छ दशक बितिसकेछ
परदेशमा पसिना बगाएको
अरूको सपना साकार पार्न खटिएको
यहाँका मान्छेहरूलाई हाँस्न सिकाएँ
तर, मेरो मनको हाँसो कहाँ हरायो मलाई थाहा छैन
जसरी एउटा रूखलाई जराबाट उखेलेर टाढा लगिन्छ
त्यसरी नै मेरो जीवन झिकेर परदेशले आफ्नै बनाएको छ ।
बिहानको घाम यहाँ उज्यालो लाग्छ,
तर त्यो उज्यालोले मलाई कहिल्यै न्यानो दिएन ।
घर फर्किन्छु भनेर धेरै पटक सोचेँ,
तर जीवनको घडीले सधैँ मलाई रोकेको छ ।
सम्झन्छु, मेरो बालापन
बाँसुरीको मिठो धुन,
पहाडका पाखा,
र अघिल्ला पुस्ताका कथाहरू
परदेशको भूमिमा
यी सबै सपनाजस्तै लाग्छन् ।
यहाँ अरूले घरहरू ठड्याए
तर, मेरो आफ्नै घरलाई सधैँ सपना बनाएर राखेँ ।
पसलहरूमा हरेक चिज किन्न पाइन्छ
तर, त्यो माटोको सुगन्ध
त्यो धूलोमा टेकेर हिँड्दाको सुख
कहीँबाट किनेर ल्याउन सकिँदैन ।
साठी पुगेपछि, मन झन भारी हुन्छ
यो जिन्दगीले मलाई धेरै दिएजस्तो लाग्दैन ।
म केवल आफ्नो गाउँ फर्किन चाहन्छु
त्यो पुरानो झुप्रोमा बस्न चाहान्छु
जसले मेरो हरेक सपनाको जग बसाएको थियो ।
अब परदेशको यो गल्लीमा
मेरो पाइलाहरू थाकिसकेका छन्
जन्मभूमिको माटोले मलाई पुकारिरहेझैं लाग्छ ।
फर्किन्छु अब
जहाँ माटोले मलाई आफ्नो बनाउँछ ।
जहाँ मेरो आत्माले शान्ति पाउँछ ।
बेलायत