बृहत नेपाली शब्दकोशलाई केलाएर हेर्यो भने स्वावलम्बनलाई यसरी परिभाषित गरेको पाइन्छ –‘ आफ्नै पौरखले आत्मनिर्भर रहने भाव वा अवस्था आफ्नै ख्ट्टामा उभिने वा आफ्नै भरथेकमा अडने काम ।’ आफ्नै खुट्टामा उभिएको जो कोही होस् त्यसलाई स्वावलम्बी भनिन्छ । यसमा मानिसमात्र नभएर राष्ट्रलाई पनि लिन सकिन्छ । जुनव्याक्ति आफ्नो क्षमता र परिश्रमको भरमा आफ्नो खुट्टामा उभिन सक्दछ त्यसलाई स्वावलम्बी भनिन्छ । यसरी नै कुनै देश आफ्नै स्रोतसाधनलाई प्रयोगमा ल्याएर आत्मनिर्भर हुन सक्छ त्यो स्वावलम्बन राष्ट्र मानिन्छ । यसै सन्दर्भलाई आज देशको कृषि उत्पादन क्षमतालाई हेर्दा र हिजोको यथार्थतालाई तुलना गर्दा दन्त्यकथा जस्तो लाग्छ । केही वर्ष अगाडि नेपाल खाद्यान्नमा आत्मनिर्भर थियो र खाद्यान्न निर्यात पनि गर्दथ्यो । शनै शनै हामी निर्यातबाट टाढिदै गयौं र आयततर्फ अग्रगामी भयौं । हाम्रो स्वावलम्बनमा ह्रास आयो । हाम्रा खेतबारी बाँझिन थाले । अथाह प्राकृतिक स्रोत र साधन, हुँदा हुँदै यिनको सही सदुपयोग गरेर आत्मनिर्भरतातिर लाग्नु भन्दा परनिर्भरताको बाटो समायौ ।
राष्ट्रका शक्ति भनेको युवायुवती हुन् । जुनदेशबाट युवायुवतीहरू पलायन हुँदै जान्छन् त्यो देश स्वावलम्बी बन्नुभन्दा अपाङ्गतिर लम्किन्छ । आज नेपालको अवस्था त्यतैतिर लम्किदै छ । विद्यार्थीहरूले यस देशमा भविष्य छैन भन्छन् । युवायुवतीहरूले रोजगार छैन भन्छन् । भाग्यवादी सोच भएकाले ‘बर्म गए कर्म सँगै , नेपाल गए कपालसँगै भन्छन् । यस किसिमका सोचबाट देश कहिले स्वावलम्बनतिर लाग्ला त ? छात्रछात्राहरूको भविष्य कस्ले निर्माण गरिदिन्छ ? मैले त भन्दछु आफ्नो भविष्य अरू कसैले निर्माण गर्दैन । जुन देशमा गए पनि आफ्नु भविष्य आँफै निर्माण गर्ने हो । छात्रछात्रा भविष्य निर्माण गर्न विदेश पलायन हुँदा आफूमात्र नभएर ठूलो धनरासी लिएर गएका छन् । हामी हाम्रै देशमा हाम्रो भविष्यलाई निर्माण गर्न सक्छौ भन्ने आत्मविश्वास गुमाइ सकेका छौं । जहाँ सोच त्यहाँ उपाय भने जस्तै केही गर्नलाई हाम्रो इच्छाशक्तिमा भर पर्दछ । यो इच्छाशक्ति पनि स्वदेशमा बस्न सकेन । विदेशमा गएपछि सम्पूर्ण चीज स्वत पूर्ति हुन्छ भन्ने सोच हाम्रा मनमस्तिष्कमा पसिसक्यो । आखिर सुना चाँदी हीरामति जे भने पनि त्यो पसिना फलेको हो । पसिना नबगाई कहीं केही फल्दैन । पसिना बगाउने थलोको निर्माण गराई दिने दायित्व सरकारको हो । परिश्रमका बलमा / भरमा देशलाई विकास पथमा लम्काउन सक्छौ भन्ने भावनालाई मन र मस्तिष्कमा भरिदिन सक्नु पर्छ । त्यो आज हुन सकेको छैन । हरेक युवा निरास छन् । सरकारले युवायुवती अड्न सक्ने बृहत योजना ल्याएर देशलाई आत्मनिर्भर(स्वालम्बन) तिर लानु भन्दा विदेशमै पठाएर रेमिटेन्सबाट राज्य संचालन गर्ने तर्फ उन्मुख देखियो । यो दीर्घकालिन हुनै सक्दैन । दीर्घकालिन त देशलाई आत्म निर्भर कसरी बनाउन सकिन्छ र युवाशक्तिको पसिना त विदेशमा हैन स्वदेशमा बगाउन लगाउन पर्छ ।
ज्ञान हाँसिल गर्न पढ्नु पर्छ । हाम्रो शिक्षाले ज्ञानी त बनायो तर रोजगार मूलक सीप सिकाउन सकेन । शैक्षिक वेरोजगारमात्रै सिर्जना गर्यो । उर्जाशील समय पढाइमा नै बित्छ । पढीसकेपछि प्रमाणपत्र लिएर रोजगारको लागि हिड्दै थाक्छ । अध्ययन त यस्तो हुनुपर्छ जति अध्ययन गर्छ त्यसैमा आत्मनिर्भर हुने सीप सिकेर गासबासको जोहो गर्न सकोस् ।
देशलाई कता लाने, कस्तो बनाउने भन्ने काम राजनीतिको हुन्छ । देशको सर्वतोमुखी विकासको बागडोर भनेकै राजनीति हो । देश र जनतालाई स्वावलम्बन बनाउने काम राजनेतृत्वको हो । राजनेता स्वावलक्बनको भावनाले ओतप्रोत हुनु पर्छरमात्र स्वावलम्बनमा राज्यलाई कसरी लाने भन्ने सोच पलाउँछ । सोच पलाएपछि लक्ष/उद्देश्य तोक्छ । उद्देश्यलाई फलदाई बनाउनको लागि कठिन परिश्रम गर्नु पर्छ तथा कार्यन्वयनमा लानुपर्छ । अनुगमन र मूल्याङ्कन गर्नु पर्ने हुन्छ । यति गर्दा गर्दै कहिले काँही कार्यन्वयन गर्दा असफल हुन सक्छ तर असफल भएँ भनेर निरुत्साही हुने हैन किनकी असफलता नै सफलताकी जननी हुन् । तोकेको लक्ष कसरी असफल भयो त्यसको कारणा पत्ता लगाउनु पर्छ र असफल हुनको कारणा पत्ता लगाएपछि ती कारणलाई सफलता साथ कार्यन्वयनमा लाने निर्णय लिनु पर्छ । निश्चय पनि कुनै पनि कामलाई सफलता हात पार्नको लागि सहज हुँदैन । बुद्धि, विवेकको प्रयोग र परिश्रम गर्नु पर्छ । निरन्तर काममा लाग्नु पर्छ । यो एउटा अध्ययन पनि हो । यसले मानिसलाई निर्णायक मोडमा पुर्याउँछ । कार्यन्वयनमा सफलता हात लाग्यो भने उसको आत्मविश्वास बढ्छ । त्यो काम गर्ने ज्ञानको हाँसिल हुन्छ । जति अनुभव बढ्दै जान्छ, त्यति काममा सफलता हाँसिल हुँदै जान्छ । मानिस स्वावलम्बन बन्न सक्छ ।
नेपाललाई स्वावलम्बी बनाउनको लागी कसरी बनाउन सकिन्छ भनेर व्रश्न उठाउननै पर्दैन । हामीसँग भएको प्राकृतिक सम्पतिलाई प्रयोग र संरक्ष्ण गरेमात्रै पुग्द छ । गण्डकी, कोशी, कर्णाली, महाकाली जस्ता ठूला र स्याना नदीहरूलाई उपयोगमा ल्याउन सकियो भने भूमिले सिँचाइ पाउँछ । कृषिमा आत्म निर्भर हुन सकिन्छ । पानीबाट विजुली निकालेर बिक्री गर्न सकिन्छ । बिजुली यातायातमा प्रयोग हुन्छ । खाना पकाउनेदेखि विविधतामा विजुली प्रयोगमा आउँछ । यसले पर्यटन विकास गर्न र रोजगारीमा टेवा दिन्छ ।
अर्को हाम्र्रो प्राकृतिक स्रोत भनेको वन हो । ‘हरियो वन नेपालको धन ’ यो हाम्रो जनजिब्रोको बोली हो । यसको संरक्षणबाट आर्थिक आम्दानी गर्न सकिन्छ । इन्धन र निर्माणमा यसले ठूलो योगदान पुर्याउँछ ।वातावरण र परिस्थितिक संतुलन वनाई राख्छ ।
सौर्य ऊर्जाको प्रयोगबाट हामीले धेरै काम लिन सक्छौ । कहीं कहीं बत्तीमा प्रयोग गरिए पनि यसको व्यापक प्रयोग गर्न सकिएको छैन ।
हावा उर्जाबाट पनि धेरै काम गर्न सकिन्छ ।–सुखा हावामा ७८.०८% नाइट्रोजन, २०.९५% अक्सिजन, ०.९३% आर्गन, ०.०४% कार्बन डाइअक्साइड, र अन्य ट्रेस ग्याँसहरूको सानो मात्रा हुन्छ । यति धेरै वायुमण्डलीय नाइट्रोजन बिरुवाको प्रमुख खाद्यतत्त्व भए पनि बिरुवाले लिन सक्ने आवस्थामा हुँदैन ।नाइट्रजनलाई केही कोशेबालीले तानेर आफूले खानेर माटोमा मिसाउने काम गर्दछन् । कार्बन, नाइट्रोजन, अक्सिजन र हाइड्रोजन को रसायनिक प्रकृया बाट युरिया बनाइन्छ । नेपाल जस्तो कृषि प्रधान देशमा एउटा पनि मलको कारखाना छैन ।
प्राकृतिक स्रोतहरूमा खनिज बस्तुहरू देशलाई स्वावलम्वन बनाउनलाई प्रमुख तत्वको रूपमा आउँछन् । कति गाउँका नामहरू त्यहाँ पाइने खनिजतत्वको नाममा राखिएको पाइन्छ जस्तै फलाम खानी , सिसा खानी आदि । पहिला पहिला व्यक्तिहरूले निकालेर प्रयोगा ल्याएको पनि सुनिन्छ । हाल दैलेखमा तेलको उत्खनन् गरिदै छ, । नवलपरासीमा फलाम निकाल्ने हल्ला निकै चल्यो तर हालसम्म व्यवहारमा उतारिएको छैन जस्तो छ । विभिन्न लेख रचनालाई हेर्दा –
नेपालमा फलाम, तामा, चुनढुङ्गा, प्राकृतिक ग्याँस, कोइला, सिसा, चुम्बकीय, निकल, संगमरमर र अभ्रक आदि खनिज स्रोतहरू पाइन्छन् भन्ने जानकारी हुन्छ । यिनको उत्खनन् गर्दै गएमा युवाहरूले काम पाउँछन् र देश आत्मनिर्भरतिर लम्कन्छ ।
मानिस अथवा देश स्वावलम्बन् अवस्थामा पुगेपछि कसैको भर पर्नु पर्दैन । ऊ स्वतन्त्र हुन्छ । क्षिमेकीबाट पनि थिचोमिचो हुँदैन । त्यसो हुँदा आदर्श जीवन बिताउन सकिन्छ । संस्कृतमा भनिएका ‘‘पारतन्त्र्यं महदुःखम् स्वातन्त्र् परमं सुखम् ”यी शब्द सहित यो लेखको बीट यहीं मार्दछु ।