18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दिक्तेल बजारमा “पैसा बढी भएर घुम्न हिँडेको” यात्रु बन्दा

नियात्रा प्रमाण अधिकारी January 17, 2025, 12:11 am
प्रमाण अधिकारी
प्रमाण अधिकारी

पैदल हिँडेका ठाउँ र सवारीबाट पार गरेका ठाउँका आधारमा नेपालका यति जिल्ला र उति जिल्ला घुमेको छु भनेर गुड्डी हाक्ने घुमक्कड हाम्रा वरपर प्रशस्त भेटिन्छन् । औँलामा गनेका सबै जिल्लाको समग्र भ्रमण सम्भव नभएपनि त्यहाँका केही ठाउँ, बस्ति, सहर पुगेका आधारमा उक्त जिल्लाका बारे केही जानकारी भएको कुरा कसैले गर्यो भने सुन्नेले पनि पत्याउने खालको हुनजान्छ । यतिवटा जिल्ला पुगेको छु भनेर पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म पूर्वपश्चिम राजमार्गमा यात्रा गरेका जोकोहीले नेपालका कुल जिल्लाको एक चौथाइ जिल्ला त छोएका वा टेकेका हुनेरहेछन् । म पनि कतै यस्तै गफाडी घुमक्कडमा दरिन पुग्छु कि भनेर मैले मेरो खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको यात्रालाई नियात्राका रूपमा लेख्ने आँट गर्न सकिरहेको थिइन । अन्य जिल्लाका तुलनामा यी जिल्लाका भ्रमण छोटो समयमा सम्पन्न भएका कारण यस किसिमको संशय हुनु स्वाभाविक पनि हो । तथापि यस किसिमको झटपट यात्राले पनि नयाँ ठाउँ र परिवेशसँग साक्षात्कार भने गराउने रहेछ । यही सोच हाबी भएर मैले यो नियात्रा लेख्ने विचार गरेँ ।

बैंकले व्यवस्थापन तहका कर्मचारीलाई नेतृत्व विकासको तालिम दिने भएपछि मेरा दाइ पोखराबाट काठमाडौँ आउनुभयो । बिदाका दिन र सार्वजनिक बिदाका दिनबाहेक गरेर ठ्याक्कै १५ दिन चल्ने पाठ्यक्रममा आधारित उक्त तालिम नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा लिनुपर्ने थियो । काठमाडौँको डेरामा दाजुभाइ बसियो । पोखरामा हुँदा घरमा केही दिन खाली बस्नै नसक्ने, कतै न कतै जानैपर्ने र नयाँ ठाउँ पुग्ने दाइको बानी थियो । काठमाडौँमा पनि शनिबारमात्र बिदा नभएर लगातार दुई दिन बिदा हुने भयो भने दाइ कतै जान खोजिहाल्नुहुन्थ्यो । काठमाडौँबाट दुईतीन दिनमा घुमेर फर्किन सकिने गन्तव्यबारे छलफल भइरहँदा मैले खोटाङको हलेसी, नुवाकोटको विदुर, मकवानपुरको कुलेखानी आदि सुझाएको थिएँ । हामी दुवैलाई बिदा मिल्ने समय परेकाले खोटाङको हलेसी जाने व्यवस्थाबारे बुझ्न हामी चाबहिलतिर लाग्यौँ । हाम्रो योजना २०७९ असोज ८ गते शनिबारका दिन हलेसी पुगेर बास बस्ने र आइतबारका दिन काठमाडौँ फर्कने थियो । चाबहिल चोकमा सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु आदि जिल्ला जाने साना सवारी विशेष गरी टाटा सुमो गाडीका टिकट काउन्टर धेरै छन् । बिहान ५ बजे चाबहिलबाट गाडी छुट्ने र छ–सात घण्टाजतिमा हलेसी पुगिने कुरा काउन्टरका व्यक्तिले बताएपछि हामीले टाटा सुमोको टिकट काट्यौँ । काठमाडौँबाट करिब २१५ किलोमिटर टाढा रहेको हलेसी पुग्न एकजनाको १७५० रुपैयाँ गाडी भाडा लाग्दो रहेछ ।

बिहानै हिँड्न पर्ने भएकाले यात्रुलाई घर नजिकै लिन आउने गुलियो पनि देखाएका थिए काउन्टरका मान्छेले; तर शनिबार बिहान गाडी चढ्न तुरुन्त चाबहिल चोक आउन भनेर फोन गर्दै अत्याइहाले । हामी समयमै गाडी चढ्न पुग्यौं । गाडीले चाबहिलदेखि भक्तपुरसम्मका यात्रुलाई उनीहरूलाई पायक पर्ने ठाउँबाट उठाउँदै गाडी भरिएपछि सूर्यविनायक नजिक एकछिन रोकेर त्यहाँबाट हलेसीसम्मको यात्रा सुरु भयो । बी.पी. राजमार्ग अन्तर्गतको नेपालथोकमा चिया खाजा खाएपछि सिन्धुली जिल्लाको खुर्कोट बजार पुगियो । खुर्कोटको अँधेरी खोला पुल तरेर देब्रेपट्टी लागेपछि पुष्पलाल मार्ग भेटिँदो रहेछ । त्यहाँबाट सुनकोशी नदीको किनारैकिनार ५८ किलोमिटरजति यात्रा गरेपछि घुर्मी बजार पुगिँदोरहेछ । घुर्मी बजार कटारी नगरपालिका, उदयपुरमा पर्दोरहेछ । घुर्मीमा खाना खानका लागि केही होटल रहेछन् । ३५० रुपैयाँमा एक छाक भात खाएर हामी अगाडि बढ्यौँ । घुर्मीबाट पूर्वतिर दाहिनेपट्टीका बाटा लागे कटारी, उदयपुर पुगिँदो रहेछ भने खोटाङ, ओखलढुङ्गातिर जान देब्रे मोडिनुपर्ने रहेछ । घुर्मी बजारबाट हल्का ओरालो बाटो तेर्सै झरेपछि सुनकोशी नदी तर्ने पुल पुगिँदो रहेछ । हामी जाँदै गरेको टाटा सुमो गाडीमा प्रायः स्थानीय व्यक्तिहरू नै यात्रा गर्दै थिए । “कहाँसम्म पुग्ने तपाईँ?” बाट हल्का वार्तालाप सुरु भएपनि छेउछाउका सहयात्रीहरूसँग सुनकोशी नदीको पुल पुगेपछि बल्ल धेरैबेर कुरा गर्ने अवसर जुर्यो । पुल बल्ल बल्ल बनाएका र बनाएको पुल पनि साँघुरो बनाएका भन्ने गुनासोका कुरा सुनियो । सुनकोशी नदी तरेपछि ओखलढुङ्गा जिल्ला सुरु भयो । हर्कपुर नामको सानो बजारबाट अघि बढेसँगै खोटाङका राजनीतिक, आर्थिक गतिविधि र त्यहाँको विकासका बारे गाडीमा यात्रा गर्दै गरेका स्थानीयसँग भलाकुसारी गर्ने अवसर मिलेबाट नेपालमा जता गए पनि इमानदारिता, प्रतिबद्धता र व्यवस्थापनको कमी रहेको नै महसुस गरियो । घुर्मीबाट ६ किलोमिटर जति यात्रा गरेपछि हिलेपानी भन्ने ठाउँ आउने रहेछ । हिलेपानी भन्ने ठाउँबाट दुई बाटा छुट्टिने रहेछन् । सिधा बाटो गए खोटाङ र देब्रेतर्फ लागे ओखलढुङ्गा बजार । हिलेपानीबाट उस्तैउस्तै दुरी करिब ३५ किलोमिटर जतिमा पुगिँदोरहेछ ओखलढुङ्गा बजार र खोटाङ जिल्लाको हलेसी । हाम्रो गन्तव्य हलेसी भएकाले हामी चढेको गाडी हलेसीतिर लाग्यो । कतै कतै बाटा बिग्रिएका र भत्किएकाले ढिला भएपनि समग्रमा साना गाडीका लागि हलेसीसम्म पुग्न यात्रामा खासै कठिनाइ महसुस गरिएन ।

दिउँसो २ बजे हामी हलेसी महादेवको मन्दिर रहेको ठाउँमा पुग्यौँ । धार्मिक यात्राभन्दा पनि नयाँ ठाउँ र परिवेशसँग साक्षात्कार गर्ने उद्देश्य रहेकाले विभिन्न पत्रपत्रिका, तस्विर, टेलिभिजन र सामाजिक सञ्जालमा देखिने हलेसी महादेवको मन्दिर हेर्नतिर हामी लाग्यौँ । एक धार्मिक किंवदन्ती अनुसार भष्मासुर नामका कथित राक्षसले उसको हात जसका टाउकोमाथि राख्छ उक्त व्यक्ति भष्म हुने वा खरानी हुने वरदान पाएको रहेछ । भष्मासुरले प्रभावशाली व्यक्तिलाई नै भष्म गरेर शक्तिशाली हुने अभिलाषाले महादेवलाई नै भष्म गर्ने सुर कसेको चाल पाएर महादेव आएर लुकेको ठाउँ रहेको जानकारी त्यहाँ पाइयो । यो मन्दिरको प्रवेशमार्ग, मन्दिरभित्रका संरचना आदिले पोखराको गुप्तेश्वर गुफाको झल्को दिने हामी दुई पोखरेलीलाई लाग्यो । आधा घण्टाजतिको अवलोकन र कुराकानीपछि हाम्रो हलेसी भ्रमण सम्पन्न गर्दै बाहिरपट्टी निस्केर चिया खायौँ र बास बस्नका लागि उपयुक्त स्थानबारे जानकारी लिन खोज्यौँ । दिउँसो नै भएकाले हामी काठमाडौँ नै फर्कन सकिन्छ कि भनेर पनि बुझ्न खोज्यौँ । तीन चार बजेपछि काठमाडौँ फर्कने गाडी नभेटिने जानकारी सँगसँगै खोटाङको सदरमुकाम दिक्तेल बजार केही किलोमिटर टाढा रहेको र त्यतै गए राम्रो होटल पनि पाइने सुझाव हामीले पायौँ । हिलेपानीबाट हलेसी जत्तिकै दुरीमा हलेसीबाट दिक्तेल बजार रहेकाले हामीले सोही सुझाव ठिक रहने ठहर गरी उक्त बजारसम्म जाने अर्को टाटा सुमोमा यात्रा तय गर्यौँ । हलेसीबाट दिक्तेलसम्म जान एकजनाको ५०० रुपैयाँ लाग्दोरहेछ । दिक्तेल पुग्नेबेला चिसो बढिसकेको थियो । गायक तुलसी पराजुली तथा लोचन भट्टराईको स्वरमा रहेको गीत ‘खोटाङ जिल्ला दिक्तेल बजार, दिक्तेल बजार लै लै सम्झनामा आउँछ्यौ हजार’ भन्ने गीत गुनगुनाउँदै दिक्तेल बजार पुगियो । सडकका माथिपट्टी केही घर रहेको दिक्तेलको मुख्य बजार भिरालो बाटोका वारिपारि फैलिएको रहेछ । कुहिरो लागेको र चिसो पनि काठमाडौँका तुलनामा धेरै भएकाले बासस्थानको खोजी गर्दै इन्द्रेणी होटलमा बस्ने व्यवस्था मिलाइयो । दाइले काम गर्ने बंैकको दिक्तेल शाखाका सहकर्मी साथीहरूसँग भेटेर दिक्तेल बजारको सिरानदेखि पुछारसम्मका पसल, कार्यालय, बैंक तथा अन्य भ्रमणीय स्थलबारे जानकारी लिइयो । दिक्तेल बजार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा पर्दोरहेछ । दिक्तेल वरपरका गाउँठाउँहरूमा चाहिने सामानहरू लैजानपर्ने हुँदा व्यापारिक गतिविधि पनि बाक्लै रहेछ तथापि गाउँगाउँसम्म ग्रामीण सडक सञ्जाल पुगेका कारण पहिलेका तुलनामा भने कम व्यापार हुने गरेको त्यहाँका व्यापारीको भनाइ थियो । आन्तरिक र बाह्य पर्यटकका लागि आवश्यक होटलहरू पनि यहाँ रहेछन् । दिक्तेल बजारबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर र त्यहाँबाट सङ्खुवासभा पुगेर पुन बर्दिबास हुँदै काठमाडौँ फर्कने योजना खर्च र समयका हिसाबले धान्न सकिने खालको नदेखिएपछि हिलेपानीबाट ओखलढुङ्गासम्म पुग्ने दाजुभाइको योजना बन्यो । दिक्तेल बजार दुईपटक सिरानदेखि पुछारसम्म अवलोकन गरेपछि चिसो पनि बढी भएका कारण छिटो सुत्ने र भोलि बिहानै चार पाँच बजेनै तयार भएर हिलेपानी फर्कने तयारीका साथ पहिलो दिनको यात्रालाई बिट मारियो ।

शनिबार बिहानै पाँच बजे टाटा सुमो गाडी छुट्ने भनाइअनुरूप बजारमा निस्कियौँ । चिसोले गर्दा होला गाडीका चालक, सहचालक र यात्रुको चहलपहल थिएन । आकाशबाट पानी पर्दै थियो । दिक्तेलको चिसो मौसम त्यसमाथि पानी परेको बेला तात्तातो चिया त नखाइ नहुने अवस्था थियो । फेरि गाडी कुर्नका लागि समय बियाँल्न पनि पर्ने थियो । गाडी लाग्ने ठाउँ अगाडिकै चिया पसलमा हामी चिया खान छिर्यौँ । बाक्लो र लामो जुँगा राखेका अनि टोपी लगाएका चिया पसलका साहुजीसँग समसामयिक स्थानीय राजनीति र विकासबारे जिज्ञासा राखियो । उनले पनि प्रश्न सोध्नेक्रममा “के कामले दिक्तेल आउनुभयो?” भनी सोधे । हामीले “घुम्ने क्रममा नयाँ ठाउँ हेर्न आएका” भन्ने जवाफ दियौँ । “ए! त्यसो भए पैसा बढी भएर घुम्न आउनुभएको रहेछ” भनेर चिया पसलका दाइले हामीलाई प्रत्युत्तर दिए । हामीले उनको टिप्पणीलाई सहर्ष लियौँ । मनमा लागेको कुरा खोलेर भनेकै राम्रो हो भन्ने हाम्रो पनि मान्यता भएकाले यस कुरालाई गम्भीर रूपमा लिएनौँ । हुनपनि कोही मान्छेलाई खानेबस्ने समस्या छ, पढाइ, उपचारमा खर्च गर्न समस्या छ । कसैले भने पैसा खर्च गरिगरि नयाँ ठाउँ हेर्ने, घुम्ने फुर्सद छ । निश्चय नै यस किसिमको असमान अवस्था कसैलाई नजँच्न सक्छ । बिहान साढे ६ बजेतिर टाटा सुमोमा हिलेपानीसम्मको यात्राका लागि दिक्तेल बजारसँग बिदा मागियो । दिक्तेलदेखि हिलेपानीसम्मको भाडा एकजनाको ९०० रुपैयाँ लाग्दोरहेछ । मिलेको बेला फेरि समय मिलाएर खोटाङका अरू ठाउँ पनि हेर्ने र विस्तृत अवलोकन र अन्तरक्रिया गर्ने योजना मनमनै बनाएँ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १३ मा पर्ने हुर्लुङमा बिहानको चिया खाजा खाइयो । हिलेपानी ओर्लिएपछि ओखलढुङ्गा जानका लागि गाडीको प्रतिक्षामा केहीबेर बस्नुपर्यो । हिलेपानी चोकनिरै एउटा घुम्ती पसलजस्तो खुद्रा पसलका साहुजीले हिलेपानीमा गाडी पर्खिएर बस्ने जतिलाई गाडी खोजिदिने भन्ने अनि बाटामा आएका गाडीमा मान्छे चढाएर गाडीवालासँग कमिसन लिने गरेको आफ्नै आखाँ अगाडि देखेपछि हामी हिलेपानी जान आउने बाटा तलसम्म हिँड्दै गएर जता गाडी पाइन्छ त्यहीँबाट चढ्ने योजना बनाएर उल्टो बाटो जान थाल्यौँ । पाँच सय मिटर जति हिँडेपछि एउटा महिन्द्रा बोलेरो भन्ने गाडी भेटियो । हिलेपानीमा उक्त गाडी पनि रोकेका ती दलालले हाम्रो भाडा बापतको कमिसन भने लिन पाएनन् । हिलेपानीबाट हलेसी जाने जत्ति नै दुरीमा रहेको ओखलढुङ्गातर्फ गाडी अगाडि बढ्यो । हिलेपानीदेखि ओखलढुङ्गासम्मको भाडा ५०० रुपैयाँ लिँदारहेछन् । बिहान साढे १० बजे ओखलढुङ्गा बजार पुगियो । बजारबाट अगाडि हिँड्दै गएर ओखलढुङ्गा बजारको रमाइलो डाँडामा रहेको एउटा होटलमा पसेर बिहानको खाना खाइयो । त्यहाँबाट ओखलढुङ्गाको रुम्जाटार र त्यहाँ रहेको विमानस्थलको धावनमार्ग पनि देखिँदो रहेछ । संयोगले हामीले खाना खाने टेबल नजिकै रुम्जाटारबाटै आएका दुई महिला मःमः खाँदै गरेका भेटिए । एक प्लेट मःमः खाएर आधा आधा प्लेट मःमः थपेर फेरि आधा आधा प्लेट मःमः थपेर खाएपछि मात्र उनीहरूको मःमः खाने धित मरेको थियो । बल्लबल्ल बजार आइएको छ, यो मःमः भन्ने कुरा साह्रै मनपर्छ भन्दै निकै मिठोसँग उनीहरूले मःमः खाएको देख्दा ज्यादै आनन्द लाग्यो । रुम्जाटारको सन्दर्भ जोडिएको हाम्रो प्रचलित उखान ‘घुमिफिरी रुम्जाटार’ चाहिँ खासमा किन भनिएको हो र यसको अर्थ के रहेछ भनेर ती प्रौढ महिलालाई सोधियो तर त्यसबारे उनीहरूलाई स्पष्ट जानकारी नभएको बताए । खुसी र सुखका निम्ति रुम्जाटारको मानिस भौँतारिएर जतासुकै गएपनि फर्किएर आउने त्यही आफ्नै ठाउँ रुम्जाटार नै हो भन्ने अर्थमा घुमिफिरी रुम्जाटार भनिएको हो भन्ने व्याख्या मैले केही स्रोतहरूमा भेटेँ । थाहा छैन यो कत्तिको सत्य हो । रुम्जाटारमा रहेको विमानस्थलका बारेमा सोध्दा हवाई उडान अनियमित रहेको जानकारी भयो । साथै सडक सञ्जालका विकल्प पनि कम भएको र ओखलढुङ्गा बजारबाट नै बढी आवतजावत गर्नपर्ने उनीहरूले बताए ।

हलेसी जाने बेला नै रोशी खोलाको नाम सुनेपछि मेरो मनमा एउटै कविता गुञ्जिएको थियो, युगकवि सिद्धिचरण श्रेष्ठको ‘ओखलढुङ्गा’ ।

तामाकोशी, त्यो सुनकोशी,
त्यो गिरि फोरी बहने रोशी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हर्दम पवित्र
मेरो प्यारो ओखलढुङ्गा!

रमाइलो डाँडामा खाना खाएपछि दाइको कुरा “ओखलढुङ्गा टेकिहालियो । अब ढिलो नगरि सल्लेरी जाने बस चढ्नतिर लागौँ” भन्ने थियो । यति महत्त्वपूर्ण ऐतिहासिक थलो र साहित्यिक व्यक्तित्वको भूमिमा आइसकेपछि ओखलढुङ्गा बजारको अवलोकन, स्थानीयपनको अनुभव, ओखल बनाएको ढुङ्गाको अवलोकन र सिद्धिचरण श्रेष्ठको प्रतिमा रहेको ठाउँ नहेरी नजान मैले जोड गरेँ । स्थानीय व्यक्तिसँग सोधपुछ गर्दा सिद्धिचरण पार्क हिँडेर दसपन्ध्र मिनेटमा पुग्न सकिने कुरा थाहा लागेपछि दाइ केही समय घुम्नका लागि सहमत हुनुभयो । ओखलढुङ्गा बजार व्यवस्थित र आफ्नो मौलिक शैली कायम राख्न कोसिस गरिरहेको सहर जस्तो लाग्यो । पोखरा, काठमाडौँ जस्ता सहर उपत्यकामा अवस्थित छन् । दिक्तेल बजार, ओखलढुङ्गा बजार पहाडमा रहेका कारण त्यहाँ पनि ढलान गरिएका र कतै ढुङ्गा छापिएका ठाडा उकाला र ओराला अनि घुमेका बाटामा बजार फैलिएको रहेछ । ओखलढुङ्गाको विकास र राजनीतिका सन्दर्भमा नेपाली काँग्रेसका नेता बलबहादुर राईलाई त्यहाँका धेरै व्यक्तिले सम्मान गर्ने रहेछन् । उनले राजनीतिक परिवर्तनका लागि गरेका त्याग र ओखलढुङ्गाको सामाजिक आर्थिक विकासका लागि गरेका प्रयासको धेरैले सराहना गरेको ओखलढुङ्गा यात्राका क्रमका सुन्ने अवसर मिल्यो । ओखलढुङ्गा बजारको अवलोकन यात्रापछि त्यसको दक्षिणपूर्वी भागतिर पर्ने सिद्धिचरण पार्क पुगियो । उक्त पार्कमा ढुङ्गाको ओखल रहेछ । विभिन्न कथन, किंवदन्तीमध्ये १७ औं शताब्दीमा मल्लराजा लक्ष्मीनरसिंहका पालामा उनका प्रधानसेनापति काजी भीम मल्ल र उनका साथ आएका सेनाले तिब्बतसँगको लडाइँपछि कान्तिपुर फर्कने क्रममा ढुङ्गाको ओखल र काठका मुसल प्रयोग गरी धान, मकै आदि कुटेर खाना खाएकाले उक्त ठाउँलाई ओख्लीढुङ्गा भन्दै पछि ओखलढुङ्गा भन्न थालिएको कुरा विभिन्न स्रोतबाट थाहा हुन आयो । युगकवि सिद्धिचरण श्रेष्ठकै सम्मानमा नामकरण भएको सिद्धिचरण नगरपालिकाको १२ नम्बर वडामा युगकविको जन्म भएको रहेछ । सिद्धिचरण पार्कमा रहेको युगकविको पूर्णकदको सालिक उनको १०८ औं जन्मजयन्तीका अवसरमा अनावरण गरिएको रहेछ ।

ओखलढुङ्गा बजारबाट तल उत्तरपश्चिमपट्टी झरेपछि सोलुखुम्बु जाने बाटो भेटिँदोरहेछ । त्यहीँ पुगेर अर्को टाटा सुमो गाडीमा सल्लेरीसम्मको यात्रा गर्ने योजना बनाएर हामी गाडी चढ्यौँ । एकजनाको सातसय रुपैयाँ भाडा लाग्दो रहेछ ओखलढुङ्गाबाट सल्लेरीसम्म । ओखलढुङ्गाबाट पच्चीस किलोमिटरजति दुरीमा पर्ने पत्ताले भन्ने ठाउँ हिमशृङ्खला अवलोकनका लागि चिनिएको ठाउँ रहेछ । सोलुदुधकुण्ड नगरपालिकामा पर्ने यो स्थानबाट सगरमाथा, गौरीशङ्कर, कञ्चनजङ्घा, मकालु आदि हिमाल अवलोकन गर्न सकिने रहेछ । मौसम सफा नभएका कारण सल्लेरीतर्फ जाँदा हिमाल हेर्ने अवसर मिलेन । मौसम सफा रहेका अवस्थामा सल्लेरीबाट फर्कँदा हिमाल हेर्न पाइने अपेक्षा राख्दै हामी अगाडि बढ्यौँ । साँझ ५ बजेतिर सल्लेरी बजार पुगियो । सल्लेरी बजारमा हिल भ्यू भन्ने होटलमा बसियो । चिसो हुने हुँदा भुइँलगायतका ठाउँहरूमा काठको प्रयोग बढी भएको पाइयो । दिक्तेल बजारजस्तै सल्लेरीबजारको पनि दुईतीन पटक परिक्रमा गर्ने, स्थानीयसँग कुराकानी गर्ने, चिया खानेलगायतका काम बाहेक साझा गर्न सकिने अन्य सूचना र जानकारी सँगाल्न भने पाइएन । फाप्लु विमानस्थलसम्म सडक पुगेको र त्यहाँबाट सगरमाथाका लागि पदयात्रा सुरु हुने कुराको जानकारी पनि भयो । हलेसीसम्म पुगेर काठमाडौँ फर्कने योजना बनाएर निस्किएका हामी दाजुभाइ दिक्तेल बजार, ओखलढुङ्गा बजार र सल्लेरी बजारसम्म पुग्न त सफल भइयो तर झटपटको यात्राले गर्दा नयाँ ठाउँका बारे धेरै जानकारी बटुल्न चाहिँ असफल रह्याँै कि भन्ने लागिरह्यो अनि दिक्तेल बजारको चिया पसलका दाइले पैसा बढी भएर घुम्न निस्किएको भनेर दिएको दनक पनि मस्तिष्कमा घुमिरह्यो । यति हुँदाहुँदै पनि आफ्नो देशका नपुगेका ठाउँ पुगेर, सामाजिक आर्थिक परिवेश बुझेर, त्यहाँका स्थानीयसँग अन्तरक्रिया गरेर ज्ञानको धरातल थोरै नै भएपनि फराकिलो भएको महसुस भयो । यिनै अनुभूतिका साथ असोज १० गते सोमबार सोलुखुम्बु जिल्ला सल्लेरी बजारबाट बिहान साढे चार बजे काठमाडौँको यात्रा तय गर्दै, पत्ताले बजारबाट सगरमाथालगायत अन्य हिमालको अवलोकन गरेर दिउँसो साढे चारबजेतिर काठमाडौँमा प्रवेश गरी हाम्रो झटपट यात्रालाई बिट मारियो । सल्लेरीदेखि काठमाडौंसम्मको गाडी भाडा एकजनाको दुई हजार पर्दोरहेछ ।

रामघाट, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।