19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पीडाभित्र हराएको मान्छे

कविता पशुपति पराजुली "सालघारी" January 7, 2025, 8:01 am
पशुपति पराजुली
पशुपति पराजुली "सालघारी"

लाग्छ, कहिले काहीँ
मान्छेको मन सधैं सधैं
आकाशभन्दा फराकिलो भइदिए हुन्थ्यो
मर्म साँधेरगरेका काम
धर्म र कर्मको नामले
धरतीभन्दा बिसाल भइदिए हुन्थ्यो ।

दुखै दुःखको पहाड उचालेर
सुखको न्यानो घाम खोज्न
सगरमाथाभन्दा माथिको चुली टेकेर
अघि अघि लम्किदै जाँदा, मान्छे
एकाबिहानै क्षितिजको दैलोभित्र छिरेर
बादलको मूलढोकाबाट बाहिरिँदै
एकभारी खुसी ल्याउन खोज्छ ।

यसरी नै यहाँ मान्छेका मनहरु
झ्याङ्गिदै जाँने हो भने
अग्लिएको पहाड
र, सुतेको यो धरतीमा
कुकर भित्रको हावाझैँ मान्छे गुम्सिन सक्छ
अनि, अभावले भावको पालुवा फेर्न नपाउादै
खोक्रो सारङ्गी पेट लिएर मान्छे–मान्छेका
झरेका आँसु र बगेको पसिनाको भेलले
महासागरहरुमा पानीको उचाइ बढाउन पुग्छ ।

दूरी ताकेर हरेक शक्तिसँग लड्न
मान्छेले
चरीझैँ उड्ने गतिशील पखेटाहरु
पाउन सक्नुपर्छ,
उडाइमा विश्वासका सबुतहरु जोडीनुपर्छ
टेक्ने हाँगाहरुमा अलमलिने होईन
उदेश्य त लक्ष्य चुम्ने हुनुपर्छ ।

आजभोलि भावनाको लगाम खिचेर मान्छे
गन्तव्यको खोजी गर्छ
एक मुठी उज्यालो समात्न
आकाशको उकाली चढेर
चन्द्रमासम्म पुग्ने सपना देख्छ
अनि, उही पाखा पखेरीको ओरालोमा अलमलिदै
सपनाको गुल्जारमा हराउने गर्छ
र, बिपनामा झस्केर डराउने गर्छ ।

तर, अझै पनि
शिरको उचाइ र पाइतालाको गहिराइमा
तालमेल मिलाउन नसक्दा मान्छे
समृद्धिको रित्तो ढाकर बोकेर
बेला बेला रुन्छे हाँसो हाँस्दै
सिसिफस** झैं जीवन बाँचिरहेछ ।
( ** सिसिफस (Sisyphus) फ्रेन्च उपन्यासकार Albert Camus को चर्चित ‘Myth of Sisyphus’ उपन्यासको मुख्य पात्र हुन् ।)

भोजपुर, चरम्बी, हालः कनेक्टिकट, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।