18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कालेबुङको मासिक साहित्यिक भेला- बसिबियालो

विचार नवीन पौड्याल January 16, 2025, 4:52 pm
नवीन पौड्याल
नवीन पौड्याल

१. विषय प्रवेश -
समाजको सर्वाङ्गीन विकासका निम्ति साहित्यको ठुलो भूमिका हुन्छ। साहित्यले समाजलाई ऐना देखाउँछ, साहित्यिक व्यक्तिमा धेरै गुण हुन्छन्, कल्पना शक्ति हुन्छ। आम मानिसभन्दा साहित्यकारमा जातिप्रेम, भाषाप्रेम, साहित्यप्रेम, संस्कृतिप्रेम, स्थानप्रेम अझै बढी हुनसक्छ। साहित्यकारले दूरदर्शी हुन्छ। समाजलाई सही दिशा निर्देशन गर्न सक्छ। साहित्यिक सर्जकमा सत्यम्, शिवम् र सुन्दरम्‌को चेतना हुन्छ। साहित्यको माध्यमबाट समाजलाई सचेत राख्ने उद्देश्यले विभिन्न ठाउँमा साहित्यिक कार्यक्रम हुने गर्छ। साहित्य गोष्ठी, पुस्तक लोकार्पण, साहित्य उत्सव, साहित्यिक प्रतियोगिता, कुनै कवि वा साहित्य विभूति जन्मोत्सव, मासिक वा वार्षिक भेला आदिजस्ता कार्यक्रम भइरहन्छन्। यीमध्ये समाजमा साहित्यको लोकप्रियता, लोक प्रचार आदिका निम्ति मासिक भेला कार्यक्रम सबैभन्दा प्रभावशाली मान्न सकिन्छ। यस्ता खाले मासिक साहित्यिक भेला कार्यक्रमहरूले नै सिर्जनाको परिवेश निर्माण गर्नमा ठुलो योगदान दिएको हुन्छ। यसले उत्साहको उर्जा र मञ्च प्रदान गर्दछ।

2. भारतका विभिन्न मासिक साहित्यिक भेला कार्यक्रमहरू –
शुरूदेखि हालसम्मका दार्जीलिङ-सिक्किमतिर केही यस्ता साहित्यिक जमघट हुने क्रममा दार्जीलिङका नवीन जागति सङ्घ, कोठे गोष्ठी प्रतिष्ठान गान्तोकको बसिबियाँलो, कालिम्पोङको बसिबियाँलो र साझा साहित्य मञ्च, गोरूबथानको विकल्प साहित्यिक संस्था, सिङतामको बसिबियाँलो, गान्तोकको प्रतिभा मिलन, दार्जीलिङको खुल्ला साहित्यिक मञ्च, खरसाङको सुनौं-सुनाऊँ र मासिके मन्थन, बाग्राकोटको साहित्य-परिक्रमा, बिजनबारीको प्रतिभा प्रेरणा परिषद्, रिनाक,सिक्किमको प्रतिभा मञ्च, मिरिकको कथा सुनौं प्रमुख हुन्। यीमध्ये केही इतिहासको गर्भमा लुप्त भइसकेका छन् भने कति अहिले पनि सक्रिय छन्। यस लेखको मूल उद्देश्य तिनै साहित्यिक धरोहरका रूपमा रहेका अनौपचारिक तर सक्रिय साहित्यिक गोष्ठी र संस्थाको सन्धान, सर्वेक्षण, उत्खनन गर्नु रहेको छ। उता असमलगायत पूर्वोत्तर भारतबाट पनि यस्ता मासिक साहित्यिक भेला कार्यक्रम हुने गरेको पाइन्छ। तीमध्ये यी प्रमुख हुन्- साहित्य चक्र, मासिक भेला- तेजपुर, प्रगति सङ्घ- बिहाली, माझगाउँ, मासिक गोष्ठी- बहत्तर गौहाटी नेपाली सांस्कृतिक मञ्च, साहित्य परिषद् - विश्वनाथ चाराली, चर्चा- बडसोला, नेपाली कविमञ्च - जामुगुडीहाट, कानेखुशी - निकासी, गोर्खा ज्योति मासिक भेला- मणिपुर, असम नेपाली साहित्य सभा- गमिरी आदि। यीमध्ये प्रायः सबै नै अहिले सञ्चालित छैनन्।
सिक्किमका केही मासिक साहित्यिक भेला कार्यक्रमहरू- सन् १९४६-४७ तिर गान्तोकका विशेष चारजना शिक्षकलगायत अन्य केही व्यक्तिहरू मिली साहित्यिक चर्या गर्थे। उनीहरू प्रत्येक शनिबारका दिन विशेषगरी चारजना मिली साहित्यबारे कुरा गर्थे। त्यहाँ तुलसीबहादुर छेत्री चाँहि साहित्यमा निकै रूचि लिन्थे। उनले नै आफ्ना साथीहरूलाई छुट्टीका दिन पारेर आफ्ना आफ्ना रचना तयार पार्न लगाउँथे। कसैले कविता कसैले कथा, इत्यादि रचना सनाउने क्रम चल्न थाल्यो। त्यहाँ अरू साहित्यमा रूचि राख्ने व्यक्तिहरू पनि भेला हुन थाले। त्यस मासिक भेलामा अगमसिंह तामाङ, पदमसिंह सुब्बा, तुलसीबहादुर छेत्री, निमावाङ्दी तार्गेन, रामदत्तलाल ठाकुर, शिवप्रसाद मिश्र, सन्तवीर लिम्बू, काशीराज प्रधान इत्यादि जुट्ने गर्थे। त्यसैको फलस्वरूप अपतन साहित्य परिषद् गठन भएको भन्ने भनाइ छ।
सिक्किमका यस्ता मासिक भेलाहरू औपचारिक साहित्यिक संस्था नभई अनौपचरिक, असंगठित साहित्यिक कार्यक्रमहरूबारे खोजी गरिएको छ। यस्ता खाले साहित्यिक भेला कार्यक्रमहरूमा बसिबियाँलो, गान्तोक, बसिबियाँलो सिङताम, प्रतिभा मिलन, गान्तोक, गोरेटो बिसौनी, पाकिम, प्रतिभा मञ्च, रिनाक, चौतारी नाम्ची, साहित्य सन्ध्या, जोरथाङ, विचार कला सङ्गम, गान्तोक, चिया कविता, गान्तोक, बियाड कला-साहित्य, बिरिङ, अभियान साहित्य समिति, राङका, सृजनात्मक वैचारिक मञ्च, रूम्तेक आदि प्रमुख रूपमा देखिएका छन्। यीबाहेक नाम्ची, पाकिम र अन्य केही स्थानतिर पनि हुनसक्छन् जसको जानकारी पाइएको छैन।

३. बसिबियाँलो, गान्तोक-
यस किसिमको मासिक साहित्यिक जमघट सन् १९९१ देखि शुरू भएको गान्तोकको बसिबियाँलो हो। सुवास घिसिङको नेतृत्वमा रहेको पहिलो गोर्खाल्याण्ड आन्दोलनले पहाडको सामाजिक जीवनमा अराजकता, असमञ्जस स्थिति ल्याई सांस्कृतिकलगायत साहित्यिक क्षेत्रमा नैराश्य ल्यायो। हाम्रा कवि-लेखकहरूलाई अर्के नजरले हेरिन्थ्यो। यसो हुँदा उनीहरू कि त लेख्न छाड्नु पर्थ्यो,कि त यहाँबाट पलायन हुनुपर्थ्यो। कालिम्पोङ-दार्जीलिङका कतिपय कवि-लेखकहरू गान्तोकमा भेला भई हिमाली बेला पत्रिका कार्यलयमा साहित्यिक चर्या गर्थे।तिनै लेखकहरू मिली एउटा साहित्यिक जमात शुरू गरेका थिए। मूल रूपमा बुद्धिमान प्रधान बमप, सी.के. श्रेष्ठको नेतृत्वमा सञ्चालित बसिबियाँलो कार्यक्रमले धेरै लोकप्रियता हासिल गरेको थियो। सी. के. श्रेष्ठको प्रमुख नेतृत्वमा १४ प्रकरणसम्म चलेपछि बाँकी प्रकरण चाँहि बद्धिमान प्रधान बमपले सञ्चालन गरेका हुन् भन्ने जानकारी पान्छ। यसले नियमित ३४औं प्रकरण पूरा गरिसकेको थियो। पछिबाट गान्तोकमा भारतीय नेपाली राष्ट्रिय परिषद् गठन भएपछि चाँहि यसका मूल योजनाकार सी.के श्रेष्ठ त्यसमा ब्यस्त हुँदा बसिबियाँलो कार्यक्रम १९९९ सालमा सधैंभरिलाई स्थगित हुनपुग्यो। त्यसको केहीपछि त्यही आचार-संहिता र परिपाटीमा तिनै सदस्यहरूले कालिम्पोङमा बसिबियाँलो शुरू गरेका हुन्।

4. बसिबियालोको पहिलो उठान –
अहिलेघरि कालिम्पोङको बसिबियालोले अन्य सबैलाई उछिनेर सर्वप्रिय, सर्वब्यापक र सर्वनियमित बनेको छ। यसका मूल योजनाकार सी के श्रेष्ठ, हीरा छेत्री, शमशेर अली प्रमुख हुन्। सन् १९९३ देखि शुरू भएको बसिबियालोका शुरू-शुरूमा नियमित रूपमा सामेल हुने कवि-लेखकहरूमा मोतीप्रसाद शर्मा, किशोर छेत्री, डा. हर्कबहादुर छेत्री, हीरा छेत्री, गोपी कुमार दास, तारानाथ सुवेदी, दीपक प्रधान, भानु छेत्री, नरेश साही, नवीन पौड्याल, नरजीतसिंह छेत्री, ऋषिराम परासर प्रभृति हुन्। कतिपय कारणवस् सुचारू रूपमा सञ्चालन हुने उक्त बसिबियाँलो सन् १९९६ मा बन्द भयो। त्यति बेला ललित गोलेले भानुभक्तको युद्धकाण्ड भन्ने एकाङ्की नाटक पनि प्रदर्शन गरेका थिए। उक्त समयको बसिबियाँलोमा तत्कालीन राजनैतिक व्यवस्थामाथि व्यङ्ग्यवाण पनि कसिएको हुन्थ्यो। पहिलो चरणको बसिबियाँलो गोष्ठी केही पछिबाट शिथिल बन्न पुग्यो। प्रथम चरणको बसिबियाँलोले केही काम गर्न सकेको थियो। त्यसकै प्रभावस्वरूप १९95 मा कालिम्पोङमा ‘कुकुरजात्रा’ आयोजना गरेको थियो। यसमा अधिकांश बसिबियालोका सदस्यहरूकै सक्रियता थियो। कालिम्पोङ र पहाडको तत्कालीन राजनैतिक सामाजिक आदि समस्याहरूमा ब्यङ्गात्मक प्रस्तुतिले कुकुर जात्रा अत्यन्त लोकप्रिय बनेको थियो। मोतीप्रसाद शर्माले बसिबियाँलोमा पढित छन्दोबद्ध कवितासङ्ग्रह सरिता प्रकाशित गरेका थिए। त्यसबेला उनी यस कार्यक्रमका केन्द्रविन्दु थिए। अधिकांश कार्यक्रम महकुमा पुस्तकालयमा सञ्चालन हुने गर्थ्यो। कार्यक्रमको सञ्चालन घरपटिले गर्ने गर्थे। रचना पठनका निम्ति मञ्चमा कसैलाई नामोच्चारण नगरी त्यसमा सहभागी हुन आउनेले आफैं अघि आएर आफ्नो रचना सुनाउँथे। कथा, कविता, निबन्ध, कुनै विचार अघि सार्थे। एकपटक १९९५ को प्रकरणमा काठमाडौंका साहित्यकार पूर्णप्रकाश नेपाल यात्री र सिक्किमबाट महानन्द पौड्याल कार्यक्रममा आएर आफ्ना रचना र विचार व्यक्त गरेका थिए। बसिबियाँलोमा हुन गान्तोक, टिस्टा, कालिम्पोङका बजार र गाउँतिरबाट आएर सहभागी हुने गर्थे।

5. बसिबियाँलोको दोस्रो उठान-
कालिम्पोङ नियमित रूपमा चलिरहने बसिबियालो कार्यक्रम 1996 देखि स्थगित हुन पुग्यो। यसको दोस्रो चरण फेरि प्रारम्भ भयो। दोस्रो उठान शुरू भएदेखि अहिलेसम्म रोकिएको छैन। यसका प्रकरण विभिन्न स्थानमा सम्पन्न भएका छन्। विशेष गरी हीरा छेत्रीको प्रयासमा फेरि सन् २००५ देखि यो कार्यक्रम बौरी उठ्यो। त्यस पछिदेखि यसले पछि फर्केर हेर्नुपरेको छैन। निमा स्याङदेन, मुन्नु गौतम, सारथी तामाङ, शिव छेत्री शिवु, उमेश उपमा, असीम सागर, अरूण साङपाङ, बी.के.शिलाल, शशि सुनाम, ललित गोले, अरूण रसाइली, अभिमन्यू कलियुगे, खड्ग छेत्री, रघुनाथ दङ्गाल इत्यादि प्रमुख यसका नियमित कवि-लेखक हुन्। हिउँद महिनामा तीनपटक जति सिक्किमका कृबु संयमीको आतिथ्यमा टिस्टा-रङ्गीतको दोभान त्रिवेणीमा पनि वनभोजका रूपमा साहित्यिक संगम आयोजना भएको छ। कथा-कविताबाहेक कसैले नाटक, कसैले समीक्षा, कसैले वार्ता प्रस्तुत गर्ने गर्छन्। यसले आफ्नो कार्यक्रममा महानन्द पौड्याल, नरबहादुर दाहाल आदिलाई गाउँबुढा उपाधिले सम्मानित गरेको छ भने साहित्यिक-सामाजिक क्षेत्रमा योगदान दिने विभिन्न प्रतिभालाई अभ्यर्थना र सम्मान गरिसकेको छ। गत वर्ष नोभेम्बर ६ र ७ का दिन यसले दुई दिन व्यापी १०० औं प्रकरण भव्य रूपमा सम्पन्न गर्‍यो। त्यसमा दार्जीलिङ-सिक्किमका सम्पूर्ण यस्ता साहित्यिक भेला गोष्ठीलगायत विभिन्न साहित्यकारहरूलाई निम्त्याएर कार्यक्रम भएको थियो। गान्तोकका रूद्र पौड्यालको प्रमुख आतिथ्यमा रामकृष्ण रङ्गमञ्चमा साहित्यिक महोत्सवका रूपमा सम्पन्न दुई दिने कार्यक्रममा कविता, वार्ता, नाटक, ऩृत्य, गीत-गायन, वक्तव्य आदि रहेका थिए। शमशेर अली, हीरा छेत्री, सी. के श्रेष्ठ, आदिको सक्रिय आयोजना रहेको थियो। सानुमति राईलाई गाउँबूढाको उपाधिले सम्मान गर्‍यो भने पाँचवटा पुस्तकको विमोचन गर्‍यो। त्यतिबेला बसिबियालो १०० नामक एउटा पत्रिकामा पनि विमोचन गरेको हो। हालैमा यसले सन्दक्पुमा आफ्नो ११७ प्रकरण पूरा गरेको थियो। अहिले यसले 200 भन्दा बढी प्रकरण पार गरिसकेको छ।
कालिम्पोङको बसिबियालोको समूहले एकपल्ट मुम्बइमा पनि एक सय पच्चीस औं प्रकरण सम्पन्न गरेको थियो। त्यस समारोहमा मुम्बइकै समाजसेवी श्रीमती इन्दु गजमेरलाई गाउँबुढा द्वारा सम्मानित गरेको थियो। बसिबियाँलोलाई डोहोर्‌याउनेमध्ये प्रमुख सि. के श्रेष्ठ, हीरा छेत्री, शमसेर अली, अरूण कुमार रसाइली, रूद्र कार्की आदि हुन्। यसले प्रत्येक पच्चीसौं प्रकरणमा एकेकजना सर्जकलाई गाउँबुढाको उपाधि दिएर सम्वर्द्धना गर्ने चलन राखेको छ। हालसम्म दसजना जतिलाई गाउँबुढाको उपाधि दिइसकेको छ।
बसिबियाँलोले कालिम्पोङ साहित्यिक परिवेश बनाएको छ, धेरै नवोदित र नयाँ पुस्ताका धेरै सर्जक जन्मायो, साहित्यप्रति रूचि जगाउने काम गरेको छ। यसकै मञ्चका आधारमा कालिम्पोङबाट केही साहित्यिक पुस्तक पनि प्रकाशित भएका छन्। यसका मञ्चबाट राजनैतिक व्यङ्ग्य, सामाजिक सचेतनता, जातीय जागरणका सन्देश आदि मुखरित भएको पाइन्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।