18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सामाजिक वास्तविकताः नग्न स्वप्न

कृति/समीक्षा डा. शैलजा पोखरेल January 17, 2025, 2:14 pm
डा. शैलजा पोखरेल
डा. शैलजा पोखरेल

नेपालीमा लघुकथा लेख्ने र छाप्ने वा सङ्ग्रहका रूपमा प्रकाशन गर्ने लहर नै आए पनि आकर्षक शैलीमा चखिलो व्यञ्जनाले साँधेर पाठकलाई चित्त बुझ्दो भाव छोड्न सक्ने लघुकथाकारहरू मध्येका कृष्ण बजगाईं एक कुशल लघुकथाकार हुन् । नेपाली भाषामा ६ ओटा लघुकथा संग्रह प्रकाशन गरेका उनको पछिल्लो कृति हो, ‘नग्न स्वप्न’ । भुँडीपुराण प्रकाशनबाट २०८० सालमा प्रकाशित यसमा उनले आधुनिक युगमा नेपाली समाज कता जाँदैछ भन्ने बाटो देखाएका छन् ।


विशेषगरी क्षणिक र स्वार्थपूर्ण प्रेम र वैवाहिक सम्बन्धका घटनाहरूबाट उनले समाज र नेपाली राजनीतिमा देखिएका विकृतिलाई शीर्षक ‘नग्न स्वप्न’ झैं सम्पूर्ण भ्रमलाई पत्र पत्र गरी खोल्दै उदांगै पारेर पाठकमाझ देखाएका छन् । छोटो आकारको तर पूर्ण, अणु झैं विस्फोट गर्ने क्षमता भएको र फोटोग्राफरको फोटोजस्तो एक क्लिकमा सिंगो जीवनदर्शनको स्वरूप दिनसक्ने लघुकथाको पारिभाषिक मर्मलाई छुने लघुकथा यसमा छन् ।


विषयगत दृष्टि:
विषयगत आधारमा हेर्दा ‘नग्न स्वप्न’मा पछिल्लो समयमा नेपाली समाजमा बिग्रेभत्केका जे–जे पाटा छन्, तिनको एक–एक गर्दै खोजी गरेर बेग्लाबेग्लै विषयका त्यस्ता विकृति र बेथितिलाई लघुकथाका विषयका रूपमा छानिएको छ । अहिले नेपाली समाजमा सबैभन्दा बिग्रिएको ठाउँ भनेको ‘श्रीमान्–श्रीमती, तिनको प्रेम र वैवाहिक सम्बन्ध’ देखिन्छ । पछिल्लो समय नेपालीलाई विदेश जाने वाध्यता र त्यहाँ बस्ने आवश्यकता र रहरले समाजलाई परिवर्तनको संघारमा पु¥याएको छ ।


विदेशीजस्तो हुने मोहमा नेपाली सामाजिक मूल्यमान्यता र आदर्शभन्दा धेरै पर विदेशीलाई पनि उछिन्ने गतिमा छन् । नयाँ पुस्ताका प्रेम सम्बन्ध अस्थिर हुँदै गएका घटनाहरू लघुकथामा छन् । आधुनिकतामा देखिएका ती जटिल प्रेम र वैवाहिक सम्बन्धका घटना समेटिएका मध्ये ‘महासंयोग’ले श्रीमान्को मृत्युको उत्सव मनाउन नक्कल पारेर आएकी श्रीमतीसँगै उसको स्वार्थ अनैतिक सम्बन्धको प्रतीक भएर आएको वकिलले उनीहरूको त्रिकोणात्मक सम्बन्धको संकेत गरेको छ ।


आफू अनैतिक भए पनि आफ्नो हक एकरत्ति नछोड्ने ‘हक’की लालची नारी; आफ्नो मन काबुमा राखेर सामाजिक आदर्श कायम गर्न नसक्ने ‘परामर्श’की पथभ्रष्ट नारी; बेलुका बिहे र बिहान डिभोर्स ‘तीव्रता’मा आएका सम्बन्ध बिगार्ने विषय यसमा छ । आफूले खोजेजस्तो नभएर नभेटोस् भनेकी श्रीमतीले खोजेजस्तो परिणामः ‘गमन’को प्रेम र अनैतिक सम्बन्धको गजमज पनि छ । यसरी पथभ्रष्ट नारी–पुरुषका अनेक किसिमका कल्पनै गर्न नसक्ने घटनाले नेपाली पाठकलाई सामाजिक सचेतताका लागि घचघच्याउने काम गरेका छन् ।

राज्यमा मौलाएको भ्रष्टाचार बेथिति अनि अनैतिकता पनि ‘नग्न स्वप्न’मा आएका विषय हुन् । जस्तोसुकै विपत्ति वा समस्यामा परे पनि राजनीतिकर्र्मी भने भागभण्डामै रमेका र जनताले विदेशिनु पर्ने बाध्यतासँगै ‘अपमृत्यु’ मा पीडाले मन मस्तिस्कमा पागलका झैँ द्वन्द्वको अवस्था देखाएको छ । चिडियाखानामा परिणत भएको ‘भिसा’ लघुकथामा देशको बेथिति पशुहरु गधा नेताहरू, भेडा जनताहरू, बाँदर देशको बेथिति र मदारी देशको व्यवस्थाको चित्रण छ । ‘जुत्ता’ लघुकथामा कलकारखाना बेचेर खाने राजनीतिक नेताहरू; ‘भ्रान्ति’ लघुकथामा विपक्षीले लगाएको आरोपमा कानको पछाडि दौडिएर डाक्टरकहाँ पुग्ने बुद्धि र होस नभएको मन्त्री उपर व्यङ्ग्य छ । ‘लालच’ लघुकथामा सङ्घीयताको वास्तविकता र लालची नेताको देशनास्ने कर्म आएका छन् । नेपालको वास्तविकता झल्काउने ‘मूर्खपुर’मा राजनीतिक बेथिति; ‘बुद्धि’मा शान्ति उत्पादन हुने कारखानाबाट शान्ति उत्पादन हुन थालेपछि अशान्तिका कथा छन् । जनतालाई गणतन्त्र नामको भ्रामिक मन्त्रमा अल्मल्याउने र आफ्नो दुनो सोझ्याउने चोटिलो कथा ‘गणतन्त्रको जन्त्र’मा छ । आफ्नै देशको अवस्थाको झल्को बोकेको ‘नक्कली’मा नक्कलीपुरका भ्रष्टाचारी र अपराधीको वर्णन छ । ‘नक्कली टाइम्स’मा नयाँ नक्सा र ‘समस्यापुर’मा समस्याको थुप्रोको कथा छन् । ‘लाइसेन्स’मा सांसद पदलाई सपना देखाउने सरकारी लाइसेन्सको रुपमा सटिक व्याख्या गरिएको छ । ‘नग्न स्वप्न’मा अनौठो सपनाले बोकेको देशको बेथितिको तस्बिर छ । ‘दृग्भ्रम’मा राजनीतिमा अर्कालाई दवाउन सक्ने शक्तिशाली बन्छ भन्ने घटना उपर प्रहार छ । ‘गरिबपुर’, ‘अभीष्ट’, ‘इलम’, ‘निद्रा’, ‘घात’, ‘ऐना’ लघुकथाहरुमा राजनीतिक बेथितिमाथि चोटिलो प्रहार छ । केही लघुकथाहरु कतै सोझै त कतै व्यञ्जनात्मक झट्टाराले गर्दा जीवन्त बननेका छन् ।


नारीवादको नाममा देखिएको विकृतिका विषयका पनि ‘नग्न स्वप्न’मा कथा बनेर आएका छन् । ‘रूपान्तर’ लघुकथामा नारीवाद नाराका रूपमा आएको र एनजिओमा काम गर्ने केही नारीमात्र लाभान्वित भएका कुरा कथामा आएका छन् । ‘आइमाई’ लघुकथामा नारीवादी महिलाको मुखबाट ‘आइमाईको शत्रु आइमाई’ भन्ने वाक्य निकालेर चोटिलो व्यङ्ग्य गरेका छन् ।


‘घोस्टराइटर’ लघुकथामा अहिले नाम कमाउने मोहले पुस्तक लेखाउने चलनप्रति व्यङ्ग्य गरिएको कथा पनि छ । ‘भ्रमी’मा पात्र र वास्तविकता छुट्याउन नसक्ने लेखकको मानसिक अवस्थाको बारेमा कथा छ । ‘अशान्ति’ लघुकथामा शान्ति उत्पादन हुने कारखानाको कथा छ । ‘अन्जाम’मा काल्पनिक सहरमा घुमेर नियात्रा लेख्ने इच्छाको कथा छ । ‘हरित सहर’मा वातावरण बिगार्नेको र ‘मनस्कान्ता’मा वातावरण कविता वाचन कार्यक्रमा तस्कर व्यापारी प्रमुख हुने गरेको घटना उपर ब्यङ्ग्य छ । ‘इरादा’मा अवस्था अनुकुल प्रवचन दिने आधुनिक गुरुका घटनामार्फत नेपाली समाजको विकृतिहरुको नग्न रुप पाठक सामु राखिदिएका छन् ।


शैलीगत दृष्टिः
‘नग्न स्वप्न’का लघुकथाहरूको अन्त्यमा पाठकमाझ पस्किने शैली आकर्षक छन् । लघुकथाका मूल भागमा कथानकले एउटा परिवेश बनाएका देखिन्छन् । अनि अन्तिम भागले लघुकथालाई स्वाट्टै सक्ने काम गरेका छन् । कथानकलाई स्वाट्टै सक्ने क्रममा लघुकथाको भावलाई पाठकसम्म पुर्याउने काम ध्वान्यात्मक अन्त्य मार्फत भएको देखिन्छ । लघुकथा करिब २६० शब्दसम्ममा सकिँदा पनि पाठकलाई परिवेशको अनुमान लगाउन सक्ने चित्रात्मकता उपलब्ध हुनु ‘नग्न स्वप्न’को अर्को विशेषता हो । लघुकथामा मूल भागले दिएको परिवेशमा अन्त्यका अनेक सम्भावनाहरूको सोच ल्याउन सक्ने अन्त्यले गर्दा लघुकथालाई आकर्षक बनाएका छन् । यसले पाठकका मनमा खुदुल्ली उत्पन्न गराई पाठकलाई तानिरहने काम लघुकथाका अन्त्यले गरेका छन् ।


व्यङ्ग्याात्मकताः
व्यङ्ग्यात्मकता ‘नग्न स्वप्न’ को मुख्य विशेषता हो । यस सङ्ग्रहमा लघुकथाका लागि निर्माण भएका घटनाको स्रोत आधुनिक नेपाली समाज हो । ‘नग्न स्वप्न’मा छानिएका विषयहरू वर्तमान भएका वा निकट भविष्यको नेपाली समाजमा घटित हुने खालका छन् । कतिपय विषय यही युगका युवाहरूको प्रेम सम्बन्धप्रतिको सोचबाट लघुकथाकारले घटना निर्माण गरेका छन् । अहिलेको परिवेशमा देखिन थालेको विकृतिपूर्ण सम्बन्धको जटिल जालोले नै लघुकथामा व्यङ्ग्य सिर्जना गरेका छन् । क्षणिक प्रेमका लागि लैङ्गिक भेदमा आदर्श मापदण्ड नबनाइने घटनाहरु लघुकथामा आएका छन् । यस्ता घटनाहरूले पुराना पुस्ताका पाठकलाई सन्तानका बारेमा पनि सोच्न वाध्य बनाउँछ । देशका राजनीतिक समस्याहरूबाट कथा लिदै तिनलाई कलात्मक सिर्जनाले साँधेर वर्तमान राजनीतिक व्यवस्थाप्रति व्यङ्ग्यको तिखो झटारो ठोकेका छन् । देशमा बढ्दो राजनीतिक अराजकता र जनताले पाएका दःुख र सास्तीलाई जोडदाररुपमा उठाएका छन् । त्यस्तो बेथिति गर्ने नेताका लहैलहैमा भुल्ने जनतालाई लघुकथाकारले राजनीतिक बेथितिका जिम्मेबार ठहर्याई खुत्रुक्क हुने गरी व्यङ्ग्यको बाँण तिखारेका छन् । आधुनिक समयमा देखिएका वाद र नारामध्येका वातावरणको नारा र नारीवादको नारालाई लघुकथामा समावेश गरेका छन् । पछिल्लो समयमा ती नाराहरू वैदेशिक लगानीमा जागिरेहरूको ठगी खाने भाँडो भएको कुरा उठाएका छन् । त्यस्तो प्रवृत्तिप्रति लघुकथामा व्यङ्ग्य पाइन्छ । कतिपय विषय नेपाली समाजको कल्पनाबाहिरको जस्तो देखिए पनि ‘नग्न स्वप्न’का घटनालाई समाजले नकार्न सक्तैन । समग्रमा हेर्दा ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रह रोचक छन् । नवीन विषयवस्तु र बेग्लै प्रस्तुती शैलीले पाठकलाई व्यञ्जनापूर्ण रूपमा मनोरञ्जन गराउन सफल देखिन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।