“मेरो कथा पनि अचम्मको छ। मानिस विदेशमा आएर रमाएर बस्छन। मलाई विदेशको बास पटक्कै मन परेको छैन। म अमेरिका आएको बिस वर्ष भयो तर यो बिस वर्षमा म कहिले पनि यहाँ रमाउन सकिन। हरेक दिन मात्र होइन, हरेक पल आजै नेपाल फर्किन पाए हुन्थ्यो जस्तो सोंच आइ रहन्छ। यति साधन सम्पन्न, सुविधले युक्त जीवन पाएर पनि किन विदेशमा म रमाउन नसके होला?”
मेरो यो भनाइमा थप्दै काकाले भन्नु भयो, “तपाइँलाई जति स्वदेशको माया लाग्छ त्यो भन्दा कम मलाई पनि लाग्दैन। म त झनै हर पल नेपाल नामको माला जपेर बसेको छु।”
काकाको त्यो कुराले मलाई अलि उत्साहित तुल्यायो। मैले भने, “हो नि काका। चाडवाड आयो कि नेपालको यादले सताउन थाल्छ। विदेशमा बस्दा न दशैं आएको थाहा हुन्छ न तिहार आएको। न फागु आएको थाहा हुन्छ न त शिवरात्री नै। जहिले पनि कोठमा एक्लो भएर बस्नु पर्ने। एक्लै दिन काट्नु पर्ने। परिवारमा हामी दुई जना छौ। मेरो वाइफको रात्रीको ड्युटी छ, मेरो दिउँसोको छ। दुबै जना सँगै बस्ने दिन हप्तामा एक दुइ दिन मात्र हुन्छ। के बाँच्नु यस्तो एकांकी जीवन! म बसेको सहरमा त हामी बाहेक अर्को एउटा पनि नेपाली परिवार छैन। कहिले काहिं वाइफको पाँच दिन लगालग काम पर्दा नेपाली न बोलेको मात्र होइन कसैसंग कुरा नगरेको पनि पाँच दिन हुन्छ किनभने मैले पनि कहिले काही हप्ताभरि घरमानै बसेर अनलाईन काम गर्नु पर्ने हुन्छ।”
मेरो भनाइमा काकाले यसरी थप्नु भयो, “के बस्नु यहाँ जेलको कैदी जस्तो भएर। दुई छाक ढुक्स सँग खान र सुविधयुक्त जीवन बिताउन आफ्नो देश नै त्याग्ने स्थिति मलाई पटक्कै मन परेको छैन। दुई छाक ढुक्कसँग खानका लागि आफ्नो समाज त्यागेर, चन्द्रमामा गएर, एक्लै बसेको स्थिति छ हाम्रो। मैले त मेरो वाइफलाई प्रष्ट गरि भनी दिएको छु, अब दुई वर्ष मात्र अमेरिका बस्ने हो। त्यस पछि अमेरिका त्यागेर, सुविधायुक्त जीवन नै भए पनि यो जीवन त्यागेर, नेपाल जाने हो। होइन, किन नेपालीहरू भेंडाको बथान जस्तो, एउटा भेडा अगाडि हिंडे पछि बाँकि सबै भेंडा पछि पछि हिंडे जस्तो? बाँकिका भेंडाले उचित बाटो नखोजेर अगाडिको भेडा खाल्डोमा खस्दा पनि बाँकि भेडाल सोंच्दै न सोंचि पहिलो भेंडा खसेको ठाउँमा घसे जस्तो? होइन, नेपालीहरू किन यसरी भैडा जस्तो खाल्डोमा खसेका होलान? किन विदेश स्वर्ग नै हो जस्तो गरेर यस भित्र पसेका होलान?”
काकाको कुरा सुनेपछि, विदेशको एकांकि जीवनबाट काका पनि म जस्तै बिरक्तिएको मलाई विश्वास भयो। मेरो र काकाको विचार मिलेको पाएर मलाई खुसी लाग्यो पनि। एउटा दु:खीले अर्को दु:खीको दु:ख सुनेर आफ्नो दु:ख कम भएको महसुस गरेझै मैले पनि मेरो दु:ख केही कम भएको महसुस गरें।
हामी लुजियाना राज्यको बेटनरूज सहरमा बस्ने एक नेपाली, जीवन लामाको घरमा दशै मानउन भेला भएका थियौ। दशैंको भोजको आयोजना जीवन लामाले गरेका थिए। मेरो घनिष्ठ मित्र जीवन लामाको निम्तो मान्न म ओक्लहोमा सिटीबाट बेटनरुज पुगेको थिएँ। सन् २०१९ को दशैं मंगलबारका दिन परेता पनि विकडेजमा सबैको काम पर्ने हुनाले विकइण्डमा, शनिवारका दिन, दशै मनाउने निर्णय जीवनले गरेका थिए। त्यो दशै भोजमा बेटनरूज र बाहिरका गरि ५० जना जति नेपाली र केही भारतीयहरूको उपस्थिति थियो। त्यो भोजमा नै जीवनले काकासँग मेरो परिचय गराइ दिएका थिए। काका बेटनरूजमा बस्थे। त्यहाँ उपस्थित सबैले उनलाई काका, काका भनेको हुनाले मैले पनि काक नै भनेर सम्बोधन गरेको थियो। काकाको पुरा नाम भने महेन्द्रबहादुर कार्की थियो। उमेरले साठ्ठी काटेको देखिन्थ्ये।
काका र म बीच हुने कुराकानीमा जीवन निरन्तर सामेल नभएता पनि बेला बेलामा हामी बीच भइरहेको गफ सुन्ने काम भने जीवनले गरिरहेका थिए। उनी बेलाबेलामा हामी नजिक आउँथे।
एक पटक जीवनले मलाई भनेका थिए, “काकाको कुरा सुन, विश्वास। रमाइलो कुरा गर्नु हुन्छ, काकाले।”
पत्नी र आफू गरि दुईजनाको परिवार लिएर काका बेटनरूमा बसेको दस पन्द्र वर्ष भएको रहेछ। काकाका परिवारका अन्य सदस्यहरू नेपालमा नै रहेछन। काका र काकीको स्थानीय रेष्टुरेन्टको कमाइले जिन्दगी राम्रो नै चलेको थियो। दुबैले कुकको काम गरेका रहेछन। स्वदेशमा हुँदा काका नेपालको पश्चिमी जिल्लाको एक स्कूलमा प्रधान अध्यापक थिए। काकासँगको कुराकानीको क्रममा मैले उनको बारेमा थाहा पाएको यति थियो। काका अति नै स्वदेशप्रेमी रहेको भन्ने उनको कुराकानीबाट थाहा पाएको थिएँ। त्यसकारण पनि म उनीसँग कुराकानी गर्न थप उत्साहित भएको थिएँ।
“के गर्नु हुन्छ? नेपालबाट आउनु भएको कत्ति भयो?”, काकाले मलाई सोध्नु भएको यो प्रश्नले मेरो दु:खको पेटारो खोल्ने सही मौका बल्ल मिलेको अनुभव मलाई बलियो गरी भयो।
मैले भने, “काका म नेपालबाट आएको बिस वर्ष भयो। सन् १९९९ मा म अमेरिका आएको हो। नेपालमा हुँदा नै मैले मैथमेटिक्समा मास्टर गरेको थिए। अमेरिकामा आएर फेरि मेथकेटिक्समा मास्टर गरें। मास्टर गरे पछि, ओक्लहोमा राज्यको एक विश्वविद्यालयबाट मैथमेटिक्समा नै पीयचडी पनि गरे। त्यस पछि ओक्लहोमाकै अर्को एक विश्व विद्यालयबाट फेरि आइ टीमा मास्टर्स गरे। अहिले म ओक्लहोमा राज्यको एक स्थानीय बैंकको आइ टी डिपार्टमेन्टमा काम गर्छु।”
“म मैथमेटिक्सको मान्छे, आइटीमा मैले काम गरेको मलाई नै पटक्कै मन परेको छैन। तर के गर्ने? पाएको जागिर त गर्ने पर्यो। बाँच्नु त पर्यो नि…….. होइन र? तर मेरो इच्छा भने कलेजमा टिचिंग गर्ने थियो र छ अहिले पनि छ।” मैले थपें।
“तपाइँ जस्तो अति क्वालिफाइड मान्छे किन अमेरिकामा बसेको होला? नेपाल जानुहोस। नेपाल जानु भयो भने कम्तिमा पनि, यो समयमा, महिनाको एक लाख रूपैया पाउने जागिर तत्काल पाउनु हुन्छ, तपाइँले। के भन्ठान्नु भएको छ? नेपाल अब पहिले जस्तो छैन। नेपाल, अब पहिलेको नेपाल रहेन। धेरै विकास भएको छ। नेपालको अहिलेको स्थिति देखेर म जस्तो सामान्य मान्छे त नेपाल फर्किने दृढ विचारमा छु” मेरो कुरा पूरा हुन नदिकन नै काकाले भन्नु भयो।
मैले भने, “ठिक भन्नु भयो काका। म विदेशको एकांकी जीवनबाट दिक्दार भइसकेको छु। आफ्नो रहन सहन, आफ्नो परम्परा, समाज त्यागेर पैसाको लागि विदेशमा कति बिताउनु रबिन्सन क्रुसोको जिन्दगी? पाएको एउटा सत्तर अस्सी वर्षे जीवन पनि विदेशमा बिताएर किन वर्वाद गर्ने? अब त लाग्छ आफू जन्मे हुर्केको ठाउँमा, खेले बढेको ठाउँमा, जीवन बिताउन पाउनु ठूलो कुरा रहेछ। भाग्यमा लेखिनु पर्ने रहेछ, यो त। होइन र? मान्छेहरू खुस भएर कसरी बस्न सकेका छन् विदेशमा? आफ्नो नाता, कुटुम्बलाई कसरी छाड्न सकेका छन, स्वदेशमा? नाता, कुटुम्ब त्यागेर नेपालीहरू कसरी विदेशमा रमाएर बस्न सकेका छन् भन्ने विषयमा मलाई थप अर्को पीयचडी गर्न मन लागेको छ।”
“हेर्नुस, आफ्नो समाज भनेको आफ्नै समाज हो। आफ्नो समाजमा बस्दा दुई जना बीच कुरा हुँदा सन्दर्भ मिल्छ, कुरा अगाडि बढ्छ। सुख दुख हर्ष विस्मातका कुराहरू हुन्छन। विदेशमा त कुरा गर्दा पनि गार्हो। यहाँका रैथानेसँग कुरा गर्दा कुराको सन्दर्भ नै मिल्दैन। रैथानेहरूको जीवनशैली एक थरिको छ भने हाम्रो जीवन शैली अर्को थरीको। अनि यसरी दुई थरी भए पछि कसरी सन्दर्भ मिल्छ? अनि कसरी कुराकानी अगाडि बढ्न सक्छ? त्यसकारण यहाँका रैथानेहरूसँग हाम्रो कुरा हुँदा केवल औपचारिक कुराहरू मात्र हुन्छ केवल कारोवारी कुराहरू मात्र हुन्छ? होइन त काक?” मैले भनाइलाई निरन्तरता दिएँ।
“कस्तो अचम्म! यहाँ बसेको विस वर्ष भयो, यो बिस वर्षमा, आफू बसेको यो ठाउँ कहिले आफ्नो ठाउँ जस्तो लागेन? यहाँको सडक, पार्क, भवन, वस्ती, हावा, पानी कहिले आफ्नो जस्तो लागेन। किन यस्तो भएको होला? कहिले म आफू किन यस्तो भएको होला भनेर आफैसँग प्रश्न गर्छु। म किन यति राष्ट्रवादी भएको होला भनेर अचम्म पनि लाग्छ। मेरो मनोविज्ञान त्यस्तो किन भएको होला। मलाई किन यस्तो लागेको होला, काका?”, मैले भने।
काकाले भन्नु भयो, “मलाई पनि ठ्याक्कै तपाइँ जस्तो लाग्छ, यो विदेशको बसाइ।” यति भनेर काकाले मतिर एकछिन सम्म हेर्नु भयो पनि।
जीवनले केही बेर पहिले देखि हाम्रो कुराकानी परबाट तर निकै ध्यान दिएर सुनेको मैल अनुभव गरे। तर मैले कुरा गर्न उनलाई ईशारा गर्नु पूर्व नै उनी डाइनिंगरूम तिर पसे। मैले जीवनसँग कुरा गर्न पाइन।
काकातिर हेर्दै मेलै भने, “काका, एउटा अचम्मकुरा भन्छु तपाइँलाई। म छ महिना पहिले काठमाडौ गएको थिएँ, त्यहाँ पुगेर मैले अनौठो अनुभव गरें। अति नै अनौठो र पत्याउन पनि कठिन छ मेरो त्यो अनुभव।”
काकाले हत्तारिंदै भन्नु भयो “के त्यस्तो अनुभव गर्नुभयो, काठमाडौ पुगेर?”
मैले भने, “काठमाडौ एयरपोर्टमा झरे पछि इमिग्रेसन, भन्सारको झन्झट सक्याएर टेक्सी समात्न गए। टेक्सी ड्राइभरहरुले मेरो टेक्सीमा चढ्नु होस, मेरो टेक्सीमा चढ्नु होस, भन्दै मेरो हात नै तान्न थाले। त्यहाँ मेरो हात ताना तान भयो। तर टेक्सी ड्राइभरहरूले त्यसरी मेरो हात ताना तान गर्दा मलाइ पटक्कै नरमाइलो लागेन। रीस पनि उठेन। काठमाडौ पुगेको दिनको साँझ, आफ्नो डेरा जडिबुटीबाट बस चढेर नया सडक पुगें। बसमा खुट्टा राख्ने ठाउँ थिएन। जति मान्छे सिटमा बसेका थिए, त्यो भन्दा भढी उभिएका थिए। बस भित्र अति नै भीड थियो। साँसै थुनिएला जस्तो भएर बल्ल बल्ल म नया सडक पुगैं। तर मलाई, त्यस्तो अवस्थामा पनि, बस भित्र पटक्कै नरमाइलो लागेन। धेरे वर्ष पछि नेपाल गाएको हुनाले इन्द्रचोक, असनतिर गए। त्यतातिर हिंड्न पनि गार्यो थियो, त्यस्तो भीड थियो। भीडमा हिंडिरहेको बेला, कतिपय समयमा, मानिसले मेरो खुट्टा पनि कुल्चिदिए। तर मलाई नराम्रो लागेन। उल्टो, राम्रो नै लाग्यो। किन होला?”
“किन होला”, काकाले प्रतिप्रश्न गर्नु भयो।
मैले भने “काका, धेरै वर्ष भएको थियो। मैले त्यति धेरे मान्छेहरू एकै ठाउँमा देखेको थिन? अमेरिकाको एकांकी जीवनमा कहाँ त्यति धेरै मानिस एकै ठाउँमा देख्न सक्नु? त्यति मान्छेहरू देखेर मलाई अति नै रमाइलो लागिरहेको थियो। दश वर्ष भएको थियो म नेपाल नगएको, भीडभाड नदेखेको। त्यसकारण म त झन भीड भएको ठाउँ खोजी खोजी, भीडमा पसिरहेको थिएँ। आफू भीड भित्र हराउँदा औधी आनन्द आइ रहेको थियो। कति आनन्द आएको थियो भन्ने कुरा म शब्दमा ब्यक्त गर्न सक्तिन।” मैले थपें, “म अमेरिकाको एक सानो शहरमा बस्छु। त्यहाँ मानिस सडकमा हिंडेको देखिंदैन। सबै जना केवल कारमा चढेर एक ठाउँबाट अर्को ठाउँ पुग्छन। मान्छेहरू भेट्ने भनेको केवल पसलहरुमा मात्र हो। काकालाई आश्चर्य लाग्ला, म बसेको शहरमा, कतिपय ठाउँमा केवल गाडी गुड्ने पिच सडक मात्र छ। मान्छे हिंड्ने फुटपाथ छैन। मान्छेहरू हिंड्दैनन, कवेल कारमा मात्र चढेर ओहर दोहर गर्छन भन्ने सोंचेर होला मान्छे हिंड्ने फुटपाथ बनाइएको छैन। त्यसकारण सडकमा केवल गाडीहरू दौडिएको देखिन्छ। मान्छेहरू हिंडेको पटक्कै देखिंदैन। कस्तो अचम्म!”
“तपाइँको अनुभव पनि गज्जब रहेछ। राष्ट्रभक्ति पनि गज्जबको रहेछ। तपाइँको कुरा सुनेर मलाई त झन एक वर्ष भित्रमा नै नेपाल जाँऊ जाँऊ जस्तो लाग्यो।”, यति भनेर काका रेष्टरूम तिर पस्नु भयो। काका रेष्टररुमतिर पस्नु र जीवन म नजिक आउनु एकै पटक भयो। यो संयोग जस्तो मलाई लागेन। बरू लाग्यो कुन बेला काका रेष्टरुमतिर जालान र म एक्लो रहुँला र मसँग कुरा गर्न सजिलो होला भन्ने दाउ जीवनले पर्खे जस्तो।
जीवन म नजिक आए अनि मेरो कांधमा हात राख्दै भने “यो काकाको कुरा नपत्याउनु है साथी। यिनी दिमाग चाट्ने मानिस हुन। अरुको दिमाग भुट्नमा खप्पिस छन्। यिनी नेपाल कहिले जानेबाला छैनन। आउन त यिनी दस ओटा दिमाग लगाएर अमेरिका आएका हुन। अनि कसरी जान्छन होला? यिनको राष्ट्रवाद पनि हात्तिको देखाउन दाँत जस्तो हो। तर अरूलाई आफू राष्ट्रवादी हो भन्छन, नेपाल फर्किने कुरा गर्छन।”
“हो र”, मैले आश्चर्य मान्दै भने।
जीवनले भने “यी काका एक स्कूलमा प्रधान अध्यापक थिए। तर माओवादी संघर्षको बेला स्कूलको काममा कम माओवादी आन्दोलनमा बढी लागेका थिए। मान्छेहरूले भने अनुसार यिनी माओवादीको जिल्ला स्तरीय नेता थिए रे। माओवादी भएर ठूलै फाइदा उठाएका थिए। पछि, २०६३ सालमा माओवादी मूलधारको राजनीतिमा आए पछि यिनी काठमाडौमा नै बस्न थाले। कताबाट के दाउ लगाए कुन्नि, यी काका टुरिष्ट भिसामा अमेरिका आए। अमेरिका आएर माओवादी पीडित हुँ भन्दै शरणार्थीको दर्जा पाउन निवेदन हाले। अहिले यिनी शरणार्थी बनेर अमेरिकामा बसेका छन्। सुने अनुसार यिनेल ग्रिनकार्ड पनि पाइसका छन्, रे। काकाको बारेमा त्यस्तै यस्तै मैले सुनेको छु।”
“यी काका चालु छन्। यिनको कुरा सुनेर कुनै ठोस निर्णय नलिनु, है”, जीवनले थपे।
जीवनको मुहारतिर हेर्दे मैले आश्चर्य मानेर भने “जीवन, हो र अ अ अ अ…….।”
जीवनले पनि लेघ्रो तानेर मसँग आँखामा आँखा जुधाउँदै भने, “हो नि इ इ इ इ ……..।”
काका रेष्टरुमबाट हामीतिर आउँदै गरेको देखे पछि जीवन अन्यत्र लाग्ने तरखरमा लागेको मलाई लाग्यो। तर काका हामीतिर आएन। कता हराए। म काकालाई खोज्नतिर लागें। काका लिभिंग रुमको एउटा कुनामा दस पन्द्र जना बिच हुनु हुन्थ्यो। छेउछाजको मान्छेहरूलाई केही भन्दै हुनु हुन्थ्यो। म अलि पर भएकोले उहाँका सबै कुराहरू सुन्न त मैले पाइन। “देश भक्ति त मर्दैन चुथ्यै देश भए पनि”, काकाले जोड जोडले भनेको राम्रो गरी सुने।
अमेरिका