(लघुकाव्य)
प्रथम उल्साल
छोराले अब देशभित्र रहने फेर्दै गएछन् प्रण
नौलो सोच उदाउँदैछ अहिले होलान् निकै कारण
देख्छन् उन्नतिका अनेक सपना होला विदेशै भलो
छाड्दै छन् घरबार गाउँ घर वा पुर्खाहरूको थलो ।।१।।
भिन्नै सोच भए सबै युवकले सन्मार्ग नौलो लिए
हाम्रा पौरखका कुरा कति थिए तथ्याङ्क नै बिर्सिए
ठान्छन् आज युवाहरू मुलुकमा बस्नै कहाँ पर्छ र
अर्कै दर्शनबाट प्रेरित भई छाडे युवाले घर ।।२।।
यस्तै सोच लिएर जीवन कतै टाढा बिसाए अनि
आफ्नो गाउँ भनेर पुत्र गणले सम्झेर आए पनि
ठान्छन् इज्जत हुन्न यो मुलुकमा के काम यो ठाउँको
सोच्छन् आउनु पर्छ मात्र घरमा राजा म पो गाउँको ।।३।।
लाई ताउ जुँगा म बस्छु घरको थान्को अरूले गरून्
बारी भित्र पसेर पारितिरकै आएर तोरी छरून्
सिन्कोसम्म नभाँची बस्छु मुखमा आफैं फुरौला झरून्
रानी मात्र भएर बस्तछु म ता पानी अरूले भरून् ।।४।।
दारी काटी कपाल छाँट्छु र यता नेतृत्व ढल्काउँछु
अर्काको अनुदानबाट जहिल्यै जुत्ता म टल्काउँछु
आफ्ना मूल्य र मान्यता पनि सबै बेचेर तन्काउँछु
कोठै भित्र सुतेर देशधुनको क्यासेट घन्काउँछु ।।५।।
मेरो इज्जत जान्छ यो मुलुकमा सिन्को समाएँ भने
पाले बन्न सकिन्न पारितिर ता खुट्टा कमाएँ भने
अर्काको घरमा गई दिनदिनै पोछा लगाए पनि
गर्नै पर्दछ आत्मगौरव त्यहाँ आच्ची उठाए पनि ।।६।।
जस्तै काम परून् वहाँँ परपरै आँखा छली गर्नु छ
आफ्ना दाजु र भाइका अघि धुलो आँखा भरी छर्नु छ
देशैभित्र पसेर घाँस हरियो टुप्पो सधैँ चर्नु छ
हामी माथि हुँदै छ टिप्पणी तितो छक्कै बडो पर्नु छ ।।७।।
आफ्नो खेत कता म जोत्नु उनको बाँझो जिमी जोत्तछु
आफ्नो आँगन पोत्न सक्तिनँ उता पुग्दै चुलो पोत्तछु
आफ्नो देश सपार्नलाई पसिना झारेर के हुन्छ र ?
जे बोले पनि बोल्छु यो मुलुकमा बोलेर को सुन्छ र ।।८।।
बाँझै खेत परून् र बाँदर चरून् पाकेर अम्बा झरून्
गल्लावाल छिरी युवा घरघरै छानेर भर्ती गरून्
मान्छे बेच्न दलालका हुलहरू आई सिमाना तरी
लोभ्याएर दलालको हुल जहाँ जानेछ चारो छरी ।।९।।
छोरो रुन्छ रुँदै गरोस् पुगी उता आकाशवाणी गर
त्यस्तो लङ्गड देशमा नबस हे त्यो देशको के भर
हीराका रुख छन् फलाउनु यतै कोदो त्यहाँ उम्रन
छाड्यो बस्नु त्यहाँ बसेर तिमीले पर्ला त्यसै खुम्रन ।।१०।।
जैलेसम्म रहन्छ तागत यतै खर्चेर फिर्ने गर
सक्छौ गर्न भने सबै गर यतै सल्लाहमा के छ र
नौनाडी जबसम्म चल्छ तहिलेसम्मन् रहोस् यो क्रम
त्यस्तोमा अनि फिर्नु देशभर नै पाइन्छ वृद्धाश्रम ।।११।।
मौका यो छ विदेश छिर्न सजिलो आऊ तिमी आऊ है
स्वास्नीका गहना र सिन्दुर चुरा बेची भिसा लाऊ है
आमाको मुख अग्नि गर्न सबमा जिम्मा तिमीले दिनू
जारी चाहिं त्यहाँ उठाउनु परे आफैँ पुगी आउनू ।।१२।।
त्यस्ता स्वागतका कुरा कति सुनी पर्देश छोरो गयो
छोराबाट समस्त त्याग जब भो बारी सबै बँझियो ।।
स्वर्गैको डिङ हाँकी भन्छ सुनका टल्काउनेछ्यौ चुरी
आमाका मुखमा तथा नयनमा पर्छन् यता चाउरी ।।१३।।
भट्टीभित्र छिरेर जाँड नघिची ओद्रो नभर्ने यहाँ
गाँजा रक्सी र खाल भित्र नछिरी लाग्दैन निद्रा यहाँ
यस्तो भार सकिन्न बोक्न कहिल्यै केको यता सुध्रियोस्
खाडीभित्र छिरेर सुध्रिन सके जाओस् उतै मुन्टियोस् ।।१४।।
आमा पत्नी र बाबुको श्रम घिची भट्टी सधैँ पस्तछ
भोको गोरु कराउँदैछ ऊ भने क्यारेममा मस्त छ
यस्तो भार उचाल्न सक्तिनँ भनी यो देश नै त्रस्त छ
फर्की आउनु मात्र पर्छ घरमा भान्जो भई बस्तछ ।।१५।।
अर्काको धनमा र चेलीतिर नै आँखा सधैँ लाउनु
अर्काकै गुन गाउँदै दिनदिनै आराम फर्माउनु
झुप्रो यो चुहिएर झन् ढलिरहोस् व्यर्थै कता छाउनु
यस्ताले घर सम्झिएर अहिले फर्केर के आउनु ? ।।१६।।
ताक्छन् बाबु मुढो कुपुत्र जहिले ताकेर बस्ने घुँडो
आमाको पसिना चुहुन्छ घरमा पाक्तैन थोरै ढिँडो
धेरै काम गरी विदेशतिरको फोहोर नै चाख्तछ
केही काम बिनै यतातिर भने आलस्यले थाक्तछ ।।१७।।
छोरो छैन तथापि नाति छ यतै भन्ने थियो बाबुमा
त्यो ता झन् अज जन्ड पो हुन गयो आओस् कता काबुमा
तेलै बल्दछ पानी हाली कहिल्यै त्यो दीप के बल्दछ
सल्लाका रुखमा नसोच कहिल्यै अम्बा कहाँ फल्दछ ।।१८।।
धेरै बाध्य भएर यो मुलुक नै छाडेर भाग्नै प¥यो
बाँच्ने आस जसै रहन्छ मनमा भागेर बाँच्नै प¥यो
रित्तै देश भयो निशाचर यहाँ आएर भेदेपछि
आतङ्की हनुमानले मुलुकका सन्तान खेदेपछि ।।१९।।
केही काम हुँदैन गर्नु पहिल्यै झ्याम्लेहरू आउँछन्
मागेको जति पुग्नु पर्छ नदिए आतङ्क मच्चाउँछन्
आफ्नै देश भनी यहाँ घर बसी के घाँटी घोक्र्याउनु
पुर्खाको गुणगान गर्नु छ त्यहाँ भुत्रो छ के पाउनु ।।२०।।
आऊ देशतिरै भनेर सबले लेख्छन् सुनौला कथा
के बुझ्छन् नबुझी त्यसै मुलुकको झन् छक्क पर्छु म ता
लौ फर्केर गएँछु रे घरतिरै फर्केर के पाउनु
आफ्नै देश अरे अनेक जनले खेद्छन् कता आउनु ।।२१।।
मायाले घरमा फिरे पनि अझै हामी कुटिन्छौं अरे
अन्तर्राष्ट्रिय त्यो विमान थलमा हामी लुटिन्छौ अरे
आफ्नै भाइ लुटेर दाजु र दिदी जो भोज खान्छन् अरे
नाङ्गेझार हुँदै फिरेर घरमा के पुग्नु होला हरे ।।२२।।
खानीको नगरूँ कुरो मुलुकले बेचेर पानी पनि
बन्थ्यो देश तुरुन्त स्वर्ग सरिको फेरेर बानी पनि
हुन्थ्योँ हामी स्वदेशभित्र बलिया हामी गनिन्थ्यौँ तब
यस्तो सोच्नु विडम्बना छ अहिले त्यो देशमा वास्तव ।।२३।।
दर्ता गर्न समेत खान्छ घुस जो त्यो राष्ट्रको सेवक
पोका खोल्न सिपालु दुष्ट गण नै निष्णात अन्वेषक
धोक्रा हुन् घुसका महा अधमको हो काम धोक्र्याउनु
आफ्नो देश भनेर हामी अब यो के नाक घोक्र्याउनु ?? ।।२४।।
हेर्दैमा जिउ डालको छ गतिलो मान्छे बडो खास छ
डिल्ली हाँक्छ करोडको जिउ भने आलस्यको दास छ
लाग्छन् आउनु मात्र पर्छ उसका आई भरौटे सब
भित्री ज्ञान विवेक हुन्न जसमा के हुन्छ त्यो मानव ।।२५।।
केही बोल्नु हुँदैन ङ्याक्दछ स्वयं डाको उसैको ठुलो
आफू ठान्दछ स्वर्ग तुल्य दुनियाँ संसार नै बाटुलो
ज्यादै भिन्न छ सोच भित्र उसमा सम्झाउनै व्यर्थ छ
साँढे गोरु पघा लगाउन यहाँ खोजेर के अर्थ छ ।।२६।।
सिङ्गै देश उचाल्दछन् युवकले भन्दै ग¥यो भाषण
तान्दै भोट लियो र फेरि तिनमै हाबी भयो शासन
अत्याचार गरेर फेरि तिनमै लादिन्छ झन् शोषण
भागेका परदेशका युवक जो फर्केर आउन् किन ? ।।२७।।
बस्नै हुन्न यहाँ कुनै युवकले हुल्छन् सधंै जङ्गल
आफ्नो पर्दछ पुत्र जो हरणमा होला कहाँ मङ्गल
बग्छन् अश्रु सदा तथापि तिनले खोज्नै कता धाउनु
यस्तो राक्षसको छ बिग्बिगी त्यहाँ खै शान्ति के पाउनु ? ।।२८।।
मान्छे लाग्दछ कर्मवादतिर नै तत्काल क्यै पाउन
चाँडै उन्नतिको सिंढीतिर चढी आनन्द भेट्टाउन
सोझा निस्छल देशभकत जनको गर्ने सधैं शोषण
नेताकै पछि लागि जिन्दगी भरी को सक्छ चिच्याउन ? ।।२९।।
हाम्रै वैभव बेच्न मात्र चतुरा मन्त्रीहरू आउँछन्
साँच्चै हो कि त झैं गरेर तिनले सन्देश घन्काउँछन्
फोस्रा भाषणमा विकासतिरको बाटो सधैँ धाउन
रित्तो पेट लिएर सक्छ कसले नारा त्यहाँ लाउन ? ।।३०।।
हाम्रै वैभव बेच्न मात्र चतुरा मन्त्रीहरू आउँछन्
साँच्चै हो कि त झैं गरेर तिनले सन्देश घन्काउँछन्
फोस्रा भाषणमा विकासतिरको बाटो सधैँ धाउन
रित्तो पेट लिएर सक्छ कसले नारा त्यहाँ लाउन ? ।।३१।।
आफ्नो भाग्य खुलाउने मन गरी दिन्छन् सबैले मत
कोही ता मतदान मात्र नगरी भो सर्वको सम्मत
मानौँ ठान्दछ ईश्वरै हुन गयो फर्केर के आउनु
रित्तो मन्दिरबाट भक्तहरूले आशीष के पाउनु ? ।।३२।।
बाँकी बेच्नु परेन यो मुलुकले बेचेर ढुङ्गाहरू
कायाकल्प गरेर छाड्छ अहिल्यै धेरै कुरा के गरूँ
हाम्रा रत्न हिमालका जडिबुटी हीरा छ यो बालुवा
आँटे जे पनि हुन्छ आँट छ कहाँ नेता परे पालुवा ।।३३।।
केही पाउनु छैन नागरिकले कल्याणको नाउमा
तिर्छन् छाक कटाई राज्य कर जो बस्छन् तिनै गाउमा
साह्रै हुन्छ बिजोग फेरि तिनकै माथि हुने शोषण
आफ्नो जेब भरेर बस्दछ उता त्यो दुष्ट नेतागण ।।३४।।
पानी हुन्छ अभाव खान सजिलै पाइन्छ रक्सी तर
आफ्नो देश भनी सचेत रहने नेता यहाँ को छ र
मिथ्या बोल्नु छ नित्य त्यो मनुजको विश्वासमा के भर
त्यस्ताका पछि लाग्न सक्तिनँ म ता बन्ने यतै नोकर ।।३५।।
नेताकै भरमा परेर जनता हाल्छन् उसैमा मत
आफ्नो देश विकास गर्न सबले ठान्छन् ठुलो तागत
जित्नासाथ हिंँड्यो कतातिर गयो देखाउँथ्यो के मुख
त्यस्ताका भरमा परेर जनले के पाउँदा हुन् सुख ।।३६।।
भाषा भित्र भयो विशाक्त हमला गर्नेहरूका सिङ
फुक्लेछन् जनता मिलेर अहिले हाल्ने भएछन् हिङ
साँढे डुक्रन सक्छ फेरि अहिले हारेर भागे पनि
फर्केला अझ त्यो सतर्क नरहे डाँडो कटाए पनि ।।३७।।
केही भन्नु हुँदैन वृद्ध अहिल्यै खोक्ला कि भन्ने डर
कुण्ठा पोख्न सिपालु लाग्छ मसँगै पोख्ला कि भन्ने डर
भाषाका पथमा तिखालु फरुवा हान्ला कि भन्ने डर
थाप्लैमा भिरको छ आसन कतै खस्ला कि भन्ने डर ।।३८।।
भाषाका पथभित्र आज यिनले रोडा छरेकारो किन
बामे सर्नु कता कता छ तिनले घोडा चढेको किन
मान्छे भित्र कुतर्कका कुमतिका भुल्काहरू आउँछन्
थान्को गर्न ढिला भयो कि तिनले आतङ्क मच्चाउँछन् ।।३९।।
ठान्थेँ जीवन यो अमूल्य तर यो फोका भयो मित्र हो
टोलै ह्वास्स गनाउने भिमसिने बोका भयो मित्र हो
यौटै चुक्कुल अड्किँदैन किन हो ढोका भयो मित्र हो
एकै जात फुरेन आज कविता धोका भयो मित्र हो ।।४०।।
आगो भित्र लिएर राक्षस कुनै नाचेछ नाचेछ कि
मान्छेको क्षमता समस्त उसले जाँचेछ जाँचेछ कि
जाडोको छ अकाल यो बखत त्यो मानिन्छ सञ्जीवनी
तातो वायु डढाउँदै छ अहिले ज्वालामुखी झैँ बनी ।।४१।।
मौका आउँछ छेउछाउ त्यसमा राखिन्न चासो जब
मेटिन्छन् पुरुषार्थका पलहरू चासो विना वास्तव
मान्छे के पछि सर्दथ्यो प्रगतिको सुस्वाद चाखेपछि
गुम्छन् उन्नतिका अनेक सपना चासो नराखेपछि ।।४२।।
जे पायो अधिकार मात्र त्यसमै सन्तुष्ट बन्ने गर
चाहेको जति प्राप्त हुन्छ कसरी त्यस्तो यहाँ को छ ?
लेखेको छ निधारमा नियतिले मेट्ने कहाँ हिम्मत
त्यो हाम्रो अधिकार हैन प्रभुकै हो सर्व जो सम्मत ।।४३।।
आफैँ दुष्तर हुन्छ जीवन कला माया नलागेपछि
पाइन्नन् अधिकारका फलहरू आफैँ नमागेपछि
मान्छे क्लान्त विरक्त बन्छ उसमा विश्वास थाकेपछि
आफैँ झर्दछ वृक्षबाट सरिफा तत्काल पाकेपछि ।।४४।।
हामी हौँ अधिकारयुक्त कसले रोक्ला र हाम्रो बल
भन्ने सोच लिएर मानव स्वयं गर्दैछ आफैँ छल
त्यस्तो सोच हुने कुनै मनुज नै बर्सादको हो भल
के होला तिनको कुनै दिन यहाँ मस्तिष्क त्यो निर्मल ।।४५।।
के मास्ने बिरुवा कुनै जमिनमा आफैँ उमारेपछि
भत्केलान् सब योगका पलहरू आफैँ बिगारेपछि
रित्तो लाग्दछ जिन्दगी पलपलै मौका गुमाएपछि
के हुन्थ्यो जब स्वर्गबाट प्रभुको सन्देश आएपछि ।।४६।।
यस्तो काव्य कताकतातिर पढेँ के बुझ्नु मैले यहाँ
सिङ्गै देश रुँदैछ धर्धर गरी पढ्दैछु ऐले यहाँँ
बैरीका घरमा बुझाउन छिटो होड्बाजी चल्दैछ रे
खुट्टैमा निहुरेर देश अहिले ढल्दैछ ढल्दैछ रे ।।४६।।
देशै भित्र बसेर बन्धु जनले उद्योग थाले पनि
ठेकेदार र भ्रष्टका मुखभरी आहार हाले पनि
पार्टीको अखडा बनेर छिनमै नासिन्छ नासिन्छ त्यो
पल्टाएर तुरुन्त टाट त्यहीँ नै भासिन्छ भासिन्छ त्यो ।।४७।।
हाम्रोमा दरबार दिल्लीतिरको चल्दैछ रे शासन
अर्काकै घरपालुवा अझ मिठो गर्छन् अरे भासन
कामै हुन्छ त्यहाँ गएर जहिल्यै दोकानमा खर्कनु
गाँजा, भाँग चुटोट तान्न किन हो मैले त्यहाँ फर्कनु ?।।४८।।
नाकाबन्द गर्यो स्वयम् पछि स्वयम् नाका खुलाएर के
मेरो देश भनेर मित्रहरू हो छाती फुलाएर के
केही काम हुँदै हुँदैन घुसको कुम्लो बुझाएर के
वैरी गर्न सखाप हात सबले रित्तै उझाएर के ? ।।४९।।
मर्छन् भोक र रोगले घरघरै यो देशका सन्तति
पाखण्डी गणले निरन्तर गरे यो देशको दुर्गति
हाम्रो देश थियो अखण्ड यिनले खोक्रो बनाए अब
भाग्लान् तुच्छहरू विदेशतिर पो धोक्रो बनाए अब ।।५०।।
देशै शान्त थियो प्रचण्ड पथको सल्क्यो डढेलो जब
पाखा काँठ र बेँसी फाँट सबमा हैँजा पुग्यो वास्तव
हैँजामा जब राष्ट्र सल्कन पुग्यो हामी बचेका उता
अर्काको घरमा लिई शरण यो भागेर आयौँ यता ।।५१।।
आयो पत्र पढेर छट्पट भयो फर्कूँ कि फर्कूँ कि म
आफ्नो देश फिरेर जान अझ झन् तर्कूँ कि तर्कूँ कि म ।
आफ्नो प्रेम उता रुवाउनु पर्यो हामी पर्यौँ चेपमा
आफूलाई यता कुवाउनु पर्यौ सारै पर्यौँ सेपमा ।।५२।।
बुझ्ने को छ र भित्रभित्र तहमा हामीसँगै चोट छ
गर्ने सोच थियो उतैतिर बसी उल्टै ठुलो खोट छ
पुर्खाको सब त्यो धरोहर त्यजी ठोक्यौँ यता चम्पट
हाम्रो सोच बुझेन त्यो मुलुकको सत्ता भयो लम्पट ।।५३।।
नेपालीपन त्यागिँदैन यसमा माया छ हाम्रो पनि
कोशी तम्मरका किनारतिरको छाया छ हाम्रो पनि
अर्काको बँधुवा हुने रहर के होला र हाम्रो पनि
माटोमा मुटुमा र मान्यगणमा माया छ हाम्रो पनि ।।५४।।
केही तुच्छ र भ्रष्ट दुष्ट गणले नेपाल छाए अरे
सारा अर्थ विदेशको स्थिति सबै पोली चपाए अरे
हाम्रो पौरखको लुटेर पसिना बेचेर खाए अरे
नेपाली हुँ भनेर ढोलक त्यहाँ धेरै बजाए अरे ।।५५।।
अर्काको करिया भएर सबले बाँचेर के हुन्छ र
हाम्रो देश सदैव उन्नत बनोस् हामी बनौँ निर्भर
भन्ने सोच हराउँदै किन गयो सोच्ने त्यहाँ को छ र
आफ्नैमा सुख शान्ति उन्नति भए को छाड्छ आफ्नो घर ।।५६।।
नौलो उन्नतिबाट मात्र पछि भो संसारमा सभ्य छ
हाम्रो मौलिक सभ्यता पनि अझै त्यो देशमै भव्य छ
संसारै भरबाट पर्यटकको माया र गन्तव्य छ
बाँकी भन्न रहेन शेष अहिले यो मात्र मन्तव्य छ ।।५७।।
के बस्छौ त विदेशमा बरु यतै आएर केही गर
अर्काको लय छाड फर्क घरमा भन्ने छ चिठ्ठी तर
यस्तो आग्रहले पिरोल्छ अहिल्यै फर्केर जाऊँ बरु
भन्ने लाग्छ यता उतारित गई सम्झन्छु खै के गरूँ ।।५८।।
सोच्ता हुन् सब इष्टमित्र यिनको संसार नै सम्म छ
खाई बस्नु त्यहाँ छ पेट त्यसको सन्तोषले डम्म छ
यस्तो व्यर्थ नसोचियोस् जनक हे छोरो उता गम्म छ
हामीमा पनि देशभक्ति गहिरो छाती भरी टम्म छ ।।५९।।
मैले उन्नतिको विशाल पहरो फोर्नै नसक्ने भएँ
मेरो भाग्य कता म कोर्न सकुँला कोर्नै नसक्ने भएँ
धेरै आँसु बगेर देश अहिले सारै भयो निर्बल
रित्ता छन् घर देश त्याग्दछ यहाँ सारा युवाको दल ।।६०।।
लाखौँ तर्क वितर्कले मन यसै आक्रान्त पारे जब
मेरो लक्ष्य भएर शून्य सहजै हार्दै गएँ वैभव
मैले आँसु खसाल्नु व्यर्थ छ स्वयं संंस्कार पोलेपछि
यस्तो एक मिल्यो विशेष कविता सञ्जाल खोलेपछि ।।६१।।
पृथ्वीनारायण उवाच
टुक्रा धेर थिए यही जमिनका यौटै बनायौँ मिली
लुछ्थे दक्षिणबाट शत्रु गणले या खान सक्थे निली
माला एक बनाउने सुर थियो माला सुनौलो उन्यौँ
योद्धा धेर थियौँ सशक्त सबले यो देशलाई चुन्यौँ ।।६२।।
मैले जीवन अर्पिएँ र पसिना नेपालभित्रै छरेँ
मेरो त्यो अभियानका गतिसँगै काली र टिस्टा तरेँ
माटो चन्दन झैँ म ठान्छु जसको मैले तपस्या गरेँ
माटैभित्र फुलेँ फलेँ प्रगतिको ऊर्जा यसैमा छरेँ ।।६३।।
मेरा वीर समस्त लस्कर बनी मेरै पछाडि थिए
धावामा तिनले अगाडि म हुँदा होस्टे दिएका थिए
झन्डा सूर्य र चन्द्र अङ्कित त्यहाँ आई उचाले जब
मेरो त्यो अभियानको क्षण त्यहाँ साकार भो वास्तव ।।६४।।
यो माटो किन लाग्छ लत्पत जहाँ आस्था जमेको थियो
लाखौँको वलिदानबाट बिरुवा जो उम्रिएको थियो
यौटा उच्च अखण्ड राष्ट्र जसले नेपाललाई दियो
मेरो त्यो अवदान आज किन हो नेपालले बिर्सियो ।।६५।।
ऐलेसम्म छँदैछु खेद्छ कसले खेदी लखेटिन्छु र
खोज्ने हो सबका सबै हृदयमा अन्यत्र भेटिन्छु र
भाडाको हतियारले जतिसुकै रेटेर रेटिन्छु र
माटोमा मुटुमा छु जीवित सदा मेटेर मेटिन्छु र ।।६६।।
को भेट्ला सयतर्फ खोज गरिँदा सिङ्गै धरामा छु म
आफ्नो अर्जित देशको जमिनमा वा मृत्तिकामा छु म
मर्ने छैन हिमाल झैँ अटल भै बस्ने कुनै सत्य हुँ
सिङ्गो देश फुलाउने सृजनको त्यो विक्रमादित्य हुँ ।।६७।।
यस्तो सुन्दर देशक्तिमहिमा सञ्जालमा भेटियो
आँखाका डिलबाट आँसु नुनिलो धारो बगेझैँ भयो
पढ्दा यो रचना हियातिर कतै काँडो बिझेको थियो
केही शान्त भएर देशतिरकै झन् प्रेम पोे उर्लियो ।।६८।।
तिम्रै उन्नत सोचबाट अब ता यो देश होस् निर्भर
आऊ लौ न युवा तिमी बस यतै आएर केही गर
भन्ने आग्रह छन् अनेक थरिका के सक्नु थन्क्याउन
गुम्स्याएर कहाँ म राख्नु मनमा के सक्नु गुम्स्याँउन ? ।।६९।।
हामी झैँ कति इष्टमित्र सपना देखेर बस्ता हुनन्
तत्कालै रुखबाट झर्छ रुपियाँ यो सोच राख्ता हुनन् ।
यस्तो सोच दरिद्र हो युवकले यो सोच फालेपछि
देशै सप्रिन थाल्छ मूल तहमा माया पलाएपछि ।।७०।।
धेरै अन्न फलाउने जमिन नै बाँझा परेका हुनन्
आफ्नो खेत र बारी फाँटहरूमा धाँजा परेका हुनन् ।
यो बेला मरुभूमिकै कहरमा डाम्दै छु डाम्दै छु म
आफैं भित्र हुती हराउन पुग्यो काम्दैछु काम्दै छु म ।।७१।।
मानौँं देश फिरेर भोलि म गएँ त्यो देश के पाउला
सारा बर्गत खर्च हुन्छ यहीँ नै उत्साह के आउला
पिण्डै खान फिरेर जानु छ उता के भो र हाम्रो भर
पानीकै मरुवा भएर अहिले के जानु आफ्नौ घर ।।७२।।
गोठाला गणले लगेर वनमा गाई चराए हुनन्
यो बेला मनको मिठो लयसँगै क्वैली कराए हुनन्
मायाका दहभित्र स्वच्छ मुटुको साटेर माया उता
तन्नेरी तरुनी स्वयंंसँग स्वयंं मानौँ हराए हुनन् ।।७३।।
मेरो चित्र सँगै मलाई अहिले छोएर बस्दी हुनन्
पोको मात्र अभावको दिनदिनै फोएर बस्दी हुनन्
झारी आँसु र दुर्दशा छिनछिनै धोएर बस्दी हुनन्
मेरो जीवन मार्गकी सहचरी रोएर बस्दी हुनन् ।।७४।।
धेरै कारणले विदेशतिरको ध्याउन्न भो देशमा
देखिन्छन् सुकिला नयाँ चहकिला नेता सफा भेषमा
भाषा जाति र द्वन्द्वको बिख यता यो देशमा सल्कियो
मेसै बस्न नपाई यो मुलुकको अस्तित्व गुम्ने भयो ।।७५।।।
उर्लन्छन् कुँडुली परेर मनमा खोल्सा र छाँगाहरू
टल्कन्छन् भुमरी परेर रुखका टुप्पा र हाँगाहरू
चम्कन्छन् मन भित्र भित्र पहरा बस्ती र पाँगाहरू
उफ्रन्छन् तर देशको जमिनमा उन्मत्त डाँडाहरू ।।७६।।
आमा बाबु खसाली आँसु अहिले झोक्राउँदा हुन् उता
खेतालासरि छौँ विदेशतिर नै हामी भएका यता
आँखा भिज्दछ सम्झियो कि मनले टप्कन्छ आँसु खसी
माया मात्र भएर हुन्न मनमा के गर्नु भोकै बसी ।।७७।।
निम्ता साथ फिरे युवा खुसी हुँदै बन्दै बडो चञ्चल
छाडी कर्म तुरुन्त फर्कन पुग्यो धेरै युवाको दल
आफ्नै बान्धव मार्न निम्ति तिनले गर्दा रहेछन् छल
अर्काका भरियाहरू मुलुकमा हुन्छन् कहाँ निर्मल ? ।।७८।।
भो भो भो अति धेर भो अति भयो काम्लो भिरायौ किन
आफ्नो देश अखण्ड राख्नु छ म ता बाँकी कुरो जान्दिनँ
हाम्रो देश दुहेर खान तिनको प्रख्यात भाँडो भयो
लैजाऊ गणतन्त्र यो मुलुकमा चाहिन्न घाँडो भयो ।।७९।।
यौटै गीत सुनिन्न भित्र मनमा छाती छचल्काउने
नेपाली पनमा मिठास धुनको माया झझल्काउने
के भो के सब बुल्किँदै अघि सरे सङ्गीत बल्झाउने
भो भो भो बरु चाहिएन तिमी नै छौ एक अल्झाउने ।।८०।।
हुन्थ्यो सभ्य र शिष्ट गायन कला अश्लीलमा जाकियो
झ्याम्लेका नखराहरू अति हुँदा त्यो साधना ढाकियो
केही मत्लब नै रहेनछ यहाँ अर्ती दिँदै थाकियो
बेर्थैमा अमिलो भएछ मन यो काँचो हुँदै पाकियो ।।८१।।
कैले दक्षिणबाट शासित हुने हाम्रो तितो भाग्य छ
कैले उत्तरबाट ताडित हुने हाम्रै तितो भाग्य छ
हाम्रा वैभवमाथि दाइँ परले गर्दा भयौँ निर्धन
फर्केलान् घरमा नयाँ पलहरू भन्दै बित्यो जीवन ।।८२।।
सिङ्गो जीवनका बिते पलहरू खोजेर हिँड्दै सुख
पाकेका फल छन् भनी कठिनले व्यर्थै चढ्यौँ यो रुख
यो बेला पनि बाल्यकालसरिको फिर्दैछ त्यो छुक्छुक
खेल्नै हुन्न लडाइँ वृद्धजनले बढ्दो युवासम्मुख ।।८३।।
फर्केनन् अझ भाग्यका दिन भनी के थाल्नु एक्लै रुन
मानौँ छिद्र परेछ जीर्ण कपडा के थाल्नु व्यर्थै धुन
आफू वामनझैँ छु त्यो मुलुकको के सक्नु यात्री हुन
सल्लाका रुखमा चढेर चुचुरो के सक्नु मैले छुन ।।८४।।
भोकैले बरु मर्छ बाघ खरुकी चर्दै कहाँ खान्छ र
कालो दाग कलङ्कको हुन पुगे मेटेर के जान्छ र
पालेका घरभित्रको कुकुरले स्यालै कहाँ मार्छ र
बल्छी खेल्न सिपालु हुन्न जसले माछा कहाँ पार्छ र ।।८५।।
यस्ता धेर विचारपूर्ण रचना पढ्दै छु चारैतिर
भाषा धर्म र जातिको कलह यो झोस्छन् सबै आखिर
कोही छैन निभाउने बरु यहाँ झोस्नेहरू मात्र छन्
अर्काको मुखको बुझो पनि यहाँ खोस्नेहरू मात्र छन् ।।८६।।
हाम्रो देश लुटेर लान कति छन् धेरै सिपालुहरू
हामी चाहिँ विदेशको ढुकुटीमा भर्छौं खजानाहरू
ऊर्जाको सब स्रोत देशभरको बग्दैछ अर्कैतिर
आफैँ भित्र विराज देवहरू छन् खोज्नु कता मन्दिर ।।८७।।
टल्कन्छन् घर छेउछाउतिरका खोल्सा र पाखाहरू
अल्झन्छन् मनभित्र भित्र किन हो आलोक भाकाहरू
बल्झछन् प्रतिविम्बमा रहरिला नौला तरेलीहरू
सारै आउँछ सम्झना विगतको भिज्छन् परेलीहरू ।।८८।।
गाई वस्तु चराउँदा वन गई घन्काउँथ्यौं जङ्गल
गोठालासँग भित्र बाहिर त्यहाँ मायाँ थियो निर्मल
केही भुल्न सकिन्न त्यो सब गयो खोजेर भेटिन्छ र
चाहे मेट्न प्रयास गर्छ उसले मेटेर मेटिन्छ र ? ।।८९।।
‘ख्वाऊ पोस र पाल’ कै कहरमा फस्तै गयो जिन्दगी
नानाकै अनिकालको कहरमा पस्तै गयो जिन्दगी
आफू चाहिं निमित्त मात्र परको जस्तै भयो जिन्दगी
मेरो लक्ष्य थियो उँभो तर उँधो खस्तै गयो जिन्दगी ।।९०।।
हाम्रो सोच थिएन केही नगरी बस्ने उता गाउमा
आफ्नै देश सपार्न निम्ति सजिलै लाग्थ्यौँ कुनै ठाउमा
लाखौँ लाख लुकाउँदै पिरहरू हामी यता भासियौँ
हाम्रा भाव समस्त अल्पिन पुगे हामी यसै नासियौँ ।।९१।।
भैगो धेर गरेर गन्थन यहाँ लन्ठा नपारौँ अब
हाम्रा गन्थनबाट गाउँघरमा टन्टा नपारौँ अब
भन्ने सोच रहन्छ यो मन यता वैलाउँदै गो अब
आफ्नो देश चिरा चिरा परिसक्यो हेरेर बस्छन् सब ।।९२।।
खोज्दा हुन् कति इष्टमित्रजनले साथी कता गो भनी
खोज्दा हुन् कति बन्धुबान्धबहरू छोरो कता गो भनी
काबेली र तमोरका लहरले सर्वत्र खोज्दा हुनन्
सल्लाका रुख हल्लिई घरतिरै हेरेर सोध्दा हुनन् ।।९३।।
आमाको ममता लुकाउनु कता भिज्छन् परेली यहाँ
प्यारीको अनुराग बिर्सनु कहाँ भिज्छन् परेली यहाँ
छोरीको मृदु हास बिर्सनु कहाँ भिज्छन् परेली यहाँ
झार्नै आँसु सकिन्न यो मुलुकमा झारूँ म आँसु कहाँ ? ।।९४।।
जो फोर्छन् ढुकुटी समग्र उनकै झन् हुन्छ उत्कर्षण
सोही गर्दछ देशभक्त गणको आलेख मूल्याङ्कन
अर्काकै करिया बनाउन त्यहाँ खुल्छन् सधैँ फाटक
के हेर्ने त्यस ठाउँमा अधमका मूख्र्याइँको नाटक ? ।।९५।।
सस्तो बिक्रय हुन्छ नागरिकता बेचेर जो मस्त छन्
पैकारीगण लेनदेनतिर नै बेच्नेहरू व्यस्त छन्
ऊर्जाशील युवा सबै हिँडिसके केले हुने निर्भय
माटाको ममता हराउन गयो उब्जन्छ यो संशय ।।९६।।
देशै बेच्न सिपालु जो छ त्यसले दुष्कर्म के ठान्छ र ?
हाम्रो गाँस र बास सास छ त्यहाँ उस्को छ अन्तै घर
आमा सन्तति नित्य बेच्छ जसले उस्लाई के हुन्छ र
त्यस्ता तुच्छ कृतघ्नबाट अहिले त्यो देश भो निर्भर ? ।।९७।।
अर्काकै इतिहास रच्न जहिल्यै हामी भयौँ तत्पर
हामी भित्र अनन्त साहस डुब्यो बुझ्ने यहाँ को छ र ?
आफ्नो देश भनेर मात्र नहुने के गर्नु भोकै बसी
को बस्ला परिवारमा अबुझ भै भोको खरानी घसी ।।९८।।
पानी भित्र डुबेर फेरि सजिलै सक्ने कता पौरन ?
केही ठाउँ नपाउँदा जति गरौं सक्ने कता बौरन ?
हामी ठाउँ विनै स्वदेश भरि नै गर्छौं त्यसै जम्जम
सक्छौं ठाउँ मिले तुरुन्त अहिल्यै आकाशलाई छुन ।।९९।।
हामी भित्र अनन्त छन् सृजनका सम्भावनाका कला
हामी भित्र विशिष्ट साधकहरू बोकेर हिँड्छन् गला
मेसै बस्न सकेन भित्र कति छन् निर्माणका छट्पटी
अर्काको करिया बनेर अहिले झन् लाग्छ यो खट्पटी ।।१००।।
आयौँ हामी विदेशमा किन हरे छन् बन्द बाटाहरू
बाँझै छन् सब खेत फाँट र गरा फोक्टा र पाटाहरू
उब्जन्छन् मन भित्र भित्र धमिला थोप्ला र टाटाहरू
चर्कन्छन् मनभित्र नै विरहका नौलाख खाटाहरू ।।१०१।।
हामी हौँ गतिला भनेर पहिले फुर्ती बडो लाउँथ्यौ
अर्काको अघि लम्पसार नपरे सत्ता कहाँ पाउँथ्यौ
झुम्रै बन्नु परेछ पस्रन हदै सक्ने रहेछौ सब
ढाल्नेको बिरुवा उमार त्यसमा अम्बा फलाऊ अब ।।१०२।।
यस्तै धेर कथा व्यथा र कविता पढ्दैछु टाढै बसी
केही गर्न सकिन्न त्यो मुलुकमा व्यर्थै खरानी घसी
हामी आज स्वयं यतातिर छिरी अर्धानु जस्ता भयौँ
ङिच्याई कति बस्नु लालच लिँदै नामर्दझैँ देखियौँ ।।१०३।।
हाम्रो वैभव त्यो बगेर अहिले जाँदैछ अर्कैैतिर
रातारात करोडको जडिबुटी बेचिन्छ अर्कैैतिर
हाम्रै जङ्गल फाँटका जडिबुटी हामी कहाँ चिन्दछौँ
चर्को मोल तिरेर फेरि सहजै हामी त्यही किन्दछौँ ।।१०४।।
मेरो देश छ विश्वकै मुलुकमा गर्ने सधैँ मोहनी
खोजे मिल्दछ फाँट फाँटहरूमा पर्याप्त सञ्जीवनी
के गर्ने मरुभूमि नै हुन गयो सम्पन्नता नष्ट भो
व्यर्थै लड्न पुगेर दुष्ट गणको प्रज्ञा सबै भ्रष्ट भो ।।१०५।।
लौ फर्कौं त विदेशबाट अहिल्यै भन्दै कुनै फर्किए
होला काम भनेर देशतिर नै धेरै युवा पर्खिए
पार्टीका झगडा छ देश भर नै संस्कारले कुण्ठित
गर्छन् दन्तबझान मात्र जहिल्यै सुन्दै भयौँ आजित ।।१०६।।
जानाजान कुजात राक्षसहरू पुज्दैछु पुज्दैछु म
सामन्ती प्रभु गर्छ सग्बग त्यहाँ बुझ्दैछु बुझ्दैछु म
पारे आज सखाप झन् कुमतिले देशै भयो जर्जर
यौटा मित्र यसै भनेर पहिले रुन्थ्यो बडो धर्धर ।। १०७।।
हामी छौँ अहिले बडो सकसमा पाइन्न केही भर
थाप्लो छेल्न समेत छैन सजिलो के पाइएला घर
यस्तैमा पनि छाडिएन कुलको गर्छौँ बडो आदर
खोजी ईश्वरको गरेर सहजै के भेट्दथ्यौँ ईश्वर ।।१०८।।
जो मान्छे कम दक्ष हुन्छ उसको झन् देखिने गर्जन
टेढो आँगन देख्छ त्यो मनुजले जान्दैन जो नर्तन
ऐँजेरू रुखमाथि उम्रन पुगे झन् हुन्छ सङ्क्रामक
टुप्पोबाट पलाउने जति सबै हुन्छन् कि आक्रामक ?।।१०९।।
यौटै उन्नत शान्तिदीप अहिले बालूँ कि बालूँ कि म !
प्यारो देश सिँगार्नतर्फ अहिले थालूँ कि थालूँ कि म !
दस्ता सुन्दर देशभक्त जनको पालूँ कि पालूँ कि म !
रातारात शिखण्डिको दल बढ्यो ढालूँ कि ढालूँ कि म ! ।।११०।।
यस्ता काव्य मिठा मिठा गहकिला पढ्दैछु टाढै बसी
आफ्नो यो अबगाल मात्र छ यहाँ के खप्नु छाती कसी
हाम्रा पौरख शक्ति साहस सबै आफैँ ढिलाएपछि
के होला र उहाँ पुगेर अहिल्यै इच्छा बिलाएपछि ? ।।१११।।
मेरो यो अभिप्राय बुझ्न अहिले साथी यहाँ पाइनँ
बुझ्नै पर्छ भनेर मित्र जनमा त्यो हुट्हुटी लाइनँ
काढ्दै हाइ निधाउने सब बुझेँ मैले मुखै बाइनँ
हामी एक थियौँ कुनै दिन भनी सम्बन्ध सम्झाइनँ ।।११२।।
सग्लै देश थियो म सुन्छु अहिले जे जे थियो भत्कियो
बन्डा भाग भयो अझै कलहको भाँडो त्यहाँ फत्कियो
आस्थामाथि प्रहार हुन्छ अझ झन् विश्वासको घात छ
नेपाली सबको भविष्य तुहियो झन् वज्रको पात छ ।।११३।।
हाम्रो राष्ट्र अखण्ड जो अघि थियो सारै खुँडाए अरे
हन्डी खान सिपालु लुब्ध पशुले दाम्लो चुँडाए अरे
कात्रो ओढ्छ विदेशको र परको दासत्व जो गाउँछ
त्यस्तैको अधिकार चल्छ अहिले वाग्डोर त्यै पाउँछ ।।११४।।
सत्तामा कहिल्यै पुगेन किन हो नेपालको मानव
आफ्नै थात थलो लुटाउनु पर्यो सल्क्यो जसै दानव
रातारात अनन्त नागरिकता बाँड्यो अरे भ्रष्टले
कित्ता काट गरेर देश टुकुरा पार्यो अरे दुष्टले ।।११५।।
सत्ता पालन गर्छ दक्षिणतिरै हेरेर निर्देशन
भिक्षा दक्षिणकै लिई मुलुकको गर्छन् कि सञ्चालन
मानौँ दास सदैव हुन्छ उसकै बन्छन् रखौटी सरि
बन्दैछन् रमिते यतातिर उता हेर्दैछ चारो छरी ।।११६।।
धेरै छैन त्यहाँ फिजीकरणको आगो बल्यो दन्दनी
घुम्छन् शत्रुहरू ढिलो हुन गयो भन्ने बुझी फन्फनी
केही पाल्तुहरू घुसेर अहिले थाले वितण्डा यता
नेपाली जनता अताल्लिन पुगे छाडेर जाऊन् कता ?।।११७।।
मेरो भाग यता यतातिर भयो तेरो कता पर्दछ
जा जा जा अहिल्यै उठेर हिँडिजा तेरो जता पर्दछ
भन्ने कुत्सित यो तितो कलहको सल्क्यो डढेलो जब
सीमा पारि बसेर पाल्तु गणले काखी बजाए अब ।।११८।।
हाम्रो राष्ट्र कृतघ्न दुर्जनहरू पल्काउने ठाउँ भो
हाम्रो राष्ट्र विशिष्ट सज्जनहरू मिल्काउने ठाउँ भो
हाम्रो राष्ट्रिय एकता जति थियो सल्काउने ठाउँ भो
हाम्रो राष्ट्र घुमी घुमी भुँडी यसै ढल्काउने ठाउँ भो ।।११९।।
लेख्नै मात्र छ काम मित्र गणले पढ्नु कहाँ पर्छ र
बिथ्थामा रचना पढेर निजको कस्ले झिंजो गर्छ र
उम्रन्छन् कति झार पात भुइँमा के बीज नै छर्नु र
उम्रिन्छन् कति झार जङ्गल स्वयं स्याहार के गर्नु र ? ।।१२०।।
पार्थे भस्म खरानी राष्ट्र भरिका सर्कारी कार्यालय
लाग्थे जङ्गलतर्फ बालकहरू छाडेर विद्यालय
बिर्सूँ भन्दछु बिर्सनै नसकिने हुन्थ्यो बडो क्रन्दन
बाटोमा घरमा प्रचण्डपथको आगो थियो दन्दन ।।१२१।।
केही बोल्नु हुँदैनथ्यो दिनदिनै आएर हप्काउँथे
जे हुन्थ्यो घरभित्र बाहिर सबै लुट्थे र छप्काउँथे
रातारात सधैँ निशाचरहरू आतङ्क मच्चाउँथे
हुन्थे आश्रयहीन मात्र जनता रुन्थे र चिच्याउँथे ।।१२२।।
हाम्रा काव्य कला र कौशलहरू मन्दाकिनीझैँ बनून्
हाम्रा भाव प्रभाव विम्ब रसिला सञ्जीवनीझैँ बनून्
पाकेका रसशिक्त प्रेय कविता उद्यानमा पस्कियून्
पढ्दा भाव बुझेर पाठक स्वयं आनन्दमा मस्कियून् ।।१२३।।
हामी रिक्त हुँदै गयौँ कि कविता वा काव्यका ज्ञानमा
हामी मुक्त हुँदै गयौँ कि अहिल्यै विज्ञान आख्यानमा
लाग्दा हुन् विनियोग पूर्वक उता सन्धानमा ध्यानमा
स्रष्टा धेर हराउँदै किन गए यो छन्द उद्यानमा ।।१२४।।
आफ्नै देश भयो चिहानसरिको सारै भयो निर्जन
विद्रोही जनका कथा कति पढौँ भन्दैछ मेरो मन
यस्तै नित्य पढेर भाव नमिठो लाग्दैछ पर्देशमा
खै के हो अब भन्न सक्तिनँ बढी यो सूक्ष्म सन्देशमा ।।१२५।।
धेरै दूर हुँदाहुँदै पनि यहाँ सामीप्यता जो थियो
टाढा भन्नु समीप भन्नु अहिले तत्काल त्यो पन्सियो
यो यौटा अनमोलको घडी थियो सौभाग्यले यो गर्यो
हाम्रो आज अमोल भेट हुन गो संयोग यस्तो पर्यो ।।१२६।।
उर्लन्छन् मनभित्र छन्द कविता लेख्ने छ भेरो मन
स्रष्टाको अपमान हेर्नु कसरी त्यो हेर्न नै सक्तिनँ
लेख्ने सोच कता कता छ मनमा लेखेर लेखिन्छ र
स्रष्टाका मनभित्र जे छ रचना मेटेर मेटिन्छ र ? ।।१२७।।
औधी छन् रचना पढी नसकिने पढ्दैछु सन्जालमा
पर्ने आँट रहेन त्यो मुलुकको फर्केर जन्जालमा ।
हाहाकार हुँदैछ त्यो मुलुकमा के गर्न फर्कूं अब ?
लुट्तैछन् धमिरा पसेर अहिले त्यो राष्ट्रको वैभव ।।१२८।।
रित्ता हात लिएर उन्नति यसै उड्दै कहाँ आउँछ
बाँधी हात घरै बसेर रसिलो खोजेर के पाउँछ
उद्योगै नगरेर उन्नति यसै धाएर के आउँछ
तिर्खा धाउँछ सत्यको नियम हो खोलो कहाँ धाउँछ ? ।।१२९।।
हाम्रो त्यो इतिहास मेटिन पुग्यो नामर्द जस्ता भयौँ ।।
बाँधेका पशुतुल्य नै हुन पुग्यौँ वा आज खैरै गयौँ
हाम्रो राष्ट्रिय एकता जति थियो सल्काउने ठाउँ भो
हाम्रो राष्ट्र घुमी घुमी अझ भुँडी ढल्काउने ठाउँ भो ।।१३०।।
कालो सोच हुने महाँ अधमका त्यो सोचलाई थुकेँ
केही काल बित्यो निकै कठिनले या उष्णताले सुकेँ
हाम्रो जीवन अर्थशून्य हुन गो यो मृत्युको खालमा
हेरेँ फेरि भएर व्यग्र अति नै सन्देश सञ्जालमा ।।१३१।।
आगोभित्र लिएर राक्षस कुनै नाचेछ नाचेछ कि १
मान्छेको क्षमता समस्त उसले जाँचेछ जाँचेछ कि १
जाडोको छ अकाल यो बखत त्यो मानिन्छ सञ्जीवनी
तातो वायु डढाउँदै छ अहिले ज्वालामुखीझैँ बनी ।।१३२।।
मौका आउँछ छेउछाउ त्यसमा राखिन्न चासो जब
मेटिन्छन् पुरुषार्थका पलहरू चासो नराखे सब
मान्छे के पछि सर्दथ्यो प्रगतिको सुस्वाद चाखेपछि
गुम्छन् उन्नतिका अनेक सपना चासो नराखेपछि ।।१३३।।
जे जे प्राप्त भयो त्यसैसँग तिमी सन्तुष्ट बन्ने गर
जे चाह्यो सब प्राप्त हुन्छ र कहाँ त्यस्तो यहाँ के छ र
जे लेखिन्छ निधारमा मनुजले मेट्ने कहाँ हिम्मत
त्यो हाम्रो अधिकार हैन प्रभुकै हो सर्व नै सम्मत ।।१३४।।
आफैँ दुष्तर हुन्छ जीवन कला माया नलागेपछि
पाइन्नन् अधिकारका फलहरू आफैँ नमागेपछि
मान्छे क्लान्त विरक्त बन्छ उसको विश्वास थाकेपछि
आफैँ झर्दछ वृक्षबाट सरिफा तत्काल पाकेपछि ।।१३५।।
हामी हौँ अधिकारयुक्त कसले रोक्ला र हाम्रो बल
भन्ने सोच लिएर मानव स्वयं गर्दैछ आफैँ छल
त्यस्तो सोच हुने कुनै मनुज नै बर्सादको हो भल
के होला तिनको कुनै दिन यहाँ मस्तिष्क झन् निर्मल ।।१३६।।
के मास्ने बिरुवा कुनै जमिनमा आफैँ उमारेपछि
भत्केलान् सब योगका पलहरू आफैँ बिगारेपछि
रित्तो लाग्दछ जिन्दगी पलपलै मौका गुमाएपछि
को बाँचोस् जब स्वर्गबाट प्रभुको सन्देश आएपछि ।।१३७।।
कस्तो तुच्छ रहेछ मानव जुनी भन्दै पढेँ सिर्जना
लेख्नेको अति नै रहेछ त्यसमा जीवन्त आलोचना
पढ्दा आँत सुक्यो यतातिर उता मानौँ छ डढ्दै हियो
त्यो यौटा कविता निकै मन छुने सञ्जालमा देखियो ।।१३८।
माया लाग्छ मनै भरी पलपलै प्यारी कता छिन् भनी
माया लाग्दछ पुत्रको छिन छिनै सम्झ्यो कि बाबा भनी
धर्तीको यस ठाउँबाट घरकै तृष्णा उसै जाग्दछ
आमा दाजु बुबा र गाउँ घरको माया अझै लाग्दछ ।।१३९।।
एक्लै रुन्छु बसेर झ्यालनजिकै कस्तो भयो हे हरि
फोक्सुन्डोतिरको छ याद मनमा रारा छ छाती भरी
हुन्छन् यो स्मृतिमा निरन्तर उनै अग्ला र अग्ला चुली
झर्छन् आँसु उराठिलो जमिनमा झन् चल्छ यो बाडुली ।।१४०।।
के बस्ने यस ठाउँको बिजनमा खाई बडो हन्डर
अर्काको बँधुवा छु यो मुलुकमा मार्लान् कि भन्ने डर
आगो लाउन मात्र जान्दछ यहाँ आएर केको भर
रित्तै हात लिएर फर्किनु यसै के फर्कने हो घर ? ।।१४१।।
तिम्रो देश रुँदैछ मित्र कति हो आराम फर्माउँछौ
बाँझो खेत कमाउनै किन तिमी अत्यन्त सर्माउँछौ
अर्काको घरमा भएर बँधुवा के सक्तछौ पाउन
सारै कन्तबिजोग भो फिर छिटै छाडेर सर्माउन ।।१४२।।
आफ्नो स्वच्छ समाज जो सहजमा जस्तो थियो त्यो थियो
कस्तो द्वन्द्व र कापको जमिनमा यो जिन्दगी भासियो
उब्जन्छन् मनभित्र ऐँठनहरू मैमाथि झन् थिच्तछन्
साथीको छ कुरा तिखो मुटु छुने आँखा यसै भिज्दछन् ।।१४३।।
गौरीशङ्करबाट थोर नजिकै कैलास मेरोे घर
मेरै दक्षिणतर्फ ध्यान गतिमा बस्छन् सधैँ शङ्कर
मेरो के छ सडेर जानु छ छिटै भो जिन्दगी जर्जर
माता ! केही रहेन शून्य सब भो पर्दैछु तिम्रै भर ।।१४४।।
आफैँभित्र कुवा छ भव्य र सफा खोजेर हेर्यौँ भने
आफैँमा छ अथाह सिर्जन कला रोजेर हेर्यौँ भने
आफैँभित्र अनन्त सिर्जनहरू वैलेर झर्छन् यहाँ
नाभीबाट सुवास चल्छ मृगले खोजेर भेटोेस् कहाँ ? ।।१४५।।
प्यारा सुन्दर शब्दका लहरमा आह्वान यो गर्दछन्
मानौँ काव्यकला खिपी सृजनमा नौलो कला भर्दछन्
पढ्दैमा अहिल्यै फिरेर घरमा जाऊँ कि जाऊँ हुने
लेख्छन् काव्य कथाहरू मुटु छुने आफैँ रुएझैँ हुने ।।१४६।।
बाँचेकै छु तथापि अर्धमृतझैँ यो बाँच्नुको अर्थ के
के मात्रै गरिएन यो मुलुकमा यो कामको अर्थ के
के गर्ने कति बस्नु यो समरमा यो त्रासमा द्वन्द्वमा
आफैँभित्र हराउँदैछु म यहाँ आफैँ परेँ बन्दमा ।।१४७।।
हे पापी र कृतघ्न हे अधम हो गर्ने नगर्ने गर्यौ
हे स्वार्थी र पिसाद हो कुमति हो गर्ने नगर्ने गर्यौ
हे पाखण्ड र दुष्टका गणहरू गर्ने नगर्ने गर्यौ
अन्तर्घात गरेर जाति बिचमा विद्वेष आगो छर्यौ ।।१४८।।
भेडोकै गतिमा छ जीवन यहाँ दाम्लै नलाए पनि
आगैमाथि डढेर सुत्नु छ यहाँ आगै नलाए पनि
थाहै हुन्न तिथी घडी मितिहरू पाइन्न पात्रो पनि
के गर्ने यस ठाउँमा मरिगए पाइन्न कात्रो पनि ।।१४९।।
छाँगो झर्झर बग्छ स्वेद जिउमा खोल्सो बगेझैँ तल
आगो फाल्दछ सूर्यले दिनदिनै के पाउने शीतल
राम्रो लक्षणका कुनै पलहरू यौटै यता देखिनँ
बाक्साबन्द भएर फिर्नु नपरोस् त्यस्तो नआओस् दिन ।।१५०।।
श्रद्धाले शिर यो समग्र प्रभु वा पाथीभरामा झुकोस्
आस्था राष्ट्रिय देवमा हरघडी बोकेर मेरो पुगोस्
साथै ईशसमीप देव पुरमा वा मुक्तिनाथै निर
लागी नित्य रहोस् निरन्तर झुकोस् आजन्म मेरो शिर ।।१५१।।
सुख्खा याम थियो यहाँ मन भरी आशा पलायो अब
पाखा पर्वत गाउमा प्रकृतिमा उल्लास छायो अब
टाढाबाट घुमी वसन्त ऋतुको सन्देश आयो अब
मेरै बारी पुछारको रुख बसी क्वैली करायो अब ।।१५२।।
यस्ता उन्नतशील सोच मनमा कैले लघार्छन् यहाँ
कैले चाहिँ निरासिका नियतिले सारै पछार्छन् यहाँ
हावा बेगसँगै उराल्छ मनमा टन्टा नआओस् अब
हाम्रा सिर्जनसम्पदा सब लुछी घाटा नलाओस् अब ।।१५३।।
आफू सङ्कटमा छु तैपनि उता कल्याण होस् भन्दछु
भ्रष्टाचार गरी डुब्यो मुलुक रे भन्ने कतै सुन्दछु
त्यस्ता रोग र व्याधले मुलुकमा मौका नपाओस् अब
अर्को ताण्डव गर्न राक्षस त्यहाँ फर्की नआओस् अब ।।१५४।।
पत्नी पुत्र भुलेर बस्नु छ यहाँ यो सास अल्झाउँदै
झन् आफन्त रुवाउँदै मनभरी सन्त्रास फैलाउँदै
पीडाको भुँवरी लिएर मनले सन्तोष के पाउला
यस्तो ध्येय लिएर यो मुलुकमा फर्केर को आउला ? ।।१५५।।
के के नै गरियो भनी मनमनै के गीत हो गाउनु
आफ्ना इष्ट र मित्र त्याग्नु छ अझै सन्तोष के पाउनु
आफ्नो देश र देशभक्त जनमा ढाँटेर के पाउनु ?
यो हो यान्त्रिकता यहाँ रहरले पर्दैन भो आउनु ।।१५६।।
एकातर्फ छ देशको मन भरी छाया र अर्कोतिर
आमा बाबु र दाजु भाइ सबको माया छ अर्कोतिर
कस्तो यो दुविधा रहन्छ मनमा झन् हुन्छ यो संशय
भन्छन् बस्न सकिन्न त्यो मुलुकमा स्थायी हुँदै निर्भय ।।१५७।।
कौडीकै सरि भाउमा किन त्यहाँ बेच्छन् युवाका दल
मानौँ नित्य बगाउँछन् रगतको तातो र रातो भल
सारा मानवसिर्जना पनि यसै पोल्छन् र पल्टाउँछन्
आफ्नो कुत्सित स्वार्थ बान्धवहरू बेच्छन् र सल्टाउँछन् ।।१५८।।
गौरी शङ्करबाट दक्षिण कतै देखिन्छ हाम्रो घर
सारा गाउँ युवा विहीन छ अझै देखिन्छ त्यो जर्जर
हावा चल्छ सुसाउँदै बिरसिलो सर्वत्र त्यो बल्झियो
रित्तै गाउँ भयो युवा दल गई पर्देशमै अल्झियो ।।१५९।।
रित्ता छन् घरगाउँ खेत र कुवा रित्ता भए मन्दिर
रित्तो देश हुने छ लक्षण उहाँ रित्तै छ मेरो घर
रित्तो पेट लिएर मानिसहरू के पर्न सक्थे भर ?
रित्तो देश सपार्नतर्फ अहिले त्यो देशमा को छ र ? ।।१६०।।
लेख्ता हुन् रमणीय भाव किन हो लेख्तैन त्यो लेखनी
अग्ला शैल हिमालको मधुरिमा देख्तैन त्यो लेखनी
ठानून् पाठकले पढेर जसमा "पाइन्छ सञ्जीवनी"
मात्रै वर्णनका कुरा फगतमा ओकल्छ त्यो लेखनी ।।१६१।।
हामीमा अब छैन लेखन कला सामर्थ्य लेख्ने गयो
जस्तो लेख्न सक्यौं छँदैछ अहिले त्यो जे भयो जे भयो
आगामी दिनका अदम्य झरिला स्रष्टाहरू चम्कन
लागून् सिर्जनमा निरन्तर उचा आकाशलाई छुन ।।१६२ ।।
गायौं सुन्दर भावका र रसिला नौलाख गानाहरु
जे लेख्यौं अनि जे पढ्यौं सब थिए हाम्रा खजानाहरु
आफ्ना जीवनका कथा विगतका आफैं कता गाउनु
त्यो हाम्रो युगको कथासँग यहाँ दाँजेर के पाउनु ।।१६३।।
हाम्रा निर्मल भावना बगिरहून् यो देशका खातिर
हाम्रा आदरभावना पुगिरहून् आमा र बाबानिर
हाम्रा पूजन वन्दनादि सब हुन् संसारमा सुस्थिर
श्रद्धापुष्प लिएर त्यो चरणमा मैले झुकाएँ शिर ।।१६४।।
हे आमा अघिको कथा स्मरणमा फर्केर आएपछि
सारै हुन्छ अधीर पुत्र किन हो बाटो बिराएपछि
बुझ्ने दर्द र वेदना मुलुकमा नेता त्यहाँ को छ र
हामी सात समुद्रपारि नपुगे भोकै हुने भो घर ।।१६५।।
अर्काको बुइमा चढेर पहिले खोलो तरेछौँFF अरे
अर्काकै भरमा परी उदर यो धेरै भरेछौँ अरे
अर्काको बहकाउमा मुलुकमा अत्यन्त धावा गर्यौँ
पुर्खाको अवदान त्याग सबमा साँढे चरेझैँ चर्यौँ ।।१६६।।
हाम्रो देश अनन्त काल दुहुनो गाई दुहेझैँ भयो
हाम्रो देश भिडन्त गर्न परको साम्राज्य जस्तो भयो
हाम्रो सोच उठेन यो मुलुकको उत्थानका खातिर
नेता भ्रष्ट छ स्वार्थ सिद्ध नगरी के हेर्छ मुद्दातिर ।।१६७।।
हालेको छ विदेशले घरघरै फालेर क्यै चोकर
यो विश्वास गरी कृतघ्न गणले खालान् ठुलो ठोकर
हामी रुग्ण भयौँ र कुत्सित भयौँ मानी तिनैको भर
राजा झैँ छ यता उतातिर भने मानिन्छ यो नोकर ।।१६८।।
के के गर्छु भनेर तुच्छ सपना बाँड्दै बडो चम्कने
मैले पार्दछु देश उन्नत भनी चिच्याउने बम्कने
थाप्लामा परको चढेर अहिले आफैँ उँभो लम्कने
राजाको जब वंशनाश हुन गो राजा हजारौँ बने ।।१६९।।
नौलो धर्म प्रचारका नियतले बाँडेर घुम्दै छ कि !
सारा स्वार्थ गरेर पूर्ति निजको अस्तित्व गुम्दै छ कि !
नेता जाँड र दारुको बिसुरमा मातेर झुम्दै छ कि !
लौ लौ हे प्रभु हो भनेर तलुवा चाटेर चुम्दै छ कि ! ।।१७०।।
आमाको मनभित्र लाखन कडा पीडा उता डस्तछन्
अर्काको घरभित्र नोकर भई छोरा यता बस्तछन्
अर्काकै बँधुवा हुने छ सपना आफ्नो कहाँ त्यो हुनु
अम्बाको विरुवा थियो तर फल्यो फोस्रो तितो कागुनु ।।१७१।।
सम्झन्छन् परदेशबाट जब ती थाकेर आफ्नो घर
आफ्नो काम गरेर खान जहिल्यै ठान्थे यहाँ नोकर
बैनीको गहना र सिन्दुर सबै राखेर कर्जा गए
राजा झैँ घरमा थिए तर उता मान्द्रो र काम्लो भए ।।१७२।।
नाङ्गै छन् सब फाँट फाँट बलिया–बाङ्गा हराए कता
बाँझै छन् सब खेत खेत र गरा बाँझै छ बारी यता
रुन्छन् शैल हिमाल फाँट अथवा रुन्छन् सधैँ निर्झर
बाबाको पसिना शरीर भर छन् पु्छ्ने यहाँ को छ र ।।१७३।।
हाम्रा पूर्वज पूज्य जो अरनिको अन्तै गएका थिए
संसारै भरका महापुरुषझैँ आफैँ भएका थिए
जानै हुन्न विदेश भन्छ कसले त्यो हैन यो आशय
जाऊ देश हुँदैन भुल्नु तिमीले बन्नू सदा र्निभय ।।१७४।।
नेपाली पहिचान हो भुवनमा नेपाल तिम्रो घर
धर्तीको प्रतिविम्ब हो मुलुक यो त्यो देशमा के छ र
गौरीशङ्करले सुरक्षित छ यो नेपाल तिम्रो घर
ताजै छन् पदचिन्न यो मुलुकमा तिम्रो छ तिम्रै घर ।।१७५।।
हारेको अमिलो मनस्थिति लिई लागेँ स्वयम् मासिन
सिङ्गो देश रुवाउँदै किन पुगेँ यो ठाउँमा भासिन
टाढा यो घरमै छ चित्त किन हो माया उतै गाँसिनँ
मेरो देश भनी नुहेर शिरमा त्यो मृत्तिका टाँसिनँ ।।१७६।।
जोडा ढुक्कुरले बसेर गुँडमा कुर्लीरहेका हुनन्
झर्ना सुन्दर जो निरन्तर उता उर्लीरहेका हुनन्
गोठाला जनले पवित्र मनले माया लगाए हुनन्
खेतालाजनले सुरम्य धुनमा ताली बजाए हुनन् ।।१७७।।
नौलो बैँस उदाउँथ्यो वनवनै ऐँसेलु खाएपछि
साथैमा नवयौवना मधुरिमा मायालु आएपछि
मायाबाट रिझाउँदै तरु चढी त्यो गीत गाएपछि
मानौ स्वर्ग त्यतै छ झैँ भ्रम हुने झन् म्वाइँ खाएपछि ।।१७८।।
खोलाको रसिलो र शीलत मिठो पानी नपाएपछि
चौतारी नजिकै बसेर मुटुमा माया पलाएपछि
त्यो सम्झी मन उर्लियो बतलको यो तोय खाएपछि
देखेका सपना सुके झरिसके यो ठाउँ आएपछि ।।१७९।।
बेला यो छ असारको सिमसिमे छिट्याउँदो हो झरी
कालो बादल उग्र भै घनघटा बर्साउँदो हो घरी
पैरोले भिर खेत फाँट अहिले हुत्याउँदै पो छ कि !
चम्कन्थ्यो घनघोर उग्र बिजुली अत्याउँदै पो छ कि ! ।।१८० ।।
खेताला कति खेततर्फ लहरे गाएर झर्दा हुनन्
रोपाहार मसक्क इत्रिन हिलो छ्यापेर खेल्दा हुनन्
ब्याडे चाहिँ बियाडबाट बिउका फ्याँकेर मुठ्ठाहरू
जिस्के हुन् सपना भयो घर यसै टाढा छु खै के गरूँ ।।१८१।।
एकार्कासँगमा परस्पर हिलो छ्याप्ता हुनन् बाहुसे
मायालू अझ इत्रिंदै मुसुमुसू बाँड्दा हुनन् दोपरे
“छ्या है जिस्कन लाज छैन यसरी” रोपार भन्दा हुनन्
ब्यासी फाँट असारका डिमिडिमे बाजा बजेका हुनन् ।।१८२।।
खोल्सा मूल फुटी ठुला छङछङे छाँगा बनेका हुनन्
छाँगा छङ्छङको सुसाहट झिकी उर्लेर बग्दा हुनन्
बरीमा हरिया मकै कति ठुला घोगा फलेका हुनन्
नास्पाती र अनारका तरुहरू लच्केर झुल्दा हुनन् ।।१८३।।
पाखा फाँट र गाउँ ठाउँ सबका झल्का सधैं आउँछन्
झन् अग्ला हिमशैलका चमकले हाँसेर बोलाउँछन्
आमा हिक्क गरेर ‘पुत्र तँ कता लागिस् नि’ भन्दी हुनन्
च्याङ्बाकी जननी लुकेर गहका आँसुहरू पुछ्ती हुन् ।।१८४।।
गोठाला सबका लयालु स्वरमा गुन्जन्छ होला वन
सल्लो नित्य सुसेल्छ झन् प्रणयले सङ्लन्छ होला मन
आफ्नो खेत सपार्नमा कृषकले बाँझो फुटाए हुनन्
ढाक्रेका हुलले गलोभरि कुनै गाना सुसाए हुनन् ।।१८५।।
पोथ्रा वृक्ष भए हुनन् कि बिरुवा नौला पलाए हुनन्
बर्साको यस याममा प्रकृति नै अर्कै बनेकी हुनन्
भुन्टे भो कि जवान आज तिनको सुर्ता यहाँ लाग्दछ
भोकै मागिहिंडे कि या त बिचरा रोए कि झैँ लाग्दछ ।।१८६।।
वर्षाका दिनमा उजाड छ यहाँ पर्देशको ठाउँ यो
पैसाको वशमा परेर किन हो आफ्नो भुलेँ गाउँ त्यो
आफैंमा किन ठग्नु जीवन डुब्यो के पाप मैले गरें
आफ्नो देश समाजबाट पर गै साँच्चै म ज्यूँदै मरें ।।१८७।।
खाडीको सपना लिएर म यहाँ आएँछु व्यर्थै किन
तृष्णा त्यो मनभित्र उठ्छ किन हो केही म यो जान्दिनँ
सिङ्गै देह जले समान हुन गो सुक्तै छ सुक्तै छ कि
मेरो देश विदेशसामु अहिले झुक्तै छ झुक्तै छ कि ।।१८८।।
अर्काको बुइमा सदैव नचढौँ अस्तित्व खोजौँ अब
आफ्नै बर्गतले खिपी मुलुकको अस्तित्व रोजौँ अब
हाम्रो भाग्य सबै मिली पलपलै हामी स्वयं कोर्नु छ
सारा संशयको विशाल पहरो हामी स्वयं फोर्नु छ ।।१८९।।
हावा मन्द चलेर भोजपुरमा गर्थ्यो बडो ढल्पल
धाराको जल स्वच्छबाट मुटुमा हुन्थ्यो बडो शीतल
पानीरूप पियूष आज स्मृतिमा उर्लन्छ जो झल्झल
जस्मा हुन्छ पवित्र इन्द्रपुरको मन्दाकिनीको जल ।।१९०।।
लाग्थ्यो काम छ गर्नु यो मुलकको तातो अँघेनानिर
सारा काम सेकर टुस्स नबसी आएँ म कोठातिर
पर्छौँ नित्य यता पुगी सब जना आतङ्कको जालमा
सोच्दै एक मिल्यो सुरम्य कविता यो एक सञ्जालमा ।।१९१।।
ूहे भस्मासुर हे नराधम हरे हे दुष्ट हे दानव
तेरो सोच रहन्छ नित्य किन हो संहारमै वास्तव
हाम्रा सन्तति बालवृद्ध वनिता देख्दैछु नास्छस् किन
सोचे भो अब आजदेखि सकिए तेरा उज्याला दिन ।।१९२।।
आफ्नै वज्र प्रहार आफूतिर नै फर्कन्छ सोचे भयो
थाप्लैमाथि अवश्य खस्छ तँसँगै हुङ्कार मेरो छ यो
यो आतङ्क रहन्छ यो जमिनमा सम्भावनै देख्दिनँ
ठाने भो अबदेखि निख्रिन गए तेरा उज्याला दिन ।।१९३।।
अर्काको अधिकारमाथि अहिले कर्तव्य छाड्यौ किन
हामी मानव हौं म जान्दछु यही अर्को कुरा जान्दिनँ
केही काल अगाडिसम्म जगमा हामी थियौं पूजित
हाम्रो स्वार्थ र नीच सोच अहिले बन्दै गयो दूषित ।।१९४।।
स्वार्थी सोच लिएर लम्पटहरू कर्तव्य पोल्यौ किन
आफैँभित्र प्रभुत्वको गुण बुझी झन् झूट बोल्यौ किन
मेरो यो अब प्रश्न भो तिमीसितै कर्तव्य छोड्यौ किन
तिम्रो निश्चय अन्त देख्छु म यहाँ बाँकी कुरा जान्दिनँ ।।१९५।।
हामी देश विकासको चरणमा धेरै पछौटे भयौँ
अर्काको घरमा गएर उसका धेरै भरौटे भयौँ
हाम्रा पूर्वजका बनेर नमुना यो देशमै बढ्नु छ
टेक्तै पौरख पाइला सगरको माथा छिटै चढ्नु छ ।।१९६।।
गैँती झम्पल हात हात सबले बोकी यता लौ जुटौँ
सारा देश र देशभक्तजनको सम्मानमा लौ उठौँ
यौटा साँघु बनाई उच्च युगको यात्रा छिटै गर्नु छ
बाँझै छन् सब खेत बारी गहिरो जोतेर क्यै छर्नु छ ।।१९७।।
मैले अम्मरसिंहका पदहरू पछ्याउनै पाइनँ
जानाजान हुँदै गए त्रुटिहरू सच्याउनै पाइनँ
चाहन्थें अझ उच्च नागरिकका उत्कृष्टताका दिन
मैले आत्मीय भाव यो मुलुकमा बिच्छ्याउनै पाइनँ ।।१९८।।
हाम्रा हात वलिष्ट छन् र अझ छन् हाम्रा कडा पाखुरा
हाम्रा पाउ हिँडेर नाघ्न सजिलै सक्छन् उचा टाकुरा
उब्जाऊँ यस देशकै जमिनमा ऊर्जा हजारौँ गुना
यस्तो आत्मीय भावको सृजन होस् कोही नहोस् पाहुना ।।१९९।।
यो वाचा मुटुमा लिएर गहिरो खोलो अझै तर्नु छ
हाम्रो जन्म यतै भयो अनि बढ्यौं यो देशमै मर्नु छ
खाल्टा छन् अझसम्म यो मुलुकमा खाल्टाहरू भर्नु छ
आस्था मूल्य र मान्यता जति सबै यो देशमै छर्नु छ ।।२००।।
मैले फूल बनेर उम्रनु पर्यो डाँडा र पाखातिर
मैले स्वेद बनेर बग्नु छ अझै यो देशका खातिर
मैले अमृत साथ ओर्लन अझै बाँकी छ छाँगातिर
मैले फुल्न अझै छ शेष रुखका नौलाख हाँगातिर ।।२०१।।”
हे सञ्जाल तँ छस् उदास मनको साथी म यो ठान्दथेँ
आफन्ती जनबाट दूर रहँदा साथी तँ छस् मान्दथेँ
के यस्तो विपरीत आज मन यो बन्दै गयो ढल्पल
यो पढ्दा मन झन् अधीर हुन गो उल्टै भयो चञ्चल ।।२०२।।
छोरीको मृदु स्नेहका विरहमा यो आँसुको भो भल
छोराको अनुहार हेर्न मन झन् सारै भयो चञ्चल
बाबाको रसयुक्त स्नेह मनमा सारै हुने झल्झल
पत्नीको विरहाग्निले मन जल्यो के हुन्छ झन् शीतल ।।२०३।।
टल्कन्थ्यो हिमशैल उत्तर दिशा अग्ला चुलीमा जब
के भुल्थेँ किन भुल्नु त्यो विपिनमा क्रीडा गरेको अब
टिक्नै जीवन यो धराप हुनगो कस्ले यहाँ तग्नु र
आए हुन् कि चहाडका दिनहरू सम्झी कहाँ सक्नु र ।।२०४।।
आफैँ माथि ठगेर यो मुलुकमा मैले गरेँ अल्मल
तिर्खा लाग्दछ शुष्क ओठ छ हरे मैमाथि के भो छल
पाके हुन् रसदार ज्यामिरहरू सम्झन्छ त्यो झल्झल
झन् झन् झल्झल हुन्छ यो मन भरी नारायणीको जल ।।२०५।।
हाम्रो त्यो घरमा कुनै कुटिलको त्यो दृष्टि पो पर्छ कि
त्यस्ले त्यो घरमा पसी ढलिमली वा सृष्टि पो छर्छ कि
कर्णाली अझ बग्दछिन् मुलुकमा स्वाधीनता हर्छ कि
वैरीले परबाट शुद्ध जलमा दुष्कर्म पो गर्छ कि ।।२०६।।
आगो लाउन मात्र जान्दछ त्यहाँ आएर केको भर
रित्तै पेट कसेर बस्नु सजिलो होला त्यहाँ के छ र
बाबाका पसिना पुछेन जसले त्यो पापको हो घट
आमाको ममता बुझेन जसले त्यो पुत्र हो लम्पट ।।२०७।।
अल्छी लाग्दछ पौषको समयमा कामै नगर्दा पनि
जाडो लाग्दछ सुत्न हुन्छ मन यो रातै नपर्दा पनि
पैसाका पछि दौडिएर छु यहाँ कस्तो छ त्यो बैगुनी
एक्लै छिन् घरमा उनी अनि यता एक्लै भएँ मै पनि ।।२०८।।
खै बाबा अब फिर्नुहुन्छ कहिले < सोध्छिन् कि छोरी उता
मैना वर्ष र पक्षका पल उनी गन्दी हुनन् लौ यता
छोराको पिरले सुकेर अहिले आधा भएको छु म
अर्काको घरको भएर बँधुवा खेरै गएको छु म ।।२०९।।
थाप्लोमा ऋणको छ बोझ अहिले तिर्नै नसक्ने भएँ
जाऊँ भन्छु स्वदेशमा तर उता फिर्नै नसक्ने भएँ
लागेको ऋणमाथि ब्याज अथवा झन् स्याज लाग्दैछ कि
सामन्ती अनि ब्याजखोर गणको दुष्कर्म जाग्दैछ कि ।।२१०।।
मेरो यो श्रमको उपार्जन उता सद्काममा छैन कि
मेरी जो सहधर्मिणी पनि कतै सद् मार्गमा छैन कि
भन्ने सोच भएर आज किन हो आत्तिन्छ मेरो मन
खुम्चेको छु तिता तिता जहरिला दृष्टान्त देखेर म ।।२११।।
झाडी जङ्गल पत्रपत्र वनका चिल्ला पखेरातिर
लाखौं लाख गुफा अनेक झरना नौलाख पाखातिर
हाम्रै पूर्वजको बगेर पसिना झर्दैछ झर्दैछझैँ
आऊ बाबु भनी निमन्त्रण अझै गर्दैछ गर्दैछझैँ ।।२१२।।
हल्ला चल्दछ गाउँमा सहरमा पर्दैन केही हुनु
व्यर्थैको हुन सक्छ जानु घरमा आपत्ति निम्त्याउनु
गर्नै पर्छ विदेशमै बरु यतै उद्योग धन्दाहरू
भन्ने सोच यदाकदा मगजमा पस्छन् म खै के गरूँ ।।२१३।।
चाला हुन्न निको त्यहाँ घर बसी खै के त्यहाँ हुन्छ र
हाम्रो जीवनको कथा छ अधुरो को सुन्छ को सुन्छ र
मायाको मनभित्रबाट हुँडलो झन् उम्लिएको किन
मेरो देश छ शान्त सुस्थिर कतै भन्ने अझै देख्तिनँ ।।२१४।।
कस्तो आज अनिष्टको छ सपना आकाश पो झर्छ कि
पोलेको छ शरीर फेरि किन हो क्यै विघ्न पो पर्छ कि
मेरो यो मन झन् तरङ्गित भयो त्यो शान्तिको पोखरी
उम्ल्यो शान्त तलाउको लहरमा हानेर ढुङ्गा सरि ।।२१५।।
उम्रन्छन् अनमोल औषधिहरु पाखा र बारीतिर
अग्ला ती हिमशैल वा विपिनको खोल्सा र घारीतिर
हाम्रो उन्नतशील भाग्यक्रमका सम्भावना हुन् भनी
भन्ने सोच रहेन त्यो विपिनमै पाइन्छ सञ्जीवनी ।।२१६।।
खोज्दा हुन् हिमशैल ताल अथवा अग्ला उचा टाकुरा
खोज्लान् ताल र लेक फाँट अथवा खोज्दी हुनन् बाजुरा
हाम्रो स्वेद त्यतै बगाउन सके फुल्थे नयाँ आँकुरा
अर्काकै घरमा परेर बलिया हाम्रा सडे पाखुरा ।।२१७।।
छोरीको कति याद आउँछ यहाँ के गर्दी हो त्यो बरा
बाबा खै त भनेर रातभरि नै छाम्थी सधैं बिस्तरा
आई लुट्पुटिँदै बरा छिनछिनै बाबा भनी झुम्दथी
…पापा खै त लिएल आउनु थितैÚ भन्दै बरा चुम्दथी ।।२१८।।
खाल्सा हुन्छु सकेर काम म यहाँ सञ्जाल यो खोल्दछु
साथी भाइ भनूँ कि मित्र म भनूँ सञ्जालमै बोल्दछु
पढ्नै थाल्छु जसै जसै मगजमा औडाह जेल्छन् जब
कोठाभित्र बसेर पढ्दछु सदा सञ्जाल यो वास्तव ।।२१९।।
अर्का एक विशेष योग्य कविको पढ्दै थिएँ धारणा
देखिन्थ्यो जसभित्र भावुक हुने सद्भाव सत्प्रेरणा
मानौँ त्यो रचना थियो युवकमै आदर्श आवाहन
हुन्थ्यो बोध अपार देशहितको उत्कृष्ट त्यो चिन्तन ।।२२०।।
ल्याएछौँ किन राजनीति अहिले ठग्ने व्यवस्था किनी
हाम्रो हार्दिक भावना र सपना अस्तित्व जाला छिनी
बाँझै देश भयो भनेर त्यसमा सारै दुखेसो थियो
साथै त्यो रचना पढेर मुटुमै काँडो बिझेझैँ भयो ।।२२१।।
किन्ने ग्राहकको अभाव छ यहाँ जोखेर के हुन्छ र
आफ्ना सोच विचारका स्वरहरू पोखेर के हुन्छ र
पढ्ने पाठक शून्य छन् अनि यहाँ लेखेर के अर्थ छ
यो उत्पादशून्य क्षेत्रतिरको उब्जाउ नै व्यर्थ छ ।।२२१२।।
यात्रामा अविराम छन् सब जना आजन्म रातोदिन
सारै व्यस्त रहेछ जीवन यहाँ कोही सुखी पाइनँ
हाम्रोझैँ मुटुभित्रको हृदयमा माया यहाँ देखिनँ
एकार्कासँग छैन तात्विक मिठो माया यहाँको किन ।।२२३।।
अर्काको घरमा भएर करिया मैले बिताएँ जुनी
डुल्थें बस्तु र भाउ साथ भिरका पाखा पखेरा मुनि
ताजा भै मनमा यहाँ कुँडुलिए कान्ला भिराला गरा
खेल्थ्यौं बारी र खेतमा दिनदिनै साथी थिइन् उत्तरा ।।२२४।।
भन्छिन् फोन गरी गरी प्रियतमा पर्खेर थाकिन् अरे
एक्लो जीवन बाँच्नुको बिरसिलो सङ्घर्ष चाखिन् अरे
आफैं मात्र कहाँ सबै स्वजन नै पर्खेर थाके अरे
नास्पाती घरमाथिको चहुरमा सर्लक्क पाके अरे ।।२२५।।
यो मैले दुःख दर्दको र धमिलो चाहेर पानी पिएँ
केही शान्ति स्वदेशमा हुन गए तत्काल फिर्ने थिएँ
यस्तै चाल स्वदेशभित्र रहँदा देखिन्न हाम्रो हित
भो भो भो म कतारमा कति बसूँ बस्दै थिएँ आजित ।।२२६।।
भाषा इज्जत हो र लेखन पनी हो देशकै इज्जत
मर्यादा र सुसभ्यता सब यिनै हुन् देशका मुख्यतः
केही रावणले मिलेर अहिले लङ्का जलाए पनि
आफैँ प्वाँख खसाउँछन् छिचिमिरा धेरै पलाए पनि ।।२२७।।
यो कोलाहलमा मलाई अहिले छाडी नजाऊ तिमी
भोको आँत र प्यासको छटपटी पारी नजाऊ तिमी
भन्दी हुन् प्रिय मातृ भू किन यहाँ छाडेर भाग्यौ तिमी
आमाको ममता बुझेर अहिल्यै फर्केर आऊ तिमी ।।२२८।।
भाषामा किन हो लुछाचुँडी चल्यो के स्वार्थ हो जान्दिनँ
भाषा संस्कृति देशकै जनक हुन् अर्को कुरै मान्दिनँ
हाम्रा लेखनमा र वर्णहरुमा कस्को छुरा यो चल्यो
भैलो भाँड गर्यो कुनै कुमतिले गर्ने नगर्ने गर्यो ।।२२९।।
चारै तर्फ छ आज लेखन डुब्यो भन्ने सबैमा पिर
यो हो भेल तुरुन्त सुक्छ खहरे वर्षा बिते आखिर
केही अस्थिरता विरोध र तितो स्वार्थान्धता हो भनी
चिन्ता धेर नपालूँ मित्रवर हे भाषा बिलायो भनी ।।२३०।।
कोही ग्राहक छैन भावकहरू झन् शून्यको ठाउँ हो
वाणीमा पुरुषार्थ गर्नु गतिलो के पुण्यको काम हो
प्यारो भाव हराउँदै किन गयो त्यो भावको निर्झरा
यो शार्दूल भयो भयो अब भयो थाल्ने भएँ स्रग्धरा ।।२३१।।
झापा