18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल र बहरको स्थान

विचार केशवराज आमोदी January 17, 2025, 1:58 pm
केशवराज आमोदी
केशवराज आमोदी

कैसी महफिल है वह जिसमें सरीक हम नहीं,
वह भी कैसी शाइरी जिसमें ताशीर-ए-दम नहीं ।
( सुशील गौतम , अश्क-ए-चिराग , पृ.७१ )

" हुस्न गमजा की कशाकश से छुटा मेरे बाद,
बारे आराम से हैं अहले जफा मेरे बाद ।" -गालिब

नेपाली साहित्यमा लोकप्रियताको शिखरमा रहेको गजलको आफ्नै स्वरूप , सिद्धान्त र पहिचान छ ।गजल प्रेमिल दिलको आवाज हो । प्रियतम वा प्रियतमाप्रतिको हृदयको निनाद हो । अतएव गजलको लोकप्रियता फारसीबाट हिन्दी र उर्दूमा बढ्दै जाँदा गजलका बान्की र ढाँचामा धेरै परिवर्तन आएको देखिन्छ । हिन्दी र फारसी भाषामा बराबर क्षमता भएका अमीर खुशरो ( १२५५-१३२५ )ले दुवै भाषामा गजल लेखी आफ्नो प्रतिभाको परिचय दिए भने तत्कालीन भारतको शाही भाषा फारसी बन्दै गर्दा गुरुनानक ( १४६९-१५१८ ) ले आध्यात्मिक दोहाका माध्यमबाट अप्रत्यक्ष गजलकै रसस्वादन गराए भने पन्ध्रौं शताब्दीमा कबीरले गजल लेखी यथाशक्य मलजल गरे ।
प्रणयानुरागमा पल्लवित र विकसित हुँदै १६ औं शताब्दीतिर हिन्दुस्तानमा मुगलहरुको शासन-सत्तामा वर्चस्व रहँदा आलिशान भवनहरुमा गजलका सौखिन दिवानाहरुले मस्तानाको रङ्ग जमाए ।शायर वली औरङ्गावादी ( १६३८-१७०० ई. ) , मिर्जा गालिब (१७९६-१८६९ ई. ) , मीर तकी 'मीर' ( १७२४-१८१० ई. ) , ख्वाजा मीर दर्द ( १८१९-१८८५ ई. ), मुसहफी ( १७५०-१८२४ ई. ) , नसीम ( १७९४-१८६४ ई. ), जौक ( १७८९-१८५४ ई) , नासिख ( १८३८ ई. ),दाग अर्थात् मिर्जा खाँ ( १८३१-१९०५ ई. ), मोमिन ( १८४०-१८५१ ई. ) आदिका गजलले हिन्दुस्तान पुरै गजलमय भएको थियो । यिनीहरुकै पद-चिन्ह पच्छ्याउँदै हाली ( १८३७-१९१४ ई. ) , इस्माइल ( १८४४-१९१७ ई. ) , इकवाल ( १८७५-१९३८ ई. ) , का साथै जोश , मलीहावादी फानी , असगर , जिगर , असर , रविश , अर्श , फैज , फिराक , जज्बी मखदूम , जाँ निसार , जाफरी , अजमतुल्लाह खाँ , अखतर शिरानी , हफीज आदिले गजलको विस्तार र विकासमा निभाएका भूमिकाहरु अविस्मरणीय रहेका छन्।
उर्दू गजल-साहित्यमा उस्ताद ( गुरु ) र शागिर्द ( शिष्य ) को सहभाव अनुकरणीय रहेको हन्छ । अदब को गजब शिष्टतालाई अमल गर्नु नै गजलको सच्चा साधना मानिन्छ ।दीर्घ गुरुपरम्पराको जीवन्त पद्धति कायम राख्ने तिनै महान् हस्तीहरुमा मीर तकी 'मीर' , मोमिन , जौक , गालिब र दाग यस्ता शायर मानिन्छन् जुनलाई उर्दू-अजबले आज पनि गौरव गर्दछ । तिनै गजलका उस्तादहरुका कतपय शेरहरु आज पनि अनायास उनका शागिर्दहरुबाट प्रकट भइरहन्छन्-

है मेरे दिल की तबाही पे तआज्जुब क्या खूब,
आप बरबाद करें जिसको वो बरबाद न हो ।
* *
'दाग' को हमने मोहब्बत मे बहुत समझाया,
वह कहा मान न लेता अगर इन्सां होता ।

२. गजलको सामान्य सैद्धान्तिक रूपरेखा

सामान्यत: गजल भनेको कोमलकान्त पदावलीले समन्वित रदिफोकाफियाको अनुशासनमा रहेर सुकुमार शैलीमा सिर्जना गरिने पद्यमय रचना हो । नेपाली साहित्यमा बहुप्रतिभाशाली युवाकवि मोतीराम भट्ट ( वि सं. १९२३-१९५३ ) ले २०४० सालतिर उर्दू फारसीबाट नेपाली साहित्यमा भित्र्याएका हुन् । युवा-युवती बिचको हार्दिकतापूर्ण प्रणयवार्तामा केन्द्रित रचनालाई गजलका रूपमा हेरिए पनि युगीन परिवर्तनसँगै गजलप्रतिका धारणाहरुमा पनि परिवर्तित हुँदै आइरहेका छन् ।'जब दो दिल मिलते हैं तो गजल बनती है' बाट परिवर्तित भई " जब दो वर्ग आपस में टकराते हैं तो गजल बनती है" 'मा विकसित भइसकेको छ । गजलको उच्च मूल्याङ्कन गर्दै उर्दू फारसी साहित्यमा स्वतन्त्र , अनुपम र विशिष्ट काव्यात्मक विधाका रूपमा स्थापित गरिए पनि नेपाली साहित्यमा भने कविताको उपविधामा राखेर अध्ययन गर्ने गरिन्छ ।
गजलका साधकहरुले शेर , रदीफ , काफिया , मिसरा , मत्ला , मक्ता , रुक्न , अरकान र बहर आदि प्राविधिक र शास्त्रीय शब्दहरुसहित यसका संरचनात्मक पक्ष , विषयात्मक पक्ष र कलात्मक पक्षका वारेमा राम्ररी बुझ्नुपर्दछ ।

क) शेरको परिचय र प्रयोगविधि :
अरबीमा शेरलाई दुई मिस्रा वा मिसराहरुको समाहार ( सङ्ग्रह ) वा 'बैत ' भनिन्छ । 'बैत'भनेको घर वा दुईवटा मिस्रा भएको एक शेरलाई बुझाए पनि शेररूपी घर उभ्याउन जमिनको खाँचो हुन्छ । शे'र को सन्दर्भमा जमिनको अर्थ त्यो काव्यरूप हो जसमा गजलकारले काफियाको नियममा बाँधिएर निश्चयपूर्वक आफ्ना भावहरु प्रकट गर्दछ ।यथा-

" है और भी दुनिया में सुखनवर बहुत अच्छे
कहते हैं कि 'ग़ालिब ' का है अन्दाज़-ए-बयाँ और ।"

मैले प्रस्तुत शेर " ग़ालिब और असग़र की शायरी " नामक जमिन ( ग्रन्थ ) बाट लिएको हुँ ।

ख ) शेरका प्रमुख तत्वहरु :

शे'रको स्वरूपको आधारमा मुख्य तीन तत्त्व प्रमुख मानिन्छन् -

१. अानुप्रासिकता ( रदीफोकाफियाको पालनामा पूर्णता )
२. लयात्मकता ( लयात्मकता वा बहरबद्धताको अपरिहार्यता )
३. निश्चयात्मकता ( अभिव्यक्तिको खुलस्त प्रकटीकरण )

अ) गजलमा बहरको कुरो :

गजलमा छन्द भनेको बहर हो । कवितामा छन्दको जुन महत्व छ त्यति नै महत्व गजलमा बहरको छ । गजलको चेतना बहरमा हुन्छ र रुक्न ( गण ) वा अरकान ( गणहरु ) इन्द्रियका रूपमा रहन्छन् । जुन पद वा अक्षर , अक्षरहरुको गणनाक्रम , मात्रा , मात्राको गणना अनि गति सति र लय र तुक आदिका नियमहरु नियोजित हुन्छन् , तिनैलाई बहरवद्धताको नियम भनिन्छ । उर्दु फारसीका गजलहरु बहरमा नै लेखिन्छन् ।

आ) रुक्नको खुलासा :

मात्राहरुको मेललाई रुक्न भनिन्छ । बहरमा रुक्नको अहं भूमिका हुन्छ । आचार्य पिङ्गलले छन्दका लागि ह्रस्व वा दीर्घ तिनवटा स्वर वा स्वरयुक्त व्यञ्जनवर्णको क्रमिक एवम् काल्पनिक समूहलाई गण मानेका छन् ।
छन्दमा निम्न गणहरु हुन्छन् :
यगण ( ।ऽऽ )
मगण ( ऽऽऽ )
तगण ( ऽऽ। )
रगण ( ऽ।ऽ )
जगण ( ।ऽ। )
भगण ( ऽ॥ )
नगण ( ।।। )
सगण ( ॥ऽ )
लघु ( ह्रस्व ) ( । )
गुरु ( दीर्घ ) ( ऽ )
मात्राको गणनाको सहजताको निम्ति लघुको सङ्केत १ ले र गुरुको सङ्केतको लागि २ ले जनाइने छ ।यथा-
यगण १२२ / मगण २२२ / तगण २२१ / रगण २१२ / जगण १२१ / भगण २११ / नगण १११ / सगण ११२ ।

इल्म-ए-अरुज ( छन्दशास्त्र ) ले गण अर्थात् रुक्नको व्यवस्था गरेको छ । ती यस प्रकार छन्-
१. फऊलुन् १२२ ,
२. फाइलुन् २१२ ,
३. मफाईलुन् १२२२ ,
४. मुस्तफ्इलुन् २२१२ ,
५. मफाइलातुन् १२१२२ ,
६. मफाइलतुन् १२११२ ,
७. मुतफाइलुन् ११२१२
८. मफ्ऊलातु २२२१ ,
९. फाइलातुन् २१२१ ,
१०. मुस्तफयलुन् २२१२ ,
११. मफायलातुन् १२१२२ ,
१२. मफातफ्यलुन् १२ २ १२ ,
१३. मफ्तऊलतुन् २ १२ १२ ,
१४. मफ्तयलातुन् २११२२ ,
१५. मस्तफ्यलुन् २२११२ ,

गजलमा तिन प्रकारले बहर बन्छन्-
१. मूल छन्द
२. मिश्रित छन्द
३. परिवर्तित छन्द

इ) रुक्नको प्रयोग गरी बहर कसरी बनाउने ?

माथिका १५ वटा सालिम रुक्नहरुमध्ये कुनै एउटा रुक्न छान्ने र चार पटक लय तानेर पढ्ने । नमुनाको निम्ति 'फऊलुन्' लाई हेरौं-

फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
१२२ १२२ १२२ १२२

कतै दूर जाँदै थिएँ जिन्दगीमा
दियौ प्रेम पानी पिएँ जिन्दगीमा

यसरी कम्तिमा दुई वा तिन वा चार पटक कुनै एक रुक्नको आवृतिमा सामान्य लय मिलाई शब्द भरेमा गजलको कुनै न कुनै बहर ( छन्द ) बन्दछ । अर्को नमुनामा ' मफाईलुन् ' लाई हेरौं-

मफाईलुन् मफाईलुन् मफाईलुन् मफाईलुन्
१ २ २ २ १ २ २ २ १ २ २ २ १ २ २ २
पिलायौ के / कडा पानी / त्यसैले मा / त जाग्यो झन्
अहा ! कस्तो नशा घोल्यौ मजैले रात जाग्यो झन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।