14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पहाड लजाउदाको यात्रा

नियात्रा कृष्ण प्रर्साई November 29, 2008, 9:16 pm

बँदरको लिला हेर्नुभन्दा केहीक्षण अघि चढेको टोकियो टावरबाट देखिएका दृश्यहरु मध्ये जापानको सवै भन्दा अग्लो पहाड फुजीसान-सम्मानित पहाडको नामपछि सान शब्द आउछ स्पस्टै देखियो । टावर माथिबाट मैले पनि यो फुजीसानलाई राम्ररी अवलोकन गर्न पाएँ र करोडौ जापानीहरुको आस्था र गर्वको सम्पदालाई माथिबाटै मनमनै नमस्कार गरे । त्यसो त केही दिन अधिमात्र मैले नजिकबाटै हेर्ने कोशिस गरेको थिए फुजीसानलाई, तर म र मेरो भ्रमण टोलीका तीसजना जापानी पर्यटकलाई फुजीसानले आफ्नो घुम्टो उघार्नै मानेन । कुइरोले घ्याप्पै छोपिदिदा वडो नमिठो अनुभूति मनमा लिएर सवै स्थानीय जापानी पर्यटक सहित म र मेरो जापानी साथी ताजिमासान सानातिना ताल तलैयाहरु हेरेर फर्केका थियौं । फुजीसानमा वादल लागिरहने हुनाले फुजिसानको टुप्पामा रहेको हिउँ कसैगरी नदेखिए पछि अंगुरको राजधानी मानिने फुजी पहाडलाई वोकेर उभिएको यामानासी प्रान्त हुदै साइतामा प्रान्त भएर हामी टोकियोतिर लागेका थियौं । म सँगैको मेरो मित्रले हामीसंगै गाडीमा रहेको पर्यटक गाइडलाई म नेपालबाट आएको भनेपछि म मात्र विदेशी रहेको त्यो पर्यटकीय यात्रा दलका सदस्यहरुलाई उसले हास्य मिसिएको सूचना शैलीमा सुनायो ।

तपाईहरुसँग यात्रा गर्दा रमाइलो लागेपनि फुजीसानको चुचुरो देखाउन नसकेकोमा म सारै दुःखी छु । कहिलेकाही राम्रा मान्छे देख्ने वित्तिकै फुजीसानले आफ्नो अनुहार घुम्टोले छेकिहाल्छिन् । यर्सथ तपाइहरु धेरै राम्राहरुको जमातमा हाम्रो यात्रा भरिएको छ भन्दा मलाई खुसी पनि लागिरहेछ तर अचम्म भयो" ।

अरु सहयात्री पर्यटक सहित मेरो साथीले उसका कुरा सुनेर मुखामुख गरे । त्यस्तो के अचम्म भयो त आज ? सवैलाई जिज्ञासा लाग्नु स्वभाविकै थियो । वेलावेलामा हसाउदै कुरा गर्ने सिपालु गाइडको कुरा सुनिरहेका उनीहरुले अव उस्ले के भन्ने हो भनेर हाँस्ने तयारी गर्न थाले । तर उ अरुवेला भन्दा केही सिरियस भएर भन्यो " तपाई हामीहरुको बिचमा एक जना मात्र बिदेशी मान्छे हुनुहुन्छ । उहाँ को हो भनेर मैले चिनाउनु नपर्ला । अनुहारबाटै तपाईहरुले चिनिसक्नु भएको छ, किनभने उहाँ बनोटमा पक्कै जापानी जस्तो हुनुहुन्न । उहाँ नेपालबाट आउनुभएका रहेछ । नेपाल भन्दा पनि सगरमाथाको देशबाट आउनुभएको रहेछ । उहाँले आफ्नो सगरमाथा साथमै बोकेर ल्याउनु भएको छ । आफु भन्दा झण्डै दोव्वर उचाइ भएको सगरमाथा देखेर फुजीसानलाई आफ्नो उचाइ देखाउन संकोच लाग्यो रे । तपाईहरु मध्ये सवै भन्दा नराम्रो मान्छे देखेर फुजीसानले मलाई सुटुक्क भन्यो " । उस्को कुरा सुनेर कोही हास्न थाले । कोही गम्भीर भएर मलाई हेर्न थाले मानौं म नै सगरमाथा हुँ । मैले मनमनै सम्झे मान्छेलाई गम्भीर कुरा गरेर हँसाउन सारै खप्पिस रहेछ गाईड । यात्रामा यस्ता गाइडहरु भए भने यात्रा भरेको पत्तै हुदैन र यात्रा पनि रमाइलो हुन्छ ।

गाइडले जस्तोसुकै कुरा गरेर मन थाम्थुम पार्न खेजे पनि फुजीसान हेर्न नपाएकोमा नरमाइलो लाग्नु स्वभाविकै थियो त्यतिखेर ।

कुरै कुरामा हाम्रो यात्रुवाहक गाडी देव्रे दिशातिर मोडियो । हेर्दा हेर्दै एउटा सानो पहाड देखियो र पहाडकै छेउमा पुगेर बस घ्याच्च रोकियो । हामी पनि वस रोकिनासाथ पालैपालो उत्रियौं । फुजीसान पछिको हेर्ने पालो भनेको बौद्घ गुम्बा र त्यसका वरिपरि छरिएर रहेका पैंतालीस हजारको हाराहारीमा रहेका वालबुद्ध अंकित चिहानहरु थिए । तलबाट हेर्दा वरिपरि रहेका पहाडैभरि रातैराता साना स्मृति जस्ता लाग्ने दृश्यहरु देखिए । छेउमै पुगेपछि थाहा भयो ती त यस संसार देख्नै नपाई मर्नेहरुका चिहान पो रहेछन् । कस्तो अचम्म ! जापानमा विवाह अघि वा विवाह पछिका समयमा चाहेर वा नचाहेर खेरगएका भ्रुणहरुको पाप कटानीका लागि वनाइएका स्मृति चिहानहरु रहेछन् तिनीहरु त । बुद्ध गुम्वाका प्रमुखलाई हजारौ डलर भेटी चढाएपछि प्राप्त हुने जमिनमा सिमेन्टका वालबुद्ध वनाएर खेर गएका भ्रुणहरुको स्मृति पो राखिएको रहेछ । सिमेन्टका वालबुद्धहरुसगै र्यापिङ्ग गर्ने रंङ्गीचङ्गी प्लास्टिकका सामानबाट वनाइएका सधै धुमिरहने फिरफिरे पंखा, पानी खाने साना लोटा र वाल खेलौनाका केही अंशहरु सिमेन्टकै ढलोटमा वनाइएका थिए त्यहाँ । जीवनमा पहिलो पल्ट त्यति धेरै संख्यामा संसारै नदेखी मर्नै भ्रुणहरको चिहान हेरिरहेको थिए म । कति सहयात्रीहरु त आउनै मानेनन् यस्तो दृश्य हेर्न त्यँहा । तर जति आएका थिए उनीहरु सवै शोकमग्न भएर भ्रुण चिहान हेरिरहेका थिए । यस्ता चिहान वनाउन र सिलोटले भर्न जापान भन्दा वाहिर वसेका जापानीहरु पनि हुन्छन् रे । अविवाहिता पनि हुन्छन् रे । विवाहित दम्पतीहरु पनि आएर वनाउछन् रे । सानो गुम्वाका लामाले यसै भने हामीलाई । बुद्ध धर्म, सिन्तो धर्म र कोही कोही त धर्मै नमान्नेहरु पनि भ्रुणको आत्मा शान्तिका लागि र आफ्नो गल्ती वा पापलाई प्रायश्चित गर्नका लागि यस्तो चिहान वनाउनमा सहभागी हुन्छन् रे । यस्तो दृश्य हेर्नु अघि र पछि लामाले दिएको शुद्ध पानीले आफ्नो सरीर अभिसेक शुद्धि गर्ने गरिदो रहेछ । यस्तो बैराग्य लाग्ने दृश्य हेर्न कस्टकर पनि हुँदोरहेछ ।

त्यो ठाँउ छोडिसकेपछि बसैभरि वाल बुद्धहरु मेरो स्मृति पटलमा घरिघरि आइरहे । न आइदिए हुन्थ्यो भन्दा पनि छोडेनन् तिनीहरु आउन । मान्छेको मन त हो जुन कुरा विर्सन खोज्यो त्यही गाढा भएर आइदिन्छ ।

हुन त जापानमा मृत्यु पछि जलाउने साम्प्रदायको संख्या ठुलै भए पनि गाँउतिरका प्रत्येक घरवारीको एउटा कुनामा कैयौ पुस्तादेखिका चिहानहरु एकै ठाँउमा रोलक्रम अनुसार राखिएको पाइन्छ । कसैको श-शरिर चिहान हुन्छ भने कतै स्मृति स्वरुप गार्नेट वा सिलामा नाम लेखिएको अस्तित्व भेटिन्छ । सुने अनुसार स्मृति चिन्ह वनाउने वा गाड्ने ठाँउको अभाव आजको समृद्ध जापानभरि एउटा समस्या भएर रहेको छ । राजधानी टोकियोमा त झन् यो समस्या अझ त्रि्र रुपमा छ । जीवन जीउँदाको मुल्य भन्दा मृत्यु पछि बहन गर्नुपर्ने मुल्य धेरै छ जापानमा । त्यसैले शहरी इलाकाका धेरै सम्पन्न परिवारहरले ग्रामिण इलाकामा चिहान वा स्मृतिका लागि भनेर जमिन किन्ने क्रम जापानभरि देखिन्छ । यस्तै समस्या रही रहे यस्तो लाग्छ एक दिन जापान स्मृतिहरुको देशमा परिणत हुनेछ , वस्नलायक खाली ठाँउबिहिन भएको देशमा पुग्नेछ र खेतीपाती विहिन देशको रुपमा दर्ता हुनेछ । जापानका गाँउले इलाकामा प्रसस्तै मात्रामा यस्ता चिहान र स्मृति बोकेका आकारहरु चर्को रुपमा अझै देख्न सकिन्छ , आँखाले भ्याउन्जेल सम्म देख्नसकिन्छ र बिरक्त्त लागुन्जेल सम्म देख्न सकिन्छ ।

त्यसो त केहीदिन अधि मात्र त हो जापानी राजप्रसादको नजिकै रहेको नौ तले मुभिङ्ग रेस्टुरेन्टको माथिबाट तल हेर्दा पनि मैले चिहानै चिहान र स्मृति नै स्मृति अंकित ढुङ्गाहरु माथिबाट देखेको थिए । त्यति महंगो ठाँउमा वनिएका ती मानेहरु (बौद्ध परम्परामा) सम्पन्न परिवारका हुँदाहुन् । तिनीहरुले कहाली लाग्दो हिसावले प्रश्नहरु तेर्स्याएका थिए । यद्धपि ती स्तम्भहरु मेरो सरोकार वाहिरका र जापानीहरुका आस्था, मुल्य र मान्यताहरुभित्रका थिए । जापानी संस्कृतिमा पित्रृहरुको सम्मनार्थ उभ्याइएका श्रद्धा स्तम्भहरु थिए र यसो गर्नु जापानी संकृतिको एउटा पाटो थियो । नौ तले मुभिङ्ग रेस्टुरेन्ट चढेर पिजा र चिया खाईसकेपछि पनि मैले सवैतिरको दृश्यमा यस्तै यस्ता स्तम्भहरु पाएको थिएँ । साविक वसेको ठाँउबाट एक घन्टाको समयमा मुभिङ्ग रेस्टुरेन्टले पुरै एक चक्कर घुमाएको थियो तोकी दिदी र मलाई । पश्चिमतिर जापानी सम्राटको स-साना राजप्रसाद दरवार, त्यस्को ठिक उल्टो दिशामा समुन्द्र र वारम्वार समुन्द्रको माथिबाट लेन्डिङ्ग भइरहने नजिकैको समुन्द्रसँग जोडिएको पुरानो आन्तरिक हवाइअडा, रेस्टुरेन्टको ठिक मुनि रेलको सर्म्पर्कसँग जोडिएको लिगैलिगको संसार अनि वरिपरि देखिएका अलिसान भुकम्म प्रतिरोधको मापनमा वनेका असंख्य भवनहरु र जताततै देखिएका मान्छेहरुले त्यहाँको परिवेसलाई च्याप्प समातेको थियो ।

हिन्दु संकृतिमा बिशेष गरी यस्ता खाले मानेहरु वनाउने चलन छैन । हिन्दु धर्म यो लोकमा विश्वासै नगर्ने धर्म हो । त्यसैले यस धर्ममा सधै परलोक सुधार्ने मात्र कुरा हुन्छ । पूर्वजन्म या अर्का जन्मको कुरा हुँदा जन्म मरणको चक्रबाट सदाकोलागि पार हुन मोक्षप्राप्तिको कुराहुन्छ हिन्द धर्ममा । त्यसैले मानवजुनी यो लोकका लागि होइन परलोक सुधार्नकै लागि जन्मेको हो भन्ने मान्यता बोकेको छ हिन्दु धर्मले । त्यसैले मान्छेका कर्मलाई नाटक, मानव जीवनलाई भ्रम वा भुलभुलैया र पृथ्वीमा हुने र भईरहने संसारिक अस्तित्वलाई नकारेको छ हिन्दु धर्मले । भनिन्छ मानिस यहाँ खोला तर्न आउछन् तर खोला तर्न बिर्सेर पुलकै छेउमा घर वनाएर वस्छन् । मरिसकेपछि पनि भौतिक अस्तित्वलाई हिन्दुधर्मले स्वीकार गरेको छैन । त्यसैले मरिसकेपछिको भौतिक अस्तित्वलाई जलाएर खरानी समेत खोलामा फालिन्छ । नजलेको अस्तु पवित्र नदीमा वगाइन्छ । कुनै वस्तुको देखावटी सँम्रचना न स्वीकारिने हुँदा यो लोक तेरो होइन अर्के लोक छ तेरो त्यसैले त्यै लोकको सुधार गर र त्यै लोकको कल्याण गर भनेर मृत्यु पछि पनि फलानाले परलोक सुधारो भन्ने चलन छ हिन्दुधर्ममा ।

कहिले काही म सोच्ने गर्छु हाम्रो धर्म नै यो लोकको विकासको विरोधी छ । अनि कसरी विज्ञान र प्रविधिको विकास होस । सस्कार र धर्म नै विकास विरोधी भएपछि हामीले विकास नगरेकोमा चित्त दुखाउने कारण पनि भएन ।

सोच्दा सोच्दै हाम्रो यात्रुबस टोकियो प्रवेश गरिसकेको थियो । वेलुकाको खाना एम.के.पन्डा (पन्डित ) कहाँ खाने निम्तो छ । उनीसंग भेट भएपछि मजै अर्कै छ । दिनभरको थकान नै मेटिन्छ उन्का कुराले ।

हिन्दु धर्मको ठाँउमा 'पूर्वीर्य दर्शन' भन्न रुचाउने विगत १५ बर्षेखि जापानमा बस्दै आएका भारत उडिसाका एम. के. पण्डासंग पनि मेरो भेट टोकियोमै भएको थियो । यो भेट गराउन भारत उडिसाकै विन्धानी विदुसीको भुमिका रहेको थियो । विन्धानी मूलतः फोटोग्राफर हुन् । उनी वर्षो एक दुई पटक भारत आउछन् र दुर्लभ दृष्यहरुलाई आफ्नो क्यामेरामा वाँधेर जापानमा त्यसको प्रयोग गर्छन । उनले फोटोग्राफीमा भारतको राष्टिय पुरस्कार समेत हात पारिसकेका छन् । उनकी जापानी श्रीमती जापानकै सानो सहर ओमियामा योगा सिकाउछिन । योगा सिकाउने कला उनले भारतमै सिकेकी हुन । त्यसो त जापानी भाषा राम्रो छ भने योगाको राम्रो बजार छ जापानमा । हठयोग र पतन्जलीयोगले सुदुरपूर्वी एसियमै राम्रो मान्यता पाएको छ । एम.के.पन्डा भने भरतीय मुलका नाम चलेका व्यापारीमा गनिन्छन जापानमा । टोकियो क्षेत्रमै रहेको उनको धार्मिक सामाग्र्रीहरुको पसल भव्य र ठुलो मात्र छैन धेरै नेपाली र बंगलादेशीहरुले काम समेत पाएका छन् त्यँहा । पूरी मन्दिरका प्रमुख पण्डाहरु मध्ये एक प्रमुख पण्डाकै छोरा हुन् उनी । जापानीले वोले जस्तै जापानी भाषा बोल्दछन् उनी । उन्को पसल "राम राम " लेखिएका कपडा, हिन्दु देवी देवताका भएभरका मुर्तिहरु, हिन्दु देवता अंकित अंग्रेजी महिनाका क्यालेन्डरहरु लगायत पूर्विय दर्शनले भरिएको छ । २०१५ सालमा जन्मेका पन्डा सुन्दर, गोरा र आकर्ष भएपनि घमण्ड र दम्ब रहितछन् पन्डा । जातले पन्डा मात्र होइनन् कर्म, विचार र भावनाले पनि पन्डा (पन्डित ) नै छन् । आजभोलि व्यापारमा भन्दा पूर्विय दर्शनमा प्रवचन दिएर नाम र दाम दुवै कमाउछन् उनी । व्यापारबाट कमाएको पैसामा उनलाई कमै सन्तुष्टि छ । एक घन्टाको प्रवचनमा पूर्विय दर्शन सिकाउँदाको मजा र आनन्द अरु केहीबाट नपाएको सुनाउछन् उनी । उनको प्रवचन जापानी भाषामा सुन्न घन्टाको १५०० जापानी येन तिरेर झुत्तिन्छन् जापानीहरु । त्यसो त पूर्विय दर्शन, योगा र ज्योतिषलाई सोँधेर दाम कमाउनेहरु पनि जापानमा प्रसस्तै भेटिन्छन् । जापानीहरुमा रहेको हिन्दु दर्शनसँग गाँसिएका धेरै मान्यताहरुसंग लगाव रहेको छ । त्यसैले कयौ जापानीहरुले पूर्विय दर्शन, योगा र ज्योतिष बिधा भारतमा सिकेर जापानमा व्यवसाय चलाएका छन् ।

हामी आर्थिकरुपमा विकशित दर्शनमा रमाउन खेजिरहछौ तर विकशित मुलुकका सम्पन्न भनिनेहरु हामीमा झयाम्मिन खोजिरहेछन् । हामीलाई पाश्चात्य गीत, संगीत र जीवनशैलीले दिनानुदिन आक्रमण गरिरहेछ । तर हामी देखे पनि नदेखेझै गरिरहेछौ । बिद्धानहरु भन्दछन् " पाश्चात्य दर्शनमा तन नाच्दछ तर पूर्वीय दर्शनमा मन नाच्छ । पूर्विय संगीत सुन्नकालागि हुन्छ तर पाश्चात्य संगीत हेर्नका लागि हुन्छ ।

हामी जुन कुरा छोड्न चाहादैछौ हामीले लिन चाहेको कुरासंग अघाएर वाहिरियाहरु हामीले छोड्न चाहेको लिने कसरतमा छन् । उनीहरु जुन कुराको पछि लागेर जे कुरा प्राप्तगरे त्यसबाट पनि सन्तुष्ट हुन नसकेर हामीतिरै फर्किसकेका छन् । तर हामीहरु उनीहरुले काम नलाग्ने ठानेर छोडेको टिप्ने दाउमा छौं र यसका लागि निरन्तर लागिरहेका छौ ।

मलाई संसारको जुनसुकै कुनामा उभिएर गर्वसाथ भन्न कुनै संकोच छैन, मेरो देशको पूर्विय दर्शन, मेरो देशको गीत, मेरो देशको आफ्नोपन संसारमा भएभरका गीत, दर्शन र मान्यता भन्दा उच्च छ, महान छ र अमर छ । मेरो प्रकृति, मेरो सम्पदा र मेरो हिमालसंग कसैले पौठेजोरी खज्नु र्व्यर्थहुने छ । मेरो खोलानाला, मेरो पहाड, मेरा ताल-तलैया, मेरा गुफा-कन्दरा, मेरा बन जंगल, मेरा जडिवुटी, मेरा भीरपाखा, मेरो देशको हावापानी यहाँ वहने हावा, यहाँ पर्ने पानीसंग संसारमा भएजति अरु कुनै कुराको तुलना हुनै सक्दैन" ।

मेरो देशले चुम्ने गरेको सूर्यको पहिलो किरणलाई चुनौति दिने शक्ति अरु कुनै देशले कल्पना पनि गर्न सक्दैनन् । हामी पहाडले धनी छौ, हिमालले धनी छौ, दर्शनले धनी छौ । हामीले गर्व गर्नैपर्छ नेपालसंग । हामी धन्य हुनुपर्छ नेपालसंग, हामीले गौरव गर्नैपर्छ हाम्रो दर्शनसंग अनि भन्नै पर्छ ।

सानातिना विपन्नताले हामीलाई गिजोलेर हामी बिथोलिए पनि हामीले देख्ने सपना सधै नेपालकै होस् । हामीले सोच्ने भविश्य सधै नेपालकै रहोस र हामी नेपाली नै वनेर सदार्सवदा अनन्त कालसम्म मात्रृभूमिकै सेवा, सत्संगमा जुटिरहन सकौँ । मात्रृऋणको विकल्प यो भन्दा अरु हुनैसक्दैन । हामीले जन्मदै गर्दा फेरेको नेपालको हावाको,अन्नपातको र यसै धर्तीले दिएर पिएको पानीको ऋण तिर्ने अर्को उपाय के होला त ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।