18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दाङ आमाको काखमा दुई दिन विश्राम

संस्मरण/स्‍मृति चूडा मणि रेग्मी January 30, 2025, 2:50 pm
चूडा मणि रेग्मी
चूडा मणि रेग्मी

आमा जन्मदाता हुन् । जन्मभूमि पनि आमा हो, यसैले नेपाल आमा हो हाम्रो । आफ्नी आमा स्वर्गे भए पनि नेपाल आमाको छोरो हुँ म । मलाई आफ्नो देश आमा जस्तो वरावर अनुभव हुन्छ । दाङ देख्दा किन हो मलाई रोइरहेकी आमा जस्तो लाग्यो । दाङ घुमेपछि पछि मैले ‘दाङआमा’ शीर्षकमा यस्तो कविता बनाएँ –

कत्रो लामो छ जिउ तर कति धमिलो
धुलिले पूर्ण धुस्रो
आँसु–खोला बगेका हृदय अति छिया
चेहरा पूर्ण धुलो
आमा हुन् दाङ साक्षत् अतिशयव्यथिता
mशोषणाव्रान्तवृद्धा
छोरा जम्मै चुसाहा–जन–दलित मुमा !
क्या–व्यथा ! तीब्र तिम्रा
रुखो, फुस्रो उदास दाङ देखेर यस्तो अभिव्यक्ति भयो मेरो ।

ट्रकबाट ओर्लिएर घोराहीमा अर्थात् त्रिभुवननगरमा सामान कता राख्ने र यहाँ कसरी डुल्ने ? भन्ने समस्या तेर्सियो मेरा अगाडि । एक जुक्ति ख्याएँ, ट्राफिक प्रहरीलाई सामान राखिदिन अनुरोध गर्ने । मेरो उपाय काम लाग्यो । प्रहरीलाई भनें– “म पूर्वबाट आएको प्राध्यापक हुँ । एकछिन क्याम्पस जान्छु । यो सामान यहाँ राख्न दिएर सहयोग गरिदिनुहुन्थ्यो कि ?”
प्रहरीहरू ३/४ जना थिए । तीमध्ये एक ठुला थिए । “तपाईंका के सामान छन् ? हराए भने ?” उनले भने ।
मैले हाँस्तै भने– “हिरै भए पनि प्रहरी भएठाउँ सुरक्षित ठान्छु ।”

उनीहरू प्रसन्न भए । मैले सामान थन्क्याएँ र झोलामा चाहिने ‘जुही’का फाइल हालेर क्याम्पसको बाटो सोध्दै–खोज्दै लागें । वायाँतिर तेर्सो लागें । दुबैतिर घरैघर । निकै पर मावि र क्याम्पस सँगै रहेछन् । देवमणि देवकोटा क्याम्पस प्रमुख रहेछन् । नेपाली बिभागका कोही साथी भेटिएनन् । क्याम्पस प्रमुख भूगोल बिभागका भए पनि सुनेअनुसार दाङका बुद्धिजीवी नै रहेछन् । मेरो परिचय मागे, म दाङ आएकावारे सोधे । मैले सबैतिर नै दिएको उत्तर आफ्नो परिचयपछि दिएँ । म जम्मा तिन काम गर्छु– अध्यापन, लेखन र प्रकाशन । मेरो उद्देश्य आफ्ना प्रकाशनको सहायताले स्वदेशभ्रमण गर्नु, भ्रमणानुभवबाट मगज स्वच्छ पारी पढाउनु र सके लेख्नु, विशेष गरी भाषिक लेखन र समालोचनावारे अध्ययन गर्छु । क्याम्पस प्रमुखले लाइव्रेरियन नित्यानन्द शर्मालाई बोलाएर ‘जुही’को फाइल जिम्मा दिए ।

नित्यानन्द शर्माले ‘जुही’को फाइल देख्नेबित्तिकै प्रसन्नता व्यक्त गरे । उनी गएपछि मैले क्याम्पसको नियमानुसार पैसा तिरेर घरमा ट्रङ्क गरें । तुरुन्त सम्पर्क भयो । नेपालमा यसरी टेलिफोन–सुविधा बढेकामा ‘म कुन जुगको मान्छे कुन जुगमा आएँ !’ भन्ने अनुभव पनि मलाई भयो । गगन –माइलो छोराले मेरो भानिज अन्चलन्यायाधीश तुलसीपुरमा भएको जानकारी दिएपछि म राती वास पाउने कुराले ढुक्क भएँ ।

नित्यानन्द शर्मा आफैं पनि साहित्यकार र साहित्यिक गतिविधिमा सम्लग्न व्यक्ति हुन् । उनले आफ्नो कथा सङ्ग्रह र केही पत्रिका दिए । ‘नयाँ युगवोध’ भन्ने साप्ताहिक निस्कँदो रहेछ यहाँबाट । त्यसका सम्पादक दाङमा प्रतिष्ठित भएको कुरा गर्दै उनीसँग भेट्ने ठाउँ बताइदिए । क्याम्पसका केही अरु प्राध्यापकसँग पनि केही छिन गफ गरी म त्यहाँबाट हिडें । सम्पन्न रहेछ क्याम्पस । पढाइको गतिविधि पनि ठिकै रहेछ र त्यति ङार्र–ङुर्र भएको अनुभव भएन क्याम्पसको वातावरणमा ।

यहाँ सस्तो राजनीतिप्रति त्यति प्राध्यापकवर्ग संलग्न भएको अनुभव मलाई भएन । सामान्यतया त मलाई नै ‘वामपन्थी’ भन्छन् कति जना । यहाँ पनि यस्तै स्थिति होला भन्ने अड्कल गरें ।
त्रिभुवननगर (घोराही) धनकुटा जस्तै त होइन, तर पनि माथिबाट तल झरेको निकै लामो बजार रहेछ । यस्ता नेपालमा थुप्रै बजार छन्, जसको अघिभन्दा अहिले स्थिति खराब छ । अघि सडक थिएन र यातायातको व्यवस्था थिएन । अहिले मोटरको व्यवस्था भएबाट पहिले झैं चहलपहल छैन । धनकुटा, तानसेन, शनिश्चरे, भद्रपुर, धरान यस्ता थुप्रै यस प्रकारका यस्तै ठाउँ छन् । सम्भवतः घोराहीको पनि यही हाल थियो । थुप्रै दोकान । सिरानतिर पुगेर देब्रेतिर लाग्दा बस–बिसाउनी भेटें । नित्यानन्दज्यूले भनेको प्रेस भेट्न सकिनँ । जुत्ता पनि विद्रोह गर्दै थियो । मुस्किलले एक ठाउँ खाना भेटें । गोडा पनि दुःखेका थिए । नयाँपनले एकप्रकारको अचम्म लागिरहेको थियो ।

मालेको शाखा कार्यालय पनि देखिन्थ्यो । विशेष गरी मशालको चहल–पहल भएझैं लाग्यो । देशमा काङ्ग्रेसको जताततै चहल–पहल देखें । कतै–कतै चन्दका पार्टीको पनि प्रभाव रहेकै पाएँ भने कतै–कतै सद्भावनाले पनि थर्काएको पाएँ । ‘यस्तै रहेछ नेपाल’ भन्दै बस–बिसाउनीतिर अम्बक टोक्तैटोक्तै गएँ । एउटा रिक्सा भेटें र ‘के खोज्छस् कानो ? आँखो !’ झैं ठानी मालसामान लिन रिक्सा लिएर गएँ । ओर्लंदै चढ्दै सामान भएठाउँ पुगेर रिक्सामा सामान हालेर आफू ओर्लिंदै चढ्दै बस–बिसाउनीमा आइपुगें । तुलसीपुर जाने बस लागेको रहेछ । १८/२० किलोमीटरको दुरी रहेछ, घोराही र तुलसीपुरको । पुच्छर घोराही टाउको तुलसीपुर । सदरमुकाम तुलसीपुर रहेछ । त्यहाँ दरवार भएकाले अन्चलाधीश बस्ने गरेको रहेछ । आपसी तानातान पनि यी दुई ठाउँका बिचमा भएको रहेछ ।

बिचमा ठुला–ठुला गाउँ । यहाँका धनी मजगैंयाँहरूको गाउँ पनि बाटैमा पर्दोरहेछ । बाटैमा बेलझुन्डी भन्ने ठाउँमा महेन्द्र संस्कृत विश्वविद्यालय रहेछ र यसकै छेउ–छाउमा नैं संस्कृत क्याम्पस र मा.वि. रहेछन् । जग्गाका धनी स्कुल, क्याम्पस र विश्वविद्यालय । जग्गामा पानी पनि छ, खोला पनि छन्, तर पनि दाङले प्रशस्त सिंचाइ नपाएको अनुभव गरें । कच्ची सडक धुलैधुलो । एक–एक घन्टामा बस चले पनि यातायात सुविधाको अनुभव हुने ।

तुलसीपुरमा पनि राम्रै बस बिसौनी रहेछ । घाम अस्ताउन–अस्ताउन लागेको थियो, सोधपुछ गर्दै भानिज मोहनमणि दाहालको बस्ने ठाउँ समयमै पुगें । श्रीलङ्का र भारतको बिच भएको mव्रिकेटको आधा घण्टाजति खेल हेर्न पनि पाएँ, मन प्रसन्न भयो ।

भानिजसमेत तिन जना अञ्चलन्यायाधीशज्यूहरू सबैले मसँग राम्रै गफ गरे । उनीहरूले मेरो यात्राको उद्देश्य सोधे । मैले यथार्थ कुरो बताइदिएँ । बेलुका एकजना व्यक्ति मेरा अगाडि आए । ‘चिन्नुभयो ?’ चिनिन मैले । नाम कोशराज निरौला रहेछ । यहाँ ३ वटा घर रहेछन्, थुप्रै जग्गा भएका सम्पन्न व्यक्ति । उनी कुनै बेला मेरो गाउँमा बसेका रहेछन् । हाम्री आमाले सिधा–दान दिनुहुँदो रहेछ र धेरै दया गर्नुभएको रहेछ । पछि मैले र मेरी श्रीमतीले पनि उनको संरक्षणमा केही योगदान दिएका रहेछौं । उनी हामीप्रति कृतकृत्य थिए । ‘अर्काको सकेको उपकार गर्नू’ भन्ने बुबाको अर्ती सार्थक भए झैं लाग्यो । उनै निरौलाले दाङ आएर अनेकौं परिस्थितिको सामना गरी सम्पन्न भएछन् । नेपालीमा एमए रहेछन्, मा.वि.को शिक्षक रहेछन् र रहेछन् कतिपयका जजमान गर्ने गुरु ।

जाडै थियो । बिहान उनै निरौलाका घरमा गएँ । भानिजले लगिदिए । उनका आफन्तका घर गएर घरमा ट्रङ्क गरें । ट्रङ्क सुविधाको उपयोग गरिरहेथें । दिउँसो स्थानी एउटा मा.वि.मा गएँ । मा.वि.गतिविधिको अध्ययन पनि गरें । जाँच थियो । प्र.अ. ढिलो आए, मलाई यो कुरा आलोच्य लाग्यो । यसपछि महेन्द्र संस्कृत विश्वविद्यालय गएँ । साथी पाएँ, देवीप्रसाद वाशिष्ठ । उनी मेरो छात्र र अहिले नेपाली पढाउने साथी चूडामणि वाशिष्ठका दाजु भएकाले मैले त्यहाँ हिंड्न सहयोग पाएँ । त्यहाँ रजिष्ट्रारलगायत केही विद्वानसँग भेट्ने अवसर प्राप्त भयो । नेपालको एक मात्र संस्कृत विश्वविद्यालयको विजोक थियो । अझ काठमाडौं यहाँबाट सं.वि.वि.उठाउन वरावर प्रयत्नशील छ भन्ने पनि सुनें । थुप्रै जग्गा छ दाताले दिएको, परन्तु बजेट त्यस्तो छैन जस्तो हुनुपर्ने हो । मैले केही सुझाउ दिएँ, यहाँ १०/२० जना शिक्षक अन्य संस्कृतका विद्वान राख्नुपर्छ र विश्वबाट शोधार्थी आउने वातावरण बनाउनु पर्छ । यहाँका प्राध्यापकलाई शोध गर्ने खुबीवाला बनाउनुपर्छ, नत्र ‘हल्लन्ताम्’ले मात्र काम लाग्दैन ।

आफू पनि संस्कृतकै साहित्याचार्य भएकाले व्याकरण र समालोचनाको पठन–पाठनमा हाम्रा संस्कृतका विद्वानहरू पश्चिमेली आदि नयाँ पद्धतिसँग अवगत रहनुपर्ने कुरा पनि मैले गरें । ध्यान दिएर विद्वान रजिष्टारले समेत सुनिदिए । चिया खाजा पनि खुवाए । ‘जुही’ पनि किनिदिए । मेरो राम्ररी दिन बित्यो ।

यहाँ हरिप्रसाद शर्मा नामका ठुला विद्वान रहेछन् । उनी जस्ता अरु पनि थिए होलान्, भेट्न पाइनँ । संस्कृत क्याम्पसका प्राचार्य पिकनिक गएछन् । एकाध प्राध्यापक भेट्दा म त्यति सन्तुष्ट भइनँ, किनभने संस्कृत जस्तो महान् भाषा पढेर त्यसको उपयोग साधारण रूपमा थोरै व्यक्ति पढाउन मात्र खर्च गरेका छन् । यहाँ आएर म ‘अभागी’ भन्ने लाग्यो, किनभने मैले संस्कृत पढेर संस्कृत–क्षेत्रमा काम गर्न पाइनँ र नेपाली क्षेत्रमा मात्र म सीमित भएँ ।

दाङको छोटो अध्ययनमा एकातिर शिक्षित धेरै र अर्कातिर शोषित पनि धेरै भएको प्रत्यक्ष देखिन्थ्यो । भाषिक तथा साहित्यिक गतिविधि त्यति सशक्त लागेन । यहाँ राजनीति तगडा छ भन्ने पनि सुनिएकै हो । कसैकसैले दाङका मान्छे देख्ताका सोझा, तर भित्रका सारै बाङ्गा पनि भने, तर यो कुरो मेरो मनमस्तिष्कमा पटक्कै घुसेन, पटक्कै अर्थपूर्ण लागेन । उपकारका प्रसङ्गमा बेलुका भानिज डेरा आउन ढिलो गरे । भान्सेबाजे प्राइवेटका रूपमा आइए दिने विद्यार्थी पनि रहेछन् । मजाले ‘नेपाली’ पढाइदिएँ । विहानको साझा चढ्दा बेलुका काठमाडौं पुगिने, भाडा १०६/– मात्र लाग्ने र २/४ दिन जेठो छोरो प्रदीपका डेरामा गएर थकाइ मार्न पाइने हुनाले काठमाडौंका लागि हिंड्दा झोला बोकेर उनै विद्यार्थी गए । बाटाभरि र बस नहिडुन्जेलसम्म उनलाई बोध, संक्षेपीकरण, अनुच्छेदलेखन, टिप्पणी र निबन्ध–लेखनहरू लेख्ने तरिका बताइदिएँ । मलाई लाग्छ उनी गरिब भए पनि प्रतिभाशाली विद्यार्थी भएकाले उनलाई मैले छोटकरीमा पास हुने गरी पढ्ने बिधि सिकाइदिएँ ।

‘पर्सि सुकवार छ, mव्रिकेट पनि छ, थाके, एक–दुई दिन जेठा छोराकामा बसी आराम पनि गर्नुपर्‍यो, नातिको मुख पनि हेर्नुपर्‍यो !’ इमान्दारीपूर्वक भन्दा मैले सोचेको यही हो । बस–बिसाउनीमा गएर बसवारे बुझ्दा साझा बस बिहान सखारै हिड्छ र बेलुकी काठमाडौं पुग्छ । भाडा पनि १०६/– मात्र भएको जान्न पाएँ । नभन्दै सुकवार साँझ काठमाडौं पुगें । जिल्लामा जिल्लाभरि घुम्दा केही हुनेखाने भेटएिलान्, सम्पन्न भेटिन्नन् । यहाँ सम्पन्न कति ! जिल्लामा जनकपुरवाहेक अखवारको संख्या कम्ती भेटिन्छ, यहाँ कति ! यहाँ ‘गोरखापत्र’ ‘मधुपर्क’ जस्ता कति छन्, कति पत्रपत्रिका । साप्ताहिक विमर्श र दृष्टि जस्ता एक अङ्कमा ३० हजार बिक्ने अखवारको संख्या पनि पघितै छ । जिल्लामा विद्वानको संख्या गन्न औंलो भाँच्नुपर्छ, यहाँ गनेर र भनेर साध्य छैन । कार होस् कि साहित्यकार, शिक्षक होस् कि प्राध्यापक, सबैमा श्रेष्ठ छ काठमाडौं । राजा बस्ने ठाउँ – राजधानी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।