19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मनी माइन्डेड

लघुकथा विश्वराज अधिकारी January 16, 2025, 9:57 am
विश्वराज अधिकारी
विश्वराज अधिकारी

“दाइ, मलाई मनी माइन्डेड भन्नु भए पनि हुन्छ। मेरो जीवनको उद्देश्य नै पैसा कमाउनु हो। म क्यानाडाबाट धेरै पैसा कमाउन भनेर नै अमेरिका आएको हुँ। यदि अलिकति परिश्रम गर्न जानेको छ भने यो पूँजीवादी देशमा पैसा कमाउन सजिलो छ। सामाजवादी हुन खोज्ने देश क्यानाडामा त्यस्तो सहज छैन।”
म गम्भीर भएर अमनको कुरा सुन्दै छु।
ऊ भन्दै छ, “पैसाबिनाको यो जीवन निर्रथक हो। यो संसारमा, आमाबाबु, दिदीबहिनी, दाजुभाइ, काकाकाकी सबै पैसा हुन्। पैसाले ठुला ठुला भवनहरू मात्र होइन, अटुट र प्रगाढ प्रेम सम्बन्ध पनि बनाउन सकिन्छ। पैसाले साँचोलाई झुठो र झुठोलाई साँचो बनाउन पनि सक्छ।”
म केही बोलेको थिइनँ, मेरो अनुहामा हेर्दै उसले भन्यो, “दाइले पैसाको महत्त्व नै बुझ्नु भएको छैन । माया, प्रेम, दया यी सबैको केही अर्थ छैन पैसा नभएमा। यो भएर नै मैले ओक्लहोमा सिटीमा तीन ओटा गैस स्टेसन, दुई ओटा मोटेल र एउटा भेप स्टोर चलाएको छु।”
“तपाईं जस्तै तपाईंकी वाइफ पनि व्यापारी नै हुन्?” मैले अनायास सोधेँ।
मेरो यस प्रश्नले अमनलाई गम्भीर पारिदियो तर पनि उसले सहज तरिकाले भन्यो, “दाइ, मेरो वाइफसँग डिभोर्स भएको पाँच वर्ष भयो। मेरा दुई सन्तान पनि उनीसँगै छन्।”
अमनको यो कुरा सकिन नपाउँदै तीनओटा कुकुर एकै पटक बैठक कोठामा पसे ।
कुकुरलाई मुसार्दै अमनले भन्यो, “जीवनमा परिवार पनि चाहिने रहेछ दाइ । यी कुकुरहरूले मलाई अति माया गर्छन्। लाग्छ यिनीहरूको मायाले गर्दा नै म बाँचेको छु। मेरा वाइफ, छोराछोरी, परिवार यी सबै यिनै कुकुहरू हुन दाइ।”

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।