19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

माछापुछ्रे

कविता कृष्ण जलारी November 30, 2008, 3:36 am

सूर्योदयमा हाँसे पनि

माछापुछ्रे

बादलको घुम्टोभित्र हराए पनि

त्यो मनोरम दृष्य हेर्ने फुर्सत पनि छैन

त्यो हेरेर पेट भर्ने पनि हैन

पोखरा घाम तापेर बसे पनि

पोखरा झरीमा रूझे पनि

ऊ सधैं

छाक टार्ने चिन्ताभित्र रूमल्लिएकै छ

साहु तिर्ने पीरले छट्पटिएकै छ ।

सधै सधैं फेवामा हुन्छ

सधैं सधैं फेवामा जान्छ

जाल बोकेर काँध भरी

कृष्ण जलारी !

जीवनको सुख भने पनि

जीवनको दुःख भने पनि

मात्र तिनीहरू

जालमा परेका माछाहरू

आफ्नो विपना भने पनि

आफ्नो सपना भने पनि

केवल तिनीहरू

जालमा परेका माछाहरू

ऊ पानीसँग खेल्छ

ऊ पानीसँग डुल्छ

छल छैन

कपट छैन

हिमाल जस्तै निर्मल छ उसको हृदय

फेवाको पानीसँगै बगेको छ उसको समय

घर परिवारकोलागि

दिनरात फेवामै खनाएको छ

रगत र पसिनाको भारी

कृष्ण जलारी !

माछा मार्नेहरूको हूलमा

माछा बेच्नेहरूको भीडमा

निरन्तर देखिन्छ

कहिले ऊ हुन्छ फेवा पारि

कहिले ऊ हुन्छ फेवा वारि

माछा शिकारी

कृष्ण जलारी !

देश के हो र कहाँ छ ?

त्योसँग उसको कुनै सरोकार छैन

अनभिज्ञ छ ऊ

सरकार पनि छ कि छैन

जे छन् जति छन् तिनीहरू

जालमा परेका माछाहरू ।

फेवाको बगरमा उसले धेरै हिँडिसक्यो

फेवाको लहरहरू उसले धेरै छोईसक्यो

फेवाको पानीले मनको धेरै पीरहरू धोईसक्यो

र पनि कहिलेकहीँ नयाँ नयाँ लाग्छ फेवा

र पनि कहिले नदेखेझैँ लाग्छ माछापुछ्रे

फुर्सदमा फुकाएर हेर्छ सम्झनाको भकारी

कृष्ण जलारी !

चाहना आकाश छुने पनि छैन

चाहना हिमाल टेक्ने पनि हैन

चाहना यति मात्र हो कि

फेवाको पानी सुक्नु हुन्न

फेवामा माछा सकिनु हुन्न

भन्छ नत्र जीवन आफैलाई हुन्छ भारी

कृष्ण जलारी !

जीवनको शाश्वत सत्य भने पनि

जीवन्त वर्तमान भने पनि

अनिश्चित भविष्य भने पनि

आईरहन्छ आँखा वरिपरि

कृष्ण जलारी !

घामपानी बाट बच्न

आँधीवेहरीबाट बच्न

ओतलाग्ने छाप्रो छ

भन्छ, उसकोलागि

सम्पूर्ण सम्पत्ति नै त्यती हो

सम्पूर्ण संसार नै त्यही हो

ठानेर त्यसैलाई जीवनको उपलव्धी

निर्धक्क दिल खोलेर हाँस्छ वेस्मारी

कृष्ण जलारी !

महाशय,

तपाइसँग जे छैन

त्यो कृष्ण जलारीसँग छ

कृष्ण जलारीसँग जे छैन

त्यो तपाइसँग छ

यही हो भिन्नता

तपाई र कृष्ण जलारीबीच

भन्नुस् त महाशय,

तपाईसँग कृष्ण जलारीको जस्तै

नियत र निष्ठा छ ?

नैतिकता र इमान्दारिता छ ?

आदर्श र अनुशासन छ ?

छ भन्नुको अर्थमा तपाईसँग

छल र कपट छ

बेइमानी र लाचारी छ

कूनियत र कूबुद्धि छ

घात-प्रतिघात र अविश्वास छ

भन्नुहोला तसँग चाहीँ के छ ?

माफगर्नोस,

म घमण्ड गर्छुसँग कृष्ण जलारी छ

मसँग कृष्ण जलारीहरू छन् ।

(२०५४।४।२८।३ गते साँझ नेपाल टेलिभिजनबाट पोखराको फेवामा माछा मारेर जिविका चलाउने माझी कृष्ण जलारीको जीवनीमा आधारित कृष्ण जलारी नामक टेलिश्रृंखला हेरेपछि लेखिएको कविता)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।