न म चाहन्थेँ जे लेख्नेछु क्रमैसँग
"के त्यस्तै छ यहाँ भित्र ?" प्रश्न तेर्सिन्छ मैसँग ।।

त्यस्तो केही छँदै छैन वेदना छरपट्ट छन्
मनका भावना मेरा यसमा अटमट्ट छन् ।।

यता घोच्ने उता घोच्ने फुटेका हुन् चुराहरू
छताछुल्ल भएका छन् कुराका कुटुराहरू ।।

हामी लेखकको लेख्ने यौटा अध्यवसाय हो
अरूका लागि यो हैन आफ्नै स्वान्तसुखाय हो ।।

लेखेरै मात्र के हुन्छ भन्ने सोच मभित्र छ
तथापि लेख्नु नै पर्छ भन्ने सोच पवित्र छ ।।

कछुवाकै भनेजस्तो लेख्नेको पनि चाल छ
नपढ्ने मात्र छन् धेरै पढ्नेको अनिकाल छ ।।

मनमा दुविधा मेरा यस्ता वार्ता भए पनि
केही यस्ता कुरा लेखेँ अनिकालै रहे पनि ।।

मेसो केही छँदैछैन यसभित्र छ गन्थन
त्यस्ता गन्थनमा थोरै कहाँ हुन्छ र मन्थन ।।

मेरो पाङ्दुरको खेती देख्छु चाल न डालको
ओडाली खानका लागि के होला अनिकालको ।।
कसैलाई जितूँ भन्ने यो हैन प्रतियोगिता
यसभित्र छँदै छैनन् तर्क दर्शन संहिता ।।

भावनाभित्र छन् च्याप भावनाभित्र काप छन्
उनै वस्तु सबैतर्फ खापका माथि खाप छन् ।।

पिष्टपेषण मात्रै छ फेद दुप्पो जताततै
नौलो सिद्धान्त खोजेर पाइन्न यसमा कतै ।।

नयाँ दर्शन वा वाद न सिद्धान्त फक्किका
यसभित्र छँदैछैन मात्र छन् आँसुका ढिका ।।

तुर्नीमा जब पुग्दैथेँ उर्लियो अझ वेदना
गथासो हाल्न छाडेर हालियो स्वैरकल्पना ।।

त्यो पढेर कसैलाई नमिठो स्वाद आउला
पढैर त्यो कसैलाई मन भित्र बिझाउला ।।

मैले केही कुरा मात्रै अन्त्यका नजिकै छरेँ
अहिले देशको हाल थोरैमा सूचना गरेँ ।।

लेख्ने विन्यासको सीमा मेटिन्न अनि नागिनँ
अनुष्टुप् छन्द छाडेर अर्कोतर्फ म लागिनँ ।।

त्रुटि होलान् यहाँ केही होलान् केही यहाँ भ्रम
तथापि यसमा मेरो परेको छ निकै श्रम ।।

भेटिएलान् यसैभित्र रासका सास खोजिए
त्रुटि मात्र यहाँ खोजी यत्रतत्र नियालिए ।।

ज्ञानका चक्षुले हेरी यसलाई सुधारियोस्
यसैले त्रुटि छाडेर यसभित्र चहारियोस् ।।

दुर्गन्ध यसमा होला थोरै मात्र सुवास छ
म आफैँ बोध गर्दैछु त्रुटिकै मात्र रास छ ।।

तथापि खोल्न यो घुम्टो गरिएन कुनै धक
कसैले हुन्न भन्दैनन् अपाङ्गहरूको हक ।।

यसलाई सबै सामु ल्याउने सोच आजको
पुरुषोत्तमको स्नेह माया छ तीर्थराजको ।।

दुबै छन् यसका साक्षी दुबैको पुजिलो मन
दुबैको प्रेम पाएर भयो आज प्रकाशन ।।

दुबैबाट भयो प्राप्त अर्थ मान र सम्मति
धन्यवाद दुबैलाई अर्पन्छु म भए जति ।।

माया पाओस् कि वा हेला हुनेछ त्यही वैभव
यहाँका हातमा मैले अर्पिएँ कृति यो अब ।।

छताछुल्ल

केही आफ्नै कुरा लेखी बोझ आफैँ बिसाउँछु
आफ्नो जीवनकै थोत्रा कुरा म गुन्गुनाउँछु
लेखूँ कि मनका घाउ एक एक गनी गनी
भन्दै वर्ष बिते मेरा दुविधाभित्र फन्फनी ।।

नलेखूँ व्यर्थको टन्टा भन्दै याम बिते पनि
पाउलो आँटको आयो वैलेकै तरुमा पनि ।।

जेसुकै होस् भनी लेख्न थालेँ आफ्ना कुराहरू
लेख्न थाल्दा नथाल्दैमा गल्दैछन् पाखुराहरू ।।

पोखिए पोखियोस् मेरो भएको थोर आबरु
भन्दै पोखेँ यहाँ मेरै भावका कनिकाहरू ।।

म ठान्थेँ भावका तन्तु समेट्नेछु क्रमैसँग
छताछुल्ल भए उल्टै भावना भित्र मैसँग ।।

घोप्टन्छन् मनका भाव छताछुल्ल हुने गरी
गाग्रीबाट कतै पानी थालमा पोखिएसरि ।।

म ठान्छु जिन्दगी मेरो फुटेको एक पात्र छ
लेखेको छ यहाँ जे जे पिष्टपेषण मात्र छ ।।

फेदमा जो थिए पर्ने छरिएछन् जताततै
माझमा अथवा अन्त्यतर्फ पुग्छन् कतै कतै ।।

कुनै आरम्भका भाव अन्ततर्फ गए पनि
प्यारा पाठकले पढ्लान् छताछुल्लै भए पनि ।।

भन्नु पर्ने कुरा केही मनको मनमै रहे
तारतम्य हराएका कथाको सूत्रझैँ भए ।।

मनका सिन्धुमा मेरा भावनाहरू जो थिए
टुप्पाका भावना धेरै फेदैमा आई बल्झिए ।।

न मेलो छ न मेसो छ फेदमै कति अल्झिए
नलेखूँ भन्दथेँ उल्टै अन्त्यमा केही बल्झिए ।।

एकै भाव उनै सोच आएका छन् घरी घरी
गाग्रीको जल घोप्टेर छताछुल्ल भएसरि ।।

छताछुल्ल भएका छन् मेरा भाव जतातता
क्रमका साथमा छैनन् छ धेरै क्रमभङ्गता ।।
कथाको तन्तु नै ‍छैन स्वयंको छ यहाँ मत
यसैले यसमा छैन क्रमशः वा क्रमागत ।।

उनै भाव उनै सोच दोहोरिन्छन् घरी घरी
चुहुने पात्रको पानी तप्पतप्प चुहेसरि ।।

जता आयो उतै लेखेँ भावनाको तरङ्ग यो
त्यसैले यिनको चाँजो नमिली क्रमभङ्ग भो ।।

समेट्न जब चाहन्छु ज्वरो चढ्दछ हन्हनी
कतैतर्फ गरे यत्न कतै खुस्कन्छ कन्धनी ।।

केही लेखूँ भने पस्छन् मनभित्र डरै डर
फेरिएन कतै सास शान्तिको जिन्दगी भर ।।

जे जस्तो प्राप्त भो मेरो त्यही सर्वस्व हो धन
गरिएन कतै झुटो कसैको अभिनन्दन ।।

ईशको वन्दना गर्दै बनूँ संस्कारगायक
मेरो लेखनमा पूर्ण गरून् सिद्धिविनायक ।।

हे लम्बोदर हे नाथ सर्वविघ्नविनासक
साधनामार्गमा मेरा नबनून् कोही बाधक ।।
लेख्न के हातले सक्लान् यो कोलाहलमा बसी
चोरूँ जस्तो भएको छ तिम्रै कागत वा मसी ।।

झर्नाझैँ कविताभित्र बगून् झर्झर चिन्तन
फूलझैँ फक्रियून् भाव नरहून् तुच्छ गन्थन ।।

कविता लेखियून् पढ्दा मन हाँसोस् घरी घरी
स्वादिला शब्द हुन् यस्ता महधारा चुहेसरि ।।

चित्त चञ्चल होस् पढ्न र बढोस् नित्य व्यग्रता
पढी पाठकले पाऊन् आफूभित्र प्रसन्नता ।।

लेखूँ ॐकारको बिन्दु सिङ्गो सिन्धु जहाँ अटोस्
पढी पाठकको कालो जमेको मनको हटोस् ।।

जहाँ सौन्दर्यको सिन्धु काव्यभित्र उघाइयोस्
पढी सिर्जन त्यो नित्य सच्चिदानन्द पाइयोस् ।।

कलासाहित्यका क्षेत्र अहिले कमजोर छन्
विशुद्ध भावना बुझ्ने यहाँ पाठक थोर छन् ।।

भाषासेवी हजारौँ छन् भन्न हुन्छ ममा धक
परन्तु आज छन् थोरै काव्यका उच्च पाठक ।।
शुद्ध लेखनको आज भान हुन्छ भयो कम
आफूले जान्दछन् जस्तो ठान्दछन् त्यही उत्तम ।।

केही यस्तै थियो सोच जो थियो अब छैन त्यो
जे जस्तो लेख्न चाहन्थेँ लेख्ता हुन्छ हुँदैन यो ।।

यस्तोमा शब्दको खेती गरेर के छ पाउनु
लाग्छ अरण्यमा एक्लै यो होला गीत गाउनु ।।

पोखेर शब्दमा भाव कुनै औचित्य देख्दिनँ
तथापि केही लेखूँ कि भएको किन हो किन ।।

जे लेख्छु म स्वयं लेख्छु अर्काको अब लेखिनँ
कुथुङ्ग्री अरूको लेख्नु मैले औचित्य देखिनँ ।।

त्यसैले म स्वयं आफ्ना दुखेसाहरू गाउँदै
लेख्न थालेँ स्वयंलाई एक पात्र बनाउँदै ।।

लेख्छु यस्तै कुरा केही नराखी मनमा छल
अनायासै पुगेँ लेख्न मेरा जिन्दगीको तल ।।

घाँस काटेँ कुनै बेला बाँझो खेत कतै खनेँ
जे बनेँ म स्वयं आफ्ना मेरै पाखुरीले बनेँ ।।
आफ्ना भन्ने थिए किन्तु थिएन तिनको भर
द्वन्द्वको हुँडलो हुन्थ्यो मनभित्र निरन्तर ।।

लाभ वा हानिमा कैल्यै न रोएँ न त फुर्किएँ
कसैको फेरको फुर्को नसमाई म हुर्किएँ ।।

आत्मविश्वास हो मेरो गहना अनि तागत
मातेर याम फालिन्न फालियो न त इज्जत ।।

अरूको धन सम्पत्ति ठानिन्न यो त घाँस हो
लुटेर या त चोरेर खाएको छैन गाँस यो ।।

मनको भारी के पोखूँ सम्झिएर घरी घरी
धेरै राजा भएका छन् भ्रष्टाचार गरी गरी ।।

गरियो श्रमको यज्ञ गरियो नित्य अर्चना
भ्रष्टाचार कतै मैले गरेको हुन्न सम्झना ।।

भ्रष्ट दुष्कर्ममा मेरो हातले छुनगो भने
माफ माग्छु कतै हेक्का नपाई हुनगो भने ।।

म स्वयं एक मान्छे हुँ मान्छेकै रूपरङ्ग छ
भिन्न मान्छे कहाँ हुन्थ्यो मान्छेकै रङ्ढङ्ग छ ।।
ताकेरै अन्यमा मेरा तुच्छ शब्द गए हुनन्
जानेरै वा नजानेर केही गल्ती भए हुनन् ।।

कसैमाथि ममा घोच्ने काँडाका झाङ झाङ छन्
सुधारेर कहाँ सक्नु त्रुटिका चाङ चाङ छन् ।।

मलाई भन्नुपर्दैन निष्कलङ्क र भक्त छ
मान्छेबाट कतै पाप नजानी हुन सक्तछ ।।

मेरा कर्म म के भन्थेँ निष्कलङ्क सबै थिए
अवश्यै कहिलेकाहीँ पापमा हात चोबिए ।।

भित्री सम्वेगले पाप गरियो कि कुनै दिन
तँ मात्रै किन चोखिन्छस् मलाई भन्छ यो मन ।।

पापको कर्म होला कि भनेर हुन्छु थुर्थुर
मेरो आत्मा स्वयं भन्थ्यो तैँले बन्नु छ निख्खुर ।।

मान्छे निख्खुर के हुन्थ्यो भनी आफैँ म डर्दछु
केही पाप लुकेका छन् म आफैँ बोध गर्दछु ।।

लोभ लालच वा ईर्ष्या मनभित्र लुकी लुकी
बाह्य सौन्दर्यको पान गर्छन् मौका ढुकी ढुकी ।।
के यस्ता वस्तुको भुङ्ग्रो मान्छेभित्र हुँदैन र
लुकेर मनमा बस्नु के यो नै पाप हैन र ।।

सन्धान कसले गर्छ पत्रपत्र रहस्य छन्
निष्कलङ्क कहाँ हुन्थेँ मेरैभित्र अवश्य छन् ।।

आफ्नो दुष्कर्मको ढ्याङ्ग्रो आफैँले अझ ठोक्नु छ
मनमस्तिष्कमा नित्य पापको भारी बोक्नु छ ।।

तथापि मनको बेग कस्तो हुन्छ म जान्दछु
सौन्दर्यपानमा पाप छैन भन्ने म ठान्दछु ।।

लुकाई मनको पाप गएर देवमन्दिर
करोडपतिले जस्तो गिड्गिडाउनु के छ र ।।

कोही मन्दिरमा भित्र दिन्छन् सर्वस्व नै बरु
भोका बाहिर मागेर बस्छन् दीनदुःखीहरू ।।

करौडौँ भक्त छन् पूजा पाठमा नित्य तत्पर
यति धेरै दिँदासम्म भोकै होलान् र ईश्वर ।।

नबोल्ने देवको मात्र महत्ता किन गाउनु
तिनैको मात्र सम्मान गरेर के छ पाउनु ।।
ठुलो दीन दुखी बन्दै किन थाप्लो कन्याउनु
गरियोस् चाहिने मात्र किन व्यर्थै खन्याउनु ।।

यस्ता तर्क ममा बस्तै मलाई घच्घच्याउँछन्
ढुल्मुले मनुवा भन्दै चोर अम्लो उझाउँछन् ।।

अनास्था देवमा छैन मैले यस्तो भने पनि
तिनैको देन हो मान्छे हेर्दा जस्तो बने पनि ।।

तर्क छन् अनि व्याख्या छन् अमूर्त एक चित्र छ
नाघेरै पनि के सक्ने ममा संस्कार भित्र छ ।।

लुकेरै बस्तछन् देव मेरै धर्म विभागमा
अनास्था राख्न चाहन्न मेरो भित्री दिमागमा ।।

लेख्दालेख्दै कुनै बेला रिस आवेग आउनु
मानवीय स्वभावै हो तिनले स्थान पाउनु ।।

देवकै नाममा कोही मस्त छन् भोज खानमा
म भने रम्न चाहन्छु देवकै गुणगानमा ।।

बाँडी खाऊन् सबै भन्ने सृष्टिको उपहार छ
अनास्था यो हुँदै हैन मेरो यस्तै विचार छ ।।

उम्रिएन कतै मेरो नसुक्ने पापको मुना
ठुलो दुष्कर्म वा घात गरेको हुन्न सम्झना ।।

ममाथि अन्यको दृष्टि के कस्तो छ म बुझ्दिनँ
देवता यही हो भन्दै पापलाई म पुज्दिनँ ।।

मानसम्मानको रास खोजिएन कतै पनि
आफूलाई ठुलो भाग रोजिएन कतै पनि ।।

मजस्तो क्षुद्रको केही न मूल्य न त भाउ छ
पारि पुग्ने छ यो इच्छा न साँघु न त नाउ छ ।।

बामपुड्के कुनै उफ्री शैलको शिर छुन्छ र
अरूलाई चिमोट्दैमा दुखेको ज्ञान हुन्छ र ।।

पारि पुग्ने छ जो इच्छा तर साधन देख्दिनँ
नाउ डुङ्गा विनै तर्ने व्यर्थै यो धृष्टता किन ।।

लक्ष्य चुम्ने कुनै मार्ग देखिँदैन कसै गरी
भान हुन्छ कुनै काँचो फल भैँमा झरेसरि ।।

सुकेछन् खहरे सारा सुक्यो जीवन-निर्झरी
हुन्छ जीवनको चङ्गा चुँडिएछ भनेसरि ।।
न भए पुण्यका कर्म पूजा पाठ न वन्दना
भाषा साहित्यको मात्र गरियो थोर अर्चना ।।

कलासाहित्यको सेवी मान्छे हुन्छ कहाँ धनी
भाषाकै अर्चना गर्दै धानियो जिन्दगी पनि ।।

सेवा भक्ति र आदर्श आस्थाकै अर्चना गरी
शब्दसम्पत्तिको जोहो गरियो जिन्दगी भरि ।।

शब्दसम्पत्तिका थोरै ढुकुटी भित्र अन्न हुन्
अरूको भर नै हुन्न शारदाम्बा प्रसन्न हुन् ।।

यो अकिञ्चनको नित्य सुरक्षा पितृले गरून्
शुभाशीर्वादका हात यसमा उनका परून् ।।

रामलक्ष्मणझैँ बोकी मलाई हौसला दिनू
हे प्रभो रामका दूत मलाई काँधमा लिनू ।।

भित्री संस्कार के जाओस् नठान्नू यो त मुक्त छ
अदृश्य देवमा उल्टै यो मेरो शिर झुक्तछ ।।

मजस्तो मनुवा तम्सी भुत्राको क्यै लछार्छ र
भ्यागुताले कतै उफ्री हात्तीलाई पछार्छ र ।।
दरिद्री भावना मेरा घामझैँ झलमल्ल छन्
मेसो पार्न पर्‌यो हम्मे ती यहाँ असरल्ल छन् ।।

उनै भाव उनै शब्द दोहोरिन्छन् घरी घरी
छरिएछन् भनेजस्तो खलामा कनिकासरि ।।

तथापि मनका भाव पोख्न चाहन्छु यो घरी
सर्पका मुखको चारो भ्यागुतो लम्किएसरि ।।

मेरो औकात कस्तो छ आफैँ नाप्तछु जोख्तछु
तथापि मनका केही भावनाहरू पोख्तछु ।।

लेखूँ भन्ने भएको छ रित्ता हात बढाउँदै
मेरा पूज्य सबैतर्फ श्रद्धापुष्प चढाउँदै ।।

आदरणीय छन् मेरा प्रणम्य पूज्य छन् गुरु
केही गन्थन लेखूँ कि भनी लेख्न गरेँ सुरु ।।

कविता स्वच्छ चाहन्थेँ होला जस्तो छ बक्बक
अल्पज्ञानी मजस्ताको कहाँ हुन्छ र त्यो हक ।।

दायाँ बाँया कुरा गर्दै याम खेर यसै गयो
के लेख्ने अनि के लेख्ने लेख्नेमै दुविधा भयो ।।
उत्कण्ठा अनि जिज्ञासा किन घेर्छन् म जान्दिनँ
आफ्नै जीवनको यात्रा लेखूँ लेखूँ भयो किन ।।

परिभाषा अनेकौँ छन् जिन्दगी एक शूल हो
कोही विज्ञ उता भन्छन् फुलेको एक फूल हो ।।

कुनै गर्छन् घृणा त्यस्तै गर्दछन् कति वन्दना
मान्छेको जिन्दगीबारे धेरै हुन्छन् विवेचना ।।

कसैले भन्दछन् चोला समस्या अनि सार हो
यसैलाई कुनै भन्छन् दैवको उपहार हो ।।

कोही जीवनको यात्रामार्गमा नित्य हिँड्दछन्
दुःखका साथमा साथी भएर नित्य भिड्दछन् ।।

दुःखको दर्दको भारी थाप्लामा थपिएपछि
सास्तीबाहेक के हुन्छ नखप्नु खपिएपछि ।।

व्यर्थै हो सुखको खोजी झन् झन् पर्छन् चिराहरू
सयमा सय उम्रन्छन् दुःखका धमिराहरू ।।

आफ्नो अस्तित्वको चिन्ता हुन्छ सानै भए पनि
पारिपट्टि पुगौँ भन्ने लाग्छ भासै भए पनि ।।
यद्यपि मनले भन्छ सकिन्न बन्न दिग्गज
फुलाऊँ सुखको पुष्प भन्ने छ मनमा अझ ।।

सुखका नाममा मात्नु व्यर्थको अभिमान हो
अलाप्नु दुःखमा राग मृगतृष्णा समान हो ।।

मलाई ठान्दछन् मान्छे गुनासाहरूको घर
गुनासो मात्र के लेख्ने त्यसको अर्थ के छ र ।।

गुनासो नगरूँ भन्दै स्वयं बन्दैछु धर्मर
गर्न थाले सबैतर्फ गुनासो हुन्छ गोचर ।।

सत्य लेख्ता कतै पोल्ला भनेर सत्य छोड्दिनँ
लेख्छु जे म यहाँ भित्र मिथ्याङ्क पनि जोड्दिनँ ।।

क्रमबद्ध हुँदै हुन्न लेखेर सक्नु के गरी
छरिन्छन् भावना मेरा कनिका छरिएसरि ।।

यथातथ्य समेट्दैमा गुनासो अति हुन्छ र
भन्नेले जेसुकै भन्छन् तिनको मान्नु के डर ।।

पीडाको व्याधिको यौटा हाम्रो जीवन हो घर
यसबाट हुने टाढा संसारै भर को छ र ।।
कुनै अज्ञात यात्रामा अन्धोझैँ अघि बढ्नु छ
पीडाको बोझ बोकेर उकालो नित्य चढ्नु छ ।।

त्यसैले पर्छ सङ्घर्ष यात्रामा ठेस लाग्दछ
यो तथ्य नबुझी मान्छे केकेकेके फलाक्दछ ।।

सङ्घर्ष मित्र हो हाम्रो हाम्रो सङ्घर्ष हो गुरु
हाम्रो सङ्घर्षको यात्रा गर्भबाटै भयो सुरु ।।

कहाँ जीवन यो चल्छ विना सङ्घर्ष वा श्रम
हुन्छ सङ्घर्षमा यात्रा हुन्छ जीवनको क्रम ।।

हुन्न सार्थक सङ्घर्ष बलले मरुमा खनी
अर्को सङ्घर्ष हो नाम हाम्रै जीवनको पनि ।।

यद्यपि मनमा मेरो प्रगतितर्फ मोह छ
नित्य सङ्घर्षमै मेरो आरोह अवरोह छ ।।

सबैले यत्नका साथ उच्चाइ छुनुपर्दछ
यात्रा पूर्ण रहोस् भन्ने मनमा हुनुपर्दछ ।।

प्राप्तिको लोभमा मान्छे बाटो सङ्घर्षको तय
गरेर अघि जो बढ्छ विजयी बन्छ निश्चय ।।
पसिना श्रमका झार्छन् मान्छेले झुन्ड झुन्डमा
आहुती गर्दछन् कोही श्रमका यज्ञकुण्डमा ।।

दुःखका दर्दका यस्ता मनभित्र पहाड छन्
तिनमा चढ्नु के मैले सुकेका नलीहाड छन् ।।

सकिन्न पोख्न पर्याप्त पोखेमा जान्छ आबरु
लेख्न मात्र यहाँ थाले कति छन् कति छन् अरू ।।

केही यस्ता कुरा मात्र गन्न सक्ने गनूँ कि म
त्यसैले रिल काटेर भन्न सक्ने भनूँ कि म ।।

सबै भन्न कहाँ सक्नु भने खुस्कन्छ आबरु
नकाटे रिलमा पर्लान् तितापिरा कुराहरू ।।

कुँडुलो पर्दछन् मेरा मनभित्र कुरा जब
पोख्न सक्ने कुरा मात्र पोख्नु पर्ला उता अब ।।

कुण्ठा वा माग बोकेर धाइएन कुनै दिन
सुखसन्तोकको सास पाइएन कुनै दिन ।।

त्यो बाल्य कालको मेरो बयान कसरी गरूँ
म बढेँ जसरी बढ्छ ढुङ्गाको कापमा तरु ।।
यद्यपि स्नेहको थोपो पाइएन कुनै दिन
कसरी बाँचियो होला ती कुरा अब भन्दिनँ ।।

हर्ष विष्मतका साथ चल्यो जीवनको क्रम
गरियो खानका लागि सानैदेखि परिश्रम ।।

कहिले गुरुका आँखा कहिले दाजुका छली
काँचो पिठो रयालेर खाएको हुन्छ झल्झली ।।

भोकमा पढिए पाठ भोकभोकै हिँडेँ कति
भोक कैरन के हाल्ने मनमा कति छन् कति ।।

दुराशा मनमा राखी गरिएन कुनै छल
निलेर भोकमा गाँस नहाली बाँचिए पल ।।

नगरी माड पर्दैन आँ गर्दै मुख बाउँदा
आत्मसन्तोष के हुन्थ्यो कसैलाई रुवाउँदा ।।

म आफ्नै श्रममा रम्दै रहन्थेँ श्रममा रत
दस नङ्ग्रा खियाएका अन्नमा हुन्छ इज्जत ।।

भोकजस्तो महा उच्च शैलमा चढिएन कि
भोकमार्न सदा जस्तो आब्रह्मन् पढिएन कि ।।
आकाङ्क्षा मनमा धेरै भित्रभित्रै पलाउँथे
कता पूर्ण बनून् मेरा मनैभित्र बिलाउँथे ।।

आकाङ्क्षा भस्मझैँ हुन्थे भोको आँत भएपछि
भोकोले गर्न के सक्छ पेट रित्तै रहेपछि ।।

हिजोका जे थिए इच्छा ती सबै चूर्ण चूर्ण छन्
आकाङ्क्षा अब उठ्दैनन् ती आफैँ अब पूर्ण छन् ।।

थिए जो वासना मेरा पाखापाखै भए सब
विरक्ति न त आकाङ्क्षा न त छन् तिर्सना अब ।।

स्विकार्दै मिल्छ जे जस्तो त्यसैभित्र सुखी रहेँ
पालिन्नन् अब आकाङ्क्षा सत्तरी माथिको भएँ ।।

गरेर अरूको निन्दा ठाडो पार्नु कता शिर
एक औँलो उता पार्दा चार पर्छन् स्वयंतिर ।।

हुँदैनन् द्वेष गर्नेका कदापि शुभ लच्छिन
त्यसैले परको निन्दा गरिएन कुनै दिन ।।

बुझेरै बुझ्न के सक्ने यो त्यस्तो युग हो जहाँ
हत्या हिंसा बलात्कार मात्र हुन्छन् यहाँ वहाँ ।।
यस्ता तुच्छ कुरा गर्दा के यहाँ सुख पाउँछु
असान्दर्भिक लागेर अहिले म बिसाउँछु ।।

मेरा अग्र थिए उच्च जेठा र माहिलाहरू
उनैका मार्गमा मेरा बढेछन् पाइलाहरू ।।

बडो बेस्वादिलो लाग्छ सम्झिएर कुनै दिन
बोकी मानवता एक्लै बेर्थैमा हिँडियो किन ।।

यो यन्त्रयुगमा मान्छे रहेन जडवत् भयो
अरूकै भरमा चल्ने र हिँड्ने यन्त्रवत् भयो ।।

रहेन आत्मसम्मान रहेन पापको भय
अरूलाई पछारेर खोज्छन् आफ्नो सदा जय ।।

आदर्श स्नेह सम्मान उसमा न त जाग्दछ
आफ्नै अन्तर्यमा बग्ने भेलझैँ अब लाग्दछ ।।

एकार्कामा छँदै छैन मानसम्मान आदर
हातमा यन्त्र बोकेको मान्छे बन्दैछ बाँदर ।।

हिजोको युग त्यागेर त्यतैतर्फ म सर्दछु
अपवाद कहाँ हुन्थेँ म स्वयं पनि पर्दछु ।।
आफैँभित्र बिलाएर सकिए प्रेरणाहरू
हराए अघिका हाम्रा भित्री सम्वेदनाहरू ।।

न छन् गम्भीर संवाद न छन् धार्मिक चेतना
हाम्रो मस्तिष्कमा कालो लाग्दैछ कुहिरो घना ।।

वस्त्रत्याग गरेका छन् हाम्रा श्री नारी जातिले
आजैका दृश्य छन् यस्ता कस्तो देख्ला पनातिले ।।

लाज सर्म न देखिन्छ देखिन्छ न त आदर
पनाति नातिको बेला मान्छे होला कि बाँदर ।।

सारा संसार त्यागेर अनुसन्धान गर्दथे
नयाँ तथ्य र सिद्धान्त भेटेर मख्ख पर्दथे ।।

जिजुबाजे तिनै हाम्रा तिनैका हामी सन्तति
त्यही वंशज हौँ हामी आज हाम्रो छ यो गति ।।

समस्त सृष्टिकै हुन्थ्यो गहिरो अवलोकन
आजको युगमा मुख्य बन्दैछ कट्टुदर्शन ।।

लाजको सर्मको त्यान्द्रो चुँडियो र खस्यो तल
नाङ्गो बन्न सबै झिक्छन् मानौँ न्वारानको बल ।।
सोच्तछन् आजका चेली वस्त्र त्यागे रिझाइने
जति नाङ्गो भयो उत्ति मानसम्मान पाइने ।।

आजका चेलीमा आफैँ नाङ्गो बन्ने छ आदत
बलात्कार भयो भन्दै जान्छन् उल्टै अदालत ।।

काँचैमा झम्टने गर्छन् दुष्टको हुन्छ के भर
पाकेको फल भेटेमा कहाँ छोड्दछ बाँदर ।।

पग्लदैन कहाँ भन्नु तातो राप चलेपछि
घिउका छेउमा आगो स्वयं आई बलेपछि ।।

सभ्य संस्कार त्यागेर नाङ्गो संस्कार रोज्दछन्
नाङ्गा आफैँ बनेका छन् आफैँ इज्जत खोज्दछन् ।।

हावा बाहिरको खान आउलान् कि भनेसरि
लाजका अङ्ग छन् भित्र बस्तछन् झगडा गरी ।।

आज भिन्नै छ सस्कार अर्ध नग्न भयो तन
सर्वत्र गर्न चाहन्छन् आधा अङ्ग प्रदर्शन ।।

क्षमा पाऊँ यसो भन्दा मनमा केही गढ्दछ
अर्धनग्न हुँदा छोरी चेलीको भाउ बढ्दछ ।।
न छन् मान न मर्यादा न छन् नैतिक चेतना
नाङ्गो दर्शनको मात्र हुन्छ नित्य विवेचना ।

गाँजाको गँजडीजस्तो फोनमा नित्य झुल्दछ
हातमा यन्त्र (मोबाइल) बोकेर संसारै सब भुल्दछ ।।

त्यसैलाई सधैँ चाट्यो त्यसैलाई सधैँ सुँघ्यो
त्यसैमा अर्पियो ज्यान दूरयन्त्र भए पुग्यो ।।

मनुष्य झुम्दछन् नित्य त्यसैमा सबका सब
विश्व आक्रान्त गर्दैछ सस्तो सञ्चारले अब ।।

फोनैमा मात्र छुम्मिन्छु फोनमै नित्य मस्त छु
अरूको के कुरा गर्नु म आफैँ अलमस्त छु ।।

कसैको दुःखमा कोही सुन्दैन वरका पर
यन्त्रजस्तै भयो मान्छे मान्छे भन्ने कहाँ छ र ।।

छैन उद्योग वा धन्दा छ भने प्रतिशोध छ
के छ मानवमा भन्ने मलाई आत्मबोध छ ।।

हेरे स्पष्ट हुने गर्छ घर वा परिवेशको
यस्तै छ युगको दृश्य यस्तै छ हाल देशको ।।
यद्यपि छ सबै ज्ञान तथापि गर्छु गर्व म
अरूका पक्ष छाडेर लागेँ साहित्यतर्फ म ।।

यसमा पनि उस्तै छन् लाज लाग्दा कुराहरू
मुखमा राम जप्नेका कोखमा छन् छुराहरू ।।

साहित्य काव्यको फाँट ठान्दा हुन् यो सशक्त छ
चोखो छ यो कुरा ठान्नु मुर्ख्याइँ हुन सक्तछ ।।

लाजै मर्दो कुरा लाग्छ गुट छन् उपगुट छन्
एकै ढिक्का कहाँ हुन्थ्यो यसमा पनि फुट छन् ।।

विष्टाको नजिकै घुम्ने मानौँ छन् करियाहरू
ताबेदारी गरी बस्छन् सत्ताका भरियाहरू ।।

यस्तो छ देशमा हाम्रो कलामाथि विडम्बना
यो बेला पनि के गर्ने व्यर्थको नवसिर्जना ।।

यस्तै यस्ता कुरा पस्तै मनलाई हुँडल्दछन्
दुर्गति तथ्य तथ्याङ्क खोजी खोजी बटुल्दछन् ।।

ढपक्क ढाक्तछन् मानौँ भित्रभित्र कुना कुना
उम्रन्छन् मनमा मेरा धेरै सन्देहका मुना ।।
न सुन्ने छन् यहाँ कोही पढ्ने छन् न त पाठक
तथापि लेख्न थालेँ म केही लेख्ने हुँदा हक ।।

के सक्लास् तँ यहाँ लेख्न पर्याप्त भित्र दर्द छ
त्यो बेला मनले मेरो एक्कासी तर्क गर्दछ ।।

देवकोटा थिए लेख्ने लेख्ने उस्तै थिए सम
थिए साहित्यका खम्बा को भन्दा को थिए कम ।।

परिष्कार जहाँ हुन्थ्यो काव्यमा खात खातको
लेख्ने काम थियो नित्य कास्केली लेखनाथको ।।

कोही माथि थिए लेख्ने कोही लेख्ने थिए तल
के पाए तिनले लेखी के पाए तिनले फल ।।

यता जोड्ने उता तोड्ने कसैका उच्च बात छन्
दुविधा अझ बढ्दैछ लेख्नेका जात जात छन् ।।

शङ्काको झार उम्रन्छ नलेख्ता मनमा पनि
एक रूप र एकात्म छैन लेखनमा पनि ।।

म पो शुद्ध तँ के शुद्ध भनेर मुख बाउँछन्
तेरो के शुद्ध हो भन्दै शब्दवाण चलाउँछन् ।।
नातावाद कृपावाद साहित्यतर्फ हुल्दछन्
हज्जारौँ राशिका नाना पुरस्कार बटुल्दछन् ।।

रामले श्यामको लिन्छ श्यामले लिन्छ रामको
पैँचोमा बाँड्दछन् धेरै पुरस्कार छ नामको ।।

आत्मसम्मानको शैल नाग्लान् झैँ गरी चढ्दछन्
स्वयं नै लेख्दछन् भाका स्वयं लेखेर पड्दछन् ।।

आफ्नै झुन्ड बनाएर आत्मैदेखि गरी बल
ठान्दैछन् तिनले मानौँ झार्छन् आकाशको फल ।।

त्रिवि प्रज्ञा तथा उच्च आदिको लेख्यमानक
लत्याई डम्फू ठोकेर गर्दैछन् हास्य नाटक ।।

यस्ता धेरै कुरा सोची म आफैँ केही खिन्न छु
तर यो म कहाँ भन्थेँ "म आफैँ छिन्नभिन्न छु" ।।

झुन्डले भोलि के भन्ला भनेर पर भाग्दिनँ
म कुनै झुन्डको फेर समाती पछि लाग्दिनँ ।।

एकातर्फ छ यो रोग हुन्न यो मन निर्भय
त्यसैले मनमा मेरो उम्रने गर्छ संशय ।।
मेरो साहसको वृक्ष मानौँ गिँड्छन् र ढाल्दछन्
हजारौँ तर्कका बिच्छी मलाई चिल्न थाल्दछन् ।।

शङ्का गाढ्छ अझै झन्डा मनको शैलमा चढी
मन सङ्लिन सक्तैन धमिलो हुन्छ झन् बढी ।।

तैँले लेखेर के हुन्छ होला के हार वा जित
किन हो हुन्छ यो मेरो मन आज विभाजित ।।

सियाको प्वालमा हात्ती बल लाएर छिर्छ र
कलामा भाव पोखेर भ्रष्टको मति फिर्छ र ।।

मनमा कल्पना छैनन् न त छन् भावका धन
फोस्रो लेखेर के हुन्छ नलेखूँ भन्छ यो मन ।।

अन्न उब्जाउ के होला मान्छेले मरुमा छरी
तथापि मन यो मेरो सोच्छ के के घरी घरी ।।

गरेरै मात्र के हुन्छ तर्क वा घोर चिन्तन
पढेर कसले गर्छ व्यर्थैमा आत्ममथन्न ।।

आजको मनुवा लामो प्रतीक्षा किन गर्दछ
अहिले बिरुवा रोपे अहिल्यै फल्नुपर्दछ ।।
स्वाध्याय त्याग वा प्रेम रहन्थ्यो निजको धन
बिताएका थिए हाम्रा ऋषिले पूर्ण जीवन ।।

मानौँ सम्पत्तिको बोट भित्रभित्रै उमार्दछन्
फल लागोस् यथाशीघ्र तोक आदेश गर्दछन् ।।

स्वर्ग नै जान चाहन्छ तर हिँड्दैन क्यै पग
धैर्यको लेस नै हुन्न आजका मनुवासँग ।।

पेटले थाम्न सक्तैन तथापि अझ धोक्तछ
आजको मनुवा आफ्नो अगस्ति सोच बोक्तछ ।।

छैन त्यो युगको धैर्य यो बन्यो अब जर्जर
प्रतीक्षा गर्न सक्तैन आजका युगको नर ।।

भावका कनिका यत्रतत्र सारा छरी छरी
मनमा सोच सन्देह बग्दै छन् खहरेसरि ।।

आज एकान्तमा आफ्नै दुःखको गीत गाउँछु
पोखेर कविताभित्र आफ्नो भारी बिसाउँछु ।।

चाहन्छु दुःखको बोझ बिसाएर गरूँ कम
यद्यपि कम के हुन्थ्यो यो बढ्ला अझ हर्दम ।।
मनमा दुखका पोथ्रा उम्रिएर भए तरु
मनैमा उठ्तछन् मेरा दुखका भुँमरीहरू ।।

मेरो जीवमा यस्ता दुखका रास रास छन्
व्यथा पर्याप्त छन् थोरै हास छन् परिहास छन् ।।

हियामा दुखको खोलो काबेलीझैँ सुसाउँछ
सबै सम्झेर के सक्ने झझल्कोसम्म आउँछ ।।

बुथुरे बोटमा मानौँ सग्लो फूल फुलेनछ
धौ फुकाई कुनै बेला खेल्नसम्म मिलेनछ ।।

सुल्टो पार्ने थिए ध्यान हुन्थ्यो उल्टै परिस्थिति
सुखका मानुको थोरै स्मृतिमा छैन सञ्चिती ।।

हजारौँ दुखमा टाटा आँसुले सक्नु के धुन
चम्किएर कहाँ लागून् औँसीको रातमा जून ।।

मजस्तो बाम पुड्केको अग्लो इज्जतको धुरी
हुँदै हुन्न यसै मैले किन हो गर्नु फुर्फुरी ।।

यश वा श्रेयको मैले अग्लो शैल कता हुनु
व्यथाका चाङमा टेकी लम्किएर कता छुनु ।।
तथापि मनका केही घाउ कोट्याउँदै छु म
आफ्नै इज्जतको डोरी चुँड्दै छोट्याउँदै छु म ।।

छातीका बोझले हामी मान्छेलाई रुवाउँछ
थुनेमा भुसको आगो नबलेझैँ धुवाउँछ ।।

त्यसैले त्यसको पीडा थोरै थालेँ फुकाउन
कुडा कर्कटको रास म थाल्छु टक्टक्याउन ।।

थालेँ यो थाल्न ता मैले अझै छ केही संशय
नगर्ने पो गरेँ भन्ने मनमा हुन गो भय ।।

यद्यपि दुविधा हुन्छ किन भारी फुकाउनु
यो मेरो मनको बोझ कहाँ बिस्कुन लाउनु ।।

लेखेर कसले पढ्छ चाहे पुस्तक रास हुन्
मैले धेरै पढेँ भन्नु व्यर्थका बकवास हुन् ।।

आजका युगको मैले सक्नु के गरी वर्णन
मोबायल भएको छ युगको मुख्य दर्पण ।।

विद्यावारिधिका मान्छे चिन्छन् वर्ण सुरुबुरु
मोबाइलै भएका छन् गुरुमाथि महागुरु ।।
किनी पुस्तक जो पढ्छ मानौँ ठानिन्छ पाप हो
ज्ञान गम्भीरका लागि युग यो अभिशाप हो ।।

नयाँ सिद्धान्त निर्माण गरेर काल जित्तथे
ज्ञान विज्ञानको खोजी गर्दै जीवन बित्तथे ।।

उ बेलाको कथा सम्झी हुन्छ यो मन गद्गद
आजको के कुरा गर्ने छन् मोबायलमा रत ।।

पत्यक्ष देखिने गर्छ चारैतर्फ विसङ्गति
तर्क सन्देहको भारी मनमा कति हो कति ।।

गथासो किन हो लेख्ने भन्दै जीवन नै बित्यो
जे होला अनि जे होला भन्दै यो मनले जित्यो ।।

यसैले लेख्न थाल्दैमा पहिले सम्झिएँ पिता
पिता नै जो थिए मेरो ज्ञानका एक संहिता ।।

जसबाट सिकेँ धेरै भुत्ल्याएर सिकाउँथे
हिया सुख्खा थियो क्यारे कठोर मनका थिए ।।

हामी बालकका लागि थिएन सोच निर्मल
भित्री माया थियो भन्ने थोरै गर्दछु अड्कल ।।
हे पिता दैवले माया तिमीलाई दिएन कि
आफ्ना सन्ततिमा माया थियो थोरै थिएन कि ।।

जे थियौ हे पिता हाम्रो विधाता तिमी नै थियौ
पालपोस परै जाउन् भिन्न संस्कार नै दियौ ।।

कसैले जोड गर्दैमा अग्लो शैल नुहुन्छ र
संसार भरमा एकै स्वभाव किन हुन्छ र ।।

प्रवृत्ति भिन्न नै हुन्छन् होला को सर्वसम्मत
थोत्रा थोत्रा कुरा झिक्तै पिताको लिन्न हुर्मत ।।

कडो शासनका स्तम्भ घरको एक इज्जत
जो थियौ हे पिता तिम्रो पुत्र हुन्छ सदा नत ।।

हे पिता म क्षमा पाऊँ नबोल्ने धेर बोलियो
यहाँकै देनले मेरो ज्ञानको द्वार खोलियो ।।

सिस्नो लाई रुवाएर कठोर यातना दिई
पढायौ त्रासमा धेरै विद्या के आउँथ्यो पिई ।।

म प्रस्तुत भएँ आज व्यथा आफ्नै सुनाउन
गह्रुङ्गो मनको भारी यहाँसामु बिसाउन ।।
हुन सक्लान् कसैलाई भित्रभित्रै बिझाउने
यद्यपि यी हुँदै हैनन् कसैलाई रिझाउने ।।

क्रमैले लेख्न चाहन्थेँ मेरो भिन्नै भयो मत
तलमाथि हुने गर्छ लेख्ता तथ्य स्वभावतः ।।

कलाले भरियोस् मेरो र बनोस् उच्च लेखन
शैलजस्तै बनोस् उच्चा र बनोस् राष्ट्रकै धन ।।

भित्र छन् भावना यस्ता तर लेखेर भिन्न छन्
जे पस्कन्छु यहाँ भन्थेँ ती सबै छिन्नभिन्न छन् ।।

म जस्ता बामपुड्केले के छोला व्योमको धुरी
हज्जारौँ चल्दछन् मेरा मनमा द्वन्द्वका हुरी ।।

हिलो माटो रयालेर लामो बाँध थुनिन्छ र
अच्कल्टो धमिलो कच्चा फोस्रो लेखेर हुन्छ र ।।

फोस्रा शब्द थुपारेर मारिन्न मनको धित
परिष्कार विना लेख्ता कविता हुन्छ निन्दित ।।

मनले यो भन्यो मेरो बरु राम सीता भज
यसैले उर्लियो मेरा मनमा दुविधा अझ ।।
यहाँ भन्दा अझै उच्चा परिष्कार कता हुनु
हिमाली चुचुरा माथि उभिएपछि के छुनु ।।

परिष्कार अझै गर्न खोजे तापनि सक्तिनँ
यहाँ भन्दा उँभो मेरो सामर्थ्य अब देख्तिनँ ।।

परिष्कार गरे होला अझ उत्कृष्ट यद्यपि
मेरो सामर्थ्य यस्तै छ गर्ने के अब झन् थपी ।।

परिष्कार गरूँ भन्दा झन् होला अझ जर्जर
विनायकं प्रकुर्वाणो रचयामास वानर ।।

सामान्य मनले सोच्यो नबनोस् अझ लत्पत
जस्तो छ यो रहोस् त्यस्तै मेरो यस्तै भयो मत ।।

पूर्व यात्रा गरूँ भन्दा पुगिएला कि पश्चिम
परिष्कार गरूँ भन्दा होला त्यो अझ कृत्रिम ।।

स्थानमा रहनै पर्छ हुँदैन हुनु ढल्पल
लगाए नेत्रमा कालो दिन्छ सौन्दर्य गाजल ।।

प्रलाप भनियोस् चाहे भेनियोस् अझ गन्थन
केलाई म निफन्दै छु गरेर आत्ममन्थन ।।
भुक्तभोगी र पुण्यात्मा बुझ्छन् जीवनपद्धति
परेका जनले मात्र बुझ्छन् जीवनको गति ।।

समीक्षा म स्वयं गर्छु त्यसमा छैन धर्मर
मभित्र जे छ ‍औकात अरूले भन्नुपर्छ र ।।

पक्षपाती हुँदै लेखे हुनु पर्नेछ आहत
जे लेख्छु त्यसको भित्री तथ्य पस्कन्छु मूलतः ।।

अटमट्ट बसी मेरो मनैमा कुहुने भए
नलेखे मनमा मेरै बबुरा तुहुने भए ।।

जति हुन्छ ढिलो लेख्न उति आफैँ हराउलान्
अहिले सम्झना गर्दै लेखेमा भाउ पाउलान् ।।

शङ्का फेरि अझै हुन्छ लेखेर काम दिन्न कि
त्यो तथ्य लेख्न थालेर छिमोल्नै पो सकिन्न कि ।।

मस्तिष्क रित्तियो मेरो राम्रो लच्छिन देखिनँ
भावना निख्रिएजस्तो हुँदैछ किन हो किन ।।

स्मृतिमा जे छ सम्झन्छु त्यति मात्र म लेख्तछु
बिर्सेका तथ्यको राम्रो भविष्य छैन देख्तछु ।।
त्यसैले अघि सर्दैछु दुःखदर्द बिसाउन
स्मृतिको ढुकुटीबाट व्यथा बिस्कुन लाउन ।।

लेखेर म हुँला उच्च अथवा म हुँला ठुलो
भन्ने सोच छँदै छैन म ता हुँ कण वा धुलो ।।

आकाङ्क्षा छैन पालेको तृष्णा छन् न त साथमा
तथापि लेख्नका लागि लिएँ कलम हातमा ।।

एकातर्फ कुरा धेरै मनमा छट्पटाउँछन्
दुविधा मनमा अर्कोतर्फ झन् चट्पटाउँछन् ।।

न उच्च पदको मान्छे न नेता न त डाक्टर
व्यर्थैमा लेख्नु के मैले मेरो के हुन सक्छ र ।।

लेख्न थाल्दै थिएँ थोरै यो सोची मन अल्झियो
नाना तर्क पलाएर मनैमा द्विविधा भयो ।।

नौनाडी गल्न लागेर मेरो घट्तै गयो बल
हियामा दुविधा जस्ता उठ्छन् नाना कचिङ्गल ।।

कहिले के कुरा लेख्छ कहिले गर्छ सक्सक
यो सानो कदको एक मनुवा गर्छ बक्बक ।।
तर्कको बिरुवा एक आफैँभित्र पलाउँछ
उसका साथ यो अर्को बलियो तर्क आउँछ ।।

इतिहास सुनाएर व्यर्थै यो गर्छ नाटक
भनेर नगरौँ हेला के मेरो हुन्न क्यै हक ।।

कमिलो रुखमा चढ्दा रुखको माथ छुन्न र
आफ्ना केही कुरा पोख्ने सानोको हक हुन्न र ।।

जिन्दगी कतिको हुन्छ पछाडि कतिको अगि
उच्च होस् अथवा निम्न सबैको हुन्छ जिन्दगी ।।

बेग्ला बेग्लै कथा होलान् बेग्ला बेग्लै कुराहरू
कद माफिकका हुन्छन् मान्छेका पाखुराहरू ।।

अमिलो तर्क उम्रेर व्यर्थैमा याम नै बित्यो
लुते विश्वास हारेर दृढ विश्वासले जित्यो ।।

कुतर्क धेर चाहिन्न आफ्नो साख गिराउँछ
अमिलो एक थोपैले दूध धेरै फटाउँछ ।।

जितेर गर्नु के मैले छँदैछन् मनमा भय
किन हो किन हो फेरि उम्रन्छ घोर संशय ।।
पीडाले डाहका साथ मिलेर पोल्छ भत्भती
पोखी पोखेर के सक्नु मनमा कति छन् कति ।।

बाटो छाड्ने कुनै एक बटुवा सरिको भएँ
फोस्रा गन्थन छाडेर अब तथ्यतिरै गएँ ।।

आँसुको दहमा माछा मार्नका लागि भिड्नु छ
पीडाको भारी बोकेर उकालो मात्र हिँड्नु छ ।

भिन्न भिन्नै कुरा हुन्छन् मान्छेका मनमा तर
सबै तथ्य निकालेर कहाँ भन्न सकिन्छ र ?

सबैका मनमा हुन्छन् हावा आँधी र हुन्डरी
सुकेका पातको रास दहमा तैरिएसरि ।।

कति छन् दुःखका झर्ना कति छन् छहराहरू
मेरा छन् स्मृतिमा त्यस्तै दुःखका पहराहरू ।।

ठुटे कलमले सिङ्गै विश्व कोर्न सकिन्छ र
पहराहरू फोरेर कहाँ फोर्न सकिन्छ र ।।

तथापि पहरो फोर्ने गरियो आँट यस्तरी
कमिलो ‍नाउ हाँकेर खोलो तर्ला भनेसरि ।।
जसले पढ्छ यो तथ्य उसको होस् सदा जय
मिथ्याको गीत यो हैन नरहोस् थोर संशय ।।

जसका जिन्दगीलाई वेदनाले निमोठ्दछन्
तिनले उसका लागि पछिसम्म चिमोट्तछन् ।।

चाहन्छु म सबै फालूँ शब्दका रासमा पसी
चिमोट्छन् मनमा किन्तु मनैको चेपमा बसी ।।

छाँगाझैँ आँसु झारिन्थ्यो लबटो हानिएपछि
झार जस्तै उखेलेर कन्सिरी तानिएपछि ।।

ठुलो आवाजमा मैले कहिल्यै हुन्नथ्यो रुनु
के हो बालकको जात थाहा पत्तो कता हुनु ।।

कुटी गौरव गर्नेले ठान्दथे म हुँ दिग्गज
ठुलो आवाजमा रोए च्यातिन्थे कन्सिरी अझ ।।

हुरीले ध्वस्त पारेको मकैझैँ ठडिएछ पो
ढुङ्गाका कापको खिर्रो बढेझैँ बढिएछ पो ।।

कहिले भिरियो धोती भिरियो अनि कन्धनी
केही शेष छँदै छैन स्मृतिको विम्बमा पनि ।।
नढाँटी भन्नु नै पर्छ एक पेट अघाइनँ
बार वर्ष हुँदासम्म सुरुवाल लगाइनँ ।।

रुनु वा हाँस्नु हो मैले मैले के गर्नु हे हरि
लाजै मर्ने कुरा लाग्छ जुम्रा पर्थे सधैँ भरि ।।

नधोई वस्त्र थोत्रिन्थे चिथ्रा वस्त्र कता धुनु
बाल्य-स्याहार सम्भार आजजस्तो कहाँ हुनु ।।

धोइन्थे वस्त्रका कन्था पुस माघ हटेपछि
ठिहिरोसँगको जाडो केही मात्र घटेपछि ।।

खरानी पानीमा हाली कन्था च्याङ्ला उमाल्दथे
महिलागणले मात्र च्याङ्ला ती धुन थाल्दथे ।।

जुत्ता टेकेँ नयाँ मैले सोह्र वर्ष भएपछि
मैले साबुन देखेको कालिम्पोङ्ग गएपछि ।।

आफ्नो हुर्मतको गाथा छाड्दै छोट्याउँदै छु म
त्यो भन्दा अघिकै मात्र कुरा कोट्याउँदै छु म ।।

जाडोले अति नै पिर्थ्यो सपना सब टुट्तथे
काला काला हुँदै मेरा हात पट्पट फुट्तथे ।।
कलेँटी पर्दथे मेरा गाला हात र ओठमा
माचमा सुतियो कैले कहिले गाई गोठमा ।।

चार भाइ थियौँ हामी घरमा कलिला भुरा
खानाको अनि नानाको अहिले नगरौँ कुरा ।।

सबैका छन् कथा भिन्नै व्यथाका चाङ चाङ छन्
थाप्लामा डाम छन् धेरै दुखेका अझ आङ छन् ।।

यहाँ आफ्ना कथालाई राँटो पारेर छोडूँ कि
दाजुका भाइका भिन्नै कथा छन् ती नजोडूँ कि ।।

यस्तै केही कुरा मेरा वैरिए मनमा भरी
दुविधा मनमै मेरा पलाए पालुवासरि ।।

दुखका दर्दका आला काँचा गीत म गाउँछु
मेरै जीवनको भारी मात्र थोरै बिसाउँछु ।।

दुःखका भारी छन् धेरै सुखको छैन सम्झना
हे दुःख तँ भइस् मित्र तेरै छ नित्य अर्चना ।।

अनायासै कतै जाने सिढीँमाथि चढेँछु म
ढुङ्गाको कापमा बढ्ने बुटोजस्तै बढेँछु म ।।
मेरा साथी सबै गर्थे घरभित्र ढलिमली
आफ्नो जीवनका कष्ट म ता सम्झन्छु झल्झली ।।

सधैँ कष्ट सधैँ ताप सधैँझैँ क्रूर ताडना
पाइएको थियो ताप सुखको छैन सम्झना ।।

घटना अब सम्झेर त्यागेँ अरण्यरोदन
मेरो रोदनमा मेरा के भिजून् अब लोचन ।।

भाग्य वा कर्मका रेखा खोस्रिएर उधिन्छु म
आफैँलाई सकेसम्म आफैँ ढाडस दिन्छु म ।।

कोट्याई भूतको गर्त महामानव हुन्न म
इतिहास थियो अर्कै सम्झेर अब रुन्न म ।।

व्यथाका रास छन् धेरै झन् धेरै दुख दर्द छन्
मनमा कहिलेकाहीँ हुँडलो अति गर्दछन् ।।

यिनैले कहिले मेरो हिया पोल्दछ भत्भती
पोखी पोखेर के सक्नु भित्र छन् कति हो कति ।।

लेखेरै पनि के सक्नु सकिन्न सबका सब
तथापि लेख्नकै लागि मेरो सोच बन्यो अब ।।
यो हिया किन हो मेरो सारै भत्भत पोल्दछ
नौलो गन्तव्यमा जान नित्य जस्तो बिथोल्दछ ।।

धेरै लेख्ने थियो बानी लेख्ने इच्छा हुँदाहुँदै
आफैँ लड्दैछु जस्तो छ शैललाई छुँदाछुँदै ।।

मनको शान्तिकै लागि फेरि लेख्ने भएँ अब
आफ्नै जीवन यात्रामा भूततर्फ गएँ अब ।।
**
माता पिताः
माया वा प्रेममा फल्छ मायामै फुल्छ जीवन
जसले गर्छ स्याहार उसैको हुन्छ कीर्तन ।।

हिरा र सुनका सामु माताले पुत्र छान्दछिन्
दस धारा चुसाएर माता आनन्द मान्दछिन् ।।

हजारौँ पिर बोकेर हाँसेर पुत्रका अघि
आफ्नो भाग कटाएर माताको चल्छ जीन्दगी ।।

आहुती गर्दछिन् आफ्नो घरमा ज्यानको चरु
अहिले मात्र बुझ्दैछु माताका भूमिकाहरू ।।

माताको के कुरा गर्ने माता हुन् घरको दियो
पिताको भूमिका मान्छन् विज्ञले घरको मियो ।।

माता हुन् स्नेहकी खानी पिता हुन् जगदीश्वर
झुक्छ आदरका साथ दुबैका पाउमा शिर ।।

आफ्ना सन्ततिका लागि रापिन्छन् नित्य भोकमा
पिता माता दुबैको यो महत्ता हुन्छ लोकमा ।।

कुनै माताहरूभित्र बात्सल्य स्नेह छुन्न कि
सबै माताहरूभित्र यो तथ्य लागु हुन्न कि ।।

समीक्षा अहिले गर्दा ती दुबै भिन्न देखिए
मेरा माता पिता यौटा नौलो आदर्शका थिए ।।

यौटा भिन्नै थियो सोच मेरा त्यस्ता पिता थिए
उहाँका थोर तथ्याङ्क माथि नै केही पोखिए ।।

मेरो मस्तिष्कमा नित्य सम्झना सग्बगाउँछ
पिताको अनि माताको झझल्को नित्य आउँछ ।।

हामी पुत्र सबै माथि भिन्न भिन्नै थियो हक
त्यो बेलाका कुरा सम्झी लेख्नैमा पनि भो धक ।।

दुबैको स्नेहको एक थोपो सम्म मिलेनछ
सम्झन्छु ती दुबैभित्र स्नेह-पुष्प फुलेनछ ।।

शान्ति प्राप्त रहोस् नित्य दुबैको होस् सदा जय
सत्यतथ्य कुरा गर्दा क्षमा पाइन्छ निश्चय ।।

पितामाता दुबैबाट स्नेहको बिन्दु देखिनँ
दुबैको ताडना मात्रै पाइन्थ्यो दिनका दिन ।।
तथापि अहिले मेरो दुबैमाथि छ आदर
स्वर्गीय पितृमा व्यर्थै रिसाई अब हुन्छ र ।।

माताबाट पिताबाट कुटाइ खाइँदैन र
जन्माए अनि हुर्काए त्यही नै काफी हैन र ।।

बालकै कालमा मेरो अक्षरारम्भ भो सुरु
सश्रद्धा आज सम्झन्छु पिता हुन् पहिलो गुरु ।।

ताडना मात्र के हुन्थ्यो माताबाट घरी घरी
पिताबाट चिनेँ मात्रा माताबाट उसै गरी ।।

कहिले सुरु भो वेद कहिले व्रतबन्ध भो
केही नै स्मृतिमा छैन कताबाट प्रबन्ध भो ।।

झ्यास्सझुस्स म सम्झन्छु पिता हुन् वेदका गुरु
मकैका ढोड बालेर राती पढ्थेँ सुरुबुरु ।।

पिटाइ मात्र के हुन्थ्यो दीक्षा झन् उच्च पाइयो
तिथी नक्षत्र योगादि माताबाट सिकाइयो ।।

श्रद्धाका साथ सम्झन्छ शुभाशीर्वाद माग्दछ
हे पिता पुत्र यो तिम्रो पाउमा शिर राख्तछ ।।
जे लेखेँ सत्यको एक बिन्दुसम्म छुटाइन
नभएका कुरा लेखी महत्ता पनि गाइनँ ।।

धर्म र सत्यका लागि मान्छे ठान्थे युधिष्ठिर
भित्र पक्कै थियो माया हामी पुत्रहरूतिर ।।

अनुशासनका स्तम्भ पिता माता दुबै थिए
जसले उच्च आदर्श पुत्रलाई सदा दिए ।।

वाणीबाट पितामाता दुबैमा गर्छु तर्पण
श्रद्धाका हात जोडेर अञ्जली गर्छु अर्पण ।।

दुबैका सामु यो पुत्र अहिले माफ माग्दछ
यी कुरा सब छाडेर अन्यत्र अब लाग्दछ ।।
**

गोल्टे सार्कीः
गोल्टे सार्की त्यहाँ हाम्रो घरमा नित्य आउँथे
घरको खेतको काम गर्न थोरै सघाउँथे ।।

सिप राम्रै थियो जुत्ता स्वयं नै सिई लाउने
तिनै हुन् पहिलोपल्ट पात्रो हेर्न सिकाउने ।।

कोबाट उनले जाने परेछन् कसका भर
उनले कहिले जाने वर्ण मात्रा र अक्षर ।।

लेख्य सामग्री हेर्दै वा छेउ पुग्दै कहाँ छुनु
त्यो बेला सार्कीका लागि अधिकारै कहाँ हुनु ।।

पढायो जसले सार्की तिनको होस् सदा जय
उनका गुरु को होलान् अहिले हुन्छ विष्मय ।।

नसम्झी तिनको देन कृतघ्न बन्न सक्तिनँ
कसरी पढ्न जाने हुन् त्यो कुरा भन्न सक्तिनँ ।।

मनमा उनका लागि श्रद्धा छन् मुरीका मुरी
हे गोल्टे म कहाँ भुल्थेँ तिम्रो त्यो मुखमाधुरी ।।

मरेका गोरुको छाला खोजी जुत्ता सिलाउँथ्यौ
तिनै जुत्ता कसैलाई दिएर केही पाउँथ्यौ ।।

गोल्टेको देन बिर्सेर म अन्यत्रै डुलेँ भने
मलाई पाप लाग्नेछ उनलाई भुलेँ भने ।।

अगाडि म बढेँ गोल्टे सोच आफ्ना बढाउँदै
श्रद्धाको पुष्प हे गोल्टे तिमीतर्फ चढाउँदै ।।

मेरा केही यिनै शब्द तिमीतर्फ बढाउँछु
तिम्रो हार्दिकतालाई शब्दश्रद्धा चढाउँछु ।।

गोल्टे यस्ता थिए साथी सम्झी आँखा रसाउँछन्
आस्थाका साथ सम्झन्छु स्मृतिमा याद आउँछन् ।।

के सक्ने धेर सम्झेर घटनाबाट जोगियो
बालकै कालमा राप पिरोलो अति भोगियो ।।

यी हुन् थाङ्ने कुरा भन्दै कड्कँदै जाग्न सक्तछन्
नभनौँ आजकालाई कुथुङ्ग्री लाग्न सक्छन् ।।
**

पुनः आफ्नै सन्दर्भः

केही वर्ष बिते मेरा गाई बाख्रा चराउँदै
गोठालासँगका साथ मेलामा गीत लाउँदै ।।

चौध वर्ष थिएँ होला लुते थेँ बलियो भएँ
दाजुका साथ लागेर श्रीचम्बा गाउँमा गएँ ।।

कौमुदी पढ्नका लागि श्रीचम्पातिर दौडिएँ
गुरु माधवको ज्ञानपोखरी भित्र पौडिएँ ।।

खेती पाती र गोठालो गर्नबाट बिदा भएँ
गुरु माधवको एक प्यारो शिष्य हुँदै गएँ ।।

उहाँको साथ पाएर थालेँ म हुन शिक्षित
गुरुजी भन्नु यो हुन्थ्यो "केटो बन्नेछ दीक्षित ।।"

'सुध्युपास्य' पढेँ मैले नबुझी भित्रको गुदी
छिचोलेँ नबुझी उच्च 'लघुसिद्धान्त कौमुदी' ।।

गुरु माधव मानिन्थे त्यहाँ संस्कारका धनी
ज्ञान ध्यान थियो उच्च कद सानै भए पनि ।।

बुद्धि क्षेत्रमा उच्च जो हुन्छ त्यसको धनी
हात्तीलाई कुनै बेला पछार्छ माहुते पनि ।।

विपदा अति उर्लन्थे तथापि गुरु सुस्थिर
बन्नुहुन्थ्यो उहाँ सामु नुहुन्छ होमको शिर ।।

भाषाविज्ञानको मर्म कौमुदी भित्र जो थिए
शब्दनिर्माणका सूत्र धातुका रूप घोकिए ।।

पढेका अनि घोकेका सम्झन्छु अहिले पल
गम्भीर तत्व के बुझ्नु घोक्ने मात्र थियो बल ।।

गुरु माधवको दीक्षा ममा छ अझ मग्मग
उहाँकै देन हो मेरो शिक्षा आरम्भको जग ।।

शिक्षा प्राप्त हुने गर्छ उकालो चढिएपछि
गुरुको मानमर्यादा राखेर पढिएपछि ।।

गुरु नै देवता मानी मानसम्मानले पुजेँ
क्षमता जे थियो मैले सकेसम्म सबै बुझेँ ।।

गुरु माधवकै हात समाएर अघि बढेँ
रघुवंश पढेँ मैले वियोग अजको पढेँ ।।
मेरो लेखनको यात्रा अगाडि म बढाउँछु
गुरुमा आज आस्थाका पुष्पगुच्छा चढाउँछु ।।

कहाँ गम्भीर त्यो काव्य कहाँ पूर्वीय सम्पदा
छिमोल्ने आँट जिम्लेर काँचो काँचै भएँ म ता ।।

पूर्वेली काव्यको सिन्धु पसेर रुझ्न सक्छ को
महत्ता त्यसको उच्च बुझेर बुझ्न सक्छ को ।।

अनुयायी बनूँ भन्ने लाग्थ्यो देखेर सम्पदा
त्यही बाटो हिडूँ जस्तो सोच हुन्थ्यो यदाकदा ।।

त्यसैले त्यसको बारी खनिखोस्री जसो तसो
नभन्दै यस मेलोमै पसिएछ कसो कसो ।।

पढ्दाको दुखका यस्ता कति छन् कति हन्डर
ती सबै लेख्न थालेमा व्यर्थै हुन्छ बबन्डर ।।

धैर्य माया र मर्यादा मेरा हुन् अब वैभव
रिस राग तथा लोभ मबाट अल्पिए अब ।।

आस्था विश्वास सम्मान परोपकार वा हित
मभित्र क्रमले आफैँ भएछन् तब सञ्चित ।।
उनै बाधा उनै दुःख मनका लाख हन्डर
उर्लिए फेरि लेख्तैछु लाखौँ लाख बबन्डर ।।

अहिले सोच भो भिन्न त्यो बेला सोच के हुनु
बामपुड्के थिएँ यौटा उफ्रेर धुरी के छुनु ।।

मेरा जीवनका भिन्न सम्झनाका तरेली छन्
कता मात्रै म पल्टाऊँ खापका खाप ठेली छन् ।।

पिष्ट पेषणझैँ गर्दै तिनै फेरि कुरा गनेँ
यस्ता यस्ता थिए भन्ने जो कुरा माथि नै भनेँ ।।

लेखेरै पनि के सक्ने तुस थोरै रहेपछि
तथापि मनको बोझ अझै उस्तै भएपछि ।।

दोहोरिन्छन् उनै वार्ता उनै थोत्रा कुराहरू
तर के गर्नु हो मैले उब्जन्छन् हुँडलाहरू ।।

सम्झन्छु मनमा हुन्थ्यो राम्ररी अझ पढ्नु छ
रोगका भोकका भारी बोकेर माथि चढ्नु छ ।।

अल्पिए मनका सोच अल्पिएछन् कलाहरू
बिथोल्छन् अहिलेसम्म मनका दुविधाहरू ।।
कोट्याऊँ म कताबाट उक्काऊँ म कतातिर
कतै जङ्घार छन् बग्ने कतै छन् अकरे भिर ।।

कुर्कुच्चा फुट्दथे मेरा बग्दथ्यो रक्त छर्छरी
त्यो दृश्य सम्झँदा मात्रै चुहुन्छन् आँसु धर्धरी ।।

जाडोको याममा हात खुट्टा फुट्थे सधैँ भरि
पानी शून्य हुँदा हाम्रै खेत धाँजा फुटेसरि ।।

किनेर लाऊ लौ भन्ने बाबाको न थियो बुता
सोर वर्ष हुँदासम्म परेनन् पाउमा जुता ।।

जाडो सारै हुने गर्थ्यो वर्षा याम गएपछि
पाउले के जुता पाओस् नाङ्गै देह भएपछि ।।

खेलिन्थ्यो कहिलेकाहीँ डल्लो पारी धराहरू
बाँसका खबटा खोज्दै लेखिए कखहराहरू ।।

माटोमै चिनिए मात्रा माटोमै सुख पाइयो
काठको पाटीमा भागा जोड अङ्क चिनाइयो ।।

त्यही खेत त्यही बारी सल्लोघारी त्यही वन
अहिले म पूजा गर्छु माटो मानेर चन्दन ।।
तितेपाती निचोरेर साँवा अक्षर लेखियो
बाँसका खबटामाझ कला सौन्दर्य देखियो ।।

कुटाइ यति खाइन्थ्यो बिर्सियो हाँस्नु वा रुनु
लेख्ने मेट्ने नयाँ प्याड आजजस्तो कहाँ हुनु ।।

व्यथाका हुँडला हाम्रा कालका सामु टर्दछन्
ती कुरा सम्झना गर्दा तरक्क आँसु झर्दछन् ।।

म बन्छु अहिले नित्य कुलमा वंशमा नत
सबै तथ्य यहाँ भन्दा वंशकै जान्छ इज्जत ।।

लेखनी हातमा बोकी म मेरै चर खन्दछु
जे सकिन्छ यहाँ भन्न त्यति मात्र म भन्दछु ।।

आफ्नै इज्जतको जामा खोलेर पर्नु के गति
स्मृतिको विम्बमा मेरा नभन्ने कति छन् कति ।।

बितेका विम्ब कोट्याई छाडेँ धेरै उधिन्न म
यस्ता तुच्छ कुरालाई कहिल्यै पुट दिन्नँ म ।।


कहिले रुद्री भो कण्ठ कहिले चण्डी कण्ठ भो ।।
छिमेकी काकीले भन्थिन् केटो तिख्खर जन्ड भो ।।

दुबै कान निमोठेर उचालेर पछार्दथे
पिताजी कन्सिरी मेरा रातसाँझ उखेल्दथे ।।

नपढ्दा दाजुलेसम्म सुर्कन्थे जोर पाखुरा
यसैले कण्ठ पारेर पढ्नै पर्ने थियो कुरा ।।

जजमान खुसी हुन्थे लय हालेर गाउँदा
मैले सप्तसती चण्डी कण्ठ पारी सुनाउँदा ।।

अरूको द्रव्यमा धेरै लोभले चक्षु गाडिनँ
पढ्ने काम थियो मेरो कहिल्यै पढ्न छाडिनँ ।।

तिर्खाका साथमा जल्दै भोकका साथमा भिडेँ
धर्मको रज्जुमा टेक्तै ज्ञानको मार्गमा हिडेँ ।।

बितेका घटनातर्फ व्यर्थैमा किन धाऊँ म
पढेको दुख पाएको कति मात्र सुनाऊँ म ।।

पिपिरा उम्रिएजस्ता मनमा अझ छन् कुरा
साक्षी राखी तिनैलाई सुर्कन्न अब पाखुरा ।।

बालुवामा लगाएको खेती सप्रन्छ भन्नुझैँ
होला आकाशका तारा एकेक गरी गन्नुझैँ ।।

तिनै थाङ्ने कुरा मेरा भट्याएँ अहिले यहाँ
असरल्ल थिए धेरै पट्याएँ अहिले यहाँ ।।

थोत्रा थाङ्ने कुरा पढ्ने मलाई के प्रयोजन
नभनेर पढे हुन्थ्यो मेरो यो छ निवेदन ।।

भेट्ला पाठकले केही पढेर ध्यानमा रहे
मेरै गन्थनको थोत्रो खाता पल्टाउँदै गए ।।

दुखेसा छन् यहाँ मेरा मेरा उद्विग्न छन् यहाँ
धेरै गन्थन छन् पोको फुकाऊँ म कहाँ कहाँ ।।

कसैको मनमा चोट के पार्लान् बबुराहरू
यहाँ छन् घटना मेरै मेरा आफ्नै कुराहरू ।।

लागियो दिल खोलेर दुःखको गीत गाइयो
काया कैरन यो मेरो धेरै पल्ट सुनाइयो ।।

महँगीको खुँडा जस्तो थाप्लामा तरबार छ
भिडभित्रै भएँ एक्लो यद्यपि घरबार छ ।।

जस्तो छ जिन्दगी मेरो यही नै आज प्रेय छ
त्यसैले ती कुरालाई उधिन्नै छाड्नु श्रेय छ ।।

मनमा खुल्दुली हुन्थ्यो मनभित्र व्यथा थिए
दिन फिर्नुअघि मेरा यस्तै यस्ता कथा थिए ।।

कसरी गर्नु हो मैले धुरिन्धन् सबका सब
त्यसैले यी कुरालाई छाडेर म बढेँ अब ।।

कसैमाथि भए पाप क्षमाकै भर पर्दछु
यसैले यी कुरालाई छाडेर पर सर्दछु ।।

* **
पठनपाठन र जागिरतिर प्रवेश

मेरा जीवनको मुख्य वय केही बहेपछि
विदेशी भूमिमा टेकेँ सोह्र वर्ष भएपछि ।।

कालिम्पोङ्ग पुगेँ चाँडै बोकेर मनमा डर
आफ्ना माता पिताबाट घरबाट भएँ पर ।।

पढेको जे थियो मैले भिन्नता केही देखिनँ
त्यो नै पर्याप्त भो मेरो परीक्षा प्रथमा दिन ।।

केही साथीहरूमाझ प्यारो साथी हुँदै गएँ
श्रेणी अब्बल पाएर प्रथमा पास पो भएँ ।।

कहिले मागियो भिक्षा कहिले होमियो चरु
पूजापाठ तथा रुद्री गरेर पढियो अरू ।।

कथावार्ता जहाँ जे छन् भन्न सर्माउने किन
पूजापाठ र भिक्षाको अन्नले धानिए दिन ।।

आधै पेट कुनै बेला कुनै बेला अघाइयो
भोकको अग्निले पोल्दा काँचै चामल खाइयो ।।

मानो खाने हुँदा भोक मुठी खाँदा छुँदैनथ्यो
त्यो पनि कहिले हुन्थ्यो कहिले ता हुँदैनथ्यो ।।

अत्यन्तै कष्टका साथ दुःखका दर्दका पल
झेलियो खानमा किन्तु गरिएन कुनै छल ।।

सुकेका पातझैँ बल्दै दिन मास यसै जले
केही वर्ष बिते यस्तै दुःख ताप र बोझले ।।

इच्छाका पिपिरा मेरा थिए भित्र टुसाउँदै
वाराणसीतिरै लागेँ त्यहाँ दुःख बिसाउँदै ।।

पहिले जे पढेँ मैले त्यही नै मूल स्रोत भो
गुरु माधवको देन त्यहाँ झन् फलिभूत भो ।।

पाणिनिसूत्र कण्ठस्थ रहन्थे गद्यपद्यमा
तिनैबाट भएँ पास म त्यहाँ पूर्वमध्यमा ।।

एक वर्ष बिताएर दिएँ उत्तरमध्यमा
धेरै गन्थन भो छाडेँ पाऊँ झर्को भए क्षमा ।।

पुगेँ पहाडमै फेरि म आफैँ लड्खडाउँदै
एक वर्ष बित्यो मेरो भुरालाई पढाउँदै ।।
'काठमाडौँतिरै भाइ आऊ पढ्न छिटो' भनी
दाजु राजेन्द्रको पत्र पाएर म हिँडेँ अनि ।।

काठमाडौँ थियो खोलो त्यसमा बगिएनछ
पेट पाल्न पर्‌यो हम्मे तथापि डगिएनछ ।।

ध्यान मेरो थियो पढ्ने त्यो ठान्थेँ उच्च वैभव
पढ्दै जागिरमा ध्यान जान थाल्यो त्यहाँ अब ।।

जागिरे जिन्दगीलाई भएँ केही सुशिक्षित
भाग्यनिर्माणमा आए बाबु कमल दीक्षित ।।

उहाँकै यत्नले आज सकेँ म यत्तिको हुन
पिताकै स्नेह जो गर्थे कहाँ त्यो बिर्सने गुन ।।

एकातर्फ थिएँ पढ्दै अर्कातर्फ म लेख्तथेँ
पढ्दै लेखेर व्यक्तित्व पुगेको माथि देख्तथेँ ।।

उकेरा लाउने गर्थे मलाई घरीका घरी
लुइँटेल थिए अर्का वासुदेव पितासरि ।।

ममा व्यङ्ग्यत्वको भाव आज जो छ समाहित
भएँ सान्निध्य पाएर उहाँबाटै प्रभावित ।।
उहाँमा गर्दथे हास्य व्यङ्ग्यले उच्च आसन
उहाँकै छत्रछायामा थियो कौवा प्रकाशन ।।

हास्यकर्मीहरू धेरै आउँथे नित्य प्रेसमा
पाँडे पुराणका स्रष्टा बस्तथे उच्च व्यासमा ।।

गोतामे श्याम नै हुन् वा वा हुन् अर्याल भैरव
मेरा सम्पर्कमा आए दाताराम घटोत्कच ।।

म सानो कदको मान्छे थिएन भित्रको जग
तर सम्पर्क भो धेरै ठुला मान्छेहरूसँग ।।

मैले ठाने स्वयंलाई आफू भन्दा निकै उँभो
म जस्ता लठुवालाई यही थामी नसक्नु भो ।।

सधैँ नित्य त्यहीँ आई गफ गर्थे लीलाध्वज
उनै मात्र कहाँ हो र आउँथे अरू दिग्गज ।।

श्यामदास कुनै बेला लौरो टेकी कनी कनी
आउँथे र चिया खान्थे सधैँ पुष्कर लोहनी ।।

साथैमा छ यहाँ अर्को भाषाको सङ्ग्रहालय
नेपाली मातृभाषाको मदन पुस्तकालय ।।
पुस्तकालयमा पढ्न मौकामा मात्र पाउँथे
अध्येता अनुसन्धाता पुस्तकालय आउँथे ।।

यिनै संस्थासँगै मेरो नित्य आबद्धता थियो
यिनैबाट बल्यो मानौँ मभित्र ज्ञानको दियो ।।

उच्च व्यक्तित्वका साथ हुँदैगो नित्य सङ्गत
जगदम्बा थियो प्रेस जो भयो भूत वा गत ।।

व्यवहार चलाएर बनेर थोर शिक्षित
अडिने स्थान भो प्राप्त थिए कमल दीक्षित ।।

जगदम्बा थियो प्रेस भाषाको जो थियो तरु
जहाँ पुस्तक छापिन्थे छापिन्थे पत्रिकाहरू ।।

श्री दीक्षित थिए मानौँ ज्ञानका एक संहिता
लेखिए माथि जो संस्था ती सबैका थिए पिता ।।

भाषा साहित्यका एक श्री दीक्षित थिए मियो
तिनैको भर पाएर होम फुर्फुरिँदै गयो ।।

बाबु कमलले मेरो गरेर अति नै भर
मौका प्राप्त भयो पढ्ने त्रिविमा स्नातकोत्तर ।।
पच्चास वर्ष बित्तैछन् नठान्नू यो छ आजको
भेला हुन्थ्यो जहाँ नित्य पूज्य विद्वत् समाजको ।।

तिनै सङ्गतले गर्दा आरम्भ लेख्नमा भयो
औडाहा दुविधा द्वन्द्व मनको निख्रिँदै गयो ।।

केटौले जो थियो होम त्यो जवान हुँदै गयो
अनि लेखनको यात्रा त्यो बेलै थालनी भयो ।।

कथासूत्र भयो धेरै ती सबै अब टाढिए
मेरो जीवनका बिन्दु धेरै नै अब छाडिए ।।

अब ता अमिलो लाग्यो मलाई खान अङ्गुर
लेखेर अब के सक्नु महाभारत डङ्गुर ।।

पहिले पहिले यत्न गरेर थोर लेखियो
आफूलाई त्यसै भित्र महापण्डित देखियो ।।

शब्द विम्ब र सौन्दर्य भर्नमा गरियो बल
हलक्क यो बढोस् भन्दै छरियो भावको मल ।।

प्रयत्न गरियो उच्च पारी सुस्थिर यो मन
कविता लेख्नमै नित्य कवितै गर्न वाचन ।।
पिन्जडाको सुगा पढ्थेँ मुनामदन हर्दम
लेखथान ममा नाचे देवकोटा तथा सम ।।

कविताको महासिन्धु भित्रै पो तैरिएँछु म
यसैले कवितातर्फ नजानी वैरिएँछु म ।।

पेट पाल्ने तथा पढ्ने जगदम्बा भयो भर
प्रेसकै काममा कैले पुगियो समको घर ।।

भाषाकै काममा पुग्थेँ कहिले उनका घर
नैवेद्य कृतिका स्रष्टा जो थिए धरणीधर ।।

कवितातर्फको मेरो भएको जो पदार्पण
अनुमान स्वयं हुन्छ त्यही सङ्गत कारण ।।

गरियो जिन्दगी आफ्नो कवितामै समर्पण
कवितैमा भयो श्राद्ध कवितैबाट तर्पण ।।

उच्च काव्य गरूँ भन्ने आकाङ्क्षा मनमा थियो
यथासम्भव सत्काव्य भर जीवन लेखियो ।।

बल्लबल्ल भयो ज्ञान कविका गोष्ठीमा चरी
यस्ता वाचनले मान्छे कहाँ हुन्थ्यो अजम्मरी ।।
न स्थायित्व थियो मेरो न थियो थोर सञ्चिति
व्यवहार थियो भिन्न किन्तु भिन्नै परिस्थिति ।।

लेखेर न हुने केही न बन्ने याम नै थिए
भाषामा किन हो मैले धसिने प्रश्न वैरिए ।।

किन धस्सिनु हो मैले कवितामा घरी घरी
कविताबाट चल्दैन व्यवहार कसै गरी ।।

विलम्ब धेर भो भन्ने स्वयंमा ज्ञान भो जब
लाग्दै छ मृत्युको घन्टा थाप्लोमाथि बज्यो अब ।।

उकालो चढ्नु जो पर्थ्यो ओरालोतिर दौडिएँ
हातखुट्टा दुबै बाँधी खोलामा किन पौडिएँ ।।

भोलि के गर्नु हो मैले आएन मनमा सुर
आधा जीवन गो खेर व्यर्थैमा छरी पाङ्दुर ।।

भित्री ज्ञान भयो मेरो वय धेरै गएपछि
प्राप्तिको नाममा शून्य हातलागी भएपछि ।।

रमिता अब के हेर्नु कविता पनि गर्दिनँ
जोतेर गहते डाँडो अब पाङ्दुर छर्दिनँ ।।
जे सकेँ जे गरेँ मैले कसैको नगरी भर
खोरिया खन्नका लागि मलाई अब के डर ।।

आफ्नै छन् पाखुरी मेरा कसैको भर पर्दिनँ
खेतालो लाउने मेलो कहिल्यै अब गर्दिनँ ।।

भरिया लाउँदै कोही थाप्लैका माथि उक्लिए
म थाप्लोमाथि के पुग्थेँ नपुग्दै दाँत फुक्लिए ।।

औडाहा व्यर्थको गाई व्यर्थैमा के छ पाउनु
भरियाहरू खोजेर गथासो के सुनाउनु ।।

आफैँ खर्च लगाएर आफ्नो बोझ बिसाइनँ
यसैले भरिया खोजी फुर्काफुर्की सुनाइनँ ।।

न थियो जोडको छाँट न घटाउ न वा गुना
यस्तै यस्ता पलाएका वैलाए भावका मुना ।।

आफ्नो पेट स्वयं पाल्दै पाएर प्रेसको भर
दुवै वर्ष लगाएर म बने स्नातकोत्तर ।।

काँचो माटो थियो यद्वा थियो एक्लो कुनै तरु
त्यस्ता जीवनका लागि थिएनन् योजनाहरू ।।
यद्यपि हार खाएर हिँडिएन कतैतिर
आश्रय अन्यको हुन्न भन्दै ताकेँ स्वयंतिर ।।

जितेको भान भो मैले महाभारतको रण
भयो मेरो त्यसै बेला त्रिविभित्र पदार्पण ।।

लक्ष्य शून्य हुँदै जान्थ्यो झिँगा टिप्तै बसेपछि
झुल्केलान् घाम जस्तो भो त्रिविभित्र पसेपछि ।।

आज केही बनेँ होला परन्तु म थिएँ तृण
तिरेरै पनि के सक्ने त्रिविका गुणको ऋण ।।

गथासो धेर भो लामो यसलाई म छाँट्तछु
त्रिविका कार्यको लामो अब यो रिल काट्तछु ।।

बित्यो जीवनको ऊर्जा कसैको नगरी रिस
विद्यार्थी वर्गका साथ त्रिविमा वर्ष चालिस ।।

सम्झी जीवनको यात्रा घाँटीमा हाड अड्कियो
पछुताउ भयो बल्ल सिङ्गै यो वय भिड्कियो ।।

कर्मवाद थियो मेरो म ठान्थेँ कर्म हो धन
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।।
आजका युगको ज्ञान आयो भाव टुटेपछि
महा आदर्शको खोक्रो धोक्रो बल्ल फुटेपछि ।।

हिजो आदर्श जे हुन्थ्यो त्यो वैलेर कता गयो
धूर्तशास्त्र नपढ्नेले घाँस खाए हुने भयो ।।

छलछाम लफङ्ग्याइँ धुर्त्याइँ सार मन्त्र हो
यस्तो तत्व नजान्नेको जिन्दगी मात्र यन्त्र हो ।।

तलै पर्छ तलै पर्छ मान्छेले नगरे छल
लफङ्ग्याइँ र धुर्त्याइँ नगरे तलका तल ।।

अर्थ मान र मर्यादा नहुँदा भई निर्बल
छलछाम र ध्रुर्त्याइँ नगर्दा झरियो तल ।।

बेला बित्ता भयो ज्ञान फेरि बेला फकिन्छ र
सोझो अम्लो लगाएर घिउ झिक्न सकिन्छ र ।।

दुःखको पिल्पिले बत्ती दुःखकै तेलमा जल्यो
खानपान बिहादान जिन्दगी रिनमै चल्यो ।।

यद्यपि रिनको भारी बोकी सन्तति हुर्किए
सहयोग कहाँ हुन्थ्यो पाखुरा अझ सुर्किए ।।
व्यर्थमा बोकियो धर्म व्यर्थैमा भिड्किए पल
निकै माथि पुगेजस्तो लाग्दथ्यो नगरी छल ।।

बल्ल बल्ल फिर्‌यो चेत पोलेर भित्र घाउले
सत्र कान्ला झरेँ मानौँ मनको पछुताउले ।।

**
अथ स्वैरकल्पनाध्याय
आफ्नैबाट व्यङ्ग्यवाण
ममा भित्र भयो भान भोजनै नजुरेपछि
फेरि अर्कै भयो सोच भाग्य आफैँ पुरेपछि ।।

मान्छे यस्ता कुनै हुन्छन् अरूलाई जलाउँछन्
घुसको घाँस खाएर परिवार चलाउँछन् ।।

भोका निर्धनका लागि सर्वत्र अबगाल छ
हसुर्ने भ्रष्टका लागि मालका माथि माल छ ।।

भोका मान्छेहरू कुद्छन् मानो भोजन पाउन
अघाएकाहरू कुद्छन् हसुरेको पचाउन ।।

वीरले नाघ्दछन् शैल ढुङ्गा फोर्छन् सशक्तले
भ्रष्टको गर्दछन् गान तिनका अन्धभक्तले ।।

न भएँ अन्धको भक्त न बनेँ अन्धभक्त म
पछुताउ हुने गर्छ आफैँ हुन्छु विरक्त म ।।

भुइँमै छु अझैसम्म मैले शैल कता छुनु
घुस्याहाको छ साम्राज्य मैले त्यस्तो कता हुनु ।।
काम गर्थेँ जहाँ नित्य थिएनन् सुविधाहरू
पलाए मनमा मेरा हजारौँ दुविधाहरू ।।

दरिद्रीपनले हाम्रो गिर्छ आर्थिक हालत
तसर्थ घरमा हुन्छ ङार्र ङुर्र स्वभावतः ।।

आफ्नाबाटै भयो व्यङ्ग्य 'बुबा माथा कनाउँछन्
सँगैका साथीले अग्ला दरबार बनाउँछन्' ।।

कसैले भन्दछन् हेर सत्ताको गर कीर्तन
सत्तापूजनमा मेरो भएन कहिल्यै मन ।।

पुरस्कार र सम्मान पाउने छ भने मन
कसैले यो भन्यो "हेर सत्ताको भरिया बन ।।

थोत्रो थाल ठटाएर जिन्दगी रित्तिँदै गयो
ठोकी आदर्शको ढ्याङ्ग्रो विलम्ब अति नै भयो ।।

तथापि यो छ सल्लाह युग बुझ्ने अझै बन
युग बुझ्ने भए हेर सत्ताको गर कीर्तन ।।

तिम्रो भाग्य मर्‌यो हेर देखिन्न केही धुक्धुकी
बालुवा टारमा धाऊ तब बन्नेछ जिन्दगी ।।
त्याग नैतिकता आफ्नो सत्तालाई सधैँ भज
अनि बन्छौ तिमी हेर देशको एक दिग्गज ।।"

मन्त्रदान गरे यस्तो धेरैले आई कानमा
भुलिनँ कहिल्यै थोत्रो सत्ताको यश गानमा ।।

कसैले पनि पाउन्न पदवी नगरी छल
नातागोता भए भाइ भिडाऊ त्यसको बल ।।

नगरे चाकरी आफ्नै हुनसक्छ ठुलो खती
आफन्ती मित्रको राय मन्त्रणा कति हो कति ।।

कहिल्यै नझुकोस् मेरो पापीका सामु गर्धन
कसैको नगरूँ दैव जानेर मानमर्दन ।।

मनमा न्यायका घाम झुल्कियून् जहिल्यै पनि
ममा अन्यायको घन्टी नबजोस् कहिल्यै पनि ।।

मेरो यस्तो थियो सोच सोच त्यो वैलिँदै गयो
आदर्श भाव सिद्धान्त बोकेर नहुने भयो ।।

कसैले मान्न छाडेछन् मेरा आदर्शको गुदी
न ता सन्ततिले मान्छन् मेरो सिद्धान्त कौमुदी ।।
मनभित्र छ आदर्श उखेल्छु त्यसका किला
गरेँ निर्णय यो मैले युगमै चाल्छु पाइला ।।

हिजो जे मनमा बोक्थेँ त्यो सबै थोत्रिँदै गयो
युगमाफिकको यात्रा नगरी नहुने भयो ।।

आजै थोत्रा भएका छन् मेरा आफ्ना कलाहरू
आस्था बोकेर हिँड्दैमा सकिएछन् पलाहरू ।।

घरेलु मागले मानौँ अग्लो शैल छुँदै गयो
गुजारेँ जिन्दगी व्यर्थै पछुताउ हुँदैगयो ।।

धारणा पहिले मेरा धेरै भिन्न थिए तर
धारणाले कहाँ बाँच्ने रटेर जिन्दगी भर ।।

व्यर्थको लफडा बोकी मनमा अब घाउ भो
विलम्ब धेर गर्नाले अहिले पछुताउ भो ।।

बल्लबल्ल भयो बोध सिद्धान्त अब नाघ्दछु
यिनै भ्रष्ट र सिद्धान्तहीनका पछि लाग्दछु ।।

उन्नति गर्नका लागि भएन घरमा बसी
लागियो गति छाडेर चटके लम्फुका पछि ।।

नयाँ आदर्शको झन्डा मनमा गाडियो अब
त्यसैले अघिको बाटो चटक्कै छाडियो अब ।।
**
नयाँ मार्गतर्फका पाइला
थोत्रो सिद्धान्तको खोल थोत्रो आदर्शको मल
त्याग्दा फल्ने भयो मेरा थाप्लामा गतिलो फल ।।

आजको जे छ सिद्धान्त म थालेँ त्यही गाउन
त्यसैले छाडियो थोत्रो फुस्रो डम्फु बजाउन ।।

आस्थाका फूलबारीमा रोपियो फूलको भ्रम
कोपिला हुन लाग्दैथे चुँडिए गरी निर्मम ।।

वृथा भो सपना मेरो स्वप्न के हुन्छ टाटको
त्रिशङ्कु म भएँ आज घरको न त घाटको ।।

घरमा छ ठुलो माग नुन चामल दालको
बोध हुन्छ भएँ आज माछो जस्तो म जालको ।।

पुत्रीका माग छन् भिन्नै भिन्नै छन् माग पुत्रका
समस्या मात्र छन् लाखौँ छैनन् उत्तर सूत्रका ।।

धेरैले घुस खाएर दरबारै बनाउँछन्‍
मेरा चाहिँ झिँगा मात्रै सामुन्ने भुन्भुनाउँछन् ।।
घरफर्स्योट गर्दैमा बाँकी हुन्छ सधैँ बिल
बाँकी फर्स्योट के गर्ने पेटै भर्न छ मुस्किल ।।

छोरो बाइक चाहन्छ छोरीको भिन्न माग छ
मागका माथिको माग चढी शून्य दिमाग छ ।।

गाडीका माग छन् धेरै साडीका माग न्यून छन्
मेरा ता पाप मात्रै छन् उनका लाख पुण्य छन् ।।

सामान्य घरमा बस्छौँ दृष्टि छन् दरबारमा
मानौँ मेरो छ यो घाँटी धारिलो तरबारमा ।।

कहिले सुनका माग उम्रन्छन् गृहिणीतिर
कहिले मागमा पर्छ तातो तातो मिठो खिर ।।

अकडो ठान्दछन् धेरै मानौँ एक पिलो छु म
खसी काटी सधैँ खाने मागले थिल्थिलो छु म ।।

सुनको मागआपूर्ति गरी यो उठ्न सक्छ र
नुनैको छ महामारी सुन के जुट्न सक्छ र ।।

म आफैँ बेचिए मर्लान् कहाँ बेर छ बेचिन
बेचेर खुनका थोपा आउला अब के सुन ।।
हातमा डुलुवा फोन लिएर पुत्र हिँड्दछ
समस्यासँग के जुध्थ्यो प्रेमिकासँग भिड्दछ ।।

छोरीको के कुरा गर्ने एक्लै नाच्छे र गाउँछे
सग्ला वस्त्र सबै च्याती उदाङ्गै पारी लाउँछे ।।

गोजीमा फोन हालेर ऊ घरैभित्र बस्तछे
उसको भिन्न संसार त्यसैमा नित्य मस्त छे ।।

जोतिँदै यिनका लागि अहोरात्र म थाक्तछु
मुखको गाँस काटेर यिनैका लागि राख्तछु ।।

यो मेरो हालमा मेरै सम्झौता छ दिनै दिन
सम्झौता नगरे मैले अर्को गन्तव्य देख्दिनँ ।।

मेरो जस्तै हुने हाल मेरा मित्र कतै थिए
छाडी जागिरको लेठो बालुवा टार दौडिए ।।

साथैका मित्रले थाले बालुवा टार धाउन
रिझाए उनले सत्ता म के सक्थेँ रिझाउन ।।

मित्रले काँचुली फेरे चाँडो चाँडो यतातिर
मेरो पुत्र भने बाझ्न थाल्यो फर्केर मैतिर ।।
"छाड्नुहोस् जागिरे लन्ठो यो हो नामर्दको थलो
यसबाट हुँदै हुन्न जिन्दगी भर नै भलो ।।
मान्नुहोस् हे पिता तिम्रो पुत्र सारै विरक्त छ
थोत्रो नैतिकता जोती को उँभो लाग्न सक्दछ ।।"

नौनाडी जो थिए मेरा फत्रक्कै सब ती गले
थङ्थिलो म भएँ आज पुत्रका उपदेशले ।।

न आदर्श न सिद्धान्त न ख्याल छ समाजको
'करोडौँ धन कुम्ल्याऊँ' पुस्ता सोच्तछ आजको ।।

छिद्रै छिद्र हुने गाग्रो टाल्दैमा अडिने भए
भर्दा हुन् सबले पानी नचुही त्यसमा रहे ।।

टाली टाल्न कहाँ सक्ने दुला छन् व्यवहारका
छन् छिद्रमाथिका छिद्र महँगीको प्रहारका ।।

उपदेश दिँदा ढुङ्गो कान थापेर सुन्छ र
चुहुने जो छ यो रित्तो गाग्रो भर्न सकिन्छ र ।।

चर्किँदै चर्किँदै थोत्रो भएको एक पात्र हुँ
अर्काकै पेटका लागि म ता माध्यम मात्र हुँ ।।
मानौँ पुत्र थियो मेरो अब मेरो रहेनछ
पुत्रसम्मुख यो मेरो शिर ठाडो भएनछ ।।

"हुँदैन पुत्र हे व्यर्थै रित्ता हात बढाउन
पर्छ सक्नु उहाँ बेची माखो मुन्द्रो चढाउन ।।"

मेरा यस्ता कुरा सुन्दै पुत्र भन्छ फटाफट
"अरूले यो सबै गर्छन् पिता छन् अलि लम्पट ।।

हे पिता लाग्नुहोस् चाँडै प्राप्त हुन्छ क्रमैसँग"
मित्रवैभव देखेर छोरो भन्दछ मैसँग ।।

"उनका झैँ कहाँ सक्नु मैले आन्द्रो चुँडाउन
उनले पहिल्यै थाले चार पाङ्ग्रे गुडाउन ।।"

दुबैका माझमा हाम्रो केही वार्ता हुँदै थियो
जगल्टे उसको साथी घरमा तब घस्कियो ।।

सोझै छेड्ला भनेजस्तो छोराकै त्यो प्रहारले
मुटुका माझमा लाग्यो बोलीकै तरबारले ।।

कति बन्नु मरन्च्याँसे कति बन्नु पराश्रित
भनेर म पुगें यौटा योग्यको हुन आश्रित ।।
गुनासो जो थियो मेरो सुनेर प्रश्न गर्नुभो
प्रश्नका साथ झन् तातो भुत्भुते अझ छर्नुभो ।।

उच्च योग्य तथा भव्य व्यक्तिले सोध्नुभो जति
उहाँको जे थियो भाव भन्न थालेँ यथामति ।।

"कता गन्तव्य हो तिम्रो नाम के हो र काम के ?
निरुद्देश्य कता जान्छौ प्राप्ति के परिणाम के ?"

"मेरो छैन कुनै लक्ष्य निरुद्देश्य भएँ म त
गाउँ ठाउँ कतै छैन सारै खेर गएँ म त ।।"

तत्कालै भव्य व्यक्तित्व सारै राता पिरा बने
मेरा केही कुरा यस्ता सुनेर उनले भने ।।

"प्राप्त गर्छौ महाशक्ति बन्नेछौ आत्मनिर्भर
बाँकी काम सबै छाडी नालीमा जोतिने गर ।।"

मेरो मस्तिष्कले च्याप्न सकेन सयमा सय
उहाँको के थियो भित्री कुराको मुख्य आशय ।।

"अझै जान्न म चाहन्छु भन्नुहोस् हे महाशय
दयादृष्टि यहाँको छ यहाँको छ सदाशय ।।"
हात जोडी गरेँ फेरि मैले नम्र निवेदन
तत्कालै उनले थाले अघिझैँ दिव्य भाषण ।।

"बुझून् वा नबुझून् अर्ना राँगो झैँ नित्य बम्कनू
माझै सडकमा जानू उफ्रँदै अझ चम्कनू ।।

आफ्ना थाङ्ने कुराबाट मान्छेको भाग्य जाग्छ र
थोत्रो थाल ठटाएर के हात्ती पर भाग्छ र ।।

राम्रा वाक्य तथा टुक्का मुखाग्रै गर्नु पर्दछ
आपत्ति पर्न लागेमा तत्कालै छर्नु पर्दछ ।।

यस्ता धेरै कुरा घोकी लट्टेझैँ तिमी पड्कनू
अप्ठेरो पर्न लागेका पछाडिबाट छड्कनू ।।

नेताका सामुमा तेल बोलीले घस्नु पर्दछ
आफ्नो स्वार्थ पूरा गर्न टाँगैमा पस्नु पर्दछ ।।

आपत्ति पर्न लागेमा चलाखी गर्नु पर्दछ
अगाडि निमुखा पारी पछाडि सर्नु पर्दछ ।।

दङ्गामा शान्तिको राग तत्कालै छ्याप्नु पर्दछ
मुखमा देशको भक्ति खैनीझैँ च्याप्नुपर्दछ ।।
आशाका पासमा बाँधी भोटै मात्र फटाउँछौ
थोत्रा चप्पल लाएर जिन्दगी के कटाउँछौ ।।

छाडा तन्त्र जहाँ हुन्छ त्यहाँ गै ढाँट्तछन् सब
चाण्डाल धूर्तका लागि त्यही नै हुन्छ वैभव ।।

आफ्नो उन्नतिका लागि चनाखो हुनुपर्दछ
लाभ गर्ने भए हेर लँगौटी धुनुपर्दछ ।।

जसका पाइला नित्य सत्यको राज चल्दछ
उसका खेतमा झार रोपेर स्याउ फल्दछ ।।

बाटो गर्नू सधैँ बन्द चक्का जाम सधैँ गर
छरेर द्रव्यको चारो गुन्डाका भरमा पर ।।

दलमा पहिले जानू केही भेटी चढाउनू
जानेरै वा नजानेर उसको गुण गाउनू ।।

बलियो मर्दको जस्तो पारेर मुटुको धनु
अनि त्यो दलको झोला भिरी बाहिर निस्कनू ।।

भित्र आशय त्यो राखी बाहिरै अति बम्कन
लागेका खण्डमा थाल्छौ तिमी नै नित्य चम्कन ।।
मेरो यस्तो छ सल्लाह मेरै यस्तै भयो मत
यो बाटो हिँड्न थालेमा माथि पुग्छौ स्वभावतः ।।"

"कहाँ पुग्दछ यो बाटो ?" भनी सोध्दै यता थिएँ
"बालुवाटारमा जान्छ" भनी उत्तर यो दिए ।।

"तिमी छौ अति नै सोझो तिमीमा ढङ्ग नै मरु
मिथ्या बोल सकेसम्म उक्साऊ जनताहरू ।।

हुन्छ हुन्छ सबै हुन्छ भनेर ढाँट्नु पर्दछ
जानेरै वा नजानेर अङ्ग्रेजी छाँट्नु पर्दछ ।।

ढाँटशास्त्र सकेसम्म सत्तामा पढ्नुपर्दछ
त्यस्तो शास्त्रज्ञले मात्र सत्ता यो प्राप्त गर्दछ ।।

अनि चल्नेछ हे लम्फू तिम्रो जीवनको रथ
काशी जाने भए हेर नहिँड कुत्तीको पथ ।।

त्यस्तो हालतले हुन्छ न टुप्पो न त फेदको
उन्नति गर्नका लागि बीज रोप्नू विभेदको ।।

हेर्दाहेर्दै मरन्च्याँसे सुकिला मुकिला भए
सल्काई जातिको आगो फुटाएर उँभो गए ।।
नारा केही फलाकेर गरेर भव्य भाषण
ढाँटेर जनतालाई गर्ने गर्नू मिठो प्रण ।।

जो जहाँ जान चाहन्छ भन्नु पर्छ पठाउँला
चुहुने खरका छाना एक एक म छाउँला ।।

भनेर जनता ढाँटी विश्वासी हुनुपर्दछ
तर उल्टो उता थाङ्ना सत्ताको धुनुपर्दछ ।।

नयाँ उद्योग खोल्नेछौँ क्षेत्रमा घरगाउमा
भन्न भुल्नु हुँदै हुन्न पुगिन्छ जुन ठाउमा ।।

भ्रष्टाचार सबै मेटी शुद्ध पार्छौँ प्रशासन
मिसाई झुटको रोग गर्नै पर्दछ भासन ।।

या त बन्नू स्वयं गुन्डा या छर्नू लुटको धन
केही गुन्डा नपालेर को पुग्यो माथि लौ भन ।।

झिँगे दाउ लगाएर को होला आत्मनिर्भर
बालेर साँझमै पुल्ठा मान्छे तर्छाउने गर ।।

आस्था विश्वास सिद्धान्त देखिने दाँत मात्र हुन्
सत्ताको मार्गका लागि सदा बाधक मात्र हुन् ।।
लाभ राम्रो कता हुन्छ चहारी चाख्नु पर्दछ
आस्था विश्वास सिद्धान्त जिब्रोमा राख्नु पर्दछ ।।

समाऊ उच्चको फेर परेर उसकै भर
त्यान्द्रो मात्रै समाएर पारि पुग्न सकिन्छ र ?"

बल्लबल्ल भयो ज्ञान यो ज्ञान नित्य घोक्तछु
महामानवका यस्ता वाणीको सार बोक्तछु ।।

नयाँ सञ्जीवनी विद्या मैले आज सबै पिएँ
उनको पाठ कण्ठाग्र पारेर मात्र निस्किएँ ।।
**

दिन फर्किए
निको हुन्न भनेजस्तो मनमा एक घाउ भो
भ्रष्ट विद्या नपढ्नाले अहिले पछुताउ भो ।।

काटेँ यो जिन्दगी ठाडो नपारी गर्वले शिर
पश्चात्ताप हुँदै पोल्छ मेरो भित्र हियातिर ।।

धेरै धन्य भएँ आज उब्जियो भित्र तागत
महामानवको मैले भेटेर उच्च सङ्गत ।।

न गरेँ पाठ वा पूजा न गरेँ भक्ति निर्जल
मैले प्राप्त गरेँ लामो तपस्या नगरी फल ।।

बुद्धवाणी मिल्यो यस्तो मलाई ज्ञान भो सब
बाक्लो आदर्शको ढाल भिरेर हुन्छ के अब ।।

गुरुसङ्गतले ज्ञान पाइयो शुद्ध निख्खुर
समाइन्छ यही मार्ग छरिन्न अब पाङ्दुर ।।

मलाई जहिले नौलो गरायौ मार्ग दर्शन
बोध आज भयो यस्तो म रहेछु अकिञ्चन ।।

झुल्किए धनका घाम घरमा परिवारमा
तिम्रो सङ्गतको मन्त्र फस्टायो व्यवहारमा ।।

तिम्रो आदर्शको नौलो उज्यालो बल्ल पोखियो
त्यही आदर्शको मेरो घरभित्र बल्यो दियो ।।

ज्ञानका ज्योति हौ मेरा तत्वज्ञान यहाँ दियौ
हे बोधीवृक्ष हे तात हिजोसम्म कहाँ थियौ ।।

मेरो उन्नतिको द्वार तिमी ज्ञानप्रबर्धक
रहेछौ ज्ञानको सिन्धु रहेछौ मार्गदर्शक ।।

थिएँ म ज्ञानको भोको म थिएँ एक बालक
भट्किएको थिएँ तिम्रा ज्ञानको एक याचक ।।

मानौँ म नर्कमा बस्थेँ सोझै स्वर्गतिरै गएँ
अमूल्य ज्ञान पाएर धन्य धन्य हुँदै गएँ ।।

आजको मनुवा पङ्गु भएर किन बस्छ र
आहारा उसका लागि मुखैमा आई पस्छ र ।।

खोलो आफैँ कहाँ धाओस् तिर्खालु जन धाउँछन्
उपाय नगरे आफैँ अन्त्यमा पछुताउँछन् ।।
तसर्थ दिव्यसन्देशचेतनाको जल्यो दियो
अग्रगामी हुँदै लाग्ने मभित्र बल उब्जियो ।।

बडो आदर्शको खोल हिजोसम्म ममा थियो
अब यो युद्धमा भिड्ने नयाँ आदर्श जन्मियो ।।

म हिँड्थेँ देशमा एक्लो चस्मा आदर्शको भिरी
तत्वज्ञान भयो भिन्न चस्मा फाल्दछु बाहिरी ।।

भुल्काका नेत्रले सारा संसारै धेर हेरियो
चिलका चक्षुले हेर्दा बल्ल पो दृष्टि फेरियो ।।

ममा दिव्य भयो ज्ञान नगरी जुट्छ के धन
लागेँ उद्योग धन्दामा छोडी नामर्द यो पन ।।

धूर्त विद्या ठुलो हुन्छ भन्ने तात्पर्य मानिनँ
मैले हे दैव यो देश गुनको भेस जानिनँ ।।

त्यान्द्रोलाई ठुलो सेतु मानेर भ्रममा परी
आफैँलाई ठगेँ मैले मेरो भाग्य कठैबरी ।।

साँगुरो दृष्टिले हेर्दा लाग्छन् शैल चुरेहरू
देवतातुल्य मानिन्छन् भुरे र टाकुरेहरू ।।
महामानवका साथ धाएर वर मागियो
साँगुरो दृष्टिको घेरो अहिले बल्ल नागियो ।।

भन्छन् विज्ञ लिने गर्नू योग्य व्यक्ति चुनी चुनी
ओत लाग्नू नियालेर गतिलो रुखका मुनि ।।

मेरा लागि सधैँ जस्तो यो थियो एक संहिता
त्यस्तो आदर्शमा हिँड्ने छाडियो प्रतियोगिता ।।

पुराना दिन सम्झेर अत्यन्तै मन खिन्न भो
उहाँको दिव्य सन्देश पाएर मन भिन्न भो ।।

आफ्नो औकातले थाम्ने ताजा यत्न सधैँ गर
बुजुर्ग भन्दछन् नित्य ठुलैका भरमा पर ।।

उहाँको स्नेह पाएर उहाँकै भरमा परेँ
उहाँकै मार्गमा चल्ने प्रतिज्ञा दृढ यो गरेँ ।।

फेदटुप्पो नपाएर भड्किन्थेँ म कता कता
त्यस्तोमा यी भए मेरा मानौँ जीवित देवता ।।

अक्षरै नबिराएर एकाग्र पारी यो मन
मेरो जीवनमा ढाल्छु यिनैको मार्गदर्शन ।।
विधाता तिमी हौ मेरा तिमी हौ मार्गदर्शक
पुत्रझैँ म भएँ तिम्रो तिम्रै हुन्छ ममा हक ।।

धर्म पुत्र भएँ तिम्रो आरती नित्य गाउँछु ।।
मागेको म सबै दिन्छु शङ्ख घण्ट बजाउँछु ।।

तिम्रो यो मार्गमा मेरो रहेन मतभिन्नता
जता मल्खु उतै ढल्कु मेरो होला विशेषता ।।

अनुयायी भएँ आजै छैन किञ्चित् ममा धक
ठानियोस् म भएँ तिम्रो कहिल्यै हुन्न बाधक ।।

भन्दछन् खान्छ संसार बलियाले कि आँटले
अथवा तिनको साटो खप्लक्कै खान्छ ढाँटले ।।

बलियो म छँदै छैन गतिला न त आँट छन्
ढाँटशास्त्र सदा पढ्ने तर पर्याप्त छाँट छन् ।।

सोझै भिड्न परे मेरो आँत नै लग्लगाउँछ
चुक्ली लाउन ता मेरो नाम अग्रिम आउँछ ।।

अनुयायी भएँ तिम्रो तिम्रै फेर समाउँछु
शङ्ख घण्ट बजाएर तिम्रै गीत म गाउँछु ।।
यो चुक्ली शास्त्रको सार नित्य राख्न्नेछु ध्यानमा
कायाकल्प हुने धेरै सार छन् तत्वज्ञानमा ।।

परस्पर फुटाएर एक्लो राज्य स्वयं गर
तिम्रो दर्शनको सार रहेछ अति जब्बर ।।

यहाँको ज्ञान पाएर धेरै मैले कुरा सिकेँ
हिँड्थेँ नैतिकता टेकी तत्कालै पाइला झिकेँ ।।

आत्माबाटै गरेँ तिम्रो नीतिको अवलोकन
दिव्य सिद्धान्तमा तिम्रो अडेको दिव्य दर्शन ।।

गायत्री मन्त्र झैँ जप्दै गर्नेछु परिपालन
गेडो नै नबिराएर थाम्नेछु मार्गदर्शन ।।

धर्म आदर्श त्यागेर पारेर बलियो मन
अबलाई सधैँ गर्छु सुरा सुन्दरी सेवन ।।

केही मुस्तन्ड पालेर बनेर गाउँको मियो
दाइँ गर्ने जहाँ हुन्छन् बल्छ उन्नतिक दियो ।।

त्यहाँ छ उच्च सम्मान त्यहाँ छ उच्च वैभव
आयात सुनको गर्नू गर्नू निर्यात मानव ।।
थोत्रो आदर्शको भारी तिनैलाई चढाउँछु
नयाँ सिद्धान्तका सूत्र सबैलाई पढाउँछु ।।

नीति न्याय सदाचार त्यागेर म भएँ पर
भिन्न बाटो समातेर लागियो अब उत्तर ।।

जीर्ण संस्कार घोकेर नपरी तिनको भर
प्रगति हुन्छ यो बाटो समाए उत्तरोत्तर ।।

मेरो जीवनमा आए मानौँ नौलाख उत्सव
तेल ठेकी लिई लागेँ बालुवा टारमा जब ।।

मेरो मस्तिष्क माझेर चोख्यायो त्यस टारले
मेरै सिद्धान्तको धज्जी उडाएँ व्यवहारले ।।

क्रमैले पालुवा लागे भ्रष्टाचार गरेपछि
अनुशासन छाडेर साउँ ब्याज छरेपछि ।।

अनुशासनमा बस्तै नित्य मानवता पुजेँ
आत्मसंयमको बाटो हिँडेर नहुने बुझेँ ।।

यसैले भ्रष्टसंसार पाइलो टेक्न थालियो
तत्कालै यसमा बल्न थाल्यो उन्नतिको दियो ।।
न थिएँ बलियो उस्तो न थियो आँट नै ममा
पहिलो श्रेणीमा पास भएँछु म त जाँचमा ।।

कहाँ उन्नतिको ढोका खुल्नु सत्य भिरेपछि
सिद्धान्त एक बोकेर अर्कै बाटो हिँडेपछि ।।

मस्तिष्क छ्याङ्ग भो मेरो रहेको छिद्र टालियो
पुरानो मृत त्यो ज्ञान बल्लबल्ल निकालियो ।।

भ्रष्टज्ञान उदाएछन् सत्यज्ञान निलेपछि
बालुवाटारमा भित्र पस्ने मौका मिलेपछि ।।

बालुवाटारको खेती गर्न नित्य म गाँसिएँ
नित्य फोहोरमा रम्ने झिँगो जस्तै म टाँसिएँ ।।

मिल्यो हाकिमको दर्जा मुख्य भन्सारमा जब
फल्न थाल्यो मिठो आँप निमका रुखमा अब ।।

एक भन्सारको उच्च हाकिमी पगरी गुथेँ
मैले निर्ममता साथ भ्रूण आदर्शको थुतेँ ।।

बालुवा टारको घोडा हिही गर्दै छिटै चढेँ
राजश्व जेबमा हाल्ने मैले सूत्र नयाँ पढेँ ।।
मन्त्रीका भागमा केही अप्सानी मात्र हालियो
ह्याकुलो आफूमा राखी अरूमा हाड फालियो ।।

छोरो मन्त्री भएको छ साथै मन्त्री बुहारी छिन्
गृहिणी अहिले अख्तियारकी अधिकारी छिन् ।।

राजदूत बनाएर ज्वाइँलाई पठाइयो
मिल्छ जेजे जहाँबाट भेटेसम्म उठाइयो ।।

भान्जा जिएम छन् मेरा बनिन् भान्जी प्रबन्धक
पार्टीभित्र चलेको छ भान्जे बुहारीको हक ।।

हाम्रो यो देशकै सच्चा मेरा ज्वाइँ सपूत हुन्
ज्वाइँकै देशमा छोरी महावाणिज्य दूत हुन् ।।

सोच मेरो भयो यस्तो कहाँ जोडी फुटाउनु
छोरीलाई हुँदै हुन्न ज्वाइँबाट छुटाउनु ।।

यसैले ज्वाइँका साथै छोरीलाई खटाइयो
राजदूत बनाएर जहाँ ज्वाइँ पठाइयो ।।

बालुवा टारमा एक बुझाई गतिलो खसी
बुहारी अहिले मन्त्री बनेकी छिन् घरै बसी ।।
विरोधी गणका डफ्फा तल झन् तल भासिए
मेरा आफन्तका सारा दुःखका पल नासिए ।।

यता हेर्दा यतै राम्रो उता फर्क्यो उतै सुख
औँसीको रात जस्तो छ अहिले वैरीको मुख ।।

धेरै सांसद छन् आफ्ना छैन केही असम्भव
छन् सम्धी सम्धिनी मेरा माथिल्लो तहमा अब ।।

अलग्गै सालीका लागि एक संस्था जमाइयो
नियुक्तिपत्र तत्काल निजलाई थमाइयो ।।

सिङ्गै देश भयो हाम्रो हाम्रै छ अहिले हक
सालो छन् अहिले उच्च संस्थाभित्र प्रबन्धक ।।

भान्से बाहुनले आफ्नी छोरी मैलाई सुम्पिए
त्यसैले उनको छोरो बुहारीको भयो पि ए ।।

दरबन्दी कुनै उच्च स्थानको एक चाहियो
मितको पुत्रका लागि भन्नासाथ मिलाइयो ।।

आफन्ती जति छन् मेरा रोजगार सबै भए
भूलचूक सबै मिल्छ यदि बाँकी कुनै रहे ।।
उन्नति गर्ने चाहेमा सत्ताको गुण गाउनू
सुरा सुन्दरी अर्पेर शङ्ख घण्ट बजाउनू ।।

भिरेर दलको झोला सत्ताको गीत गाइयो
त्यही सूत्र भिडाएर दरबार बनाइयो ।।

शङ्ख घण्ट बजाएर सत्ताको गुन गाइयो
बालुवा टारको जग्गा बाँडेर क्वाप्प खाइयो ।।

सुनकै थाल चम्चा छन् कचौरा सुनकै सियो
नेपाली जनतालाई भुटाने पारी बेचियो ।।

देशमा खोली उद्योग गर्छु मेरो छ यो प्रण
सुन उद्योग खोल्नेको सदा गर्दछु रक्षण ।।

पर्नुहोस् सुन उद्योगशील हो देशको भर
सुन उद्योगीका लागि मेरो देश छ उर्बर ।।

राम्रो उद्योगले मात्र देशले बढ्न पाउला
उद्योगीयणको रक्षा नगरे के कमाउला ।।

अहिले यति नै भन्छु धेरै तथ्य खस्यो भने
झमेला पर्न सक्नेछ अख्तियार पस्यो भने ।।
तथापि डरको लेस ममा छैन कुनै रती
अख्तियारतिरै मेरा मान्छे छन् कति हो कति ।।

देखिने दाँत चोख्याई सफा झैँ पार्नु पर्दछ
मुखे सिद्धान्तको राग फलाक्नु नित्य पर्दछ ।।

सत्ताले यो कुरा ठानोस् सत्ताको अन्धभक्त छ
धेरै गोप्य कुरा खोल्दा झमेला पर्न सक्तछ ।।

बार पुस्ता उँभो पार्ने अहिले अन्न धन्न छ
भकारी भरि छन् मेरा तिनमा सुन टन्न छ ।।

धेरै उद्योग धन्दाले आज टन्न छ वैभव
लामो वर्णन के हाल्नु रिल काट्नु पर्यो अब ।।

**
र अन्तमा

यहाँसम्म गरेँ मैले मनका केही गन्थन
भेटिएलान् यहाँ थोरै गरेमा केही मन्थन ।।

खोस्टोजस्तै छ यो हेर्दा कसैमा यो बिझाउला
पढेमा यसले केही थोरैलाई रिझाउला ।।

अटमट्ट हुँदै मेरा जो थिए छातीका कथा
असरल्ल यहाँ पारेँ थिए जो आफूमा व्यथा ।।

लेख्तालेख्तै कतै थालेँ स्वयं आँसु चुहाउन
मेरा ती दुखका टाटा के सक्थेँ आँसुले धुन ।।

मनका घाउ जो मेरा गनेरै सकियून् कहाँ
आउँथे मनमा घुम्दै जहाँ लेख्न बस्यो त्यहाँ ।।

असरल्लै भयो सूत्र क्रमको चुँडिएपछि
दुखको दर्दको पानी घोप्टिएझैँ भएपछि ।।

सोच भित्र थियो यस्तो क्रमैले लेख्छु हर्दम
तथापि यसमा मेरो छैन लेखनको क्रम ।।

कति मात्र यहाँ फोऊँ मेरो हेय चरित्र म
कति गन्थनको कन्था उधारौँ यसभित्र म ।।

शून्य जस्तो थियो सोच थिएनन् खास योजना
तथापि मनमा आयो लगाऊँ स्वैर कल्पना ।।

केही यस्तो कथा जोडेँ पढ्दा लाग्ला विचित्रको
लेख्नेको दुर्दशा देखी हाम्रो नेपालभित्रको ।।

मिथ्याको खेती यो हैन जस्तो छ ध्रुव सत्य छ
स्वैर नै कल्पना होस् यो सयमा सय सत्य छ ।।

आलोकाँचो भयो मानौँ यो मेरो क्षुद्र लेखन
स्विकार्नोस् स्नेहका साथ मेरो नम्र निवेदन ।।

व्यर्थै टन्टा भयो होला यहाँलाई झिँजो दिएँ
सारा गन्थन छाडेर यसबाट बिदा लिएँ ।।

●●

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।