19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भाग्य

लघुकथा भूमिका गैरे तिमिल्सिना January 16, 2025, 8:54 am
भूमिका गैरे तिमिल्सिना
भूमिका गैरे तिमिल्सिना

`` उजेली , ए उजेली ! हैन , कहाँ मरी यो ? बस्तुको भकारो सोर्नु, दाना पानी खुवाउनु , एकछिन पछि भाइलाई स्कुल पुर्याउनु काम कत्ति छ ? आफूलाई मेलामा जान ढिला भइसक्यो । ´´ आमा कराउनु भयो ।

हस्याङफस्याङ गर्दै उजेली पधेँराबाट पानी लिएर आई । आमाले उसलाई काम अह्राएर मेलामा जानुभयो । उसले हतार हतार गरेर सबै काम सकी अनि भाइलाई विद्यालय पुर्याउँन गई । सधैँझैँ आज पनि गुरुले पढाएको कुरा उसले लुकेर सुनी । त्यो देखेर गुरु साँझपख उजेलीको घरमा पुग्यो भयो ।
उसकी आमालाई भेटेर भन्नु भयो , `` उजेली टाठी बाठी छे । विद्यालय भर्ना गरिदिनु पर्छ । ´´
उहाँले झर्किदै भन्नुभयो , `` मास्टरसाप , अर्काको घर खाने छोरीको जातलाई किन पढाउने ? बरू कुलको इज्जत धान्न काम पो सिकाउने हो । राम्रो घर पाए बिहे गरेर पठाइ दिने हो । ´´

गुरुले सम्झाउनु भयो , `` अर्काको घरमा जाने छोरीलाई आत्मनिर्भर बनाउन त झन पढाउनु पर्छ नि ! ´´

आमा र गुरूका विवाद सुनिरहेकी उजेलीले मनमनै
सोची , "पढनका लागि त छोरा भएर जन्मनु पर्ने रहेछ । आफ्नो त कर्म नै खोटो !´´

उसैबेला उजेलीलाई हेर्न भनेर मामाले केटो लिएर आउनु भयो । कुराकानी मिल्यो । बिहेको दिन निश्चित हुँदै थियो , केटा जुरूक्क उठ्यो र भन्यो, `` मेरो एउटा चाहाना छ , त्यो भए मात्र बिहे गर्छु । ´´
आमा र मामाले भयभित हुँदै सोधे , `` कस्तो चाहना हो ? ´´

उसले गम्भीर हुँदै भन्यो , `` मेरी श्रीमती भएपछि यिनले कम्तीमा पनि स्नातकसम्म पढ्नु पर्छ । ´´

गैंडाकोट ४, नवलपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।