"आमा आउँदै हुनुहुन्छ, चिचिपापा बाबुलाई ल्याइदिनुहुन्छ ।"
सानी कान्छी भ्यातिना आफ्नो दुईवर्षे दुधे भाइलाई फकाउँदै थिइन् । आमा आउने आशामा अबोध बालक माकसोते कहिले रुने कहिले सोध्ने गरिरहेको थियो । उसका आशाका चिसा पल्लाहरू धेरैपल्ट बिते । उसले आमा पाएन र धरधरी रुन्थ्यो माकसोते । भ्यातिनाले ढुङ्गा, डल्ला र मट्याङग्राहरू दिएर उसलाई मनाउने प्रयास गर्थिन् । माकसोतेलाई आमाले इहलोक छोडेर गइसकिन् भन्ने कुरा थाहा थिएन ।
पृथ्वीको प्राणी भएकाले कुनै मानवले मेरो पृथ्वी, मेरो धर्ती भनेर गौरव गर्ला तर हरिप नाम्सामीको नाउँमा एक चपरी माटो थिएन । जमिनदारको गोठमा बसेर उसकै हलोमा उसले आफ्नो जिउपालो गर्दै थियो । पहाडको रहलपहल किपट जग्गामा पनि साहु महाजनको हस्तक्षेप भयो । त्यही ऋणको भार सहन नसकी मधेस झरेको नाम्सामी सरकारको दृष्टिमा एक सुकुम्बासी थियो । पहिलेपहिले उसको बसाइँ-सराइ चराको गुँड सराइ जतिकै थियो । अहिले भने मोरङी जमिनदारकोमा निकै डेगले बसेको थियो नाम्सामी । जमिनदारको डल्ला फुटाएर बस्न पाउने भए बस्ने थियो नाम्सामी तर जमिनदारले उसलाई गोठ खाली गर्ने हुकुम जारी गरेको थियो । त्यसैले फेरि अर्को पटक बसाइँ जान लागेको थियो नाम्सामी । बालक माकसोतेको जन्म घर त्यही खोल्मा थियो । त्यही गोठको आँगनीको धुलोमा नै माकसोते जन्मेको थियो । माकसोतेकी आमा सर्साउदी हुँदासम्म जमिनदारले नाम्सामीलाई उठीबास गराउने विचार लिएका थिएनन् । जब जमिनदारको भाँडा माझ्ने, दाउरा पात, ढिँकी जाँतो गरेर पनि सन्तोकले सुखी दाम्पत्य जीवन दुःख सुख बिताइरहेकी माकसोतेकी आमाको रहस्यमय निधन भयो तब जमिनदारको मन बदलियो । त्यसपछि नाम्सामीलाई त्यहाँबाट खेदाउन प्रपञ्च सुरु भयो । जमिनदारको मझेरीमा काम गर्ने सर्सराउँदी र सुडौल जिउकी एउटी भान्से आइमाईको मृत्यु असामान्य थियो । गाउँमा शङ्का उपशङ्काका बिउहरू नउब्जिएका होइनन् तर जमिनदारको नुन खानु पर्ने भएकाले त्यहाँका गाउँलेहरूको मुखमा बुजो लागेको थियो । नत्र नाम्सामीको हालतमा सबैजना पुग्थे । नाम्सामीले चोर औँला उठायो जमिनदारमाथि तर अँध्यारो झुपडीको सिरकभित्र मात्र । खुलेर धावा बोल्न सकेन । उसको पाप नै त्यही भयो जसको फलस्वरूप नाम्सामी गाउँबाट निकालियो । चाकडीमा बेकम्मा ठहरियो । त्यसैले त्यो धर्ती छोडी जानु पर्ने सजाय पायो । उसलाई थाहा थिएन त्यो धर्तीलाई छोडेर कहाँ जाने ? उसको स्थूल शरीर खाक भए; भ्यतिनाकी आमासँगै जान्थ्यो होला नाम्सामी । निश्चित के थियो भने त्यहाँबाट बसाइँ जानु नै थियो उसले । धर्तीका कैयौँ ठाउँको नाम सुनेको थियो नाम्सामीले । स्वर्ग र नर्कसँग तुलना गरिएको ठाउँहरू बिचकोको भोगाइ बादल र वर्षाको भिन्नता जस्तो महसुस गरेको थियो उसले ।
बिहान सखारै भाले बास्यो । नाम्सामीले आफ्ना धेरथोर झिटीझाम्टा, खत्र्याङ-मत्र्याङ बोरामा पोको पारेर काँधमा बोक्यो । छ बर्षले जेठी भ्यातिनाले माकसोतेलाई सकीनसकी पिठ्युमा बोकेकी थिइन् । उनको एक हातमा मिस्टिन (military tiffin box) बटुको थियो । त्यसभित्र माकसोतेको लागि मकैको पिठोको ढिँडो थियो । त्यस बेलासम्म माकसोते भने निदाइरहेको थियो । केही समयको एकोहोरो यात्रापछि पूर्व दिशामा लाली चढ्यो । धर्तीका चारैतिरबाट आएको भालेको डाकले क्षितिजलाई रक्तिम बनाएर ब्युझाउँदै थियो । तीनवटा सामहरू (आत्माहरू) चाहिँ अनिश्चित गन्तव्यतर्फ लम्किरहेका थिए ।
"काप्पा, हामी कहाँ जाँदै छौँ ?" भ्यातिनाको पिठिउँबाट माकसोतेले निन्द्रालु स्वरमा सोध्यो ।
"हाम्रो आफ्नो किपटमा जाँदै छौँ, माकसोते ।"
"त्यो किपट कहाँ छ, काप्पा ?" माकसोते र भ्यातिनाले सँगसँगै सोधे ।
मेन्छ्यायेमहरू (छोराछोरीहरू)ले यस्तो प्रश्न गर्लान् भनेर नाम्सामीले सोचेको थिएन । अर्को प्रश्न नगरून भन्ने विचार गरेर नाम्सामीले जवाफ दियो, "याक्थुङलाजेमा ।" दिदीभाइ केहीबेर चुपचाप भए । झिसमिस अँध्यारोमा बिस्तारैबिस्तारै हिँडिंरहे ती सामहरू ।
"त्यो किपट कस्तो छ काप्पा ?" भ्यातिनाले फेरि सोधिन् ।
नाम्सामीलाई बच्चाहरूलाई जवाफ दिने मन थिएन तर उसको अन्तर-आत्माबाट स्वतः शब्दहरू आइरहेका थिए, "त्यो किपटमा हाम्रो पुर्खाको बगैँचा छ । त्यहाँबाट हामी कहिल्यै बसाइँ सर्नुपर्दैन, छोरी ।"
माकसोते रुन थाल्यो । भ्यातिनाले भाइ किन रोएको बुझ्न सकिन । नाम्सामीले पिठ्युँको बोरा खोलाको छेवैमा ठडिएको सिमलरूख (तेःङ्गो)को फेदमा अड्याए । भ्यातिना भुइँमा थचक्क बसिन् । माकसोते पनि दिदीको छेउमा बस्यो । उनीहरूले आएको बाटातर्फ आँखा तेर्साएर हेरे । पूर्व क्षितिजमा उदाउँदो घामको किरण फिजारिँदै थियो । माकसोतेले बारम्बार पछाडि फर्कीफर्की हेर्दै थियो । उसले सोध्यो, "काप्पा, हाम्रो घर छोडियो ।"
माकसोतेले उसलाई काखमा लिँदै भने, "हामी हाम्रो किपटमा भएको घरमा जाँदै छौँ, छोरा, त्यो जमिनदारको घर हाम्रो थिएन ।"
"मेरो चिप्ली खेल्ने ठाउँ, मैले बनाको बाटो, आन्नेको फुलबारी छोडेको हो का-काप-पा ?" बालसुलभ जिज्ञासा राख्यो माकसोतेले ।
"हाम्रो याक्थुङलाजेमा सबै थोक बनाउनुपर्छ, बाबु ।" नाम्सामीले छोरालाई सम्झाए । उनको छातीमा लेप्पासिँदै माकसोते सुँक्कसुँक्क रुन थाल्यो, "खोइ मेरो अम्मा ? त्यही खोल्मामा नै छोडेको आम्मालाई ?"
सिमलको काँडा कोट्याउँदै भ्यातिना पनि पिलपिल आँसु झार्दै रोइरहेकी थिइन् ।
"हाम्री आमालाई त्यो जमिनदारको माटोमा छोड्यौँ नि काप्पा !" रुन्चे स्वरमा भ्यातिनाले भनिन्, "आमाबिना म कहीँ जाँदिनँ काप्पा ।"
माकसोतेले रुँदै भन्यो, "आम्मा, आमा, आउनु न अम्मा !"
नाम्सामीले छोराछोरी दुवैलाई आफ्नो अँगालोमा च्यापे । नयनका पातला झिल्लीभित्र दबाइएका आँसु कतिन्जेल लुक्ने हुन् र ! आँसुका बलिन्द्र धारा बगाउँदै रुन थाल्यो नाम्सामी पनि ।
"ए, युमा तिमीले हामीलाई छोडी गयौ । तिमीबिना तिम्रा सन्तानको बिचल्ली भयो । आऊ, हामीलाई पनि साथै लैजाऊ, युमा ।" रुँदै करायो नाम्सामी । उसको रुवाइ र आक्रोशको आवाजले निदाइरहेका र बिहानीमा ब्युँझेर पनि सुतिरहेका कुम्भकर्णहरूलाई केही फरक परेन । अकस्मात् एक थुन्से चम्किलो ज्योति आएर नाम्सामी, भ्यातिना र माकसोतेलाई घप्लक्क छोप्यो । ती निसामहरूले एकै स्वरमा भने, "युमा !"
घाम सोझै टाउकामाथि परेको मध्यान्हको प्रहरमा गाउँलेहरूले त्यो दुर्घटनाको बारेमा चाल पाए । सुब्बाझोडामा सिमलको रूख(तेःङ्गो)को एकापटिका हाँगाहरू लाछिएर नाम्सामीसहित दुई बालबालिकाहरूको ज्यान गएको थियो त्यस दिन । जमिनदारको खोल्मा नगिचै युमाले रोपेको अन्दङफुङ (बाबरी) फूल हलहली जागिरहेको थियो । तर सेक्मुरिफुङ (सिल्लरी फूल) त्यस सुब्बाझोडा गाउँको आसपास कहीँ कतै पाइएन । येबा-साम्बाले ती तीनवटा साम-सोघाहरूलाई बाटो कटाउन मिक्चिरीफुङ (लासमा चढाउने फूल) झिकायो; माथि मुक्कुमलुङक्षेत्रको तुम्बाङ्भेबाट । तङसिङ (अनुष्ठान/पूजा)मा साम्बाले जोखना हेर्दे फलाक्योः नाम्सामी, भ्यातिना र माकसोते युमासँगै छन् र सधैँ रहन्छन् ।
***