आगोका हिंस्रक लप्काहरुले जलाइरहेछ देश,
सहन नसकेर आगोका राप
अन्तिम श्वास फेर्नुअघि
मागिरहेछन् जीवनको भिख
तै पनि विशाल अट्टालिकामा बसेर
निरन्तर बजाइरहेछ निरो बाँसुरी
बजाइरहेछ हठ र अहंकारको धून ।
दिनहुँ बगिरहेछन् गाउँ–नगर बगाउने गरी भेल
बगिरहेछन् बस्ती र छाप्राहरु
र, भेलले बगाइरहेका छन् मान्छेका लाशहरु
जीवनको अन्तिम आशामा गुन्जिरहेछन् आर्तनाद
कैयौं आवाज भेलको सुसाहटमै विलिन भए ।
तर आदेश दिँदै मृ्त्युको
स्मशान बनेको शहरबाट खरानी उठाएर
बेच्ने सुर कस्दैछ निरो
र, पनि विशाल महलमा बसेर
निरन्तर बजाइरहेछ निरो बाँसुरी ।
सपना जलेका पीडाले
छट्पटाइरहेछन् जीवनहरु
मन जलेका छन्
अझ बढी जलेका छन् पेटका आगोले
त्यही पीडा शान्त पार्ने भीड
देश छाडिरहेछ
बनिरहेछ देश,
क्रमशः निर्जन, सुनसान
खण्डहर बनेको छ देश
तर, निरोलाई के मतलब
उ त,
टाइम मेसिनमा बसेर विगत चहार्दैछ
उही पूरानै सम्राट ठानिरहेछ आफूलाई
त्यसैले त महलमा बसेर निरन्तर बजाइरहेछ बाँसुरी
बजाइरहेछ एकोहोरो कर्कश धून
तर, शहर जल्दा त्यही आगो,
असन्तुष्टि र आक्रोशको ज्वाला भएर
आफ्नै महलमा आइपुग्ला भनेर
थाहै पाएन निरोले
निर्धा मानिसको आँखाबाट झरेका आँशुले
महल डुबाएको थाहै पाएन
समयको एकोहोरो धून बजाइरहेको सन्की निरो
भागिरहेछ
मान्छेका सपना, आकांक्षाले लखेटिरहेछन् ।
तर, कहिलेसम्म भागिरहला र अहंकारी निरो
कहिलेसम्म बजिरहला र,
समयको उन्मादबाट बजेको कर्कश धून ।
गोरखा