परिचय – इन्द्रराज पौडेलसँग मेरो परिचय भएको करिव ७/८ वर्ष भयो होला । यो परिचय पनि तत्कालिन त्रिवेणी साहित्य परिषद तथा हालको त्रिवेणी साहित्य प्रतिष्ठानको साहित्यिक कार्यक्रममा भएको हो । मैले उहाँलाई जहिले भेटे पनि हँसिलो रूपमा पाएँ । गोरो अनुहार, मझौला उच्चाइ फुर्तिलो चालको साथमा कर्ममा तीब्रता, बोलीमा नम्रता र मिठास पूर्ण भावनाको आदान प्रदानमा प्रष्टता र स्वच्छता पाउँदा मलाई निकै आनन्द लागेको अनुभूति भयो । उमेरको हिसावले पनि समकालिन रहेछौं । पोखरा लेखनाथ २३ पुम्दीभुम्दी, कास्कीमा माता नन्दकली र पिता पं. तुलसीराम पौडेलका साँहिलो पुत्ररत्नको रूपमा २००४ वैशाख ९ गते जन्म भएको थियो । यो कृति प्रकाशन समयका वेला सोरहवा –८, तमौलीपुर, बर्दियामा बसोबास भए पनि हाल गैडाकोछ न.पा.–५,नवलपुरमा स्थायी बसोबास गर्दै आउनु भएको छ । ‘नेपाल आमा’पहिलो कविता जस्ले पृथ्वीनारायण क्याम्पसबाट नगद र प्रमाणपत्र प्राप्त गरायो त्यसबाट कृतिप्रकाशन र साहित्यमा अगाडी बढ्न अग्रसर बनायो । पौडेलको ‘पीडा’ कवितासङ्ष््रह (२०६१)ले कृतिकारको रूपमा परिचय गराउनुको साथै पौडेलका मानस (खण्डकाव्य –२०६२), प्रेमाञ्जली (शोककाव्य–२०६८), भद्राञ्जली (खण्डकाव्य –२०७०), क्रान्तिवीर कृष्णप्रसाद (खण्डकाव्य–२०७२),जन्मभूमि (खण्डकाव्य, २०७३) र महिमामयी आमा (शोकात्मक खण्डकाव्य २०७४) बजारमा ल्याउन सफल देखिनु भएको छ ।
प्राप्त पुरस्कारहरू –इन्द्रराज पौडेलले साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै यसकृतिको प्रकाशन समयसम्म विभिन्न शैक्षिक तथा साहित्यिक संस्थाबाट यसप्रकारका पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएको छ । १) पृथ्वीनारायण क्याम्पसबाट नगद र प्रमाणपत्र प्राप्त २) पुष्प प्रतिभा साहित्य पुरस्कार खजुरा बाँके ,३) भद्रकुमारी घले सेवा सदनबाट नगदराशि र ताम्रपत्रबाट सम्मानित, २०७०, ४)भानुभक्त स्वर्णपदक र प्रशस्तिपत्रद्वारा सम्मानित, २०७१, ५)भेरी साहित्य समाज, बर्दिया शाखा, नेपालगञ्त बाट सम्मानित, २०७१, ६)अनुपम साहित्य समाज भुरीगाउँ बर्दीयाबाट सम्मानित, २०७२ आदि आदि ।
आजीवन सदस्य – १) बर्दीया साहित्य समाज , बर्दिया , २) मध्यपश्चिम स्रष्टा समाज,बाँके ३)नेपाल रेडक्रस सोसाइटी, बर्दिया,४) नेपाल शिक्षक सङ्घ, बर्दिया, ५,त्रिवेणी साहित्य परिषद, नवलपुर ।
कृतिको संरचना –आवरण अग्र पृष्ठमा ममतामयी आमाको अर्धकटको सुन्दर तस्विरले सजिएको छ । पछिल्लो आवरणमा कविको व्यक्तिगत विवरणले सजिएको छ । यसकृतिको प्रकाशन त्रिवेणी साअित्य परिषद, नवलपुरले गरेको छ । यो त्रिसाप बल्लरीको ७४औ पुष्पमाला हो । यो प्रकाशन रजत जयन्ती (२०४७ –२०७२)को उपलक्षमा गरिएको हो । यसकृतिको मूल्य रु २११/- राखिएको छ ।आवरण /सेटिङ्ग कालिका कम्पुटर सर्भिस, प्रेशमार्ग नारायणगढ र मुद्रण चित्रवन प्रिन्टर्स प्रा.ली. प्रेशमार्ग नारायणगढले गरेका छन् । यो कृतिलाई आमाप्रति चार / चार हरफका दुई श्लोकबाट समर्पण गरिएको छ । आमाको महान्तबाट यो तनको आधार खडा हुन्छ । मायाका रसले धैरै कष्ट सहेर सिर्जना हुन्छ । यस्ती महान आमालाई आराधना र अर्चना कसरी गरूँ भन्दै कविले दोस्रो श्लोकलाई यसरी आमामा समर्पण गरेका छन्–
गर्ने ईश्वर बास आत्मा तनमै निर्माण गर्ने उनी
सारा विश्व अटाउने हृदय नै आकार कोर्ने पनि
आमा आदरपात्र हुन् सकलकै सम्मान माया गरौं
श्रद्धाभाव लिँदै पुजेर मनले साकार देवी भजौं
पृष्ठ ग
प्रकाशकीय –यस कृतिको प्रकशकीय त्रिवेणी साहित्य परिषद, नवलपुरका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालले लेख्नु भएको छ । प्रकाशकीयबाट जानकारी हुन्छ कि ‘श्री नारायणदत्त पौडेलद्वारा आफ्ना पिता इन्द्रराज पोडेलको नाममा स्थापित ‘इन्द्रराज पौडेल काव्य पुरस्कार’ हालसम्म चौथोपटक वितरण गरिसकिएको छ । इन्द्रराज पौडेलको पेशागत विवरण व्यक्तिविवरणमा नदेखिएको पनि प्रकाशकीयबाट पत्तालाग्छ कि उनी कास्की र बर्दियाका शिक्षण संस्थाहरूमा अध्यापन गरी हाल सेवानिबृत्त भएर साहित्य र समाज सेवामा समर्पित हुनुहुन्छ । यसकृतिको ‘महिमामयी आमा’ शोकात्मक खण्डकाव्य ः एक अवलोकन शीर्षकमा गोविन्दराज विनोदीले लामो भूमिका लेख्दै भन्नु हुन्छ –‘योकाव्य ज्यादै सन्देशमूलक,पठनीय,सङ्ग्रहणीय बन्न पुगेकाले कवि इन्रराज पौडेल धन्यवाद र बधाइका पात्र बन्न पुग्नुभएको छ ।’ (पृष्ठ त) । यस कृतिको लेखकीयमा पौडेलजीले संसारमा गतिशील व्यक्ति आमाका वरदान हुन् भन्दै नारीप्रति गरिने व्यवहार, सम्पन्नतामा पनि बृद्धआश्रम पु¥याइने आदि मार्मिक अभिव्यक्ति पस्कँदै यस काव्यले समेट्न खोजेका कुरामा ‘छोराबाट प्रताडित आमाले भोगेका कुरालाई विषयवस्तु बनाउने जमर्को भए पनि काव्यले समाजिक अवस्थालाई केलाउँदै भन्छन् –‘आमाबाबुका क्रियाकर्म सकेपछि आमा–बाबुको पालन पोषणमा जिम्मा लिएकाले अरु दाजुभाइको ढाडै सेक्ने गरी खर्च तोक्ने तर शेष पैतृक सम्पत्तिमा भने गिद्धेदृष्टि लगाई दाजुले भाइहरू र भाइले दाजुहरूप्रति गर्ने असहिष्णु र असन्तुलनीय व्यवहारबाट कुँडिएका मनहरूको भावावेश पनि काव्यमा विषयबस्तु बन्न गए ।’ (पृष्ठ न) इन्द्रराजले प्रस्तुत गरेको यी वाणी हाम्रो समाजमा कटुसत्यको रूपमा व्यवहारमै देखिन्छन् । यस्ता कर्महरू कसैले गर्न हुँदैन ।
यस काव्यमा कविताक्रमहरू आठ उपशीर्षक र ५३ पृष्ठमा प्रस्तुत गरिएका छन् । त्रिवेणाी साहित्य परिषद नवलपरासीका प्रकाशनहरू ३ पृष्ठ पनि यहाँ उल्लेख गरिएका छन् । यसरी आवरण पृष्ठ बाहेक कृतिको आकार ७८ पृष्ठको छ ।
काव्यभित्र प्रवेश गर्दा –यस कृतिलाई शोकात्मक खण्डकाव्य भनिएको छ । शोक भन्ने वित्तिकै कुनै चिज को मृत्यु अथवा मानिसको मृत्युमा चिन्तित हुनु वा दुःखि हुनु हो । यो शोकात्मक खण्डकाव्य ममतामयी आमाप्रति लेखिएको छ । आमाको माया अपरमपार हुन्छ । मातृत्यप्रेमको कुनै तुलना हुँदैन र अमूल्य हुन्छ । सन्तानप्रति निःस्वार्थ वात्सल्यप्रेम हुन्छ, सन्तानप्रति भोक दुखकष्ट सहीन्छ र सन्तानलाई हुर्काइन्छ, पढाइन्छ, र आफ्नो खुट्टामा उभिने बनाइन्छ । कविले आठओटा खण्डमा के कस्ता धारणा पस्केका छन् । त्यस विषयमा विश्लेषण गर्दै अघि बढ्ने अनुमति चाहान्छु ।
प्रस्तावना – यहाँ कविले आमाहरूमा सिर्जना गरेर संसार चालाउने कला हुन्छ । यी कलाहरू कमालका हुन्छन् । उनमा रचना शक्ति हुन्छ । मू्रर्ति कुन्दा दिइने आकारजस्तै सन्तानलाई सुन्दर बनाउने क्षमता आमामा हुन्छ । आमाले मुटुको तल राखेर उसलाई चाहीने वातावरण दिएर जन्म दिन्छन् र दूध पिलाउँछन् भन्दै कविले आमाको महत्वलाई यसरी प्रस्तुत गरेका छन् –
आकाशै धर्ती जति तौलदा उति
अमा सरी हुन्न बराबरै त्यति ।
क्यै छैन आमातुलना विशालमा
आमासरी छैन कुनै कुरो यहाँ ।।
(श्लोक ५ पृष्ठ २)
माथि नै भनिएको छ कि आमाले सन्तानको लागि के नै गदिनन् ।अव कविको नजरमा आमा के हुन् त भन्ने प्रश्नमा यसरी उभिएका छन् –
। आमा विना सृष्टि थामिदैन । यो सत्यकुरा हो कि आमा पृथ्वी हुन् । उनले बीउलाई उमार्न सक्ने क्षमता छ । बीउलाई उमार्ने मात्र हैन पालन पोषण, मार्गदर्शक, रखवारी, घरकी धुरी, परिवारमा ठूली, यदि आमालाई कुनै पदले विभूषित गर्न परेमा उनी विशाल छन् र उनी हिमाल सरी अटल छन् । सन्तानको संरक्षणको लागि उनको शिर कहिल्यै झुक्दैन, सन्तानले जे जस्तो काम गरे पनि आमा क्षमादायिनी हुन्छिन् । आमाले सन्तानलाई गतिशील बनाउँछिन् र सन्तानको प्रगतिमा रमाउँछिन् । यस्ती महान आमाप्रति कुनै कुनै कुपुत्रको व्यवहार कस्तो हुन्छ त ? कवि यसरी प्रस्तुत भएका छन् –
जन्मन्छन् सन्तान कताकतै कुनै
उत्रन्छ आफ्नी जननी रुवाउने ।
आमा बढी भै अलपत्रमा परी
रोइरहेका पनि छन् कठैबरी ।।
(श्लोक १६।, पृष्ठ ४)
छोरामात्र हैन आमाले छोरी पनि जन्माउँछन् । हुर्काउँछन् ,विवाहदान गरिदिन्छन् । छोरी बुहारीमा रुपान्तरण हुन्छन् । संसारिक चक्र हो । उनी पनि घरवारको मजा लिन्छन् । सन्तान जन्माउँछन् र रमाउँछिन् पनि । पतिका मनपेट छाम्छन् र यसपछि , सासूका कमी कमजोडी केलाउँछन् । बुहारीले सासूको सेवा गर्नुको सट्टा घरमा रडाको मच्चाइन्छ र सासू हेला हुन्छन् । यस सम्बन्धमा कवि यसरी प्रस्तुत भएका छन् –
सन्तापको ओखलमा पिसाउने
त्यो घानमा सासूहरू मिसाउने ।
खुम्चाउँदा चित्त हुँदै अधोगति
दुर्नाम बन्ने किन हाँसियो मति ।।
(श्लोक २० पृष्ठ ५)
आजको संसारमा आमाहरू हेला हुने, आमाहरूको चित्त दुखाउने, बृद्धआश्रम पठाउने, एकान्त ठाउँमा लगेर छाड्ने काम निकै बढ्दै गएका छन् । कविले यस्ता विषादलाई जरैदेखि मास्न चाहान्छन् । यस्ता स्वभाव त्याग्न चाहाने धारणा सहित कविले सबैमा आग्रह गर्दछन् र यो खण्ड समाप्त हुन्छ ।
हामी बसालौं सबले परम्परा
आमाहरूमाथि नहोस् कुनै सजा ।
आमाहरू जो जति छन् समाजमा
लागौं खुसी पार्न सधैं प्रयासमा ।।
(श्लोक २२ पृष्ठ ६)
खण्ड २ – मातृसेवा महायज्ञ शीषक दिएर यस खण्डको थालनी भएको छ र यस शीर्षकको महत्वपूर्ण सन्देश भनेको मातृसेवा नै जीवनको महायज्ञ हो । आमाको सेवा गरेपछि कुनै देवताको, जप ,पूजा, पाठ, आराधना, उपासना, ब्रत आदि गर्न पर्दैन सबै किसिमका पाप नष्ट हुन्छन् भन्ने हो । यो जीवन एउटा चक्र हो । छोरीको जन्म भएपछि विवाह हुन्छ । परघर गइन्छ । बुहारी भइन्छ, । नयाँ अनुभूति सङ्गालिन्छ । नयाँ परिवेशमा रमाउनु पर्ने हुन्छ । त्यसपछि सन्तान जन्मन्छन् र आमा बनिन्छ, । छोराको विवाह भए पछि सासू बनिन्छ । उमेरले नेटो काटे पछि जीर्ण हुइन्छ । यी सबै अवस्थालाई कविले भन्दछन् –
जन्म मृत्यु जरा व्याधि भोगेर परिचक्रमा
फेरो जीवनको घुम्दै आफ्नो जीवत्व खण्डमा ।
श्लोक ५ पृष्ठ ७
अन्य पुराण भन्दा त आमा–पुराण नै पढौं
पुजौं आमा बुझौं आमा आमा–सेवा सधैं गरौं
श्लोक ६ पृष्ठ ८
यदि गहिरिएर सोच्ने हो भने आमा देवी हुन, र्धर्यकी पुञ्ज हुन् , सहनशीलताकी भकारी हुन,् सन्तानको दुखमा दुख मान्ने, सन्तानको सुखमा आनन्द लिने, दर्दलाई खर्लप्प निल्न सक्ने क्षमता भएकी आमालाई पूजा गर्दा सबै पापबाट मुक्त भइन्छ । भन्ने काव्यको आशय हो । बुढापामा आमा विकृतिको शिकार हुन सक्छन् । कुपुत्रले आमालाई दुख दिन्छन् । आमालाई लखेटे्र अधिकार जमाउन खोज्छन् । आमाको हक खोसेर सम्पत्ति हडप्न खोज्छन् भन्ने अर्को आशय पनि यस खण्डमा आएको छ । काविले आमाको दूधको भारा तिर्न सकिदैन । हीरा मोती तुला दान, तीर्थ सकल धार्मिक कर्म भन्दा महान हुन्छ मातृसेवा, ठोकुवा गर्दै तलका दुई हरफ पस्कदै यो खण्ड समाप्त हुन्छ –
मानव नबनौ दुष्ट दानवीय प्रवृत्तिका ।
बनौ सभ्य इमान्दार हामी मानव धर्तीका ।।
(श्लोक ३२, पृष्ठ ११)
तेस्रो खण्ड –आमाको योगदान –यस खण्डमा कविले आमाले जन्माउने देखि वयस्क हुने अवस्थासम्मको क्रियाकलापलाई दर्शाउने काम गरेका छन् । एउटी आमाले गर्भ धारण गरेपछि पाउने दुख पीडा, प्रसूति पीडा, सन्तान जन्मेपछि सेकताप, स्तनपान,बालबच्चा हुर्काउँदाका पीडा? आमाले दिने मायाको चुम्बनको साथ स्तनपान, कोल्टे फर्कदा उठमउने काम, धर्तीमा उभिन खोज्दा ताते ताते गरएर हिडाउने काम, स्याब्बै, स्याब्बै गरेर नचाउने काम, आदि क्रिया कलाप हेर्दा कुनै आमाले शिक्षा लिने र वैंसालु युवतीहरू लोभिन्थे भन्ने आशय आएको छ ।बालबलिकाहरू आमाशोषित हुन्छन् । खानेवेलामा थाल कचौराको रोजाइमा लड्छन् मिठो खानेकुरा दिएर आमाले मिलाउन पर्ने, बिस्तारमै दिसापिसाब गरिदिने, त्यसबाट जोगाउनु पर्ने, छोराछोरीलाई कुलाचार, मर्यादा। संस्कार,संस्कृति, धर्म, परंपरा सिकाउनु पर्ने आदि राम्रा कर्मको मार्गदर्शन गराएको धारणा आएको छ ।
चौथो खण्ड –आमाः घरकी लक्ष्मी –हाम्रो समाजमा अझैसम्म छोरीको जन्म हुँदा नाम खुम्चाउने चलन छ तर त्यो छोरीले जन्मेदेखि मृत्युवरण गर्ने सम्मको पीडालाई यस खण्डले समाएको छ । जन्मिन्छ, तापमा बढीन्छ, विवाह हुन्छ परघर तथा परको परिवेशलाई स्थपित गराउँदै सामाजिक मर्यादा पालन गर्दै, पतिलाई रिझाउँदै, प्रेोढ अवस्था नपुग्दै जञ्जालमा फस्दै बृद्ध अवस्थामा पुगिन्छ । यति अवस्था पार गर्दा पनि नारी स्वतन्त्र भएको पाइँदैन । नारीलाई खुला झेलामा राखिए सरह देखिन्छ । समाजमा, छोरी भएर जन्मनु भनेको आमा बन्नको लागि हो भन्ने मान्यता देखिन्छ । बुहार्तन सहनु पर्ने, खाना टन्न नपाइने, पुरा निन्द्रा सुत्न नपाइने, चारघरी रात बाँकीमा उठ्न पर्ने घरधन्दा सक्नु पर्ने, चाड पर्व मनाउन नपाइने, सासूका पाउ मोल्न पर्ने, सुखका दिनको खोजी गर्दै बस्नु पर्ने, सन्तान जन्माउँदा अङ्गको ढङ्ग नै बिग्रने, सासू बन्दै बुढी आमामा परिणत भइने आदि विविध पीडालाई यस खण्डले समेटेको छ । आजको संसारले नौलो फड्को मारी सकेको छ । समाजमा नयाँढाच उदाएको छ । हिजोका आमाहरूले आफ्ना सासूबाट पाएका बुहार्तन सम्झन्छन् । आमाहरूले यो नयाँ परिपाटीको भेउ नपाएका कारण आपूmले भोगेका तथा व्यहोरेका कुराहरू बुहारीमा लागु गर्न चाहान्छन् तर लागु हुन सक्दैनन् । सासूबुहारीमा केही कुरा अमिल्दा देखिए पनि सबै रूप नारीकै हुन् भन्दै कविले तलका दुई श्लोक सहित यो खण्डको बीट मारेका छन् ।
हुन्छन् कारण क्यै भिन्नै सासूबुहारीमा
आमा ती घरकी लक्ष्मी स्वार्थ राख्ने सुधारमा ।।२७।
रक्षिका घरकी आमा भुक्ने श्वानसरी उनी
तर वर्दान हुन आमा लच्छिन घरको पनि ।।२८।।
पाँचौ खण्ड– आमाको सहनशीलता – आजको जमानामा नारीले भोग्न परेका झन्झट, तिनै चुटिने, लुटिने बजारमा विक्रीहुने, अत्याचार, बलात्कारमा पर्ने, अन्यायमा पर्दा पनि दोष नै व्ष्होर्न पर्ने, घरभित्रैको हिंसामा पर्ने, जन्म दिने यन्त्रमा गनिने, सन्तानबाट शोषित हुने, मुखको गास खोसिने, धुतिने, मुटुमा झिर रोप्ने, बुढेसकालमा पनि कजाउने, हेलित हुने जस्ता पीडालाई यस खण्डले समेटेको छ । यस खण्डमा कविले नारीले गर्भ धारण गर्छन् आमा बन्न चहान्छन्, जायजन्म गराउँदा जीवन मरणको अवस्थामा पुग्छन् । कतिको त मृत्यु नै हुन्छ तर पनि नवजात मुसारेर काखमा लिएपछि र छातीका पोषिला मुन्टा शिशुले पिउन थालेपछि सारा दुख विर्सन्छन् । प्रसव वेदनालाई कविले अति मार्मिक रूपमा पस्केका छन् ।
यस खण्डमा कविले आमाको सम्झना कहिले हुन्छ भन्ने धरणा पनि राखेकाछन् । जसका आमा सानैमा मर्छन् तिनीहरूमा आमाको अभाव खड्कन्छ र आमाको स्मरण गर्छन् ।अरूहरूको लागि आमाको स्मरण सम्बन्धमा कविले तलका दुई श्लोक सहित यस खण्डको बीट मार्दछन् –
आमा भक्त सबै हुन्छन् आफ्नी आमा मरेपछि ।
आफ्नी जन्मदिने आमा धर्ती छाडी गएपछि ।।३१।।
साँचेर मुटुमा फोटो सम्झी राख्छन् जुनी भरी ।
तिनैका मनले भन्छ मेरी आमा कठै बरी ।। ३२।।
(पृष्ठ २७)
खण्ड छ –हम्री आमा –यो खण्डमा कविले आफ्नी आमाको स्मरण, आमाले धेरै कष्ट भोगेर, कविलााई पालन पोषण गरेका धारणासहित आमाको मृत्युवरण कसरी भयो सो को विवरण यहाँ पस्केका छन्् –
लम्मिदैन कतै आयु पूmल राम्रा भए पनि ।
वैलाइ झर्नै पर्छ जति माया गरे पनि ।।१।।
पृष्ठ २८
प्राकृतिको वर्णन गर्दै मरणलाई कविले अनिवार्य ठानेका छन् । यो ध्रुब सत्य हो कि जन्मेपछि मृत्यु ह्ुन्छ । यहाँ धेरै उदाहरण दिंदै कवि भन्छन् –मर्नै पर्दछ जन्मेर प्रकृतिको विधान हो
धर्तीमा जन्मनेलाई मृत्यु नै अनिवार्य हो ।।४।।
कविले मुढो जस्तै लडेर बाँचनु पनि अभिशप्त भएकोले त्यति लामो आयुसँग कवि सहमत छैनन् । पाखुरा दरा रहुनदेरको आयु ठिक हो । जीर्ण भएर बाँच्ने आयु कसैको नहोस् । आदि धारणा राख्दै आमा अचेतमा परेका, सोक मौनमा रहनु, पाखुरा छँदा काममा दलिनु, धन्दामा नारिदै जानु, जोरजाम साँचीनै रहनु, तर बुढपा भए पछि घरको दैलो कुरेर बस्न, उठ्न पनि गाह्रो हुनु, घाँटीको साँचो खोसिनु,फाँचोमा भएको पनि रित्तनु, सापटीमा दिएको नफर्कने हुनु, जोरजाम अर्काको हातमा जानु, केही सञ्चय गरेर लुकाएको घरमै वेपत्ता हुनु, आदि भएपछि छोडाएको मूलाजस्तै बोक्राहीन हुनु, दूध नदिने बुढीगाई जस्तै हुनु , ओखती नगरिनु, खाए नखाएको कुनै वास्ता नहुनु, शुद्धताको खोजी तथा कसैले छोएको नखाने बानी तर अशक्त भएपछि शुद्र सेवकबाट रेदखदेख हुनु, अपहेलित हुनु, आमा भन्दा धन प्यारोहुनु, पालन पोषण जिम्मा लिएकाले पालन पोषण भन्दा शोषण गर्नु, कोही छोरा जीवन धान्न मुगलान पस्नु आदि हाम्र समाजमा बृद्ध आमाप्रति गरिने अति कारुणिक धारणा दिलखोलेर प्रस्तुत गरेका छन् । अनेकौं इच्छा आकान्छा कति रहेका थिए होला ती सबै अपूर्ण रहेर आमा अचेतबाटै शून्यमा विलाइन् र यस संसारको दुःखबाट मुक्त भइन् ।
मानिस कसरी मुक्ति प्राप्त गर्छ । मृत्यु के हो भन्ने धारणा पनि कविले प्रष्ट्याएका छन् । कविले अजीर्ण आयु जिउनी अभीशाप हो भनेका छन् । यस्तो दुःखदाई जीवनबाट मुक्ति पाउनु र शान्ति पाउनु, चिन्ता मुक्त गराउने चिहान हो भन्दै कविका दुई श्लोक पस्कदै यो खण्ड समाप्त हुन्छ –
मिल्छ सर्वत्र छुटकारा बिलाएपछि शून्यमा ।
अन्यत्र छैन है शान्ति जीवन मृत्युतुल्यमा ।।६१ ।।
शून्यबाट भई विन्दु घोलिदै रजबीजन ।
जन्मेका धरणीमाथि शून्यमा हो बिलाउन ।।६२।।
पृष्ठ ३६
खण्ड सात –आमाको बिदाइ – मानवीय जीवनको हरेक चीज मृत्युमा समाप्त हुन्छ । हाम्रो संस्कारमा मृत्यशरीरलाई विदाई जलाएर परेवा तौलको अवशेषलाई दुई भाग गरी आधा भाग जमीन र आधाभाग जलमा बगाइन्छ । यी कुरा यस खण्डले समेटेको छ । यस खण्डमा मानव मृत्यु भएपछि लाजको पर्दा, अपमानको चेत, ईष्र्या र द्वेषको भाव, न लोभ कामधामको, न भोकप्यासको चिन्ता, न ख्यालमनमा र दम्भ आदि केही रहदैन सबै मृत्युसँग जान्छ । यो पञ्चतत्त्वले निर्माण भएको शरीरका तत्त्वहरू आआफ्ना स्थानमा विलिन हुन्छन् । यस अवस्थामा छोराले साथै सम्बन्धितले गङ्गजल, तुलसपित्रको जल खुवाउने, जल निल्न नसकी प्राण उडेपछि मलामी जोड्न उल्टो शंख फुक्नु, शरीरका तत्वहरूले छाडे पनि धनञ्जय वायुले भने साथ दिने, तुलसीको मोठको नजिक राखिने गाइको गोवरले लिपेर, जौ कुश तिलानीको पानी छम्केर शुद्ध बनाएर अगर बत्ती बलिने, नापेर बाँस काटिने,बाँसका टेका ताछिने, छोराले कपाल खौरनी, दामी सुनचाँदी उतारिने, बाँस माथि राखेर पिताम्वर ओढाएर, पूmलमाला पहिराएर, पिण्डदान गरेर, छोरा बुहारी छोरी सबैले काँधीकाठ दिएर , सबै रुँदै लासलाई घाटतिर लाँदै लावा बुकी छर्दै, घाटमा पु¥याइ, चिता बनाइ चितामा राखी चितामा पिण्डदान दिंदा पिण्ड सामाग्री, छातीमा, मुखमा, दुई हातमा राखी पिण्डदान दिने, चितामा आगो दिनेकामहरू काव्यले समेटेको छ ।
आमाको शरीरमा आगाले आक्रमण गर्न थाले पछि कविलाई आफ्नै शरीरमा आगोको दहनले जलेको महसूस हुनु,, तीर नै छातिमा रोपिएको महसूस हुनु वेदनाका आँसु झर्नु, सबै शरीर जलेर राख भएको धारणा सहित कवि भन्छन् –
थुप्रियो राखको रास देह तत्व गए कता ।
खल्खली पसिना आए भावशून्य भए म ता ।।४५।।
पृष्ठ ४३
यस खण्ड पनि कविले आमाका शरीरका अङ्ग जलेको र त्यसको उनमा परेको पीडालाई सबैले आत्मसात ् गर्दछन् र यो काव्य पढ्नेवालाका आँखा रसाउँछन् , अस्तु विसर्जन गरेर गङ्गमा नुहाएर मलामी चोखिएर फर्कन्छन् ।
खण्ड आठ – आमाको ममता
आमाको ममता रास रित्तिन्न कहिलै पनि ।
बाँडेर मनमा माया सिद्धिन्न कहिल्लै पनि ।।१।।
पृष्ठ ४५
यस्ता गहन धारणाको साथमा कविले आमा दया र ममताको फाँचो सधैं भरी परिपूर्ण हुन्छ । आमाले चिन्तामणिको रूपमा रहेर, आफ्ना सुख तिलाञ्जली दिएर, माया सदावर्त लगाएर छोराछोरीलाई अघाउन सके, भोकै पनि अघाएको ठान्ने धारणा आएको छ काव्यमा । कविको धारणा छ कि आमाको माया बजारमा कहीँ कतै किन्न पाइँदैन, यस्तै महान आमाबाटै देवता, मानव, र दानव पनि जन्मेका हुन् अथवा आमा विनाको सिर्जना सम्भव छैन । यस्ता आमाहरूको पीडा, ताडना,प्रसूती व्यथा, आइपर्ने सबै कर्म थाम्ने अर्थात फलको आशा नराख्ने आमा कर्म योगी हुन् । यस्त आमा बृद्धावस्थामा पुग्दा, आमाको पिडा र चेतनालाई छोरा बुहारीको ध्यान नदिंदा, सोचहीन हुँदा न्याय कोसँग माग्ने भनी कवि प्रश्नवाची हुन्छन् र भन्छन् आमाहरूको जीवन पीडादायी हुन्छ । कविले यस खण्डमा पस्केका केही मार्मिक श्लोकहरू–
जसलाई ठान्छन् आमा दिलको प्रिय कोपिलो ।
बन्दो रैछ तिनैमध्य घोचने मुटुको किलो ।।४४।।
गर्दैनन् तिनलेख्याल रोगमा गलदा पनि
तिनकै मनले भन्छ आमा भट्टै मरून भनी ।।४९।।
चिच्याएर गरे हल्ला लट्ठिने औखती दिने ।
मलमूत्र लथलिङ्ग ख्याल कोही नगर्दिने ।।५०।।
पृष्ठ ५२
जउँदो ज्यानले माड पाएन मरेकालाई खीर भने जस्तै यस्तै कर्म गर्ने, दानको होड गर्ने काम पनि हाम्रो समाजमा भएका कुरा काव्यले समेटेको छ ।
यो काव्यलाई शोकात्मक खण्डकाव्य नामाकरण गरिएको छ । यसमा दुई काव्यको संयोजनमा काव्यको रचना भएको छ । कविको यो काव्यमा ममतामयी आमाको मृत्यु हुनु भनेको ठूलो क्षति हो । यस क्षतिमा आफ्ना सन्तती, नातेदारहरू शोकमा डुब्छन् । आमाले गरेका निस्वार्थ माया सेवा, सन्ततीलाई दिएको मार्गदर्शन, त्याग आदिको अमिट छाप पर्नु स्वभाबिक हो । यस अवस्थामा यो वेदनालाई सहन नसकी सन्ततीहरू छाती पिटी पिटी रुन्छन् अलापविलाप गर्छन् उनको कामलाई अरूले पनि सम्झन्छन् । उनले बिमारीपर्दा गरिएका सेवाहरूको चर्चा हुन्छ । काव्यकारले ममता मयी आमाको मृत्युमा आमाको योगदानप्रति आफ्ना भावना, आमाप्रति गरिने व्यवहारका धारणाहरू प्रसस्त पस्केका छन् । करुणरसको प्रचुरता रहेको यस काव्यमा अरू रसको पनि नगण्य रूपमा उपस्थिति देखिन्छ । महिमामयी आमाको जीवन विवरणको गहन प्रस्तुति गरिएको यस कृतिमा कतै कतै प्राकृतिवर्णन पनि गरिएको छ । कविको यो भावमय काव्य भएकोले बढी भावुकता हुनु स्वभाकि हो । यी सबै अभिव्यक्ति तथा शोक काव्यको मुख्य तत्वको आधारमा विश्लेषण् गर्दा पनि शोककाव्य पूर्णरूपमा सफल देखिन्छ । यस काव्यलाई शोकात्मक खण्डकाव्य पनि भनिएको छ । शोक काव्यको बारेमा त माथि नै भनि सकिएको छ । खण्डकाव्य भन्दा महाकाव्यमा जस्तो पूर्णता हुँदैन । यसमा जीवनको महत्वपूर्ण एक अंशलाई चित्रण गरिएको हुन्छ । यस काव्यमा ममतामयी आमाको बृद्धपाको साथै आमाहरूले भोग्न परेका यावत घटना, छोराछोरीप्रतिको माया ममता। छोराबुहारीबाट गरिने उपेक्षा आदि आदिलाई कारुणिक रूपमा प्रस्तुत गरिएको, ममतामयी आमालाई नायक बनाइएको हुँदा यस काव्यले खण्डकाव्यको पनि प्रतिनिधित्व गर्दछ । लेखकले लेखकीयमा राखेको उदेश्यलाई ध्यानमा राखी लेखिएको र महिमामयी शीर्षक र शोकात्मक खण्डकाव्य सार्थक रहेको देखिन्छ ।
भाषा सरल छ । काव्य कारुणिक छ । कतिपय कुरा दोहोरिएको देखिन्छ । यस्तो अवस्थामा पुनरावृत्ति दोष भएको मानिने गर्छ तर बरिष्ठ कवि गोविन्दराज विनोदीले यस विषयमा लेख्नु हुन्छ –‘यसक्रममा कतिपय प्रसङ्गमा दोहोरिएको झै प्रतीत हुन्छ ती बेग्लाबेग्लै सन्दर्भमा प्रस्तुत भएकाले पुनरावृत्ति दोष दिइहाल्न नमिल्ने खालका छन् ।’ (पृष्ठ त) विनोदीजीको धारणामा सहमत हुँदै यस्ता ममतामयी आमाप्रति धेरै काव्य लेखिउन भन्दै इन्द्रराजले यथार्थ धरातलमा उभिएर लेखिएको यो काव्य अति कारुणिक, सन्देश मूलक, पठनीय र सङ्ग्रहणीय छ भन्दै कविको सुस्वास्थ, दीर्घआयुको कामना गर्दै विदा हुन्छु ।
कावासोती