कालिम्पोङको प्रतिष्ठित र सक्रिय साहित्य संस्था ‘नेपाली साहित्य अध्ययन समिति, कालेबुङ’को कार्यहरूको लेखाजोखा गर्न, तिनको सर्वेक्षण गर्न निकै मेहनत गर्नुपर्ने देखिन्छ। सन् १९६५ मा स्थापना गरिएको नेपाली साहित्य अध्ययन समितिको पृष्ठभूमि, उद्देश्य, साहित्यिक गतिविधिहरूको सर्वेक्षण र अध्ययन गर्नुपर्ने देखिन्छ। साट्ठी वर्षको अवधिमा यसले निकै कामकुरा सम्पन्न गरेको छ। यसको सांगठनिक काम निकै बाक्लो रहेको छ। यस समितिको साहित्यिक गतिविधिहरूमा बर्सेनी पालन गरिने भानु जयन्ती, देवकोटा जयन्ती, साहित्यिक गोष्ठी र वार्ताहरूको आयोजना, बाल कविता लेखन प्रतियोगिता, कविता लेखन प्रतियोगिता, पुस्तकालय सञ्चालन, साहित्य सङ्केत पत्रिका प्रकाशन, पुरस्कृत साहित्यकारहरूलाई अभिनन्दन कार्यक्रम, पुस्तक प्रकाशन, पुरस्कार वितरण, साहित्यकारहरूको प्रतिमा, स्थापना, जन्म जयन्ती पालन आदिको चर्चा गर्नुपर्ने देखिन्छ। भारतको संविधानमा नेपाली भाषाको अन्तर्भुक्तिका निम्ति नेपाली साहित्य अध्ययन समितिको लामो सङ्घर्षको इतिहास छ।
हालसालै कालिम्पोङका डा. बी. बी. गुरूङले नेपाली साहित्य अध्ययन समिति, कालेबुङको साठी वर्षे इतिहासको लेखाजोखा गरी एउटा पुस्तक लेखेका छन्- ‘नेपाली साहित्य अध्ययन समिति : अद्यावधिक यात्रा’। नेपाली साहित्य अध्ययन समिति, कालेबुङ्कै प्रकाशकत्वमा रहेको यस पुस्तकमा यसबारे चौबीस बुँदामा समितिको बारेमा तथ्यात्मक लामो इतिहासको लेखाजोखा र मूल्याङ्कन गरिएको छ। पुस्तकमा कालिम्पोङको भौगोलिक र ऐतिहासिक पृष्ठभूमि, यसको साहित्यिक अध्ययन समितिको सन् १९६५ सालको स्थापनाको पृष्ठभूमि केलाइएको छ। यसका साथै समितिको उद्देश्य र कार्य सञ्चालन, यसका जयन्ती विभाग, प्रकाशन पुस्तकालय विभागहरूका कामकुराको इतिहास, यसको वार्षिक साधारण सभाहरूको रेखाङ्कन, भाषिक कार्यकलाप र भाषिक नीति, यसको साहित्यिक क्रियाकलाप, विभिन्न विभूतिहरूको जन्मजयन्तीको लेखाजोखा, समितिको रजत जयन्ती कार्यक्रम पालन, साहित्यिक र भाषिक विकासका निम्ति विभिन्न प्रतियोगितामूलक कार्यक्रमको इतिहास, वार्षिक नाटक प्रतियोगिता, सङ्गीत प्रतियोगिता, शब्दशक्ति प्रतियोगिता, विभिन्न पुरस्कारहरू, समितिको आफ्नो भवन निर्माण गर्दाका कठिनाइका लेखाजोखालाई पुस्तकभित्र समेटिएको छ।
पुस्तकमा उल्लेख गरिएअनुसार अध्ययन समितिले प्रदान गर्ने पुरस्कारहरूको निकै महत्त्व छ। यसले प्रदान गर्ने पुरस्कारको चयन प्रक्रिया एकदमै निष्पक्ष र पारदर्शी हुन्छ। पुरस्कार वितरणका क्रममा समितिले सन् १९९८ देखि शुरू गरेर आजसम्म पनि पारसमणि प्रधान पुरस्कार वितरण गर्दै आइरहेको छ। पारसमणि प्रधान पुरस्कार भारतीय नेपाली साहित्यमा एउटा अत्यन्त गरिमामय पुरस्कारका रूपमा प्रतिष्ठित छ। भाइचन्द प्रधान कविता पुरस्कार र पूर्ण राई कथा पुरस्कारको स्थान पनि गरिमामय रहेको छ। अध्ययन समितिले पालन गर्ने भानु जयन्ती पनि अत्यन्त गरिमामय रहेको छ। कालिम्पोङको एउटा पर्वका रूपमा नै भानु जयन्तीको मनाइने गरिन्छ। यसमा रामायण पाठ प्रतियोगिता, साहित्यिक वार्ता, लोकनृत्य प्रतियोगिता, कविता प्रतियोगिता आदि प्रस्तुत हुन्छन्। यसको अर्को उपलब्धि भनेको ‘साहित्य सङ्केत’ पत्रिकाको प्रकाशन पनि हो। यसले भारतीय नेपाली साहित्यकारहरूके रचना प्रकाशित गर्ने प्राथममिकता दिएको छ। कुमार छेत्री, रूपराम देवान, सुधा गुरूङ, योगवीर शाक्य, सञ्जय विष्ट आदिका कुशल सम्पादनमा साहित्य सङ्केतले हालसम्म चालिस अङ्क प्रकाशित गरिसकेको छ। ३६औं अङ्कसम्ममा साहित्य सङ्केतले एक सय एघार वटा कथा, त्रिसट्ठीवटा निबन्ध, एक सय नौवटा समालोचना, एघारवटा अन्तर्वार्ता, तीसवटा संस्मरण, पाँचवटा लोकसाहित्यपरक लेख, सोह्रवटा हास्य-व्यङ्ग्य, केही एकाङ्की नाटक, केही बालसाहित्य, केही विज्ञानपरक लेख, केही जीवनी, केही नियात्रा लेख, केही गीत, केही भाषा शिक्षणपरक लेख प्रकाशित गरेको छ। यसका साथै समितिले हालसम्म एक तीसवटा पुस्तक प्रकाशन गरिसकेको छ।
यसले धेरै साहित्यकारलाई अभिनन्दन र पुरस्कृत गरिसकेको छ। इन्द्रबहादुर राई, शिवकुमार राई, गुमानसिंह चामलिङ, नरबहादुर दाहाल, मगन पथिक, महानन्द पौड्याल आदिलाई बोलाएर सम्मान अभिनन्दन गरेको छ। जयन्ती पालन गर्ने क्रममा बर्सेनी कसैलाई वार्ता गर्न लाएर पनि प्रतिभाको कदर गर्ने गरेको छ। अध्ययन समितिले वार्षिक रूपमा नाटक प्रतियोगिताको आयोजना गर्दै आएको थियो। सन् सत्तरी र अस्सीको दशकमा नाटक प्रतियोगिता पनि सम्पन्न गरेको थियो। त्यसबारे अझै लेखाजोखा गर्नु बाँकी नै छ। साहित्य अकाडेमी नयाँ दिल्ली, बि पि कोइराला फाउण्डेसन, पुस्तक लोकार्पण समारोह आदिसित सहकार्य पनि गर्दै आएको छ।
यसरी हेर्दा भारतीय नेपाली साहित्यको विकासमा नेपाली साहित्य अध्ययन समिति, कालेबुङको महत्त्वपूर्ण योगदान रहेको छ। यसले वाषिक रूपमा भानुभक्ति जन्म जयन्ती, लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती, अगमसिंह गिरी जन्मजयन्ती, विशिष्ट स्रष्टाहरूको शतवार्षिकी समारोह, तीनवटा पुरस्कार वितरण, स्रष्टा सम्मान, नेपाली भाषा मान्यता दिवसको भव्य रूपमा पालन, पुस्तक प्रकाशन, पुस्तकालय सेवा आदि जस्ता महत्त्वपूर्ण कामहरू गर्दैआएको छ। यो समिति कहिले पनि खाली बस्तैन। केही न केही काम गरिरहेको हुन्छ, केही न केही गतिविधि सञ्चालन गरिरहेको हुन्छ। नेपाली भाषालाई सरकारी तवरमा प्रयोग गर्न समितिको प्रयास सह्राहनीय छ। मुख्यमन्त्री, जिल्लाधीश आदिलाई नेपाली भाषाको प्रयोगका निम्ति आवेदन गर्नु, भेटघाट गर्नु आदि जस्ता काम गरिरहेको छ। यसको पहलमा पसल, सरकारी कार्यालय आदितिरको साइनबोर्ड आदि नेपाली भाषामा लेख्न लगाउने अभियान गरेको थियो, जो धेरै सफल भएको छ। नेपाली भाषा मान्यता दिवस समारोह प्राय हप्ता व्यापी रूपमा आयोजना गरिन्छ। यस अवसरमा नेपाली निबन्ध प्रतियोगिता, लोकगीत प्रतियोगिता आदि सञ्चालन गर्ने गर्दछ। यसका साथै समितिले विद्यार्थीहरूले नेपाली भाषा साहित्यप्रति रूचि जगाउन केही प्रतियोगितामूलक कार्यक्रम पनि गर्दाएको छ। कालेबुङबाहिर गाउँ बस्तीका विद्यालयतिर पनि कहिलेकाँही विद्यार्थीमुखी कार्यक्रम गर्दछ। यसले नेपाली स्रष्टा, नाट्यकर्मी, साहित्यिक संस्था आदिलाई पनि सम्मान गर्दछ।
पुस्तकमा उल्लेख भएअनुसार नेपाली साहित्य अध्ययन समितिको आफ्नै भवन छ। भवनभित्र पुस्तकालय कक्ष, ससाना भए पनि दुईवटा कार्यक्रम हल, आफ्नो कार्यालय आदि रहेका छन। यद्यपि समितिलाई कुनै सरकारी सहुलियत खासै प्राप्त छैनष पुरस्कार वितरण गर्नु, कार्यक्रम सञ्चालन गर्नलाई चाहिने आवश्यक खर्चपात पनि जुटाउन मुस्किल पर्दछ। यद्यपि सदस्यहरूले सदस्यता शुल्कबाहेक सहयोग राशि चन्दा उठाएर भए पनि कार्यक्रम सञ्चालन गर्न पछि हटेको छैन। कार्यक्रममा पारदर्शिता, काम गर्ने जोशिला सदस्य र कार्यकारी सदस्यहरूका तत्परता, सक्रियता र दानशीलताले गर्दा समितिले धेरै काम गर्दै आएको छ। साहित्य अकादमी नयाँ दिल्लीबाट मान्यताप्राप्त संस्था हो। यसले बेला बेलामा साहित्य अकादमीसित मिलेर सहकार्य पनि गर्दछ। समितिका अझै ज्ञात अज्ञात कार्यहरू रहेका छन्। नयाँ प्रतिभालाई प्रस्फुटित हुने अवसर प्रदान गर्नु, पुराना साहित्यिक र नाट्य प्रतिभालाई योगदानको कदर गर्दै सम्मानित गर्नु आदिजस्ता ज्ञात अज्ञात कार्यहरू पनि गरिरहेको हुन्छ। कालेबुङको नेपाली भाषा र साहित्यका निम्ति एउटा दह्रो भरपर्दो छहारीका रूपमा रहेको नेपाली साहित्य अध्ययन समिति, कालेबुङ सबैभन्दा सक्रिय संस्थाका रूपमा रहिआएको छ। गुरूङको यस पुस्तकमा समितिका यस्ता सांगठनिक कार्यकलापलाई जतिसक्दो समेट्ने काम गरिएको छ।
यस पुस्तकको अध्ययन गर्दा नेपाली साहित्य अध्ययन समिति, कालेबुङका बारेमा विभिन्न तथ्य प्रकट हुन्छन्। तिनलाई निम्न बुँदाहरूमा हेर्न सकिन्छ-
क. सन् १९६५ मा स्थापना भएको यस संस्थाले विभिन्न किसिमबाट कार्य गर्दै आएको छ। यसको गतिविधि हेर्दा यो संस्था भारतको सबैभन्दा सक्रिय र धेरै काम गर्ने संस्था हो।
ख. यसले भारतको संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई अन्तर्भुक्ति गर्नका निम्ति गरिएको संस्थागत रूपमा आवेदन-पत्र पठाउन पहिलो बनेको रहेछ। सन् १९६६ मा नै समितिले भारतका तत्कालीन राष्ट्रपतिलाई पूरा यथोचित तथ्य हालेर आवेदन पत्र पठाएको रहेछ। त्यसपछि स्थानीय सांसद, पश्चिम बङ्गाल सरकार, त्रिपुरा सरकार आदिलाई यस्तो निवेदन पठाएको थियो।
ग. नेपाली भाषा मान्यता पाउन अघि नै समितिले नेपाली भाषा प्रयोगका निम्ति अभियान चालिसकेको रहेछ। यसले स्थानीय पसल, सरकारी कार्यालय, केन्द्र र राज्य सरकारका विभिन्न निकायहरू, स्थानीय विद्यालयहरूमा पहिलो भाषा, दोस्रो भाषा वा तेस्रो भाषाका रूपमा नेपाली अपनाउन अनिवार्य गर्ने आदि जस्ता अभियान गरेर नेपाली भाषा प्रयोगमा जोड दिइसकेको रहेछ।
घ. नेपाली भाषा मान्यता पाएपछि पनि यस समितिले अझ जोड दिएको रहेछ। अहिले जति पनि भाषिक सुविधा पाएका छौं , त्यसमा अध्यययययन समितिको योगदान रहेको छ।
ङ. समितिले पहिले पहिले दुई दिनव्यापी भव्य भानु जयन्ती मनाउने चलन राखेको रहेछ। यस भानु जयन्तीका अवसरमा विद्यालय र स्थानीय सामाजिक संस्थाहरूबीचमा साहित्यिक प्रतियोगिता, सांस्कृतिक प्रतियोगिता आदि सम्पन्न गरिरहेको छ।
च. यसले वार्षिक रूपमा नाटक प्रतियोगिता पनि सम्पन्न गरिआएको थियो। सत्तर र अस्सीको दशकमा दुई दिन व्यापी नाटक प्रतियोगिता सम्पन्न हुने गर्थ्यो।
छ. यसले सन् १९६६ देखि आफ्नो पत्रिकाको नाम परिवर्तन गर्दै आएको रहेछ। शुरूमा संकेत, बीचमा हाम्रो संकेत र अहिले साहित्य संकेतका नाममा प्रकाशित गर्दै आएको छ। हालसम्म यसको एकचालिस अङ्क पुगिसकेको रहेछ। यसमा कविता, कथा, निबन्ध, समालोचना नाटक आदि प्रकाशित भएका छन्।
ज. यसले आफ्ना प्रायः प्रत्येक कार्यक्रममा कोही न कोही वरिष्ठ साहित्यिक व्यक्तित्वलाई अतिथिका रूपमा, नयाँ उदीयमान साहित्यकारहरूलाई वार्ताकार निम्ति डाक्ने चलन गरेको रहेछ।
झ. यसले नयाँ पुस्ताका साहित्यकार जन्माउन, अघि बढ्न, प्रेरणा प्रदान गर्न, पुरानालाई पालो दिन विभिन्न खालको कार्यक्रम गर्दैआएको छ। विद्यार्थीहरूमा रामायण पाठ, कविता, कथा, निबन्ध, नाटक, सांस्कृतिक प्रतियोगिता कार्यक्रम आदि गर्दै आएको छ।
ञ. यसले साहित्यिक विभूतिहरूको जन्मजयन्ती, जन्म शताब्दी, स्मृति सभा आदि आयोजना गर्दै आएको छ। हालसम्म यसले भानुजयन्ती, लश्र्मीप्रसाद देवकोटा जयन्ती, अगमसिंह गिरी जयन्ती, पारसमणि प्रधान जन्मजयन्ती मनाउँदै आइरहेको छ। यसका साथै यसले लेखनाथ पौड्याल शतवार्षिकी, पादरी गङ्गाप्रसाद प्रधानको १२५ औं जन्मजयन्ती, शिवकुमार राई शतवार्षिकी, रामकृष्ण शर्मा शतवार्षिकी कार्यक्रम सम्पन्न गरेको छ।
ट. कालेबुङको साहित्यिक भ्रमणमा आएका कालेबुङ बाहिरका साहित्यिक अतिथिहरूलाई सत्कारका रूपमा साहित्यिक कार्यक्रम गर्दै आएको पाइन्छ। हालसम्म भाक्सूका मगन पथिक, देहरादूनका भुपेन्द्र अधिकारी, सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी, भानु प्रतिष्ठान, नेपालका साहित्यकारहरू आदिको आगमनमा विभिन्न साहित्यिक कार्यक्रम सम्पन्न भएका छन्।
ठ. समितिले नेपाली साहित्यको कुनै पनि पुरस्कार पाउने विजेताहरूलाई पनि सम्मानित गर्दाएको छ। वार्षिक रूपमा साहित्य एकाडेमी पुरस्कार प्रापक नेपाली साहित्यिकार, पारसमणि प्रधान पुरस्कार, भानु पुरस्कार आदि जस्ता पुरस्कार पाउने साहित्यकारलाई सम्मानित गर्दछ।
ड. समितिकै पहलमा कालेबुङमा आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारसमणि प्रधान, अगमसिंह गिरीको प्रतिमा स्थापना गरेको छ।
ढ. समितिले बेला बेलामा साहित्यिक वार्ता, कार्यशाला, सङ्गोष्ठी, कविगोष्ठी, विश्व मातृभाषा दिवस, नारी सर्जक सम्मान, भाषा सेवा सम्मान आदि जस्ता कार्यक्रम गराएको छ। बाल साहित्य गोष्ठी, लोकसाहित्य गोष्ठी, नेपाली साहित्यमा कालेबुङको योगदान, नेपाली भाषा वर्तनी कार्यशाला, खेत कविता आयोजना, कथा गोष्ठी, कलेजस्तरीय शैक्षिक प्रशिक्षण आदि पनि गर्दैआएको छ। कालेबुङबाहिर गएर गाउँ-बस्तीतिर पनि समितिले विद्यार्थीहरूमा विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ। विद्यार्थीहरूलाई नेपाली भाषा र साहित्यप्रति रूचि जगाउनु प्रतियोगिता सम्पन्न गर्दछ।
ण. यसले कालेबुङ र दार्जिलिङ पहाडका कोही प्रतिभाशाली तर पुरस्कृत नभएका साहित्यकार, कलाकार, नेपाली भाषाको सेवा गर्ने भाषासेवी व्यक्ति र संस्थालाई पनि सम्मान गर्दछ।
त. यसको पच्चीसजनाको कार्यकारी समिति रहेको हुन्। प्रथम सभापति मोतीचन्द प्रधान हुँदै भाइचन्द प्रधान, टेकबहादुर ठकुरी, बसन्त कुमार सुब्बा, एम बी प्रधान, अमृत खालिङ, डा सरोजा राई, ज्ञान सुतार हुँदै अहिलेका सभापति जोग चामलिङ हुन्। यसैगरी हालसम्म पाँचजना मूलसचिव रही कार्य गरेका छन्। यसको स्थापनादेखि हालसम्म नै सक्रिय श्री कुमार छेत्रीको संरक्षकत्व र लामो समयसम्म मूलसचिवका रूपमा रहेका श्री बलभद्र शर्माको कुशल कार्यदक्षतामा समितिका धेरै काम भएका छन्।
थ. पहिले पहिले समितिलाई पारसमणि प्रधान, मोतीचन्द प्रधान, भाइचन्द प्रधान, महानन्द पौड्याल, हरिभक्त न्यौपाने आदिको परोक्ष प्रत्यक्ष साथ-सहयोग रहेको थियो।
द. समितिले कोही साहित्यकारको निधनमा शोकसभा गरी तिनको योगदानको परिचर्चा पनि गर्दछ।
ध. साहित्य अकादमी नयाँ दिल्ली, बि पी कोइराला भारत नेपाली फाउन्डेसनसित मिलेर साहित्यिक कार्यक्रम जस्तै दुई दिवसीय-एक दिवसीय सङ्गोष्ठी, लेखकसित भेटघाट, भाषिक कार्यशाला आदि जस्ता कार्यक्रम गरेको छ।
न. यो समितिले सरकारी तवरबटा खासै आर्थिक सहयोग र सहुलियत पाएको छैन। जति पनि कामकुरामा खर्च हुन्छन् ती जम्मै कालेबुङका जनताको चन्दा र सहयोगबाट गरिदैआएको छ। एक दुई पटक विधायक कोशबाट भवनको तला थप्ने काम गरेको छ।
ऩ. समितिलाई अझ सक्रिय रूपमा काम गर्न दिनका निम्ति सरकार, सांसद, विधायक, कोही पनि धनाढ्य महोदयहरूबाट अनुदान चाहिएको छ। पुस्तकालय र कार्यलय देखरेख गर्ने, वार्षिक रूपमा वितरण गरिने पारसमणि प्रधान, भाइचन्द प्रधान र पूर्ण राई स्मृति आदि पुरस्कारका रकम राशिका निम्ति एकमुष्ट गुठी (कोश) स्थापना गर्न, पुस्ताकलय कक्ष बढोत्तरी गर्न, अन्य संस्थागत खर्च आदिका निम्ति कोशको आवश्यकता परेको छ।
सन् १९६५ मा स्थापना भएको यसले समितिले आगामी वर्ष २०२५ लाई हीरक वर्षका रूपमा पालन गर्नेछ। डा बी बी गुरूङले स्थापनादेखि नै यसको गतिविधिलाई लिएर आजसम्मको लेखाजोखा गरेर तयार पारेको पुस्तकको नाम हो नेपाली साहित्य अध्ययन समिति अद्यावधिक यात्रा। यसमा समितिका अधिकांश कार्यको लेखाजोखा गर्ने काम गरेको छ। यस काममा डा. बी. बी. गुरूङद्वारा नेपाली साहित्य अध्ययन समिति : अद्यावधिक यात्रामा भन्ने पुस्तकले नेपाली समाजलाई यो संस्थाको योगदानको सही मूल्याङ्कन गर्न सकेको छ। पुस्तक अध्ययन गर्दा समितिले नेपाली भाषा र साहित्यको जगेर्ना गर्न, विकास गर्न बहुमुखी सेवा गरेको छ। स्थानीय साहित्यिक सर्जक, विद्यार्थीवर्ग, सामाजिक सांस्कृतिक संस्थाहरू र बाहिरका साहित्यिक संस्थाहरूलाई लिएर बहुमुखी काम गर्नेगरेको, आफैं सङ्घर्ष गर्दै जतिसक्दो काम गरिरहेको भारतको एक सबैभन्दा अग्रणी संस्थाको रूपमा रहेको छ भन्दा द्विमत नहोला। यसले अब भारतीय नेपाली कविता भन्ने ग्रन्थ पनि प्रकाशित गर्ने सुर कसेको छ। आगामी वर्ष २०२५ मा यसले आफ्नो स्थापनाको हीरक जयन्ती धुमधामले पालन गर्नेछ। यसका संस्थापकहरूको सपनालाई साकार पार्ने, अझ बढाएर लाने काममा जुटिरहेको यो संस्था भारतीय नेपाली साहित्यको सेवा गर्ने अठोट लिएको छ। नेपाली साहित्यका अध्येता, साहित्येतिहासकार र अनुसन्धाताका निम्ति डा बी बी गुरूङको पुस्तक ‘नेपाली साहित्य अध्ययन समिति : अद्यावधिक यात्रा’ सङ्ग्रहनीय र पठनीय छ।